प्रशंसा हो कि चापलुसी?
तपाईंलाई कसैले यसो भन्ला, “कपालको नयाँ स्टाइल त तपाईंलाई साह्रै सुहायो है!” प्रशंसा हो कि चापलुसी? “यो सुट तपाईंलाई चिटिक्कै देख्या छ!” प्रशंसा कि चापलुसी? “मैले यस्तो स्वादिष्ट खाना त कहिल्यै खाएको थिइनँ!” प्रशंसा हो कि चापलुसी? यसरी सराहना गर्दा तिनीहरू साँच्चै निष्कपट र यथार्थ छन् वा जेसुकै भए पनि फुरुक्क पार्न मात्र भनेका हुन् भन्ने कुरा हाम्रो मनमा खेल्नसक्छ।
हाम्रो प्रशंसा वा चापलुसी गरिरहेको कसरी थाह पाउनसक्छौं? के त्यो बुझ्नु नबुझ्नुमा कुनै फरक पर्छ? के अरूले भनेका कुरामा ध्यान दिएर मात्र पनि हामी आनन्दित हुने गर्दैनौं र? हामीले अरूको प्रशंसा गर्दा नि? के हामीले कहिल्यै आफ्ना प्रवृत्तिहरू जाँचेका छौं? उक्त प्रश्नहरू विचार गर्नाले समझदार बन्नसक्छौं र यहोवा परमेश्वरको प्रशंसा हुनेगरि आफ्नो जिब्रोको सदुपयोग गर्नसक्छौं।
प्रशंसा र चापलुसीको परिभाषा
प्रशंसा भनेको अनुमोदन वा तारिफको अभिव्यक्ति हो अनि यसले उपासना वा महिमा गर्नु पनि बुझाउँछ भनी वेब्सटर्स डिक्शनेरी-ले परिभाषित गर्छ। स्पष्टतया, पछिल्ला दुइटा परिभाषाले यहोवा परमेश्वरलाई गरिने प्रशंसा संकेत गर्छ। प्रशंसा भनेको उपासनाको एउटा अभिन्न अंग नै हो किनकि प्रेरित भजनरचयिता यस्तो सल्लाह दिन्छन्: “हाम्रा परमेश्वरको स्तुतिगान गाउनु असल कुरा हो . . . त्यो रमाइलो हुन्छ, र उहाँको प्रशंसा गर्न सुहाउँछ।” “सास हुने जति सबैले, परमप्रभुको प्रशंसा गर।”—भजन १४७:१; १५०:६.
तथापि, यसको अर्थ मानिसको चाहिं प्रशंसा गर्नै हुँदैन भनेको होइन। तारिफ, अनुमोदन वा निगाह प्रकट गर्न प्रशंसा गर्न सकिन्छ। येशूले भन्नुभएको उखानमा मालिकले आफ्नो नोकरलाई यसो भने: “श्याबास असल र इमानदार नोकर!”—मत्ती २५:२१.
अर्कोतिर, चापलुसीलाई झूटो, बनावटी वा अचाक्ली प्रशंसा भनी परिभाषित गरिएको छ। चापलुसी गर्ने व्यक्ति स्वार्थी प्रवृत्तिले भरिएको हुन्छ। अरूबाट अनुग्रह वा भौतिक लाभ प्राप्त गर्न अथवा आफूप्रति दायित्वको भाव देखाओस भन्नाखातिर चतुर तरिकामा तारिफ वा खुसामद गरिन्छ। अतः चापलुसी गर्ने व्यक्तिहरू स्वार्थी हुन्छन्। यहूदा १६ अनुसार, तिनीहरू “कुनै लाभ देख्नेबित्तिकै मानिसहरूसँग चापलुसी गरिहाल्छन्।”— द जेरूसलेम बाइबल।
धर्मशास्त्रीय दृष्टिकोण
सँगीमानवहरूको प्रशंसा गर्ने विषयमा धर्मशास्त्रीय दृष्टिकोण कस्तो छ? यसबारे यहोवाले हाम्रोलागि एउटा नमुना कायम गर्नुभएको छ। यहोवाको इच्छा पूरा गरेमा हामी प्रशंसाको पात्र हुनेछौं भनी बाइबलमा बताइएको छ। प्रेरित पावलले भने “हरेक मानिसले परमेश्वरबाट प्रशंसा पाउनेछ।” हाम्रो जाँचिएको विश्वास “प्रशंसा[मा] . . . पाइओस्,” भनी पत्रुस भन्छन्। अतः यहोवाले मानिसहरूको प्रशंसा गर्नुभएको कुराले साँचो प्रशंसा दयालु, स्नेही र लाभदायक हुन्छ भनेर देखाउँछ। त्यसले कसैको उपेक्षा गर्दैन।—१ कोरिन्थी ४:५; १ पत्रुस १:७.
बाइबलअनुसार सरकारी अख्तियारवालाहरूबाट पनि प्रशंसा पाउनसक्छौं। तिनीहरूले हाम्रा असल चालचलन हेरिरहेका हुन्छन् र निष्कपटसाथ हाम्रो तारिफ गर्छन्। हामीलाई यस्तो आग्रह गरिएको छ, “असल काम गर, र तिनीहरूबाट तिमीलाई प्रशंसा मिल्नेछ।” (रोमी १३:३) साथै आफ्नो हृदयबाटै कुरा गर्ने अनि स्वार्थपूर्तिको लागि प्रशंसा नगर्ने व्यक्तिहरूबाट पनि हामी प्रशंसा पाउनसक्छौं। प्रेरित धर्मशास्त्रले हितोपदेश २७:२ मा यसो भन्छ: “तेरो प्रशंसा अरूहरूबाट होस् तँ आफैबाट होइन।” अरूको प्रशंसा पात्र बन्नु उचित नै हो भनेर यसले देखाउँछ।
तर चापलुसी गर्नु वा गरी माग्नु चाहिं बेग्लै कुरा हो। चापलुसी बोलीले किन यहोवालाई असाध्यै अप्रशन्न तुल्याउँछ? एउटा कुरा त, त्यो बनावटी हुन्छ। यहोवा बनावटी कुराको भर्त्सना गर्नुहुन्छ। (हितोपदेश २३:६, ७ तुलना गर्नुहोस्।) यसबाहेक, त्यसमा सच्चाइ हुँदैन। परमेश्वरले अनुमोदन नगर्नुहुने व्यक्तिहरूबारे भजनरचयिता यसो भन्छन्: “तिनीहरू हरेकले आफ्ना छिमेकीसँग झूटा कुरा गर्दछन्। खुशामदी ओठ र कालो मनले तिनीहरू कुरा गर्दछन्। सबै खुशामदी गर्ने ओठलाई र ठूलाठूला कुरा गर्ने जिब्रोलाई परमप्रभुले काटिदिनुहुनेछ।”—भजन १२:२, ३.
तर सबैभन्दा मुख्य कुरा, चापलुसी निठुरी हुन्छ। त्यो त स्वार्थद्वारा उत्प्रेरित भएको हुन्छ। चापलुसी गर्नेहरूको कुरा गरेपछि भजनरचयिता दाऊद तिनीहरूलाई यसो भन्छन्: “हाम्रा जिब्रैले हामी प्रबल हुनेछौं। हाम्रा ओठ हाम्रै हुन्, हाम्रा परमप्रभु को हो र?” यहोवाले त्यस्ता स्वार्थी व्यक्तिहरूलाई ‘नम्रहरूमाथि थिचोमिचो’ गर्नेहरू भन्नुहुन्छ। तिनीहरूले आफ्नो चापलुसी बोली अरूलाई प्रोत्साहन दिन होइन तर तिनीहरूलाई बिगार्न अनि दुःख दिन प्रयोग गर्छन्।—भजन १२:४, ५.
चापलुसी—एउटा पासो
“आफ्नो छिमेकीको झूटा प्रशंसा गर्नेले त्यसको खुट्टामा जाल फिंजाउँछ।” ज्ञानी राजा सुलेमानले यसो भने र यो साँच्चै कत्ति सत्य छ! (हितोपदेश २९:५) चापलुसी कुरा गरेर फरिसीहरूले येशूलाई पासोमा फसाउन खोजे। तिनीहरूले भने: “हे गुरु, हामी जान्दछौं तपाईं सत्य हुनुहुन्छ, र परमेश्वरको मार्ग साँचो गरी सिकाउनुहुन्छ, र तपाईं कसैको वास्ता गर्नुहुन्न, किनकि तपाईं मानिसहरूका मुख हेर्नुहुन्न।” सुन्दा त यो कुरा कत्ति कर्णप्रिय! तर तिनीहरूको मीठो बोली सुनेर येशू फुरुक्क हुनुभएन। आफूले सिकाएका सच्चाइप्रति तिनीहरूको विश्वास छैन तर सिजरलाई कर तिर्ने विषयमा बोल्न लगाएर फसाउन खोज्दैछन् भनी उहाँलाई थाह थियो।—मत्ती २२:१५-२२.
येशू र प्रथम शताब्दीका राजा हेरोदमा अकास-पत्तालको फरक थियो। तिनले सिजरिया शहरमा भाषण दिंदा मानिसहरू यसो भनेर कराए: “यो ता देवताको बोली हो, मानिसको होइन!” त्यसरी चर्को स्वर निकालेर झूटो प्रशंसा गर्नेहरूलाई हप्काउनुको साटो तिनीहरूको चापलुसीले हेरोद मक्ख परे। त्यत्तिखेरै यहोवाका एउटा दूतले प्रहार गरेर हेरोदको शरीरमा स्याउँ स्याउँ कीरा पऱ्यो र तिनको मृत्यु भयो।—प्रेरित १२:२१-२३.
कुन कुराको लागि चापलुसी गरिंदैछ भन्ने बुझ्न परिपक्व मसीही सचेत हुन्छन्। कुनै व्यक्ति न्यायिक मामिलामा मुछिंदा विशेषगरि मण्डलीका प्राचीनहरू चनाखो हुनुपर्छ। तिनीहरूले विनयपूर्वक प्राचीनको प्रशंसा गर्नसक्छन्, सायद एउटा प्राचीनलाई अर्को प्राचीनसँग तुलना गर्नसमेत तिनीहरू पछि नपर्लान् अनि फलानोभन्दा फलानो प्राचीन दयालु र समानुभूतिशील छन् पनि भन्लान्।
चापलुसीले अर्कै पासो पनि ल्याउनसक्छ भनी बाइबलले स्पष्ट देखाउँछ। एउटी वेश्याले एक जवान व्यक्तिलाई कसरी अनैतिकतामा फसाई भन्ने कुरा यसमा वर्णन गरिएको छ। (हितोपदेश ७:५, २१) यो चेताउनी वर्तमान परिस्थितिको निम्ति साह्रै उपयुक्त छ। मसीही मण्डलीबाट वर्षेनी बहिष्कृत हुनेहरू धेरैजसो त अनैतिक आचरणकै कारण हटाइएका हुन्। के चापलुसीकै कारण त्यस्तो घोर पाप सुरु भएको हो त? मानिसहरूले सधैं नै आफ्नो सराहना अनि मीठो कुरा सुन्न चाहन्छन्। अतः अनुचित आचरणको प्रतिरोध गर्ने मसीहीको क्षमतालाई चापलुसी कुरा गर्ने व्यक्तिको मीठो बोलीले फितलो बनाउनसक्छ। त्यस्तो बोलीप्रति सावधान नभए परिणाम गम्भीर हुनसक्छ।
चापलुसीदेखि जोगिने
चापलुसीले आत्मप्रेम वा चापलुसी गर्नेको खोक्रोपन मात्र देखाउँछ। यसले गर्दा मै हुँ भन्ने विचार पलाउँछ र कुनै न कुनै हिसाबले अरूभन्दा श्रेष्ठ छु जस्तो लाग्छ। दार्शनिक फ्राँस्वां डे ला रस्फुकोले चापलुसीलाई जाली नोटसँग तुलना गर्छन् “जुन धाक देखाउनबाहेक अन्त कामै लाग्दैन।” तसर्थ, चापलुसीदेखि जोगिने उपाय त प्रेरित पावलको व्यवहारिक सल्लाह पालन गर्नु हो: “तिमीहरूमध्ये हरेकलाई म भन्दछु, जसले आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढ़ी नसम्झ, तर परमेश्वरले हरेकलाई बाँड़िदिनुभएको विश्वासको नापबमोजिम सुबुद्धिले सम्झ।”—रोमी १२:३.
मीठो कुरा मात्र सुन्न मन लाग्ने हाम्रो जन्मजात झुकाउ भए तापनि हामीलाई सधैं आवश्यक पर्ने कुरा चाहिं बाइबलआधारित सल्लाह र अनुशासन हो। (हितोपदेश १६:२५) राजा आहाब मीठो कुरा मात्र सुन्न रुचाउँथे। तिनका नोकरहरूले मीकायालाई “तपाईं पनि उनीहरूसित [आहाबका चापलुसी अगमवक्ताहरू] सहमत हुनुहोस्” समेत भने। (१ राजा २२:१३) आहाबले निष्कपट कुरा सुनेर आफ्ना विद्रोही मार्ग त्यागेका भए तिनी सायद इस्राएलको युद्धमा परास्त हुने थिएनन् र आफ्नो ज्यान पनि गुमाउने थिएनन्। सच्चाइको ठीक मार्ग पछ्याउन मदत गर्न चाहने नियुक्त मसीही प्राचीनहरूले दिएको ठोस यद्यपि मायालु सल्लाह आफ्नो आध्यात्मिक हितका लागि झटपट हृदयंगम गरिहाल्नुपर्छ। त्यसो गरेको खण्डमा हामीलाई उचालेर चापलुसी बोलीद्वारा फुरुक्क पार्ने व्यक्तिहरूसँग समबन्ध राख्ने छैनौं!—२ तिमोथी ४:३ तुलना गर्नुहोस्।
मसीहीहरू कुनै हालतमा पनि चापलुसी गर्न चाहँदैनन्। इमानदार एलीहूले जस्तै तिनीहरू दृढतासाथ यसो भन्छन्: “म कसैको पक्ष लिनेछैनँ, परमेश्वर होस् अथवा मानिस होस्, म कसैलाई सर्काउनेछैनँ। म सर्काउन जान्दिनँ, नत्रता मेरा सृष्टिकर्त्ताले मलाई चाँड़ै नाश गर्नुहुनेछ।” तब तिनीहरूले पावलले झैं यसो भन्न सक्नेछन्: “नता हामी कहिले खुशामदीको कुराहरूमा फेला पऱ्यौं, न लालचको बहानामा।”—अय्यूब ३२:२१, २२; १ थिस्सलोनिकी २:५, ६.
ठीक ठाउँमा प्रशंसा गर्ने
प्रशंसाले मापदण्डको काम पनि गर्छ भनेर प्रेरित उपदेशले भन्छ: “चाँदी पगाल्नलाई भाँड़ो र सुन खार्नलाई पात्र, तर चालचलनको जाँच प्रशंसा हो।” (हितोपदेश २७:२१) हो, प्रशंसाले श्रेष्ठता वा अभिमानको भावना बढाउनसक्छ र त्यसले मानिसलाई विनाशतर्फ डोऱ्याउनसक्छ। अर्कोतिर, आफूले गरेका कुनै पनि काममा तिनी प्रशंसाको पात्र हुँदा त्यसको श्रेय यहोवालाई दिएको खण्डमा तिनको विनम्रता र विनय पनि झल्किन सक्छ।
योग्य आचरण तथा योग्यताहरूप्रति गरिएको प्रशंसाले प्रशंसा गर्ने र प्रशंसा पाउने दुवैको भलो हुन्छ। यसले एकअर्काप्रति न्यानो अनि हितकारी मूल्यांकन बढाउँछ। यसले प्रशंसनीय लक्ष्यहरूतर्फ बढ्ने प्रोत्साहन दिन्छ। उचित कुराको लागि जवानहरूको प्रशंसा गरेमा तिनीहरू अझ प्रयत्नशील बन्नसक्छन्। अरूले आशा गरेअनुरूप जीवन बिताउन आफ्नो चालचलन सुधार्ने मदत पनि प्रशंसाले दिनसक्छ।
त्यसकारण आउनुहोस्, चापलुसीदेखि परै रहौं—चाहे अरूको चापलुसी गर्न होस् वा आफ्नो चापलुसी गरिएको नै किन नहोस्। प्रशंसा पाउँदा नम्र होऔं। अनि यहोवालाई उपासनाद्वारा र अन्य व्यक्तिहरूलाई तारिफ तथा मूल्यांकनद्वारा उदारता एवं तनमनले निष्कपट प्रशंसा दिइरहौं, यो सम्झेर कि “ठीक बेलामा भनिएको कुरा झन् कति असल हुन्छ।”—हितोपदेश १५:२३.