परिवारहरू हो, परमेश्वरको मण्डलीको भागको हैसियतमा उहाँको प्रशंसा गर्नुहोस्
“समुदायहरूमा म परमप्रभुको प्रशंसा गर्नेछु।”—भजन २६:१२.
१. घरमा अध्ययन र प्रार्थना गर्नुबाहेक उपासनाको एउटा अर्को महत्त्वपूर्ण भाग के हो?
यहोवाको उपासना घरमा प्रार्थना र बाइबल अध्ययन गर्नुमा मात्र सीमित छैन। त्यसमा परमेश्वरको मण्डलीको भागको हैसियतमा गर्नुपर्ने क्रियाकलाप पनि समावेश छ। परमेश्वरको व्यवस्था सिकेर उहाँको मार्गमा हिंड्न ‘[पुरुष], स्त्री, बालकलाई’ भेला गर्न प्राचीन इस्राएललाई आज्ञा दिइएको थियो। (व्यवस्था ३१:१२; यहोशू ८:३५) वृद्ध, ‘जवान ठिटा र कुमारी’ सबैलाई यहोवाको नाउँको प्रशंसा गर्ने काममा भाग लिन प्रोत्साहित गरिन्थ्यो। (भजन १४८:१२, १३) मसीही मण्डलीमा पनि यस्तै प्रबन्ध छ। विश्वभरिका राज्यभवनहरूमा पुरुष, स्त्री तथा केटाकेटीहरू श्रोताले भाग लिन पाउने कार्यक्रममा नहिचकिचाइ भाग लिन्छन्। त्यसरी भाग लिएर थुप्रैले प्रशस्त आनन्द उठाउँछन्।—हिब्रू १०:२३-२५.
२. (क) केटाकेटीहरूलाई सभाहरूबाट आनन्द उठाउन मदत दिने मुख्य कुरा तयारी किन हो? (ख) कसको उदाहरण महत्त्वपूर्ण छ?
२ निस्सन्देह, केटाकेटीहरूलाई मण्डलीको स्वास्थ्यकर क्रियाकलापको तालिकामा भाग लिन लगाउनु एउटा चुनौती नै हुनसक्छ। आमाबाबुसँग सभामा जाने केटाकेटीले सभाबाट आनन्द उठाउन सकेन भने त्यसको के कारण हुनसक्छ? प्रायः केटाकेटीहरू केही समयसम्म मात्र ध्यान दिनसक्छन् अनि तिनीहरूलाई चाँडै पट्यार लाग्छ। सभाहरूका लागि तयारी गर्नाले यो समस्या हटाउन मदत गर्न सकिन्छ। केटाकेटीहरूले तयारी नगरी सभाहरूमा अर्थपूर्ण तरिकामा भाग लिन सक्दैनन्। (हितोपदेश १५:२३) तिनीहरूले तयारी नगरिकन आध्यात्मिक उन्नति गर्न र सन्तुष्टि पाउन सक्दैनन्। (१ तिमोथी ४:१२, १५) त्यसो भए, के गर्न सकिन्छ त? प्रथमतः आमाबाबुहरू आफैले सभाहरूका लागि तयारी गरिरहेका छन् कि छैनन् भनी आफैलाई सोध्नुपर्छ। तिनीहरूको उदाहरणले गहिरो प्रभाव पार्छ। (लूका ६:४०) सावधानीसाथ पारिवारिक अध्ययनको योजना बनाउनु अर्को महत्त्वपूर्ण कदम हुनसक्छ।
हृदय सुधार्ने
३. पारिवारिक अध्ययनको दौडान किन हृदयलाई सुधार्ने विशेष प्रयत्न गर्नुपर्छ र त्यसो गर्नका लागि के आवश्यक छ?
३ पारिवारिक अध्ययन ज्ञान हासिल गर्ने समय मात्र नभई हृदय सुधार्ने समय पनि हुनुपर्छ। यसका लागि परिवारका सदस्यहरूले सामना गरिरहेका समस्याहरूप्रति सजग हुनुका साथै मायालु चासो हुनु आवश्यक छ। यहोवाले “हृदयको जाँच गर्नुहुन्छ।”—१ इतिहास २९:१७.
४. (क) “मूर्ख” हुनुको अर्थ के हो? (ख) “बुद्धि प्राप्त” गर्नुमा के विथोलित छ?
४ हाम्रा छोराछोरीको हृदय जाँच गर्नुहुँदा यहोवा के पाउनुहुन्छ? प्रायजसो छोराछोरीले हामी परमेश्वरलाई प्रेम गर्छौं भन्छन्। यो प्रशंसनीय कुरा हो। तैपनि, कलिला उमेरका केटाकेटी अथवा भर्खरै यहोवाबारे सिक्दै गर्ने व्यक्तिसित उहाँका मार्गहरूबारे त्यति धेरै अनुभव हुँदैन। ती अनुभवहीन भएकाले “मूर्ख” हुनसक्छन् भनी बाइबल बताउँछ। तिनका सबै मनोवृत्तिहरू खराब नहोलान् तर तिनले परमेश्वरलाई खुसी पार्ने किसिमको हृदय खेती गर्न समय लाग्छ। यसको लागि तिनले असिद्ध मानिसहरूले गर्नसक्ने हदसम्म आफ्नो सोचविचार, इच्छा, झुकाउ, भावना अनि लक्ष्यहरू परमेश्वरको इच्छाअनुरूप ढाल्नुपर्छ। यसरी भित्री मानिसलाई परमेश्वरको मार्गअनुसार ढाल्दा व्यक्तिविशेषले “बुद्धि प्राप्त” गर्छ।—हितोपदेश ९:४; १९:८.
५, ६. आमाबाबुहरूले आफ्ना छोराछोरीलाई “बुद्धि प्राप्त” गर्न कसरी मदत गर्नसक्छन्?
५ के आमाबाबुहरूले आफ्ना छोराछोरीलाई “बुद्धि प्राप्त” गर्न मदत दिन सक्छन्? हो, कसैले अरूको हृदयलाई असल बनाउन सक्दैन। हामी सबैलाई स्वेच्छा दिइएको छ अनि धेरैजसो कुराहरू हाम्रो सोचाइमा भर पर्छ। तथापि, समझशक्ति चलाएर आमाबाबुहरूले आफ्ना छोराछोरीको हृदयको कुरा निकालेर तिनीहरूलाई कुन क्षेत्रमा मदत चाहिएको रहेछ भन्ने पत्ता लगाउनसक्छन्। यस्ता प्रश्नहरू सोध्नुहोस्, ‘तिमीहरूलाई यसबारे कस्तो लाग्छ?’ अनि ‘तिमीहरू वास्तवमा के गर्न चाहन्छौ?’ त्यसपछि, उनीहरूको कुरा ध्यानसँग सुन्नुहोस्। नजंगिनुहोस्। (हितोपदेश २०:५) तपाईं उनीहरूको हृदय छुन चाहनुहुन्छ भने दया, समझशक्ति र प्रेमले भरिएको वातावरण हुनु आवश्यक छ।
६ हितकर झुकाउहरू विकास गर्न बारम्बार आत्माका फलहरू तथा त्यसका हरेक पक्षबारे छलफल गर्नुहोस्। अनि परिवारको सबै मिलेर ती फलहरू फलाउने परिश्रम गर्नुहोस्। (गलाती ५:२२, २३) यहोवा र येशू ख्रीष्टलाई प्रेम गर्नुपर्छ भनेर मात्र होइन तर उहाँहरूलाई किन प्रेम गर्नुपर्छ अनि कसरी त्यो व्यक्त गर्न सकिन्छ, त्यो छलफल गरेर उहाँहरूप्रतिको प्रेम बढाउनुहोस्। (२ कोरिन्थी ५:१४, १५) सही काम गर्दा हुने लाभहरूबारे तर्क गरेर त्यस्तो काम गर्ने इच्छालाई बलियो बनाउँदै लानुहोस्। खराब सोचविचार, बोली र आचरणका नराम्रा असरहरूबारे छलफल गरेर त्यसलाई त्याग्ने इच्छा जगाउनुहोस्। (आमोस ५:१५; ३ यूहन्ना ११) खराब वा असल सोचविचार, बोली र आचरणले परमेश्वरसितको सम्बन्धलाई कसरी असर गर्छ भनी बताउनुहोस्।
७. छोराछोरीलाई समस्याहरूको सामना गर्न अनि यहोवासँग घनिष्ठ हुने गरी निर्णयहरू गर्नका लागि के के गर्न सकिन्छ?
