प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 ४/१ pp. २५-२९
  • जीवनलाई केले सार्थक बनाउँछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवनलाई केले सार्थक बनाउँछ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “बतासलाई खेदेको जस्तो”
  • के सुखसयलको पछि लाग्दा खुसी हुन सकिन्छ?
  • के भौतिक धनसम्पत्तिले हामीलाई सन्तुष्टि दिन्छ?
  • साँचो सन्तुष्टि कस्तो कामले दिन्छ?
  • “आफ्नो अन्‍न . . . फालिदेऊ”
  • “योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • तपाईंको जीवन—यसको उद्देश्‍य के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • तिनी तपाईंको लागि राम्रो उदाहरण हुन्‌ वा चेतावनीका पात्र?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 ४/१ pp. २५-२९

जीवनलाई केले सार्थक बनाउँछ?

“परमेश्‍वरको भय राख्‌, र उहाँका आज्ञा पालन गर्‌।”—उप. १२:१३.

१, २. उपदेशकको किताबबाट हामी कसरी लाभ उठाउन सक्छौं?

यस्तो व्यक्‍तिबारे कल्पना गर्नुहोस्‌ जसलाई सबै थोक पुगिसरि भएजस्तो देखिन्छ। उनी आफ्नो समयको नाउँ चलेका राजनीतिज्ञ, संसारकै धनी मानिसमध्ये एक र सबैभन्दा बुद्धिमान्‌ मानिस हुन्‌। तर यी सब उपलब्धिको बावजूद उनी आफूलाई अझै यस्तो प्रश्‍न गर्छन्‌, ‘जीवनलाई केले सार्थक बनाउँछ?’

२ माथि बताइएका व्यक्‍ति काल्पनिक होइनन्‌, उनी करिब तीन हजार वर्षअघि साँच्चै थिए। उनको नाउँ सुलेमान थियो र उनले सन्तुष्टिको खोजी गरेको वर्णन हामी उपदेशकको किताबमा पाउँछौं। (उप. १:१३) हामी उनको अनुभवबाट अझ धेरै कुरा सिक्न सक्छौं। वास्तवमा, उपदेशकको किताबमा पाइने बुद्धिले जीवनलाई साँच्चै अर्थपूर्ण बनाउने लक्ष्यहरू राख्न हामीलाई मदत दिन सक्छ।

“बतासलाई खेदेको जस्तो”

३. मानव जीवनबारे कुन विचारणीय तथ्यको सामना हामी सबैले गर्नै पर्छ?

३ सुलेमान बताउँछन्‌, परमेश्‍वरले पृथ्वीमा प्रशस्त मात्रामा सुन्दर चीजहरू बनाउनुभयो जुन हामीले आनन्द लिएर कहिल्यै नसकिने चाखलाग्दा र आश्‍चर्य कुराहरूको अपार र अद्‌भुत स्रोत हुन्‌। तर हाम्रो जीवन एकदमै छोटो भएकोले हामी परमेश्‍वरको सृष्टिको खोज-अनुसन्धान थाल्न समेत वास्तवमा असमर्थ छौं। (उप. ३:११; ८:१७) बाइबल बताउँछ कि हाम्रो जीवन छोटो छ, तुरुन्तै बितेर गइहाल्छ। (अय्यू. १४:१, २; उप. ६:१२) यो विचारणीय तथ्यले हामीलाई आफ्नो जीवन बुद्धिमानी तरिकामा चलाउन उत्प्रेरित गर्नुपर्छ। यसो गर्नु सजिलो छैन किनभने शैतानको संसारले हामीलाई गलत दिशा देखाउन सक्छ।

४. (क) “व्यर्थ” शब्दको अर्थ के हो? (ख) जीवनका कस्ता लक्ष्यहरूबारे हामी विचार गर्नेछौं?

४ जीवनलाई व्यर्थै खेर फाल्ने खतरालाई प्रकाश पार्न सुलेमानले उपदेशकको किताबमा “व्यर्थ” शब्द लगभग ३० पटक प्रयोग गरेका छन्‌। “व्यर्थ” भनी अनुवाद गरिएको हिब्रू शब्दले रित्तोपन, निरर्थक, अर्थहीन, बिनसित्तिको वा क्षणिक भन्‍ने अर्थ दिन्छ। (उप. १:२, ३) कहिलेकाहीं सुलेमानले “व्यर्थ” शब्दलाई, “बतासलाई खेदेको जस्तो” भन्‍ने वाक्यांश सँगसँगै प्रयोग गरेका छन्‌। (उप. १:१४; २:११) स्पष्टतया, बतासलाई पक्रन खोज्नु निरर्थक हो। यसो गर्न खोज्नेले व्यर्थै स्याँस्याँ र फ्याँफ्याँ गरिरहेको हुन्छ, पाउने चाहिं केही होइन। गलत लक्ष्यहरूको पछि लाग्दा निराशा मात्र हात लाग्छ। वर्तमान रीतिरिवाजमा जीवन यति छोटो छ कि यसलाई खोक्रो कुराको पछि लगाउनु बेकार छ। त्यसैले, यस्तो गल्ती गर्नदेखि जोगिन जीवनमा सामान्यतया राखिने लक्ष्यहरूबारे सुलेमानले दिएका केही उदाहरणलाई विचार गरौं। पहिला हामी सुखसयल र धनसम्पत्तिको पछि लाग्नुलाई विचार गर्नेछौं। त्यसपछि, कामको महत्त्वलाई विचार गर्नेछौं।

के सुखसयलको पछि लाग्दा खुसी हुन सकिन्छ?

५. सुलेमानले कहाँ सन्तुष्टि खोजे?

५ आजका थुप्रै मानिसले जस्तै सुलेमानले पनि सुखसयलको पछि लागेर सन्तुष्टि पाउन खोजे। उनी बताउँछन्‌: “नता मैले कुनै किसिमको सुख-चैनलाई इन्कार गरें।” (उप. २:१०) उनले सुखसयल कहाँ खोजे? उपदेशक अध्याय २ ले बताएअनुसार उनले आत्मसंयम कायम राख्दै “दाखमद्य पिएर आफूलाई उत्तेजित” पारे अनि बगैंचा र महलहरू डिजाइन गर्ने, संगीत सुन्‍ने र स्वादिष्ट खानेकुरा खाने जस्ता कुराहरू गरे।

६. (क) जीवनमा केही असल कुराको आनन्द उठाउनु किन गलत होइन? (ख) मनोरञ्जनको सन्दर्भमा कस्तो सन्तुलन चाहिन्छ?

६ के बाइबलले साथीभाइसित रमाइलो गर्नुलाई नराम्रो मान्छ? अहँ, पटक्कै मान्दैन। उदाहरणको लागि, कडा परिश्रमपछि थकाइ मारेर आरामसित खानेकुराको मजा लिनु परमेश्‍वरबाटको उपहार हो भनी सुलेमान बताउँछन्‌। (उपदेशक २:२४; ३:१२, १३ पढ्‌नुहोस्‌) त्यसबाहेक, यहोवा स्वयम्‌ जवानहरूलाई जिम्मेवार तरिकामा ‘सुखी होऊ र बैंस छउञ्जेल सुख-चैन गर’ भनी भन्‍नुहुन्छ। (उप. ११:९) हामीलाई स्वस्थ्यकर मनोरञ्जन चाहिन्छ। (मर्कुस ६:३१ तुलना गर्नुहोस्‌) तर मनोरञ्जन जीवनको प्रमुख कुरा चाहिं हुनुहुँदैन। बरु यो त खानाको अन्तमा खाइने मिठाइ जस्तो हुनुपर्छ, मुख्य भोजन होइन। मिठाइ तपाईंलाई जत्ति नै मन परे तापनि तपाईं यो कुरामा सहमत हुनुहुन्छ होला कि अरू केही खानेकुरा नखाई मिठाइ मात्र खाइरहनुभयो भने तपाईंलाई चाँडै वाक्क लाग्छ। साथै त्यसले शरीरलाई त्यति पोषण पनि दिंदैन। त्यसैगरि, जीवनलाई सुखसयलको पछि लगाउनु पनि “बतासलाई खेदेको जस्तो” मात्र हो भनी सुलेमानले थाह पाए।—उप. २:१०, ११.

७. हामीले किन होसियारीपूर्वक मनोरञ्जनको छनौट गर्नुपर्छ?

७ यसबाहेक, सबै प्रकारको मनोरञ्जन स्वस्थ्यकर हुँदैन। थुप्रै किसिमको मनोरञ्जन आध्यात्मिक र नैतिक स्वास्थ्य दुवैको लागि एकदमै हानिकारक हुन्छ। लागू औषधी खाएर, अत्यधिक रक्सी पिएर अनि जूवा खेलेर ‘रमाइलो गर्न खोज्दा’ के लाखौं मानिस निराशामा डुबेका छैनन्‌ र? यदि हामीले आफ्नो हृदय र आँखालाई हानिकारक कुरातर्फ डोरिन दियौं भने त्यसको परिणाम भोग्नै पर्ने हुन्छ भनी यहोवा हामीलाई मायालु ढंगमा चेतावनी दिनुहुन्छ।—गला. ६:७.

८. आफ्नो जीवनशैलीलाई विचार गर्नु किन बुद्धिमानी हो?

८ त्यसको साथै, असन्तुलित ढंगमा सुखसयलको पछि लाग्नुले हामीलाई महत्त्वपूर्ण कुरामा ध्यान दिन बाधा पुऱ्‍याउनेछ। स्मरण रहोस्‌, जीवन चाँडै बितेर जान्छ र हाम्रो यो छोटो जीवन सधैं नै स्वस्थ रहन्छ र समस्या आइपर्दैन भन्‍ने कुनै ग्यारेन्टी छैन। त्यसैकारण, सुलेमानले बताएअनुसार “रमाहाटको घरमा” जानुभन्दा कसैको अन्त्येष्टीमा—विशेषगरि वफादार मसीही भाइबहिनीहरूको अन्त्येष्टीमा जाँदा हामीले बढ्‌ता लाभ उठाउन सक्छौं। (उपदेशक ७:२, ४ पढ्‌नुहोस्‌) त्यसो किन? अन्त्येष्टी भाषण सुन्दा र विश्‍वासी भई मरेका सँगी विश्‍वासीको जीवनबारे विचार गर्दा हामी आफ्नो जीवनशैली केलाउन उत्प्रेरित हुन सक्छौं। परिणामस्वरूप, आफ्नो बाँकी जीवन बुद्धिमानीपूर्वक प्रयोग गर्नको लागि आफ्ना लक्ष्यहरू छाँटकाँट गर्नुपर्ने रहेछ भन्‍ने निष्कर्षमा पुग्न सक्छौं।—उप. १२:१.

के भौतिक धनसम्पत्तिले हामीलाई सन्तुष्टि दिन्छ?

९. धनसम्पत्ति थुपार्नेबारे सुलेमानले के थाह पाए?

९ सुलेमानले उपदेशकको किताब लेखेको समयमा उनी संसारको सबैभन्दा धनी व्यक्‍तिहरूमध्ये एक गनिन्थे। (२ इति. ९:२२) आफूले चाहेको हरेक कुरा प्राप्त गर्न सक्ने औकात उनीसित थियो। उनले यस्तो लेखे: “लोभ लागेको कुरो प्राप्त गर्न मैले आफैलाई इन्कार गरिनँ।” (उप. २:१०) तैपनि, धनसम्पत्ति थुपार्दैमा सन्तुष्टि पाइँदैन भन्‍ने कुरा तिनले थाह पाए। उनी यस्तो निष्कर्षमा पुगे: “जुन मानिसले रूपियाँ-पैसाको लोभ गर्छ त्यसलाई कहिल्यै प्रशस्त हुँदैन। औ धेरै धन-सम्पत्तिको लोभ गर्ने मानिसले त्यसबाट केही सुख-भोग पाउनेछैन।”—उप. ५:१०.

१०. साँचो सन्तुष्टि र साँचो धन केले दिन्छ?

१० धनसम्पत्ति क्षणिक हुन्छ। तैपनि यसप्रतिको आकर्षण शक्‍तिशाली छ। हालै अमेरिकामा गरिएको एउटा सर्वेक्षणअनुसार विश्‍वविद्यालयमा अध्ययनरत प्रथम वर्षका ७५ प्रतिशत विद्यार्थीले आफ्नो प्रमुख लक्ष्य भनेको “धनी हुनु हो” भने। तिनीहरू त्यस लक्ष्यमा पुगे भने पनि के साँच्चै खुसी हुनेछन्‌ त? हुन्छन्‌ नै भन्‍ने छैन। अनुसन्धानकर्ताहरूले के याद गरेका छन्‌ भने भौतिकवादलाई जोड दिनु नै वास्तवमा खुसी र सन्तुष्टिको बाधक हो। धेरैअघि सुलेमान पनि त्यही निष्कर्षमा पुगेका थिए। उनले यस्तो लेखे: “मैले राजाहरूबाट र देश देशहरूबाट धन-दौलत, सुन र चाँदी पनि थुपारें। . . . औ के देखें भने सबै कुरा व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र रहेछ।”a (उप. २:८, ११) त्यसको विपरीत, यदि आफ्नो जीवनलाई तनमनले यहोवाको सेवा गर्न चलाउँछौं र उहाँबाट आशिष्‌ पाउँछौं भने, साँचो धन पाइरहेका हुनेछौं।—हितोपदेश १०:२२ पढ्‌नुहोस्‌।

साँचो सन्तुष्टि कस्तो कामले दिन्छ?

११. कामको महत्त्वबारे बाइबलले के संकेत गर्छ?

११ येशूले भन्‍नुभयो: “मेरा पिताले अझसम्म काम गर्नुहुन्छ, र म पनि गर्छु।” (यूह. ५:१७) यसमा कुनै शंका छैन, यहोवा र येशू दुवैले कामबाट सन्तुष्टि पाउनुभयो। सृजनशील कामबाट यहोवाले सन्तुष्टि पाउनुभयो भनेर बाइबल यसरी बताउँछ: “आफूले बनाउनुभएको हरेक कुरा परमेश्‍वरले हेर्नुभयो। औ हेर, त्यो साह्रै राम्रो थियो।” (उत्प. १:३१) परमेश्‍वरले गरेका सबै थोक देखेपछि स्वर्गदूतहरू “रमाहटले कराए।” (अय्यू. ३८:४-७) त्यसैगरि सुलेमानले पनि अर्थपूर्ण कामको मोल गरे।—उप. ३:१३.

१२, १३. (क) कडा परिश्रमबाट पाएको सन्तुष्टिलाई दुई व्यक्‍तिले कसरी व्यक्‍त गरेका छन्‌? (ख) सांसारिक कामले कुनै बेला किन निराश बनाउन सक्छ?

१२ थुप्रै मानिस कडा परिश्रमको महत्त्वलाई बुझ्छन्‌। उदाहरणको लागि, होसे नाउँका एक सफल चित्रकार यसो भन्छन्‌: “आफ्नो मनको चित्र क्यानभासमा उतार्न सफल हुँदा हिमालको चुचुरोमा पाइला टेकेको आभास हुन्छ।” मिगेलb नाउँ गरेका व्यापारी भन्छन्‌: “कामबाट सन्तुष्टि पाइन्छ किनभने यसबाट आफ्नो परिवारको पालनपोषण गर्न सकिन्छ। अनि केही हासिल गरेजस्तो महसुस पनि हुन्छ।”

१३ अर्कोतर्फ, थुप्रै काम पट्टाइलाग्दो र सृजनशील हुन खासै मौका नपाइने खालका हुन्छन्‌। कहिलेकाहीं काम गर्ने ठाउँ नै निराशाको स्रोत बन्छ र त्यहाँ अन्यायपूर्ण व्यवहार समेत भोग्नुपर्ने हुन्छ। सुलेमानले भनेझैं अल्छे मानिसले सायद अख्तियारमा भएकाहरूलाई चलाएर मेहनतीहरूको इनाम आफ्नो हातमा पार्न सक्छ। (उप. २:२१) अरू कुराले पनि निरुत्साहित पार्न सक्छ। एकदमै नाफा कमाउने भनी सुरु गरेको व्यापार देशमा छाएको आर्थिक मन्दी वा सोच्दै नसोचेको घटनाले गर्दा डामाडोल हुन सक्छ। (उपदेशक ९:११ पढ्‌नुहोस्‌) सफलताको शिखर चुम्ने ध्येयले कडा मेहनत गर्ने व्यक्‍तिहरू आफ्नो सबै “परिश्रम हावा मात्र हो” भनी बुझेर प्रायः तीतो महसुस गर्नुका साथै निराश हुने गरेका छन्‌।—उप. ५:१६.

१४. कुन कामले सधैं साँचो सन्तुष्टि दिन्छ?

१४ कहिल्यै निराश नबाउने कुनै किसिमको काम छ? अघि उल्लेख गरिएका चित्रकार होसे यसो भन्छन्‌: “समय बित्दै जाँदा चित्रहरू हराउन वा नष्ट हुन सक्छ। हामीले परमेश्‍वरको सेवामा गर्ने कामहरू चाहिं त्यस्तो हुँदैन। सुसमाचार प्रचार गर्ने काममा यहोवाको आज्ञा पालन गरेर मैले अरूलाई उहाँको भय राख्ने असल मसीही हुन मदत गरेको छु। यो साँच्चै अमूल्य कुरा हो।” (१ कोरि. ३:९-११) त्यस्तैगरि मिगेल भन्छन्‌ कि सांसारिक कामबाट भन्दा राज्य सन्देश प्रचार गर्दा तिनलाई कता हो कता बढी सन्तुष्टि मिल्छ। तिनी यसो भन्छन्‌: “बाइबल सत्य कसैलाई बताउँदा र त्यसले उनको हृदय छोएको महसुस हुँदा पाइने आनन्दको ठाउँ अरू कुनै कुराले लिन सक्दैन।”

“आफ्नो अन्‍न . . . फालिदेऊ”

१५. जीवनलाई साँच्चै सार्थक केले बनाउँछ?

१५ निष्कर्षमा, जीवनलाई केले साँच्चै सार्थक बनाउँछ? यस रीतिरिवाजमा हाम्रो छोटो समयलाई असल काम गर्न र यहोवालाई खुसी पार्न चलायौं भने साँचो सन्तुष्टि पाउँछौं। हामीले परमेश्‍वरसित घनिष्ठ सम्बन्ध गाँस्न सक्छौं, छोराछोरीलाई बाइबलका स्तरहरू सिकाउन सक्छौं, परमेश्‍वरलाई चिन्‍न अरूलाई मदत गर्न सक्छौं अनि सँगी भाइबहिनीसित अटुट मित्रता विकास गर्न सक्छौं। (गला. ६:१०) यी सबै प्रयासहरूले चिरकालीन महत्त्व राख्छ र यस्ता प्रयास गर्नेहरूले आशिष्‌ पाउँछन्‌। सुलेमानले असल काम गर्नुको महत्त्व बुझाउन एउटा एकदमै रोचक तुलना चलाए। उनले भने: “आफ्नो अन्‍न पानीमा फालिदेऊ, र धेरै दिनपछि तिमीले त्यो फेरि पाउनेछौ।” (उप. ११:१, NRV) येशूले चेलाहरूलाई यस्तो कडा सल्लाह दिनुभयो: “देओ, र तिमीहरूलाई दिइनेछ।” (लूका ६:३८) यसबाहेक, अरूप्रति असल काम गर्नेहरूलाई यहोवाले आशिष्‌ दिनुहुन्छ भनी उहाँ स्वयम्‌ प्रतिज्ञा गर्नुहुन्छ।—हितो. १९:१७; हिब्रू ६:१० पढ्‌नुहोस्‌।

१६. जीवनमा योजना बनाउने उचित समय कहिले हो?

१६ आफ्नो जीवनलाई कसरी प्रयोग गर्ने भनी जवान छँदै बुद्धिमान्‌ निर्णय गर्न बाइबल हामीलाई कडा सल्लाह दिन्छ। यसो गर्दा पछि गएर निराश हुनबाट हामी जोगिनेछौं। (उप. १२:१) जीवनको सबैभन्दा उत्तम समयलाई संसारको आकर्षणपछि लगायौं र त्यसो गर्नु चाहिं हावालाई खेदेजस्तो मात्र हो भनी थाह पाउँदा कत्ति दुःखलाग्दो हुन्छ!

१७. जीवनमा सबैभन्दा उत्तम मार्ग छनौट गर्न केले तपाईंलाई मदत गर्नेछ?

१७ मायालु पिताले जस्तै यहोवा पनि तपाईंले जीवनको आनन्द उठाएको, असल काम गरेको र बेकारमा मन दुख्नुबाट बचेको चाहनुहुन्छ। (उप. ११:९, १०) त्यसो गर्न तपाईंलाई केले मदत दिनेछ? आध्यात्मिक लक्ष्यहरू राख्नुहोस्‌ र त्यसलाई हासिल गर्न कडा परिश्रम गर्नुहोस्‌। करिब २० वर्षअघि काभेरले आसलाग्दो डाक्टरी पेशा र पूर्ण-समय सेवामध्ये एउटा छान्‍नुपऱ्‍यो। तिनी यसो भन्छन्‌: “डाक्टरी पेशाले सन्तुष्टि दिनसक्ने भए तापनि दुई-चार जना मानिसलाई बाइबल सत्य सिक्न मदत दिंदा मैले पाएको आनन्दसित अरू कुनै कुरा दाँज्न मिल्दैन। पूर्ण-समय सेवाबाट मैले जीवनको पूरापूर आनन्द उठाउन सकेको छु। अलिक ढिलो सुरु गरें, पछुतो यसमा मात्र लागेको छ।”

१८. पृथ्वीमा येशूको जीवन किन एकदमै सार्थक साबित भयो?

१८ त्यसोभए, हामीले हासिल गर्न प्रयास गर्नुपर्ने सबैभन्दा मूल्यवान्‌ कुरा के हो? उपदेशकको किताब यसो भन्छ: “असल नाउँको बासना अति सुगन्धित अत्तरको भन्दा मीठो हुन्छ, औ मृत्युको दिन, जन्मेको दिनभन्दा उत्तम हो।” (उप. ७:१) यस कुरालाई येशूको जीवनले भन्दा अरू कुनै कुराले राम्रोसित प्रस्ट पार्दैन। उहाँले यहोवासामु अवश्‍यै उत्कृष्ट नाउँ कमाउनुभयो। येशू विश्‍वासी भएर मर्नुहुँदा उहाँको पिताको सार्वभौमिकता उच्च पारियो अनि छुटकाराको बलिदान दिनुभयो जसले गर्दा हाम्रो लागि मुक्‍तिको बाटो खोलियो। (मत्ती २०:२८) पृथ्वीको छोटो बसाइमा येशूले साँचो सार्थक जीवनको सिद्ध उदाहरण बसाल्नुभयो। त्यो उदाहरण हामी पछ्याउने प्रयास गर्छौं।—१ कोरि. ११:१; १ पत्रु. २:२१.

१९. सुलेमानले कस्तो बुद्धिमानी सल्लाह दिए?

१९ हामी पनि परमेश्‍वरसामु असल नाउँ कमाउन सक्छौं। धनदौलत थुपार्नुभन्दा यहोवाको नजरमा असल नाउँ राख्नु कता हो कता मूल्यवान्‌ छ। (मत्ती ६:१९-२१ पढ्‌नुहोस्‌) हरेक दिन हामी यहोवाको नजरमा असल र आफ्नो जीवनलाई समृद्ध पार्ने तरिकाहरू खोज्न सक्छौं। उदाहरणको लागि, अरूलाई सुसमाचार सुनाउन सक्छौं, आफ्नो वैवाहिक जीवन तथा पारिवारिक सम्बन्ध बलियो बनाउन सक्छौं अनि व्यक्‍तिगत अध्ययन गरेर र सभा धाएर आध्यात्मिकतामा अझ बलियो हुन सक्छौं। (उप. ११:६; हिब्रू १३:१६) त्यसोभए, के तपाईं साँच्चै सार्थक जीवन जिउन चाहनुहुन्छ? चाहनुहुन्छ भने सुलेमानको यो सल्लाह पालन गरिरहनुहोस्‌: “परमेश्‍वरको भय राख्‌, र उहाँका आज्ञा पालन गर्‌। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।”—उप. १२:१३. (w 08 4/15)

[फुटनोट]

a सुलेमानको वार्षिक आम्दानी ६६६ तोडा सुन थियो।—२ इति. ९:१३.

b नाउँ परिवर्तन गरिएको छ।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• जीवनमा आफ्नो लक्ष्यबारे गम्भीरतापूर्वक सोच्न हामीलाई कुन कुराले उत्प्रेरित गर्नुपर्छ?

• सुखसयल र धनसम्पत्तिको पछि लाग्नुलाई हामीले कसरी हेर्नुपर्छ?

• कस्तो कामले चिरकालीन सन्तुष्टि ल्याउनेछ?

• कस्तो मूल्यवान्‌ कुरा हासिल गर्न हामीले प्रयास गर्नुपर्छ?

[पृष्ठ २७-मा भएको चित्र]

हाम्रो जीवनमा मनोरञ्जनको स्थान कस्तो हुनुपर्छ?

[पृष्ठ २८-मा भएको चित्र]

केले गर्दा प्रचारकार्य एकदमै सन्तोषजनक हुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने