बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
विगतमा बहुविवाह गरेका एक व्यक्ति, जो यहोवाका साक्षीहरूको विरोधी थिए, तिनले किन साक्षी बन्ने निर्णय गरे? एक पेन्टिकोस्टल चर्चका पादरीलाई आफ्नो विश्वास परिवर्तन गर्न कुन कुराले उत्प्रेरित गऱ्यो? दु:खद् वातावरणमा हुर्किएकी एउटी महिला कसरी आफूप्रतिको नकारात्मक भावना त्याग्न र परमेश्वरसित नजिक हुन सकिन्। हेभी-मेटल सङ्गीत मन पराउने व्यक्ति किन धर्मको सेवक बने? तिनीहरू आफै के भन्छन्, पढ्नुहोस्।
“अहिले म असल पति बन्न सकेको छु”—रिगोबर्ट ओएटो
जन्म मिति: सन् १९४१
जन्मस्थान: बेनिन
विगतमा: बहुविवाह गरेका व्यक्ति, यहोवाका साक्षीहरूको विरोधी
मेरो विगत:
म बेनिनको एउटा ठूलो सहर कोटोनोउमा जन्मेँ र त्यहीँ हुर्केँ। म क्याथोलिक परिवारमा हुर्केँ तर हामी नियमित रूपमा चर्च भने जाँदैनथ्यौँ। म बस्ने ठाउँका थुप्रै क्याथोलिक धर्म मान्नेहरूले बहुविवाह गरेका थिएँ। त्यहाँको कानुनले त्यसो गर्ने छुट दिएको थियो। मैले पनि समयको दौडान चार जना महिलासित विवाह गरेँ।
सन् १९७० को दशकमा क्रान्ति भएको देख्दा यसले देशको भलाइ गर्छ जस्तो लागेको थियो। त्यसैले मैले क्रान्तिलाई पूर्ण रूपमा साथ दिएँ र राजनीतिमा पनि भाग लिएँ। यहोवाका साक्षीहरू राजनीतिमा भाग नलिने भएकोले क्रान्तिकारीहरू तिनीहरूलाई मन पराउँदैनथे। यहोवाका साक्षीहरूलाई सताउनेहरूमध्ये म पनि एक थिएँ। सन् १९७६ मा साक्षी मिसनरीहरूलाई देशनिकाला गरिँदा तिनीहरू कहिल्यै पनि फर्कनेछैनन् भन्ने कुरामा म ढुक्क थिएँ।
बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?
सन् १९९० मा क्रान्तिको अन्त भयो। अचम्मको कुरा, साक्षी मिसनरीहरू फेरि देखा पर्न थाले। मलाई परमेश्वर तिनीहरूसित हुनुहुन्छ जस्तो लाग्न थाल्यो। त्यही समयतिर मेरो काम गर्ने ठाउँ परिवर्तन भयो। मसित काम गर्नेहरूमध्ये एक जना यहोवाको साक्षी रहेछन्, जसले मौका पाउनेबित्तिकै आफ्नो विश्वासबारे मलाई बताइहाले। तिनले मलाई बाइबल पदहरू देखाएर यहोवा प्रेम र न्यायका परमेश्वर हुनुहुन्छ भन्ने कुरा बुझाए। (व्यवस्था ३२:४; १ युहन्ना ४:८) म ती गुणहरूबाट प्रभावित भएँ। म यहोवाबारे अझ बुझ्न चाहन्थेँ। त्यसैले बाइबल अध्ययन गर्न राजी भएँ।
केही समयपछि नै म यहोवाका साक्षीहरूको सभामा उपस्थित हुन थालेँ। तिनीहरूले एकअर्कालाई देखाउने नि:स्वार्थ प्रेम देखेर म प्रभावित भएँ। तिनीहरूबीच कुनै किसिमको जातीय वा सामाजिक भेद थिएन। मैले साक्षीहरूसित जति सङ्गत गर्दै गएँ, त्यति नै तिनीहरू येसुका साँचो चेलाहरू हुन् भन्ने कुरामा विश्वस्त हुँदै गएँ।—युहन्ना १३:३५.
मैले यहोवाको सेवा गर्ने हो भने पहिला चर्च छोड्नुपर्छ भनेर सोचेँ। त्यसो गर्नु त्यति सजिलो थिएन किनकि मलाई अरूले के सोच्लान् भन्ने कुराको डर थियो। हुनत धेरै समय लाग्यो तर यहोवाको मदतले गर्दा मैले चर्च छोड्न साहस बटुल्न सकेँ।
मैले अझै अर्को एउटा ठूलो परिवर्तन गर्नुपर्थ्यो। बाइबलको अध्ययनबाट मैले यहोवा बहुविवाहलाई अनुमोदन दिनुहुन्न भनेर थाह पाएँ। (उत्पत्ति २:१८-२४; मत्ति १९:४-६) उहाँको नजरमा मेरो पहिलो विवाह मात्र स्वीकार्य थियो। त्यसैले मैले आफ्नो पहिलो विवाहलाई कानुनी रूपमा दर्ता गरेँ र अरू पत्नीहरूको भौतिक आवश्यकताहरू पूरा गर्ने प्रबन्ध मिलाइदिएर तिनीहरूबाट छुट्टिएँ। पछि तीमध्ये दुई जना यहोवाका साक्षी भए।
मैले कस्तो लाभ उठाएको छु?
मेरी पत्नी अहिले पनि क्याथोलिक धर्म मान्छिन्। तैपनि तिनी यहोवाको सेवा गर्ने मेरो निर्णयको कदर गर्छिन्। हामी दुवैले म पहिलेभन्दा राम्रो पति बन्न सकेको महसुस गर्छौँ।
मैले राजनीतिमा लागेर समाजलाई फाइदा पुऱ्याउन सक्छु जस्तो लाग्थ्यो तर मेरो सबै प्रयास खेर गयो। अहिले भने परमेश्वरको राज्यले मात्र मानिसजातिको सबै समस्या समाधान गर्न सक्छ भनेर बुझेको छु। (मत्ति ६:९, १०) यहोवाले मलाई कसरी साँच्चै आनन्दित जीवन बिताउने भनेर बुझ्न मदत दिनुभएकोमा म उहाँप्रति कृतज्ञ छु।
“मलाई परिवर्तनहरू गर्न सजिलो थिएन”—एलेक्स लेमोस सिल्भा
जन्म मिति: सन् १९७७
जन्मस्थान: ब्राजिल
विगतमा: पेन्टिकोस्टल पादरी
मेरो विगत:
म साओ पाओलो प्रदेशको इटु सहरमा हुर्केँ। सहरको त्यस भागमा थुप्रै अपराध हुने गर्थे।
म एकदमै हिंस्रक स्वभावको थिएँ र अनैतिक जीवन बिताउँथेँ। म लागूपदार्थ ओसारपसार गर्ने काम पनि गर्थेँ। त्यो कामले मलाई या त जेलमा या त मृत्युमा पुऱ्याउँछ भन्ने कुरा बुझेँ। त्यसैले मैले त्यो काम छोडेँ। त्यसपछि म पेन्टिकोस्टल चर्च जान थालेँ र पछि त्यहाँको पादरी बनेँ।
मैले चर्चमा गर्ने सेवाले मानिसहरूलाई साँच्चै मदत पुग्छ जस्तो मलाई लाग्थ्यो। मैले रेडियोमार्फत थुप्रै प्रवचन दिएँ, जसले गर्दा त्यस इलाकाका थुप्रैले मलाई चिन्थे। मैले बिस्तारै चर्चलाई आफ्ना सदस्यहरूको कुनै चासो छैन र परमेश्वरको महिमा गर्ने कुराबारे त झन् सोच्दै सोच्दैन भन्ने महसुस गरे। चर्चको उद्देश्य भनेकै पैसा जम्मा गर्नु हो जस्तो लाग्यो। त्यसैले मैले चर्चबाट राजीनामा दिने निर्णय गरेँ।
बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?
यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेपछि तिनीहरू अरू धर्महरूभन्दा फरक छन् भनेर बुझ्न मलाई धेरै समय लागेन। मलाई तिनीहरूको दुईवटा कुराले एकदमै प्रभाव पारे। पहिलो, यहोवाका साक्षीहरू परमेश्वर र छिमेकीप्रतिको प्रेमबारे कुरा मात्र गर्दैनन्, बरु कामबाट देखाउँछन्। दोस्रो, तिनीहरू राजनीति र युद्धमा भाग लिँदैनन्। (यसैया २:४) यी दुई कुराले गर्दा म आफूले साँचो धर्म, अर्थात् अनन्त जीवनतर्फ लैजाने साँघुरो बाटो भेट्टाएको कुरामा विश्वस्त भएँ।—मत्ति ७:१३, १४.
यहोवालाई खुसी पार्न मैले जीवनमा ठूलठूला परिवर्तनहरू गर्नुपर्छ भनेर बुझेँ। मैले आफ्नो परिवारलाई अझ ध्यान दिनुपर्थ्यो। म अझै नम्र हुनुपर्थ्यो। यी परिवर्तनहरू गर्न सजिलो थिएन तर यहोवाको मदतले म सफल भएँ। ममा आएको परिवर्तन देखेर मेरी पत्नी निकै प्रभावित भइन्। हुनत मैलेभन्दा अघि तिनले बाइबल अध्ययन सुरु गरेकी थिइन् तर तिनले त्यसपछि मात्र छिटोछिटो उन्नति गर्न थालिन्। हामी दुवै जना यहोवाको साक्षी बन्न चाहन्थ्यौँ। हामी दुवैले एकै दिन बप्तिस्मा गऱ्यौँ।
मैले कस्तो लाभ उठाएको छु?
म र मेरी पत्नी सँगै मिलेर हाम्रा तीन छोराछोरीलाई परमेश्वरसितको मित्रता बलियो बनाउन मदत गर्दाको अनन्द महसुस गर्न सक्यौँ। हाम्रो परिवार सुखी छ। परमेश्वरले उहाँको वचन बाइबलको सत्यतर्फ खिच्नुभएकोमा म उहाँप्रति कृतज्ञ छु। यसमा साँच्चै जीवन परिवर्तन गर्ने शक्ति छ। यसको एउटा ज्वलन्त प्रमाण म आफै हुँ।
“अहिले म साँच्चै स्वच्छ, जीवित र पूर्ण भएकी छु”—भिक्टोरिया टोङ
जन्म मिति: सन् १९५७
जन्मस्थान: अस्ट्रेलिया
विगतमा: दु:खद् बाल्यकाल
मेरो विगत:
म न्यु साउथ वेल्सको न्युकासलमा हुर्केँ। मेरो बुबा क्याथोलिक धर्म मान्नुहुन्थ्यो र निकै हिंस्रक हुनुहुन्थ्यो अनि आमा पनि हिंस्रक स्वभावको हुनुहुन्थ्यो। म उहाँहरूको सतौँ सन्तान हुँ। मैले आमाबाट शारीरिक र मौखिक दुर्व्यवहार सहनुपऱ्यो। उहाँ सधैँ मलाई ‘तिमी असाध्यै खराब भएकीले तिमीले नरकको आगोमा सास्ती भोग्नुपर्नेछ’ भन्ने गर्नुहुन्थ्यो। उहाँको यस्तो कुरा सुन्दा मलाई असाध्यै डर लाग्थ्यो।
आमाको पिटाइले गर्दा चोट लागेकोले नियमित रूपमा स्कुल जान सक्दिनथेँ। म ११ वर्षकी हुँदा मलाई आमाबुबाबाट छुटाएर एउटा सरकारी बाल आश्रममा राखियो र पछि एउटा चर्चमा लगियो। म १४ वर्षकी भएपछि त्यहाँबाट भागेँ। तर म घर फर्कन चाहन्नथेँ। त्यसैले सिड्नीको छेउमा भएको किङस् क्रसको सडकमै बस्न थालेँ।
सडकमा बस्दा मलाई लागूपदार्थ, रक्सी र अश्लील सामग्रीको लत लाग्यो र वेश्यावृत्ति पनि गर्न थालेँ। एउटा घटनाले गर्दा म असाध्यै डराएँ। म एउटा नाइटक्लबको मालिकको घरमा गएकी थिएँ। बेलुकी दुई जना पुरुष उसलाई भेट्न आए। उसले मलाई सुत्ने कोठामा पठायो तर त्यहाँबाट तिनीहरूको कुराकानी सुन्न सकिन्थ्यो। उसले मलाई तिनीहरूलाई बेच्न लागिरहेको मैले थाह पाएँ। तिनीहरूले मलाई एउटा जहाजमा राखेर जापानको एउटा बारमा काम गर्नको लागि पठाउने योजना बनाएका थिए। म आत्तिएर त्यहाँबाट हाम फालेँ र भागेँ।
भाग्दै गर्दा सिड्नी घुम्न आएको एक जना व्यक्तिलाई भेटेँ र आफ्नो अवस्थाबारे बताएँ। उसले मलाई केही पैसा दिन्छ भन्ने आशा मैले गरेकी थिएँ। तर उसले मलाई आफूकहाँ आएर नुहाउन र केही खान आग्रह गरे। म उसकहाँ गएँ र त्यहीँ बस्न थाले। एक वर्षपछि हामीले विवाह गऱ्यौँ।
बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?
यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेपछि मभित्र भावनाहरू उर्लिन थाले। सैतानले गर्दा सबै नराम्रो कुरा भएको हो भनेर थाह पाउँदा मलाई एकदमै रिस उठ्यो किनकि पहिले मलाई परमेश्वरले गर्दा दु:खकष्ट भएको हो भनेर सिकाइएको थियो। उहाँले मानिसहरूलाई नरकको आगोमा सजाय दिनुहुन्न भनेर थाह पाउँदा ढुक्क महसुस गरेँ किनकि नरकको शिक्षाले गर्दा म एकदमै डराएकी थिएँ।
साक्षीहरूले हरेक निर्णयमा बाइबलको डोऱ्याइ पछ्याएको देखेर म प्रभावित भएँ। तिनीहरू आफ्नो विश्वासअनुसारै जीवन बताउँछन्। म जिद्दी स्वभावकी थिएँ तर मैले जे भने पनि अनि जे गरे पनि साक्षीहरूले सधैँ मसित प्रेम र आदरपूर्वक व्यवहार गरे।
मलाई आफू कुनै कामको लायक छैनँ जस्तो लाग्थ्यो। म आफूलाई घृणा गर्थेँ। बप्तिस्मा गरेर यहोवाको साक्षी भएको लामो समयपछिसम्म पनि यस्तो भावनाले मलाई सताइरह्यो। यहोवालाई प्रेम गर्छु भन्ने कुरामा म विश्वस्त थिएँ तर उहाँले मजस्तो व्यक्तिलाई कहिल्यै प्रेम गर्नुहुन्न जस्तो लाग्थ्यो।
मैले बप्तिस्मा गरेको १५ वर्षपछि एउटा ठूलो परिवर्तन आयो। यहोवाका साक्षीहरूको सभाभवनमा भएको एउटा भाषणमा वक्ताले याकुब १:२३, २४ पढे। ती पदहरूमा परमेश्वरको वचनलाई ऐनासित तुलना गरिएको छ, जसमा हामीले आफूलाई यहोवाको दृष्टिकोणबाट हेर्न सक्छौँ। मैले आफूलाई यहोवाको दृष्टिकोणबाट हेर्न सकिरहेको छैन कि भन्ने जस्तो मलाई लाग्यो। सुरुमा त मैले त्यो तर्कलाई अस्वीकार गर्न खोजेँ। तैपनि यहोवाले मलाई प्रेम गर्नुहुन्छ भन्ने आशा गर्नु व्यावहारिक होइन जस्तो लागिरह्यो।
केही दिनपछि मैले एउटा बाइबल पद पढेँ, जसले गर्दा मेरो जीवन नै परिवर्तन भयो। त्यो पद यसैया १:१८ थियो, जहाँ यहोवा भन्नुहुन्छ: “आओ, हामी बसेर कुरा गरौँ। तिमीहरूका पापहरू सिन्दूरे रङ्का भए पनि ती हिउँजस्तै सेता हुनेछन्।” मलाई यहोवाले यसो भनिरहनुभएको जस्तो लाग्यो: “विकी, तिमी र म बसेर कुरा गरौँ। मलाई तिमीबारे थाह छ, तिम्रा पापहरू थाह छ अनि तिम्रो हृदय पनि बुझ्छु। म तिमीलाई प्रेम गर्छु।”
त्यस रात म निदाउनै सकिनँ। यहोवा मलाई प्रेम गर्नुहुन्छ भनेर अझै पनि शंका लागिरहेको थियो तर मैले येसुको फिरौतीको बलिदानबारे सोच्न थालेँ। यहोवाले यत्ति लामो समयदेखि मप्रति धीरजी हुँदै मलाई प्रेम देखाइरहनुभएको छ भन्ने कुरा अचानक सम्झेँ। तैपनि मैले उहाँलाई यसो भनिरहेकी रहेछु: “तपाईँको प्रेम त्यत्ति सशक्त छैन, यो मसम्म पुग्नै सक्दैन। तपाईँको छोराको बलिदानले मेरो पाप ढाक्न सक्दैन।” मैले फिरौतीको बलिदान अस्वीकार गरिरहेकी रहेछु। तर अहिले बल्ल उहाँको फिरौतीको बलिदानमा विश्वास गर्न र उहाँको प्रेम महसुस गर्न सकेँ।
मैले कस्तो लाभ उठाएकी छु?
अहिले म साँच्चै स्वच्छ, जीवित र पूर्ण भएकी छु। मेरो वैवाहिक जीवन अझ राम्रो भएको छ र म आफ्नो अनुभवबाट अरूलाई सिकाउन पाएकोमा खुसी छु। म परमेश्वरसित अझ नजिक भएको महसुस गर्छु।
“यही नै मेरो प्रार्थनाको जवाफ थियो”—सर्गे बोटानकिन
जन्म मिति: १९७४
जन्मस्थान: रूस
विगतमा: हेभी-मेटल सङ्गीतप्रति मोहित भएको
मेरो विगत:
म प्रख्यात सङ्गीतकार पोइटर इलिच चाइकोभ्स्की जन्मेको सहर वोट्किन्स्कमा जन्मेँ। मेरो परिवार गरिब थियो। मेरो बुबामा राम्रा गुणहरू थिए तर उहाँलाई रक्सीको लत लागेको थियो। त्यसैले हाम्रो परिवारको अवस्था सधैँ तनावपूर्ण हुन्थ्यो।
म पढाइ-लेखाइमा त्यति राम्रो थिइनँ। वर्षहरू बित्दै जाँदा ममा विश्वस्तताको कमी देखिन थाल्यो। म एक्लै बस्न मन पराउँथेँ र अरूमाथि भरोसा गर्दिनथेँ। मैले कक्षामा केही बोल्नुपर्दा अरूबेला सजिलै बताउन सक्ने सामान्य कुरा पनि बताउन सक्दिनथेँ। मैले ८ कक्षा पास गर्दा मेरो रिपोर्ट कार्डमा यस्तो लेखिएको थियो: “आफ्नो कुरा खुलेर बताउन सक्दैन र शब्दभण्डार पनि थोरै छ।” ती शब्दहरूले मलाई एकदमै चोट पुऱ्याए र मलाई आफू कामै नलाग्ने रहेछु जस्तो लाग्यो। त्यसैले म आफ्नो जीवनको उद्देश्य के होला भनेर सोच्न थालेँ।
म किशोर छँदा रक्सी पिउन थालेँ। सुरुसुरुमा रक्सी पिउँदा आनन्द महसुस हुन्थ्यो। तर अत्यन्तै पिउन थालेपछि मेरो अन्तस्करणले घोच्यो। मलाई आफू बाँच्नुको कुनै अर्थ छैन जस्तो लाग्यो। म झन्झनै निराश भएँ र कहिलेकाहीँ त थुप्रै दिनसम्म घरबाट बाहिरै निस्किदिनँथेँ। ममा आत्महत्या गर्ने सोचाइ पनि आउन थाल्यो।
बीस वर्षको भएपछि मैले क्षणिक आनन्द भेट्टाएँ। मैले हेभी-मेटल सङ्गीत सुन्न थालेँ। त्यस्तो सङ्गीत सुन्दा म जोशले भरिन्थेँ र त्यस्तै सङ्गीत मन पराउने अरूलाई खोज्थेँ। मैले लामो कपाल पालेँ, कान छेडेँ र आफूलाई मन पर्ने सङ्गीतकारहरूले जस्तै लुगा लगाउन थालेँ। समय बित्दै जाँदा म लापरवाह र झगडालु भएँ अनि परिवारका सदस्यहरूसित झगडा गरिरहन्थेँ।
हेभी-मेटल सङ्गीत सुन्दा म आनन्दित हुन्छु जस्तो लागेको थियो तर त्यसको उल्टो भइरहेको थियो। मेरो व्यक्तित्व पहिलेभन्दा निकै फरक भइसकेको थियो। मलाई मन पर्ने सङ्गीतकारहरूबारे कुनै नराम्रो कुरा सुन्दा मैले धोका पाएको महसुस गर्थेँ।
मैले फेरि आत्महत्या गर्नेबारे सोच्न थाले तर यसपटक भने कुरा गम्भीर भइसकेको थियो। मलाई रोक्ने एउटै मात्र कुरा भनेको मेरो यस कदमले आमालाई कस्तो असर पर्ला भन्ने थियो। उहाँ मलाई असाध्यै माया गर्नुहुन्थ्यो अनि मेरो निकै ख्याल राख्नुहुन्थ्यो। मलाई भावनात्मक रूपमा निकै पीडा भइरहेको थियो। म बाँच्न चाहन्नथेँ तर मर्न पनि सक्दिनथेँ।
मैले आफ्नो मनमा नकारात्मक सोच नआओस् भनेर रूसी भाषाका साहित्यहरू पढ्न थालेँ। मैले पढेको एउटा कथामा त्यसको मुख्य पात्रले चर्चमा सेवा गर्थ्यो। अचानक मेरो मनमा परमेश्वर र मानिसहरूको लागि केही गर्ने इच्छा जाग्यो। मैले परमेश्वरलाई प्रार्थना गरेर मनको सबै कुरा पोखेँ। मैले त्यस्तो पहिला कहिल्यै गरेको थिइनँ। म कसरी उद्देश्यपूर्ण जीवन बिताउन सक्छु भनेर बुझ्न परमेश्वरसित मदत मागेँ। अचम्मको कुरा, प्रार्थनाबाट मैले एकदमै राहत पाएँ। अझ अचम्मलाग्दो कुरा त, मैले प्रार्थना गरेको दुई घण्टापछि नै यहोवाका साक्षीहरूले मेरो घरको ढोका ढकढक्याए र बाइबल अध्ययनको प्रस्ताव राखे। यही नै मेरो प्रार्थनाको जवाफ थियो भनेर म ढुक्क भएँ। त्यो मेरो नयाँ र सुखी जीवनको पहिलो दिन थियो।
बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?
गाह्रो भएतापनि मैले आफूसित भएका हेभी-मेटलसित सम्बन्धित सबै चिजबिज फ्याकिदिएँ। तैपनि, त्यो सङ्गीत मेरो दिमागमा लामो समयसम्म गुन्जिरह्यो। हिँड्दा-हिँड्दै त्यस्तो गीत कतैबाट सुनेँ भने पहिलेका कुराहरू याद आइहाल्थ्यो। म पहिलेका तीता सम्झनाहरूले गर्दा अहिले मेरो मनमष्तिष्कमा भएका राम्रो कुराहरूमा असर पर्न दिन चाहन्नथेँ। त्यसैले मैले त्यस्ता ठाउँहरूमा जानै छोडिदिएँ। यसो गर्दा मैले “परमेश्वरको शान्ति” पाउन सकेँ “जुन मानिसको समझभन्दा बाहिरको छ।”—फिलिप्पी ४:७.
बाइबल अध्ययन गर्दै जाँदा ख्रिष्टियनहरूले आफ्नो विश्वासबारे अरूलाई बताउने जिम्मेवारी पाएका छन् भनेर मैले थाह पाएँ। (मत्ति २८:१९, २०) मलाई आफूले कहिल्यै त्यसो गर्न सक्दिनँ जस्तो लाग्थ्यो। तर आफूले सिकिरहेको नयाँ कुराबाट मैले प्रशस्त आनन्द र मनोशान्ति पाइरहेको थिएँ। त्यसैले अरूले पनि यस्तो सत्य थाह पाउनै पर्छ भनेर मैले बुझेको थिएँ। मलाई अरूसित कुरा गर्न डर लागे तापनि आफूले सिकिरहेको कुरा अरूलाई बताउन थालेँ। अचम्मको कुरा, अरूलाई बाइबलको कुरा बताउँदा मेरो आत्मविश्वास बढ्दै गयो। साथै मैले भर्खरै सिकेका कुराहरूबारे अरूलाई बताउँदा मेरो विश्वास बलियो भयो।
मैले कस्तो लाभ उठाएको छु?
अहिले म सुखी वैवहिक जीवनको आनन्द उठाउँदै छु। साथै मैले थुप्रैलाई बाइबलबारे सिक्न मदत गर्न सकेको छु। तीमध्ये मेरी बहिनी र आमा पनि हुनुहुन्छ। परमेश्वरको सेवा गर्न र अरूलाई उहाँबारे सिकाउन पाएको हुनाले मेरो जीवन अर्थपूर्ण भएको छ।