प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ३/१ pp. ८-१३
  • ईश्‍वरीय ज्योतिले अन्धकार हटाउँछ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरीय ज्योतिले अन्धकार हटाउँछ!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल—ज्योतिको प्रसारक
  • आध्यात्मिक अन्धकारको स्रोत
  • अन्धकारदेखि उज्यालोसम्म—चुनौती
  • ज्योतिमा प्रगति गर्ने
  • झुक्याउने ज्योतिहरूदेखि सावधान हुनुहोस्‌!
  • कृतज्ञतासाथ ज्योतिको बाटोमा हिंड्‌नुहोस्‌
  • संसारको ज्योतिलाई पछ्याउनुहोस्‌
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
  • ज्योति वाहकहरू—के उद्देश्‍यका लागि
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • संसारको ज्योतिलाई कसले पछ्याइरहेका छन्‌?
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
  • “तिमीहरूको ज्योति . . . चम्कोस्‌”
    हाम्रो राज्य सेवकाई—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ३/१ pp. ८-१३

ईश्‍वरीय ज्योतिले अन्धकार हटाउँछ!

“परमप्रभुले मेरो अन्धकारमा ज्योति चम्काउनुहुन्छ।”—२ शमूएल २२:२९.

१. ज्योति र जीवनबीच कस्तो सम्बन्ध छ?

“परमेश्‍वरले भन्‍नुभयो, ‘उज्यालो होस्‌’ तब उज्यालो भइहाल्यो।” (उत्पत्ति १:३) यी गहकिला शब्दहरूले सृष्टिसम्बन्धी उत्पत्तिको विवरणमा यहोवालाई ज्योतिको स्रोत भनी चिनाएको छ, जुन ज्योतिविना पृथ्वीमा जीवन सम्भव छैन। यहोवा आध्यात्मिक ज्योतिको पनि स्रोत हुनुहुन्छ। यो ज्योति हाम्रो जीवनलाई सही मार्गमा डोऱ्‍याउनको निम्ति अत्यावश्‍यक छ। (भजन ४३:३) राजा दाऊदले आध्यात्मिक ज्योति र जीवनबीच नजिकको सम्बन्ध छ भनी देखाउँदै यस्तो लेखे: “जीवनको मूल तपाईंसँग छ। तपाईंकै ज्योतिमा हामी ज्योति पाउनेछौं।”—भजन ३६:९.

२. पावलले देखाएअनुसार ज्योतिको केसित नजिकको सम्बन्ध छ?

२ दाऊदको समयभन्दा झन्डै १,००० वर्षपछि प्रेरित पावलले सृष्टिको विवरणबारे उल्लेख गरे। कोरिन्थको मसीही मण्डलीलाई लेखेको पत्रमा तिनले यसो भने: “अँध्यारोबाट ज्योति चम्कनेछ भन्‍ने परमेश्‍वरनै हुनुहुन्छ।” त्यसपछि पावलले आध्यात्मिक ज्योति र परमेश्‍वरबाट आउने ज्ञानबीच नजिकको सम्बन्ध देखाउँदै यसो भने: “येशू ख्रीष्टको मोहड़ामा परमेश्‍वरको महिमाको ज्ञानको ज्योति देखाइदिनलाई हाम्रा हृदयमा चम्कनुभयो।” (२ कोरिन्थी ४:६) यो ज्योति हामीसम्म कसरी आइपुग्छ?

बाइबल—ज्योतिको प्रसारक

३. यहोवाले बाइबलमार्फत्‌ कस्तो ज्योति प्रदान गर्नुहुन्छ?

३ यहोवाले आध्यात्मिक ज्योति मुख्यतया आफ्नो प्रेरित वचन, बाइबलमार्फत्‌ दिनुहुन्छ। त्यसकारण, बाइबल अध्ययन गरेर परमेश्‍वरको ज्ञान लिंदै जाँदा हामीले उहाँको ज्योति आफूतिर चम्किन दिइरहेका हुनेछौं। यहोवाले बाइबलमार्फत्‌ आफ्ना उद्देश्‍यहरूमा ज्योति चम्काउनुहुन्छ र हामीले उहाँको इच्छा कसरी गर्न सक्छौं भनी बताउँछ। यसले हाम्रो जीवन अर्थपूर्ण बनाउँछ र हाम्रा आध्यात्मिक आवश्‍यकताहरू पूरा गर्न मदत गर्छ। (उपदेशक १२:१; मत्ती ५:३) हामीले आफ्ना आध्यात्मिक आवश्‍यकताहरू पूरा गर्नुपर्छ भनेर जोड दिंदै येशूले मोशालाई दिइएको व्यवस्थाबाट यस्तो उद्धरण गर्नुभयो: “यस्तो लेखिएको छ, ‘मानिस भोजनले मात्र होइन, तर परमेश्‍वरका मुखबाट निस्केको हरेक वचनले बाँच्तछ।’ ”—मत्ती ४:४; व्यवस्था ८:३.

४. कुन तरिकामा येशू “संसारको ज्योति” हुनुहुन्छ?

४ आध्यात्मिक ज्योतिसँग येशूको नजिकको सम्बन्ध छ। साँच्चै भन्‍ने हो भने, उहाँले आफूलाई “संसारको ज्योति” भनेर चिनाउनुभयो र भन्‍नुभयो: “मपछि लाग्ने अँध्यारोमा हिंड़डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।” (यूहन्‍ना ८:१२) उक्‍त अभिव्यक्‍तिले मानिसजाति समक्ष यहोवाको सत्य पुऱ्‍याउने काममा येशूको भूमिका कत्तिको महत्त्वपूर्ण छ भनी बुझ्न मदत गर्छ। अन्धकारमा नबसी परमेश्‍वरको ज्योतिमा हिंड्‌ने हो भने, हामीले येशूले भन्‍नुभएका सबै कुराहरू सुन्‍नुपर्छ र बाइबलमा रेकर्ड गरिएको उहाँका उदाहरण र शिक्षाहरू पालन गर्नुपर्छ।

५. येशूको मृत्युपछि उहाँका अनुयायीहरूको काँधमा कस्तो जिम्मेवारी आयो?

५ आफ्नो मृत्यु हुनुभन्दा केही दिनअघि येशूले फेरि आफूलाई ज्योति भनेर चिनाउनुहुँदै चेलाहरूलाई यसो भन्‍नुभयो: “अझ अलि बेरसम्म ज्योति तिमीहरूसँग रहन्छ। ज्योति तिमीहरूसँग छउञ्जेल हिंड़डुल गर, कि तिमीहरूलाई अन्धकारले नछोपोस्‌। अन्धकारमा हिंड़डुल गर्नेले आफू कहाँ जान्छ, सो थाह पाउँदैन। तिमीहरूसँग ज्योति छउञ्जेल ज्योतिमा विश्‍वास गर, र तिमीहरू ज्योतिका सन्तान हुनेछौ।” (यूहन्‍ना १२:३५, ३६) ज्योतिका सन्तान भएकाहरूले बाइबलका “पक्का कुराहरू” सिके। (२ तिमोथी १:१३, १४) अनि तिनीहरूले ती पक्का कुराहरूद्वारा नै अन्य निष्कपट हृदय भएका मानिसहरूलाई अन्धकारबाट निस्केर परमेश्‍वरको ज्योतिमा हिंड्‌न मदत गरे।

६. हामी १ यूहन्‍ना १:५ मा ज्योति र अन्धकारबारे कस्तो आधारभूत सत्य पाउँछौं?

६ प्रेरित यूहन्‍नाले यस्तो लेखे: “परमेश्‍वर ज्योति हुनुहुन्छ, र उहाँमा कत्ति पनि अँध्यारो छैन।” (१ यूहन्‍ना १:५) यहाँ, ज्योति र अन्धकारबीचको भिन्‍नतालाई याद गर्नुहोस्‌। यहोवा आध्यात्मिक ज्योतिको स्रोत हुनुहुन्छ र उहाँसित आध्यात्मिक अन्धकारको कुनै सम्बन्ध छैन। त्यसोभए, अन्धकारको स्रोत को हो त?

आध्यात्मिक अन्धकारको स्रोत

७. संसारमा आध्यात्मिक अन्धकार छाउनुको पछाडि कसको हात छ र त्यसले कस्तो प्रभाव पार्छ?

७ प्रेरित पावलले “यस संसारको देव[बारे]” बताए। तिनले त्यस अभिव्यक्‍तिद्वारा शैतान अर्थात्‌ दियाबललाई औंल्याउँदै थिए। “ख्रीष्ट, जो परमेश्‍वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूमाथि नचम्कोस्‌ भनेर . . . [त्यसले] अविश्‍वासीहरूको समझशक्‍तिलाई अन्धा तुल्याइदिएको छ” भनेर पनि पावलले बताए। (२ कोरिन्थी ४:४) थुप्रैले परमेश्‍वरमाथि विश्‍वास गरेको दाबी गर्छन्‌। यद्यपि, दियाबल छ भनेर विश्‍वास नगर्नेहरूको संख्या पनि बढ्‌दो छ। किन? अलौकिक शक्‍ति भएको दुष्टले मानिसहरूको सोचाइमा प्रभाव पार्न सक्छ भनी तिनीहरू स्वीकार्न तयार छैनन्‌। यद्यपि, पावलले देखाएझैं दियाबल साँच्चै छ र मानिसहरूले सत्यको ज्योति नदेखोस्‌ भनेर त्यसले मानिसहरूलाई प्रभाव पार्छ। शैतानले मानिसहरूको सोचाइमा प्रभाव पार्न सक्छ भन्‍ने कुरा त्यसलाई “सारा संसारलाई ठग्ने” भनी वर्णन गरिएको भविष्यसूचक विवरणबाट प्रस्ट हुन्छ। (प्रकाश १२:९) शैतानको गतिविधिको कारण अगमवक्‍ता यशैयाले भविष्यवाणी गरेको अवस्था यहोवाका सेवकहरूबाहेक सम्पूर्ण मानिसजातिलाई लागू हुन्छ: “हेर्‌, अँध्यारोले पृथ्वीलाई, र निष्पट्ट अँध्यारोले मानिसहरूलाई ढाक्नेछ।”—यशैया ६०:२.

८. आध्यात्मिक अन्धकारमा परेकाहरूले आफू अलमल्लमा परेको कुरा कुन तरिकामा देखाउँछन्‌?

८ निस्पट्ट अन्धकारमा केही पनि देख्न सकिंदैन। अन्धकारमा सजिलै हराउन वा अलमल्लमा पर्न सक्छ। त्यसै गरी, आध्यात्मिक अन्धकारमा परेकाहरूसित समझको कमी हुन्छ र आध्यात्मिक अर्थमा अलमल्लमा पर्न धेरै बेर लाग्दैन। तिनीहरूले साँचो र झूटो, असल र खराबबीच भिन्‍नता छुट्याउने योग्यता गुमाउन सक्छन्‌। अगमवक्‍ता यशैयाले त्यस्तो अन्धकारमा परेका व्यक्‍तिहरूबारे बताउँदै यस प्रकार लेखेका थिए: “धिक्कार तिनीहरूलाई, जसले खराबलाई असल र असललाई अँध्यारोको निम्ति, तीतोलाई मीठो र मीठोलाई तीतोको निम्ति लिन्छन्‌!” (यशैया ५:२०) आध्यात्मिक अन्धकारमा बस्ने मानिसहरू अन्धकारको देव, शैतान अर्थात्‌ दियाबलको प्रभावमा परेका हुन्छन्‌ र फलस्वरूप ज्योति तथा जीवनको स्रोतबाट अलग हुन्छन्‌।—एफिसी ४:१७-१९.

अन्धकारदेखि उज्यालोसम्म—चुनौती

९. गलत काम गर्नेहरू शाब्दिक र आध्यात्मिक दुवै अर्थमा अन्धकारप्रति कसरी आकर्षित हुन्छन्‌, व्याख्या गर्नुहोस्‌।

९ गलत काम गर्ने मानिसहरू साँच्चै अन्धकारप्रति आकर्षित हुन्छन्‌ भनी बताउँदै विश्‍वासी अय्यूबले यसो भने: “व्यभिचारी चाहिं उत्सुकतासित साँझको प्रतीक्षा गर्छ, त्यसलाई कसैले नदेखोस्‌ भनेर आफ्नो भेष त्यसले बद्‌लन्छ।” (अय्यूब २४:१५) गलत काम गर्नेहरू पनि आध्यात्मिक अन्धकारमा हुन्छन्‌ र त्यस्तो अन्धकारले अन्धा बनाउन सक्छ। त्यस्तो अन्धकारको पासोमा परेकाहरूको लागि यौन अनैतिकता, चोरी, लोभ, मतवालापन, गाली गर्नु र बलजफ्ती पैसा धुत्नुजस्ता कुराहरू सामान्य लाग्छ भनी प्रेरित पावलले बताए। तर परमेश्‍वरको वचनको ज्योति पाइसकेपछि जो कोही पनि परिवर्तन हुन सक्छ। त्यस्तो परिवर्तन सम्भव छ भनी कोरिन्थका मसीहीहरूलाई लेखेको पत्रमा पावलले स्पष्ट पारेका छन्‌। कोरिन्थका थुप्रै मसीहीहरूले पहिला अन्धकारका कामकुराहरू गर्थे तैपनि पावलले तिनीहरूलाई यसो भने: “तर प्रभु येशू ख्रीष्टको नाउँमा, र हाम्रा परमेश्‍वरका आत्माले तिमीहरू पखालिएका, पवित्र भएका र धर्मी ठहरिएका छौ।”—१ कोरिन्थी ६:९-११.

१०, ११. (क) अन्धो मानिसको आँखामा दृष्टि फर्काइदिनुहुँदा येशूले तिनीप्रति कसरी दयालु चासो देखाउनुभयो? (ख) किन थुप्रैले ज्योति छनौट गर्दैनन्‌?

१० निस्पट्ट अन्धकारबाट उज्यालोमा आउँदा मानिसको आँखा अलि तिरमिराउन सक्छ। बेत्सैदामा येशूले अन्धा मानिसलाई निको पार्नुभयो तर उहाँले त्यो काम दयालु ढंगमा बिस्तारै गर्नुभयो। “उहाँले त्यस अन्धा मानिसको हात समातेर त्यसलाई गाउँबाट बाहिर ल्याउनुभयो, र त्यसका आँखामा थुकेर त्यसमाथि आफ्नो हात राखेर त्यसलाई सोध्नुभयो, ‘के तिमी केही देख्तछौ?’ अनि माथितिर हेरेर त्यसले भन्यो, ‘म मानिसहरूलाई रूखहरू जस्तै, हिंड़िरहेका देख्तछु।’ तब उहाँले फेरि त्यसका आँखामा हात राख्नुभयो, र त्यसले डिठ लगाएर हेऱ्‍यो, र ज्युँका त्युँ भयो, र सबै थोक छर्लंगै देख्नलाग्यो।” (मर्कूस ८:२३-२५) त्यस मानिसले झ्वाट्ट उज्यालो देख्दा नतिरमिराओस्‌ भनेर येशूले तिनलाई बिस्तारै दृष्टि प्रदान गर्नुभयो। सबै कुरा छर्लंग देख्न पाउँदा ती मानिस खुसीले कत्ति गद्‌गद भए होलान्‌, हामी कल्पना गर्न सक्छौं।

११ तथापि, आध्यात्मिक अन्धकारबाट बिस्तारै सत्यको ज्योतिमा आउन मदत पाएका मानिसहरूले ती मानिसले भन्दा असीम आनन्द महसुस गर्छन्‌। तिनीहरूले महसुस गरेको आनन्द देख्दा किन अझ धेरै मानिसहरू ज्योतितर्फ आकर्षित नभएका होलान्‌ भनी हामीलाई आश्‍चर्य लाग्न सक्छ। यसको कारण येशू यसरी बताउनुहुन्छ: “न्यायको फैसला यो हो, ज्योति संसारमा आएको छ, र मानिसहरूले ज्योतिभन्दा बरू अन्धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्ट थिए। किनभने जसले तुच्छ काम गर्छ, त्यसले ज्योतिलाई घृणा गर्छ, र ज्योतितिर आउँदैन, नत्रता त्यसका कामको दोष प्रकट हुनेछ।” (यूहन्‍ना ३:१९, २०) हो, थुप्रैले अनैतिकता, शोषण, झूट बोल्ने, ठग्ने र चोर्नेजस्ता “तुच्छ काम” नै गर्न रुचाउँछन्‌ र शैतानको आध्यात्मिक अन्धकार तिनीहरूका लागि मनपरी गर्ने अत्यन्तै उपयुक्‍त वातावरण हो।

ज्योतिमा प्रगति गर्ने

१२. ज्योतिमा आएपछि हामीले के-कस्ता लाभ उठाएका छौं?

१२ ज्योतिबारे थाह पाएदेखि हामीले आफूमा कस्ता परिवर्तनहरू महसुस गरेका छौं? कहिलेकाहीं आफूले गरेको आध्यात्मिक प्रगति केलाएर विश्‍लेषण गर्नु बेस हुन्छ। हामीले कस्ता खराब बानीहरू त्याग्न सक्यौं? हामीले आफ्नो जीवनमा कस्ता समस्याहरू सुल्झाउन सक्यौं? भविष्यबारे हाम्रा योजनाहरू कसरी परिवर्तन भएका छन्‌? यहोवाको बल र उहाँको पवित्र आत्माको मदत पाएर हामी आफ्नो व्यक्‍तित्व र सोचाइमा परिवर्तन गरिरहन सक्छौं र यसबाट हामीले ज्योतिलाई स्वीकारिरहेका छौं भन्‍ने कुरा प्रमाणित हुन्छ। (एफिसी ४:२३, २४) पावल यस्तो लेख्छन्‌: “एकपल्ट तिमीहरू अन्धकार थियौ, तर अब प्रभुमा उज्यालो भयौ, ज्योतिका सन्तानझैं हिंड़डुल गर, (किनभने ज्योतिको फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ)।” (एफिसी ५:८, ९) यहोवाको ज्योतिअनुसार हिंड्‌दा हामीले आशा र उद्देश्‍य प्राप्त गर्नुका साथै अरूको जीवनमा पनि आनन्द बढाइरहेका हुन्छौं। अनि हामीमा त्यस्तो परिवर्तन भएको देख्दा यहोवाको हृदय आनन्दले प्रफुल्लित हुन्छ!—हितोपदेश २७:११.

१३. यहोवाको ज्योतिको लागि हामीले कसरी कृतज्ञता देखाउन सक्छौं र त्यसो गर्न के आवश्‍यक छ?

१३ हामीले बाइबलबाट सिकेका कुराहरू आफ्नो परिवारका सदस्य, मित्र तथा छिमेकीहरूसँग बाँडेर यहोवाको ज्योति प्रतिबिम्बित गर्दा हामीले आफ्नो आनन्दमय जीवनको लागि कृतज्ञता देखाउँछौं। (मत्ती ५:१२-१६; २४:१४) हाम्रो प्रचारकार्य लगायत उदाहरणीय मसीही जीवन पद्धति, हाम्रो कुरा सुन्‍न इन्कार गर्नेहरूको जीवन पद्धति हाम्रोलागि स्वीकार्य छैन भन्‍ने प्रमाण हो। पावल यसो भन्छन्‌: “प्रभुलाई मनपर्ने के हो, सो जाँचेर, अन्धकारका निष्फल कार्यहरूसँग सङ्‌गत नगर, तर बरु तिनीहरूका दोष देखाइदेओ।” (एफिसी ५:१०, ११) अरूलाई अन्धकार त्यागेर ज्योति रोज्न मदत दिन हामी साहसी हुनु आवश्‍यक छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त के हो भने, हामीसित अरूप्रति अनुकम्पा र चासो हुनुका साथै तिनीहरूको अनन्त लाभको निम्ति सत्यको ज्योति बाँड्‌ने तीव्र इच्छा हुनुपर्छ।—मत्ती २८:१९, २०.

झुक्याउने ज्योतिहरूदेखि सावधान हुनुहोस्‌!

१४. ज्योतिको सन्दर्भमा हामीले कस्तो चेताउनी सुन्‍नुपर्छ?

१४ अन्धकारमा समुद्री यात्रा गर्नेहरू कुनै पनि प्रकारको उज्यालो देख्दा खुसी हुन्छन्‌। पहिला-पहिला इंग्ल्याण्डको चट्टाने भीरहरूमा आँधीबेहरीबाट बच्न ओत लाग्न सकिने ठाउँ चिनाउन ती ठाउँहरूमा आगो बालिन्थ्यो। त्यस्ता बत्तीहरूले सुरक्षित बन्दरगाहतिर डोऱ्‍याउँदा जहाजका कार्यदल कृतज्ञ हुन्थे। तथापि, केही आगोहरूले झुक्याउँथ्यो पनि। बन्दरगाह भेट्टाउन मदत गर्नुको सट्टा थुप्रै मालबाहक जहाजलाई झुक्याएर चट्टाने समुद्री किनारमा पुऱ्‍याउँथ्यो र त्यहाँ तिनीहरूको सबै मालताल लुटिन्थ्यो। यस छली संसारमा हामी झूटा ज्योतिहरूतर्फ आकर्षित नहुन सावधान हुनुपर्छ जसले हाम्रो आध्यात्मिक जहाज डुबाउन सक्छ। “शैतान पनि आफैलाई ज्योतिर्मय स्वर्गदूतहरूको भेषमा परिवर्त्तन गर्दछ” भनी हामीलाई बताइएको छ। त्यसै गरी, धर्मत्यागीहरूलगायत त्यसका सेवकहरू “छल काम गर्ने[मध्येका]” हुन्‌, जसले “आफैलाई धर्मका सेवकहरूको भेषमा परिवर्तन गर्दछन्‌।” त्यस्ताहरूको गलत तर्क हामीले सुन्‍न थाल्यौं भने, यहोवाको सत्य वचन बाइबलमा हाम्रो भरोसा कमजोर हुनुका साथै हाम्रो विश्‍वास खत्तम हुन सक्छ।—२ कोरिन्थी ११:१३-१५; १ तिमोथी १:१९.

१५. जीवनमा पुऱ्‍याउने बाटोमा हिंडिरहन हामीलाई कुन कुराले मदत गर्नेछ?

१५ भजनरचयिताले यस्तो लेखे: “तपाईंको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो छ।” (भजन ११९:१०५) हो, ‘जीवनमा पुऱ्‍याउने साँघुरो बाटोलाई’ हाम्रो मायालु परमेश्‍वर यहोवाले साँच्चै उज्यालो पार्नुभएको छ र “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌ भन्‍ने इच्छा उहाँ गर्नुहुन्छ।” (मत्ती ७:१४; १ तिमोथी २:४) बाइबलका नियमहरू लागू गर्दा हामी साँघुरो बाटोबाट भौंतारिएर अन्धकारको बाटोमा जाने खतरादेखि बच्नेछौं। पावलले यस प्रकार लेखे: “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ।” (२ तिमोथी ३:१६) आध्यात्मिकतामा बढ्‌दै जाँदा हामी परमेश्‍वरको वचनबाट सिक्न सक्छौं। परमेश्‍वरको वचनको ज्योति पाएर हामी आफूलाई सच्याउन वा आवश्‍यक परेमा मण्डलीका मायालु गोठालाहरूबाट ताडना पाउन सक्छौं। त्यस्तै गरी, कामकुरा सच्याएर जीवनको बाटोमा हिंडिरहन नम्रतासाथ अनुशासन स्वीकार्न सक्छौं।

कृतज्ञतासाथ ज्योतिको बाटोमा हिंड्‌नुहोस्‌

१६. यहोवाले ज्योतिको निम्ति गर्नुभएको अद्‌भुत प्रबन्धप्रति हामी कसरी कृतज्ञता देखाउन सक्छौं?

१६ यहोवाले ज्योतिको निम्ति गर्नुभएको अद्‌भुत प्रबन्धप्रति हामी कसरी कृतज्ञता देखाउन सक्छौं? येशूले जन्मदै अन्धो मानिसको दृष्टि फर्काइदिनुहुँदा ती मानिस आफ्नो कृतज्ञता जाहेर गर्न उत्प्रेरित भए भनी यूहन्‍ना अध्याय ९ ले बताउँछ। कसरी? तिनले येशूलाई परमेश्‍वरको पुत्रको रूपमा विश्‍वास गरे र उहाँ “अगमवक्‍ता” हुनुहुन्छ भनी सबैसामु स्वीकारे। यसबाहेक, तिनले येशूको चमत्कारलाई होच्याउन खोज्नेहरू विरुद्ध निर्भयतासाथ बोले। (यूहन्‍ना ९:१७, ३०-३४) प्रेरित पत्रुसले मसीही मण्डलीका अभिषिक्‍त सदस्यहरूलाई “परमेश्‍वरका निजी प्रजा” भनेका छन्‌। किन? किनभने जन्मदै अन्धो भए तापनि पछि दृष्टि पाएका मानिसले जस्तै तिनीहरूले पनि कृतज्ञ मनोभाव देखाउँछन्‌। तिनीहरूले ‘अन्धकारबाट उहाँको गजबको ज्योतिमा बोलाउनेको सर्वश्रेष्ठता देखाएर’ आफ्नो उपकारी यहोवाप्रति कृतज्ञमा देखाउँछन्‌। (१ पत्रुस २:९; कलस्सी १:१३) पार्थिव आशा भएकाहरूले पनि त्यस्तै प्रकारको कृतज्ञ मनोभाव देखाउँछन्‌ र यहोवाको “सर्वश्रेष्ठता” सार्वजनिक रूपमा घोषणा गर्ने काममा अभिषिक्‍त भाइहरूलाई समर्थन गर्छन्‌। परमेश्‍वरले असिद्ध मानिसहरूलाई कस्तो बहुमूल्य सुअवसर प्रदान गर्नुभएको छ!

१७, १८. (क) प्रत्येक व्यक्‍तिको जिम्मेवारी के हो? (ख) तिमोथीको अनुकरण गर्दै सबै मसीहीहरूलाई कस्तो कुराबाट अलग रहन प्रोत्साहन दिइएको छ?

१७ सत्यको ज्योतिको निम्ति हार्दिक मूल्यांकन हुनु अत्यावश्‍यक छ। जन्मने बित्तिकै हामी कसैलाई पनि सत्य थाह थिएन भन्‍ने कुरा नबिर्सनुहोस्‌। कसैले यो वयस्क भएपछि सिक्छन्‌ र अन्धकारभन्दा ज्योति कत्ति सर्वश्रेष्ठ छ भनेर बुझिहाल्छन्‌। अरू कतिले चाहिं ईश्‍वरभीरु आमाबाबुद्वारा लालनपालन हुने सुअवसर पाएका छन्‌। त्यस्ताहरूले कहिलेकाहीं ज्योतिलाई हल्कासँग लिन सक्छन्‌। यहोवाको सेवा गरिरहेका आमाबाबुबाट दूधे बालकदेखि नै सत्य सिके तापनि प्रयास गरेर निकै समयपछि मात्र सत्यको महत्त्व पूर्णतया बुझेको कुरा एक जना साक्षीले बताइन्‌। (२ तिमोथी ३:१५) जवान हौं या वृद्ध, हामी प्रत्येकले यहोवाले प्रकट गर्नुभएको सत्यप्रति मूल्यांकन बढाउनु आवश्‍यक छ।

१८ जवान तिमोथीले शैशवकालदेखि नै “पवित्र लेखोटहरू” सिकेका भए तापनि सेवकाईमा आफैले यत्न गरेर मात्र तिनले मसीहीको रूपमा परिपक्वता हासिल गर्न सके। (२ तिमोथी ३:१५) त्यसपछि मात्र तिनी पावललाई मदत गर्न सक्षम भए। पावलले तिनलाई यस्तो सल्लाह दिए: “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला भई आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्य तुल्याउने प्रयत्न गर।” तिमोथीजस्तै हामी पनि हामीलाई वा यहोवालाई शर्ममा पार्ने कुनै पनि काम नगरौं!—२ तिमोथी २:१५.

१९. (क) दाऊदले जस्तै हामी सबैले के भन्‍ने हर कारण छ? (ख) यसपछिको लेखमा के छलफल गरिनेछ?

१९ सत्यको ज्योति दिनुहुने यहोवाको प्रशंसा गर्ने हामीसँग हर कारण छ। राजा दाऊदले जस्तै हामी यसो भन्छौं: “हे परमप्रभु, तपाईं मेरो दियो हुनुहुन्छ, औ परमप्रभुले मेरो अन्धकारमा ज्योति चम्काउनुहुन्छ।” (२ शमूएल २२:२९) यद्यपि, हामी ढुक्क भएर नबसौं किनभने हामीलाई जुन अन्धकारबाट उद्धार गरिएको थियो, त्यहीं फर्कन सक्ने खतरा हुन्छ। अतः हामी आफ्नो जीवनमा ईश्‍वरीय सत्यलाई कत्तिको महत्त्वपूर्ण ठान्छौं भनी बुझ्न यसपछिको लेखले मदत गर्नेछ।

तपाईंले के सिक्नुभयो?

• यहोवाले आध्यात्मिक ज्योति कसरी प्रदान गर्नुहुन्छ?

• अहिले हामी वरपर भएको आध्यात्मिक अन्धकारको कारण कस्ता चुनौतीहरू आइपर्छन्‌?

• हामी कस्ता खतराहरूदेखि अलग रहनुपर्छ?

• सत्यको ज्योतिको निम्ति हामी कसरी कृतज्ञता देखाउन सक्छौं?

[पृष्ठ ८-मा भएको चित्र]

यहोवा भौतिक तथा आध्यात्मिक ज्योतिको स्रोत हुनुहुन्छ

[पृष्ठ १०-मा भएको चित्र]

येशूले अन्धो मानिसलाई बिस्तारै निको पार्नुभएझैं उहाँले हामीलाई पनि आध्यात्मिक अन्धकारबाट निस्कन मदत गर्नुहुन्छ

[पृष्ठ ११-मा भएको चित्र]

शैतानको झूटो ज्योतिको बहकाउमा पर्दा आध्यात्मिक जहाज डुब्न सक्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने