प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • be p. २७-p. ३२ par. ३
  • अध्ययनको फल मीठो हुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अध्ययनको फल मीठो हुन्छ
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सही मनोवृत्ति राखेर अध्ययन गर्नुहोस्‌
  • कसरी अध्ययन गर्ने?
  • के अध्ययन गर्ने?
  • ‘घरको प्रबन्ध मिलाउनुहोस्‌’
  • मेहनतको फल मीठो हुन्छ
  • तपाईँको अध्ययन गर्ने तरिकामा उन्‍नति गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • परिवार मिलेर नियमित तवरमा परमेश्‍वरको वचन अध्ययन गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • परिवारहरू हो, परमेश्‍वरको मण्डलीको भागको हैसियतमा उहाँको प्रशंसा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • राजकीय नमुनाअनुसार हिंड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
be p. २७-p. ३२ par. ३

अध्ययनको फल मीठो हुन्छ

फलफूल छान्दा मानिसहरू के गर्छन्‌, याद गर्नुभएको छ? फल पाकेको छ कि छैन भनेर पत्ता लगाउन मानिसहरू फलको रङ्‌ग र आकार हेर्छन्‌। कोही-कोही भने फल सुँघ्छन्‌। कोही छाम्छन्‌ त कोही थिच्छन्‌ पनि। अझ कोही-कोही त कुनचाहिं धेरै रसिलो र भरिलो छ भनेर हातमा जोख्ने गर्छन्‌। यसरी फल छान्दा मानिसहरू के सोचिरहेका हुन्छन्‌? फल छान्दा तिनीहरू फलको स-साना कुरासमेत जाँच्छन्‌। यसअघि फल छानेको कुरा सम्झँदै तिनीहरू अहिले फल छान्छन्‌ र तुलना गर्छन्‌। धेरै ध्यान दिएर फल छानेकोले तिनीहरू मीठो फल खान पाउँछन्‌।

परमेश्‍वरको वचन पढ्‌न हामी जति मेहनत गर्छौं, त्यसको नतिजा फलफूलभन्दा पनि कता हो कता मीठो हुन्छ। परमेश्‍वरको वचन गहिरिएर पढ्‌नुलाई महत्त्वपूर्ण ठान्यौं भने हाम्रो विश्‍वास बलियो हुन्छ, प्रेम अझै बढ्‌छ र अझै सिपालु भएर प्रचार गर्न सक्छौं। साथै हामीले गर्ने निर्णयमा समझशक्‍ति र परमेश्‍वरको बुद्धि छ भनेर पनि देखिन्छ। यस्ता आशिष्‌बारे हितोपदेश ३:१५ यसो भन्छ: “त्यो मूगा-मोतीभन्दा पनि बहुमूल्य हुन्छ, र तेरा सबै रत्नहरू त्यसको बराबरी हुनैसक्‍तैन।” के तपाईंले पनि यस्ता आशिष्‌ पाउनुभएको छ? तपाईं कसरी अध्ययन गर्नुहुन्छ, यो कुरा त्यसैमा भर पर्छ।—कल. १:९, १०.

पृष्ठ ३०-मा भएको चित्र

मनन गर्न समय निकाल्नुहोस्‌

अध्ययन गर्नु भनेको के हो? खरखरती पढ्‌दैमा अध्ययन गरेको भन्‍न मिल्दैन। आफ्नो दिमाग लगाएर, समय लगाएर कुनै विषय राम्ररी जाँच्नु वा विस्तृत तवरमा केलाउनुलाई अध्ययन गर्नु भन्‍न सकिन्छ। तपाईंले पढिरहेको विषय जाँच्नु, तपाईंलाई पहिलादेखि थाह भएको कुरा र नयाँ जानकारीबीच तुलना गर्नु र जे भनिएको छ त्यसको लागि दिइएको कारणमा ध्यान दिनु पनि अध्ययन गर्नुमा समावेश छ। अध्ययन गर्दा तपाईंलाई ‘यो त नयाँ कुरा हो’ जस्तो लाग्छ भने त्यसबारे गहिरिएर सोच्नुहोस्‌। बाइबलआधारित सल्लाह तपाईं कसरी लागू गर्न सक्नुहुन्छ भनेर पनि ध्यान दिनुहोस्‌। यहोवाको साक्षी भएकोले अरूलाई मदत गर्न यो जानकारी प्रयोग गर्न  सकिने तरिका पनि सोच्नुहोस्‌। वास्तवमा मननबिना अध्ययन अधुरो हुन्छ।

सही मनोवृत्ति राखेर अध्ययन गर्नुहोस्‌

पृष्ठ ३०-मा भएको चित्र

व्यक्‍तिगत अध्ययनबाट पूरापूर फाइदा उठाउन मन दिनुहोस्‌

अध्ययन गर्ने तयारी गर्दा तपाईं बाइबल, पढ्‌न लागेको प्रकाशन, कलम वा सिसाकलम अनि सायद एउटा कापी पनि चट्ट अगाडि राख्नुहुन्छ होला। तर के तपाईं आफ्नो मन पनि तयार पार्नुहुन्छ? “एज्राले परमप्रभुको व्यवस्था अध्ययन गर्न र पालन गर्न औ इस्राएलमा धर्म-विधि र धार्मिक विचार सिकाउन मन दिएका थिए” भनी बाइबल बताउँछ। (एज्रा ७:१०) मन दिनु अर्थात्‌ मन तयार पार्नुमा के-के समावेश छ?

सही मनोवृत्ति राखेर परमेश्‍वरको वचन अध्ययन गर्न प्रार्थनाले हामीलाई सक्षम पार्छ। यहोवाले दिने निर्देशन हृदयको गहिराइसम्मै पुगेको हामी चाहन्छौं। त्यसकारण प्रत्येक पटक अध्ययन गर्न बस्दा सबैभन्दा पहिला यहोवासित पवित्र शक्‍तिको मदत माग्नुहोस्‌। (लूका ११:१३) आफूले पढेको कुराको अर्थ बुझ्न, त्यो कुरा उहाँको उद्देश्‍यसित कसरी सम्बन्धित छ, सही र गलत छुट्ट्याउन त्यसले तपाईंलाई कसरी मदत दिन सक्छ, उहाँका सिद्धान्तहरू आफ्नो जीवनमा कसरी लागू गर्न सकिन्छ अनि त्यस कुराले यहोवासित तपाईंको सम्बन्धमा कसरी असर गर्छ, यी सबै बुझ्न यहोवासँग मदत माग्नुहोस्‌। (हितो. ९:१०) अध्ययन गरिरहँदा ‘परमेश्‍वरसित बुद्धि मागिरहनुहोस्‌।’ (याकू. १:५) आफूले सिकेको कुराको आधारमा खराब विचार र हानिकारक इच्छा त्याग्न यहोवाको मदत माग्दै इमानदार भई आफ्नो लेखाजोखा गर्नुहोस्‌। यहोवाले सिकाउने कुराको लागि ‘धन्यवाद दिएर उहाँको स्तुति गाउनुहोस्‌।’ (भज. १४७:७) यसरी प्रार्थना गरेर अध्ययन गर्दा यहोवाले आफ्नो वचनमार्फत भनेका कुरा सजिलै स्वीकार्ने भएकोले हामी यहोवाको झनै नजिक हुनेछौं।—भज. १४५:१८.

यस्तो मनोवृत्तिले गर्दा नै यहोवाका जनहरू अरू मानिसभन्दा फरक छन्‌। परमेश्‍वरप्रति भक्‍तिभाव नै नभएका मानिसहरू बाइबलमा लेखिएका कुराहरूमा शङ्‌का गर्छन्‌ र औंला ठड्याउनसमेत पछि पर्दैनन्‌। तर हामी भने त्यसो गर्दैनौं। हामी यहोवा परमेश्‍वरमा भरोसा गर्छौं। (हितो. ३:५-७) कुनै कुरा बुझेनौं भने पनि पहिल्यै अनुमान गर्दै गलत निष्कर्ष निकाल्दैनौं। त्यस्तो बेला जवाफको खोजी गर्दै वा अनुसन्धान गर्दै हामी यहोवाको बाटो हेर्छौं। (मीका ७:७) अध्ययन गर्ने सम्बन्धमा एज्राको जस्तै हाम्रो मनसाय पनि सिकेको कुरा लागू गर्ने र अरूलाई सिकाउने हो। हामीसित पनि यस्तै मनोभाव छ भने अध्ययनको मीठो फल खान पाउँनेछौं।

कसरी अध्ययन गर्ने?

कुनै लेखको पहिलो अनुच्छेदबाट सुरु गरेर अन्तसम्म पढिहाल्नुभन्दा उक्‍त लेख वा अध्याय सरसरती हेर्नुहोस्‌। पहिला, शीर्षकमा प्रयोग गरिएका शब्द केलाउनुहोस्‌। त्यो शीर्षक नै तपाईंले पढ्‌न लागेको लेखको मूल-विषय हो। त्यसपछि उपशीर्षकहरू हेर्नुहोस्‌। प्रत्येक उपशीर्षक मूल-विषयसँग कसरी जोडिएका छन्‌, ध्यान दिनुहोस्‌। लेखमा दिइएका उदाहरण, चित्र, तथ्याङ्‌क, शिक्षण पेटी जस्ता कुरालाई जाँच्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌: ‘यसरी सरसरती हेर्दा लेखबाट के पाठ सिक्न सक्छु होला? यो विषय मेरो लागि कसरी उपयोगी होला?’ यसरी सोध्नुभयो भने कुन विषयमा अध्ययन गर्न लाग्नुभएको छ, त्यो थाह पाउन सक्नुहुन्छ।

पृष्ठ ३०-मा भएको चित्र

अनुसन्धान गर्न तपाईंले बुझ्ने भाषामा के-के उपलब्ध छन्‌, ती प्रयोग गर्न सिक्नुहोस्‌

अब लेख केलाएर हेर्नुहोस्‌। प्रहरीधरहरा अध्ययन लेख र कुनै-कुनै किताबमा प्रश्‍नहरू दिइएका हुन्छन्‌। हरेक अनुच्छेद पढ्‌दा जवाफमा चिनो लगाउनु राम्रो हो। प्रश्‍न दिइएका छैनन्‌ भने पनि आफूले सम्झन चाहेको महत्त्वपूर्ण बुँदामा चिनो लगाउनुहोस्‌। कुनै शिक्षा नौलो लाग्छ भने त्यो शिक्षा राम्ररी बुझ्न थप समय लगाउनुहोस्‌। तपाईंले प्रचारमा वा भाषणमा प्रयोग गर्न सक्ने कुनै उदाहरण वा तर्क लेखमा छन्‌ कि भनेर ध्यान दिनुहोस्‌। आफूले पढिरहेको कुरा बाँड्‌दा क-कसको विश्‍वास बलियो हुन्छ, सोच्नुहोस्‌। आफूले प्रयोग गर्न चाहेका बुँदाहरूमा चिनो लगाउनुहोस्‌ र लेख पूरा पढिसकेपछि ती बुँदा फेरि दोहोऱ्‍याउनुहोस्‌।

यसरी लेख केलाउँदा उल्लिखित शास्त्रपदहरू पल्टाएरै हेर्नुहोस्‌। प्रत्येक शास्त्रपद अनुच्छेदको मुख्य बुँदासित कसरी सम्बन्धित छ, विश्‍लेषण गर्नुहोस्‌।

पढ्‌दै जाँदा एकचोटिमै नबुझिने कुनै बुँदा वा अझै अनुसन्धान गर्न चाहेको कुनै बुँदा भेट्टाउनुहोला। यसले गर्दा अलमलिनुको साटो पछि विचार गर्न उक्‍त बुँदा टिप्नुहोस्‌। पढ्‌दै जाँदा अक्सर पहिले नबुझेको कुरा प्रस्ट हुँदै जान्छ। प्रस्ट भएन भने थप अनुसन्धान गर्नुहोस्‌। के-कस्ता कुरा यसरी अनुसन्धान गर्न सक्छौं? सायद प्रस्ट बुझ्न नसकिएको कुनै पद उल्लेख गरिएको हुन सक्छ। अथवा छलफल गरिएको बुँदा कसरी लागू गर्ने झट्टै बुझ्न सक्नुभएन होला। वा लेखको कुनै बुँदा बुझ्न त बुझ्नुभयो तर अरूलाई बताउन भने सक्नुभएन होला। यस्ता कुरालाई बेवास्ता नगर्नुहोस्‌। अध्ययन गरिरहेको विषय पढिसिध्याएपछि थप अनुसन्धान गर्नु बुद्धिमानी हो।

पृष्ठ ३०-मा भएको चित्र

बाइबल पल्टाएरै हेर्नुहोस्‌

प्रेषित पावलले हिब्रू ख्रीष्टियनहरूलाई विस्तृत विवरण खुलाएर पत्र लेखेका थिए। उक्‍त पत्रको बीचतिर एकछिन रोकिएर पावलले यसो भने: “मुख्य बुँदा यही हो।” (हिब्रू ८:१) के तपाईं पनि बेला-बेलामा आफूलाई त्यसरी नै सम्झाउनुहुन्छ? पावलले त्यसो गर्नुको कारण विचार गर्नुहोस्‌। हिब्रूहरूलाई लेखेको पत्रको अघिल्लो अध्यायमा पावलले परमेश्‍वरको प्रधान पुजारी ख्रीष्ट स्वर्गमा प्रवेश गरिसक्नुभयो भनेर बताइसकेका थिए। (हिब्रू ४:१४–५:१०; ६:२०) तैपनि पावलले ८ अध्यायको सुरुमा यो मुख्य बुँदालाई जोड दिएर उक्‍त कुराले पाठकहरूमा कस्तो असर पार्छ, त्यसबारे गहिरिएर सोच्न तिनीहरूको मन तयार पारिरहेका थिए। तिनीहरूको खातिर ख्रीष्ट परमेश्‍वरसामु देखा पर्नुभयो र तिनीहरूलाई पनि स्वर्गको “महापवित्रस्थानभित्र” पस्न सम्भव तुल्याउनुभयो भनेर पावलले उल्लेख गरे। (हिब्रू ९:२४; १०:१९-२२) यो पक्का आशाले तिनीहरूलाई यस पत्रमा दिइएको विश्‍वास, धैर्य अनि ख्रीष्टियन आचरणसम्बन्धी थप सल्लाह पालन गर्न उत्प्रेरित गर्ने थियो। त्यसैगरि पढ्‌ने बेला मुख्य बुँदामा ध्यान केन्द्रित गर्दा मूल-विषय कसरी विस्तार गरिएको छ, त्यो बुझ्ने मदत पाउँछौं। यसबाहेक मुख्य बुँदाअनुसार चल्नुपर्ने आवश्‍यकतालाई मनमा ठप्प बसाल्ने मदत पनि पाउनेछौं।

व्यक्‍तिगत अध्ययनले के तपाईंलाई पनि काम गर्न जुरमुऱ्‍याउँछ? यो महत्त्वपूर्ण प्रश्‍न हो। केही कुरा सिक्दा आफैलाई सोध्नुहोस्‌: ‘यसले मेरो मनोवृत्ति र लक्ष्यहरूमा कस्तो असर पार्छ? समस्या सुल्झाउन, निर्णय गर्न वा लक्ष्यसम्म पुग्न यो जानकारी कसरी प्रयोग गर्न सक्छु? परिवारमा, प्रचारमा र मण्डलीमा यो बुँदा कसरी प्रयोग गर्न सक्छु?’ ‘यस्तै अवस्थामा परें भने सिकेको ज्ञान कसरी प्रयोग गर्न सकूँला’ भनेर सोच्दै यी प्रश्‍नहरूबारे प्रार्थनापूर्वक विचार गर्नुहोस्‌।

एउटा अध्याय अथवा एउटा लेख पढिसकेपछि पढेको कुरा नबिर्सन छोटकरीमा दोहोऱ्‍याउनुहोस्‌। मुख्य बुँदा अनि त्यसलाई समर्थन गर्ने तर्कहरू सम्झन सक्नुहुन्छ कि सक्नुहुन्‍न, जाँच्नुहोस्‌। यसो गर्दा यो जानकारी पछि-पछि प्रयोग गर्ने बेला झट्टै सम्झन सक्नुहुन्छ।

के अध्ययन गर्ने?

यहोवाका जनहरू भएकोले हामीले पढ्‌नुपर्ने कुरा थुप्रै छन्‌। तर के पढेर सुरु गर्ने? हरेक दिन दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिकाबाट बाइबल पद र छापिएको टिप्पणी पढ्‌नु बेस हुन्छ। हामी हरेक हप्ता सभाहरू जान्छौं र सभाको लागि तयारी गर्दा पढ्‌ने गरेका छौं भने निकै फाइदा उठाउन सक्नेछौं। यसबाहेक कोही-कोही भने आफूले सत्य सिक्नुभन्दा अघिका प्रकाशनहरू पढेर पनि लाभ उठाउँछन्‌। अनि अरू कतिपय भने आफूले हप्ता-हप्तामा पढ्‌नुपर्ने बाइबलका अंश पढ्‌ने र ती पदबारे गहिरिएर अनुसन्धान गर्ने गर्छन्‌।

तर परिस्थितिले गर्दा हरेक हप्ता हुने सभाको लागि राम्ररी तयारी गर्न पढ्‌न भ्याउनुहुन्‍न भने नि? सब थोक एकै पटक पढ्‌न खोज्ने वा केही पनि पढ्‌न सकिन्‍नँ भन्ठान्दै पढ्‌दै नपढ्‌ने फन्दामा नपर्नुहोस्‌। बरु जति सकिन्छ, त्यति मात्र पढ्‌नुहोस्‌ र त्यो पनि राम्ररी पढ्‌नुहोस्‌। हरेक हप्ता पढ्‌ने बानी गर्नुहोस्‌। यसो गर्नुभयो भने समयमा सभाका अन्य भाग पनि तयारी गर्ने बानी बसाल्न सक्नुहुन्छ।

‘घरको प्रबन्ध मिलाउनुहोस्‌’

परिवारको शिरले परिवारको पालन-पोषण गर्न अथक प्रयास गर्नुपर्छ भनेर यहोवा परमेश्‍वरले बुझ्नुभएको छ। हितोपदेश २४:२७ मा यस्तो लेखिएको छ: “सबैभन्दा पहिले घरका बाहिरका कुराहरू सम्हाल्‌। खेतमा सबै तयार गर्‌।” तैपनि परिवारको आध्यात्मिक आवश्‍यकतालाई बेवास्ता गर्न मिल्दैन। त्यसैकारण बाँकी पदमा अझै यस्तो लेखिएको छ: “त्यसपछि मात्र घरको प्रबन्ध मिला।” तर परिवारको शिरले कसरी त्यसो गर्न सक्छन्‌? हितोपदेश २४:३ यस्तो जवाफ दिन्छ: “समझशक्‍तिले [घरलाई] सुरक्षित राख्छ।”

समझशक्‍तिले गर्दा तपाईंको परिवारलाई कस्तो लाभ पुग्छ? समझशक्‍ति भनेको सतही कुरा मात्र होइन तर गहिराइसम्म बुझ्न सक्ने क्षमता हो। भनिन्छ, परिवारको आवश्‍यकताबारे गहिरिएर विचार गरिसकेपछि मात्र प्रभावकारी ढङ्‌गमा पारिवारिक अध्ययन गर्न सकिन्छ। तपाईंको परिवारका सदस्यहरूको आध्यात्मिक प्रगति कस्तो छ? तिनीहरूसित कुराकानी गर्दा ध्यान दिएर सुन्‍नुहोस्‌। के तिनीहरू गुनासो गर्छन्‌? वा रिस देखाउँछन्‌? के तिनीहरूलाई धनसम्पत्ति कमाउनु नै मुख्य कुरा हो जस्तो लाग्छ? छोराछोरीलाई सँगै प्रचारमा लैजाँदा के तिनीहरू साथीहरूसामु आफूलाई यहोवाको साक्षीको रूपमा चिनाउन सजिलो मान्छन्‌? परिवार मिलेर बाइबल पढ्‌दा वा अध्ययन गर्दा के तिनीहरू रमाइलो मान्छन्‌? के तिनीहरूले यहोवाका तौरतरिकाअनुसार जीवन बिताइरहेका छन्‌? परिवारको शिर भएकोले होसियारीसाथ अवलोकन गर्नुहोस्‌। त्यसो गर्नुभएको छ भने परिवारको प्रत्येक सदस्यले यहोवालाई मनपर्ने गुण खेती गर्न के गर्नु आवश्‍यक छ, त्यो थाह पाउन सक्नुहुन्छ।

परिवारको खास आवश्‍यकताबारे प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-मा छापिएका लेखहरू खोज्नुहोस्‌। त्यस लेखबारे परिवारलाई पहिल्यै बताउनुहोस्‌। यसो गर्दा तिनीहरूले अबको पारिवारिक अध्ययनमा के छलफल गरिनेछ त्यो पहिल्यै सोच्न सक्छन्‌। अध्ययनको वातावरण मायालु बनाउनुहोस्‌। तपाईंको पारिवारिक अध्ययन कसैलाई हप्कीदप्की दिएझैं वा लाजमा पारेझैं नहोस्‌। बरु छलफल गरिरहेको विषय किन महत्त्वपूर्ण छ, प्रस्ट पार्नुहोस्‌ र आफ्नो परिवारको आवश्‍यकताअनुसार कसरी लागू गर्न सकिन्छ, बताउनुहोस्‌। अध्ययनमा सबैलाई भाग लिन लगाउनुहोस्‌। यहोवाको वचन “निर्दोष” छ र यसले जीवन बिताउन वास्तवमा के चाहिन्छ, त्यो प्रबन्ध गर्न सक्छ भनेर बुझ्न प्रत्येकलाई मदत गर्नुहोस्‌।—भज. १९:७.

मेहनतको फल मीठो हुन्छ

परमेश्‍वरको आवश्‍यकता महसुस नगर्ने मानिसहरू ब्रह्‍माण्ड, विश्‍व परिस्थिति र आफैबारे गहिरिएर चिन्तन गर्न त सक्छन्‌ तर यी कुराको सही अर्थ भने बुझ्न सक्दैनन्‌। तर अर्कोतर्फ नियमित रूपमा परमेश्‍वरको वचन अध्ययन गर्नेहरूले भने उहाँको पवित्र शक्‍तिको मदत पाएर यी कुरामा परमेश्‍वरको हात रहेको, बाइबल भविष्यवाणी पूर्ति भएको र आज्ञाकारी मानिसहरूलाई उहाँले दिने आशिष्‌ कसरी पूरा हुँदैछ, प्रस्ट बुझ्न सक्छन्‌।—मर्कू. १३:४-२९; रोमी १:२०; प्रका. १२:१२.

यो कुरा उदेकलाग्दो भए तापनि हामी घमन्डले फुल्नुहुँदैन। बरु परमेश्‍वरको वचन दिनदिनै पढ्‌दा नम्र भइरहन मदत पुग्छ। (व्यव. १७:१८-२०) यसले “पापको भ्रामक शक्‍ति”-बाट पनि जोगाउँछ किनभने परमेश्‍वरको वचन हाम्रो मनमा जीवित छ भने पापी कामलाई तिरस्कार गर्ने हाम्रो अठोटलाई पापको शक्‍तिले लडाउन सक्दैन। (हिब्रू २:१; ३:१३; कल. ३:५-१०) त्यसरी हामी ‘यहोवालाई पूरै प्रसन्‍न बनाउन सक्छौं, साथै हर किसिमको असल कामको फल फलाउँदै परमेश्‍वरको सही ज्ञानमा पनि बढ्‌दै जान्छौं।’ (कल. १:१०) परमेश्‍वरको वचन अध्ययन गर्नुको उद्देश्‍य यही नै हो। त्यसो गर्दा मीठो फल पाइन्छ।

अत्यन्तै मीठो फल पाउन चाहनुहुन्छ भने

  • मन दिनुहोस्‌

  • लेख सरसरती हेर्नुहोस्‌

  • महत्त्वपूर्ण तथ्यहरूलाई जोड दिनुहोस्‌

  • जे भनिएको छ, त्यसको लागि बाइबलले दिएको कारणमा ध्यान दिनुहोस्‌

  • मुख्य बुँदाहरू फेरि दोहोऱ्‍याउनुहोस्‌

  • पढेको कुराले जीवनमा पार्ने प्रभावबारे मनन गर्नुहोस्‌

  • अरूलाई मदत गर्न पढेको कुरा प्रयोग गर्ने मौका खोज्नुहोस्‌

लेखलाई कसरी सरसरती हेर्न सकिन्छ?

  • शीर्षकमा प्रयोग गरिएका शब्द केलाउनुहोस्‌

  • प्रत्येक उपशीर्षक मूल-विषयसँग कसरी सम्बन्धित छन्‌, ध्यान दिनुहोस्‌

  • लेखमा दिइएका उदाहरण, चित्र, तथ्याङ्‌क, शिक्षण पेटी जाँच्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने