प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 जुलाई pp. १२-१६
  • तपाईँको आँखाले कसलाई हेर्दै छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँको आँखाले कसलाई हेर्दै छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • वफादार पुरुष आफ्नो सुअवसर गुमाउँछन्‌
  • मोशाले कसरी विद्रोह गरे?
  • समस्याको कारण के थियो?
  • अरूको व्यवहारले गर्दा नअल्झिनुहोस्‌
  • यहोवाको मार्ग सिक्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मोशा—प्रेमको उदाहरण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मोशाको विश्‍वास अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • बलिरहेको झाडी
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 जुलाई pp. १२-१६
मोशा चट्टानलाई हिर्काउँछन्‌ र त्यसबाट पानी निस्कन्छ

तपाईँको आँखाले कसलाई हेर्दै छ?

“हे स्वर्गको सिंहासनमा विराजमान हुनुहुने, तपाईंतिर म मेरा आँखा उचाल्छु।”—भज. १२३:१.

गीत: १४३, १२४

हामीले के सिक्यौँ?

  • कुन अर्थमा हाम्रो आँखाले यहोवालाई हेर्नुपर्छ?

  • मोशाले प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्ने सुअवसर किन गुमाए?

  • मोशाको घटनाबाट हामी कस्तो पाठ सिक्छौँ?

१, २. हामी कसरी यहोवालाई हेरिरहन सक्छौँ?

अहिले हामी “असाध्यै कठिन समय”-मा बाँचिरहेका छौँ। अनि नयाँ संसार आएर पृथ्वीमा साँचो शान्ति छाउनुअघि हाम्रो जीवन झनै कठिन हुँदै जानेछ। (२ तिमो. ३:१) त्यसैले हामीले आफैलाई यस्तो प्रश्‍न सोध्नुपर्छ: ‘मदत र डोऱ्‍याइको लागि मैले कसलाई हेरिरहेको छु?’ हामी तुरुन्तै यस्तो जवाफ दिन्छौँ होला: “यहोवालाई।” अनि त्यो एकदमै सही जवाफ हो।

२ तर यहोवालाई हेर्नु भनेको के हो? अनि जीवनमा कठिन परिस्थितिको सामना गर्नुपर्दा हामी कसरी आफ्नो आँखाले उहाँलाई हेरिरहन सक्छौँ? सयौँ वर्षअघि एक जना भजनहारले गाह्रो परिस्थिति आउँदा आफ्नो आँखा उचालेर यहोवालाई हेर्नु कत्तिको महत्त्वपूर्ण छ भनेर बताए। (भजन १२३:१-४ पढ्‌नुहोस्‌) नोकरले मालिकलाई हेरेझैँ हामीले यहोवालाई हेर्नुपर्छ भनेर तिनले बताए। तिनी के भन्‍न खोज्दै थिए? नोकरले खानेकुरा र सुरक्षा पाउन मात्रै मालिकलाई हेर्दैन बरु मालिकको इच्छा के हो भनेर बुझ्न अनि त्यसैअनुसार काम गर्न मालिकलाई हेरिरहन्छ। त्यसैगरि हामीले के गरेको यहोवा चाहनुहुन्छ भनेर बुझ्न अनि त्यसैअनुसार कदम चाल्न हामीले दिनहुँ उहाँको वचन अध्ययन गर्नुपर्छ। त्यसो गऱ्‍यौँ भने मात्र कठिन समयमा यहोवाबाट मदत पाउने कुरामा हामी ढुक्क हुन सक्छौँ।—एफि. ५:१७.

३. यहोवालाई हेरिरहनदेखि हामीलाई कुन कुराले अल्झाउन सक्छ?

३ यहोवालाई हेरिरहनु महत्त्वपूर्ण छ भनेर हामीलाई थाह छ, तैपनि कहिलेकाहिँ हामी अरू नै कुरामा अल्झिन सक्छौँ। येशूको घनिष्ठ मित्र मार्थालाई पनि त्यसै भएको थियो। तिनी “थुप्रै कुरा तयारी गर्नमा अल्झिएकी थिइन्‌।” (लूका १०:४०-४२) हुनत मार्थाको विश्‍वास एकदमै बलियो थियो अनि येशू स्वयम्‌ तिनको सामने हुनुहुन्थ्यो। तैपनि तिनी अरू कुरामा अल्झिन पुगिन्‌। त्यसोभए के हामी पनि अल्झिन सक्ने सम्भावना छैन र? यहोवालाई हेरिरहनदेखि हामीलाई कुन कुराले अल्झाउन सक्छ? अरूको व्यवहारले हामीलाई कसरी अल्झाउन सक्छ भनेर यस लेखमा छलफल गर्नेछौँ। साथै, आफ्नो ध्यान कसरी यहोवामा क्रेन्द्रित गरिरहन सक्छौँ, त्यो पनि सिक्नेछौँ।

वफादार पुरुष आफ्नो सुअवसर गुमाउँछन्‌

४. मोशाले प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्ने सुअवसर गुमाए भन्‍ने सुन्दा हामीलाई किन छक्क लाग्न सक्छ?

४ मोशाले निर्देशन र डोऱ्‍याइको लागि यहोवालाई हेरे भन्‍ने कुरामा कुनै शङ्‌का छैन। हो, “अदृश्‍य परमेश्‍वरलाई देखेझैं गरी तिनी अटल रहिरहे।” (हिब्रू ११:२४-२७ पढ्‌नुहोस्‌) बाइबल यसो पनि भन्छ: “त्यस समयदेखि इस्राएलीहरूमा मोशाजस्तो कोही अगमवक्‍ता खडा भएको छैन, जसलाई परमप्रभुले मुखामुख चिन्‍नुहुन्थ्यो।” (व्यव. ३४:१०, NRV) हो, मोशाले यहोवासित यस्तो घनिष्ठ सम्बन्ध गाँसेका थिए। तैपनि तिनले प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्ने सुअवसर गुमाए। (गन्ती २०:१२) मोशाले कस्तो गल्ती गरे?

५-७. इस्राएलीहरू मिश्रबाट निस्केको धेरै समय नबित्दै कस्तो समस्या खडा भयो? मोशाले कसरी त्यसको समाधान गरे?

५ इस्राएलीहरू मिश्रबाट निस्केको दुई महिना पनि बित्न नपाउँदै अनि तिनीहरू सीनै पर्वतमा पुग्नुअगावै एउटा गम्भीर समस्या देखा पऱ्‍यो। पानीको अभाव भएकोले मानिसहरूले मोशाविरुद्ध गनगन गर्न थाले। अवस्था झन्‌झन्‌ बिग्रँदै गयो अनि मोशाले यहोवालाई यसरी पुकारे: “म यी मानिसहरूलाई के गरूँ? किनकि यिनीहरूले ता मलाई ढुङ्‌गाले हान्‍नै आँटेका छन्‌।” (प्रस्थ. १७:४) यहोवाले मोशालाई स्पष्ट निर्देशन दिनुभयो। तिनले आफ्नो लौरोले होरेबमा भएको चट्टानमा हिर्काउनुपर्ने थियो। अनि त्यहाँबाट पानीको फोहोरा निस्कने थियो। बाइबल यसो भन्छ: “मोशाले इस्राएलीहरूका बूढा-प्रधानहरूका सामने त्यसै गरे।” त्यसपछि त्यस चट्टानबाट पानी निस्क्यो अनि इस्राएलीहरूले प्रशस्त पानी पिउन पाए। यसरी यो समस्या समाधान भयो।—प्रस्थ. १७:५, ६.

६ परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको विवरण अझै यसो भन्छ: “‘परमप्रभु हाम्रा बीचमा हुनुहुन्छ कि हुनुहुन्‍न’ भन्‍ने इस्राएलीहरूको झगडा र तिनीहरूले परमप्रभुको परीक्षा गरेको कारण त्यस ठाउँको नाउँ [मोशाले] मस्सा र मरीबा राखे।” (प्रस्थ. १७:७) ती नाम एकदमै उपयुक्‍त थिए किनकि त्यसको अर्थ हो, “परीक्षा” र “झगडा।”

७ मरीबामा घटेको घटना यहोवालाई कस्तो लाग्यो? उहाँले इस्राएलीहरूको व्यवहारलाई मोशाविरुद्धको विद्रोह मात्र ठान्‍नुभएन तर उहाँको अख्तियारलाई नै विद्रोह गरेको ठान्‍नुभयो। (भजन ९५:८, ९ पढ्‌नुहोस्‌) इस्राएलीहरूले गरेको कुरा एकदमै गलत थियो। त्यतिबेला मोशाले डोऱ्‍याइको लागि यहोवालाई हेरे अनि उहाँको निर्देशन राम्ररी पछ्याए। तिनले सही कदम चाले।

८. उजाडस्थानमा ४० वर्ष लामो यात्रा सिद्धिनै लाग्दा कस्तो समस्या देखा पऱ्‍यो?

८ तर लगभग ४० वर्षपछि त्यस्तै प्रकारको घटना घट्‌दा के भयो? यतिबेला इस्राएलीहरूले उजाडस्थानको यात्रा लगभग पूरा गर्न लागिसकेका थिए। इस्राएलीहरू फेरि मरीबा भन्‍ने ठाउँमा पुगे। तर यो अघिल्लो घटनाको मरीबा नभई प्रतिज्ञा गरिएको देशको सीमा कादेशनजिकैको ठाउँ थियो।a फेरि पनि इस्राएलीहरूले पानीको अभाव भएकोले गनगन गरे। (गन्ती २०:१-५) तर यस पटक भने मोशाले बिलकुलै फरक व्यवहार गरे।

९. यहोवाले मोशालाई कस्तो निर्देशन दिनुभयो? तर मोशाले के गरे? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

९ यस पटक इस्राएलीहरूले विद्रोह गर्दा मोशाले के गरे? तिनले फेरि पनि यहोवाको निर्देशन खोजे। तर यसपालि यहोवाले चट्टानलाई हिर्काउनू भन्‍नुभएको थिएन। यहोवाले मोशालाई लौरो लिएर जानू, मानिसहरूलाई चट्टानको सामने भेला गर्नू अनि त्यस चट्टानलाई हुकुम गर्नू भन्‍नुभएको थियो। (गन्ती २०:६-८) तर मोशाले त्यस चट्टान अर्थात्‌ पहरालाई हुकुम गरेनन्‌। बरु त्यहाँ भेला भएका मानिसहरूलाई यसरी रिस पोखे: “सुन, ए बागी मानिस हो! के यही पहराबाट हामी तिमीहरूलाई पानी निकालिदिऊँ?” अनि मोशाले एक चोटि होइन, दुई-दुई चोटि आफ्नो लौरोले पहरामा हिर्काए।—गन्ती २०:१०, ११.

१०. मोशाको व्यवहार देखेर यहोवाले के गर्नुभयो?

१० यहोवा मोशासित असाध्यै रिसाउनुभयो। (व्यव. १:३७; ३:२६) यहोवाले किन त्यस्तो प्रतिक्रिया देखाउनुभयो? यसमा थुप्रै कुरा मुछिएको हुन सक्छ। माथि उल्लेख गरिएझैँ नयाँ निर्देशन पालन नगरेकोले यहोवा मोशासित असाध्यै रिसाउनुभएको हुन सक्छ।

११. मोशाले चट्टानलाई हिर्काएर पानी निकाल्दा इस्राएलीहरूलाई त्यो चमत्कार यहोवाले गर्नुभएको होइन जस्तो किन लाग्न सक्थ्यो?

११ यहोवा रिसाउनुको अर्को कारण पनि हुन सक्छ। पहिलो घटना घटेको मरीबाको इलाकाका चट्टानहरू कडा किसिमको अर्थात्‌ ग्रेनाइट थिए। त्यसैले जति बेसरी हिर्काए पनि त्यसबाट पानी निस्केला भनेर कसैले आशा गर्दैन। तर दोस्रो घटना घटेको मरीबाका पहराहरू बेग्लै किसिमका थिए। ती नरम किसिमको चून ढुङ्‌गाले बनेका थिए। यो चून ढुङ्‌गा पानी सोस्ने किसिमको भएकोले जमिनमुनि अक्सर पानीका कुण्डहरू हुन्थे, जुन निकालेर प्रयोग गर्न सकिन्थ्यो। मोशाले त्यो चट्टानलाई दुई चोटि लौरोले हिर्काए। के यसको मतलब पानी निस्कनुको कारण यहोवाको चमत्कारले गर्दा नभई चट्टानको किसिम नै त्यस्तै भएकोले गर्दा थियो भनेर इस्राएलीहरूले सोच्ने थिए कि? चट्टानलाई हुकुम गर्नुको सट्टा हिर्काउँदा मोशाले चमत्कारलाई वास्तवमा चमत्कार होइन जस्तो पो देखाइरहेका थिए कि?b हामीलाई यसको पक्का जवाफ थाह छैन।

मोशाले कसरी विद्रोह गरे?

१२. यहोवा मोशा र हारूनसित रिसाउनुको अर्को कारण के हुन सक्छ?

१२ यहोवा मोशा र हारूनसित रिसाउनुको अर्को एउटा कारण पनि हुन सक्छ। मोशाले मानिसहरूलाई के भने, याद गर्नुहोस्‌: “के यही पहराबाट हामी तिमीहरूलाई पानी निकालिदिऊँ?” यहाँ “हामी” शब्द प्रयोग गरेर मोशाले आफू र हारूनलाई सङ्‌केत गरिरहेका हुन सक्छन्‌। मोशाको शब्दले चमत्कारको साँचो स्रोत यहोवाप्रति घोर अनादर व्यक्‍त गऱ्‍यो। यहोवा रिसाउनुको अर्को कारण यही हुन सक्छ भनेर भजन १०६:३२, ३३ ले (TBS) सङ्‌केत गर्छ, जहाँ यस्तो लेखिएको छ: “उनीहरूले मरीबाको पानीमा पनि उहाँलाई क्रोधित तुल्याए; यसैले उनीहरूले गर्दा मोशाको खराबी भयो; किनकि उनीहरूले उनको आत्मालाई क्रोधित तुल्याए; यसकारण उनी आफ्ना ओठले सोच-विचार नगरीकन बोले।”c (गन्ती २७:१४) जे होस्‌, मोशा यहोवाको आदर गर्नदेखि चुके। यहोवाले मोशा र हारून दुवैलाई ‘तिमीहरू मेरो वचनको विरुद्धमा गयौ’ भन्‍नुभयो। (गन्ती २०:२४) कस्तो गम्भीर पाप!

१३. यहोवाले मोशालाई दिनुभएको सजाय किन उचित र न्यायपूर्ण थियो?

१३ मोशा र हारूनले यहोवाका जनहरूको नेतृत्व लिइरहेका थिए। त्यसैले तिनीहरू आम इस्राएलीहरूभन्दा बढी जबाफदेही थिए। (लूका १२:४८) विगतमा इस्राएलीहरूले विद्रोह गरेकोले उहाँले तिनीहरूको पूरै पुस्तालाई कनान देशमा प्रवेश गर्न दिनुभएन। (गन्ती १४:२६-३०, ३४) त्यसैले मोशाले विद्रोह गर्दा यहोवाले तिनलाई पनि त्यस्तै सजाय दिनु उचित र न्यायपूर्ण थियो। अरू विद्रोहीहरूजस्तै तिनी पनि प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न पाएनन्‌।

समस्याको कारण के थियो?

१४, १५. मोशाले कसरी विद्रोह गर्न पुगे?

१४ मोशाले कसरी त्यस्तो विद्रोही मनोभाव देखाउन पुगे? भजन १०६:३२, ३३ फेरि ध्यान दिएर पढौँ: “उनीहरूले मरीबाको पानीमा पनि उहाँलाई क्रोधित तुल्याए; यसैले उनीहरूले गर्दा मोशाको खराबी भयो; किनकि उनीहरूले उनको आत्मालाई क्रोधित तुल्याए; यसकारण उनी आफ्ना ओठले सोच-विचार नगरीकन बोले।” हुनत इस्राएलीहरूले यहोवाको विद्रोह गरेका थिए तर यो देखेर मोशा क्रोधित भए। आत्मसंयमको कमीले गर्दा तिनी परिणाम कस्तो होला भनेर विचार नगरी बोल्न पुगे।

१५ अरूको व्यवहारमा बढ्‌तै ध्यान दिएकोले मोशा यहोवालाई हेरिरहनदेखि चुके। पहिलो घटनामा मोशाले सही कदम चालेका थिए। (प्रस्थ. ७:६) तर हुन सक्छ, वर्षौँदेखि विद्रोह गरिरहेका ती इस्राएलीहरूको व्यवहारले गर्दा मोशा दिक्क र हतोत्साहित भए। यहोवाको महिमा कसरी गर्ने भनेर सोच्नुको साटो मोशाले आफ्नै भावनाबारे मात्र सोचे कि?

१६. मोशाको व्यवहारबारे हामीले किन विचार गर्नुपर्छ?

१६ बलियो विश्‍वास भएको मोशाजस्तो व्यक्‍ति त अरू कुरामा अल्झिन र ठेस खान सक्छन्‌ भने हामीलाई पनि त्यसो नहोला भन्‍न सक्दैनौँ। मोशाजस्तै हामी पनि प्रतीकात्मक देशमा अर्थात्‌ यहोवाले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा प्रवेश गर्नै लागेका छौँ। (२ पत्रु. ३:१३) त्यो विशेष सुअवसर हामीमध्ये कोही पनि गुमाउन चाहँदैनौँ। तर त्यस लक्ष्यसम्म पुग्न हामीले यहोवालाई हेरिरहनुपर्छ र सधैँ उहाँको इच्छाअनुसार गरिरहनुपर्छ। (१ यूह. २:१७) मोशाको गल्तीबाट हामीले कस्तो पाठ सिक्नुपर्छ?

अरूको व्यवहारले गर्दा नअल्झिनुहोस्‌

१७. हतोत्साहित नहुन हामीले कुन कुरा सम्झनुपर्छ?

१७ अरूको व्यवहारले गर्दा हतोत्साहित नहुनुहोस्‌। कहिलेकाहीँ हामीले एउटै समस्या बारम्बार झेलिरहनुपर्ने हुन सक्छ। तर त्यसो हुँदा पनि “हामी हरेस नखाई असल काम गरिरहौं, किनकि थाकेनौं भने हामीले ठीक समयमा कटनी गर्नेछौं।” (गला. ६:९; २ थिस्स. ३:१३) कुनै परिस्थिति वा कुनै व्यक्‍तिले हामीलाई पटक-पटक हतोत्साहित बनाउँदा के हामी आफ्नो बोली र रिसलाई काबूमा राख्छौँ? (हितो. १०:१९; १७:२७; मत्ती ५:२२) अरूले रिस उठाउँदा यहोवा “परमेश्‍वरको क्रोधलाई ठाउँ” दिन सिक्नुपर्छ। (रोमी १२:१७-२१ पढ्‌नुहोस्‌) यहोवालाई हेरिरह्‍यौँ भने उहाँको क्रोधलाई ठाउँ दिनेछौँ। उहाँले जहिले कदम चाल्न उपयुक्‍त ठान्‍नुहुन्छ, त्यतिन्जेल धीरजी भई पर्खिरह्‍यौँ भने उहाँलाई आदर गरिरहेका हुनेछौँ। यसो गर्नुको साटो आफैले बदला लिनु भनेको यहोवालाई अनादर गर्नुसरह हुनेछ।

१८. निर्देशनहरू पालन गर्नेबारे हामीले कुन कुरा बिर्सनु हुँदैन?

१८ नयाँ निर्देशनहरू ध्यान दिएर पालन गर्नुहोस्‌। के हामी यहोवाले दिनुहुने नयाँ निर्देशनहरू वफादार भई पालन गर्छौँ? त्यसो हो भने आफूले पहिला जे-जस्तो तरिकाले काम गर्दै थियौँ, अहिले पनि त्यसरी नै गरिरहनेछैनौँ। बरु यहोवाले आफ्नो सङ्‌गठनमार्फत दिनुहुने नयाँ निर्देशन तुरुन्तै पालन गर्नेछौँ। (हिब्रू १३:१७) साथै, ‘लेखिएका कुराहरूभन्दा बढ्‌ता केही नगर्न’ होसियार हुनेछौँ। (१ कोरि. ४:६) यसरी हामी आफ्नो आँखा यहोवामा केन्द्रित गरिरहन्छौँ।

अरूले गल्ती गर्दा विचारै नगरी प्रतिक्रिया देखाइहाल्नु हुँदैन भनेर एक जना पाको भाइ जवान भाइलाई सम्झाउँछन्‌

अरूले गल्ती गर्दा मोशाले देखाएको प्रतिक्रियाबाट हामीले कस्तो पाठ सिक्नुपर्छ? (अनुच्छेद १९ हेर्नुहोस्‌)

१९. अरूको गल्तीको कारण यहोवासितको सम्बन्धलाई बिग्रन नदिन हामीले के गर्नुपर्छ?

१९ अरूको गल्तीको कारण यहोवासितको सम्बन्धलाई बिग्रन नदिनुहोस्‌। हाम्रो प्रतीकात्मक आँखा यहोवामा केन्द्रित गरिरह्‍यौँ भने अरूको व्यवहारले गर्दा क्रोधित हुनेछैनौँ वा उहाँसितको हाम्रो सम्बन्धलाई बिग्रन दिनेछैनौँ। मोशाजस्तै परमेश्‍वरको सङ्‌गठनमा केही जिम्मेवारी पाएका छौँ भने आफ्नो आँखा यहोवामा केन्द्रित गरिरहनु झनै महत्त्वपूर्ण छ। हुनत हामी प्रत्येकले ‘आफ्नो उद्धारको निम्ति डर र कम्पसहित प्रयत्न गरिरहनुपर्छ’ तर यसको मतलब यहोवाले हामी सबैलाई एउटै किसिमको कडा र अव्यावहारिक स्तरले न्याय गर्नुहुन्छ भन्‍नेचाहिँ होइन। (फिलि. २:१२) बरु हामीले जति धेरै जिम्मेवारी पाउछौँ, त्यति नै धेरै जबाफदेही हुन्छौँ। (लूका १२:४८) तर यहोवालाई साँच्चै प्रेम गर्छौँ भने हामी कुनै कुरामा ठेस खानेछैनौँ अनि उहाँको प्रेमबाट अलग पनि हुनेछैनौँ।—भज. ११९:१६५; रोमी ८:३७-३९.

२०. हामीले कस्तो सङ्‌कल्प गर्नुपर्छ?

२० अहिले हामी असाध्यै कठिन समयमा बाँचिरहेका छौँ। त्यसैले आफ्नो आँखा उचालेर “सिंहासनमा विराजमान हुनुहुने” यहोवालाई हेरिरहौँ र उहाँ इच्छा के हो, सो बुझिरहौँ। अरूको व्यवहारले गर्दा यहोवासितको हाम्रो सम्बन्धलाई कहिल्यै बिग्रन नदेऔँ। मोशाको विवरणले हामीलाई यो महत्त्वपूर्ण पाठ आफ्नो मनमस्तिष्कमा ठप्प बसाल्न मदत गर्छ। अरूले गल्ती गर्दा रिसाउनु वा हतोत्साहित हुनको साटो ‘जबसम्म उहाँले हामीमाथि कृपा गर्नुहुन्‍न, तबसम्म आफ्नो आँखाले [यहोवा] परमेश्‍वरतिरै हेरिरहने’ अठोट गरौँ।—भज. १२३:१, २.

a यो रपीदीमनजिकैको मरीबा थिएन। पहिलो घटना भएको ठाउँलाई मस्सा पनि भनिन्थ्यो। दोस्रो घटना भएको ठाउँ कादेशनजिकै थियो। तर दुवै ठाउँमा झगडा भएको कारणले गर्दा मरीबा नाम दिइयो। पवित्र बाइबल—नयाँ संसार अनुवाद-को (अङ्‌ग्रेजी) अतिरिक्‍त लेख B3 हेर्नुहोस्‌।

b यस विवरणबारे प्राध्यापक जोन ए. बेक यसो भन्छन्‌: “एउटा यहूदी किंवदन्तीअनुसार विद्रोहीहरूले मोशाको यसरी आलोचना गर्छन्‌: ‘मोशालाई यो कस्तो प्रकारको चट्टान हो भनेर थाह छ! आफूसित साँच्चै चमत्कार गर्ने शक्‍ति छ भनेर देखाउन चाहन्छन्‌ भने यो अर्कै चट्टानबाट पानी निकालेर देखाऊन्‌।’” नबिर्सनुहोस्‌, यो एउटा किंवदन्ती मात्र हो।

c प्रहरीधरहरा, (अङ्‌ग्रेजी) अक्टोबर १५, १९८७ को “पाठकहरूको प्रश्‍न” हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने