“मैले कसको भय मान्नु?”
“मेरो विरुद्धमा लडाइँ खुल्यो भने पनि म त्यस बेला कम्मर कस्नेछु।” —भज. २७:३.
निम्न बाइबल पदहरूअनुसार तपाईंलाई साहसी हुन कुन-कुन कुराले मदत गर्न सक्छ?
१. भजन अध्याय २७ ले हामीलाई कुन कुरा बुझ्न मदत गर्छ?
संसारको अवस्था दिनप्रतिदिन खस्कँदै गइरहेको भए तापनि हाम्रो प्रचारकार्य किन झन्झनै फैलँदै गइरहेको छ? विश्वमा आर्थिक सङ्कट छाइरहेको अवस्थामा पनि हामीचाहिं किन खुसीसाथ आफ्नो समय र शक्ति प्रचारकार्यको लागि खर्च गर्दैछौं? धेरै मानिसहरू भविष्यमा के होला भनेर डराउँछन् तर हामीचाहिं कसरी साहसी भइरहन सक्छौं? यी प्रश्नहरूको जवाफ हामी राजा दाऊदले परमेश्वरको प्रेरणा पाएर लेखेको भजन अध्याय २७ मा पाउँछौं।
२. भयले मानिसलाई कस्तो महसुस गराउन सक्छ तर हामी कुन कुरामा विश्वस्त हुन सक्छौं?
२ दाऊदले यो भजन यी शब्दहरूद्वारा सुरु गरे: “परमप्रभु मेरो ज्योति र मलाई मुक्ति दिने हुनुहुन्छ, मैले कसको डर मान्नु? परमप्रभुनै मेरो जीवनको किल्ला हुनुहुन्छ, मैले कसको भय मान्नु?” (भज. २७:१) भयले मानिसलाई निकै कमजोर महसुस गराउन सक्छ; ऊ केही गर्न नसक्ने अवस्थामा पुग्न सक्छ। तर यहोवामा भरोसा राख्ने व्यक्ति साहसी हुन्छ, डरपोक होइन। (१ पत्रु. ३:१४) यहोवालाई आफ्नो किल्ला बनायौं भने हामी ‘बेफिक्री रहनेछौं र दुर्दिनमा डरैविना ढुक्क रहनेछौं।’ (हितो. १:३३; ३:२५) किन?
“परमप्रभु मेरो ज्योति र मलाई मुक्ति दिने हुनुहुन्छ”
३. यहोवा कुन अर्थमा हाम्रो ज्योति हुनुहुन्छ तर हामीले के गर्नै पर्छ?
३ बाइबलमा “परमप्रभु मेरो ज्योति” हुनुहुन्छ भनेर उल्लेख गरिएको छ। (भज. २७:१) यसरी उल्लेख गरिनुले उहाँ हामीलाई अज्ञानता र आध्यात्मिक अन्धकारबाट मुक्त गर्नुहुन्छ भनेर बुझाउँछ। ज्योति भएमा हामी बाटोमा भएका खतरा तथा बाधाहरू देख्न सक्छौं तर त्यो ज्योतिले ती खतरा तथा बाधालाई भने हटाउँदैन। हामी आफै नै ती खतराबाट जोगिनुपर्छ। त्यसैगरि, यहोवा हामीलाई संसारमा भइरहेका घटनाहरूको अर्थ बताउनुहुन्छ। यस दुष्ट युगका खतराहरूबारे पनि उहाँ हामीलाई सजग गराउनुहुन्छ। हाम्रो लागि सधैं उपयोगी हुने बाइबल सिद्धान्तहरू उपलब्ध गराउनुहुन्छ। तर आफूले सिकेका कुराहरूलाई हामीले लागू गर्नै पर्छ। भजनरचयिताले यसो भने: “तपाईंका आज्ञाहरूले मलाई मेरा शत्रुहरूभन्दा बढ्ता बुद्धिमान् तुल्याउँछ। . . . मेरा सबै गुरुभन्दा मेरो समझ ज्यादा छ।” बाइबलका सिद्धान्तहरू लागू गऱ्यौं भने हामी पनि साँच्चै बुद्धिमान् हुन सक्छौं।—भज. ११९:९८, ९९, १३०.
४. (क) दाऊदले किन ढुक्क हुँदै “परमप्रभु . . . मलाई मुक्ति दिने हुनुहुन्छ” भन्न सके? (ख) यहोवाले आफ्ना सेवकहरूलाई कहिले मुक्ति दिनुहुनेछ?
४ दाऊदले पहिला-पहिला आफूले यहोवाबाट पाएको छुटकारा सम्झिरहेका थिए भनेर भजन २७:१ मा उल्लिखित तिनका शब्दहरूबाट थाह हुन्छ। उदाहरणको लागि, यहोवाले तिनलाई ‘सिंह र भालूदेखि बचाउनुभएको थियो।’ यहोवाले तिनलाई अजङ्गको गोल्यतमाथि विजयी हुन पनि मदत गर्नुभएको थियो। त्यसपछि पनि, राजा शाऊलले दाऊदलाई भित्तैमा उनिनेगरि भालाले हान्ने प्रयास गर्दा यहोवाले तिनलाई प्रत्येक पटक बचाउनुभयो। (१ शमू. १७:३७, ४९, ५०; १८:११, १२; १९:१०) त्यसकारण दाऊदले ढुक्क हुँदै यसो भन्न सके: “परमप्रभु . . . मलाई मुक्ति दिने हुनुहुन्छ”! जसरी यहोवाले दाऊदलाई मुक्ति दिनुभयो, त्यसरी नै उहाँले हामीलाई पनि मुक्ति दिनुहुनेछ। उहाँले हामीलाई कहिले मुक्ति दिनुहुनेछ? आउनै लागेको “महासङ्कष्ट”-मा।—प्रका. ७:१४; २ पत्रु. २:९.
विगतमा पाएको हरेक मदत सम्झनुहोस्
५, ६. (क) विगतका सम्झनाहरूले हामीलाई साहसी हुन कसरी मदत गर्छ? (ख) यहोवाले विगतका आफ्ना जनहरूलाई मदत गर्नुभएको कुरा हामीले किन सम्झनुपर्छ?
५ साहस बढाउन हामीलाई मदत गर्ने एउटा महत्त्वपूर्ण पक्षबारे भजन २७:२, ३ मा बताइएको छ। (पढ्नुहोस्) यहोवाको मदत पाएर विगतमा आफूले छुटकारा पाएका घटनाहरू दाऊदले सम्झे। (१ शमू. १७:३४-३७) यी सम्झनाले तिनलाई अझै अप्ठेरो परिस्थितिको सामना गर्न साहसी बनायो। के तपाईंले पनि विगतमा यहोवाले मदत गर्नुभएको घटनाहरू सम्झनुभएको छ? उदाहरणको लागि, के तपाईंले कुनै समस्याबारे यहोवालाई थुप्रै चोटि प्रार्थना गरेपछि त्यो समस्यासित डट्न यहोवाले बुद्धि वा बल दिनुभएको अनुभव गर्नुभएको छ? अथवा आनन्दित भएर उहाँको सेवा गर्नदेखि भाँजो हाल्ने समस्याको समाधान गर्न यहोवाले कसरी मदत गर्नुभयो, सम्झन सक्नुहुन्छ? सेवा गर्ने मौकाको ठूलो ढोका तपाईंको निम्ति कसरी खुल्यो, त्यसबारे सम्झन सक्नुहुन्छ कि? (१ कोरि. १६:९) ती घटनाहरू सम्झँदा अहिले तपाईंलाई कस्तो लाग्छ? यहोवाले अझ ठूलाठूला बाधा वा समस्याहरू सहन तपाईंलाई मदत गर्न सक्नुहुन्छ भन्ने विश्वस्ततालाई ती घटनाहरूले बलियो बनाउँदैन र?—रोमी ५:३-५.
६ कुनै शक्तिशाली सरकारले यहोवाका साक्षीहरूको पूरै सङ्गठनलाई नामेट पार्ने प्रयास गरेमा हामी के गर्नेछौं? वर्तमान समयमा थुप्रै मानिसले त्यसै गर्ने प्रयास गरेका छन् तर तिनीहरू सफल हुन सकेका छैनन्। यहोवाले विगतका आफ्ना जनहरूलाई मदत गर्नुभएको कुरा सम्झ्यौं भने निर्धक्क भई भविष्यको सामना गर्न सक्नेछौं।—दानि. ३:२८.
शुद्ध उपासनाप्रति कृतज्ञ हुनुहोस्
७, ८. (क) भजन २७:४ अनुसार दाऊदले यहोवासित के मागे? (ख) यहोवाको महान् आध्यात्मिक मन्दिर के हो अनि त्यो मन्दिरमा हामी कसरी उपासना गर्छौं?
७ साँचो उपासनाप्रतिको प्रेमले पनि हामीलाई साहसी हुन मदत गर्छ। (भजन २७:४ पढ्नुहोस्) दाऊदको समयमा ‘यहोवाको भवन’ कुनै मन्दिर थिएन, बरु बासस्थान अर्थात् पाल थियो। आफ्नो छोरा सुलेमानले एउटा भव्य मन्दिर बनाउन सकोस् भनेर दाऊदले उक्त मन्दिरको लागि आवश्यक पर्ने सबै प्रबन्ध मिलाए। यहोवाको उपासना गर्न मानिसहरू मन्दिर जानै नपर्ने दिन पनि आउनेछ भनी येशूले शताब्दियौंपछि बताउनुभयो। (यूह. ४:२१-२३) येशूले इस्वी संवत् २९ मा बप्तिस्मा गरेर यहोवाको इच्छाबमोजिम गर्न आफूलाई अर्पण गर्दा महान् आध्यात्मिक मन्दिर अस्तित्वमा आयो। यो कुरा प्रेषित पावलले हिब्रू अध्याय ८ देखि १० मा उल्लेख गरेका छन्। (हिब्रू १०:१०) हामीले येशूको फिरौतीको बलिदानमा विश्वास गरेर यहोवालाई स्वीकार्य उपासना चढाउन सकोस् भनेर नै यहोवाले यो महान् आध्यात्मिक मन्दिरको प्रबन्ध गर्नुभएको हो। हामी त्यहाँ कसरी उपासना गर्छौं? “विश्वासका साथ अनि निर्धक्क भएर पूरा मनले” प्रार्थना गरेर र नधरमराई आफ्नो आशा जनसमक्ष घोषणा गरेर। साथै, मण्डलीका सभाहरूमा उपस्थित हुँदा र पारिवारिक उपासना गर्दा एकअर्काप्रति गहिरो चासो देखाएर, एकअर्कालाई उत्साहित बनाएर अनि प्रोत्साहन दिएर पनि हामी महान् आध्यात्मिक मन्दिरमा उपासना गरेको कुरा देखाउन सक्छौं। (हिब्रू १०:२२-२५) साँचो उपासनाप्रतिको कृतज्ञताले हामीलाई अहिलेको डरलाग्दो समयमा पनि यी कुराहरू गरिरहन मदत गर्नेछ।
८ पृथ्वीभरि नै यहोवाका विश्वासी सेवकहरूले नयाँ भाषा सिकेर अनि आवश्यकता बढी भएको ठाउँमा बसाइँ सरेर प्रचारकार्यमा अझ धेरै समय बिताइरहेका छन्। तिनीहरूको कामले, भजनरचयिता दाऊदजस्तै तिनीहरू परमेश्वरबाट एउटै कुरा मात्र चाहन्छन् भनेर देखाउँछ। तिनीहरू यहोवाको शोभा हेर्न र जस्तोसुकै अवस्थामा पनि पवित्र सेवामा भाग लिइरहन चाहन्छन्।—भजन २७:६ पढ्नुहोस्।
परमेश्वरले मदत गर्नुहुन्छ भनेर भरोसा गर्नुहोस्
९, १०. भजन २७:१० मा उल्लिखित आश्वासनबाट हामी के बुझ्न सक्छौं?
९ यहोवाले मदत गर्नुहुन्छ भनी भरोसा गरेको कुरा दाऊदले जोडदार तरिकामा व्यक्त गरे। तिनले यसो भने: “मेरा बाबु र मेरी आमाले मलाई त्यागेका छन्, तर परमप्रभुले मलाई सम्हाल्नुहुनेछ।” (भज. २७:१०) पहिलो शमूएल अध्याय २२ मा उल्लिखित विवरणबाट दाऊदका आमाबाबुले तिनलाई त्यागेका थिएनन् भन्ने निष्कर्षमा हामी पुग्न सक्छौं। तर आज धेरै जना आफ्नो परिवारद्वारा त्यागिएका छन्। तर यसरी त्यागिएकाहरूले ख्रीष्टियन मण्डलीको न्यानो वातावरणमा मदत र सुरक्षा पाएका छन्।
१० आफ्ना सेवकहरूलाई अरूले त्याग्दा यहोवा तिनीहरूको हेरविचार गर्न तयार हुनुहुन्छ भने के उहाँले तिनीहरूलाई अरू कठिनाइमा पनि सँभाल्नुहुन्न होला र? उदाहरणको लागि, परिवारको भौतिक आवश्यकता पूरा गर्ने विषयमा चिन्तित छौं भने यहोवाले मदत गर्नुहुनेछ भन्ने कुरालाई हामीले बिर्सनु हुँदैन। (हिब्रू १३:५, ६) यहोवा आफ्ना सबै वफादार सेवकको अवस्था र आवश्यकता बुझ्नुहुन्छ।
११. यहोवामाथि भरोसा राख्दा त्यसले अरूमा कस्तो प्रभाव पार्न सक्छ? उदाहरण दिनुहोस्।
११ लाइबेरियामा बस्ने भिक्टोरिया नाम गरेकी एक बाइबल विद्यार्थीको उदाहरण विचार गर्नुहोस्। तिनी बप्तिस्मातर्फ अघि बढ्न थालेपछि तिनीसितै बसिरहेका पुरुषले तिनलाई र तिनका तीन छोराछोरीलाई त्यागे। घरबारविहीन र बेरोजगार भए तापनि तिनले बाइबल अध्ययन गर्न छोडिनन्। भिक्टोरियाको बप्तिस्मापछि तिनकी १३ वर्षीया छोरीले टन्न पैसा भएको एउटा पर्स भेट्टाइन्। लालच नजागोस् भनेर तिनीहरूले त्यो पैसा गन्दै नगन्ने निर्णय गरे। बरु, तिनीहरूले पर्स हराउने सिपाहीलाई तुरुन्तै सम्पर्क गरे। सबै जना यहोवाका साक्षीहरूजस्तै इमानदार भइदिए सारा संसार नै कत्ति राम्रो अनि शान्तिमय हुनेथियो भनेर ती सिपाहीले बताए। भिक्टोरियाले बाइबल खोलेरै उक्त सिपाहीलाई यहोवाले नयाँ संसारसम्बन्धी गर्नुभएको प्रतिज्ञाबारे बताइन्। भिक्टोरियाको विश्वास र इमानदारीबाट प्रभावित भएर उक्त सिपाहीले तिनलाई त्यस पर्सबाट ठूलो रकम इनामस्वरूप दिए। हो, संसारभरिकै मानिसहरूले यहोवाका साक्षीहरूलाई सधैं इमानदारीता देखाउने मानिसको रूपमा चिन्छन्। यहोवाले आफ्नो हेरविचार गर्न सक्नुहुन्छ भन्ने कुरामा पूर्ण भरोसा भएकोले तिनीहरू इमानदार हुन सकेका हुन्।
१२. जागिर वा पैसा गुमाउनु परे तापनि यहोवाको सेवालाई निरन्तरता दिंदा हामीले कुन कुरा देखाइरहेका हुन्छौं? उदाहरण दिनुहोस्।
१२ सियरा लियोन भन्ने देशका बप्तिस्मा अप्राप्त प्रकाशक थोमसले महसुस गरेको कुरा पनि विचार गर्नुहोस्। तिनले माध्यामिक विद्यालयमा शिक्षकको रूपमा पढाउन थाले तर तिनले लगभग एक वर्षको तलब पाएनन्। त्यो तलब पाउन थोमसले के गर्नुपर्नेथियो? तिनले त्यस स्कूलका प्रशासकलाई अन्तरवार्ता दिनुपर्नेथियो। अनि उक्त प्रशासक पादरी थिए। उक्त पादरीले यहोवाका साक्षीहरूको धार्मिक आस्था त्यस स्कूलमा स्वीकार्य नभएको कुरा बताए। यदि आफ्नो जागिर नगुमाउने हो भने थोमसले बाइबलआधारित विश्वास त्याग्नुपर्ने कुरा उनले बताए। थोमसले लगभग एक वर्षको तलब माया मारेर जागिर छोडिदिए। त्यसपछि थोमसले रेडियो तथा फोन मर्मत गर्ने अर्को काम पाए। यो तथा अन्य थुप्रै उदाहरणले देखाएझैं यदि हामी यहोवामा भरोसा राख्छौं भने आफ्ना आवश्यकताहरू पूरा गर्न नसकिएला भनेर कहिल्यै डराउनु पर्दैन। यहोवाले नै सबै कुरा बनाउनुभएकोले र आफ्ना मानिसहरूलाई सधैं सुरक्षा दिनुभएकोले उहाँले हाम्रो हेरविचार गर्नुहुनेछ भनेर हामी ढुक्क हुन सक्छौं।
१३. भौतिक स्रोत-साधनको अभाव भएको देशमा राज्य प्रचारकार्य किन फस्टाइरहेको छ?
१३ विशेषगरि गरिब देशहरूमा भाइबहिनीहरू प्रचार गर्न व्यस्त छन्। किन? एउटा शाखा कार्यालय यस्तो लेख्छ: “बाइबल अध्ययन स्वीकार्ने थुप्रै घरधनीहरू बेरोजगार छन्, त्यसैले तिनीहरूसित दिउँसो अध्ययन गर्न प्रशस्त समय हुन्छ। भाइबहिनीसित पनि प्रचार गर्न धेरै समय हुन्छ। विशेषगरि समस्या धेरै भएको ठाउँका मानिसहरूलाई हामी आखिरी समयमा बाँचिरहेका छौं भनेर भन्नै पर्दैन किनकि तिनीहरू स्वयम्ले आफू वरपरको अवस्था देख्न सक्छन्।” प्रत्येक प्रकाशकले औसतमा तीनवटा भन्दा धेरै बाइबल अध्ययन सञ्चालन गरिरहेको ठाउँमा १२ वर्षभन्दा लामो समयदेखि सेवा गरिरहेका एक मिसनरी भाइले यसो भने: “थुप्रै प्रकाशकको जीवन सरल भएकोले र उनीहरूलाई अलमल्याउने कुरा पनि त्यति धेरै नभएकोले उनीहरूले प्रचारकार्यमा भाग लिन र बाइबल अध्ययन सञ्चालन गर्न धेरै समय पाउँछन्।”
१४. ठूलो भीडले कसरी ईश्वरीय सुरक्षा पाउन सक्छ?
१४ यहोवाले आफ्ना मानिसहरूलाई समूहको रूपमा शारीरिक र आध्यात्मिक मदत गर्ने, सुरक्षा दिने र छुटकारा दिने प्रतिज्ञा गर्नुभएको छ। अनि हामी उहाँको यो प्रतिज्ञामा भरोसा गर्छौं। (भज. ३७:२८; ९१:१-३) “महासङ्कष्ट” पार गर्ने भीड निश्चय नै ठूलो हुनेछ। (प्रका. ७:९, १४) त्यसैले यस भीडलाई यो आखिरी समयमा समूहको रूपमा नामेट हुन दिइने छैन। परीक्षाहरू सहन र यहोवासितको सम्बन्ध जोगाइराख्न तिनीहरूलाई आवश्यक पर्ने सबै कुराको प्रबन्ध गरिनेछ। अनि महासङ्कष्टको अन्तिम चरणसम्मै यहोवाले आफ्ना मानिसहरूलाई सुरक्षित राख्नुहुनेछ।
“हे परमप्रभु, तपाईंको मार्ग मलाई सिकाउनुहोस्”
१५, १६. ईश्वरीय निर्देशनअनुरूप चल्दा हामी कसरी लाभ उठाउन सक्छौं? उदाहरण दिनुहोस्।
१५ साहसी भइरहने हो भने हामीले परमेश्वरको मार्ग सिकिरहनुपर्छ। दाऊदको भनाइबाट यो कुरा स्पष्ट हुन्छ: “हे परमप्रभु, तपाईंको मार्ग मलाई सिकाउनुहोस्, र मेरा शत्रुहरूका कारणले मलाई सम्म बाटोमा अगुवाइ गर्नुहोस्।” (भज. २७:११) यो प्रार्थनाअनुरूप काम गर्नुको अर्थ यहोवाको सङ्गठनबाट आउने बाइबलआधारित प्रत्येक निर्देशनलाई होसियारी भई ध्यान दिनु र त्यसलाई तुरुन्तै लागू गर्नु हो। उदाहरणको लागि, थुप्रैले जीवन सरल बनाउने विषयमा दिइएको बुद्धिमानी सल्लाह लागू गरेका छन्। तिनीहरूले ऋण तिरेका छन् र अनावश्यक चिजबीज बेचबिखन गरेका छन्। त्यसैले आर्थिक सङ्कट छाउँदा तिनीहरूले पैसाको समस्याबारे त्यति चिन्ता गर्नुपरेको छैन। तिनीहरूले आफूलाई साँच्चै आवश्यक नभएका कुराहरूको लागि हाड घोट्नुपरेको छैन। तिनीहरूले प्रचारकार्यमा अझ धेरै समय बिताउन सकेका छन्। हामी सबैले आफूलाई यो प्रश्न सोध्नुपर्छ, ‘के म गाह्रो अवस्थामा पनि बाइबलमा पढेका अनि विश्वासी र बुद्धिमान् दासद्वारा प्रकाशित साहित्यहरूमा पढेका एक-एक कुरा तुरुन्तै लागू गर्छु?’—मत्ती २४:४५.
१६ यहोवाको मार्ग सिक्न र सम्म बाटोमा हिंड्न तयार भयौं भने हामी डराउनुपर्ने छैन। अमेरिकामा बस्ने एक नियमित अग्रगामी आफ्नो पूरै परिवार पूर्ण-समय सेवामा लागिरहेको चाहन्थे। त्यसैले आफूले काम गरिरहेको ठाउँमा तिनले माथिल्लो तहको जागिरको लागि आवेदन दिए। तर तिनले कलेजको डिग्री हासिल नगरेकोले त्यो तहको काम कहिल्यै नपाउने कुरा मेनेजरले बताए। तपाईंलाई यस्तो भएको भए के तपाईं उच्च शिक्षा हासिल नगरेर पूर्ण-समय सेवा गरेकोमा चुकचुकाउनु हुनेथियो? दुई हप्तापछि ती मेनेजरको जागिर गुम्यो र अर्को मेनेजरले हाम्रा भाइलाई तिनको लक्ष्यबारे सोधे। तिनले आफू र आफ्नी पत्नी पूर्ण-समय सेवकको रूपमा यहोवाको सेवामा लागेको र यसलाई निरन्तरता दिन चाहेको कुरा बताए। ती भाइले थप केही भन्नुअघि नै उक्त मेनेजरले यसो भने: “मैले याद गरेको छु, तपाईंहरू अरूभन्दा भिन्न हुनुहुन्छ। मेरो बुबा मृत्युशय्यामा हुँदा तपाईंजस्तै दुई जना साक्षीहरू घरमा आएर दिनदिनै उहाँलाई बाइबल पढेर सुनाउनुहुन्थ्यो। त्यसपछि मैले कुनै समय यहोवाको साक्षीलाई मदत गर्ने मौका पाएँ भने मदत गर्नेछु भनेर आफैसित वाचा गरें।” भोलिपल्ट ती भाइले पहिलाको मेनेजरले दिन नमानेकै काम पाए। हो, राज्य गतिविधिलाई जीवनमा पहिलो स्थान दियौं भने यहोवाले आफ्नो प्रतिज्ञाअनुरूपै हामीलाई आवश्यक पर्ने सबै कुरा दिनुहुनेछ।—मत्ती ६:३३.
विश्वास र आशा अत्यावश्यक
१७. निर्धक्क भई भविष्यको सामना गर्न हामीलाई कुन कुराले मदत गर्छ?
१७ दाऊदले विश्वास र आशाको महत्त्वलाई यसरी जोड दिए: “जीवितहरूको देशमा परमप्रभुको भलाइ देख्ने मलाई विश्वास नहुँदो हो ता, म मुर्छै परिहाल्थें।” (भज. २७:१३) परमेश्वरले दिनुभएको आशा नभएको भए र भजन अध्याय २७ मा उल्लिखित कुराहरू थाह नभएको भए हाम्रो हालत कस्तो हुन्थ्यो होला? त्यसैले यस आखिरी समयमा, ‘बल दिनुहोस् र आरमागेडोनबाट बचाउनुहोस्’ भनेर यहोवालाई निरन्तर प्रार्थना गरिरहौं।—भजन २७:१४ पढ्नुहोस्।
[पृष्ठ २३-मा भएको चित्र]
विगतमा यहोवाबाट पाएको छुटकारा सम्झेर दाऊदले बल पाए
[पृष्ठ २५-मा भएको चित्र]
आर्थिक कठिनाइलाई के हामी सेवा विस्तार गर्ने मौकाको रूपमा लिन्छौं?