युवा जनहरू सोध्छन् . . .
पक्षपाती व्यवहारको सामना कसरी गर्ने?
“उमेरको हिसाबले बहिनी मभन्दा दुइ वर्ष मात्र कान्छी छे र पनि आमाबाबु खालि उसलाई मात्र ध्यान दिनुहुन्छ। . . . त्यसो गर्न त पाइँदैन नि।”—रिबेका.a
भाइबहिनीले जति धेरै माया पायो, उत्ति नै आफ्नो बेवास्ता हुन थालेको तपाईंलाई लाग्नसक्छ। त्यसमाथि पनि तपाईंको दाजुभाइ वा दिदीबहिनीका केही विशिष्ट गुनहरू छन्, उनीहरू कुनै गम्भीर समस्यामा परेका छन् अथवा उनीहरूको रुचि वा व्यक्तित्व आमाबाबुसित दुरुस्त मिल्छ भने त तपाईंप्रति आमाबाबुको अलिकता मात्र ध्यान खिच्न पनि धौ धौ परिरहेको हुनसक्छ! यसबारे जति धेरै सोच्नहुन्छ, त्यति नै तपाईंको चित्त दुख्नसक्छ।b
तर बाइबल यस्तो चेताउनी दिन्छ: “रिस ता गर, तर पापचाहिं नगर। तिमीहरूको ओछ्यानमा आफ्ना आफ्ना मनमा गुन, र चूपचाप रहो।” (भजन ४:४) मन भाँचिदा र रिस उठ्दा पछि पछुताउनुपर्ने त्यस्तो केही भन्ने वा गर्ने झुकाउ तपाईंमा बढी हुनसक्छ। आफ्नो भाइ हाबिलले परमेश्वरको निगाह प्राप्त गर्दा कयिन कस्तो रिसाएको थियो, सम्झनुहोस् त। परमेश्वरले कयिनलाई यसरी सावधान गराउनुभएको थियो: “पाप ढोकैमा ढुकिबस्छ। त्यसको इच्छा तँप्रति हुन्छ, तर तैंले त्यसलाई अधीन गर्नैपर्छ।” (उत्पत्ति ४:३-१६) तर कयिनले आफ्नो भावनालाई वशमा राख्न सकेन र त्यसको परिणाम असाध्यै डरलाग्दो भयो!
हो, तपाईं कयिनजस्तै हत्यारा नहुनुहोस्। तैपनि, आफूप्रति पक्षपाती व्यवहार भएजस्तो लाग्दा मनमा नानाभाँतीका खराब विचार तथा भावनाहरू खेल्न थाल्छन्। अतः खतरा तपाईंलाई ढोकामै ढुकेर बसिरहेको हुनसक्छ! ती खतरा के हुन्? र यस्तो स्थितिलाई कसरी हातमा लिन सक्नुहुन्छ?
मुखमुखै नलाग्नुहोस्!
तेह्र वर्षको छँदा बेथलाई आमाबाबुले आफूभन्दा भाइलाई बढी ध्यान दिएको र आफूसित पक्षपाती व्यवहार गरेको जस्तो लागेको थियो। तिनी सम्झन्छिन्: “आमा र म असाध्यै बाझ्थ्यौं, तर परिस्थिति सुध्रिएन। उहाँले के भनिरहनुभएको छ म वास्तै गर्दिन थिएँ र मेरो कुरा पनि उहाँ सुन्नै हुन्नथियो।” सायद बाझाबाझ गर्दा परिस्थिति सुध्रनुको साटो झन् बिग्रेको तपाईंले पनि अनुभव गर्नुभएको होला। एफिसी ४:३१ भन्छ: “सबै तीतोपना, क्रोध रिस, हो-हल्ला, निन्दा, सारा वैर-भावसमेत तिमीहरूबाट त्यागिओस्।”
आफ्नो विचार व्यक्त गर्न चिच्याउनुपर्दैन। शान्त भएर कुरा गर्दा अक्सर राम्रो नतिजा निस्कन्छ। हितोपदेश २५:१५ भन्छ: “धीरज गर्नाले राजालाई पनि मनाउनसकिन्छ, मीठो बोलीले कड़ा हड्डीलाई पनि गलाउनसकिन्छ।” त्यसकारण, आमाबाबुले तपाईंसित पक्षपात गरिरहनुभएको छ जस्तो लाग्छ भने चिच्याउने, कराउने, आरोप लगाउने नगर्नुहोस्। उचित समय नआउञ्जेल पर्खनुहोस् र शान्त तथा आदरणीय तरिकामा उहाँहरूसित कुरा गर्नुहोस्।—हितोपदेश १५:२३ तुलना गर्नुहोस्।
आमाबाबुको कमजोरी कोट्याउनुभयो वा उहाँहरू “पक्षपाती” हुनुहुन्छ भन्ने आरोप लगाउनुभयो भने तपाईंले उहाँहरूलाई टाढा गराउने मात्र होइन तर उहाँहरूलाई आफ्नो सफाई पेश गर्नुपर्ने स्थितिमा पनि पुऱ्याउनुहुन्छ। बरु, उहाँहरूको व्यवहारले गर्दा तपाईंलाई कस्तो लाग्यो त्यो बताउनुहोस्। (जस्तै, ‘तपाईंहरूले वास्ता नगर्नुहुँदा मलाई असाध्यै चित्त दुख्छ।’) यसो गर्नुभयो भने उहाँहरूले तपाईंका भावनाहरू गम्भीरतासाथ विचार गर्नु होला। त्यसबाहेक, “सुन्नालाई छिट्टो” पनि हुनुहोस्। (याकूब १:१९) दाजुभाइ वा दिदीबहिनीलाई आमाबाबुले बढ्ता ध्यान दिनुको कुनै जायज कारणहरू पनि हुनसक्छन्। सायद दाजुभाइ वा दिदीबहिनीले भोगिरहेको समस्या तपाईंलाई थाहै नभइरहेको हो कि।
तर एक्कासी झनक्क रिसाउने र रिसको झोंकमा जे पायो त्यही बोल्ने तपाईंको बानी छ भने के गर्ने? हितोपदेश २५:२८ ले ‘रिस थाम्न नसक्ने मानिसलाई’ “पर्खाल विनाको” शहरसित तुलना गरेको छ। त्यस्तो मानिस आफ्नै असिद्ध झुकाउहरूले गर्दा हार्नसक्ने सम्भावना हुन्छ। अर्कोतिर, आफ्ना भावनाहरू नियन्त्रित गर्नसक्नु वास्तवमा तपाईं बलियो हुनु हो! (हितोपदेश १६:३२) चिच्याउँदै मनको कुरा पोख्नुको साटो शान्त नहोउञ्जेल पर्खनुभए वा भोलिपल्ट मात्र आफ्नो भावना व्यक्त गर्नुभए कसो होला? यसो टहलेर वा कुनै कसरत गरेर परिस्थितिलाई भुल्न खोज्दा पनि मदतकारी साबित भएको पाउन सक्नुहुन्छ। (हितोपदेश १७:१४) आफ्नो बोलीलाई नियन्त्रणमा राख्दा चित्त दुखाउन वा मूर्ख कुरा गर्नदेखि तपाईं जोगिन सक्नुहुन्छ।—हितोपदेश १०:१९; १३:३; १७:२७.
चालै नपाई अनाज्ञाकारी हुने
जोगिनुपर्ने अर्को पासो हो, अनाज्ञाकारीता। पारिवारिक बाइबल अध्ययनमा खलल पुऱ्याउँदा सानो भाइले कहिल्यै सजाय नपाएको १६ वर्षीया मरीले याद गरिन्। पक्षपात गरेजस्तो देखिएकोले चिढिएर तिनले अध्ययनमा सहभागी हुन इन्कार गरेर “विरोध” जनाइन्। पक्षपाती व्यवहार भएजस्तो लाग्दा के तपाईं पनि ठुस्किने वा कुनै किसिमको सहयोग नगर्ने गर्नुहुन्छ?
त्यसो हो भने नबिर्सनुहोस्, यसरी चालै नपाई गरिने चालहरूद्वारा तपाईंले आमाबाबुलाई आदर गर्नू र तिनीहरूको आज्ञा पालन गर्नू भन्ने बाइबलको आदेश अवहेलना गर्दै हुनुहुन्छ। (एफिसी ६:१, २) त्यसबाहेक, अनाज्ञाकारी हुँदा आमाबाबु र तपाईंबीचको सम्बन्ध पनि कमजोर हुँदै जान्छ। त्योभन्दा त बरु आमाबाबुसित आफूलाई परेको समस्याबारे कुरा गर्नु नै बेस हुन्छ। “सोझो जवाफ” दिने व्यक्तिले अरूबाट आदर कमाउँछ भनी हितोपदेश २४:२६ ले संकेत गर्छ। मरीले आमासित आफ्नो समस्या बताउँदा तिनीहरूबीच सहमती भयो र स्थिति सुध्रियो।
एकलकाँटे हुनुको खतरा
परिवारबाट अलग बस्नु वा विश्वासमा नहुनेहरूसित घनिष्ठ हुन खोज्नु पक्षपाती व्यवहारसित सामना गर्ने अर्को डरलाग्दो तरिका हो। कस्यान्ड्रालाई यस्तै भयो: “म परिवारबाट टाढिएँ र स्कूलका सांसारिक साथीहरूसित घनिष्ठ भएँ। मैले केटा साथीहरूसित पनि हेलमेल बढाएको थिएँ र यो कुरा आमाबाबुलाई थाह थिएन। त्यसपछि म साह्रै खिन्न हुन थालें र आफैलाई धिक्कार्न थाले किनकि मलाई थाह थियो, म जे गरिरहेछु, त्यो गलत हो। म आफ्ना सांसारिक साथीहरूसितको संगत छोड्न चाहन्थें तर आमाबाबुलाई यो समस्या कसरी बताउने कुनै उपाय नै देखिरहेकी थिइनँ।”
परिवार र सँगी विश्वासीहरूबाट अलग बस्नु खतरनाक हुन्छ नै, अझ विशेषगरि चित्त दुखेको र राम्ररी सोचविचार गर्न नसकेको बेलामा त झन् खतरा हुन्छ। हितोपदेश १८:१ यस्तो चेताउनी दिन्छ: “अलग्गै बस्ने मानिसले सुयोग्य मानिसलाई गिल्ला गर्न सबै किसिमको बहाना गर्छ।” हाल आमाबाबुसित कुरा गर्न अप्ठ्यारो लागिरहेको छ भने हितोपदेश १७:१७ मा व्याख्या गरिएको जस्तै कुनै मसीही मित्रसित आफ्नो बह पोख्नुहोस्। त्यहाँ यसो लेखिएको छ: “मित्र सब समय एक प्रेमी [“सच्चा,” NW] साथी हुन्छ, औ दाज्यू-भाइ चाहिं दुःखमा सहभागी हुनलाई जन्मेको हुन्छ।” मण्डलीका परिपक्व सदस्यहरू माझ अक्सर यस्ता “सच्चा साथी” सजिलै भेट्टाउन सकिन्छ।
कस्यान्ड्राले समस्यामा परेको बेला यस्तै एक “सच्चा साथी” फेला पारिन्: “हाम्रो मण्डलीमा क्षेत्रीय निरीक्षकको [परिभ्रमण सेवक] भ्रमण हुँदा आमाबुबाले मलाई उहाँसँग सेवकाईमा जाने प्रोत्साहन दिनुभयो। उहाँ र उहाँकी श्रीमती अति विनम्र हुनुहुन्थ्यो र उहाँहरूले मलाई साह्रै माया गर्नुभयो। म उहाँहरूसित खुलस्त कुरा गर्नसक्थें। मलाई उहाँहरूले दोषी ठहराउनु होला जस्तो लागेन।” मसीही परिवारमा हुर्क्यो भन्दैमा गल्ती भनेको हुँदैहुँदैन भन्ने छैन भनेर उहाँहरूले बुझ्नुभयो। उहाँहरूको प्रोत्साहन र परिपक्व सल्लाह नै कस्यान्ड्रालाई चाहिएको थियो!—हितोपदेश १३:२०.
ईर्ष्या गर्नुको खतरा
हितोपदेश २७:४ यस्तो चेताउनी दिन्छ: “क्रोध निर्दयी हुन्छ, औ रीस चाहिं भल हो, तर डाहको सामने को खड़ा हुनसक्छ?” आमाबाबुले बढ्ता ध्यान दिनुहुने दाजुभाइ वा दिदीबहिनीप्रतिको ईर्ष्या र डाहले गर्दा कुनै कुनै किशोरकिशोरीहरूले तुरुन्तै गलत कदम चालेका छन्। एउटी आइमाईले स्वीकारिन्: “सानी छँदा मेरो कपाल मसिनो, पातलो र कैलो थियो तर मेरी दिदीको सुनकेस्राको जस्तै कम्मरसम्म आउने सुनौलो बाक्लो अति राम्रो थियो। बुबा जतिखेर पनि उसको कपालको तारिफ गरिरहनुहुन्थ्यो। उहाँ उसलाई आफ्नी ‘रापुञ्जेल’ (सुनकेस्रा) भनेर बोलाउनुहुन्थ्यो। एक रात ऊ सुतिरहेको बेला म आमाको कपडा काट्ने कैंची लिएर सुस्तरी उसको खाटमा पुगें र सकेजति कपाल काटिदिएर उसलाई मुडुली पारिदिएँ।”—ईख नभएको दाजुभाइ तथा दिदीबहिनीहरू, (अंग्रेजी) आडेल फेबर तथा इलेन माज्लिशद्वारा लिखित।
त्यसैकारण, बाइबलमा पनि ईर्ष्यालाई “शरीरका” दुष्ट “कामहरू[मध्ये]” एक भनेर व्याख्या गर्नु कुनै अनौठो लाग्दो छैन। (गलाती ५:१९-२१; रोमी १:२८-३२) तथापि, “डाह गर्ने इच्छा” हामी सबैमा हुन्छ। (याकूब ४:५) त्यसकारण, आफ्नो दाजुभाइ वा दिदीबहिनीलाई आपत्मा पारेर सजाय दिलाउने, नजाती साबित गर्ने वा अरूको नजरमा खसाल्ने मनसाय राख्नुभएको छ भने ईर्ष्या तपाईंलाई आफ्नो वशमा पार्न ‘ढोकैमा ढुकेर बसिरहेको हुनसक्छ!’
यस्ता हानिकारक विचार मनमा खेलिरहेको छ भने के गर्ने? सर्वप्रथम, परमेश्वरको पवित्र आत्माको निम्ति उहाँलाई प्रार्थना गर्नुहोस्। गलाती ५:१६ यसो भन्छ: “आत्माको भरमा हिंड़, र तिमीहरूले शरीरको लालसा कुनै किसिमले पूरा गर्नु पर्नेछैन।” (तीतस ३:३-५ तुलना गर्नुहोस्।) यसले दाजुभाइ वा दिदीबहिनीप्रति तपाईंका भावनाहरू वास्तवमा कस्ता छन्, विचार गर्न पनि मदत गर्नसक्छ। जतिसुकै रिस उठेको भए तापनि दाजुभाइ तथा दिदीबहिनीको पटक्कै माया लाग्दैन भनेर के तपाईं साँच्चै भन्न सक्नुहुन्छ? अनि धर्मशास्त्र भन्छ, “प्रेमले डाह गर्दैन।” (१ कोरिन्थी १३:४) त्यसकारण, नकारात्मक, ईर्ष्यालु बनाउने विचारहरू मनमा खेलाउँदै नखेलाउनुहोस्। आबाबाबुले कुनै दाजुभाइ वा दिदीबहिनीलाई विशेष ध्यान दिनुहुँदैछ भने ऊसित खुशी हुने यत्न गर्नुहोस्।—रोमी १२:१५ तुलना गर्नुहोस्।
यससम्बन्धमा आमाबाबुसित कुराकानी गर्नु पनि मदतकारी साबित हुनसक्छ। तपाईंलाई अझ धेरै ध्यान दिनुपर्ने आवश्यकता उहाँहरूलाई महसुस भयो भने यसले दाजुभाइ वा दिदीबहिनीप्रति तपाईंको ईर्ष्या हटाउन धेरै मदत गर्नेछ। तर स्थिति सुध्रिएन र तपाईंलाई आफू अझै पनि पक्षपाती व्यवहारको शिकार भइरहेको जस्तो लाग्यो भने के गर्ने? आमाबाबुसित नरिसाउनुहोस्, नकराउनुहोस्, उहाँहरूको विरोध नगर्नुहोस्। सहयोगी र आज्ञाकारी मनोवृत्ति कायम राख्ने कोसिस गर्नुहोस्। आवश्यक परेमा मसीही मण्डलीका परिपक्व व्यक्तिहरूसित मदत माग्नुहोस्। योभन्दा पनि बढ्ता यहोवा परमेश्वरसित घनिष्ठ हुनुहोस्। अनि भजनरचयिताका यी शब्दहरू कहिल्यै नबिर्सनुहोस्: “मेरा बाबु र मेरी आमाले मलाई त्यागेका छन्, तर परमप्रभुले मलाई सह्माल्नुहुनेछ।”—भजन २७:१०.
[फुटनोटहरू]
a केही नाउँ परिवर्तन गरिएका छन्।
b ब्यूँझनुहोस्!, नोभेम्बर ८, १९९७ को “मलाईभन्दा भाइबहिनीलाई किन धेरै माया?” लेख हेर्नुहोस्।
[पृष्ठ २४-मा भएको चित्र]
आफ्नो उपेक्षा भएजस्तो लाग्यो भनेर कुरा गर्दा समस्या समाधान हुनसक्छ