प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ५/१५ pp. १५-२०
  • ज्योतिका चमकहरू—ठूला र साना भाग एक

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ज्योतिका चमकहरू—ठूला र साना भाग एक
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “विश्‍वासी र बुद्धिमान दास”
  • आधुनिक समयमा ज्योतिका प्रारम्भिक चमकहरू
  • ज्योतिका चमकहरूको वृद्धि
  • क्रिस्मस—गैरमसीही बिदा
  • एउटा नयाँ नाउँ
  • उच्च पार्नु र “ठूलो भीड़”
  • क्रस—मसीही चिन्ह होइन
  • “दास” जो विश्‍वासी र बुद्धिमान्‌ दुवै छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • “वास्तवमा विश्‍वासी र बुद्धिमान्‌ दास को हो?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • प्रेरितहरूका समयमा ज्योतिका चमकहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • ज्योतिका चमकहरू —ठूला र साना भाग दुइ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ५/१५ pp. १५-२०

ज्योतिका चमकहरू—ठूला र साना भाग एक

“धर्मीको चाल बिहानको उज्यालोजस्तै हो, त्यो मध्य-दिन नहोउञ्जेल झन्‌ झन्‌ चहकिलो हुँदैजान्छ।”—हितोपदेश ४:१८.

१. सत्य किन क्रमानुसार प्रकट गरिएको छ?

हितोपदेश ४:१८ अनुरूप ज्योतिका चमकहरूद्वारा आध्यात्मिक सत्यहरू क्रमानुसार प्रकट हुनु ईश्‍वरीय बुद्धिको प्रमाण हो। यो पद प्रेरितहरूका समयमा कसरी पूरा भयो भनी हामीले यसअघिको लेखमा देख्यौं। एकै चोटि सम्पूर्ण आध्यात्मिक सत्य प्रकट भएको भए अँध्यारो गुफाबाट चहकिलो घाममा निस्कँदाजस्तै आँखा तिरमिराउने र गोलमाल हुनेथियो। यसबाहेक, क्रमानुसार प्रकटित सत्यले मसीहीहरूको विश्‍वासलाई अनवरत रूपले सुदृढ बनाउँछ। यसले तिनीहरूको आशा अझ उज्यालो र तिनीहरू हिंड्‌नुपर्ने बाटो झनै स्पष्ट बनाउँछ।

“विश्‍वासी र बुद्धिमान दास”

२. आफ्ना अनुयायीहरूलाई आध्यात्मिक ज्योति दिन कसलाई प्रयोग गर्नेछु भनी येशूले संकेत गर्नुभयो र त्यस माध्यममा को समावेश छन्‌?

२ प्रेरितहरूका समयमा येशूले आफ्ना अनुयायीहरूलाई अलौकिक माध्यमद्वारा ज्योतिका प्रारम्भिक चमकहरू प्रदान गर्न रोज्नुभयो। हामीसित यसका दुइवटा उदाहरणहरू छन्‌: ती हुन्‌, सा.यु. ३३ पेन्तिकोस र कर्नीलियसको धर्मपरिवर्तन भएको साल सा.यु. ३६। त्यसपश्‍चात्‌ आफूले भविष्यवाणी गर्नुभएअनुसार ख्रीष्टले मानव माध्यमहरू प्रयोग गर्न उपयुक्‍त ठान्‍नुभएको छ: “विश्‍वासी र बुद्धिमान दास को हो? उही हो, जसलाई त्यसको मालिकले ठीक ठीक समयमा खान देओस्‌ भनेर आफ्नो परिवारमाथि खटाएको हुन्छ? धन्य हो त्यो नोकर, जसलाई त्यसको मालिकले आएर त्यसै गरिरहेको भेट्टाउनेछ। म तिमीहरूलाई साँच्चै भन्दछु, उसले त्यसलाई आफ्नो सारा सम्पत्तिमाथि नियुक्‍त गर्नेछ।” (मत्ती २४:४५-४७) यो दास केवल एक व्यक्‍तिविशेष हुन सक्दैन किनभने पेन्तिकोसको समयदेखि मालिक, येशू ख्रीष्टले लेखा लिन आउनु नभएसम्म उसले मसीही मण्डलीलाई आध्यात्मिक आहार प्रदान गर्नुपर्थ्यो। तोकिएको समयमा यस पृथ्वीका सबै अभिषिक्‍त मसीहीहरूको समूह मिलेर यस विश्‍वासी र बुद्धिमान दास बनेको छ भनी तथ्यहरूले देखाउँछन्‌।

३. दासवर्गका प्रथम सदस्यहरूमा को को समावेश थिए?

३ यस विश्‍वासी र बुद्धिमान दासका प्रथम सदस्यहरूमा को को समावेश थिए? तिनीहरूमध्ये एक प्रेरित पत्रुस थिए। तिनले “मेरा भेड़ाहरूलाई चराऊ” भन्‍ने येशूको आज्ञा पालन गरे। (यूहन्‍ना २१:१७) त्यस दासवर्गको प्रारम्भिक सदस्यहरूमध्ये आफ्नो नाउँमा सुसमाचारको पुस्तक लेख्ने मत्ती र प्रेरित पत्रहरू लेख्ने पावल, याकूब तथा यहूदा थिए। प्रकाशको पुस्तक, सुसमाचारको पुस्तक साथै पत्रहरूका लेखक, प्रेरित यूहन्‍ना पनि विश्‍वासी र बुद्धिमान दासको प्रारम्भिक सदस्य थिए। यिनीहरूले येशूको आज्ञाअनुरूप बाइबलका पुस्तकहरू लेखे।

४. “परिवार” को हो?

४ पृथ्वीमा जहाँसुकै भए तापनि सामूहिक तवरमा सबै अभिषिक्‍त जनहरू दासवर्गका सदस्यहरू हुन्‌ भने “परिवार” को हो त? तिनीहरू व्यक्‍तिविशेषको आधारमा अभिषिक्‍त जनहरू नै हुन्‌। हो, व्यक्‍तिविशेषको हैसियतमा खाना दिइरहेको वा लिइरहेको आधारमा तिनीहरू “दास” वा “परिवार” हुनेछन्‌। एउटा उदाहरण हेरौं: २ पत्रुस ३:१५, १६ मा लिपिबद्ध गरिएअनुसार प्रेरित पत्रुसले पावलका पत्रहरूबारे उल्लेख गरेका छन्‌। ती पत्रहरू पढ्‌दा दासवर्गको प्रतिनिधित्व गर्ने पावलले प्रदान गरेको आध्यात्मिक भोजन खाइरहेको परिवारमध्ये एक पत्रुस हुन्थे।

५. (क) प्रेरितहरूपश्‍चात्‌ शताब्दीयौंसम्म दासलाई के भयो? (ख) सन्‌ १९ औं शताब्दीको पछिल्ला दशकहरूतिर के कस्ता विकासहरू हुनथाले?

५ यस सन्दर्भमा गड्‌स किंगडम अफ अ थाउजन्ड यर्स ह्‍याज अप्रोच्ड (परमेश्‍वरको हजार वर्षीय राज्य नजीकै आएको छ) पुस्तकले यसो भन्यो: “मालिक, येशू ख्रीष्टका प्रेरितहरूको मृत्युपश्‍चात्‌ शताब्दीयौंसम्म ‘विश्‍वासी र बुद्धिमान दासको’ अस्तित्व कसरी कायम रह्‍यो र तिनीहरूले कसरी सेवा गरे भन्‍ने विषयमा हामीसित स्पष्ट ऐतिहासिक अभिलेख छैन। सम्भवतः ‘दास’ वर्गको एक पुस्ताले त्यसपछिका पुस्ताहरूलाई आध्यात्मिक भोजन प्रदान गरे होलान्‌। (२ तिमोथी २:२) तर उन्‍नाइसौं शताब्दीका पछिल्ला दशकहरूमा पवित्र बाइबलको आध्यात्मिक भोजन मन पराउने र त्यस्तो आहार खान चाहने ईश्‍वरभीरु मानिसहरू थिए। . . . बाइबल अध्ययन कक्षाहरू . . . गठन गरिए र पवित्र शास्त्रका आधारभूत सत्यहरू प्रगतिशील ढंगमा बुझ्न थालियो। यी बाइबल स्टुडेन्टस्‌मध्ये इमान्दार निःस्वार्थ जनहरू आफूसित भएको आध्यात्मिक आहारका यी अपरिहार्य अंशहरू अरूलाई बाँड्‌न उत्सुक थिए। आफ्नो ‘परिवारलाई’ ‘ठीक ठीक समयमा’ आवश्‍यक आध्यात्मिक भोजन दिन ‘दासको’ विश्‍वासी मनोभाव तिनीहरूमा थियो। तिनीहरू यस अर्थमा ‘बुद्धिमान’ थिए किनभने तिनीहरूले भोजन दिने सही र उचित समयको साथसाथै सर्वोत्तम माध्यम चिने। तिनीहरूले त्यो आहार प्रदान गर्न प्रयास गरे।”—पृष्ठ ३४४-५.a

आधुनिक समयमा ज्योतिका प्रारम्भिक चमकहरू

६. क्रमानुसार सत्य प्रकट हुने सम्बन्धमा कुन तथ्यहरू स्पष्ट देखिन्छन्‌?

६ आध्यात्मिक ज्योति क्रमानुसार बढाउन यहोवाले चलाउनुभएका मानिसहरूमा प्रष्टै देखिने एउटा तथ्य के हो भने, तिनीहरूले जे जति गरे त्यसको कुनै श्रेय लिएनन्‌। तिनीहरूका सामान्य योग्यताहरू प्रयोग गर्न प्रभु रमाउनुहुन्छ भन्‍ने मनोवृत्ति वाच टावर सोसाइटीका प्रथम अध्यक्ष, सी. टी. रसलको थियो। तिनका शत्रुहरूले चलाउने उपनामहरूबारे भाइ रसलले कोही “रसलवाद” आफूले कहिल्यै नभेटेको र “रसलवादी” भन्‍ने कुरा अस्तित्वमै नभएको भनी स्पष्ट पारे। तिनले सम्पूर्ण श्रेय परमेश्‍वरलाई दिए।

७. आफू साँच्चै विश्‍वासी र बुद्धिमान दाससित सम्बन्धित छन्‌ भनेर भाइ रसल र उनका सहकर्मीहरूले कस्तो प्रमाण दिए?

७ परिणामहरूलाई हेर्ने हो भने, भाइ रसल र तिनका सहकर्मीहरूका प्रयासहरूलाई यहोवाको पवित्र आत्माले डोऱ्‍याइरहेको थियो भन्‍नुमा कुनै शंका छैन। तिनीहरूले आफू विश्‍वासी र बुद्धिमान दाससित सम्बन्धित भएको प्रमाण दिए। तत्कालीन धेरै पादरीहरूले बाइबल, परमेश्‍वरको वचन हो र येशू, परमेश्‍वरको पुत्र हुनुहुन्छ भनी विश्‍वास गरेको दाबी गरे तापनि तिनीहरूले त्रिएक, मानव आत्माको अमरता, अनन्त शासनाजस्ता झूटा, बेबिलोनी शिक्षाहरूमा खुल्लमखुल्ला स्वीकृति दिए। येशूको प्रतिज्ञाअनुरूप भाइ रसल र तिनका सहकर्मीहरूको विनम्र प्रयासहरूले गर्दा अपूर्व ढंगमा वर्तमान सत्य चम्कनुको श्रेय साँच्चै पवित्र आत्मालाई जान्छ। (यूहन्‍ना १६:१३) ती अभिषिक्‍त बाइबल स्टुडेन्टस्‌ले आफू साँच्चै विश्‍वासी र बुद्धिमान दासवर्गको भाग भएको प्रमाण दिए। मालिकको परिवारलाई आध्यात्मिक आहार प्रबन्ध गर्नु तिनीहरूको दायित्व थियो। अभिषिक्‍त जनहरू जम्मा गर्ने काममा तिनीहरूका प्रयासहरू ठूलो सहायक थियो।

८. यहोवा, बाइबल, येशू ख्रीष्ट र पवित्र आत्मासम्बन्धी कुन आधारभूत तथ्यहरू बाइबल स्टुडेन्टस्‌ले स्पष्टसित बुझे?

८ प्रारम्भिक बाइबल स्टुडेन्टस्‌लाई ज्योतिका चमकहरू दिनुभएर पवित्र आत्माद्वारा यहोवाले यति धेरै अनुग्रह प्रदान गर्नु उल्लेखनीय कुरा हो। सर्वप्रथम, सृष्टिकर्ताको अस्तित्व छ र उहाँको अनुपम नाउँ यहोवा हो भनी तिनीहरूले आफ्नो अडान कायम गरे। (भजन ८३:१८; रोमी १:२०) यहोवाका चार आधारभूत गुनहरू—शक्‍ति, न्याय, बुद्धि र प्रेम हुन्‌ भनेर तिनीहरूले बुझे। (उत्पत्ति १७:१; व्यवस्था ३२:४; रोमी ११:३३; १ यूहन्‍ना ४:८) बाइबल, परमेश्‍वरको प्रेरित वचन र सत्य हो भनी ती अभिषिक्‍त मसीहीहरूले स्पष्टसित बुझे। (यूहन्‍ना १७:१७; २ तिमोथी ३:१६, १७) यसबाहेक, परमेश्‍वरको पुत्र, येशू ख्रीष्ट सृजनु भएको थियो र सारा मानवजातिको निम्ति उहाँले आफ्नो जीवन बलिदान चढाउनुभयो भनेर तिनीहरूले विश्‍वास गरे। (मत्ती २०:२८; कलस्सी १:१५) पवित्र आत्मा, त्रिएकको कुनै भाग नभई परमेश्‍वरको सक्रिय शक्‍ति हो भनी तिनीहरूले बुझे।—प्रेरित २:१७.

९. (क) मानिसको स्वभाव र बाइबलमा प्रदान गरिएका आशासम्बन्धी कस्ता सत्यहरू बाइबल स्टुडेन्टस्‌ले स्पष्टसित बुझे? (ख) यहोवाका सेवकहरूले अन्य कुन सत्यहरू स्पष्टसित बुझे?

९ मानिसमा अमर आत्मा हुँदैन तर ऊ नश्‍वर प्राणी हो भनी बाइबल स्टुडेन्टस्‌ले स्पष्टसित बुझे। “पापको ज्याला मृत्यु हो” अनन्त शासना होइन र अग्निमय नरक छैन भनी तिनीहरूले बुझे। (रोमी ५:१२; ६:२३; उत्पत्ति २:७; इजकिएल १८:४) यसका साथै, विकासवादको सिद्धान्त अशास्त्रीय मात्र होइन तर निराधार पनि छ भनी तिनीहरूले छर्लंग देखे। (उत्पत्ति, अध्याय १ र २) बाइबलले दुइटा आशा अर्थात्‌ ख्रीष्टका १,४४,००० अभिषिक्‍त अनुयायीहरूका लागि स्वर्गीय आशा र अनगिन्ती “अरू भेड़ा[को]” “ठूलो भीड़[का]” निम्ति प्रमोदवनरूपी पृथ्वीको आशा प्रदान गर्छ भनी तिनीहरूले बुझे। (प्रकाश ७:९; १४:१; यूहन्‍ना १०:१६) पृथ्वी सधैंभरि रहिरहन्छ र थुप्रै धर्महरूले सिकाएझैं यो डढिनेछैन भनी ती प्रारम्भिक बाइबल स्टुडेन्टस्‌ले बुझे। (उपदेशक १:४; लूका २३:४३) ख्रीष्टको आगमन अदृश्‍य हुनेछ र पछि उहाँले राष्ट्रहरूमाथि न्यायदण्ड कार्यान्वयन गर्नुभएर पार्थिव प्रमोदवन ल्याउनुहुनेछ भनेर तिनीहरूले सिके।—प्रेरित १०:४३; रोमी ८:१९-२१; १ पत्रुस ३:१८.

१०. बप्तिस्मा, पादरी र जनसाधारणबीचको भिन्‍नता तथा ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सवबारे बाइबल स्टुडेन्टस्‌ले कस्तो सत्य सिके?

१० शास्त्रीय बप्तिस्मा शिशुहरूलाई पानी छर्कने नभई सिकाइएका विश्‍वासीहरूलाई मत्ती २८:१९, २० मा येशूको आज्ञाअनुसार निमज्जन गर्नु हो भनी बाइबल स्टुडेन्टस्‌ले सिके। पादरी र जनसाधारणबीच भिन्‍नताको कुनै शास्त्रीय आधार नभएको पनि तिनीहरूले बुझे। (मत्ती २३:८-१०) त्यसको विपरीत, सबै मसीहीहरू सुसमाचारको प्रचारक हुनुपर्छ। (प्रेरित १:८) ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सव केवल वर्षको एक चोटि नीसान १४ मा मनाउनुपर्छ भनी बाइबल स्टुडेन्टस्‌ले बुझे। साथै इस्टर, गैरमसीही उत्सव हो भनी तिनीहरूले बुझे। यसबाहेक, आफ्नो काममा परमेश्‍वरको पूर्ण समर्थन छ भनी बाइबल स्टुडेन्टस्‌ यति निर्धक्क थिए, तिनीहरूले कहिल्यै वित्तीय संकलन गरेनन्‌। (मत्ती १०:८) बाइबलका सिद्धान्तअनुरूप मसीहीहरूले जीवन बिताउनुपर्छ र त्यसमा परमेश्‍वरको पवित्र आत्माको फल खेती गर्नु पनि समावेश छ भनी सुरुदेखि नै तिनीहरूले बुझे।—गलाती ५:२२, २३.

ज्योतिका चमकहरूको वृद्धि

११. मसीहीहरूको दायित्व अनि भेडा र बाख्रासम्बन्धी येशूको उदाहरणमाथि कस्तो ज्योति चम्कियो?

११ विशेषगरि १९१९ देखि यहोवाका सेवकहरूले ज्योतिका थप चमकहरूको आशिष्‌ पाएका छन्‌। यहोवाका सेवकहरूको प्रमुख दायित्व “राजा तथा उहाँको राज्यको विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌ र विज्ञापन गर्नुहोस्‌!” भनी वाच टावर सोसाइटीका दोस्रो अध्यक्ष, जे. एफ. रदरफोर्डले १९२२ सिडार प्वाइन्ट अधिवेशनमा जोड दिएर भन्दा ज्योतिको चमक साँच्चै नै चम्कियो! त्यसको ठीक एक वर्षपछि भेडा र बाख्राको उदाहरणमा चम्किलो ज्योति चम्क्यो। पहिले सोचेझैं यो भविष्यवाणी भविष्यमा सहस्र वर्षीय राज्यको दौडान नभई अहिले प्रभुको दिनमा पूरा हुनेछ भनेर बुझियो। त्यस सहस्र वर्षीय राज्यको दौडान ख्रीष्टका भाइहरू नता बिरामी हुनेछन्‌ नता तिनीहरू थुनामा पर्नेछन्‌। यसबाहेक, सहस्र वर्षीय राज्यको अन्तमा येशू ख्रीष्टले नभई यहोवा परमेश्‍वरले न्याय गर्नुहुनेछ।—मत्ती २५:३१-४६.

१२. आरमागेडोनको विषयमा कस्तो ज्योति चम्कियो?

१२ बाइबल स्टुडेन्टस्‌ले कुनै समय सोचेझैं आरमागेडोनको युद्ध कुनै सामाजिक क्रान्ति होइन भनी सन्‌ १९२६ मा ज्योतिको चहकिलो चमकले प्रकट गऱ्‍यो। बरु, यो यहोवा नै परमेश्‍वर हुनुहुन्छ भनी सारा मानवजाति विश्‍वस्त हुने ढंगमा उहाँले आफ्नो शक्‍ति प्रदर्शन गर्नुहुने युद्ध हुनेछ।—प्रकाश १६:१४-१६; १९:१७-२१.

क्रिस्मस—गैरमसीही बिदा

१३. (क) क्रिस्मस उत्सवबारे कुन कुरा प्रकाश पारियो? (ख) किन जन्मोत्सवहरू मनाउन छाडियो? (पादटिप्पणी समावेश गर्नुहोस्‌।)

१३ त्यसको केही समयभित्रै ज्योतिको चमकले गर्दा बाइबल स्टुडेन्टस्‌ले क्रिस्मस मनाउन छाडे। त्यसअघि, संसारभरिका बाइबल स्टुडेन्टस्‌ले क्रिस्मस मनाउँदै आएका थिए र ब्रुक्लिन मुख्यालयमा यो उत्सव हर्षोल्लासको साथ मनाइन्थ्यो। तर डिसेम्बर २५ को उत्सव वास्तवमा गैरमसीही भएको र गैरमसीहीहरूलाई धर्म परिवर्तन गराउन सजिलो पार्नको लागि धर्मत्यागी मसीहीजगतले छानेको उत्सव हो भनेर बुझियो। यसबाहेक, येशू जाडो महिनामा जन्मनुभएको हुनसक्दैन किनभने उहाँ जन्मिनु हुँदा गोठालाहरूले आफ्नो बगाल चराइरहेका थिए र डिसेम्बर महिनाको अन्ततिर राती यसो गर्नु सम्भव थिएन भनी तिनीहरूले बुझे। (लूका २:२) बरु, अक्टोबर १ तिर येशू जन्मनुभएको हुनुपर्छ भनी शास्त्रले संकेत गर्छ। येशूको जन्मको लगभग दुइ वर्षपछि उहाँलाई भेट्‌न आउने तथाकथित बुद्धिजीवीहरू गैरमसीही ज्योतिषहरू थिए भनेर पनि बाइबल स्टुडेन्टस्‌ले बुझे।b

एउटा नयाँ नाउँ

१४. बाइबल स्टुडेन्टस्‌ भन्‍ने नाउँ यहोवाका जनहरूलाई किन उपयुक्‍त ठहरिएन?

१४ सन्‌ १९३१ मा प्राप्त सत्यको चम्किलो ज्योतिले बाइबल स्टुडेन्टस्‌लाई उपयुक्‍त शास्त्रीय नाउँ प्रकट गऱ्‍यो। रसलवादी, सहस्र वर्षीय शासनका प्रजाहरू, र “नरकको अस्तित्वलाई इन्कार गर्नेहरू” भनी अरूले दिएका कुनै पनि उपनामहरू तिनीहरूले स्वीकार्न सक्दैनन्‌ भनी यहोवाका जनहरूले बुझिसकेका थिए।c तर तिनीहरू आफैले अपनाएको नाउँ अर्थात्‌ इन्टरनेशनल बाइबल स्टुडेन्टस्‌ले पनि तिनीहरूको पूर्ण प्रतिनिधित्व नगरेको तिनीहरूले बुझ्न थाले। तिनीहरू बाइबल विद्यार्थीहरू मात्रै थिएनन्‌। यसबाहेक, त्यतिबेला त्यस्ता बाइबलका विद्यार्थीहरू थुप्रै थिए जसको केही पनि कुरा बाइबल स्टुडेन्टस्‌सित मिल्दैनथियो।

१५. सन्‌ १९३१ मा बाइबल स्टुडेन्टस्‌ले कुन नाउँ अपनाए र त्यो किन उपयुक्‍त छ?

१५ बाइबल स्टुडेन्टस्‌ले यो नयाँ नाउँ कसरी पाए? वर्षौंदेखि द वाच टावर-ले यहोवाको नाउँलाई महत्त्वपूर्ण स्थान दिइँदै आएको थियो। तसर्थ, यशैया ४३:१० मा पाइने नाउँ बाइबल स्टुडेन्टस्‌ले स्वीकार्नु सबैभन्दा उपयुक्‍त थियो: “परमप्रभु भन्‍नुहुन्छ, ‘तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ। तिमीहरूले मलाई जान्‍न र विश्‍वास गर्न सक, र म उही हुँ भनी बुझ्न सक। मेरो अघि कोही परमेश्‍वर थिएन, नता मेरो पछि कोही हुनेछ।’”

उच्च पार्नु र “ठूलो भीड़”

१६. पुनर्स्थापनासम्बन्धी भविष्यवाणीहरू प्यालेस्टाइन फर्केका शारीरिक यहूदीहरूमाथि किन लागू हुन सक्दैन तर त्यो कसमाथि लागू हुन्छ?

१६ अविश्‍वास र राजनैतिक उत्प्रेरणा लिएर प्यालेस्टाइन फर्किरहेका शारीरिक यहूदीहरूमा यशैया, यर्मिया, इजकिएल र अन्य अगमवक्‍ताहरूले लिपिबद्ध गरेका पुनर्स्थापनासम्बन्धी भविष्यवाणीहरू लागू (पहिले सोचेझैं) हुँदैन भनेर सन्‌ १९३२ मा वाच टावर सोसाइटीद्वारा प्रकाशित भिन्डिकेशन-को (उच्च पार्नु) दोस्रो संस्करणमा ज्योतिको चमक प्रकट गरियो। बरु, सा.यु.पू. ५३७ मा बेबिलोनी दासत्वबाट फर्किरहेका यहूदीहरूमाथि यी पुनर्स्थापनासम्बन्धी भविष्यवाणीहरूको सानो पूर्ति भयो। तर सन्‌ १९१९ देखि सुरु भएको आत्मिक इस्राएलको छुटकारा र पुनर्स्थापनाका साथै आज यहोवाका साँचो जनहरूले आनन्द उठाइरहेको आध्यात्मिक प्रमोदवनको संवृद्धिमा त्यसको महान्‌ पूर्ति हुन्छ।

१७, १८. (क) समय बित्दै जाँदा ज्योतिको चमकद्वारा यहोवाको प्रमुख उद्देश्‍य कुन थियो भनेर प्रकट भयो? (ख) सन्‌ १९३५ मा प्रकाश ७:९-१७ को सन्दर्भमा कुन ज्योति प्रकट भयो?

१७ यहोवाको प्रमुख उद्देश्‍य मानिसहरूको मुक्‍ति होइन तर आफ्नो सार्वभौमिकता उच्च पार्नु हो भनेर समय बित्दै जाँदा ज्योतिका चमकहरूले प्रकट गऱ्‍यो। बाइबलको सबैभन्दा महत्त्वपूर्ण विषय छुटकाराको बलिदान होइन तर राज्य हो भनेर बुझियो किनभने त्यसले यहोवाको सार्वभौमिकतालाई उच्च पार्नेछ। ज्योतिको कस्तो चमक थियो त्यो! समर्पित मसीहीहरूको एक मात्र चासो स्वर्गमा जानु थिएन।

१८ प्रकाश ७:९-१७ मा उल्लिखित ठूलो भीड स्वर्गमा जाने दोस्रो समूह होइन भनी सन्‌ १९३५ मा चम्किलो ज्योतिको चमकले प्रकट गऱ्‍यो। ती पदहरूमा उल्लिखित केही अभिषिक्‍त जनहरू पूर्ण रूपमा विश्‍वासी नभएकोले येशू ख्रीष्टसित राजा र पूजाहारी भई सिंहासनमा बस्नुको साटो सिंहासनको सामु उभिरहेका छन्‌ भन्‍ने सोचाइ राखिन्थ्यो। तर आंशिक विश्‍वासीलोपन भन्‍ने कुरा वास्तवमा हुँदैन। कुनै पनि व्यक्‍ति या त विश्‍वासी हुन्छ नभए अविश्‍वासी। अतः सारा राष्ट्रहरूबाट जम्मा गरिएको पार्थिव आशा हुने अनगिन्ती ठूलो भीडलाई यो भविष्यवाणीले संकेत गर्छ भनेर प्रष्टियो। तिनीहरू मत्ती २५:३१-४६ को “भेड़ा” र यूहन्‍ना १०:१६ को “अरू भेड़ा” हुन्‌।

क्रस—मसीही चिन्ह होइन

१९, २०. क्रस किन साँचो मसीही धर्मको प्रतीक हुन सक्दैन?

१९ धेरै वर्षसम्म बाइबल स्टुडेन्टस्‌ले क्रसलाई मसीही धर्मको एउटा प्रतीकको रूपमा महत्त्व दिएका थिए। तिनीहरूले “क्रस र राजमुकुट” भएको पिनसमेत लगाउँथे। किंग जेम्स्‌ भर्सन-अनुसार येशूले आफ्ना अनुयायीहरूलाई तिनीहरूका “क्रस” उठाउन आदेश दिनुभयो। त्यसैकारण उहाँ क्रसमा मारिनुभयो भनी धेरैले विश्‍वास गर्न थाले। (मत्ती १६:२४; २७:३२) दशकौंसम्म यो प्रतीक वाच टावर पत्रिकाको आवरण पृष्ठमा पनि प्रकाशित भयो।

२० येशू क्रसमा होइन तर ठाडो खामा वा काठमा मारिनुभएको थियो भनेर सोसाइटीले सन्‌ १९३६ मा प्रकाशित गरेको रिचेज (धन) पुस्तकले स्पष्ट पाऱ्‍यो। एक आधिकारिक सूत्रअनुसार किंग जेम्स्‌ भर्सन-मा “क्रस” भनेर अनुवाद गरिएको युनानी शब्दले (स्टाउरोस्‌) “मुख्यतः ठाडो खम्बा वा काठलाई संकेत गर्छ। [यो] पादरीहरूले प्रयोग गर्ने दुइटा खामा भएको क्रस होइन। . . . पादरीहरूले चलाउने क्रसको सुरुआत पुरातन कल्दीबाट भएको थियो र त्यसलाई तम्मूज देवको प्रतीकको रूपमा प्रयोग गरिन्थ्यो।” येशूलाई लट्‌काइएको वस्तुलाई उपासना गर्नुको साटो त्यसलाई साह्रै अप्रिय दृष्टिकोणले हेर्नुपर्ने हो।

२१. यसपछिको लेखमा कुन कुरा छलफल गरिनेछ?

२१ ज्योतिका ठूला र साना मान्‍न सकिने थप चमकहरू प्रकट भएका अन्य उदाहरणहरू पनि छन्‌। यिनीहरूको छलफलको लागि कृपया यसपछिको लेख हेर्नुहोस्‌।

[फुटनोटहरू]

a वाचटावर बाइबल एण्ड ट्रयाक्ट सोसाइटी अफ न्यु योर्क, इंकद्वारा प्रकाशित

b सबैभन्दा महत्त्वपूर्ण व्यक्‍तिको जन्मोत्सव त मनाउनु हुँदैन भने हामीले कसैको पनि जन्मोत्सव मनाउनु हुँदैन भनेर समयमा बुझियो। यसबाहेक, नता इस्राएली न प्रारम्भिक मसीहीहरूले जन्मोत्सव मनाए। बाइबलमा दुइ जनाको जन्मोत्सव मात्र उल्लेख गरिएको छ। त्यो हो, फिरऊन र हेरोद एन्टिपासको। दुवै उत्सवमा मृत्युदण्ड दिइएको थियो। यहोवाका साक्षीहरू जन्मोत्सवहरू मनाउँदैनन्‌ किनभने यी उत्सवहरूको सुरुआत गैरमसीही हुनुको साथै त्यसले जन्मोत्सव मनाउने व्यक्‍तिलाई अरूभन्दा उच्च पार्न खोज्छ।—उत्पत्ति ४०:२०-२२; मर्कूस ६:२१-२८.

c यो गल्ती मसीहीजगतका थुप्रै गुटहरूले गरे। मार्टिन लुथरका शत्रुहरूले तिनका अनुयायीहरूलाई दिएको नाउँ लुथरवादी थियो र त्यो नाउँ तिनीहरूले पछि स्वीकारे। त्यस्तैगरि, निमज्जनद्वारा बप्तिस्माको प्रचार गरेकोले गैरबाप्टिस्टहरूले बाप्टिस्टहरूलाई दिएको उपनाम तिनीहरूले स्वीकारे। झन्डै त्यस्तै प्रकारले गैरमेथोडिस्टले दिएको नाउँ मेथोडिस्टहरूले स्वीकारे। सोसाइटी अफ फ्रेन्डस्‌ कसरी क्वेकर्स हुन पुगे भन्‍ने सम्बन्धमा द वर्ल्ड बूक इन्साइक्लोपीडिया यसो भन्छ: “अंग्रेजी शब्द क्वेकर सुरुमा फक्सको [संस्थापक] अपमान गर्न प्रयोग गरिएको थियो। तिनले एक बेलाइती न्यायाधीशलाई ‘प्रभुको वचनसित थर थर काँप’ भनेका थिए। न्यायाधीशले फक्सलाई ‘क्वेकर’ भनी नामाकरण गरे।”

के तपाईंलाई सम्झना छ?

◻ “विश्‍वासी र बुद्धिमान दास” को हो र “परिवार” को हो?

◻ आधुनिक समयमा ज्योतिका प्रारम्भिक चमकहरू के के थिए?

◻ यहोवाका साक्षीहरू भन्‍ने नयाँ नाउँ किन उपयुक्‍त थियो?

◻ सन्‌ १९३५ मा कस्ता उल्लेखनीय सत्यहरू प्रकट भए?

[पृष्ठ १७-मा भएको चित्र]

सी.टी. रसल र उनका सहकर्मीहरूले आध्यात्मिक ज्योति फैलाए तर सम्पूर्ण श्रेय यहोवालाई दिए

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने