आमाको ममतामा देखिने परमेश्वरको माया
“के कुनै स्त्रीले आफ्नो दूधेबालकलाई बिर्सनसक्छ र? आफ्नो गर्भको बालकलाई के त्यसले टिठाउँदैन र? यिनीहरूले बिर्सन पनि सक्छन्, तर मता तँलाई बिर्सन सक्दिनँ।” —यशैया ४९:१५.
एउटी आमा भर्खरै जन्मेको आफ्नो बच्चालाई दूध खुवाउँदै छिन् अनि बच्चा आमाको काखमा लुटपुटिंदैछ। यो दृश्य कोमलता र मायालाई चित्रण गर्ने एउटा उदाहरण हो। पाम नाउँ गरेकी एउटी आमाले यसो भनिन्: “पहिलो चोटि आफ्नो बच्चालाई बोक्दा म मायाले भरिएँ र आफ्नो काँधमा ठूलो जिम्मा आएको महसुस गरें।”
आमाको ममताले बच्चाको विकासमा ठूलो असर गर्छ भन्ने कुरा जगजाहेर छ तर अनुसन्धानहरूले पनि यस तथ्यलाई पुष्टि गरेको छ। विश्व स्वास्थ्य संगठनद्वारा मानसिक स्वास्थ्यसम्बन्धी प्रकाशित रिपोर्टअनुसार: “आमाबाट अलग्गिएका वा त्यागिएका बच्चाहरू दुःखी र निराश हुन्छन् अनि कोही-कोही त आत्तिने पनि हुन्छन्।” (वर्ल्ड हेल्थ अर्गनाइजेसन प्रोग्राम अन मेन्टल हेल्थ) सोही रिपोर्टमा अर्को एउटा अध्ययनबारे यस्तो पनि भनिएको थियो, राम्रो हेरविचार नपाएका बच्चाहरूभन्दा सानैदेखि माया र हेरविचार पाएका बच्चाहरूको बुद्धि धेरै विकास हुन्छ जस्तो देखिन्छ।
आमाको माया कत्तिको महत्त्वपूर्ण छ भन्ने सन्दर्भमा अमेरिकाको एउटा शिक्षण अस्पतालमा (यु सि एल ए स्कूल अफ मेडिसिन) मनोचिकित्सा पढाउने प्राध्यापक एलेन शोर यसो भन्छन्: “बच्चाले गाँस्ने पहिलो सम्बन्ध अर्थात् आमासितको सम्बन्ध कस्तो हुन्छ त्यसले नै पछि उसले गाँस्ने सबै भावनात्मक सम्बन्धहरूलाई स्थायी असर गर्छ।”
दुःखको कुरा, डिप्रेसन, बिमारी वा अन्य दबाबहरूले गर्दा आमाले आफ्नो बच्चालाई बेवास्ता गर्न वा ‘आफ्नो दूधे बालकलाई बिर्सन’ समेत सक्छ। (यशैया ४९:१५) तर यी त अपवाद मात्र हुन्। आमाहरू छोराछोरीलाई माया गर्ने क्षमतासहित बनाइएका हुन्छन् जस्तो देखिन्छ। बच्चा जन्माउने समयमा आमाहरूको शरीरमा हुने एक प्रकारको रासायनिक पदार्थ, अक्सिटोजिन भन्ने हर्मोनको मात्रा बढ्छ र पाठेघरको संकुचन गराउँछ अनि पछि शरीरमा दूध बनाउनको लागि पनि यसले मदत गर्छ भन्ने कुरा अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्। यो हर्मोन पुरुष र स्त्री दुवैमा हुन्छ अनि त्यसले बच्चालाई निःस्वार्थ माया गर्ने प्रबल इच्छा जगाउँछ भन्ने धारणा राखिन्छ।
यस्तो माया कहाँबाट?
क्रमविकासका पक्षधरहरूले निःस्वार्थ प्रेम, जस्तो कि आमा र बच्चाबीच हुने प्रेम पनि संयोगले भएको हो र यसले मानव प्राणीलाई फाइदा पुऱ्याउने भएकोले प्राकृतिक छनौटद्वारा साँचेर राखिएको हो भनी सिकाउँछन्। उदाहरणको लागि, एउटा पत्रिकाले (अनलाइन पत्रिका मदरिङ म्यागजिन) यसो भन्छ: “घस्रेर हिंड्ने प्राणीबाट क्रमविकास हुँदै मानिस भएपछि हाम्रो दिमागमा सबैभन्दा पहिला विकास भएको भाग भनेको लिम्बिक प्रणाली थियो जुन सबै प्रकारको भावनाको केन्द्रबिन्दू हो। दिमागको यही भागले गर्दा आमा र बच्चाबीच आत्मीय सम्बन्ध गाँस्न सम्भव भएको हो।”
हो, लिम्बिक प्रणालीले हाम्रा भावनाहरूमा महत्त्वपूर्ण भूमिका खेल्छ भनेर अनुसन्धानहरूले प्रस्ट पारेको छ। तर, के यो तर्क तपाईंको मनले खान्छ: आमाले बच्चालाई निःस्वार्थ ढंगमा माया गर्न सक्नुको कारण घस्रेर हिंड्ने प्राणीबाट हाम्रो दिमागमा संयोगले बनिएको भागले गर्दा नै हो।
अर्को तर्कलाई विचार गर्नुहोस्। मानिसलाई परमेश्वरको स्वरूपमा अर्थात् उहाँमा भएका गुणहरूसहित सृष्टि गरिएको थियो भनी बाइबल बताउँछ। (उत्पत्ति १:२७) परमेश्वरको प्रमुख गुण प्रेम हो। प्रेरित यूहन्नाले यस्तो लेखे: “प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन।” किन? “किनभने परमेश्वर प्रेम हुनुहुन्छ।” (१ यूहन्ना ४:८) कृपया याद गर्नुहोस्, यस शास्त्रपदमा उहाँसित प्रेम छ भनिएको छैन। बरु, उहाँ आफै नै प्रेम हुनुहुन्छ भनिएको छ। प्रेमको स्रोत स्वयम् परमेश्वर हुनुहुन्छ।
बाइबलमा प्रेमको व्याख्या यसरी गरिएको छ: “प्रेम धीरजी र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, प्रेमले आफै सेखी गर्दैन, र घमण्डले फुल्दैन। आफै बेकायदासाथ चल्दैन, आफ्नै भलाइ खोज्दैन, रिसाउँदैन खराबीको वास्ता गर्दैन। अधर्ममा खुशी हुँदैन, तर सत्यमा खुशी हुन्छ। सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्दछ, सबै कुराको आशा गर्छ, सबै कुरामा स्थिर रहन्छ। प्रेम कहिल्यै टल्दैन।” (१ कोरिन्थी १३:४-८) विभिन्न गुणमध्ये सबैभन्दा उत्कृष्ट यो गुण केवल संयोगले आयो भन्ने कुरा के तपाईंलाई सही लाग्छ?
तपाईंलाई कसरी असर गर्छ?
अघिल्लो अनुच्छेदमा तपाईंले प्रेमको व्याख्या पढ्नुभयो। यो पढ्दा के तपाईंमा कसैले त्यस्तै प्रेम देखाओस् भन्ने तृष्णा जागेन? त्यस्तो चाह हुनु स्वाभाविक हो। किन? किनभने हामी “परमेश्वरको सन्तान” हौं। (प्रेरित १७:२९) त्यस्तो प्रेम पाउन र दिन सक्ने गरी हामी रचिएका छौं। साथै, परमेश्वरले हामीलाई गहिरो प्रेम गर्नुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौं। (यूहन्ना ३:१६; १ पत्रुस ५:६, ७) यस लेखको सुरुमा उद्धृत गरिएको शास्त्रपदमा बताइएझैं परमेश्वरको माया आमाको मायाभन्दा पनि बलियो र सदा रहिरहने हुन्छ!
तर तपाईंलाई लाग्ला: ‘परमेश्वर बुद्धिमान्, शक्तिशाली र मायालु हुनुहुन्छ भने उहाँले किन दुःखकष्टको अन्त नगरेको त? बच्चाहरू मरिरहेका छन्, दमन भइरहेको छ अनि मनमानी र लोभको कारण पृथ्वीमा हानि भइरहेको छ, यी सबै उहाँले किन रोक्नुहुन्न त?’ यी प्रश्नहरू विचारणीय छन् र यसको चित्तबुझ्दो जवाफ पाउनुपर्छ।
नदेखेसम्म पत्याउन सकिंदैन भन्ने मानिसहरूको दाबीको बावजूद यी प्रश्नहरूको चित्तबुझ्दो जवाफ पाउन सकिन्छ। संसारभरि थुप्रै मानिसले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेर यी प्रश्नहरूको जवाफ पाएका छन्। हामी तपाईंलाई पनि बाइबल अध्ययन गर्न निमन्त्रणा दिन्छौं। परमेश्वरको वचन र उहाँको सृष्टिको अध्ययनद्वारा उहाँबारे तपाईंको ज्ञान बढ्दै गएपछि परमेश्वर “हामी हरेकबाट टाढा हुनुहुन्न” भन्ने कुरामा तपाईं विश्वस्त हुनुहुनेछ।—प्रेरित १७:२७. (w 08 5/1)
[पृष्ठ ८-मा भएको चित्रको स्रोत]
हामीप्रतिको परमेश्वरको माया आमाको मायाभन्दा पनि रहिरहने हुन्छ