तपाईंको परिवारलाई परमेश्वरको नयाँ संसारसम्मै बचाउनका लागि मेहनत गर्नु होस्
“हे परमप्रभु, तपाईंले तिनीहरूलाई रक्षा गर्नुहुनेछ, यस पुस्तादेखि सधैंभरि तपाईंले तिनीहरूलाई जोगाएर राख्नुहुनेछ।”—भजनसंग्रह १२:७.
१, २. (क) अन्तिम दिनहरूका दबावहरूको माझमा केही परिवारहरूले के कस्ता कुराहरू अनुभव गरिरहेका छन्? (ख) केही मसीही परिवारहरूले कसरी बाँच्ने कोशिश गर्न सक्छन्?
“आज मेरो हृदय आनन्दले भरिपूर्ण छ!” सो अभिव्यक्ति जोन् नाउँ भएको एक जना प्राचीनले गरे। तिनको हर्षको कारण के थियो? उनी भन्छन्: “१४-वर्ष पुगेको मेरो छोरा र १२-वर्ष पुगेकी मेरी छोरीले बप्तिस्मा लिए।” तर तिनको आनन्द त्यहीं समाप्त भएन। तिनले यसो पनि भने: “मेरो १७-वर्ष पुगेको छोरा र १६-वर्ष पुगेकी छोरी, दुवैले गत साल सहायक-अग्रगामी सेवा गरे।”
२ यसै प्रकार, हाम्रा माझमा भएका धेरै परिवारहरूले बाइबलका सिद्धान्तहरू प्रयोगमा ल्याउँदै राम्रो परिणाम पाएका छन्। तर, केही परिवारहरूले चाहिं समस्याहरू अनुभव गरी रहेका छन्। एउटा मसीही दम्पतीले यसरी लेखी पठाए: “हाम्रो पाँच जना छोरा-छोरी छन्। र तिनीहरू सित व्यवहार गर्नु झन झन गाह्रो हुँदैछ। एक जनालाई त हामीले यो पुरानो रीतिरिवाजमा गुमाइ नै सक्यौं। हाम्रा जवान किशोर-किशोरीहरू चाहिं हाल शैतानको आक्रमणको मूल तारो भएका छन् जस्तो देखिन्छ।” केही दम्पतीहरूले चाहिं गम्भीर वैवाहिक अमेल अनुभव गरिरहेका छन्। यसको परिणामस्वरूप कहिलेकाहीं पारपाचुके गरिन्छ अथवा छुट्टै बस्न थालिन्छ। तथापि, मसीही गुणहरूको विकास गर्ने परिवारहरूले “महा सङ्कष्ट”-मा बाँचेर परमेश्वरको आउँदो नयाँ संसारमा प्रवेश गर्न सक्लान्। (मत्ती २४:२१; २ पत्रुस ३:१३) अतः, तपाईंको परिवारको बचावका लागि तपाईं के गर्न सक्नु हुन्छ?
एकअर्कासित कुराकानी गर्नमा उन्नति गर्नुहोस्
३, ४. (क) पारिवारिक जीवनमा कुराकानी गर्नु कतिको महत्त्वपूर्ण छ, र यसबारे अक्सर समस्याहरू किन उठ्ने गर्छन्? (ख) पतिहरूले किन राम्रोगरी सुन्ने प्रयास गर्नु पर्छ?
३ एउटा स्वस्थ परिवारको जीवनदायी रगत नै आपसमा राम्ररी गरिने कुराकानी हो; जहाँ यसको अभाव हुन्छ, त्यहाँ तनाउ र क्लेश बढछन्। हितोपदेश १५:२२ भन्छ: “परामर्श बिनाको योजना विफल हुन्छ, तर धेरै सोचेर गरेको योजना सफल हुन्छ।” यहाँ चाखलाग्दो कुरा के छ भने, विवाह सम्बन्धी एक जना सल्लाहकारले यसो भनिन्: “मकहाँ सल्लाह माग्न आएका धेरै जसो पत्नीहरूको एउटै गुनासो हुन्छ अर्थात् ‘उनी [पति] मसित कुरै गर्दैनन्,’ र ‘मैले भनेको कुरा उनी सुन्दै सुन्दैनन्।’ र यो गुनासोबारे तिनीहरूका पतिहरू सित मैले कुरा गर्नु खोज्दा, उनीहरू मेरो पनि कुरा सुन्दैनन्।”
४ कुराकानी गर्नमा यसरी बाधा के ले दिन्छ? एउटा त लोग्नेमानिसहरू र स्वास्नीमानिसहरू बेग्लै हुन्छन्। तिनीहरूको कुराकानी गर्ने ढङ्ग पनि भिन्न हुन्छ। एउटा लेखअनुसार, “पतिले फटाफट र व्यावहारिक ढङ्गमा” गरिएको कुराकानी रुचाउँछन्। तर “पत्नीलाई चाहिं तिनको कुरा सम्मानुभूतिका साथ सुनी दिने व्यक्तिको ठूलो खाँचो हुन्छ।” तपाईंको वैवाहिक जीवनमा यो एउटा समस्या हो भने, यसमा उन्नति गर्ने कोशिश गर्नु होस्। अझ राम्रोसित सुन्ने व्यक्ति बन्नका लागि एक जना मसीही पतिलाई निकै नै प्रयत्न गर्नु खाँचो होला। याकूब यसो भन्छन्: “हरेक मानिस सुन्नालाई छिट्टो, बोल्नलाई ढीलो . . . होस्।” (याकूब १:१९) तपाईंकी पत्नीलाई “सहानुभूति” मात्र चाहिएको बेलामा, तिनलाई आदेश, चेताउनी अथवा भाषण दिने नगर्नु होस्। (१ पत्रुस ३:८) हितोपदेश १७:२७ भन्छ: “अनुभवीले थोरै मात्र बोल्छ।”
५. केही पतिहरूले आफ्ना विचार र भावनाहरूलाई व्यक्त गर्ने सम्बन्धमा उन्नति गर्ने तरिकाहरू के के हुन्?
५ तर “बोल्ने समय” पनि हुन्छ र तपाईंलाई आफ्ना सोच-विचार अझ स्पष्टसित व्यक्त गर्न सिक्नु आवश्यक होला। (उपदेशक ३:७) उदाहरणका लागि, तपाईंकी पत्नीले गरिदिएको काम कुराको के तपाईं मन खोलेर प्रशंसा गर्नु हुन्छ? (हितोपदेश ३१:२८) तपाईंलाई सहायता दिनमा र घरबारको देखरेख गर्नमा तिनले गरेको मेहनतका लागि के तपाईंले कृतज्ञता प्रकट गर्नु हुन्छ? (कलस्सी ३:१५ सित तुलना गर्नुहोस्।) अथवा, सायद तपाईंलाई “प्रेमपूर्ण अभिव्यक्तिहरू [न्यु व०]” कसरी गर्ने विषयमा उन्नति गर्नु परेको छ होला। (श्रेष्ठगीत १:२) यसो गर्न तपाईंलाई सुरु सुरुमा अप्ठ्यारो लाग्नु सक्छ। तर यसले तपाईंकी पत्नीलाई तपाईंको प्रेममा विश्वस्त हुने ठूलो मद्दत दिने छ।
६. पत्नीहरूले पारिवारिक कुराकानीलाई कुन कुन ढङ्गमा बढावा दिन सक्छन्?
६ मसीही पत्नीहरूको विषयमा चाहिं के भन्न सकिन्छ? एउटी पत्नीको भनाइ अनुसार तिनले आफ्नो पतिको मोल गर्दछिन् भनेर तिनको पतिलाई थाह छँदै छ। यसकारण तिनले यो कुरा पतिलाई भनी रहने खाँचो छैन। तथापि, मूल्याङ्कन, स्याबासी र प्रशंसा पाउँदा लोग्नेमानिसहरू पनि प्रफुल्लित हुन्छन्। (हितोपदेश १२:८) के तपाईंलाई यस प्रकारका भावनाहरू अझ खुलेर व्यक्त गर्ने खाँचो छ कि? सायद तपाईं कसरी सुन्ने गर्नु हुन्छ, त्यसमा अझ ध्यान दिने आवश्यकता पो छ कि? तपाईंको पतिलाई उनका समस्याहरू, आशङ्काहरू अथवा चिन्ताहरू बारे मन खोलेर कुरा गर्नु गाह्रो लाग्छ भने, के तपाईंले दया र निपुणताका साथ तिनलाई आफ्नो मनको कुरा पोखाउन लगाउन सिक्नु भएको छ?
७. के कारणले लोग्ने-स्वास्नी बीच झगडा उत्पन्न हुन सक्छ, र तिनीहरूलाई कसरी रोक्न सकिन्छ?
७ हुनः त, साधारणतया मिलेर बसेका दम्पतीहरूको आपसी बोलचालमा पनि कुनै कुनै बेला समस्या उठन सक्छ। बुद्धिलाई भन्दा भावनालाई प्राथमिकता दिएको हुनकारण एउटा शान्त छलफल तुरुन्तै एउटा चर्को विवादमा परिणत हुन सक्छ। (हितोपदेश १५:१) “धेरै कुरामा हामी चुक्तछौं”; लोग्ने-स्वास्नी बीचको एउटा कचिङ्गलबाट विवाहको अन्त बोध हुँदैन। (याकूब ३:२) तर “हो-हल्ला र निन्दा” अनुचित हुन् र कुनै पनि सम्बन्धका लागि हानिकारक हुन्छन्। (एफिसी ४:३१) चोटलाग्दो शब्दहरूको प्रयोग गरिएको खण्डमा मेलमिलाप गर्ने पाइला तुरुन्तै चाल्नु होस्। (मत्ती ५:२३, २४) तपाईं दुवैले एफिसी ४:२६-मा उल्लिखित पावलका यी शब्दहरू प्रयोगमा ल्याउनु भयो भने, त्यस प्रकारको कचिङ्गल प्रथमतः हुने नै छैन: “घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस्।” हो, समस्याहरू सानो र समाधान गर्न सकिने खालका हुँदा नै ती बारे मन खोलेर कुरा गर्नु होस्; तपाईंका भावनाहरूले विस्फोटक रूप धारण नगरुञ्जेसम्म पर्खेर नबस्नुहोस्। बरु, आफूलाई मनमा अप्ठ्यारो लागेका कुराहरू छलफल गर्न प्रत्येक दिन केही मिनेट बिताउने गर्नु होस्। यसले कुराकानी गर्ने बानीलाई बढावा दिने छ र झगडाहरू पनि सुरु हुन अघि नै रोकिने छन्।
‘प्रभुको शिक्षा र चेताउनी’
८. कुनै कुनै जवान मानिसहरू सच्चाइबाट किन तर्केर जान सक्छन्?
८ आफ्ना छोरा-छोरीहरूलाई केही विशेष निर्देशन बिना हुर्किन दिनु कुनै कुनै आमा-बाबुहरू सन्तुष्ट छन् जस्तो देखिन्छ। ती छोरा-छोरीहरू सभाहरू आउँछन् र क्षेत्र-सेवकाईमा पनि केही भाग लिने गर्छन्। तर तिनीहरूले परमेश्वरसितको आफ्नो एउटा व्यक्तिगत सम्बन्ध भने स्थापित गरेका हुँदैनन्। केही समय पछि, “शरीरको अभिलाषा र आँखाको अभिलाषा”-ले यस्ता थुप्रै युवक-युवतीहरूलाई सच्चाइबाट टाढा लैजान सक्छन्। (१ यूहन्ना २:१६) बितेको समयमा तिनीहरूले गरेको हेलचक्य्राइँको कारण तिनीहरूका छोरा-छोरीहरू चाहिं मर्नु तर आमा-बाबुहरू चाहिं आर-मागेडोनमा बाँच्नु कति दुःखलाग्दो कुरा हुने छ!
९, १०. (क) छोरा-छोरीहरूलाई “प्रभुको शिक्षा र चेताउनी” अनुसार हुर्काउनमा कुन कुन कुरा समावेश छन्? (ख) छोरा-छोरीहरूलाई तिनीहरूका भावनाहरू खुला रूपले व्यक्त गर्न दिनु किन महत्त्वपूर्ण हो?
९ अतः पावलले यस प्रकार लेखे: “ए बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।” (एफिसी ६:४) यसो गर्नका लागि, तपाईं स्वयं नै यहोवाका स्तरहरू सित सम्पूर्ण रीतिले परिचित हुनु पर्दछ। मनोरञ्जन छान्ने, व्यक्तिगत अध्ययन गर्ने, सभाहरूमा उपस्थित हुने र क्षेत्र सेवकाईमा जाने जस्ता विषयहरू बारे तपाईंले नै एउटा राम्रो उदाहरण कायम गर्नु पर्दछ। आमा वा बाबुले (१) ध्यान पुऱ्याएर आफ्ना छोरा-छोरीको हेर-विचार गर्नु पर्दछ र (२) तिनीहरूसित नियमित रूपमा कुराकानी गर्ने गर्नु पर्दछ। पावलका शब्दहरूबाट उक्त दुई कुराको पनि बोध हुँदछ। ती गर्नु भयो भने मात्र, तिनीहरूलाई कुन विषयमा “चेताउनी” चाहिएको छ, सो तपाईंलाई थाह लाग्ने छ।
१० भर्खरका नौजवानहरूले केही मात्रामा स्वतन्त्रता खोज्नु स्वभाविक कुरा हो। तथापि, तिनीहरूको बोलीवचन, सोचाइ, पहिरन, कोरी-बाटी र मित्रहरूको छनोटमा सांसारिक प्रभाव ठम्याउन तपाईं सतर्क हुनु पर्छ। एक जना बुद्धिमान बाबुले भनेको कुरा हितोपदेश २३:२६-मा यसरी उल्लिखित छ: “हे मेरो छोरो, मेरो उपदेश मन दिएर ग्रहण गर्।” के तपाईंका छोरा-छोरीहरूले कुनै सङ्कोच नमानी तिनीहरूका विचार अथवा भावनाहरू बारे तपाईं सित कुरा गर्छन्? तुरुन्तै गाली खानु पर्ला भन्ने डर छोरा-छोरीमा छैन भने, असामान्य विषयहरू अर्थात् अविवाहित युवक-युवतीहरू एकअर्का सित घुमफिर गर्ने, उच्च-शिक्षा प्राप्त गर्ने अथवा बाइबलमा भएको सत्यताको सम्बन्धमा पनि आफ्नो भित्री विचार प्रकट गर्न तिनीहरू अझ तयार हुन सक्छन्।
११, १२. (क) खाना खाने समयहरूलाई पारिवारिक कुराकानी गर्नका लागि कसरी प्रयोग गर्न सकिन्छ? (ख) आफ्ना छोरा-छोरीहरू सित कुराकानी बढाउने प्रयासमा आमा-बाबुहरू लागी रह्यो भने परिणाम के हुन सक्छ?
११ धेरै देशहरूमा परिवारहरू एकैसाथ बसेर खाने चलन हुन्छ। अतः बेलुकी खान बस्दा, परिवारका सबै सदस्यहरूले लाभदायक कुराकानीमा भाग लिने मौका पाउन सक्छन्। सपरिवार बसेर खान बस्दा, अक्सर टेलिभिजन र अन्य अलमल्याउने कुराहरूलाई बीचमा आउन दिने गरिन्छ। घण्टौंसम्म तपाईंका छोरा-छोरीहरू स्कूलमा सांसारिक सोच-विचारको जकडमा परेर आएका हुन्छन्। यसकारण, खाना खाने बेलामा तिनीहरू सित कुराकानी गर्नु एउटा राम्रो मौका हो। एउटी आमा यसो भन्छिन्: “खाना खान बस्दा, दिनमा भएका घट्नाहरू बारे हामी कुरा गर्ने गर्छौं।” तर यसको अर्थ, खाना खाने बेलालाई कुनै अनुशासन दिने अथवा केरकार गर्ने बेला बनाउनु होइन। यी समयहरूमा एउटा आनन्दमय र आरामदायी वातावरण कायम राख्नु होस्!
१२ छोरा-छोरीलाई तपाईं सित मन खोलेर कुरा गर्न लाउनु एउटा चुनौती हुन सक्छ र यसका लागि तपाईंमा ठूलो धैर्यको खाँचो पर्नु सक्छ। तर समयमा, तपाईंले यसबाट हृदयलाई न्यानो पार्ने परिणाम अनुभव गर्न सक्नु हुन्छ। एउटी चिन्तित आमा भन्छिन्: “हाम्रो १४ वर्षीय छोरो उदास र निराश भएर चुपचाप बस्ने गर्थ्यो। तर हाम्रा प्रार्थनाहरू र धैर्यले गर्दा, अब भने कुरा गर्न थाल्दै छ!”
ढाडस दिने पारिवारिक अध्ययनहरू
१३. छोरा-छोरीहरूलाई सुरु देखि नै प्रशिक्षण दिन किन यति महत्त्वपूर्ण हो, र यो कसरी गर्न सकिन्छ?
१३ “शिक्षा” भन्नाले परमेश्वरको वचनमा आधारित औपचारिक उपदेश पनि समावेश हुन्छ। तिमोथीलाई झैं, यस प्रकारको शिक्षा “बाल्यकाल देखिनै” दिन सुरु गर्नु पर्दछ। (२ तिमोथी ३:१५) सुरु देखि नै प्रशिक्षण पाएको खण्डमा, छोरा-छोरीहरूले स्कूल जाँदा आइपर्ने परिक्षाहरू—अर्थात् जन्मोत्सवहरू, राष्ट्रियतासित सम्बन्धित चाडहरू, अथवा धार्मिक कार्यक्रमहरूको सामना गर्ने बल पाउँछन्। यस प्रकारका जाँचहरूका लागि केही तयारी गरिएको छैन भने, बच्चाको विश्वास भरङ्ग हुन सक्छ। यसकारण, साना-साना केटा-केटीहरूका लागि वाचटावर सोसाइटीले तयार पारेका अस्त्रहरू अर्थात् महान शिक्षकलाई सुन्ने [Listening to the Great Teacher] र बाइबलका कथाहरूको मेरो पुस्तक [My Book of Bible Stories] जस्ता प्रकाशनहरूको उपयोग गर्नु होस्।a
१४. पारिवारिक अध्ययनलाई नियमित रूपमा कसरी गर्न सकिन्छ, र एउटा नियमित पारिवारिक अध्ययन कायम गर्नका लागि तपाईंले के गर्नु भएको छ?
१४ ध्यान दिनु पर्ने एउटा अर्को क्षेत्र पारिवारिक अध्ययन हो। यो एउटा यस्तो कुरा हो जो सजिलैसित अनियमित अथवा खल्लो र देखावटी मात्र हुन सक्छ। र यस्तो हुँदा, आमा-बाबु र छोरा-छोरी दुवैका लागि यो एउटा दिक्कलाग्दो कुरा हुन जान्छ। अतः तपाईंले यसमा कसरी उन्नति ल्याउन सक्नु हुन्छ? सर्वप्रथम, तपाईंले अध्ययनका लागि ‘समय किन्नु पर्दछ’ [न्यु० व०] र त्यसको ठाउँमा टेलिभिजन अथवा अन्य अलमलाउने कुराहरूलाई आउन दिनु भएन। (एफिसी ५:१५-१७) परिवार- का एक जना शिर यसो भन्छन्: “हामीलाई हाम्रो पारिवारिक अध्ययन नियमित रूपमा गर्नु गाह्रो भइ रहेको थियो। हामीले बेग्ला-बेग्लै समयहरूमा त्यो गर्ने कोशिश गरे पछि, बल्ल बेलुकी पख एउटा समय फेला पार्यौं जो हाम्रालागि व्यावहारिक साबित भयो। अब भने हाम्रो पारिवारिक अध्ययन नियमित रूपमा गरिन्छ।”
१५. तपाईंले आफ्नो परिवारको आवश्यकता अनुसारको पारिवारिक अध्ययन कसरी गर्न सक्नु हुन्छ?
१५ त्यस पछि, तपाईंका परिवारका विशेष आवश्यकताहरूलाई ध्यान दिने गर्नु होस्। थुप्रै परिवारहरूले प्रहरीधरहरा-को साप्ताहिक पाठ सङ्गसङ्गै तयार गर्न मन पराउँछन्। तथापि, समय समयमा तपाईंको परिवारले छलफल गर्नु पर्ने विशेष प्रश्नहरू अथवा समस्याहरू उठ्न सक्छन् जसलाई छोरा-छोरीले स्कूलमा पनि सामना गर्नु परिरहेका होलान्। क्वेश्चन्स यङ्ग पिपल आस्क—आन्सर्स देत वर्क जस्तो पुस्तक र प्रहरीधरहरा र अवेक! पत्रिकाका लेखहरूले ती आवश्यकताहरूलाई पूरा गरी दिन सक्छन्। एउटा बाबु यसो भन्छन्: “सुधार्नु पर्ने कुनै त्यस्तो प्रवृत्ति आफ्ना छोराहरूमा देख्यौं भने, यङ्ग पिपल आस्क पुस्तकबाट हामी त्यही अध्यायलाई विशेष ध्यान दिने गर्दछौं जसमा त्यो प्रवृत्तिको छलफल गरिएको हुन्छ।” उनकी पत्नी अझ यसो भन्छिन्: “सकेसम्म हामी कुनै कठोर नियम बनाउने गर्दैनौं। अध्ययनका लागि कुनै खास विषय तोकिएको थियो तर अकस्मात बीचमा एउटा अर्कै कुरा छलफल गर्ने आवश्यकता उठ्यो भने, आवश्यकतानुसार हामी आफ्नो योजना बदलन्छौं।”
१६. (क) तपाईंका छोरा-छोरीहरूले सिकी रहेका कुराहरू बुझी पनि रहेका छन् भनी तपाईं कसरी निश्चित हुन सक्नु हुन्छ? (ख) पारिवारिक अध्ययन भइ रहेको बेलामा के चाहिं गर्नु हुँदैन?
१६ सिकी रहेका कुराहरू तपाईंका छोरा-छोरीहरूले वास्तवमा बुझि पनि रहेका छन् भनी तपाईं कसरी निश्चित हुन सक्नु हुन्छ? प्रधान शिक्षक येशूले मानिसहरूलाई तिनीहरूको दृष्टिकोण व्यक्त गर्न लाउने प्रश्नहरू सोध्नु हुन्थ्यो। यसको एउटा उदाहरण हो “तिम्रो के विचार छ?” (मत्ती १७:२५) तपाईंले पनि यसै गर्नु होस् र तपाईंका छोरा-छोरीहरूले वास्तवमा के सोच्तछन्, सो पत्ता लगाउने कोशिश गर्नु होस्। प्रत्येक बच्चालाई तिनका आफ्नै शब्दहरू प्रयोग गर्दै जवाब दिने प्रोत्साहन दिनु होस्। तर तिनीहरूले आफ्नो असली विचार इमानदारीका साथ व्यक्त गर्दा, तपाईं रिसाउनु अथवा आत्तिनु हुँदैन। नत्र भने तिनीहरू तपाईंसित फेरि मन खोलेर कुरा गर्न हिचकिचाउन सक्छन्। अतः शान्त हुनु होस्। पारिवारिक अध्ययनको समयलाई ताडना दिने समय नबनाउनु होस्। अध्ययन गर्ने समय आनन्दमय र ढाडसपूर्ण हुनु पर्दछ। एक जना पिता भन्छन्, “मेरो एक जना छोरा वा छोरीको कुनै विशेष समस्याबारे मलाई थाह लाग्यो भने, म त्यसको समाधान अर्कै बेलामा गर्ने गर्छु।” एउटी आमा भन्छिन्, “बच्चालाई एकान्तमा अलग्गै सम्झाउने गर्दा, तिनलाई अरूको सामुन्ने लाजमर्दो हुनु पर्दैन। साथै पारिवारिक अध्ययन भएको समयमा सल्लाह दिने नगरेर अलग्गै सल्लाह दिंदा, तिनी राम्रोसित मन खोलेर कुरा गर्न सक्छन्।”
१७. पारिवारिक अध्ययनलाई रोचक बनाउन के गर्न सकिन्छ, र तपाईंका परिवारका लागि कुन कुरा व्यावहारिक साबित भएको छ?
१७ पारिवारिक अध्ययनमा छोरा-छोरीलाई भाग लिन लगाउनु एउटा चुनौती हुनु सक्छ। विशेषगरी छोरा-छोरी सबै बेग्ला बेग्लै उमेरका छन् भने। स्यानो उमेरका केटा-केटीहरू चञ्चल अथवा रगरगे हुन सक्छन् र तिनीहरू कुनै एउटा विषयमाथि धेरै बेरसम्म ध्यान केन्द्रित गर्न पनि नसक्ला हो। यसकारण, तपाईं के गर्न सक्नु हुन्छ? अध्ययनको सञ्चालन कठोरता साथ नगर्नुहोस्। तपाईंका छोरा-छोरीले धेरै बेरसम्म ध्यान दिन सक्तैनन् भने, छोटो-छोटो तर पटक-पटक अध्ययन गर्ने गर्नु होस्। साथै तपाईंको आफ्नो उत्साह पनि धेरै नै काम आउँने छ। “शासन गर्नेले उत्साहका साथ [न्यु व०] गरोस्।” (रोमी १२:८) सबै जनालाई भाग लिन दिनु होस्। स-साना केटा-केटीहरूले नक्साहरू बारे टिप्पणी गर्न अथवा सरल प्रश्नहरूको जवाब दिन सक्छन्। कैशोर अवस्थाका छोरा-छोरीहरूलाई चाहिं थप अनुसन्धान गर्न अथवा छलफलको विषयको व्यावहारिकताबारे व्याख्या गर्न लाउन सकिन्छ।
१८. आमा-बाबुहरूले हर बखत आफ्ना छोरा-छोरीहरूको हृदयलाई परमेश्वरको वचनले कसरी प्रभावित पार्न सक्छन्, र यसको परिणाम के हुन सक्छ?
१८ तथापि, आध्यात्मिक उपदेश दिने कामलाई हप्ताको एक घण्टाभित्र सीमित नराख्नु होस्। तपाईंका छोरा-छोरीहरूको हृदयलाई परमेश्वरको वचनले प्रभावित पार्ने कोशिश हर बखत गरी रहनु होस्। (व्यवस्था ६:७) तिनीहरूको कुरा सुनी दिने समय निकाल्नु होस्। आवश्यक परेमा, तिनीहरूलाई सम्झाउनु होस्, आश्वासन दिनु होस्। (१ थिस्सलोनिकी २:११, सित तुलना गर्नु होस्।) दयालु र करुणामय हुनु होस्। (भजनसंग्रह १०३:१३; मलाकी ३:१७) यसो गर्नु भयो भने, तपाईंले आफ्ना छोरा-छोरीहरूमा “आनन्द” लिन सक्नु हुने छ र परमेश्वरको नयाँ संसारमा तिनीहरूका बचावका लागि काम गर्न सक्नु हुने छ।—हितोपदेश २९:१७.
“हाँस्ने एउटा समय”
१९, २०. (क) पारिवारिक जीवनमा मनोरञ्जनले के भूमिका निभाउँदछ? (ख) आमा-बाबुहरूले आ-आफ्ना परिवारका लागि मनोरञ्जनको प्रबन्ध कुन कुन ढङ्गमा मिलाउन सक्छन्?
१९ “हाँस्ने एउटा समय . . . नाच्ने एउटा समय” छ। (उपदेशक ३:४) “हाँस्न” भनेर प्रयोग गरिएको हिब्रू शब्दलाई “उत्सव मनाउनु” “खेल्नु” “खेल-कुद गर्नु” अथवा “रमाइलो मान्नु” जस्ता अभिव्यक्तिहरूद्वारा पनि अनुवाद गर्न सकिन्छ। (२ शमूएल ६:२१; अय्यूब ४१:५; न्याय १६:२५; प्रस्थान ३२:६; उत्पत्ति २६:८) खेलद्वारा एउटा लाभदायक उद्देश्य पूरा हुन सक्तछ र केटा-केटीहरू अथवा जवान मानिसहरूका लागि त्यो महत्त्वपूर्ण हो। बाइबलको समयमा, आफ्ना परिवारहरूका लागि आमा-बाबुहरूले मनोरञ्जनको प्रबन्ध मिलाउँद थिए। (लूका १५:२५ सित तुलना गर्नु होस्।) के तपाईं पनि यसै गर्नु हुन्छ?
२० एक जना मसीही पति भन्छन्: “आम जनताका लागि बनाइएका पार्कहरू हामी प्रयोग गर्दछौं। त्यहाँ केही जवान भाइहरूलाई निम्त्याएर हामी बल खेल्छौं र त्यहीं खाने पिउने पनि गर्छौं। सबै जनाले रमाइलो मान्नुका साथसाथै स्वस्थकर सङ्गतिको आनन्द पनि उठाउँछन्।” एक जना अर्को पिता भन्छन्: “हामी आफ्ना छोराहरू सित गर्न सकिने कुराहरूको योजना मिलाउँछौं। उदाहरणका लागि, हामी पौडी खेल्ने, बिदामा जाने र बल खेल्ने गर्छौं। तर मनोरञ्जनलाई हामी त्यसको आफ्नो ठाउँमा राख्छौं। म जहिले पनि सन्तुलन कायम राख्नमा जोड दिने गर्छु।” उचित प्रकारको भेटघाट अथवा चिडिया-खाना र म्युजियम जस्ता ठाउँहरूमा जाने गर्दा, सांसारिक मोज-मज्जा तिर आकर्षित हुन देखिन् छोरा-छोरी धेरै मात्रामा बच्न सक्छन्।
२१. सांसारिक चाडहरू नमनाउदा छोरा-छोरीहरूले आफू कुनै आनन्दबाट वञ्चित भएको भावना अनुभव नगरोस् भनेर आमा-बाबुहरूले के के गर्न सक्छन्?
२१ साथै, जन्मोत्सव अथवा गैर-मसीही चाडहरू नमनाउँदा, तपाईंका छोरा-छोरीहरूले आफूलाई कुनै आनन्दबाट वञ्चित भएको महसुस गर्नु भएन। तपाईंले अलिकता व्यवस्था मात्र मिलाई दिनु भयो भने, तिनीहरूले सालभरि थुप्रै आनन्दमय अवसरहरूको आशा राख्न सक्ने छन्। आखिर, शारीरिक तवर्मा आफ्नो प्रेम व्यक्त गर्नका लागि एक जना असल आमा वा बाबुलाई कुनै सांसारिक चाडको निहुँ चाहिंदैन। बरु, स्वर्गमा हुनु हुने तिनका पिता झैं, तिनले पनि कुनै करकाप बिना “आफ्ना छोरा-छोरीहरूलाई असल चीज दिन जान्दछन्।”—मत्ती ७:११.
तपाईंका परिवारका लागि एउटा अनन्तकालीन भविष्य निश्चित पार्न
२२, २३. (क) जसै महा-सङ्कष्ट नजिक आउँदछ, परमेश्वरको डर मान्ने परिवारहरू के को विषयमा निश्चित हुन सक्छन्? (ख) परमेश्वरको नयाँ संसारमा प्रवेश गर्न सक्नका लागि परिवारहरूले के गर्न सक्छन्?
२२ भजनसंग्रहका लेखकले यस प्रकार प्रार्थना गरे: “हे परमप्रभु, तपाईंले तिनीहरूलाई रक्षा गर्नुहुनेछ, यस पुस्तादेखि सधैंभरि तपाईंले तिनीहरूलाई जोगाएर राख्नुहुनेछ।” (भजनसंग्रह १२:७) शैतान बाट दबाव निश्चय नै बढ्ने छ—विशेषगरी यहोवाका साक्षीहरूका परिवारहरूको विरुद्धमा। तापनि, यो बढ्दो आक्रमणको सामना गर्न सम्भव छ। यहोवाको मद्दत र पतिहरू, पत्नीहरू र छोरा-छोरीहरूको दृढ सङ्कल्प र मेहनतद्वारा, परिवारहरूले—अर्थात् तपाईंको परिवार समेतले—महा-सङ्कष्टमा बाँच्ने आशा राख्न सक्नेछन्।
२३ पतिहरू र पत्नीहरू हो, तपाईंको ईश्वर-प्रदत्त भूमिकाहरू निभाउँदै आफ्नो परिवारमा शान्ति र मेल-मिलापको वातावरण सृजनु होस्। आमा-बाबु हो, आफ्ना छोरा-छोरीका लागि एउटा उचित उदाहरण कायम गर्नु होस्। तिनीहरूलाई आवश्यक प्रशिक्षण र अनुशासन दिन समय निकाल्नु होस्। तिनीहरू सित कुरा गर्नु होस्। तिनीहरूको कुरा पनि सुनी दिनु होस्। तिनीहरूको जीवन खतरामा छ! छोरा-छोरी हो, तपाईंहरूका आमा-बाबुहरूको कुरा सुन्ने गर्नु होस् र तिनीहरू प्रति आज्ञाकारी हुनु होस्। यहोवाको मद्दतद्वारा तपाईंहरू सफल हुन सक्नु हुन्छ र परमेश्वरको आउँदो नयाँ संसारमा आफ्ना लागि एउटा अनन्तकालीन भविष्य सुरक्षित पार्न सक्नु हुन्छ। (w92 10/15)
[फुटनोट]
a कुनै कुनै भाषाहरूमा यी क्यासेटहरूमा उपलब्ध छन्।
के तपाईंलाई सम्झना छ?
▫ पति-पत्नीहरूले तिनीहरूको कुरा-कानी गर्ने बानीमा कसरी उन्नति ल्याउन सक्छन्?
▫ आमा-बाबुहरूले छोरा-छोरीहरूलाई “प्रभुको शिक्षा”-मा कसरी हुर्काउन सक्छन्? (एफिसी ६:४)
▫ पारिवारिक अध्ययनलाई लाभदायक र अझ रोचक बनाउने केही तरीकाहरू के के हुन्?
▫ आमा-बाबुहरूले तिनीहरूका परिवारहरूका लागि मनोरञ्जनको प्रबन्ध मिलाउँदा के के गर्न सक्छन्?
[पृष्ठ २७-मा भएको पेटी]
सङ्गीत—एउटा शक्तिशाली प्रभाव
छोरा-छोरी हुर्काउने विषयमा लेखिएको पुस्तकको लेखक भन्छन्: “यदि म श्रोताहरूको सामुन्ने उभिएर . . . मतवालीपन, कोकेन, गाँजा अथवा मनलाई असर पार्ने यस्ता अन्य मादक पदार्थको प्रयोगलाई बढावा दिएँ भने, सबै जना चकित भएर मलाई हेर्ने थिए . . . तर यस्तै कामकुरालाई खुलेआम समर्थन् गर्ने रिकर्डहरू अथवा क्यासेटहरू किन्ने पैसा आमा-बाबुहरूले अक्सर आफ्ना छोरा-छोरीलाई दिने गर्छन्।” (रेजिङ्ग पोजिटिव किड्स इन ए नेगेटिव वर्ल्ड, लेखक जिग जिग्लर।) उदाहरणका लागि संयुक्त राष्ट्र अमेरिकामा यौनक्रियाबारे खुलस्तगरी चर्चा गर्ने गीतहरूलाई धेरै नौजवान व्यक्तिहरूले गाउने गर्छन्। सङ्गीतको नाउँमा जे पायो त्यही सुन्नु हुँदैन तर आफूले सुन्ने गानाहरू राम्रोसित छान्ने गर्नु पर्छ र यसप्रकार ती प्रेतहरूले बिछाएको जालबाट बच्नु सकिन्छ भन्दै के तपाईंले आफ्ना छोरा-छोरीहरूलाई मद्दत दिनु हुँदै छ?
[पृष्ठ २६-मा भएको चित्र]
खाना खाने समयहरू परिवारमा एकता र कुराकानीको वातावरणलाई बढावा दिने अवसरहरू हुन सक्छन्