प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ७/१ pp. २६-२७
  • “म फर्कनेछु”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “म फर्कनेछु”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “मैले पश्‍चात्ताप गरें”
  • “त्यसप्रति मेरो साह्रै माया छ”
  • “हे यहोवा म फर्कनेछु!”
  • यहोवा—हाम्रो कोमल अनुकम्पापूर्ण पिता
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • यर्मियाको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • यर्मियाजस्तै साहसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • यहोवा सबैले पश्‍चात्ताप गरेको चाहनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ७/१ pp. २६-२७

परमेश्‍वरको नजिक हुनुहोस्‌

“म फर्कनेछु”

के तपाईं कुनै समय यहोवाको सेवा गर्नुहुन्थ्यो? के तपाईं फेरि उहाँको सेवा गर्न चाहनुहुन्छ? तर उहाँले तपाईंलाई फेरि स्वीकार्नुहोला कि नहोला भनेर सोच्दै हुनुहुन्छ कि? त्यसोभए यो र यसपछिको लेख ध्यान दिएर पढ्‌नुहोस्‌। यी खासगरि तपाईंकै लागि तयार पारिएका हुन्‌।

“हे  यहोवा, मलाई क्षमा दिनुहोस्‌, म तपाईंकहाँ फर्कनेछु।” एउटी महिलाले यस्तो भावना व्यक्‍त गरिन्‌। तिनले सानैदेखि यहोवाबारे सिकेकी थिइन्‌ तर पछि तिनी अन्तै बरालिइन्‌। तिनी यहोवाकहाँ फर्कन चाहन्छिन्‌ भनेर सुन्दा के तपाईंको मनमा दया जाग्छ? के तपाईंको मनमा यस्ता प्रश्‍नहरू खेल्छन्‌: “कुनै समय परमेश्‍वरको सेवा गरेका तर पछि उहाँलाई त्यागेका व्यक्‍तिहरूप्रति परमेश्‍वर कस्तो महसुस गर्नुहुन्छ? के उहाँ तिनीहरूलाई सम्झनुहुन्छ? के उहाँ तिनीहरू ‘फर्केर’ आएको चाहनुहुन्छ?” यी प्रश्‍नहरूको जवाफ पाउन यर्मियाका शब्दहरू विचार गरौं। ती जवाफले तपाईंको मन पक्कै छुनेछ।—यर्मिया ३१:१८-२०, NRV पढ्‌नुहोस्‌।

यर्मियाले कस्तो परिवेशमा उक्‍त कुरा लेखेका थिए, विचार गर्नुहोस्‌। यर्मियाको समयभन्दा दशकौंअघि ईसापूर्व ७४० मा यहोवाले इस्राएलको दस गोत्रे राज्यलाई अश्‍शूरीहरूको दासत्वमा पर्न दिनुभयो।a आफ्ना जनलाई अनुशासन दिन परमेश्‍वरले यस्तो विपत्ति भोग्न दिनुभयो किनभने उहाँका भविष्यवक्‍ताहरूले पटक-पटक चेतावनी दिए तापनि तिनीहरू घोर पापमा फसे। (२ राजा १७:५-१८) आफ्ना परमेश्‍वर र आफ्नो मातृभूमिबाट धेरै टाढा निर्वासनमा पर्दा तिनीहरूले अनेकन्‌ कठिनाइहरू भोग्नुपऱ्‍यो। के यसले गर्दा तिनीहरूको मनोवृत्ति परिवर्तन भयो? के यहोवाले तिनीहरूलाई चटक्कै बिर्सनुभयो? के उहाँले तिनीहरूलाई फेरि स्वीकार्नुहुनेथियो?

“मैले पश्‍चात्ताप गरें”

दासत्वमा पर्दा मानिसहरूको होस फर्कियो र तिनीहरू पश्‍चात्ताप गर्न अघि सरे। तिनीहरूले गरेको साँचो पश्‍चात्ताप यहोवाले याद गर्नुभयो। निर्वासित इस्राएलीहरू अर्थात्‌ एफ्राइमले देखाएको मनोवृत्ति र तिनीहरूको भावना यहोवा कसरी व्यक्‍त गर्नुहुन्छ, ध्यान दिनुहोस्‌।

यहोवा भन्‍नुहुन्छ, “एफ्राइमको विलाप मैले निश्‍चय नै सुनें।” (पद १८) आफ्नो पापी मार्गले निम्त्याएको दुःखद परिणामले गर्दा इस्राएलीहरूले विलाप गरे र त्यो यहोवाले सुन्‍नुभयो। तिनीहरू अफसोस मानेर मुन्टो हल्लाइरहने बरालिएको छोराजस्तै थिए, जसले आफ्नै कारणले गर्दा कठिनाइ भोग्यो र घर फर्कन हतारियो। (लूका १५:११-१७) ती मानिसहरू के भनेर विलाप गर्दैथिए?

“एउटा नसुध्रिएको बाछालाई झैं तपाईंले मलाई अनुशासन गर्नुभयो।” (पद १८) आफू अनुशासन पाउन योग्यका थिए भनेर ती मानिसहरूले स्वीकारे। हुन पनि तिनीहरू नसुध्रिएका बाछाजस्तै भएका थिए। एउटा पुस्तकको टिप्पणीअनुसार यस्तो तुलनाले के देखाउँछ भने तिनीहरू “अनुशासन चाहिने” टेढो बाछोजस्तै भएका थिए।

“मलाई पुनर्स्थापित गर्नुहोस्‌, र म फर्कनेछु। किनभने तपाईं परमप्रभु मेरा परमेश्‍वर हुनुहुन्छ।” (पद १८) ती मानिसहरू नम्र भए र परमेश्‍वरलाई पुकारे। तिनीहरू पापी मार्गमा डुबेका थिए तर अब भने उहाँको अनुमोदन फेरि पाउनको लागि उहाँलाई बिन्ती गर्दै थिए।

“म लज्जित भएँ, र म होचिएँ।” (पद १९) पाप गरेकोले ती मानिसहरू पछुताए। तिनीहरूले आफ्नो गल्ती स्वीकारे अनि दोषी महसुस गरे। तिनीहरूले आफू अपमानित भएको र त्यागिएको महसुस गर्दै आफ्नो छाती पिटे।—लूका १५:१८, १९, २१.

इस्राएलीहरूले पश्‍चात्ताप गरे। तिनीहरूले दुःख माने, परमेश्‍वरसामु आफ्नो पाप स्वीकारे अनि गलत मार्ग छोडेर उहाँतिर फर्के। तिनीहरूले पश्‍चात्ताप गर्दा के परमेश्‍वरको मनमा तिनीहरूप्रति दया जाग्ने थियो? के उहाँले तिनीहरूलाई फर्कन दिनुहुनेथियो?

“त्यसप्रति मेरो साह्रै माया छ”

यहोवा इस्राएलीहरूलाई असाध्यै माया गर्नुहुन्थ्यो। उहाँले भन्‍नुभयो: “म इस्राएलको पिता हुँ, र एफ्राइमचाहिं मेरो जेठो छोरो हो।” (यर्मिया ३१:९, NRV) एक जना मायालु बुबाले साँचो पश्‍चात्ताप गर्ने छोरालाई स्वीकार्न इन्कार गर्ला र? बुबाले आफ्नो छोरालाई देखाउने जस्तै माया यहोवा आफ्ना जनलाई कसरी देखाउनुहुन्छ, हेर्नुहोस्‌।

“के एफ्राइम मेरो प्यारो छोरो होइन र, जसमाथि म खुशी हुन्छु? त्यसको विरुद्धमा मैले जति नै बोले तापनि मलाई त्यसैको याद अझै आउँछ।” (पद २०) कस्तो मायालु शब्द! मायालु तर दृढ बुबाजस्तै परमेश्‍वर आफ्ना जनको “विरुद्धमा” बोल्न बाध्य हुनुभयो, तिनीहरूको पापी मार्गबारे उहाँले पटक-पटक चेतावनी दिनुपऱ्‍यो। तिनीहरू अटेर भएर उहाँको कुरा सुन्‍न नमान्दा उहाँले तिनीहरूलाई निर्वासनमा पर्न दिनुभयो। भनौं भने, तिनीहरूले आफ्नो घर छोड्‌नुपऱ्‍यो। उहाँले तिनीहरूलाई सजाय दिनुपरे तापनि तिनीहरूलाई बिर्सनुभएन। उहाँ कहिल्यै त्यसो गर्नुहुन्‍न। मायालु बुबाले आफ्ना छोराछोरीलाई बिर्संदैनन्‌। आफ्ना जनले साँचो पश्‍चात्ताप गरेको देख्दा यहोवाले कस्तो महसुस गर्नुभयो?

“मेरो हृदय त्यसको लागि लालसा गर्दछ। त्यसप्रति मेरो साह्रै माया छ।” (पद २०) यहोवा आफ्ना जनको लागि लालसा गर्नुहुन्छ। तिनीहरूले साँचो पश्‍चात्ताप गर्दा उहाँको मन पग्लियो र तिनीहरू फर्केको हेर्न लालसा गर्नुभयो। उडन्ते छोराको दृष्टान्तको बुबाजस्तै यहोवा आफ्ना जन देखेर ‘टिठाउनुभयो’ र घरमा स्वागत गर्न उत्सुक हुनुभयो।—लूका १५:२०.

“हे यहोवा म फर्कनेछु!”

यर्मिया ३१:१८-२० का शब्दहरूले यहोवाको कोमल करुणा र कृपाबारे बुझ्न मदत गर्छ। कुनै समय यहोवाको सेवा गरेकाहरूलाई उहाँ बिर्सनुहुन्‍न। ती व्यक्‍तिहरू यहोवाकहाँ फर्कन चाहन्छन्‌ भने नि? उहाँ ‘क्षमा गर्न’ तयार हुनुहुन्छ। (भजन ८६:५) पश्‍चात्ताप गरेर फर्कनेहरूलाई उहाँले कहिल्यै तिरस्कार गर्नुहुनेछैन। (भजन ५१:१७) उहाँ तिनीहरूलाई खुसीसाथ स्वागत गर्नुहुन्छ।—लूका १५:२२-२४.

सुरुमा उल्लेख गरिएको महिला यहोवाकहाँ फर्कन अग्रसर भइन्‌ र नजिकैको मण्डलीमा गइन्‌। आफ्नो मनमा उब्जिएको नकारात्मक भावनालाई सुरुमा तिनले दबाउनुपऱ्‍यो। तिनी भन्छिन्‌: “मैले असाध्यै अयोग्य महसुस गरें।” तर मण्डलीका एल्डरहरूले तिनलाई हौसला दिए अनि परमेश्‍वरसितको सम्बन्ध पुनः कायम गर्न मदत गरे। कृतज्ञताले ओतप्रोत हुँदै तिनी भन्छिन्‌: “म असाध्यै खुसी छु, यहोवाले मलाई स्वीकार्नुभयो।”

तपाईं कुनै समय यहोवाको सेवा गर्नुहुन्थ्यो र फेरि उहाँको सेवा गर्न चाहनुहुन्छ भने तपाईंको नजिकै रहेको यहोवाका साक्षीहरूको मण्डलीमा जान हामी तपाईंलाई आग्रह गर्छौं। पश्‍चात्ताप गरेर “म फर्कनेछु” भनी पुकारा गर्दा यहोवाले दया र कृपा देखाउनुहुनेछ भनेर कहिल्यै नबिर्सनुहोस्‌। (w12-E 04/01)

[फुटनोट]

a शताब्दीयौंअघि ईसापूर्व ९९७ मा इस्राएल राज्य दुइटा राज्यमा टुक्रियो। एउटा हो, दक्षिणमा यहूदाको दुई गोत्रे राज्य अनि अर्कोचाहिं उत्तरमा इस्राएलको दस-गोत्रे राज्य, जसलाई एप्रैम अर्थात्‌ एफ्राइम पनि भनिन्छ। एफ्राइम सबैभन्दा ठूलो गोत्र भएकोले उत्तरी राज्य यही नामबाट पनि चिनिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने