प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 १/१ pp. ८-१३
  • सबै साँचो मसीहीहरू प्रचारक हुन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबै साँचो मसीहीहरू प्रचारक हुन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मालिकको उदाहरण
  • सबै प्रारम्भिक मसीहीहरूले प्रचार गरे
  • धर्म परिवर्तन गराउने वा प्रचार गर्ने?
  • आधुनिक समयमा प्रचारकार्य
  • सुसमाचारका आशिष्‌हरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • सबै साँचो मसीहीहरू सुसमाचारका प्रचारक हुन पर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • “प्रचारकको काम गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • अहिले कसले सुसमाचार सुनाइरहेका छन्‌?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 १/१ pp. ८-१३

सबै साँचो मसीहीहरू प्रचारक हुन्‌

“परमप्रभुको निम्ति गाओ, उहाँको नाउँलाई धन्य भन। दिनहुँ उहाँले दिनुभएको उद्धार प्रचार गर।”—भजन ९६:२.

१. मानिसहरूले कस्तो सुसमाचार सुन्‍नु आवश्‍यक छ र यहोवाका साक्षीहरू त्यस्तो समाचार सुनाउने सन्दर्भमा कसरी उदाहरणीय भएका छन्‌?

दिनहुँ विपत्तिहरू भइरहने संसारमा युद्ध, अपराध, भोक र शोषणको चाँडै अन्त हुनेछ भन्‍ने बाइबलको घोषणा साँच्चै सान्त्वनादायी छ। (भजन ४६:९; ७२:३, ७, ८, १२, १६) साँच्चै, के यो सबैले सुन्‍नुपर्ने सुसमाचार होइन र? यहोवाका साक्षीहरूले त्यस्तै विचार राख्छन्‌। तिनीहरू “कल्याणको शुभ समाचार” ल्याउने मानिसहरूको रूपमा संसारभरि प्रख्यात छन्‌। (यशैया ५२:७) हो, थुप्रै साक्षीहरूले सुसमाचार सुनाउने आफ्नो संकल्पको कारण सतावट भोग्नुपरेको छ। तर तिनीहरू मानिसहरूको भलो नै चाहन्छन्‌। अनि साक्षीहरूले जोस र लगनशीलताको कस्तो राम्रो रेकर्ड बसालेका छन्‌!

२. यहोवाका साक्षीहरू जोसिलो हुनुको एउटा कारण के हो?

२ आज यहोवाका साक्षीहरूको जोस प्रथम शताब्दीका मसीहीहरूको जस्तै छ। तिनीहरूबारे रोमन क्याथोलिक अखबार लोसारभाटोरा रोमानो-ले यस्तो सही वर्णन गऱ्‍यो: “सुरुका मसीहीहरूले बप्तिस्मा लिने बित्तिकै सुसमाचार फैलाउने काम गर्नु आफ्नो दायित्व ठाने। एक कान दुई कान गर्दै दासहरूले सुसमाचार फैलाए।” यहोवाका साक्षीहरू किन प्रारम्भिक मसीहीहरूजस्तै जोसिला छन्‌? पहिलो कारण त, तिनीहरूले घोषणा गर्ने सुसमाचारको स्रोत स्वयम्‌ यहोवा परमेश्‍वर हुनुहुन्छ। के जोसिलो हुनुपर्ने योभन्दा अर्को जोडदार कारण होला र? तिनीहरूको प्रचारकार्य भजनरचियताका यी शब्दहरूको जवाफ हो: “परमप्रभुको निम्ति गाओ, उहाँको नाउँलाई धन्य भन। दिनहुँ उहाँले दिनुभएको उद्धार प्रचार गर।”—भजन ९६:२.

३. (क) यहोवाका साक्षीहरू जोसिलो हुनुको दोस्रो कारण के हो? (ख) “[परमेश्‍वरले] दिनुहुने उद्धार[मा]” के समावेश छ?

३ भजनरचयिताका शब्दहरूले यहोवाका साक्षीहरू जोसिलो हुनुको दोस्रो कारण पनि हामीलाई स्मरण गराउँछन्‌। तिनीहरूको सन्देश, उद्धारको सन्देश हो। केही व्यक्‍तिविशेषहरू सँगी मानवको अवस्था सुधार्न चिकित्सा, सामाजिक, आर्थिक वा अन्य क्षेत्रमा काम गर्छन्‌ र तिनीहरूको प्रयास सराहनीय छ। तर एउटा मानिसले अर्को मानिसको लागि गर्नसक्ने कुरा “[परमेश्‍वरले] दिनुहुने उद्धार[को]” तुलनामा एकदमै सीमित छ। यहोवाले येशू ख्रीष्टमार्फत नम्र जनहरूलाई पाप, बिमारी र मृत्युबाट बचाउनुहुनेछ। त्यसबाट लाभ उठाउनेहरूले अनन्त जीवन पाउनेछन्‌! (यूहन्‍ना ३:१६, ३६; प्रकाश २१:३, ४) आज, मसीहीहरूले निम्न शब्दहरू सुन्दा सम्झिने एउटा “अचम्मका काम” उद्धार पनि हो: “[परमेश्‍वरको] महिमाको वर्णन जाति जातिका बीचमा गर। सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरू वर्णन गर। किनकि परमप्रभु महान्‌ हुनुहुन्छ, उच्च प्रशंसा गरिने योग्यको हुनुहुन्छ। सारा देवहरूभन्दा बढ़ी उहाँकै डर राख्नुपर्छ।”—भजन ९६:३, ४.

मालिकको उदाहरण

४-६. (क) यहोवाका साक्षीहरू जोसिलो हुनुको तेस्रो कारण के हो? (ख) सुसमाचार प्रचार गर्ने कार्यमा येशूले कसरी जोस देखाउनुभयो?

४ यहोवाका साक्षीहरू जोसिलो हुनुको तेस्रो कारण पनि छ। तिनीहरू येशू ख्रीष्टको उदाहरण अनुकरण गर्छन्‌। (१ पत्रुस २:२१) सिद्ध मानिस येशूले पूरा तनमनले “नम्रहरूलाई सुसमाचार सुनाउ[ने]” कार्यभार स्वीकार्नुभयो। (यशैया ६१:१; लूका ४:१७-२१) अतः उहाँ सुसमाचारक अथवा सुसमाचारका प्रचारक हुनुभयो। उहाँ “राज्यको सुसमाचार प्रचार गर्दै” गालील र यहूदियाका टाढा-टाढा इलाकासम्म पुग्नुभयो। (मत्ती ४:२३) अनि थुप्रैले सुसमाचार सुन्‍नेछन्‌ भन्‍ने कुरा उहाँलाई थाह भएको कारण उहाँले चेलाहरूलाई यसो भन्‍नुभयो: “फसल ता साँच्चिनै प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्‌। यसकारण तिमीहरूले फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्‌ भनी बिन्ती गर।”—मत्ती ९:३७, ३८.

५ आफ्नै प्रार्थनाबमोजिम येशूले अरूलाई प्रचारक हुन प्रशिक्षण दिनुभयो। समयमा उहाँले आफ्ना प्रेरितहरूलाई यसो भनेर पठाउनुभयो: “ ‘स्वर्गको राज्य नजीकै आइपुगेको छ,’ भन्दै प्रचार गर।” तिनीहरूले त्यस बेलाका सामाजिक विसंगतिहरू हटाउन कार्यक्रमहरू बनाएका भए के अझ व्यावहारिक हुने थियो होला? अथवा के त्यस बेलाको व्याप्त भ्रष्टाचार विरुद्ध लड्‌न राजनीतिमा भाग लिएको भए बेस हुन्थ्यो होला? अहँ, हुने थिएन। बरु, येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुहुँदा सबै मसीही प्रचारकहरूको लागि स्तर स्थापना गर्नुभयो: “प्रचार गर।”—मत्ती १०:५-७.

६ पछि, येशूले चेलाहरूको अर्को समूहलाई यस्तो घोषणा गर्न पठाउनुभयो: “परमेश्‍वरको राज्य तिमीहरूको नजीक आइपुगेको छ।” तिनीहरू आफ्नो प्रचार यात्राको सफलताबारे रिपोर्ट दिन आउँदा येशू साह्रै आनन्दित हुनुभयो। उहाँले यसो भन्दै प्रार्थना गर्नुभयो: “हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंमा धन्यवाद चढाउँदछु, तपाईंले यी कुरा बुद्धिमान र समझदारबाट छिपाएर बालकहरूलाई प्रकट गर्नुभयो।” (लूका १०:१, ८, ९, २१) पहिला जलाहारी, किसान आदि पेसामा निकै मेहनत गरेका येशूका चेलाहरू त्यतिबेलाका शिक्षित धर्मगुरुहरूको तुलनामा बालकहरूजस्तै थिए। तर यी चेलाहरूले सबैभन्दा उत्तम सुसमाचार घोषणा गर्ने प्रशिक्षण पाए।

७. येशू स्वर्गमा उक्लनुभएपछि उहाँका चेलाहरूले सबैभन्दा पहिला कसलाई प्रचार गरे?

७ येशू स्वर्गमा उक्लनुभएपछि उहाँका अनुयायीहरूले उद्धारको सुसमाचार फैलाउन छाडेनन्‌। (प्रेरित २:२१, ३८-४०) तिनीहरूले कसलाई पहिला प्रचार गरे? के तिनीहरू परमेश्‍वर नचिन्‍ने राष्ट्रलाई प्रचार गर्न गए? गएनन्‌, तिनीहरू त सबैभन्दा पहिला इस्राएलमा प्रचार गर्न गए जहाँका मानिसहरूले यहोवालाई चिनेको १,५०० वर्षभन्दा बढी भइसकेको थियो। यहोवाको उपासना गरिने ठाउँमै प्रचार गर्नु के उचित थियो? थियो। किनभने येशूले तिनीहरूलाई यसो भन्‍नुभएको थियो: “तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।” (प्रेरित १:८) अरू राष्ट्रले जत्तिकै इस्राएलले पनि सुसमाचार सुन्‍नु आवश्‍यक थियो।

८. आज कसरी यहोवाका साक्षीहरूले येशूका प्रथम शताब्दीका अनुयायीहरूको अनुकरण गर्छन्‌?

८ त्यसै गरी, आज यहोवाका साक्षीहरूले पनि पृथ्वीको कुना-कुनासम्म प्रचार गर्छन्‌। यूहन्‍नाले दर्शनमा देखेका ‘पृथ्वीमा रहनेहरू हरेक जाति, कुल, भाषा र मानिसहरूलाई अनन्त सुसमाचार घोषणा गर्ने’ जिम्मा पाएका स्वर्गदूतलाई तिनीहरू साथ दिन्छन्‌। (प्रकाश १४:६) सन्‌ २००१ मा तिनीहरू २३५ देश तथा इलाकाहरूमा सक्रिय थिए र यसमा कतिपय मसीही देश भनी चिनिने ठाउँहरू थिए। के मसीहीजगत्‌का चर्चहरू स्थापना भइसकेका राष्ट्रहरूमा यहोवाका साक्षीहरूले प्रचार गर्नु गलत हो? कसै-कसैले गलत हो भन्छन्‌ र सुसमाचार प्रचार गर्नुको अर्थ तिनीहरूको चर्चका सदस्यहरूलाई अर्थात्‌ “भेडा चोर्नु” बराबर हो समेत भन्छन्‌। तथापि, यहोवाका साक्षीहरू येशूले आफ्नो समयका नम्र यहूदीहरूबारे कस्तो महसुस गर्नुहुन्थ्यो भनेर विचार गर्छन्‌। तिनीहरू पूजाहारी वर्गका भए तापनि येशूले तिनीहरूलाई सुसमाचार सुनाउन हिचकिचाउनु भएन। “उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालो नभएका भेड़ाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।” (मत्ती ९:३६) यहोवाका साक्षीहरूले यहोवा अनि उहाँको राज्यबारे थाह नभएका नम्र व्यक्‍तिहरूलाई भेट्‌दा कुनै धर्मको तिनीहरूमाथि अधिकार छ भन्दै त्यस्ता व्यक्‍तिहरूलाई सुसमाचार नसुनाउने त? येशूका प्रेरितहरूको उदाहरण पछ्याउँदै हामीले सुनाउनुपर्छ। कसैलाई पक्षपात नगरी “सबै जातिहरूलाई” सुसमाचार प्रचार गरेको हुनुपर्छ।—मर्कूस १३:१०.

सबै प्रारम्भिक मसीहीहरूले प्रचार गरे

९. प्रथम शताब्दीमा मसीही मण्डलीका क-कसले प्रचार गरे?

९ प्रथम शताब्दीमा क-कसले प्रचार गरे? तथ्यले देखाएअनुसार सबै मसीहीहरू प्रचारक थिए। लेखक डब्ल्यु. एस. विलियम्स्‌ यस्तो टिप्पणी गर्छन्‌: “प्रारम्भिक समयमा चर्चका सबै मसीहीहरूले . . . सुसमाचार प्रचार गर्थे भन्‍ने प्रमाण पाउँछौं।” सा.यु. ३३ पेन्तिकोसको दिनमा भएका घटनाहरूको सन्दर्भमा बाइबल यसो भन्छ: “तिनीहरू सबै [पुरुष तथा स्त्रीहरू] पवित्र आत्माले भरिए, र आत्माले तिनीहरूलाई उच्चारण गर्नदिए बमोजिम, तिनीहरू अरू भाषामा बोल्नलागे।” पुरुष तथा स्त्री, जवान तथा वृद्ध, कमारा तथा फुक्का सबै प्रकारका मानिसहरू प्रचारक हुनसक्थे। (प्रेरित १:१४; २:१, ४, १७, १८; योएल २:२८, २९; गलाती ३:२८) सतावटको कारण थुप्रै मसीहीहरू यरूशलेमबाट भाग्न बाध्य हुँदा “ती तितर-बितर भएकाहरूले जताततै गएर वचनको सुसमाचार सुनाउन लागे।” (प्रेरित ८:४) थोरै अभिषिक्‍त जनहरूले मात्र होइन तर “ती तितर-बितर भएकाहरू” सबैले प्रचार गरे।

१०. यहूदी रीतिरिवाजको विनाशअघि कस्तो द्विपक्षीय आज्ञा पूरा गरियो?

१० यो कुरा ती प्रारम्भिक वर्षहरूभरि नै सत्य साबित भयो। येशूले यस्तो भविष्यवाणी गर्नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४) रोमी सेनाहरूले यहूदी धर्म र राजनैतिक व्यवस्था खतम गर्नुअघि ती शब्दहरूअनुरूप प्रथम शताब्दीमा सुसमाचार व्यापक रूपमा प्रचार गरियो। (कलस्सी १:२३) यसबाहेक, येशूका सबै अनुयायीहरूले उहाँको आज्ञा पालन गरे: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” (मत्ती २८:१९, २०) केही आधुनिक प्रचारकहरूले गरेझैं प्रारम्भिक मसीहीहरूले नम्र जनहरूलाई येशूमा विश्‍वास गर्न आग्रह गरेर पछि चाहिं त्यत्तिकै अलपत्र छोड्‌ने गरेनन्‌। बरु, उनीहरूले तिनीहरूलाई येशूको चेला हुन सिकाए, मण्डलीहरूलाई सुसंगठित गरे र तिनीहरू आफैले पनि सुसमाचार प्रचार गरेर चेला बनाउन सकोस्‌ भनेर प्रशिक्षण दिए। (प्रेरित १४:२१-२३) अहिले यहोवाका साक्षीहरूले त्यही नमुना पछ्याउँछन्‌।

११. सबैभन्दा उत्तम सुसमाचार सुनाउने काममा आज कसले भाग लिइरहेका छन्‌?

११ प्रथम शताब्दीका पावल, बर्णाबास तथा अन्य व्यक्‍तिहरूको उदाहरण अनुकरण गर्दै थुप्रै यहोवाका साक्षीहरू विदेशी भूमिहरूमा मिसनरीको रूपमा गएका छन्‌। तिनीहरू राजनीतिमा नमुछिएको वा अन्य कुनै तरिकामा सुसमाचार प्रचार गर्ने कार्यबाट नतर्किएको कारण तिनीहरूको काम साँच्चै लाभकारी भएको छ। तिनीहरूले केवल “प्रचार गर” भन्‍ने येशूको आज्ञा पालन गरेका छन्‌। तथापि, धेरैजसो यहोवाका साक्षीहरू विदेशी भूमिहरूमा मिसनरीहरू होइनन्‌। तिनीहरूमध्ये थुप्रै आफ्नो जीवन धान्‍न जागिर खान्छन्‌ र अरू कति जना त अझै स्कूलमा पढ्‌दैछन्‌। कोही-कोही छोराछोरी हुर्काउँदै छन्‌। तर सबै साक्षीहरू आफूले सिकेको सुसमाचार अरूलाई बताउँछन्‌। जवान होस्‌ वा वृद्ध, पुरुष होस्‌ वा स्त्री, तिनीहरू आनन्दपूर्वक बाइबलको यो सल्लाह पालन गर्छन्‌: “वचन प्रचार गर, समय र बेसमयमा तयार रह।” (२ तिमोथी ४:२) प्रथम शताब्दीका अग्रणीहरूले जस्तै तिनीहरूले ‘येशू नै ख्रीष्ट हुनुहुन्छ भनी सिकाउन र प्रचार गर्न छाडेका छैनन्‌।’ (प्रेरित ५:४२) तिनीहरूले मानवताको निम्ति सबैभन्दा उत्तम सुसमाचार सुनाइरहेका छन्‌।

धर्म परिवर्तन गराउने वा प्रचार गर्ने?

१२. धर्म परिवर्तन गराउनु भनेको के हो र यसबारे मानिसहरूको दृष्टिकोण कस्तो छ?

१२ आजभोलि, कोही-कोही मानिसले धर्म परिवर्तन गराउनु भनेको हानिकारक छ भन्‍ने गर्छन्‌। चर्चहरूको विश्‍व परिषद्‌बाट प्रकाशित एउटा लेखमा “धर्म परिवर्तन गराउनुको पापबारे” समेत बताइएको छ। किन? क्याथोलिक वर्ल्ड रिपोर्ट यस्तो उल्लेख गर्छ: “अर्थोडक्सहरूले एकपछि अर्को गुनासो गरेको कारण ‘धर्म परिवर्तन’ भन्‍ने वाक्यांशले जबरजस्ती धर्म परिवर्तन गराउने भन्‍ने अर्थ लिइसक्यो।”

१३. धर्म परिवर्तन गर्दा हानिकारक साबित भएका केही उदाहरणहरू के-के हुन्‌?

१३ के धर्म परिवर्तन गराउनु हानिकारक छ? हुन सक्छ। शास्त्री र फरिसीहरूले मानिसहरूलाई आफ्नो मतमा ल्याउन गरेको प्रयास ती मानिसहरूको निम्ति हानिकारक थियो भनी येशूले भन्‍नुभयो। (मत्ती २३:१५) “जबरजस्ती धर्म परिवर्तन गराउनु” अवश्‍य गलत हो। उदाहरणका लागि, इतिहासकार जोसेफसका अनुसार मक्काबी जोन हिर्कानेसले इदुमिआलीहरूलाई परास्त गरेपछि “तिनीहरूले आफूलाई खतना गरेर यहूदी व्यवस्थाअनुसार बस्न राजी भएसम्म आफ्नो देशमा बस्न अनुमति दिए।” इदुमिआलीहरू यहूदी शासनको अधीनमा बस्ने हो भने, तिनीहरूले यहूदी धर्मअनुसार गर्नुपर्ने थियो। सा.यु. आठौं शताब्दीमा चार्लमेनले उत्तरी युरोपका मूर्तिपूजक स्याक्सनहरूलाई परास्त गरेर निर्ममतासाथ धर्म परिवर्तन गर्न लगाए भनी इतिहासकारहरू बताउँछन्‌।a तर स्याक्सन वा इदुमिआलीहरूले धर्म परिवर्तन गर्नुमा कत्तिको निष्कपटता थियो? उदाहरणका लागि, शिशु येशूलाई मार्न खोज्ने इदुमिआली राजा हेरोदले के साँचो मनले मोशाको व्यवस्था पालन गरेका थिए?—मत्ती २:१-१८.

१४. मसीहीजगत्‌का मिसनरीहरूले मानिसहरूलाई धर्म परिवर्तन गर्न कस्तो दबाउ दिन्छन्‌?

१४ के आज पनि जबरजस्ती धर्म परिवर्तन गराइएको छ? कतिपय अवस्थामा छ। धर्म परिवर्तन गरेको खण्डमा विदेशमा पढ्‌न जाने प्रबन्ध मिलाइदिने जस्ता काम पनि मसीहीजगत्‌का केही मिसनरीहरूले गरेका छन्‌। अथवा भोको शरणार्थीलाई खानाको रासन दिनुअघि प्रवचन सुन्‍न लगाउँछन्‌। सन्‌ १९९२ मा अर्थोडक्स पादरीहरूको अधिवेशनले जारी गरेको विज्ञप्तिअनुसार “कहिलेकाहीं प्रलोभन देखाएर त कहिलेकाहीं विभिन्‍न प्रकारको हिंसात्मक गतिविधिद्वारा धर्म परिवर्तन गर्न लगाइन्छ।”

१५. के यहोवाका साक्षीहरूले आज थुप्रै मानिसले अर्थ लगाएझैं धर्म परिवर्तन गराउँछन्‌? व्याख्या गर्नुहोस्‌।

१५ मानिसहरूलाई धर्म परिवर्तन गर्न दबाउ दिनु गलत हो। यहोवाका साक्षीहरूले पटक्कै त्यसो गर्दैनन्‌।b तसर्थ, आज थुप्रै मानिसले धर्म परिवर्तन भन्‍ने बित्तिकै जुन सोचाइ राख्छन्‌, वास्तवमा तिनीहरूले त्यसो गर्दैनन्‌। बरु, प्रथम शताब्दीका मसीहीहरूले जस्तै तिनीहरू सबैलाई सुसमाचार प्रचार गर्छन्‌। स्वेच्छाले कुरा सुन्‍ने सबैलाई बाइबल अध्ययनद्वारा अझ बढी ज्ञान लिन आमन्त्रित गरिन्छ। त्यस्ता जिज्ञासु व्यक्‍तिहरूले बाइबलको सही ज्ञानमा आधारित कुरामा र परमेश्‍वर अनि उहाँको उद्देश्‍यमा विश्‍वास गर्न सिक्छन्‌। फलस्वरूप, उद्धारको निम्ति तिनीहरूले यहोवा परमेश्‍वरको नाउँ पुकार्छन्‌। (रोमी १०:१३, १४, १७) सुसमाचार स्वीकार्ने वा नस्वीकार्ने भन्‍ने कुरा व्यक्‍तिगत छनौटको कुरा हो। जबरजस्ती गर्नुहुँदैन। जबरजस्ती गरियो भने त धर्म परिवर्तन गर्नुको कुनै अर्थै रहँदैन। परमेश्‍वरलाई स्वीकार्य उपासना त भित्र हृदयदेखि उत्प्रेरित भएर चढाएको हुनुपर्छ।—व्यवस्था ६:४, ५; १०:१२.

आधुनिक समयमा प्रचारकार्य

१६. आधुनिक समयमा यहोवाका साक्षीहरूको प्रचारकार्यमा कसरी वृद्धि भएको छ?

१६ आधुनिक समयमा यहोवाका साक्षीहरूले मत्ती २४:१४ अझ व्यापक रूपमा पूरा हुने गरी परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरेका छन्‌। तिनीहरूको यस प्रचारकार्यमा एउटा प्रमुख साधन प्रहरीधरहरा पत्रिका भएको छ।c सन्‌ १८७९ मा द वाचटावर-को प्रथम अंक प्रकाशित हुँदा एउटा भाषामा झन्डै ६,००० प्रति वितरण भएको थियो। सन्‌ २००१ मा अथवा १२२ भन्दा बढी वर्षपछि यो पत्रिका १४१ भाषामा २,३०,४२,००० प्रति वितरण भयो। यस वृद्धिसँगसँगै यहोवाका साक्षीहरूको प्रचार गतिविधिमा पनि वृद्धि भएको छ। उन्‍नाइसौं शताब्दीमा हरेक वर्ष प्रचारकार्यमा बिताएको केही हजार घण्टालाई सन्‌ २००१ मा बिताएको १,१६,९०,८२,२२५ घण्टासित तुलना गर्नुहोस्‌। अनि प्रत्येक महिना सञ्चालन गरिएको सरदर ४९,२१,७०२ वटा निश्‍शुल्क गृह बाइबल अध्ययनलाई विचार गर्नुहोस्‌। असल कार्य कत्ति धेरै सम्पन्‍न भएको छ! अनि यो ६१,१७,६६६ जना सक्रिय राज्य प्रचारकहरूद्वारा गरिएको थियो।

१७. (क) आज कस्ता झूटा देवहरूको उपासना गरिन्छ? (ख) भाषा, राष्ट्रियता वा सामाजिक ओहदा जस्तोसुकै भए तापनि सबैले कुन कुरा थाह पाउनुपर्छ?

१७ भजनरचयिता यसो भन्छन्‌: “मानिसहरूका सारा देवहरू केवल मूर्ति मात्र हुन्‌। तर परमप्रभुले ता स्वर्ग सृष्टि गर्नुभयो।” (भजन ९६:५) आज संसारमा राष्ट्रियवाद, राष्ट्रिय प्रतीक, प्रतिष्ठित व्यक्‍तिहरू, भौतिक चीजबीज र धनलाई समेत उपासनाको कुरा बनाइएको छ। (मत्ती ६:२४; एफिसी ५:५; कलस्सी ३:५) मोहनदास के. गान्धीले यसो भने: “मेरो विचारमा . . . युरोप आज नाउँ मात्रको मसीही भूमि हो। तिनीहरूले वास्तवमा मामोनको [धन] उपासना गर्छन्‌।” तथ्य कुरा के हो भने, सबैले सुसमाचार सुन्‍नुपर्छ। मानिसको भाषा, राष्ट्रियता वा सामाजिक ओहदा जस्तोसुकै भए तापनि सबैले यहोवा अनि उहाँको उद्देश्‍यबारे थाह पाउनुपर्छ। भजनरचयिताका निम्न शब्दहरू सबैले सुनून्‌ भन्‍ने हामी इच्छा गर्छौं: “परमप्रभुलाईनै महिमा र शक्‍ति देओ। परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा देओ।” (भजन ९६:७, ८) यहोवाका साक्षीहरू अरूलाई यहोवाबारे सिक्न मदत गर्छन्‌ ताकि तिनीहरूले सही ढंगमा उहाँको महिमा गर्न सकून्‌। अनि कुरा सुन्‍नेहरूले धेरै लाभ उठाउँछन्‌। तिनीहरूले कस्ता लाभहरू उठाउँछन्‌? यी कुराहरू यसपछिको लेखमा छलफल गरिनेछ।

[फुटनोटहरू]

a द क्याथोलिक इनसाइक्लोपीडिया-अनुसार सुधारवादको समयमा मानिसहरूलाई जबरजस्ती धर्म परिवर्तन गराउन यस्तो उद्देश्‍य बताइन्थ्यो: क्युयस रेग्यो इलियुस रिलिगो (यसको सार हो: देशको शासक जो हुन्छ उसैले देशको धर्म पनि निर्धारण गर्छ।”)

b संयुक्‍त राज्य अन्तरराष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगको नोभेम्बर १६, २००० मा भएको सभामा एक जना सहभागीले जबरजस्ती धर्म परिवर्तन गर्न खोज्नेहरू र यहोवाका साक्षीहरूको गतिविधिबीचको भिन्‍नता प्रस्ट पारे। यहोवाका साक्षीहरूले अरूलाई प्रचार गर्दा कुनै पनि व्यक्‍तिले “मलाई चासो छैन” भनेर ढोका लगाउन सक्छन्‌ भनी टिप्पणी गरिएको थियो।

c पत्रिकाको पूरा शीर्षक प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ हो।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• यहोवाका साक्षीहरू किन जोसिला प्रचारकहरू हुन्‌?

• मसीहीजगत्‌का चर्चहरू भएको ठाउँमा पनि किन यहोवाका साक्षीहरूले प्रचार गर्छन्‌?

• आज थुप्रै मानिसले धर्म परिवर्तन भन्‍ने बित्तिकै जुन सोचाइ राख्छन्‌, यहोवाका साक्षीहरू किन त्यसो गर्दैनन्‌?

• आधुनिक समयमा यहोवाका साक्षीहरूको प्रचारकार्यमा कस्तो वृद्धि भएको छ?

[पृष्ठ ९-मा भएको चित्र]

येशू जोसिलो प्रचारक हुनुहुन्थ्यो र अरूलाई पनि त्यसै गर्न प्रशिक्षण दिनुभयो

[पृष्ठ १०-मा भएको चित्र]

प्रथम शताब्दीमा मण्डलीका सबैले प्रचारकार्यमा भाग लिन्थे

[पृष्ठ ११-मा भएको चित्र]

मानिसहरूलाई धर्म परिवर्तन गर्न जबरजस्ती गर्नु गलत हो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने