प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 १०/१ pp. ५-१०
  • “सबै कुराको लागि समय छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “सबै कुराको लागि समय छ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “रूने एउटा समय छ, हाँस्ने एउटा समय”
  • रूनु परे तापनि साँच्चै आनन्दित!
  • “अंगालो हाल्ने एउटा समय छ, अंगालो नहाल्ने एउटा समय”
  • १०. विवाह​—⁠परमेश्‍वरको वरदान
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • विवाह—मायालु परमेश्‍वरको वरदान
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • यस अन्तको समयमा विवाह गर्नु र आमाबाबु बन्‍नु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • सफल वैवाहिक जीवनका लागि तयारी
    पारिवारिक आनन्दको रहस्य
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 १०/१ pp. ५-१०

“सबै कुराको लागि समय छ”

“सबै कुराको लागि समय छ, औ संसारमा सबै कामको बेला छ।”—उपदेशक ३:१.

१. असिद्ध मानिसहरूलाई कुन कुरा थाह पाउन गाह्रो पर्छ र यसले गर्दा कहिलेकाहीं के भएको छ?

मानिसहरू अक्सर यसो भन्छन्‌, “यो काम पहिल्यै गरेको भए हुन्थ्यो।” वा समय बितिसकेपछि यसो भन्छन्‌, “अलि हतार नगरेको भए हुने रहेछ।” यस्ता टीकाटिप्पणीहरूले कुनै कुनै कामकुरा कति बेला गर्नु उपयुक्‍त हो भनेर असिद्ध मानिसहरूले ठहराउन सक्दैनन्‌ भनी औंल्याउँछ। कति बेला के गर्नुपर्छ भनेर थाहा नपाउँदा मानिसहरूबीचको आपसी सम्बन्ध टुक्रिएको छ। फलतः मानिसहरू निराश र दिक्क भएका छन्‌। सबैभन्दा दुःखलाग्दो कुरा त के हो भने, यसले गर्दा यहोवा र उहाँको संगठनप्रति केही मानिसहरूको विश्‍वाससमेत ढलपल भएको छ।

२, ३. (क) यहोवाले तोक्नुभएको समयमा भर पर्नु किन बुद्धिमानी हो? (ख) बाइबल भविष्यवाणीको पूर्तिबारे हामीले कस्तो सन्तुलित दृष्टिकोण राख्नुपर्छ?

२ मानिसहरूसित नभएको ज्ञान र अन्तरदृष्टि यहोवासित छ। अतः उहाँले चाहनुभयो भने हरेक कामकुराहरूको परिणाम पहिल्यै जान्‍न सक्नुहुन्छ। उहाँ “आदिदेखि अन्तसम्म” जान्‍न सक्नुहुन्छ। (यशैया ४६:१०) तसर्थ, उहाँले चाहनुभएका कामकुरा गर्न उहाँले एकदमै उपयुक्‍त समय छनौट गर्न सक्नुहुन्छ। त्यसकारण, समयबारे हाम्रो त्रुटिपूर्ण ज्ञानमा भर पर्नुभन्दा यहोवाले तोक्नुभएको समयमा भर पर्नु बुद्धिमानी हो।

३ उदाहरणका लागि, कुनै कुनै बाइबल भविष्यवाणी पूरा हुन परिपक्व मसीहीहरू यहोवाले तोक्नुभएको समय पर्खन्छन्‌। तिनीहरू विलाप ३:२६ को सिद्धान्त मनमा राख्दै उहाँको सेवामा व्यस्त रहन्छन्‌: “चूपचाप परमप्रभुको उद्धारको बाटो हेर्नु, मानिसहरूलाई असल हुन्छ।” (हबकूक ३:१६ तुलना गर्नुहोस्‌।) यसबाहेक, यहोवाले घोषणा गर्नुभएको न्यायदण्ड “ढीलो भए तापनि . . . त्यो निश्‍चय पूरा हुनेछ, त्यसले ढीलो गर्नेछैन” भनी तिनीहरू विश्‍वस्त छन्‌।—हबकूक २:३.

४. धीरजी भई यहोवालाई पर्खन आमोस ३:७ र मत्ती २४:४५ ले हामीलाई कसरी मदत गर्नुपर्ने हो?

४ अर्कोतिर, वाच टावरका साहित्यहरूमा दिइएका केही बाइबल पद वा विवरणहहरू पूर्णतया बुझ्न सकेनौं भने के हामीले हतार गर्ने हो? कुनै कुनै कुरा स्पष्ट बुझ्न यहोवाले तोक्नुभएको समय पर्खनु बुद्धिमानी हो। “निश्‍चय परमप्रभुले आफ्ना दास अगमवक्‍ताहरूलाई आफ्नो रहस्य प्रकट नगरीकन केही गर्नुहुनेछैन।” (आमोस ३:७) कस्तो अद्‌भुत प्रतिज्ञा! तर उहाँले उचित ठान्‍नुभएको समयमा यहोवाले आफ्नो रहस्य प्रकट गर्नुहुनेछ भनी हामीले बुझ्नुपर्छ। यसैको लागि परमेश्‍वरले आफ्ना जनहरूलाई “ठीक ठीक समयमा [आध्यात्मिक] खा[ना]” दिन “विश्‍वासी र बुद्धिमान दास[लाई]” अह्राउनुभएको छ। (मत्ती २४:४५) तसर्थ, कुनै कुनै कुराको पूर्णतया स्पष्टीकरण नपाउँदा ज्यादै चिन्तित वा चिढिनुपर्ने कुनै कारण छैन। बरु, धीरजी भई यहोवालाई पर्ख्यौं भने उहाँले हामीलाई विश्‍वासी दास मार्फत “ठीक ठीक समयमा” आवश्‍यक कुरा दिनुहुनेछ भनी विश्‍वस्त हुनसक्छौं।

५. उपदेशक ३:१-८ को अर्थ बुझ्नुमा के फाइदा छ?

५ बुद्धिमान्‌ राजा सुलेमानले आ-आफ्नै ‘समय भएको’ २८ वटा विभिन्‍न कुराहरूबारे बताए। (उपदेशक ३:१-८) सुलेमानले भनेका कुराहरूको अर्थ बुझ्नाले यहोवाको दृष्टिकोणअनुसार कुनै कुनै कामकुरा गर्ने सही र गलत समय छुट्याउने मदत पाउनेछौं। (हिब्रू ५:१४) फलतः त्यहीअनुसार हामी आफ्नो जीवन ढाल्न सक्नेछौं।

“रूने एउटा समय छ, हाँस्ने एउटा समय”

६, ७. (क) आज कुन कारणहरूले गर्दा चिन्तित मानिसहरू ‘रून’ परिरहेको छ? (ख) संसारले गम्भीर परिस्थितिलाई कसरी हल्कासित लिन खोजिरहेको छ?

६ “रूने एउटा समय . . . हाँस्ने एउटा समय” भए तापनि कसले पो रूनभन्दा हाँस्न मन पराउँदैन र? (उपदेशक ३:४) दुःखको कुरा, हामी यस्तो संसारमा बाँचिरहेका छौं जहाँ रूनु पर्ने थुप्रै अवस्थाहरू आइपर्छन्‌। सञ्चारमाध्यममा प्रायजसो दुःखलाग्दो खबरहरू मात्र सुन्‍न वा पढ्‌न पाइन्छ। स्कूले केटाकेटीहरूले आफ्ना सहपाठीहरूलाई गोली हानेको, आमाबाबुहरूले छोराछोरीलाई दुव्यवहार गरेको, आतंकवादीहरूले निर्दोषहरूको हत्या गरेको वा अंगभंग बनाएको अनि प्राकृतिक प्रकोपहरूले धनजन विनाश गरेको खबर सुन्दा हाम्रो आङ सिरिङ्‌ङ हुन्छ। भोकले आँखा गडेका केटाकेटीहरू अनि देशनिकाला गरिएका शरणार्थीहरू भागाभाग गरिरहेका दृश्‍यले टेलिभिजनमा हाम्रो ध्यान खिच्छ। पहिला हामीलाई थाहै नभएका जातीय नरसंहार, एड्‌स, युद्धको हातहतियारको रूपमा जीवाणुहरूको प्रयोग र एल निनो जस्ता कुराहरूले हाम्रो मन तथा हृदयलाई विभिन्‍न तरिकामा चिन्तित गराइरहेको छ।

७ निस्सन्देह, वर्तमान संसार विपत्ति र दुःखकष्टले रंगिएको छ। यद्यपि, अरूले भोगिरहेका दुःखकष्ट वास्ता गर्नुपर्ने कुनै गम्भीर कुरा होइन भन्‍ने जस्तोगरी मनोरञ्जन जगत्‌ले खोक्रो, अश्‍लील, अक्सर अनैतिक र हिंसात्मक मनोरञ्जन प्रस्तुत गर्छ। तर त्यस्तो मनोरञ्जनले प्रदान गर्ने बेमतलबका ठट्टा र अर्थहीन आनन्द साँचो आनन्द होइन। आनन्द भनेको परमेश्‍वरको आत्माको फल हो र त्यो शैतानको संसारले दिनसक्ने कुरा होइन।—गलाती ५:२२, २३; एफिसी ५:३, ४.

८. आज मसीहीहरूले कुन कुरालाई प्राथमिकता दिनुपर्छ, रूनलाई वा हाँस्नलाई? व्याख्या गर्नुहोस्‌।

८ संसारको दुःखलाग्दो अवस्था विचार गर्दा यो हाँस्नुलाई बढी महत्त्व दिने समय होइन भनेर हामी बुझ्नसक्छौं। अहिले मनोरञ्जन गर्नलाई मात्र बाँच्ने वा आध्यात्मिक कुराहरूलाई भन्दा “रमाइलो” मोजमज्जालाई महत्त्वपूर्ण ठान्‍ने समय होइन। (उपदेशक ७:२-४ तुलना गर्नुहोस्‌।) प्रेरित पावलले यसो भने, “यस संसारका रीतिमा चल्नेहरू नचल्नेहरूजस्ता” हुनुपर्छ। किन? “किनभने यस संसारको रूप बितेर जाँदैछ।” (१ कोरिन्थी ७:३१) साँचो मसीहीहरू हामी बाँचिरहेको समयको गम्भीरताअनुसार जीवनयापन गर्छन्‌।—फिलिप्पी ४:८.

रूनु परे तापनि साँच्चै आनन्दित!

९. जलप्रलयअघि पृथ्वीमा कस्तो दुःखलाग्दो अवस्था थियो अनि अहिले हाम्रो लागि त्यसले के अर्थ राख्छ?

९ विश्‍वव्यापी जलप्रलयको समयमा बाँचिरहेका मानिसहरूले जीवनलाई गम्भीरतासाथ लिएनन्‌। तिनीहरू ‘पृथ्वी भ्रष्ट र उपद्रवले भरिंदा’ भावशून्य भए अनि आफ्नो दिनचर्यामा मात्र व्यस्त भएर “पृथ्वीमा मानिसहरूको दुष्टता बढ़ी” हुँदा रोएनन्‌। (उत्पत्ति ६:५, ११) येशूले त्यो दुःखलाग्दो अवस्थाको उल्लेख गर्नुभयो अनि हाम्रो समयका मानिसहरूको मनोवृत्ति पनि त्यस्तै हुनेछ भनी भविष्यवाणी गर्नुभयो। उहाँले यस्तो चेताउनी दिनुभयो: “जसरी जलप्रलयका अघाड़िका दिनमा नूह जहाजमा नपसेका दिनसम्म, मानिसहरू खाइरहेका, र पिइरहेका र विवाह-बारी गरिरहेका थिए, औ जलप्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल तिनीहरूले थाहै पाएनथे, उसैगरी मानिसको पुत्रको आगमन पनि हुनेछ।”—मत्ती २४:३८, ३९.

१०. हाग्गैको समयका इस्राएलीहरूले यहोवाले तोक्नुभएको समयप्रति कसरी मूल्यांकनको कमी देखाए?

१० जलप्रलय भएको लगभग १,८५० वर्षपछि हाग्गैको समयमा थुप्रै इस्राएलीहरूले त्यसै गरी आध्यात्मिक कुराहरूप्रति गम्भीरता देखाएनन्‌। व्यक्‍तिगत कामकुराहरूको पछि भागदौड गर्नमा तल्लीन रहेर तिनीहरूले आफू बाँचिरहेको समय यहोवाका कामकुराहरूलाई प्राथमिकता दिने समय हो भनेर बुझ्न सकेनन्‌। हामी यस्तो पढ्‌छौं: “परमप्रभुको भवन बनाउने समय अझ आएको छैन भनी यो प्रजा भन्दछ। तब परमप्रभुको वचन यसो भनेर हाग्गै अगमवक्‍ताद्वारा आयो, ‘यो भवन उजाड़ परिरहेको छँदा छँदै पनि के तिमीहरू आफूचाहिं छाना भएका घरमा बस्ने समय छ र?’ यसकारण अब सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ, ‘तिमीहरू आफ्ना आफ्ना चालको विचार गर।’ ”—हाग्गै १:१-५.

११. हामीले आफूलाई कस्ता प्रश्‍नहरू सोध्नु बेस हुनेछ?

११ हाग्गैको समयका इस्राएलीहरूले जस्तै जिम्मेवारी र विशेषाधिकारहरू पाएका यहोवाका साक्षीहरूको हैसियतमा हामीले आफ्ना तौरतरिकाहरूलाई गम्भीरतासाथ विचार गर्नुपर्छ। के हामी संसारका परिस्थितिहरू र त्यसले परमेश्‍वरको नाउँमा लगाएको कलंकले गर्दा ‘रून्छौं’? मानिसहरूले परमेश्‍वरको अस्तित्व अस्वीकार गर्दा वा अहंकारी भएर उहाँका धार्मिक सिद्धान्तहरू बेवास्ता गर्दा के हामी दुःखित हुन्छौं? के हामी आजभन्दा २,५०० वर्षअघि इजकिएलले दर्शनमा देखेका चिह्न लगाएका मानिसहरूले जस्तो प्रतिक्रिया देखाउँछौं? तिनीहरूबारे हामी यसो पढ्‌छौं: “परमप्रभुले तिनलाई भन्‍नुभयो, ‘शहर, अर्थात्‌ यरूशलेमभित्र चारैतिर जा, र त्यसमा गरिएका सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निधार निधारमा चिन्ह लगा।’ ”—इजकिएल ९:४.

१२. इजकिएल ९:५, ६ ले अहिलेका मानिसहरूका लागि के अर्थ राख्छ?

१२ यस विवरणले हाम्रो समयमा के अर्थ राख्छ, मानिसहरूलाई खतम गर्ने हतियार बोकेका छ जना पुरुषहरूलाई दिइएको निर्देशन पढ्‌दा त्यो स्पष्ट हुन्छ: “तिमीहरू चाहिं शहरभित्र त्यसको पछिपछि गएर हिर्काऊ। तिमीहरूका नजरले कसैलाई नछोड़ोस्‌ तिमीहरूले कसैमाथि दया नगर्नू। बूढ़ा मानिस, तरूणी, तन्‍नेरी, बालकहरू र स्वास्नीमानिसहरू सबैलाई खतम पार, तर त्यो चिन्ह भएको कसैलाई पनि नछोऊ। मेरो पवित्रस्थानदेखिनै शुरू गर।” (इजकिएल ९:५, ६) चाँडै आउन लागेको महासंकष्टमा हाम्रो बचाउ हुने कुरा अहिले खास गरी रूने समय हो भनेर बुझ्नुमा निर्भर छ।

१३, १४. (क) कस्ता व्यक्‍तिहरूलाई येशूले धन्यको भन्‍नुभयो? (ख) तपाईंको विचारमा उक्‍त कुरा कसरी यहोवाका साक्षीहरूसित मेल खान्छ, बताउनुहोस्‌।

१३ निस्सन्देह, संसारका भ्रष्ट कुराहरूले गर्दा यहोवाका सेवकहरू ‘रोए’ तापनि त्यसले तिनीहरूको खुसीमा बाधा पुऱ्‍याउँदैन। बरु, तिनीहरू त पृथ्वीको सबैभन्दा आनन्दित मानिसहरू हुन्‌! येशूले यसो भन्‍नुभएर आनन्दको मापदण्ड प्रस्तुत गर्नुभयो: “धन्य आत्मामा दरिद्र हुनेहरू, . . . धन्य शोक गर्नेहरू, . . . धन्य नम्र हुनेहरू, . . . धन्य धार्मिकता निम्ति भोकाउने र तिर्खाउनेहरू, . . . धन्य दयावन्तहरू, . . . धन्य हृदयमा शुद्ध हुनेहरू, . . . धन्य मेल-मिलाप गराउनेहरू . . . धन्य धार्मिकता निम्ति सताइनेहरू।” (मत्ती ५:३-१०) यो कुरा अरू धार्मिक संगठनहरूमा नभई सामूहिक रूपमा यहोवाका साक्षीहरूसित मेल खान्छ भन्‍ने प्रशस्त प्रमाणहरू पाइन्छ।

१४ खास गरी १९१९ मा साँचो उपासना पुनर्स्थापित भएदेखि यहोवाका आनन्दित जनहरूले “हाँस्ने” कारण पाएका छन्‌। तिनीहरूले सा.यु.पू. छैटौं शताब्दीमा यरूशलेम फर्कनेहरूले जस्तै आध्यात्मिक रूपमा उल्लासपूर्ण कुराको अनुभव गरे: “जब परमप्रभुले सियोनको कैदलाई फर्काएर ल्याउनुभयो, तब हामी ता सपनामा भएजस्तै भयौं। तब हाम्रो मुख हाँसोले र हाम्रो जिब्रो गानले भरिए। . . . परमप्रभुले हाम्रा निम्ति ठूला ठूला काम गर्नुभएको छ, हामी आनन्दित छौं।” (भजनसंग्रह १२६:१-३) आध्यात्मिक तवरमा हाँसे तापनि यहोवाका साक्षीहरू समयको गम्भीरतालाई बुद्धिमानीसाथ विचार गर्छन्‌। नयाँ संसार वास्तविकतामा परिणत भएपछि अनि पृथ्वीबासीहरूले ‘साँच्चैको जीवन पक्रेपछि’ सदासर्वदाको निम्ति रूवाइको साटो हाँसो हुनेछ।—१ तिमोथी ६:१९; प्रकाश २१:३, ४.

“अंगालो हाल्ने एउटा समय छ, अंगालो नहाल्ने एउटा समय”

१५. साथीहरू छनौट गर्नेबारे मसीहीहरू किन होसियार हुन्छन्‌?

१५ कसलाई साथीको रूपमा अंगाल्ने भनेर मसीहीहरू होसियार हुन्छन्‌। तिनीहरू पावलको चेताउनीलाई याद गर्छन्‌: “खराब संगतले भला चाल-चलनलाई बिगार्दछ।” (१ कोरिन्थी १५:३३) अनि बुद्धिमान्‌ राजा सुलेमानले यसो भने: “बुद्धिमानीहरूको संगत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।”—हितोपदेश १३:२०.

१६, १७. यहोवाका साक्षीहरू साथी संगति, विवाहपूर्व भेटघाट र विवाहबारे कस्तो दृष्टिकोण राख्छन्‌ र किन?

१६ यहोवाका सेवकहरू आफूले जस्तै यहोवा र उहाँका धार्मिकता प्रेम गर्नेहरूलाई आफ्नो साथी बनाउँछन्‌। तिनीहरूले मित्रताको मूल्यांकन गर्नुका साथै त्यसबाट आनन्द उठाउँछन्‌। यद्यपि, तिनीहरू आज केही मुलुकहरूमा व्याप्त विवाहपूर्वको भेटघाटप्रति छाडा तथा मनमानी दृष्टिकोण राख्दैनन्‌। तिनीहरू विवाहपूर्वको भेटघाटलाई अहानिकारक रमाइलो ठान्‍नुको सट्टा विवाहतर्फ डोऱ्‍याउने गम्भीर कदम ठान्छन्‌। शारीरिक, मानसिक अनि आध्यात्मिक रूपमा तयार हुनुका साथसाथै स्थायी बन्धनमा बाँधिन कुनै धर्मशास्त्रीय रोकटोक छैन भने मात्र विवाहपूर्व भेटघाट गर्नुपर्छ भन्‍ने दृष्टिकोण राख्छन्‌।—१ कोरिन्थी ७:३६.

१७ थुप्रैले विवाहपूर्व भेटघाट र विवाहबारे यस्तो दृष्टिकोण राख्नु त पुरानो जमानाको कुरा हो भन्ठान्लान्‌। तर यहोवाका साक्षीहरू साथीहरू छनौट गर्ने वा विवाहपूर्वको भेटघाट र विवाहबारे आफ्ना साथीहरूको लहै लहैमा बहकिन चाहँदैनन्‌। “बुद्धि चाहिं उसका कामहरूबाट योग्य ठहरिन्छ” भनी तिनीहरूलाई थाह छ। (मत्ती ११:१९) हाम्रो भलाइ केमा छ, त्यो यहोवालाई थाह छ। अतः “प्रभुमा मात्र” विवाह गर्नु भन्‍ने उहाँको सल्लाहलाई तिनीहरू गम्भीरतासाथ लिन्छन्‌। (१ कोरिन्थी ७:३९; २ कोरिन्थी ६:१४) विवाह असफल भए पारपाचुके गर्न सकिन्छ नि भन्‍ने गलत विचार राखेर तिनीहरू विवाह गर्न हतारिंदैनन्‌। तिनीहरू समय लगाएर उपयुक्‍त जोडी खोज्छन्‌ किनकि एकपल्ट विवाह वाचामा बाँधिएपछि यहोवाको यो व्यवस्था लागू हुन्छ भनी तिनीहरूले बुझेका हुन्छन्‌: “ती दुइ अब दुइ होइन, तर एउटै शरीर हुन्छन्‌। यसकारण जसलाई परमेश्‍वरले एक साथ जोड़नुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्‌।”—मत्ती १९:६; मर्कूस १०:९.

१८. कुन कुरा सुखद्‌ विवाहको सुरुआत हुनसक्छ?

१८ विवाह भनेको जीवनभरको वाचा हो। तसर्थ, यसको निम्ति होसियारीसाथ योजना बनाउनुपर्छ। पुरुषले आफूलाई यसरी तर्कसंगत प्रश्‍न सोध्नुपर्छ, ‘के तिनी साँच्चै नै मेरोलागि ठीक व्यक्‍ति हुन्‌? तर तिनले यस्ता प्रश्‍नहरू सोध्नु पनि उतिकै महत्त्वपूर्ण छ, ‘के म नि उसको लागि साँच्चै उपयुक्‍त छु? के म उसको आध्यात्मिक आवश्‍यकताहरू पूरा गर्नसक्ने परिपक्व मसीही हुँ?’ विवाह गर्न सोचिरहेका जोडी यहोवाको नजरमा आध्यात्मिक रूपमा बलियो हुनुका साथै ईश्‍वरीय अनुमोदन प्राप्त हुने बलियो विवाह बन्धनमा बाँधिनसक्ने हुनुपर्छ। पूर्ण-समय सेवकाईले लिनुमा भन्दा दिनुमा जोड दिने हुनाले हजारौं मसीही दम्पतीहरूले पूर्ण-समय सेवकाई सुखद्‌ विवाहको सर्वोत्तम सुरुआत हो भनेर पुष्टि गर्नसक्छन्‌।

१९. केही मसीहीहरू किन अविवाहित रहन्छन्‌?

१९ केही मसीहीहरू सुसमाचारको खातिर अविवाहित रहने छनौट गरेर ‘अंगालो हाल्दैनन्‌।’ (उपदेशक ३:५) अरू कतिपयले चाहिं उपयुक्‍त जोडी हुन आफूमा आध्यात्मिक योग्यताहरू नभएसम्म विवाहलाई पर सार्छन्‌। तर विवाहको घनिष्ठता र फाइदाहरूको अभिलाषा हुँदाहुँदै पनि जोडी भेट्टाउन नसकेका अविवाहित मसीहीहरूलाई पनि नबिर्सौं। विवाह गर्ने भन्दैमा तिनीहरूले ईश्‍वरीय सिद्धान्तहरूसित सम्झौता नगरेकोमा यहोवा आनन्दित हुनुहुन्छ भनी हामी निश्‍चित हुनसक्छौं। हामी तिनीहरूको निष्ठाको मूल्यांकन गर्छौं अनि तिनीहरूलाई चाहिएको प्रोत्साहन पनि दिन्छौं।

२०. विवाहित दम्पतीहरूले पनि कहिलेकाहीं किन ‘आंगालो हाल्नु हुँदैन?’

२० के विवाहित दम्पतीहरूले पनि कहिलेकाहीं ‘अंगालो हाल्नु’ हुँदैन? कुनै कुनै बेला हुँदैन जस्तो देखिन्छ किनकि पावल यसो भन्छन्‌: “ए भाइ हो, म यो भन्दछु, कि समय अल्प भएको छ, र अब उप्रान्त पत्नी भएका मानिसहरू पत्नी हुँदै नभएकाहरूजस्तै होऊन्‌।” (१ कोरिन्थी ७:२९) त्यसै गरी, कहिलेकाहीं विवाहका आनन्द र आशिष्‌हरूलाई भन्दा ईश्‍वरतान्त्रिक जिम्मेवारीहरूलाई प्राथमिकता दिनुपर्ने हुन्छ। यसबारे सन्तुलित दृष्टिकोण राख्नाले विवाहलाई कमजोर होइन बलियो बनाउनेछ किनकि त्यसले दुवै जनालाई तिनीहरूको सम्बन्ध स्थायी बनाउनुहुने यहोवा नै हुनुहुन्छ भनेर स्मरण गराउँछ।—उपदेशक ४:१२.

२१. छोराछोरी जन्माउनेबारे हामीले विवाहित दम्पतीहरूको किन आलोचना गर्नु हुँदैन?

२१ यसबाहेक, परमेश्‍वरको सेवा गरिरहनका लागि केही विवाहित दम्पतीहरू छोराछोरी जन्माउँदैनन्‌। यो तिनीहरूको त्याग हो र यहोवाले तिनीहरूलाई इनाम दिनुहुनेछ। एकातिर सुसमाचारको खातिर अविवाहित रहन बाइबलले प्रोत्साहन दिए तापनि छोराछोरी नजन्माउनु भनेर स्पष्ट टिप्पणी गरेको भने पाइँदैन। (मत्ती १९:१०-१२; १ कोरिन्थी ७:३८; तुलना गर्नुहोस्‌ मत्ती २४:१९ र लूका २३:२८-३०.) अतः विवाहित दम्पतीहरूले आफ्नो परिस्थिति र अन्तस्करणको आधारमा व्यक्‍तिगत निर्णय गर्नुपर्छ। विवाहित दम्पतीहरूले जस्तोसुकै निर्णय किन नगरून्‌, तिनीहरूको आलोचना गर्नु हुँदैन।

२२. हामीले कुन कुरा बुझ्नु महत्त्वपूर्ण छ?

२२ हो, “सबै कुराको लागि समय छ, औ संसारमा सबै कामको बेला छ।” यहाँसम्म कि “युद्ध गर्ने एउटा समय छ, मिलाप गर्ने एउटा समय।” (उपदेशक ३:१, ८) यी दुईमध्ये अहिले चाहिं के गर्ने समय हो भनी बुझ्नु महत्त्वपूर्ण हुनुको कारण यसपछिको लेखले बताउनेछ।

के तपाईं बुझाउन सक्नुहुन्छ?

◻ हामीले “सबै कुराको लागि समय छ” भनेर बुझ्नु किन अत्यावश्‍यक छ?

◻ अहिले खास गरी किन ‘रूने समय’ हो?

◻ मसीहीहरू ‘रोए’ तापनि किन साँच्चै आनन्दित छन्‌?

◻ अहिले ‘अंगालो नहाल्ने समय’ हो भनेर केही मसीहीहरूले कसरी देखाउँछन्‌?

[पृष्ठ ६, ७-मा भएका चित्रहरू]

मसीहीहरू संसारका अवस्थाहरूले गर्दा ‘रोए’ तापनि . . .

. . . तिनीहरू वास्तवमा संसारका सबैभन्दा आनन्दित मानिसहरू हुन्‌

[पृष्ठ ८-मा भएको चित्र]

पूर्ण-समय सेवकाई, आनन्दित विवाहको सर्वोत्तम आधार हो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने