प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ११/१५ pp. ६-१०
  • “आफ्नै समझशक्‍तिमा भरोसा” नगर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “आफ्नै समझशक्‍तिमा भरोसा” नगर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कठिन परिस्थितिको सामना गर्नुपर्दा
  • निर्णयहरू गर्नुपर्दा
  • प्रलोभनको प्रतिरोध गर्नुपर्दा
  • मानव कमजोरीमाथि विजयी हुने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • आफ्नो प्रार्थनाको गुणस्तर बढाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • हामीले किन निरन्तर प्रार्थना गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • प्रलोभन आइपर्दा कसरी जोगिने?
    ब्यूँझनुहोस्‌!—२०१५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ११/१५ pp. ६-१०

“आफ्नै समझशक्‍तिमा भरोसा” नगर्नुहोस्‌

“तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझशक्‍तिमा भरोसा नगर्‌।”—हितो. ३:५.

१, २. (क) हामीले कस्ता परिस्थितिको सामना गर्नुपर्ने हुन्छ? (ख) कठिन परिस्थितिको सामना गर्नुपर्दा, कुनै महत्त्वपूर्ण विषयमा निर्णय गर्नुपर्दा अथवा प्रलोभनहरूको प्रतिरोध गर्नुपर्दा हामीले कसमाथि भरोसा गर्नुपर्छ र किन?

सिन्थीयाकोa मालिकले आफ्नो कम्पनीको आधाजसो काम कटौती गरेका छन्‌ जसले गर्दा थुप्रै कर्मचारीले आफ्नो जागिर गुमाइसकेका छन्‌। सिन्थीयालाई अब जागिरबाट निकालिने पालो आफ्नै हो कि भन्‍ने चिन्ता लागिरहेको छ। साँच्चै त्यस्तो भयो भने तिनले के गर्ने? तिनले आफ्नो घर कसरी चलाउने? पामेला नाम गरेकी अर्की ख्रीष्टियन बहिनीलाई विचार गर्नुहोस्‌। उनी राज्य प्रचारकहरूको आवश्‍यकता बढी भएको ठाउँमा बसाइँ सर्न चाहन्छिन्‌। बसाइँ सर्ने उनको विचार के सही होला? शमूएल भन्‍ने जवान भाइलाई भने अर्कै किसिमको चिन्ता छ। सानै उमेरमा तिनलाई अश्‍लील सामग्री हेर्ने लत बसेको थियो। अहिले २० वर्ष नाघिसकेका तिनी पहिलाको जस्तै अश्‍लील सामग्री हेर्ने दबाब महसुस गरिरहेका छन्‌। तिनले त्यस्तो प्रलोभनको सामना कसरी गर्न सक्छन्‌?

२ कठिन परिस्थितिको सामना गर्नुपर्दा, कुनै महत्त्वपूर्ण विषयमा निर्णय गर्नुपर्दा अथवा प्रलोभनहरूको प्रतिरोध गर्नुपर्दा तपाईं कसमाथि भरोसा गर्नुहुन्छ? तपाईं आफैमाथि भरोसा गर्नुहुन्छ कि ‘आफ्नो भारी परमप्रभुमा राख्नुहुन्छ’? (भज. ५५:२२) “परमप्रभुका नजर धर्मात्मातर्फ हुन्छन्‌, र उहाँका कान तिनीहरूका पुकारा सुन्‍न खुला हुन्छन्‌” भनी बाइबल बताउँछ। (भज. ३४:१५) त्यसकारण आफ्नै समझशक्‍तिमा भर नपरी पूरा मनले यहोवामा भरोसा गर्नु कत्ति महत्त्वपूर्ण!—हितो. ३:५.

३. (क) यहोवामा भरोसा गर्नुमा के समावेश छ? (ख) कोही-कोहीसित किन आफ्नै समझशक्‍तिमा भरोसा गर्ने झुकाव हुन्छ?

३ पूरा मनले यहोवामा भरोसा गर्नुमा उहाँले चाहनुभएअनुसार चल्नु समावेश छ। यसको लागि निरन्तर यहोवालाई प्रार्थना गर्नु अनि हृदयदेखि नै उहाँको डोऱ्‍याइ माग्नु अत्यावश्‍यक छ। तैपनि, थुप्रैलाई पूर्णतया उहाँमा भरोसा गर्नु चुनौतीपूर्ण लाग्छ। उदाहरणको लागि, लीन नाम गरेकी ख्रीष्टियन बहिनीले यसो भनिन्‌: “यहोवामाथि पूर्ण भरोसा राख्न मैले अझै पनि सङ्‌घर्ष गरिरहनुपरेको छ।” किन? “आमाले मेरो भावनाको वास्तै गर्नुभएन अनि मेरो पालनपोषण पनि गर्नुभएन। बुबासित त झन्‌ केही सम्बन्ध थिएन। त्यसकारण मैले आफ्नो ख्याल आफै राख्न सिकें।” आफ्नो पृष्ठभूमिले गर्दा लीनले कसैमाथि पनि पूर्ण भरोसा राख्न सक्दिनन्‌। व्यक्‍तिगत क्षमता अनि आफूले हासिल गरेको सफलताले गर्दा पनि कोही-कोही आत्मविश्‍वस्त हुन्छन्‌। उदाहरणको लागि, कुनै एल्डरले आफू अनुभवी भएको कारण प्रार्थनामा यहोवाको मदत नमागी मण्डलीसित सम्बन्धित मामिला आफैले सम्हाल्ने प्रयास गर्न सक्छन्‌।

४. यस लेखमा हामी के छलफल गर्नेछौं?

४ हामीले आफ्नो प्रार्थनाअनुरूप जीवन बिताउन अनि उहाँको इच्छाअनुरूप काम गर्न कडा प्रयत्न गरेको यहोवा आशा गर्नुहुन्छ। त्यसोभए, कठिन समस्याको समाधान गर्न यहोवामा भर पर्ने अनि अर्कोतिर समस्या सुल्झाउन आफैले पनि प्रयास गर्ने सन्दर्भमा हामी कसरी सन्तुलित हुन सक्छौं? निर्णयहरू गर्नुपर्दा हामी कस्तो-कस्तो कुरादेखि होसियार हुनुपर्छ? प्रलोभनको प्रतिरोध गर्न प्रयास गर्दा प्रार्थना गर्नु किन महत्त्वपूर्ण छ? यी प्रश्‍नहरूबारे छलफल गर्दा हामी बाइबलका केही उदाहरण विचार गर्नेछौं।

कठिन परिस्थितिको सामना गर्नुपर्दा

५, ६. अश्‍शूरका राजाले धम्की दिंदा हिजकियाहले कस्तो प्रतिक्रिया देखाए?

५ यहूदाका राजा हिजकियाहबारे बाइबल यसो भन्छ: “तिनी परमप्रभुका भक्‍त भइरहे र आफ्नो भक्‍ति देखाउनमा तिनी पछि हटेनन्‌, औ मोशालाई परमप्रभुले दिनुभएका आज्ञाहरू तिनले पालन गरे।” हो, “तिनले इस्राएलका परमेश्‍वरमाथि भरोसा राखे।” (२ राजा १८:५, ६) अश्‍शूरका राजा सनहेरीबले रबशाकेका साथै आफ्ना अरू प्रतिनिधिहरूलाई एउटा ठूलो सेनाको साथमा यरूशलेममा पठाउँदा हिजकियाहले कस्तो प्रतिक्रिया देखाए? अश्‍शूरका शक्‍तिशाली सेनाहरूले यहूदाका थुप्रै बलिया सहरहरूलाई आफ्नो कब्जामा लिइसकेका थिए अनि अब चाहिं तिनले यरूशलेममाथि आँखा लगाएका थिए। यसकारण हिजकियाह यहोवाको भवनमा गए अनि यसरी प्रार्थना गरे: “हे परमप्रभु हाम्रा परमेश्‍वर, तिनका शक्‍तिबाट हामीलाई बचाउनुहोस्‌, र सारा पृथ्वीका राज्यहरूले यो जानून्‌ कि परमप्रभु, तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ।”—२ राजा १९:१४-१९.

६ हिजकियाहले आफ्नो प्रार्थनाअनुरूप कदम पनि चाले। प्रार्थना गर्न यहोवाको मन्दिरमा जानुभन्दा अघि तिनले आफ्ना मानिसहरूलाई रबशाकेले खिल्ली उडाउँदा जवाफ नदिनू भनी आज्ञा दिएका थिए। साथै, तिनले मदतको लागि अगमवक्‍ता यशैयाकहाँ आफ्ना केही मानिसहरू पठाए। (२ राजा १८:३६; १९:१, २) हिजकियाहले आफूले गर्न मिल्नेजति सबै काम गरे। यस्तो परिस्थितिमा तिनले मिश्र वा कुनै मित्र राष्ट्रको मदत लिएर समस्या सुल्झाउने प्रयास गरेनन्‌ जुन कुरा यहोवाको इच्छा विपरीत हुनेथियो। आफ्नै समझशक्‍तिमा भरोसा गर्नुको साटो तिनले यहोवामा भरोसा गरे। यहोवाको दूतले राजा सनहेरीबका १,८५,००० सेनालाई नाश गरेपछि सनहेरीब आफ्नो “छाउनी उठाएर” निनवे फर्के।—२ राजा १९:३५, ३६.

७. हन्‍ना र योनाले गरेको प्रार्थनाबाट हामी कस्तो सान्त्वना पाउन सक्छौं?

७ सन्तान जन्माउन नसकेको कारण व्याकुल हुँदा लेवी एल्कानाकी पत्नी हन्‍नाले पनि यहोवामा भरोसा राखिन्‌। (१ शमू. १:९-११, १८) अगमवक्‍ता योना प्रार्थना गरेपछि माछाको पेटबाट बाहिर निस्कन सके। उनले यसरी प्रार्थना गरेका थिए: “मैले आफ्नो संकष्टको कारणले गर्दा परमप्रभुमा पुकारा गरें, र उहाँले मलाई जवाफ दिनुभयो। पातालको पेटबाट म कराएँ, र तपाईंले मेरो शब्द सुन्‍नुभयो।” (योना २:१, २, १०) हाम्रो परिस्थिति जतिसुकै कठिन भए तापनि यहोवा हाम्रो “अन्तरबिन्ती” सुन्‍नुहुन्छ भन्‍ने कुरा थाह पाउँदा हामी सान्त्वना पाउन सक्छौं।—भजन ५५:१, १६ पढ्‌नुहोस्‌।

८, ९. हिजकियाह, हन्‍ना अनि योनाले आफ्नो प्रार्थनामा कस्तो चिन्ता व्यक्‍त गरे अनि हामी यसबाट के सिक्न सक्छौं?

८ कठिन परिस्थितिमा यहोवालाई प्रार्थना गर्दा बिर्सन नहुने कुराको सन्दर्भमा पनि हामी हिजकियाह, हन्‍ना अनि योनाको उदाहरणबाट महत्त्वपूर्ण पाठ सिक्न सक्छौं। एकदमै गाह्रो परिस्थितिको सामना गर्नुपर्दा तीनै जनाले भावनात्मक पीडा महसुस गरे। तैपनि, तिनीहरूले आफ्नै बारेमा अनि आफ्नो समस्या समाधान होस्‌ भन्‍ने विषयमा मात्र ध्यान दिएनन्‌ भन्‍ने कुरा तिनीहरूको प्रार्थनाबाट थाह पाउन सक्छौं। परमेश्‍वरको नाम, उहाँको उपासना अनि उहाँको इच्छाअनुसार काम गर्नु नै तिनीहरूको लागि सर्वमहत्त्वपूर्ण कुरा थियो। यहोवाको नाममा कलङ्‌क लगाइँदा हिजकियाहले पीडा महसुस गरे। आफूले एकदमै माया गरेको छोरालाई हन्‍नाले शीलोमा यहोवाको सेवा गर्न पठाउने प्रतिज्ञा गरिन्‌। योनाले पनि यसो भने: “मैले जे कुराको भाकल गरेको छु, सो पूरा गर्नेछु।”—योना २:९.

९ ‘गाह्रो परिस्थितिबाट छुटकारा दिनुहोस्‌’ भनेर प्रार्थना गर्दा हामीले आफ्नो मनसाय जाँच्नु बुद्धिमानी हुन्छ। हामी आफ्नो समस्याबाट छुटकारा पाउनेबारे बढी नै चिन्तित छौं कि यहोवा अनि उहाँको उद्देश्‍यलाई पनि मनमा राख्छौं? व्यक्‍तिगत रूपमा पीडा सहनुपर्दा आफ्नैबारे मात्र सोच्ने झुकाव हामीमा पैदा हुन सक्छ र यसले गर्दा आध्यात्मिक कुराहरू ओझेलमा पर्न सक्छ। मदतको लागि यहोवालाई प्रार्थना गर्दा उहाँमा, उहाँको नाम पवित्र पार्ने कुरामा अनि उहाँको सार्वभौमिकता उच्च पार्ने विषयमा ध्यान केन्द्रित गरौं। यसो गर्दा, समस्याको समाधान नभए पनि हामी गाह्रो परिस्थितिमा सकारात्मक दृष्टिकोण कायम राख्न सक्छौं। यहोवाको मदत पाएर त्यस्तो परिस्थिति सहन सक्नु नै हाम्रो प्रार्थनाको जवाफ हुन सक्छ।—यशैया ४०:२९; फिलिप्पी ४:१३ पढ्‌नुहोस्‌।

निर्णयहरू गर्नुपर्दा

१०, ११. मामिला कसरी सम्हाल्ने भनेर थाह नहुँदा यहोशापातले के गरे?

१० जीवनमा गम्भीर निर्णयहरू गर्नुपर्दा तपाईं के गर्नुहुन्छ? के तपाईं पहिला निर्णय गरेर त्यसपछि मात्र ‘मैले गरेको निर्णयमा आशिष्‌ दिनुहोस्‌’ भनेर यहोवालाई प्रार्थना गर्नुहुन्छ? मोआबी अनि अम्मोनीहरूको संयुक्‍त सेना आफ्नो विरुद्धमा लडाइँ गर्न आउँदा यहूदाका राजा यहोशापातले के गरे विचार गर्नुहोस्‌। यहूदा राष्ट्र उनीहरूको विरुद्धमा भिड्‌न सक्दैनथ्यो। त्यसकारण यहोशापातले के गरे?

११ “यस्तो विपद्‌को समाचार सुनेर यहोशापातले परमप्रभुको अगुवाइ खोज्न अठोट गरे” भनी बाइबल बताउँछ। तिनले सारा यहूदाभरिका मानिसहरूलाई उपवास बस्नलाई घोषणा गरे र “परमेश्‍वरको सल्लाह माग्नलाई भेला” गरे। त्यसपछि तिनले यहूदा र यरूशलेमका मानिसहरू सामने उभिएर यसरी बिन्ती गरे: “हे परमेश्‍वर, हाम्रा परमेश्‍वर, तिनीहरूको न्याय गर्नुहोस्‌। किनभने हाम्रो देशलाई आक्रमण गर्न आइरेहेको यो ठूलो सैन्यदलको सामना गर्न हाम्रो केही शक्‍ति छैन। हामीले के गर्नुपर्ने हो सो हामी जान्दैनौं। हामी आफ्ना आँखा तपाईंतिर उठाउँछौं।” साँचो परमेश्‍वरले यहोशापातको प्रार्थना सुन्‍नुभयो र चमत्कारपूर्ण तरिकामा छुटकारा दिनुभयो। (२ इति. २०:३-१२, १७) निर्णय गर्नुपर्दा, अझ विशेषगरि हाम्रो आध्यात्मिकतामा असर गर्ने निर्णय गर्नुपर्दा के हामीले आफ्नै समझशक्‍तिमा भरोसा गर्नुको साटो यहोवामा भरोसा गर्नुपर्दैन र?

१२, १३. निर्णयहरू गर्ने सन्दर्भमा राजा दाऊदले कस्तो उदाहरण बसाले?

१२ यदि हामीलाई कुनै समस्या सजिलै सुल्झाउन सक्छु जस्तो लाग्छ भने त्यतिबेला के गर्नुपर्छ? सायद आफूले पहिला गरिसकेको अनुभवले गर्दा त्यस्तो समस्या सुल्झाउन हाम्रो दिमागमा झट्टै कुनै तरिका आउन सक्छ। यस्तो परिस्थितिमा के गर्नुपर्छ भनेर बुझ्न हामी राजा दाऊदको एउटा विवरण विचार गर्न सक्छौं। अमालेकीहरूले सिकलगलाई आक्रमण गरेपछि तिनीहरूले दाऊद र तिनका मानिसहरूको स्वास्नी तथा छोराछोरीहरू लिएर गए। त्यतिबेला दाऊदले यहोवालाई यसरी प्रार्थना गरे: “के म यी लूटपीट गर्नेहरूलाई खेदूँ?” यहोवाले यस्तो जवाफ दिनुभयो: “तिनीहरूलाई खेद्‌। तैंले तिनीहरूलाई भेट्टाएर सबैलाई छुटाउनेछस्‌।” दाऊदले यहोवाले भनेअनुसारै गरे र “अमालेकीहरूले लगेका सबै जनालाई . . . छुटाए।”—१ शमू. ३०:७-९, १८-२०.

१३ अमालेकीहरूले आक्रमण गरेको केही समयपछि पलिश्‍तीहरू इस्राएलविरुद्ध लड्‌न आए। यतिबेला पनि दाऊदले यहोवाको डोऱ्‍याइ खोजे र उहाँबाट सुस्पष्ट जवाफ पाए। परमेश्‍वरले यसो भन्‍नुभयो: “जा म पलिश्‍तीहरूलाई तेरो हातमा सुम्पिदिनेछु।” (२ शमू. ५:१८, १९) त्यसको केही समयपछि, पलिश्‍तीहरू फेरि पनि दाऊदको विरुद्धमा आए। यतिबेला तिनले के गर्ने थिए? सायद तिनले यस्तो सोच्न सक्थे: ‘यस्तो परिस्थितिको सामना त मैले दुई-दुई चोटि गरिसकें। परमेश्‍वरका यी शत्रुहरूलाई के गर्नुपर्छ, मलाई राम्ररी थाह छ।’ अथवा तिनले यहोवाको डोऱ्‍याइ खोज्ने थिए कि? तिनी विगतको अनुभवमा भर परेनन्‌। तिनले फेरि पनि यहोवालाई प्रार्थना गरे। यतिबेला भने तिनले यहोवाबाट भिन्‍नै किसिमको सल्लाह पाए। यहोवाको डोऱ्‍याइ खोजेकोमा तिनी कति खुसी भए होलान्‌, सोच्नुहोस्‌ त! (२ शमू. ५:२२, २३) त्यस्तै किसिमको परिस्थिति वा समस्या आइपर्दा, हामी आफ्ना विगतका अनुभवहरूमा मात्र भर पर्नदेखि होसियार हुनै पर्छ।—यर्मिया १०:२३ पढ्‌नुहोस्‌।

१४. यहोशू अनि इस्राएलका बूढा-प्रधानहरूले गिबोनीहरूसित गरेको व्यवहारबाट हामी कस्तो पाठ सिक्न सिक्छौं?

१४ मण्डलीका अनुभवी एल्डरहरूलगायत हामी सबै त्रुटिपूर्ण छौं। त्यसकारण हामी सबैले नै निर्णयहरू गर्दा यहोवाको डोऱ्‍याइ खोज्न बिर्सनुहुँदैन। भेष बदलेर टाढाको देशबाट आएको नाटक गर्ने बुद्धिमान्‌ गिबोनीहरूसित मोशाका उत्तराधिकारी यहोशू अनि इस्राएलका बूढा-प्रधानहरूले कस्तो व्यवहार गरे, विचार गर्नुहोस्‌। यहोशू र अरूहरूले यहोवाको डोऱ्‍याइ नखोजी आफै अघि सरेर गिबोनीहरूसित मिलाप गरे र तिनीहरूसित शान्ति सम्झौता गरे। हुनत पछि यहोवाले उक्‍त सम्झौतालाई समर्थन गर्नुभयो तर उनीहरू उहाँको डोऱ्‍याइ खोज्न चुकेको विवरण भने उहाँले हाम्रो फाइदाको लागि बाइबलमा लेख्न लगाउनुभयो।—यहो. ९:३-६, १४, १५.

प्रलोभनको प्रतिरोध गर्नुपर्दा

१५. प्रलोभनको प्रतिरोध गर्न प्रार्थना गर्नु किन महत्त्वपूर्ण छ, व्याख्या गर्नुहोस्‌।

१५ “पापको व्यवस्था”-को अधीनमा परेको कारण हामीले पापी झुकावविरुद्ध युद्ध गर्न कडा परिश्रम गर्नै पर्छ। (रोमी ७:२१-२५) हामी यो युद्ध जित्न सक्छौं। कसरी? येशूले आफ्ना चेलाहरूलाई प्रलोभनको प्रतिरोध गर्न प्रार्थना गर्नु महत्त्वपूर्ण छ भनेर बताउनुभयो। ( लूका २२:४० पढ्‌नुहोस्‌) प्रार्थना गरिसकेपछि पनि हामीमा गलत इच्छा वा विचारहरू आइरहन्छ भने हामीले यो परीक्षाको डटेर सामना गर्न बुद्धिको लागि यहोवासित ‘प्रार्थना गरिरहनुपर्छ।’ “उहाँले नझर्कीकन सबैलाई उदारचित्तले दिनुहुन्छ” भनी हामीलाई आश्‍वासन दिइएको छ। (याकू. १:५) साथै याकूबले पनि यस्तो लेखे: “के तिमीहरूमध्ये कोही [आध्यात्मिक रूपमा] बिरामी छ? उसले मण्डलीका एल्डरहरूलाई आफूकहाँ बोलाओस्‌ अनि तिनीहरूले उसको लागि प्रार्थना गरिदेऊन्‌ र यहोवाको नाममा तेल घसिदेऊन्‌। अनि विश्‍वाससहित गरिएको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ।”—याकू. ५:१४, १५.

१६, १७. प्रलोभनको प्रतिरोध गर्न मदत खोज्दा कतिखेर प्रार्थना गर्नु सबैभन्दा उपयुक्‍त हुन्छ?

१६ हो, हामीले प्रलोभनको प्रतिरोध गर्न प्रार्थना गर्नु महत्त्वपूर्ण छ। तर हामीले कतिखेर प्रार्थना गर्नु उचित हो, त्यो पनि बुझ्नै पर्छ। हितोपदेश ७:६-२३ मा उल्लेख गरिएको ठिटोबारे विचार गर्नुहोस्‌। ऊ साँझ परेपछि वेश्‍या स्त्री बस्ने बाटोतिर जान्छ। त्यो स्त्रीको फकाइफुल्याइमा परेर अनि उसको लोभ्याउने कुराले मोहित भएर त्यो ठिटो कसाईखानाको बाटोतिर लागेको पशुझैं उसको पछि-पछि लाग्छ। त्यो ठिटो किन त्यहाँ गएको? किनभने त्यो केटो “मूर्ख” अर्थात्‌ अनुभवहीन छ। सायद ऊ गलत इच्छाहरू विरुद्ध सङ्‌घर्ष गर्दै छ। (हितो. ७:७) उसले कतिखेर प्रार्थना गरेको भए राम्रो हुन्थ्यो? हुनत त्यो स्त्रीसित भेट भएको बेला प्रार्थना गरेको भए पनि प्रलोभनहरूको प्रतिरोध गर्न केही मदत मिल्थ्यो होला तर सबैभन्दा राम्रो चाहिं त्यो बाटो जाने विचार मनमा आउनेबित्तिकै प्रार्थना गर्नु थियो।

१७ आज, कुनै व्यक्‍तिले अश्‍लील सामग्रीहरू नहेर्नको लागि कडा परिश्रम गरिरहेका हुन सक्छन्‌। तर तिनी जानाजानी उत्तेजक तस्विरहरू वा भिडियोहरू भएको साइटमा जान्छन्‌ भने नि? के तिनी पनि हितोपदेश अध्याय ७ मा उल्लेख गरिएको ठिटोजस्तै हुँदैनन्‌ र? त्यस्तो कदम चाल्नु कत्ति खतरनाक हुन्छ नि, होइन र? अश्‍लील सामग्री हेर्ने प्रलोभनको प्रतिरोध गर्न तिनले त्यस्तो साइट खोल्नुअघि नै प्रार्थना गरेर यहोवाको मदत खोज्नुपर्छ।

१८, १९. (क) प्रलोभनको प्रतिरोध गर्नु किन चुनौतीपूर्ण हुन सक्छ तर तपाईं कसरी त्यो चुनौती सफलतासाथ सामना गर्न सक्नुहुन्छ? (ख) तपाईं के गर्न कटिबद्ध हुनुहुन्छ?

१८ प्रलोभनको प्रतिरोध गर्न अनि खराब आनीबानी छुटाउन सजिलो छैन। प्रेषित पावलले यस्तो लेखे: “शरीरको इच्छा पवित्र शक्‍तिको विरुद्धमा हुन्छ अनि पवित्र शक्‍ति शरीरको विरुद्धमा।” त्यसकारण ‘हामी जे गर्न चाहन्छौं, त्यो गर्दैनौं।’ (गला. ५:१७) यो चुनौती पार गर्न हामीले नराम्रो सोचाइ अनि प्रलोभन मनमा आउनेबित्तिकै अर्थात्‌ सुरुमै व्यग्र प्रार्थना गर्नुपर्छ र त्यसपछि त्यो प्रार्थनाअनुसार काम पनि गर्नुपर्छ। ‘सबै मानिसहरूलाई आइपर्ने परीक्षाबाहेक अरू परीक्षामा हामी परेका छैनौं’ अनि यहोवाको मदत पाएर हामी उहाँप्रति वफादार रहन सक्छौं।—१ कोरि. १०:१३.

१९ कठिन परिस्थितिको सामना गर्नुपर्दा, गम्भीर निर्णयहरू गर्नुपर्दा अनि प्रलोभनको प्रतिरोध गर्नुपर्दा हामीलाई मदत गर्नको लागि यहोवाले एउटा अद्‌भुत उपहार दिनुभएको छ। त्यो अमूल्य उपहार हो, प्रार्थना। प्रार्थना गरेर हामी यहोवामा भरोसा गरेको देखाउन सक्छौं। हामीले यहोवासँग पवित्र शक्‍ति मागिरहनुपर्छ किनभने पवित्र शक्‍तिले हामीलाई डोऱ्‍याइ र बल दिन्छ। (लूका ११:९-१३) त्यसकारण हामी आफ्नै समझशक्‍तिमा होइन, यहोवामा भरोसा गरौं।

[फुटनोट]

a नामहरू परिवर्तन गरिएका छन्‌।

के तपाईंलाई याद छ?

• यहोवामा भरोसा गर्ने सन्दर्भमा हिजकियाह, हन्‍ना अनि योनाको उदाहरणबाट तपाईंले के सिक्नुभयो?

• निर्णय गर्नुपर्दा होसियार हुनुपर्ने आवश्‍यकतालाई दाऊद र यहोशूको उदाहरणले कसरी जोड दिन्छ?

• प्रलोभनको सामना गर्नुपर्दा कतिखेर प्रार्थना गर्नु बेस हुन्छ?

[पृष्ठ ९-मा भएको चित्र]

प्रलोभनको प्रतिरोध गर्नुपर्दा कतिखेर प्रार्थना गर्नु फाइदाजनक हुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने