बाइबलको दृष्टिकोण
पशुपक्षीहरूलाई क्रूर व्यवहार गर्नु—के गलत हो?
मध्य अमेरिकाको रंगशालामा मानिसहरू एकटक लाएर दुइटा भालेलाई हेरिरहेका थिए। एउटा भाले रातो थियो र अर्को सेतो। रातो भालेको खुट्टामा फलामको धारिलो पाता बाँधिएको थियो र त्यसले सेतो भालेलाई उफ्रेर हान्दा मानिसहरू जोड जोडले चिच्याउँथे। रेफरिले दुवै भाले उठाउँछ। सेतो भाले लल्याकलुलुक भएर मरिसकेको छ अनि त्यसको शरीरबाट तप तप रगत चुहिरहेको छ। भाले जुधाइ समाप्त भयो।
दक्षिणी फिलिपिन्समा दुइटा घोडाहरू जुधाइन्छन्। दर्शकहरू घोडाले एकअर्काको कान, घाँटी, थुतुना अनि शरीरका अन्य भागहरू टोकेको वीभत्स दृश्य हेर्छन्। दुवै घोडा रंगशालाबाट जीवितै बाहिर निस्के तापनि एउटा चाहिं लंगडो वा अन्धा अथवा क्षतविक्षत हुनसक्छ जसले गर्दा अन्ततः त्यसको मृत्यु हुन्छ।
रुसमा दुइटा कुकुरहरू एकअर्कामाथि झम्टन्छन्। केही समयभित्रै आँखा कोतरिन्छन् अनि कान च्यातिन्छन्। तिनीहरू छिन्नभिन्न भएको खुट्टा घिसार्दै यताउति हिंड्छन् अनि मासुको चोक्टा लुछिएका ठाउँहरूबाट रगत बगिरहेको हुन्छ।
शताब्दीयौंदेखि मानिसहरूले खेलको नाउँमा पशुपक्षीहरूलाई आपसमा जुधाएर बाजी थापेका छन्। यति मात्र होइन, साँढे जुधाइ, स्यालको शिकार अनि माकुराहरूलाई समेत युद्ध गर्न लगाइन्छ। यसबाहेक, थुप्रै पशुपक्षीहरू विज्ञानको नाउँमा दुःख भोग्छन्। यसको अलावा, मालिकले जानाजानी वा अनजानमा गरेको हेलचेक्य्राइँले गर्दा अनगिन्ती पशुपक्षीहरूले दुःख पाउँछन्।
कुनै कुनै मुलुकमा पशुपक्षीहरूप्रति गरिने व्यवहारबारे नियमहरू पारित गरिएका छन् अनि क्रूर व्यवहार गर्न निषेध गरिएको छ। सन् १६४१ मा मासाचुसेट्स खाडी उपनिवेशमा “स्वाधीनतासम्बन्धी नियमहरू” तर्जुमा गरियो। त्यसमा यसो भनिएको छ: “कसैले पनि कुनै पशुपक्षीमाथि अत्याचार वा क्रूर व्यवहार गर्न पाउँदैन। किनकि तिनीहरू साधारणतया मानिसहरूले सदुपयोग गरून् भनेर सृष्टि गरिएका हुन्।” त्यहाँदेखि पशुपक्षीहरूमाथि गरिने क्रूर व्यवहार रोक्ने ऐन पारित गर्नुका साथै संस्थाहरू स्थापना भएका छन्।
तैपनि, माथि उल्लिखित पशुपक्षीहरूबीचको युद्धलाई बढावा दिनेहरू आफूलाई पशुपक्षीलाई क्रूर व्यवहार गर्ने व्यक्ति होइनौं भन्ठान्छन्। कसै कसैले चाहिं तिनीहरूले निर्दयसाथ दुःख दिएका वा मारेका पशुपक्षीहरूलाई माया गर्छौं भनी दाबी गर्छन्। भाले जुधाइ रमाइलो मान्नेहरू तिनीहरूका भालेहरूको आयु मासुको निम्ति मारिने औसतन कुखुराहरूको भन्दा बढी हुन्छ भन्छन्!
किन क्रूर व्यवहार गर्नु गलत हो?
परमेश्वरले हामीलाई पशुपक्षीबाट फाइदा उठाउन दिनुहुन्छ। बाइबल सिद्धान्तले भोजन र पहिरनको निम्ति वा आफ्नो सुरक्षाको निम्ति पशुपक्षी मार्ने अनुमति दिन्छ। (उत्पत्ति ३:२१; ९:३; प्रस्थान २१:२८) तथापि, परमेश्वरको दृष्टिकोणमा जीवन पवित्र छ। हामीले जीवनप्रति आदर झल्काउने किसिमले सन्तुलित ढंगमा पशुपक्षीमाथि प्रभुत्व जमाउनुपर्छ। बाइबलले निम्रोदको निन्दा गर्छ। किनकि तिनले रमाइलो गर्न पशुपक्षीहरू अनि सायद मानिसहरू पनि मार्ने गर्थे।—उत्पत्ति १०:९.
परमेश्वरले पशुपक्षीहरूको ख्याल गर्नुहुन्छ भनेर येशूले यी शब्दहरूमा बताउनुभयो: “के दुइ पैसामा पाँचवटा भँगेरा बिक्तैनन्? औ तीमध्ये एउटालाई पनि परमेश्वरले बिर्सनुहुन्न।” (लूका १२:६) साथै, दुष्टताले भरिएको शहर नाश गर्ने आफ्नो निर्णय शहरबासीहरूले पश्चात्ताप गरेपछि परिवर्तन गर्नुभएको कुरा परमेश्वरले यसरी बताउनुभयो: “त के यति ठूलो शहर निनवे, जसमा एक लाख बीस हजारभन्दा बढ़ता मानिसहरू छन्, . . . जसमा यतिका वस्तुहरू पनि छन्, के मैले त्यसमाथि दया नगर्नु?” (योना ४:११) स्पष्टतः उहाँले पशुपक्षीहरूलाई जब चाहियो तब फाल्न मिल्ने वस्तुको रूपमा हेर्नुभएन।
परमेश्वरले इस्राएलीहरूलाई व्यवस्था दिनुहुँदा पशुपक्षीहरूको उचित हेरचाह गर्न पनि सिकाउनुभयो। तिनीहरूले बाटो बिराएको पशुपक्षी त्यसको मालिककहाँ पुऱ्याएको अनि बिचल्लीमा परेका पशुपक्षीलाई उद्धार गरेको उहाँ चाहनुहुन्थ्यो। (प्रस्थान २३:४, ५) मानिसहरूसरह पशुपक्षीहरूले पनि विश्राम दिनको फाइदा उठाउन पाउनुपर्थ्यो। (प्रस्थान २३:१२) खेतको काममा लगाइने पशुहरूलाई उचित व्यवहार गर्नेबारे नियमहरू दिइएका थिए। (व्यवस्था २२:१०; २५:४) स्पष्टतः पशुपक्षीहरूलाई शोषण होइन हेरचाह अनि रक्षा गर्नुपर्छ।
हितोपदेश १२:१० स्पष्टसित परमेश्वरको दृष्टिकोण व्यक्त गर्छ: “धर्मी मानिसले आफ्नो पशुको वास्ता गर्छ, तर दुष्टको सबभन्दा दयालु काम पनि निर्दयी हुन्छ।” (नयाँ संशोधित संस्करण) एउटा बाइबल टिप्पणीले यसलाई यसरी अनुवाद गरेको छ: “धर्मी मानिसले पशुपक्षीहरूलाई पनि दया गर्छ तर दुष्टले आफूलाई सज्जन सम्झे पनि निर्दयी हुन्छ।”—विलियम मेकडोनाल्डद्वारा लिखित विलिभर्स बाइबल कमेन्ट्री।
धर्मी मानिसले पशुपक्षीहरूलाई दया देखाउँछ अनि तिनीहरूका आवश्यकता जान्न चाहन्छ। दुष्टले पशुपक्षीलाई माया गर्छु त भन्ला तर उसको ‘दया’ वास्तवमा क्रूर हुन्छ। उसको मनको स्वार्थ उसकै व्यवहारले प्रकट गर्छ। यो कुरा पैसा जित्ने आशामा पशुपक्षीहरूलाई आपसमा जुधाउनेहरूबारे कत्ति सत्य छ!
पशुपक्षीहरूका लागि छुटकारा
हो, परमेश्वरको सुरुको उद्देश्य मानिसहरूले ‘समुद्रका माछाहरू, अकासका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गरून्’ भन्ने थियो। (उत्पत्ति १:२८) यस उद्देश्यअनुसार पशुपक्षीलाई क्रूर व्यवहार गर्नु हुँदैनथ्यो। पशुपक्षीहरूलाई सधैंभरि अमानवीय व्यवहार गरिनेछैन। हामीसँग परमेश्वरले सबै दुःखकष्ट हटाउनुहुनेछ भनेर विश्वास गर्ने कारण छ। तर कसरी?
उहाँले दुष्ट र निर्दयी मानिसहरू हटाउने प्रतिज्ञा गर्नुभएको छ। (हितोपदेश २:२२) पशुपक्षीहरूबारे होशे २:१८ यसो भन्छ: “त्यस दिन म तिनीहरूका निम्ति वनका पशुहरू र आकाशका पक्षीहरू र जमीनमा घस्रने जन्तुहरूसित करार बाँध्नेछु। . . . कि सबै सुरक्षासाथ लेट्न सकून्।” (नयाँ संशोधित संस्करण) त्यो समयमा बाँच्न पाउनु कत्ति अद्भुत हुनेछ जब शान्तिपूर्ण परिवेशबाट सोझा मानिसहरूले मात्र नभई पशुपक्षीले पनि फाइदा उठाउनेछन्।
[पृष्ठ २६-मा भएको चित्र]
फ्रान्सिस्को गोयाद्वारा लिखित “गाउँमा साँढे जुधाइ”