युवा जनहरू सोध्छन् . . .
सधैं मैमाथि दोष थुप्रिन्छ के गर्ने होला?
“जे गरे नि मलाई नै दोष। घरको ढोका बन्द गर्न बिर्से पनि, स्टोभ बन्द गर्न बिर्से पनि, कुनै कुरा ठेगानमा छैन भने अथवा कुनै काम अधुरो भए पनि, सधैं मेरै दोष!“—रामन।
किशोरावस्थामा छँदा कहिलेकाहीं जुनसुकै बिगारको पनि दोष तपाईंमाथि नै थोपरेको हो कि जस्तो लाग्नसक्छ। यसअघिको लेखमा कहिलेकाहीं आफ्ना छोराछोरीलाई आमाबाबुले छिट्टै दोष लगाइहाल्छन् भन्ने कुरा हामीले बुझ्यौं।a यसको कारणमा साधारणतया आमाबाबुले आफ्ना बच्चाहरूलाई देखाउने चासोदेखि लिएर उनीहरूको गहिरो भावनात्मक पीडा पनि पर्छ। कारण जेसुकै होस्, कुनै गल्ती नै नगर्दा पनि त्यसको दोष तपाईंकै टाउकोमा आउँदा चित्त दुख्नसक्छ अनि तपाईंलाई हेला गरेको जस्तो लाग्नसक्छ।
असिद्ध मानिस भएको कारण पक्कै पनि तपाईं बेला बेलामा गल्ती गर्नुहुन्छ। (रोमी ३:२३) यस अतिरिक्त, तपाईं जवान हुनुभएकोले स्वभावैले त्यति परिपक्व हुनुहुन्न। (हितोपदेश १:४) तपाईंबाट यदाकदा भूल त भइहाल्छ। त्यसैले, भूल गर्नुहुँदा तपाईंलाई दोष लाउनु उचित हो र ठीकै पनि।—उपदेशक ११:९.
त्यसोभए, तपाईंले गरेकै गल्तीको दोष लगाइयो भने के गर्नुपर्छ त? त्यस्तो बेला कुनै कुनै जवानहरू आफूले अनाहकमै दोष पाएको जस्तो गरेर ठुस्किन्छन्। आमाबाबुले जुनसुकै गल्तीको पनि सधैं आफूलाई मात्र दोष थोपरेको जस्तो गरेर झर्कोफर्को गर्छन्। नतिजा? त्यस्तो व्यवहारले दिक्क भएका आमाबाबु छोराछोरीलाई गल्ती महसुस गराउन अझ बढ्ता ताडना दिन्छन्। बाइबल यस्तो सल्लाह दिन्छ: “मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ। हे मेरो छोरो, आफ्ना बाबुको शिक्षा ध्यानसित सुन् र आफ्नी आमाको अर्ती इन्कार नगर्।” (हितोपदेश १:७, ८) तसर्थ, गल्ती महसुस गर्नुभयो र आवश्यक छाँटकाँट गर्नुभयो भने, आफ्नो गल्तीबाट पाठ सिक्न सक्नुहुन्छ।—हिब्रू १२:११.
आमाबाबुसँग “परामर्श”
यद्यपि, गल्ती नै नगर्दा पनि तपाईंलाई नै दोष लाउँदा चाहिं कुरा अर्कै हुन्छ। त्यस्तो बेला रीस उठ्नु वा झोंक चल्नु स्वाभाविकै हो। यसै भएन उसै भएन, आखिर दोष मलाई नै आउने हो क्यारे भनेर तपाईं झन् उट्पट्याङ गर्न तम्सनुहोला। (उपदेशक ७:७) तथापि, अरूलाई हैरान पार्ने तपाईंको त्यस्तो व्यवहारले अरूको पनि चित्त दुख्छ। (अय्यूब ३६:१८ तुलना गर्नुहोस्।) समस्या सुल्झाउन हितोपदेश १५:२२ यसो भन्छ: “परामर्श विनाको योजना विफल हुन्छ”। हो, तपाईंप्रति आमाबाबुको त्यस्तो व्यवहार बदल्ने एउटा उपाय, तपाईंको मनमा लागेको कुरा उहाँहरूलाई बताउने।
पहिलो कुरा, बाइबलले भनेजस्तै “ठीक बेला” खोज्नुहोस्। (हितोपदेश १५:२३) लेखक क्लेटन बार्बो यस्तो सल्लाह दिन्छन्: “ठन्डा दिमाग र शान्त मन भएको बेला आफ्नो कुरा अघि सार्नुहोस्।” बाइबलले त अझ यसो भन्छ: “मीठो जवाफले क्रोधलाई शान्त गर्छ।” (हितोपदेश १५:१) झगडालु भएर होइन, मिजासिलो भएर अनि आदरपूर्वक कुरा गर्नुहोस्। रीस नपोखाउनुहोस्। (हितोपदेश २९:११) आमाबाबुसँग एक्कासि जाइलाग्नुको साटो (‘तपाईंहरू सधैं जेको पनि मलाई नै दोष लाउनुहुन्छ!’), उहाँहरूले एकनाससित तपाईंलाई दोष लगाइरहँदा तपाईंलाई कस्तो लाग्यो, बताउने कोसिस गर्नुहोस्। (‘त्यो कुरामा मेरो केही गल्ती नहुँदा पनि मलाई दोष लगाउँदा एकदम खिन्न लाग्यो।’)—उत्पत्ति ३०:१, २ तुलना गर्नुहोस्।
आमाबाबु कुरै नबुझिकन रीसाउनुभयो भने पनि यस्तै हुनसक्छ। ठिटो उमेरमा येशूको अत्तोपत्तो नहुँदा उहाँका आमाबाबु पनि खिन्न भएका थिए। तर येशूले झर्कोफर्को वा गनगन गर्नुभएन। उहाँले शान्तपूर्वक मामिला सुल्झाउनुभयो। (लूका २:४९) आफू आपत्मा पर्दा आफ्ना आमाबाबुसँग पाको मान्छेले जस्तै व्यवहार गर्ने कोसिस गरे कसो होला? उहाँहरूलाई तपाईंको चिन्ता लागेकोले खिन्न हुनुभएको हो भनेर बुझ्ने प्रयत्न गर्नुहोस्! आदरपूर्वक सुन्नुहोस्। (हितोपदेश ४:१) उहाँहरूको रीस नमरुञ्जेल चुप लाग्नुहोस् र रीस थामिसकेपछि मात्र आफ्नो कुरा थाल्नुहोस्।
‘कामैले देखाउनुहोस्’
तथापि, केही आमाबाबु किन कुरै नबुझी आफ्ना छोराछोरीलाई दोषी ठहराइहाल्छन्? सीधै भन्ने हो भने, कहिलेकाहीं केटाकेटीहरूले त्यस्तै शंकास्पद काम गरेर आमाबाबुलाई शंका गर्नुपर्ने कारण दिएकाले। हितोपदेश २०:११ ले यसो भन्छ: “निर्दोष वा दोषी मानिस उसको कामबाट थाह गर्न सकिन्छ।” आमाबाबुको नजरमा तपाईंले कस्तो नाम कमाउनुभएको छ? के तपाईंको “काम[ले]” तपाईं निर्दोष र गम्भीर देखिनुहुन्छ वा हेलचेक्य्राइँ गर्ने र जिम्मेवारी बहन नगर्ने देखिनुहुन्छ? तपाईंको पनि हेलचेक्य्राइँ गर्ने र जिम्मेवारी वहन नगर्ने बानी छ भने, कुरै नबुझी उहाँहरू झोक्किनुहुँदा अचम्म नमान्नुहोस्। आफ्ना आमाबाबुबारे गुनासो गर्ने सुरुमा उल्लिखित रामन यो कुरा मानिलिन्छन्, “गल्ती स्वीकार्नुपर्ने रहेछ। उहाँहरूले आधारै नभई शंका गर्नुभएको चाहिं होइन।”
यदि तपाईंमा पनि त्यही कुरा लागू हुन्छ भने, तपाईंले गर्न सक्नुहुने एउटै उपाय छ। त्यो हो, आफ्नो पहिलाको बानी छोडिदिने। सधैं भरलाग्दो हुनुहोस् अनि जिम्मेवारी पूरा गर्ने गर्नुहोस्। यसो गर्नुभयो भने, तपाईंका आमाबाबुले बिस्तारै बिस्तारै अब तपाईं पहिलेजस्तो हुनुहुन्न र तपाईंलाई भर गर्न सकिन्छ भन्ठान्नुहुनेछ।
रामनको अनुभवले यो कुरा चरितार्थ गर्छ। उनका साथीभाइ र परिवारले उनको बिर्सने बानी भएकोले उनलाई ठट्टै ठट्टामा हुस्सू भन्ने गर्थे। के तपाईंलाई पनि आमाबाबुले “आलोकाँचो” अथवा “एउटै भर नभएको” जस्ता मन नपर्ने उपनाउँ दिनुभएको छ? क्याथलिन मकोइ नाउँका एक लेखिका यस्तो टिप्पणी गर्छिन्, “जवानहरूले गल्ती सच्याउँछन् कि भनेर तिनीहरूको कमजोरी देखाइदिन यस्ता नाउँहरू दिनुपर्छ” जस्तो आमाबाबुलाई लाग्नसक्छ। यथार्थमा भने यस्ता नाउँहरूले हीनताको भावना बढाउँछ। त्यसो भए तापनि, उपनाउँले आफूलाई सुधार गर्न मदत नै गऱ्यो भनी रामनले मानिलिए। त्यो कुरा उनी यसरी स्वीकार्छन्, “मेरो दिमाग सधैं एउटै कुरामा मात्र केन्द्रित भइरहन्थ्यो। त्यसैले म कहिले साँचो बिर्सन्थें त कहिले गृहकार्य गर्न बिर्सन्थें अनि कहिलेकाहीं दिनचर्या नै बिर्सन्थें।”
अतः, रामनले सुधार गर्न थाले। उनी सम्झन्छन्, “जिम्मेवारी र प्राथमिकता भनेको के हो भन्ने कुरा मैले बिस्तारै सिक्न थालें। एउटा तालिका बनाएर अझ गम्भीरतासाथ व्यक्तिगत बाइबल अध्ययन गर्न थालें। यहोवाले सानो कुरालाई पनि ठूलो कुरालाई जत्तिकै महत्त्वपूर्ण ठान्नुहुन्छ भन्ने कुरा सिकें।” (लूका १६:१०) बाइबलका सिद्धान्तहरू अपनाएर रामनले आखिरमा बिर्सने बानी चटक्कै छाड्नसके। तपाईंले पनि त्यसै गर्ने कोसिस गरे कसो होला? यदि त्यस्तो उपनाउँले तपाईंलाई घोचिरहन्छ भने, आफ्ना आमाबाबुलाई बताउनुहोस्। हुनसक्छ, उहाँहरूले तपाईंको मर्का बुझ्नुहुनेछ।
कसैलाई काखा कसैलाई पाखा गरेको जस्तो लाग्दा
कहिलेकाहीं दोषको पछाडि पक्षपात लुकेको जस्तो देखिन्छ। रामन त्यस्ता घटनाहरू सम्झँदै भन्छन्: “मेरा दाइ दिदीहरू ढिलो घर फर्किंदा केही नहुने। म ढिलो आएँ भने चाहिं गाली खानुपर्ने।” गुयनाका अलवर्ट आफू हुर्कंदै गरेको उमेरमा यस्तै अनुभव गरेको सम्झन्छन्। भाइलाई भन्दा उनलाई आमाले कठोर अनुशासन दिएको जस्तो लाग्थ्यो।
तापनि, वास्तविकता हामीलाई लागेको भन्दा भिन्नै पनि हुनसक्छ। आमाबाबुले बढी उमेरका छोराछोरीलाई त्यति कडा अनुशासनमा राख्दैनन्। यो कसैलाई काखा कसैलाई पाखा गरेको होइन। साधारणतया, हुर्किसकेकाहरूले भरपर्दो व्यवहार गर्छन् भन्ने आमाबाबुलाई लाग्ने हुँदा यसो गरेका हुन्। हुनसक्छ, कुनै विशेष परिस्थितिको कारण पनि यसो गरिएको होला। आफ्नो भाइ “फुच्चे र पिलन्धरे” भएको हुँदा ऊ शारीरिक अनुशासन पाउने माफिककै थिएन भनी अलवर्ट मानिलिन्छन्। कुनै छोरा वा छोरीको विशेष आवश्यकता अथवा सीमाहरू बुझ्नु पक्षपात गरेको हो त?
निस्सन्देह, कहिलेकाहीं आमाबाबुले कुनै छोराछोरीलाई अति नै प्यारो ठान्छन्। (उत्पत्ति ३७:३ तुलना गर्नुहोस्।) आफ्नो पिलन्धरे भाइबारे अलवर्ट यसो भन्छन्: “ऊ आमाको आँखाको नानी थियो।” खुशीको कुरा, मसीही प्रेमको सीमा साँघुरो छैन। (२ कोरिन्थी ६:११-१३) त्यसकारण, एउटै गर्भबाट जन्मेका तपाईंका कुनै भाइ वा बहिनी आमाबाबुको “आँखाको नानी” भए भने पनि तपाईंलाई उहाँहरूले मायै गर्नुहुन्न भन्ने होइन। बुझ्नुपर्ने कुरा के हो भने, के उहाँहरूले तपाईंलाई नराम्रो व्यवहार गरिरहनुभएको छ, भाइबहिनीलाई बिनाकारण प्यारो बनाएर तपाईंलाई चाहिं दोष लगाइरहनुभएको छ? यदि त्यस्तो हो भने, उहाँहरूको त्यस्तो व्यवहारले आफूलाई कस्तो लागिरहेको छ, बताउनुहोस्। कुन बेला के गर्दा पक्षपात गरेको जस्तो लाग्यो, शान्तपूर्वक र मिजासैसित बताउनुहोस्। शायद, उहाँहरूले सुन्नुहुन्छ।
समस्याग्रस्त परिवारहरू
हो, सबै परिस्थिति सजिलै बदल्न सकिंदैन। कुनै कुनै आमाबाबुलाई अरूको खिल्ली उडाउने र दोष लाउने त बानी नै परेको हुन्छ। खासगरि, भावनात्मक समस्या भएका अथवा नशा छोड्न संघर्षरत आमाबाबुमा यो कुरा लागू हुनसक्छ। त्यस्तो परिस्थितिमा खुलस्तगरि आफूलाई लागेको कुरा बताउने कोसिस गर्दा पनि खास केही फाइदा हुँदैन। तपाईंको समस्या पनि यस्तै हो भने, आमाबाबुको समस्या सुल्झाउनु तपाईंको वशको कुरा होइन भनी बुझ्नुहोस् अनि अरू कसैसँग मदत माग्नुहोस्। यसो गर्दा शायद समाधान हुनसक्ला। तपाईंले गर्नसक्ने सबैभन्दा राम्रो काम नै, उहाँहरूलाई आदर तथा सम्मान गरेको महसुस गराउनु हो र नचाहिंदो वादविवाद नगर्नुहोस्। (एफिसी ६:१, २) हितोपदेश २२:३ यसो भन्छ: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ।”b
यसका साथै, परिवार बाहिरकासँग सहयोग लिनुहोस्। पाको व्यक्तिसँग आफ्नो ब्यथा पोख्नुहोस्। शायद मसीही प्राचीनसँग ठीक होला। त्यस्ता व्यक्तिहरूको मायालु चासोले सधैं तपाईंको मात्र भूल किन भन्ने भावना हटाउन ठूलो काम गर्छ। यसको अलावा, “परमेश्वरको नजीक” हुनुहोस्। (याकूब ४:८) अरूले अनाहकमा दोष लगाए पनि, “[परमेश्वर]ले सधैं हप्काइरहनुहुन्न। नता उहाँले सधैंभरि रीस लिइराख्नुहुन्छ। . . . किनभने उहाँले हाम्रो बनोट जान्नुहुन्छ। मानिसहरू माटोनै हुन् भनी उहाँ सम्झनुहुन्छ।” (भजन १०३:९, १४) परमेश्वरको नजरमा तपाईं मूल्यवान् हुनुहुन्छ भनेर थाह पाउँदा तपाईंमाथि परेको नाजायज दोष सहन मदत मिल्नेछ।
[फुटनोटहरू]
a अगस्त ८, १९९७ अंकको “युवा जनहरू सोध्छन् . . . जहिले पनि किन मलाई मात्र दोष?” लेख हेर्नुहोस्।
b जून ८, १९८९ (अंग्रेजी) अंकको “युवा जनहरू सोध्छन् . . . दुर्वचन कसरी सहने?” लेख हेर्नुहोस्। अक्टोबर २२, १९९६, ब्यूँझनुहोस्!-को (अंग्रेजी) “बिझाउने वचनको साटो निको पार्ने वचन” लेख पनि हेर्नुहोस्।
[पृष्ठ १७-मा भएको चित्र]
आफ्नो गल्ती स्वीकार गर्नाले भूल सुधार्न मदत हुन्छ