७ छोरा वा छोरीले कुनै समस्याको सामना गर्दा अथवा कुनै निर्णय गर्नुपर्दा यस्ता प्रश्नहरू सोध्न सक्छौं: ‘तिम्रो विचारमा, यहोवाले यसलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ होला?’ तिमीले यहोवाबारे के थाह पाएकोले यसो भन्नसक्यौ?’ ‘के तिमीले यसबारे उहाँलाई प्रार्थना गऱ्यौ?’ सकेसम्म कलिलै उमेरदेखि छोराछोरीलाई परमेश्वरको इच्छा बुझ्ने अनि त्यहीअनुसार चल्ने जीवनशैली विकास गर्न मदत गर्नुहोस्। यहोवासँग तिनीहरूको सम्बन्ध घनिष्ठ हुँदै गएपछि तिनीहरूले उहाँको मार्गमा पाइने हिंड्दा आनन्द पाउनेछन्। (भजन ११९:३४, ३५) परिणामस्वरूप, साँचो परमेश्वरको मण्डलीसित संगत गर्न पाएकोमा तिनीहरूको हृदय मूल्यांकनले भरिनेछ।
मण्डलीका सभाहरूका लागि तयारी
८. (क) ध्यान दिनुपर्ने सबै कुरा पारिवारिक अध्ययनमा समेट्न केले मदत दिनसक्छ? (ख) यस्तो अध्ययन कत्तिको महत्त्वपूर्ण छ?
८ पारिवारिक अध्ययन गर्दा ध्यान दिनुपर्ने थुप्रै विषयहरू छन्। तपाईं ती सबैलाई कसरी समेट्न सक्नुहुन्छ? एउटै समयमा सबै कुरा गर्नु असम्भव छ। तर एउटा सूची बनाउनुभयो भने तपाईंको लागि मदतकारी हुनसक्छ। (हितोपदेश २१:५) समय समयमा उक्त सूची जाँच्नुहोस् अनि कुन कुन विषयमा खास ध्यान दिनु आवश्यक छ, विचार गर्नुहोस्। परिवारका प्रत्येक सदस्यको उन्नतिमा गहिरो चासो राख्नुहोस्। पारिवारिक अध्ययनको प्रबन्ध मसीही शिक्षाको एउटा महत्त्पूर्ण भाग हो। यसले हामीलाई वर्तमान जीवन यापन गर्न सुसज्जित बनाउनुका साथै भावी अनन्त जीवनको लागि तयार पनि पार्छ।—१ तिमोथी ४:८.
९. पारिवारिक अध्ययनको दौडान सभाको तयारी गर्नुका कस्ता लक्ष्यहरू बिस्तारै हासिल गर्दै जानसक्छौं?
९ के तपाईं पारिवारिक अध्ययनका दौडान मण्डलीका सभाहरूका लागि पनि तयारी गर्नुहुन्छ? तपाईंहरू सबै मिलेर अध्ययन गर्नुहुँदा थुप्रै लक्ष्यहरू हासिल गर्दै जानसक्नुहुन्छ। तीमध्ये कुनै कुनै लक्ष्य हासिल गर्न हप्ता, महिना वा वर्ष दिनसमेत लाग्नसक्छ। निम्न लक्ष्यहरू ध्यानमा राख्नुहोस्: (१) परिवारका सबै जना मण्डलीका सभाहरूमा टिप्पणी गर्न तयार हुने; (२) प्रत्येकले आफ्नै शब्दमा टिप्पणी गर्न प्रयत्न गर्ने; (३) टिप्पणी गर्दा बाइबलका पदहरू समावेश गर्ने अनि (४) छलफल गरिएको विषयलाई व्यक्तिगत जीवनमा प्रयोग गर्ने दृष्टिकोणसहित विश्लेषण गर्ने। यसो गर्नाले सच्चाइलाई आफ्नै बनाउन सबैलाई मदत गर्नसक्छ।—भजन २५:४, ५.
१०. (क) हामी कसरी मण्डलीका प्रत्येक सभाहरूलाई ध्यान दिनसक्छौं? (ख) यसो गर्नु किन इनामदायी हुन्छ?
१० तपाईंहरूको पारिवारिक अध्ययन साधारणतया साप्ताहिक प्रहरीधरहरा अध्ययन लेखमा आधारित होला। यद्यपि, मण्डली पुस्तक अध्ययन, ईश्वरतान्त्रिक सेवकाई स्कूल र सेवा सभाका लागि व्यक्तिगत वा पारिवारिक रूपमा तयारी गर्नुपर्ने महत्त्वलाई बेवास्ता नगर्नुहोस्। यी सभाहरू पनि हामीलाई यहोवाको मार्गमा हिंड्न सिकाउने कार्यक्रमको महत्त्वपूर्ण भाग हुन्। तपाईंहरूले सबै सभाहरूका लागि बेला बेलामा सपरिवार मिलेर तयारी गर्न सक्नुहुन्छ होला। सबै मिलेर अध्ययन गर्दा अध्ययन कला तिखारिन्छ। फलस्वरूप, सभाहरूबाट अझ फाइदा उठाउन सकिन्छ। यसबाहेक, सभाहरूका लागि नियमित तयारी गर्दा हुने फाइदाहरू अनि तयारीका लागि निश्चित समय छुट्याउनुपर्ने आवश्यकताबारे छलफल गर्नुहोस्।—एफिसी ५:१५-१७.
११, १२. मण्डलीमा गाइने गीतहरू तयारी गर्दा कसरी फाइदा हुनसक्छ अनि कसरी तयारी गर्न सकिन्छ?
११ “परमेश्वरले चाहनुहुने जीवनशैली” अधिवेशनमा सभाहरूका एउटा अर्को भाग तयारी गर्न हामीलाई प्रोत्साहन दिइयो। त्यो हो, गीत गाउने। के तपाईंले त्यसो गर्नुभयो? यसो गर्नाले सच्चाइ हाम्रो मन तथा हृदयमा गड्नुका साथै मण्डलीका सभाहरूको आनन्द पनि बढ्नसक्छ।
१२ गीत तयारी गर्दा तालिकामा दिइएका कुनै कुनै गीतहरू पढ्नुका साथै त्यसका अर्थ छलफल गर्नाले हामीलाई हृदयदेखि गीत गाउन मदत गर्नसक्छ। प्राचीन इस्राएलमा उपासना गर्दा वाद्ययन्त्रहरू प्रयोग गरिन्थ्यो। (१ इतिहास २५:१; भजन २८:७) के तपाईंको परिवारमा कसैलाई वाद्ययन्त्र बजाउन आउँछ? बजाउन आउँछ भने, साप्ताहिक सभाको कुनै राज्य गीत त्यो वाद्ययन्त्र बजाएर परिवारका सबैले गाए कसो होला। गीतको क्यासेट प्रयोग गरेर पनि गीतको तयारी गर्न सकिन्छ। कुनै कुनै मुलुकहरूमा हाम्रा भाइबहिनीहरू धुनबिना नै मीठो गीत गाउँछन्। बाटोमा हिंड्दा वा खेतमा काम गर्न जाँदा मण्डलीका साप्ताहिक सभाहरूमा गाइने गीतहरू गुनगुनाएर तिनीहरूले आनन्द उठाउँछन्।—एफिसी ५:१९.
क्षेत्र सेवकाईका लागि पारिवारिक तयारी
१३, १४. क्षेत्र सेवकाईका लागि हाम्रो हृदय तयार गर्ने पारिवारिक छलफल किन मूल्यवान् छ?
१३ यहोवा अनि उहाँको उद्देश्यबारे अरूलाई साक्षी दिनु हाम्रो जीवनको एउटा महत्त्वपूर्ण भाग हो। (यशैया ४३:१०-१२; मत्ती २४:१४) चाहे हामी जवान होऔं वा वृद्ध, तयारी गरेका छौं भने यो कार्यबाट धेरै आनन्द उठाउनुका साथै असल नतिजा प्राप्त गर्नसक्छौं। हामी परिवारमा कसरी तयारी गर्नसक्छौं?
१४ उपासनासित सम्बन्धित सबै कुरामा झैं यसका लागि पनि हाम्रो हृदयलाई तयार गर्नु महत्त्वपूर्ण छ। हामी के गर्न लागिरहेका छौं भनेर मात्र होइन तर किन गर्न लागिरहेका छौं भनी छलफल गर्नुपर्छ। राजा यहोशापातको समयमा मानिसहरूलाई ईश्वरीय व्यवस्थाबारे शिक्षा दिइयो। तर तिनीहरूले “मन लाएनन्” भनी बाइबल बताउँछ। फलतः तिनीहरू प्रलोभनमा परे जसले तिनीहरूलाई साँचो उपासनादेखि तर्काउनसक्थ्यो। (२ इतिहास २०:३३; २१:११) हाम्रो लक्ष्य क्षेत्र सेवकाईमा बिताइएको घण्टा बुझाउनु वा साहित्य वितरण गर्नु मात्र होइन। हाम्रो सेवकाई यहोवा तथा जीवन रोज्ने मौका चाहिएको मानिसहरूप्रतिको प्रेमको अभिव्यक्ति हुनुपर्छ। (हिब्रू १३:१५) यो त्यो कार्य हो जसमा हामी “परमेश्वरका सहकर्मी हौं।” (१ कोरिन्थी ३:९) कस्तो विशेषाधिकार! सेवकाईमा भाग लिंदा हामीलाई पवित्र स्वर्गदूतहरूले सहयोग गर्छन्। (प्रकाश १४:६, ७) यो विशेषाधिकारप्रति मूल्यांकन बढाउने उत्तम समय साप्ताहिक अध्ययन गर्दा वा दिनहुँ धर्मशास्त्र जाँच्ने-बाट उपयुक्त पद छलफल गर्नुभन्दा अरू कुन पो हुनसक्ला र!
१५. पारिवारिक रूपमा क्षेत्र सेवकाईका लागि कहिले तयारी गर्न सकिन्छ?
१५ के तपाईं कहिलेकाहीं पारिवारिक अध्ययनको बेला परिवारका सदस्यहरूलाई साप्ताहिक क्षेत्र सेवकाईका लागि तयारी गर्ने मदत दिनुहुन्छ? यसो गर्नु निकै फाइदाजनक हुनसक्छ। (२ तिमोथी २:१५) यसो गर्नाले तिनीहरूले सेवकाई अर्थपूर्ण र फलदायी बनाउने मदत पाउनेछन्। कहिलेकाहीं पूरै अध्ययन सेवकाईको तयारी गर्नका लागि छुट्याउन सक्नुहुन्छ। पारिवारिक अध्ययनको अन्तमा अथवा हप्ताको कुनै समयमा क्षेत्र सेवकाईबारे तपाईंले अक्सर छोटो छलफल गर्न सक्नुहुन्छ।
१६. अनुच्छेदमा दिइएका प्रत्येक कदमहरूको महत्त्व छलफल गर्नुहोस्।
१६ पारिवारिक अध्ययनको दौडान थुप्रै कदमहरूमाथि ध्यान केन्द्रित गर्न सकिन्छ। जस्तै, (१) मौका मिलेको खण्डमा पढ्नका लागि बाइबल पदसहित राम्ररी प्रस्तुती तयार गर्ने। (२) हुनसक्छ भने, प्रत्येकसँग सेवकाईमा जाने झोला, बाइबल, कापी, कलम वा पेन्सिल, पर्चा अनि अरू साहित्यहरू छन् कि छैनन्, पक्का गर्ने। सेवकाईमा जाने झोला महंगो हुनुपर्छ भन्ने छैन तर सफा चिटिक्क परेको चाहिं हुनुपर्छ। (३) कहाँ अनि कसरी अनौपचारिक साक्षी दिने, छलफल गर्नुहोस्। परिवार मिलेर क्षेत्र सेवकाईमा भाग लिंदै यी निर्देशनहरू पालैसँग लागू गर्नुहोस्। मदतकारी सुझाउहरू दिनुहोस्। तर तीन थुप्रो विषयहरूमा सल्लाह दिनेचाहिं नगर्नुहोस्।
१७, १८. (क) पारिवारिक रूपमा कस्तो प्रकारको तयारी गर्नाले हाम्रो क्षेत्र सेवकाई अझ फलदायी हुनसक्छ? (ख) यस्तो तयारी गर्दा हरेक हप्ता कुन पक्षलाई समेट्न सकिन्छ?
१७ येशूले आफ्ना अनुयायीहरूलाई अह्राउनुभएको प्रमुख काम हो, चेला बनाउनु। (मत्ती २८:१९, २०) चेला बनाउन प्रचार गरेर मात्र पुग्दैन। शिक्षा दिनु पनि आवश्यक छ। प्रभावशाली ढंगमा शिक्षा दिन तपाईंको पारिवारिक अध्ययनले तपाईंलाई कसरी मदत गर्नसक्छ?
१८ कसलाई पुनःभेट गरे बेस होला भनेर परिवारमा छलफल गर्नुहोस्। कसैले साहित्यहरू राखेका होलान् अनि कसैले चाहिं तपाईंको कुरा मात्र सुनेका होलान्। तिनीहरूलाई घर-घरको सेवकाईमा अथवा अनौपचारिक साक्षी दिंदा बजारमा वा स्कूलमा भेट्नुभएको होला। यीमध्ये कसलाई पुनःभेट गर्ने, सो निर्णय गर्न परमेश्वरको वचनले तपाईंलाई डोऱ्याओस्। (भजन २५:९; इजकिएल ९:४) क-कसले यस हप्ता पुनःभेट गर्ने हो, निर्णय गर्नुहोस्। कुन विषयमा कुरा गर्ने? पारिवारिक छलफलले प्रत्येकलाई तयारी गर्न मदत दिनसक्छ। जिज्ञासु व्यक्तिहरूसँग कुराकानी गर्न खास खास पदहरूका साथै परमेश्वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका अथवा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तकबाट उपयुक्त बुँदाहरू टिपिराख्नुहोस्। पहिलो भेटमै भएभरको कुरा बताउने कोसिस नगर्नुहोस्। अर्को भेटमा जवाफ दिनका लागि घरधनीलाई एउटा प्रश्न सोधी राख्नुहोस्। कसले कसलाई पुनःभेट गर्ने, कहिले गर्ने अनि कस्तो नतिजाको आशा राख्ने भनेर पारिवारिक साप्ताहिक योजना बनाए कसो होला? यसो गर्नाले परिवारकै क्षेत्र सेवकाई फलदायी हुन मदत मिल्नसक्छ।
तिनीहरूलाई यहोवाको मार्ग सिकाउनुहोस्
१९. यहोवाको मार्गमा हिंडिरहने हो भने परिवारका सदस्यहरूले के अनुभव गर्नुपर्छ अनि त्यसो गर्न केले मदत गर्छ?
१९ यस दुष्ट संसारमा परिवारको शिर हुनु चुनौती हो। शैतान र त्यसका दूतहरू यहोवाका सेवकहरूको आध्यात्मिकता नष्ट गर्ने प्रयास गर्छन्। (१ पत्रुस ५:८) यसबाहेक, अचेल आमाबाबुहरू र खास गरी एक्ली आमा वा एक्लो बुबाले थुप्रै दबावहरू सामना गर्नुपर्छ। आफूले चाहेको सबै काम गर्ने समय निकाल्न धौधौ पर्छ। तर हरेक चोटि एउटै मात्र भए पनि निर्देशन पालन गर्दै बिस्तारै तपाईंको पारिवारिक अध्ययनमा उन्नति गर्नुभयो भने, तपाईंको प्रयत्न खेर जाँदैन। हाम्रा प्रियजनहरू इमानदारसाथ यहोवाको मार्गमा हिंडेको देख्न पाउनु हृदयस्पर्शी इनाम हो। यहोवाको मार्गमा सफलतापूर्वक हिंड्न परिवारका सदस्यहरूले मण्डलीका सभाहरूबाट अनि क्षेत्र सेवकाईबाट आनन्द प्राप्त गर्न सक्नुपर्छ। यसको लागि तयारी गर्नु आवश्यक छ। त्यस्तो तयारी जसले हामी प्रत्येकलाई सेवकाईमा अर्थपूर्ण ढंगमा भाग लिन उत्साहित गर्नुका साथै सुसज्जित बनाउनसक्छ।
२०. तेस्रो यूहन्ना ४ मा बताइएको आनन्द अनुभव गर्न थुप्रै आमाबाबुहरूलाई कुन कुराले मदत गर्नसक्छ?
२० आफूले आध्यात्मिक तवरमा मदत गरेकाहरूबारे प्रेरित यूहन्नाले यसो लेखे: “मेरा छोरा-छोरीहरू सत्यमा चलेका सुन्नभन्दा बढ़ता आनन्द अरू मलाई हुँदैन।” (३ यूहन्ना ४) दयालु तथा मदतकारी ढंगमा परिवारका सदस्यहरूका आवश्यकताहरूलाई पूरा गर्ने परिवारका शिरहरूले स्पष्ट उद्देश्यहरू राखेर गरेका पारिवारिक अध्ययनले परिवारलाई यस्तो आनन्द उठाउन निकै हदसम्म मदत गर्नसक्छ। परमेश्वरले चाहनुहुने जीवनशैलीको मूल्यांकन खेती गर्न मदत गरेर आमाबाबुहरूले आफ्नो परिवारलाई सबैभन्दा उत्तम जीवनशैलीको आनन्द उठाउन मदत गर्छन्।—भजन १९:७ -११.
तपाईं बुझाउन सक्नुहुन्छ?
◻ सभाहरूका लागि तयारी गर्नु हाम्रा छोराछोरीका लागि किन अति महत्त्वपूर्ण छ?
◻ आमाबाबुहरूले आफ्ना छोराछोरीलाई “बुद्धि प्राप्त” गर्न कसरी मदत गर्नसक्छन्?
◻ पारिवारिक अध्ययनले सबै सभाहरूका लागि तयारी गर्न कसरी मदत गर्नसक्छ?
◻ पारिवारिक रूपमा क्षेत्र सेवकाईका लागि तयारी गर्नाले कसरी बढी प्रभावशाली बन्न मदत गर्छ?
[पृष्ठ २०-मा भएको चित्र]
तपाईंको पारिवारिक अध्ययनका दौडान मण्डलीका सभाहरूका लागि तयारी गर्न सक्नुहुन्छ
[पृष्ठ २१-मा भएको चित्र]
सभाहरूमा गाइने गीतहरू सिक्नु लाभदायी हुन्छ