परमेश्वरका सबै मार्गहरू न्यायसँगत् छन्
उहाँ नै चट्टान हुनुहुन्छ। उहाँको काम सिद्ध छ, किनकि उहाँका सबै काम न्यायसँगत् छन्।”—व्यस्थाविवरण ३२:४.
१. मोशाले आफू मर्नु अघि, इस्राएलीहरूको सामने आफ्नो गीतमा, यहोवाका कुन कुन गुणहरूलाई महत्व दिए र यस प्रकार कुरा गर्ने योग्यता मोशाले कसरी पाए?
न्यायकर्त्ता, कानूनदाता र राजा यहोवाले “धार्मिकता र न्याय” रूचाउनुहुन्छ। (भजन ३३:५; यशैया ३३:२२) यहोवाका न्यायोचित् मार्गहरू सँग नजीकबाट परिचित हुने मौका, व्यवस्थाको मध्यस्थ र यहोवाले “घनिष्ट सित जान्नुहुने” अगमवक्ता, मोशाले पाए। (व्यवस्था ३४:१०; यूहन्ना १:१२) आफू मर्नु भन्दा अघि, मोशाले यहोवाको न्यायको श्रेष्ठतालाई ज्योति दिए। इस्राएलका सारा समुदायले सुन्नेगरि, उनले यो गीतका शब्दहरू घोषणा गरे: “हे आकाश, म के भन्छु, ध्यान दिई सुन, पृथ्वीले मैले बोलेको वचन सुनोस्। . . . म यहोवाको [NW] नाउँको घोषणा गर्नेछु। परमेश्वरको महानताको कदर गर। उहाँनै चट्टान हुनुहुन्छ। उहाँको काम सिद्ध छ। किनकि उहाँका सबै काम न्यायसँगत् छन्। परमेश्वर विश्वासयोग्य र अधर्मविहीन, न्यायी र सत्य हुनुहुन्छ।”—व्यवस्था ३२:१, ३, ४.
२. परमेश्वरका सबै मार्गहरू कसरी न्याय सँगत् भएका छन् र यो किन महत्वपूर्ण हो?
२ यहोवाका सबै कार्यहरू न्यायसँगत् छन् र उहाँको न्याय सँधैं नै उहाँको बुद्धि, प्रेम र शक्ति साथ प्रयोग गरिन्छ। अय्यूब ३७:२३ मा, परमेश्वरको सेवक, एलिहूले अय्यूबलाई एसो भन्दै, यस कुराको समझना गरायो: “सर्वशक्तिमानलाई हामी भेटाउनसक्तैनौं। उहाँको शक्ति हाम्रो समझको बाहिर छ। उहाँको धार्मिकता न्याय गर्नलाई ढीलो हुँदैन।” साथै, राजा दाऊदले पनि यी शब्दहरू लेखे: “यहोवाले [NW] इन्साफ प्रेम गर्नुहुन्छ, र आफ्ना भक्तहरूलाई त्याग्नुहुन्न।” (भजन ३७:२८) यो कस्तो महान सान्त्वना हो! परमेश्वरका सबै मार्गहरूमा, उहाँले एक छिनका लागि पनि आफ्नो भक्तजनहरूलाई त्याग्नु हुनेछैन। ईश्वरीय न्यायले गर्दा, हामी यस बारे निश्चित् हुन सक्छौं!
न्यायको अभाव किन छ
३. आज मानिसहरूमा के को अभाव छ र यसले मानिस र परमेश्वर बीचको सम्बन्धमा के असर पारेको छ?
३ यहोवा न्याय प्रेम गर्नु हुने, “सारा पृथ्वीका सृष्टिकर्त्ता” र न्यायको परमेश्वर हुनुभएर पनि, आज मानिसहरूको माझमा न्यायको यति ठूलो अभाव किन छ? (यशैया ४०:२८) यसको उत्तर मोशाले व्यवस्था ३२:५ मा यसरी दिएको पाउँछौं: “तिनीहरूले उहाँसँग भ्रष्ट व्यवहार गरे, तिनीहरूको खोटको कारण तिनीहरू उहाँको सन्तान हुनसक्तैनन्। तिनीहरू पतित् र खराब पुस्ताका मानिसहरू हुन्।” मानिसको भ्रष्ट व्यवहारले उसलाई आफ्नो सृष्टिकर्त्ताबाट यति टाढ़ा लगेको छ कि, “आकाश पृथ्वी भन्दा” जतिको अल्गो छ” मानिसको चाल भन्दा परमेश्वरको चाल पनि त्यति कै ऊँचा हुन गएको छ भनेर व्याखा दिइएको छ।—यशैया ५५:८, ९.
४. मानिसले कुन मार्ग रोजेको छ र यसले उसलाई कता तिर लगेको छ?
४ मानिस आफ्नो सृष्टिकर्ताबाट स्वतन्त्र भएर हिड़नका लागि सृजिएको थिएन भन्ने कुरा कहिले न बिर्सनु होस्। यर्मियाले यो परिस्थितिलाई, यी शब्दहरूमा राम्रो सँग बुझाउनु भएको छ: “हे यहोवा [NW] मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्ति मानिसमा छैन।” (यर्मिया १०:२३) मानिसले परमेश्वरको शासन र न्यायोचित मार्गहरू तिरस्कार गरेर, आफूलाई अति शक्तिशाली र बेग्लै अदृश्य आत्माहरू, अर्थात् शैतान र त्यसका प्रेतहरूको अधीनमा ल्याएका छन्। प्रेरित् यूहन्नाले स्पष्ट सँग एसो भने: “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” यी प्रेत आत्माहरू, मानिस जातिको समाजमा न्याय कायमा राख्न चाँहदैनन्।—१ यूहन्ना ५:१९.
५. वर्तमान संसारमा, प्रचलित् न्यायको अभावका उदाहरणहरू दिनुहोस्।
५ यी अन्तिम दिनहरूमा न्यायको अभावको उदाहरण हामी १९८४ सालमा, यु. एस. एटरनी जेनरल, विलियम फ्रेञ्च स्मीथले दिएको वक्तव्यमा पाउँछौं। १९७७ र १९८३ भित्र, १२ अमेरीकाली प्रान्तहरूको दण्डाज्ञा बारे, स्मीथले एसो भने: “हाम्रो जनताको विचारमा, हत्याराहरू, बलत्कार गर्नेहरू र मादक पदार्थको कु-सेवन गर्ने जस्ता, सबै भन्दा खराब अपराधीहरूले कड़ा सजाय भोग्छन्। तर प्रहरीकार्यालयको अध्ययन अनुसार, . . . फेरि सड़कहरूमा स्वतन्त्र भएर, झन खराब अपराधहरू गर्न, यस प्रकारका कठोर अपराधीहरूको निम्ति धेरै नै सजिलो छ।” यसैकारण ता, वाशीङ्गटन लीगल फाउनडेशनको पावल कामेनारले एसो भने: “हाम्रो न्याय व्यवस्थाले अकसर ढिला-सुस्ती गर्छ।”
६. (क) यहूदाका मानिसहरू कैदमा पर्नु अधि, त्यहाँको नैतिक अवस्था कस्तो थियो? (ख) हबाकूकले के प्रश्नहरू गरे र के ती प्रश्नहरू हाम्रो समयमा पनि प्रयोग हुनसक्छन्?
६ ई. पु. ६०७ मा यहूदा बेबिलोनीहरूको कब्जामा पर्नु केही समय अघि, यहूदाका शहरहरू भरि न्याय व्यवस्था ढिला थियो। परमेश्वरको अगमवक्ता, हबाकूकले ईश्वरीय प्रेरणा द्वारा एसो भने: “व्यवस्था ढिला हुँदैजाँदैछ, र न्याय कहिल्यै हुँदैन। दुष्टहरूले अधर्मीहरूलाई घेर्छन्, यसैकारण न्यायको दुरूपयोग हुन्छ।” (हबाकूक १:४) यो अन्यायी अवस्था देखेर, अगमवक्ताले परमेश्वरलाई यो प्रश्न गरे: “छल गर्ने मानिसहरूलाई किन तपाईं हेरिरहनुहुन्छ, औ धर्मी मानिसलाई दुष्टले निल्दा तपाईं किन चूप्प लाग्नुहुन्छ?” (हबकूक १:१३) आज पनि, मानव कामकुराको हर क्षेत्रमा अन्यायको शिकार भएका मानिसहरूले यो प्रश्न सोधन सक्छन्: न्यायको परमेश्वरले पृथ्वीमा भइरहेको अन्याय किन हेरिरहनु हुन्छ? उहाँले किन “न्यायको दुरूपयोग” हुन दिनु हुन्छ? उहाँ किन “चूप्प लाग्नुहुन्छ”? यी प्रश्नहरू महत्वपूर्ण हुन् र परमेश्वरको बहुमूल्य वचन, बाइबलले मात्र यसको साँचो र सन्तोषजनक उत्तर दिन सक्दछ।
परमेश्वरले अन्यायलाई किन अनुमति दिनु भएकोछ
७. (क) परमेश्वरले दिनु भएको प्रमोदवन मानिसले किन गुमायो? (ख) अदनमा के प्रश्नहरू खड़ा भए र ईश्वरीय न्यायले तिनीहरूको फैसला कसरी गर्ने भयो?
७ मोशाले प्रमाण दिए झैं, परमेश्वरका कार्यहरू सिद्ध छन्। अदनको प्रमोदवनमा राख्नु भएको मानव दम्पति पनि सिद्ध थिए। (उत्पत्ति १:२६, २७; २:७) मानिस जातिको कुशलता र आनन्दको निम्ति त्यो सम्पूर्ण प्रबन्ध नै सिद्ध थियो। ईश्वरीय लेख अनुसार: “आफूले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नु भयो। औ हेर, त्यो साह्रै राम्रो थियो।” (उत्पत्ति १:३१) तर अदनको शान्ति धेरै समय सम्म रहेन। एउटा बागी आत्मिक व्यक्तिको प्रभावमा परेर, हव्वा र उनको पतिले, तिनीहरूमाथि यहोवाले गर्नु भएको शासनको विरोध गरे। ईश्वरीय व्यवस्थाको औचित्य माथि तिनीहरूले शङ्का गरे। (उत्पत्ति ३:१-६) परमेश्वरको शासनको इन्साफलाई यस प्रकार चुनौती दिएर, महत्वपूर्ण नैतिक प्रश्नहरू उत्पन्न भयो। विश्वासी मानिस अय्यूबको एतिहासिक लेख अनुसार, परमेश्वरले सृष्टि गर्नु भएका सबै व्यक्तिहरूको विश्वासको जाँच गर्ने आवश्यकता उठ्यो। इन्साफको माँग अनुसार, यी विश्वव्यापी महत्व भएका प्रश्नहरूको फैसला गर्न समय चाहियो।—अय्यूब १:६-११; २:१-५; लूका २२:३१ पनि हेर्नुहोस्.
८. (क) मानिस कस्तो सङ्कष्टमय अवस्थामा फँस्यो? (ख) मोशाको गीतमा के आशाको किरण देखिन्छ?
८ परमेश्वरको न्यायसँगत् मार्गहरू तिरस्कार गरेर मानिसमाथि आइ परेको विपत्तिको वर्णन, पावलले रोमी ८:२२ मा गरेको पाउँछौं। त्यहाँ पावलले एसो भनेर लेखेकोछ: “सारा सृष्टि पनि साथसाथै पीड़ाले सुस्केरा हाल्दै प्रसव वेदनामा अहिले सम्म परेको छ।” धेरै जसो यो “पीड़ा” र “सुस्केराको” कारण, मानिस जातिमा न्यायको अभाव भएर हो, किनभने “मानिसले मानिसमाथि प्रभुत्व जमाएको छ।” [NW] (उपदेशक ८:९) तर सर्वशक्तिमान परमेश्वरलाई हामी धन्यवाद चढ़ाऔं किनभने उहाँले सधैंभरि इन्साफको यसरी ठट्टा उड़ाउन दिनु हुनेछैन! यस सम्बन्धमा, मोशाले आफ्नो गीतमा, व्यवस्था ३२:४० र ४१ मा एसो भनेकोछ: “यदि मैले [यहोवा] आफ्नो चम्कने तरवारमा सान लगाएँ भने, र मेरो हातले न्याय समात्यो भने, म मेरो विरोधीहरूमाथि बदला लिनेछु औ मलाई तिरष्कार गर्नेहरूलाई साटो फेर्नेछु।”
९. मानिसले विरोध गर्दा, यहोवाको हातले कसरी “न्याय समात्यो” यसको वर्णन गर्नुहोस्।
९ अदनको बगैचामा यहोवाको हातले “न्याय समात्यो।” उहाँका आज्ञाहरू भङ्ग गरेको हुनाले, उहाँले मानिसलाई तुरन्त औचित्य पूर्ण मृत्युदण्डको सजाय दिनु भयो। उहाँले आदमलाई एसो भन्नु भयो: “तँ माटै होस् र माटैमा फर्किजानेछस्।” (उत्पत्ति ३:१९) आदमको पापपूर्ण फैसलाले गर्दा, सारा मानव परिवार माथि आएको दुखःदायी परिणाम बारे, कैयौं शताब्दि पश्चात्, प्रेरित् पावलले एसो भनेको छ: “यसैकारण जसरी एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्।”—रोमी ५:१२.
१०. आदमको विद्रोह पश्चात्, कुन दुई सन्तानको विकास हुँदै आएको छ र यहोवाबाट के प्रतिकृया प्रकट भएकोछ?
१० मानिसले गरेको विद्रोह पछि, परमेश्वरले एसो पनि भन्नुभयो: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्।” (उत्पत्ति ३:१५, १७-१९) यी दुई सन्तानको विकास बितेको ६००० वर्ष देखिन् हुँदै आएको छ र दुवैको बीच “दुश्मनी” सधैं नै कायम रहेको छ। तर पृथ्वीको बदली रहने दृश्यहरूको माझमा, यहोवाका न्यायसँगत मार्गहरू चाहिं बदलेका छैनन्। आफ्नो अगमवक्ता मलाकी द्वारा उहाँले एसो भन्नु भएको छ: “म यहोवा [NW] हूँ; म कहिल्यै परिवर्त्तन हुँदिनँ।” (मलाकी ३:६) यसकारण, असिद्ध र बागी मानिस जाति सँग परमेश्वरले गर्नु भएको सबै व्यवहार न्यायसँगत् भएका छन्। बुद्धि, प्रेम र शक्ति जस्ता उहाँका अदभूत गुणहरूको प्रयोग गर्नु हुँदा, यहोवाले एक पटक पनि आफ्नो उच्च र धार्मिक सिद्धान्तहरूलाई त्याग्नु भएको छैन।
परमेश्वर मानिसको बचावका लागि अघि बढ़नु हुन्छ
११, १२. मानिसको दुर्दशाको सुहाउँदो वर्णन, भजन संग्रह ४९ ले कसरी गर्दछ?
११ एउटा ठूलो सामुद्रिक जन्तुको नघ्रहरूले झैं, शैतानको दुष्ट प्रभावले सारा मानव परिवारलाई घेरेको छ। मानिस जाति, तिनीहरूमाथि आइपरेको मृत्युको सजायबाट मात्र होइन तर असिद्ध मानव शासनको बेइन्साफी व्यवस्थाहरूबाट पनि स्वतन्त्र हुनु परेको छ!
१२ मानिसमाथि मृत्युको सजायको सुनवाइ भए पछि, उसको दुखःदायी अवस्थाको वर्णन, कोराहका पुत्रहरूले आफ्नो भजनमा यसरी गरेकाछन्: “हे देश, देशका सबै मानिस हो, सुन। संसारका सबै बासिन्दा हो, कान थाप। उच्च र नीच दुवै, धनी र गरीब जम्मै। तिनीहरूमा कसैले पनि कुनै किसिमले आफ्ना भाइलाई मोल तिरेर छुटाउनसक्तैन, परमेश्वरलाई त्यसको छुटकाराको मोल त्यसले दिनसक्तैन। (किनकि तिनीहरूको आत्माको मोल ज्यादै हुन्छ, र कहिल्यै पनि तिर्न नसक्ने हुन्छ) कि यस्ता कोही छैनन् जो सधैं बाँचिरहन्छ र कुहुनुपर्दैन।” (भजन ४९:१, २, ७-९) यी सबै कुरा परमेश्वरले प्रकट गर्नु भएको न्याय आज्ञा अनुसार नै भएको हो!
१३, १४. (क) मानिसलाई कसले मात्र बचाउन सक्ने भयो र यो कामको निम्ति परमेश्वरले रोज्नु भएको व्यक्ति किन अति नै उचित् हुनु हुन्थ्यो? (ख) परमेश्वरको सबै प्रतिज्ञाहरूका लागि, येशू कसरी “हो” हुनु भयो?
१३ यसकारण, मदद कहाँबाट आउने हो? मानिसलाई मृत्युको शक्तिबाट कसले बचाउन सक्ने हो? भजन संग्रहले यो उत्तर दिन्छ: “परमेश्वरले पातालको शक्तिबाट मेरो प्राणलाई [NW] छुटाउनुहुनेछ।” (भजन ४९:१५) परमेश्वरको न्याय पूर्ण महान प्रेमले मात्र मानिसलाई, “शिओलको हात बाट” बचाउन सकने भयो। हाम्रा प्रश्नहरूको थप उत्तर, येशू र निकोदेमस बीच, रात परेको बेलामा, भएको वार्तालापमा पाईन्छ। येशूले निकोदेमसलाई एसो भन्नु भयो: “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एक मात्र पुत्रलाई दिनु भयो, उहाँमाथि विश्वास गर्ने प्रत्यक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” (यूहन्ना ३:१६) पृथ्वीमा आउनु भन्दा अघि, परमेश्वरको पुत्र आफ्नो पिता सँग स्वर्गमा हुनु हुन्थ्यो। त्यहाँ छँदा देखिन् नै, उहाँको ‘आनन्द मानिस जातिमा थियो।’ (हितोपदेश ८:३१) यसैकारण, मानिस जातिलाई छुटाकरा दिन पनि, यहोवाले यही आत्मिक व्यक्ति—उहाँको एकलौता पुत्रलाई नै—रोज्नु भयो!
१४ येशूको विषयमा, पावलले एसो भनेको छ: “परमेश्वरका जुनसुकै प्रतिज्ञाहरू पनि उहाँमा ‘हो’ नै भनिएका छन्।” (२ कोरिन्थी १:२०) यी प्रतिज्ञाहरू मध्य एउटा प्रतिज्ञा यशैया अगमवक्ताले लेखेको थियो र त्यो प्रतिज्ञा येशूको विषयमा थियो भनेर, मत्ती १२:१८, २१ मा प्रयोग यस प्रकार गरेको पाउँदछौं: “हेर, मेरो दास जसलाई मैंले छानं, मेरो प्रिय, जस सँग मेरो आत्मा साह्रै खुशी छ। म आफ्नो आत्मा तिनमा राखिदिनेछु, र तिनले अन्यजातिहरूलाई न्यायको फैसला सुनाइदिनेछन्। औ उनको नाउँमा अन्यजातिहरूले आशा राख्नेछन्।”—यशैया ४२:१-४ पनि हेर्नुहोस.
१५, १६. येशू आदमका सन्तानको निम्ति “अनन्तको पिता” हुन कसरी सम्भव भयो?
१५ सबै जातिका मानिसहरूले अन्तत्वगत्वा, उहाँको नाउँमा आशा राखेर, ईश्वरीय न्यायको फायदा उठाउन सक्नेछन् भनेर येशूले आफ्नो पार्थिव सेवकाईको दौरानमा स्पष्ट पार्नु भयो। उहाँले एसो भन्नु भयो: “मानिसको पुत्र पनि सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनलाई आयो।” (मत्ती २०:२८) इस्राएलीहरूले पाएको परमेश्वरको सिद्ध कानून यो थियो: “ज्यानको साटो ज्यान।” (व्यवस्था १९:२१) यसकारण, येशूले आफ्नो सिद्ध जीवनको बलिदान चढ़ाउनु भएर, परमेश्वरको शक्ति द्वारा, पुनरूत्थान भएर स्वर्ग फर्कि सक्नु भएको हुनाले, उहाँले आफ्नो सिद्ध मानव जीवनको मूल्य यहोवाको सामने, आदमको जीवन पाउने अधिकारको बदलामा प्रस्तुत् गर्न सक्नु भयो। यस प्रकार येशू “पछिल्लो [अथवा दोस्रो] आदम” हुनु भयो र आज उहाँ आदमका सबै विश्वासगर्ने सन्तानका निम्ति “अनन्त पिता” हुनु भएको छ।—१ कोरिन्थी १५:४५; यशैया ९:६.
१६ यसरी, आफ्नो पुत्र, येशू ख्रीष्टको बलिदान द्वारा परमेश्वरले खोल्नु भएको मुक्तिको बाटो बारे, ‘अन्यजातिहरूले’ पनि सुन्न पाए। यसमा ईश्वरीय न्याय प्रष्ट सँग देखिन्छ। हामी कति कृतज्ञ हुनु पर्छ, किनभने “परमेश्वरले पातालको शक्तिबाट हाम्रो प्राणलाई [NW] छुटाउने बाटो खोली दिनु भएको छ!”
छुटकाराको बलिदानलाई सधैं मान्यता दिन
१७, १८. १८७० को दशकमा सी. टी. रसल कुन पत्रिकाको साझेदार हुन गए तर १८७८ मा बारबरले उनलाई कसरी छक्क पारे?
१७ प्रथम शताब्दिका मसीहीहरूले झैं, यहोवाका साक्षीहरूले पनि यो आधुनिक युगमा, सधैं नै येशू ख्रीष्टको बलिदानको शिक्षालाई मान्यता दिंदै आएका छन्। यस सम्बन्धमा एउटा स्मरणीय कुरा यो हो: वाचटावर सोसाइटीको प्रथम सभापति, चार्लस टेज रसल, दी हेराल्ड अफ दी मोरनीङ्ग कहलाइने एउटा धार्मिक पत्रिकाको सह-सम्पादक र आर्थिक समर्थक पनि हुनुहुन्थ्यो। यो पत्रिकाको प्रकाशक शुरूमा, रोचेस्टर, न्यु योर्क, यु. एस. ए. को बासिन्दा, एन. एच. बारबर नाउँका व्यक्ति थिए। रसलको उमेर त्यस बेला २०, ३० वर्षको थियो। तर बारबर भने, उमेरमा धेरै नै पाको थिए।
१८ रसेल र बारबरको मित्रता राम्रै सँग चली रहेको थियो जब अचानक, १८७८ मा, बारबरले अफ्नो पत्रिकाको एउटा लेख द्वारा, छुटकाराको बलिदानलाई इनकार गरे। त्यो घटनाको वर्णन गर्दै, रसलले एसो भनेको छ: “दी हेराल्डमा, श्रीमान बारबरले छुटकाराको बलिदान इन्कार गर्ने एउटा लेख प्रकाशित् गरे। आदम र उनको सन्तानका लागि, ख्रीष्टको मृत्यु एउटा बलिदान हो भन्ने तथ्यलाई इन्कार गर्दै, जसरी कुनै पनि आमा-बाबुले आफ्नो बच्चाको दुर्व्यवहारको बदलामा एउटा कीराको जीउमा कीला घोंचेर, त्यसलाई सन्ताप र मृत्यु भोग्नु लाउने छैन, त्यसरी नै हाम्रा प्रभुको मृत्यु पनि, मानिस जातिको पापको निम्ति प्रायश्चित् हुन सक्तैन भने।”
१९. (क) छुटकाराको बलिदान बारे बारबरको दृष्टिकोण प्रति, रसलले के प्रतिकृया प्रकट गरे? (ख) वाचटावर पत्रिकाको निम्ति रसलको इच्छा पुरा भएको छ र?
१९ रसल आफू भन्दा पाको मित्रको कुरामा लाग्न सक्थ्ये। तर लागेनन्। केही महिनाहरू सम्म पत्रिकाहरूको पाना द्वारा विवाद चली रह्यो। बारबर ख्रीष्टको बलिदानको विरूद्धमा र रसल त्यसको पक्षमा। अन्तमा, रसलले बारबरको सङ्गत् गर्न छाड़े र यो पत्रिका प्रकाशन् गर्न थाले। शुरूमा यसको नाउँ, जायन्स वाचटावर एन्ड हेराल्ड अफ क्रायस्ट्स प्रेजेन्स थियो। यो नया पत्रिका बारे सी. टी. रसलले यस प्रकारको भावना व्यक्त गरे: “शुरू देखिन् नै, यो पत्रिकाले छुटकाराको बलिदानको विशेष समर्थन गर्दै आएको छ; र परमेश्वरको कृपाले, अन्त सम्मै यसै गर्नेछ भनेर हामी आशा गर्छौं।” के सम्पादक रसलको आशा पुरा भएको छ? निश्चय पुरा भएको छ! यो पत्रिकाको दोस्रो पाना मै एसो भनिएको छ: “यो पत्रिकाले हाल राज्य गर्नुहुने राजा येशू ख्रीष्टमाथि विश्वास गर्न प्रोत्साहन दिन्छ किनभने उहाँले बगाउनु भएको आफ्नो रगत् द्वारा मानिस जातिको निम्ति अनन्त जीवन पाउने बाटो खोलिएको छ।”
२०. कुन् प्रश्नहरूको उत्तर पाउन बाँकीनै छ?
२० हाम्रो अहिले सम्मको छल-फलमा, पाप र मृत्युको दण्डबाट मानिसजातिलाई छुटकारा दिने एउटा आधार, ईश्वरीय इन्साफ अनुसार खाँचो भएको कुरा, गरेका छौं। प्रेमले गर्दा त्यो आधारको प्रबन्ध पनि भयो। तर यस प्रकारका प्रश्नहरूको उत्तर पाउन बाँकी नै छ: येशू ख्रीष्टको छुटकाराको बलिदानबाट सबैले लाभ कसरी उठाउन सक्नेछन्? त्यसको लाभ तपाईंले कसरी र कहिले उठाउनु हुनेछ? हाम्रो आउँदो अङ्कले यी प्रश्नहरूको उत्तर दिनेछ र त्यसले, परमेश्वरका सबै मार्गहरू न्याय सँगत् छन् भन्ने तपाईंको विश्वासलाई अझ बलियो पारि दिनेछ। (w89 3/1)
यसको के उत्तर दिनु हुन्छ?
◻ परमेश्वरले न्यायलाई कतिको महत्व दिनुहुन्छ?
◻ मानिस जातिको माझमा यतिको अन्याय किन छ?
◻ मानिसलाई मृत्युबाट बचाउनको निम्ति परमेश्वरले के प्रबन्ध गर्नु भयो?
◻ दी वाचटावरले छुटकाराको बलिदानलाई कतिको मान्यता दिंदै आएको छ?
[चित्रहरू]
मोवाबको तराईमा, मोशाले आफ्नो गीतका शब्दहरू सबैको सामने भन्छ
परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो