प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ३/१५ pp. २८-३२
  • यर्मियाजस्तै जागा रहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यर्मियाजस्तै जागा रहनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एउटा जरुरी सन्देश
  • मानिसहरूप्रति प्रेम
  • परमेश्‍वरले दिनुहुने साहस
  • अपार आनन्द
  • आफूलाई सुम्पिइएको काम पूरा गर्न ‘जागा रहनुहोस्‌!’
  • यर्मियाजस्तै साहसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • यर्मियाको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • यहोवा यर्मियालाई प्रचार गर्न पठाउनुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • बोल्न नडराउने मान्छे
    छोराछोरीलाई सिकाउनुहोस्‌
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ३/१५ pp. २८-३२

यर्मियाजस्तै जागा रहनुहोस्‌

“म [यहोवा] आफ्नो वचन पूरा गर्न जागा रहिरहेको छु।”—यर्मि. १:१२, NW.

१, २. यहोवा ‘जागा रहिरहनुलाई’ किन हाडे-बदामको रूखसित तुलना गरिएको छ?

लबानोन र इस्राएलको डाँडामा सबैभन्दा पहिला फूल लाग्ने रूखमध्ये हाडे-बदामको रूख एउटा हो। यसमा लाग्ने सुन्दर गुलाबी वा सेता फूलहरू जनवरीको अन्त वा फेब्रुअरीको सुरुतिरै देख्न सकिन्छ। हिब्रूमा यसको शाब्दिक अर्थ, “ब्यूँझने रूख” हो।

२ यहोवाले यर्मियालाई आफ्नो भविष्यवक्‍ता नियुक्‍त गर्नुहुँदा एउटा महत्त्वपूर्ण यथार्थलाई प्रस्ट पार्न हाडे-बदामको रूखको यस विशेषतालाई उदाहरणको रूपमा प्रयोग गर्नु उपयुक्‍त थियो। भविष्यवक्‍ता यर्मियाले आफ्नो सेवाको काम सुरु गर्दा दर्शनमा तिनलाई त्यस रूखको एउटा हाँगा देखाइएको थियो। त्यसको अर्थ के थियो? यहोवाले भन्‍नुभयो: “म आफ्नो वचन पूरा गर्न जागा रहिरहेको छु।” (यर्मि. १:११, १२, NW) हाडे-बदामको रूख वर्षको सुरुमै ब्यूँझिएझैं पछि गर्ने कामबारे यहोवा आफ्ना जनलाई चाँडै बताउनुहुन्छ। अनाज्ञाकारी हुँदाको परिणामबारे आफ्ना जनलाई चेतावनी दिन उहाँले विगतमा भविष्यवक्‍ताहरू पठाउनुभयो। (यर्मि. ७:२५) अनि आफ्नो भविष्यसूचक वचन पूरा नभएसम्म उहाँ आराम गर्नुहुनेथिएन अर्थात्‌ ‘जागा रहनुहुनेथियो।’ ईसापूर्व ६०७ मा अर्थात्‌ तोकिएको समयमै धर्मत्यागी यहूदा राष्ट्रमाथि यहोवाको न्यायदण्ड आयो।

३. यहोवाबारे हामी कुन कुरामा पक्का हुन सक्छौं?

३ त्यसरी नै आज यहोवा आफ्नो उद्देश्‍य पूरा गर्न जागा अर्थात्‌ सजग हुनुहुन्छ। आफ्नो वचन पूरा गर्ने कामलाई बेवास्ता गर्नु उहाँको लागि असम्भव छ। यहोवा सजग हुनुहुन्छ भन्‍ने कुराले तपाईंलाई कस्तो असर पार्छ? अहिले २०११ सालमा पनि यहोवा आफ्ना प्रतिज्ञाहरू पूरा गर्न “जागा” हुनुहुन्छ भनेर के तपाईं विश्‍वास गर्नुहुन्छ? यहोवाका पक्का प्रतिज्ञाहरूबारे हामीलाई कुनै शङ्‌का छ भने प्रतीकात्मक अर्थमा निद्राले लोलाउने नभई जागा हुने समय अहिल्यै हो। (रोमी १३:११) यहोवाको भविष्यवक्‍ता भएकाले यर्मिया जागा रहिरहे। परमेश्‍वरले दिनुभएको काम पूरा गर्न यर्मिया कसरी अनि किन जागा रहिरहे भनी केलाउँदा यहोवाले दिनुभएको काममा हामी पनि कसरी लागिरहन सक्छौं भनी बुझ्नेछौं।

एउटा जरुरी सन्देश

४. सन्देश सुनाउने सिलसिलामा यर्मियाले कस्ता चुनौतीहरू सामना गरे अनि सन्देश सुनाउनु किन जरुरी थियो?

४ यहोवाले यर्मियालाई पहरादारको काम अह्राउनुहुँदा तिनी २५ वर्षको हाराहारीमा थिए होलान्‌। (यर्मि. १:१, २) तर त्यस राष्ट्रका बूढा-प्रधानहरूसामु बोल्न तिनले आफू बच्चै र असाध्यै अयोग्य महसुस गरे किनभने तिनीहरू उमेरमा पाका र अख्तियारप्राप्त व्यक्‍तिहरू थिए। (यर्मि. १:६) तिनले खास गरी पुजारी, झूटा भविष्यवक्‍ता, शासकहरूलगायत “आफ्नो आफ्नै बाटोतिर” लागेका अनि ‘निरन्तर पछि हट्‌दै तर्किन’ थालेका व्यक्‍तिहरूको घोर भर्त्सना गर्नुका साथै भयानक न्यायदण्डको सन्देश सुनाउनुपर्नेथियो। (यर्मि. ६:१३; ८:५, ६) लगभग चार शताब्दीदेखि साँचो उपासनाको केन्द्रबिन्दु रहँदै आएको राजा सुलेमानको महिमित मन्दिर अब विनाश हुनेथियो। यरूशलेम र यहूदा उजाड हुनेथियो अनि त्यहाँका बासिन्दाहरू कैदी बनाएर लगिनेथिए। यसकारण यर्मियाले सुनाउनुपर्ने सन्देश साँच्चै जरुरी थियो!

५, ६. (क) आज यहोवाले यर्मियावर्गलाई कसरी चलाइरहनुभएको छ? (ख) हाम्रो अध्ययन कुन कुरामा केन्द्रित हुनेछ?

५ वर्तमान समयमा यहोवाले अभिषिक्‍त ख्रीष्टियनहरूको एउटा समूहको मायालु प्रबन्ध मिलाउनुभएको छ। यस समूहले संसारमाथि यहोवाले ल्याउने न्यायदण्डबारे चेतावनी दिन प्रतीकात्मक रूपमा पहरादारको काम गरिरहेको छ। दशकौंदेखि यस यर्मियावर्गले हामी बाँचिरहेको समयलाई ध्यान दिन मानिसहरूलाई आग्रह गर्दै आएको छ। (यर्मि. ६:१७) यहोवाले ढिलो गर्नुहुन्‍न भनी बाइबल जोड दिन्छ। यहोवाको दिन मानिसहरूले नचिताएको समयमा उहाँले तोक्नुभएको समयमै आउनेछ।—सप. ३:८; मर्कू. १३:३३; २ पत्रु. ३:९, १०.

६ यहोवा जागा हुनुहुन्छ अनि आफ्नो न्यायोचित नयाँ संसार समयमै ल्याउनुहुनेछ भन्‍ने कुरा मनमा राख्नुहोस्‌। यो कुरा थाह पाएकोले यर्मियावर्ग जागा रहन जुरमुरिनुपर्छ। अनि परमेश्‍वरमा समर्पित आफ्ना सहयोगीहरूलाई पनि झन्‌-झनै जरुरी हुँदै गइरहेको यस सन्देशप्रति जागा रहन मदत गर्नुपर्छ। यसले तपाईंलाई कस्तो असर गर्छ? सबैले परमेश्‍वरको राज्यको लागि अडान लिनुपर्छ भनेर येशूले सङ्‌केत गर्नुभयो। आफूलाई अह्राइएको कामप्रति जागा रहन यर्मियालाई मदत गरेका तीन वटा गुण केलाऔं, जुन गुणहरूले हामीलाई पनि जागा रहन मदत गर्नेछ।

मानिसहरूप्रति प्रेम

७. कठिन परिस्थितिको बाबजुद प्रचार गर्न यर्मियालाई प्रेमले कसरी उत्प्रेरित गऱ्‍यो, व्याख्या गर्नुहोस्‌।

७ चुनौतीपूर्ण परिस्थितिको बाबजुद प्रचार गर्न यर्मियालाई केले उत्प्रेरित गऱ्‍यो? मानिसहरूप्रतिको प्रेमले। मानिसहरूले भोगिरहेका धेरैजसो समस्याको लागि झूटा गोठालाहरू जिम्मेवार छन्‌ भनेर यर्मियालाई थाह थियो। (यर्मि. २३:१, २) यो थाह भएकोले तिनले आफूलाई अह्राइएको काम मायालु र दयालु हुँदै गर्न सके। सँगी देशवासीहरूले परमेश्‍वरको वचन सुनेर बाँचेको तिनी चाहन्थे। तिनीहरूमाथि विपत्ति आउन लागेकोले तिनी यत्ति चिन्तित भए कि तिनी रोए। (यर्मिया ८:२१; ९:१ पढ्‌नुहोस्‌) यहोवाको नाम र मानिसहरूप्रति यर्मियाको गहिरो प्रेम र चासो विलापको पुस्तकले ज्वलन्त ढङ्‌गमा प्रस्तुत गर्छ। (विला. ४:६, ९) “छाला काढिएका अनि गोठालो नभएर तितरबितर भएका भेडाहरूजस्ता” मानिसहरू देख्दा के तपाईं पनि तिनीहरूलाई परमेश्‍वरको राज्यको सान्त्वनादायी सन्देश सुनाउन तत्पर हुनुहुन्‍न र?—मत्ती ९:३६.

८. दुःख भोग्नुपर्दा यर्मिया रुष्ट भएनन्‌ भनेर केले देखाउँछ?

८ आफूले मदत गर्न चाहेकै मानिसहरूको हातबाट यर्मियाले दुःख भोगे, तैपनि तिनले बदला लिएनन्‌ न त तिनी रुष्ट नै भए। तिनी भ्रष्ट राजा सिदकियाहप्रति समेत सहनशील र दयालु भए! सिदकियाहले यर्मियालाई मार्नको निम्ति सुम्पिदिंदा समेत तिनले ती राजालाई यहोवाको वचन सुन्‍न बिन्ती गरे। (यर्मि. ३८:४, ५, १९, २०) के मानिसहरूप्रति हाम्रो प्रेम यर्मियाको जत्तिकै प्रगाढ छ?

परमेश्‍वरले दिनुहुने साहस

९. यर्मियाको साहस परमेश्‍वरबाट सम्भव भएको थियो भनेर हामी कसरी थाह पाउँछौं?

९ यहोवाले यर्मियालाई एउटा काम सुम्पनुहुँदा सुरुमा तिनी पन्छिन खोजेका थिए। यसबाट हामी के बुझ्छौं भने, तिनले देखाएको निर्भयता र दृढता तिनीसित जन्मजात भएका गुणहरू थिएनन्‌। भविष्यवक्‍ताको रूपमा काम गरेको दौडान यर्मियाले देखाएको असामान्य बल तिनले परमेश्‍वरमा पूर्ण भरोसा गरेकाले सम्भव भएको थियो। हो, यहोवा “एक भयङ्‌कर योद्धाझैं” यर्मियाको साथमा रहनुभयो र तिनलाई आफ्नो जिम्मेवारी सँभाल्ने बल दिनुभयो। (यर्मि. २०:११) यर्मियाले निर्भयी र साहसी व्यक्‍ति भन्‍ने नाम कमाएकोले येशू पृथ्वीमा छँदा कोही-कोहीले उहाँलाई फेरि जीवित भएका यर्मिया भन्ठाने।—मत्ती १६:१३, १४.

१०. अभिषिक्‍त ख्रीष्टियनहरू कुन अर्थमा “जाति-जातिहरू र राज्य-राज्यहरूमाथि नियुक्‍त” भएका छन्‌?

१० “जाति-जातिका महाराजा” यहोवाले यर्मियालाई जाति-जाति र राज्य-राज्यका मानिसहरूलाई न्यायदण्डको सन्देश सुनाउन अह्राउनुभयो। (यर्मि. १०:६, ७) तर अभिषिक्‍त ख्रीष्टियनहरू कुन अर्थमा “जाति-जातिहरू र राज्य-राज्यहरूमाथि नियुक्‍त” भएका छन्‌? (यर्मि. १:१०) प्राचीन समयका यी भविष्यवक्‍ताले जस्तै यर्मियावर्गले ब्रह्‍माण्डका सार्वभौम प्रभुबाट एउटा जिम्मेवारी पाएको छ। यसरी परमेश्‍वरका अभिषिक्‍त सेवकहरू जाति-जाति र राज्य-राज्यका मानिसहरूलाई संसारभरि महत्त्वपूर्ण घोषणा सुनाउन नियुक्‍त भएका छन्‌। तिनीहरूले सर्वोच्च परमेश्‍वरबाट अख्तियार पाएका छन्‌। अनि उहाँको प्रेरित वचनको स्पष्ट भाषा प्रयोग गरेर यस यर्मियावर्गले परमेश्‍वरले तोक्नुभएको समयमा र उहाँले रोज्नुभएको माध्यमद्वारा अहिलेका जाति-जाति र राज्य-राज्य उखेलिनेछन्‌ भनेर घोषणा गरिरहेका छन्‌। (यर्मि. १८:७-१०; प्रका. ११:१८) यहोवाको न्यायदण्डको सन्देश पृथ्वीभरि घोषणा गर्ने परमेश्‍वरले दिनुभएको यो काम पूरा गर्नदेखि पछि नहट्‌न यर्मियावर्ग कटिबद्ध छ।

११. कठिन परिस्थितिको सामना गर्दा ढिलासुस्ती नगरी प्रचार गरिरहन हामीलाई केले मदत गर्नेछ?

११ विरोध, भावशून्यता वा कठिन परिस्थितिले गर्दा कहिलेकाहीं निराश हुनु स्वाभाविक हो। (२ कोरि. १:८) तर यर्मियाजस्तै हामी पनि लागिरहौं। हरेस नखाऔं। हामी प्रत्येकले परमेश्‍वरलाई व्यग्र प्रार्थना गर्न, उहाँमा भर पर्न अनि उहाँको मदत खोज्दै ‘साहस बटुल्न’ नछोडौं। (१ थिस्स. २:२) साँचो उपासकहरू भएकोले हामी परमेश्‍वरले दिनुभएका जिम्मेवारीहरू पूरा गर्न जागा रहिरहनै पर्छ। अविश्‍वासी यरूशलेमले पूर्वचित्रण गरेको चर्चजगत्‌को विनाशबारे ढिलासुस्ती नगरी प्रचार गरिरहन हामी कटिबद्ध हुनुपर्छ। यर्मियावर्गले “परमप्रभुको ग्रहणयोग्य वर्ष”-बारे मात्र होइन, “हाम्रा परमेश्‍वरको बदला दिने दिन”-बारे पनि घोषणा गर्नेछ।—यशै. ६१:१, २; २ कोरि. ६:२.

अपार आनन्द

१२. यर्मियाले आफ्नो आनन्द कायम राखे भन्‍ने निष्कर्षमा हामी किन पुग्न सक्छौं र तिनले यसो गर्न सक्नुको मुख्य कारण के थियो?

१२ यर्मियाले आफ्नो कामबाट आनन्द उठाए। तिनले यहोवालाई भने: “तपाईंका वचन पाइए औ मैले ती खाएँ, तपाईंका वचन मलाई रमाहट, र मेरो हृदयलाई आनन्द दिने कुरा भए, किनभने हे सेनाहरूका परमप्रभु, तपाईंको नाउँले म कहलाइन्छु।” (यर्मि. १५:१६) साँचो परमेश्‍वरको प्रतिनिधित्व गर्नु र उहाँको वचन प्रचार गर्नुलाई यर्मियाले सुअवसर ठाने। रोचक कुरा के छ भने, मानिसहरूले गरेको गिल्लामा ध्यान केन्द्रित गर्दा यर्मियाले आफ्नो आनन्द गुमाए। तर आफूले घोषणा गर्ने सन्देशको सौन्दर्य र महत्त्वमा ध्यान दिंदा भने तिनी फेरि आनन्दित हुन सके।—यर्मि. २०:८, ९.

१३. आनन्द कायम राख्न परमेश्‍वरको वचनको गहिरा-गहिरा सत्यरूपी भोजन खाइरहनु किन महत्त्वपूर्ण छ?

१३ अहिले प्रचारकार्यमा आनन्दित रहिरहन हामीले “खँदिलो खानेकुरा” अर्थात्‌ परमेश्‍वरको वचनको गहिरा-गहिरा सत्य कुरा खानुपर्छ। (हिब्रू ५:१४) गहिरो अध्ययनले विश्‍वास बढाउँछ। (कल. २:६, ७) यस्तो अध्ययन गर्दा हाम्रो कार्यले यहोवाको मन साँच्चै छुन्छ भनेर हामीलाई प्रस्ट हुन्छ। बाइबल पढ्‌ने र अध्ययन गर्ने समय निकाल्न धौ-धौ परिरहेको छ भने हामीले आफ्नो तालिका फेरि केलाएर हेर्नुपर्छ। हरेक दिन केही मिनेट भए पनि अध्ययन र मनन गऱ्‍यौं भने हामी यहोवासित नजिक हुनेछौं अनि यर्मियाको सन्दर्भमा जस्तै ‘रमाउन र हृदयलाई आनन्दित’ पार्न सक्नेछौं।

१४, १५. (क) विश्‍वासी भई आफ्नो काममा लागिरहँदा यर्मियाले कस्तो फल फलाउन सके? (ख) आज परमेश्‍वरका जनले प्रचारकार्यबारे कुन कुरा बुझेका छन्‌?

१४ निस्सन्देह, यर्मियाले ढिलासुस्ती नगरी यहोवाको चेतावनी र न्यायदण्डको सन्देश सुनाए। तैपनि “बनाउन र स्थापित गर्न” आफूले पाएको जिम्मवारी तिनले बिर्सेका थिएनन्‌। (यर्मि. १:१०) बनाउने र स्थापित गर्ने तिनको कामले फल फलायो। केही यहूदीलगायत गैर-इस्राएलीहरू ईसापूर्व ६०७ मा यरूशलेमको विनाशबाट बचे। हामीलाई रेकाबीहरू, एबेदमेलेक र बारूकबारे थाह छ। (यर्मि. ३५:१९; ३९:१५-१८; ४३:५-७) यर्मियाका यी वफादार तथा ईश्‍वरभीरू मित्रहरूले आज यर्मियावर्गलाई साथ दिने पार्थिव आशा भएका मानिसहरूको राम्रो चित्रण गर्छ। यस “ठूलो भीड”-को परमेश्‍वरमाथिको विश्‍वास बढाउन पाएकोमा यर्मियावर्ग असाध्यै खुसी छ। (प्रका. ७:९) त्यसरी नै, अभिषिक्‍त ख्रीष्टियनहरूका यी वफादार सहयोगीहरू पनि सोझो मन भएका मानिसहरूलाई सत्यको ज्ञान दिन पाएकोमा अपार सन्तुष्टि महसुस गर्छन्‌।

१५ सुसमाचार प्रचार गर्नु भनेको सुन्‍नेहरूका लागि जनसेवा मात्र होइन तर हामीले परमेश्‍वरलाई गर्ने उपासनाको भाग हो भनेर परमेश्‍वरका जनले बुझेका छन्‌। मानिसहरूले हाम्रो कुरा सुनुन्‌ या नसुनुन्‌, प्रचारकार्यद्वारा यहोवालाई पवित्र सेवा चढाउँदा हामी असाध्यै आनन्दित हुन्छौं।—भज. ७१:२३; रोमी १:९ पढ्‌नुहोस्‌।

आफूलाई सुम्पिइएको काम पूरा गर्न ‘जागा रहनुहोस्‌!’

१६, १७. हामी ढिलासुस्ती गर्नै नहुने समयमा बाँचिरहेका छौं भनेर प्रकाश १७:१० र हबकूक २:३ ले कसरी देखाउँछ?

१६ प्रकाश १७:१० मा लिपिबद्ध प्रेरित भविष्यवाणीलाई ध्यान दिंदा हामी ढिलासुस्ती गर्नै नहुने समयमा बाँचिरहेका छौं भनेर प्रस्ट हुन्छ। सातौं राजा अर्थात्‌ एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍ति अस्तित्वमा आएको छ। त्यसबारे यस्तो लेखिएको पाउँछौं: “त्यो [सातौं विश्‍वशक्‍ति] आएपछि केही समय रहनै पर्छ।” यतिन्जेलसम्ममा, त्यो “केही समय” सिद्धिनै लागेको हुनुपर्छ। यस दुष्ट युगको अन्तबारे भविष्यवक्‍ता हबकूक हामीलाई यस्तो आश्‍वासन दिन्छन्‌: “त्यो दर्शन ठहराएको समयमा पूरा हुनेछ, . . . त्यसको बाटो हेर्दै बस्‌, किनभने त्यो निश्‍चय पूरा हुनेछ, त्यसले ढीलो गर्नेछैन।”—हब. २:३.

१७ आफैलाई सोध्नुहोस्‌: ‘हामी ढिलासुस्ती गर्नै नहुने समयमा बाँचिरहेका छौं भनेर के मेरो जीवनले साँच्चै देखाउँछ? के मेरो जीवनशैलीले अन्त चाँडै आओस्‌ भनी आशा गरेको कुरा देखाउँछ? अथवा मेरा निर्णय तथा प्राथमिकताहरूले अन्त चाँडै आउनेछ भनेर आशा नगरेको वा अन्त आऊला कि नआऊला भनेर आफूलाई पक्कासमेत नभएको पो देखाउँछ कि?

१८, १९. अहिले ढिलासुस्ती गर्ने समय किन होइन?

१८ पहरादारवर्गको काम अझै सिद्धिएको छैन। (यर्मिया १:१७-१९ पढ्‌नुहोस्‌) अभिषिक्‍त शेषजन “फलामको खाँबो” र “किल्ला भएको शहर”-जस्तै अटल रहिरहेका छन्‌ भनी थाह पाउनु कत्ति खुसीको कुरा! आफूलाई सुम्पिएको काम पूरा नभएसम्म परमेश्‍वरको वचनबाट बल पाइरहन तिनीहरूले ‘सत्यले आफ्नो कम्मर कसेका’ छन्‌। (एफि. ६:१४) परमेश्‍वरबाट पाएको काम पूरा गर्न यर्मियावर्गलाई सक्रियतापूर्वक साथ दिन ठूलो भीडका सदस्यहरू पनि यसरी नै कटिबद्ध छन्‌।

१९ अहिले राज्यसम्बन्धी गतिविधिमा ढिलासुस्ती गर्ने समय होइन तर यर्मिया १२:५ का शब्दहरूको आशयलाई विचार गर्नुपर्ने समय हो। (पढ्‌नुहोस्‌) हामी सबैले धैर्य धारण गर्नुपर्ने परीक्षाहरूको सामना गर्छौं। विश्‍वासको जाँच हुने यी परीक्षाहरूलाई हामी ती “मानिसहरूसित” तुलना गर्न सक्छौं, जससित हामी दौडनुपर्छ। तर “महासङ्‌कष्ट” नजिकिंदै जाँदा झन्‌-झन्‌ कठिन अवस्थाको सामना गर्नुपर्ने आशा गर्न सक्छौं। (मत्ती २४:२१) हामीले सामना गर्नुपर्ने अझ चुनौतीपूर्ण कठिनाइहरूसँगको सङ्‌घर्षलाई ‘घोडाहरूसितको दौडसित’ तुलना गर्न सकिन्छ। बेसरी कुदिरहेका घोडाहरूसँगसँगै दौडन मानिसले अझ धेरै धैर्य गर्नुपर्ने हुन्छ। त्यसैले अहिले सामना गरिरहेका परीक्षाहरू सहँदा फाइदा हुन्छ किनभने यसले भविष्यमा सामना गर्नुपर्ने परीक्षाहरूको लागि हामीलाई तयार बनाउन सक्छ।

२०. तपाईं के गर्न कटिबद्ध हुनुहुन्छ?

२० हामी सबैले यर्मियाको अनुकरण गर्न अनि प्रचार गर्ने जिम्मेवारी सफलतासाथ पूरा गर्न सक्छौं! प्रेम, साहस र आनन्दजस्ता गुणहरूले यर्मियालाई वफादार भई ६७ वर्षसम्म सेवाको काममा लागिरहन उत्प्रेरित गऱ्‍यो। हाडे-बदामको सुन्दर फूलले हामीलाई यहोवा आफ्नो वचन पूरा गर्न ‘जागा रहनुहुनेछ’ भनेर सम्झाउँछ। त्यसैले हामी पनि जागा रहनुपर्ने ठोस कारण छ। यर्मिया ‘जागा रहे’ अनि हामी पनि रहन सक्छौं।

के तपाईंलाई याद छ?

• प्रेमले यर्मियालाई आफ्नो काम पूरा गर्नको लागि ‘जागा रहन’ कसरी मदत गऱ्‍यो?

• परमेश्‍वरले दिनुहुने साहस हामीलाई किन चाहिन्छ?

• यर्मियालाई आफ्नो आनन्द कायम राख्न केले मदत गऱ्‍यो?

• तपाईं किन ‘जागा रहन’ चाहनुहुन्छ?

[पृष्ठ ३१-मा भएको चित्र]

के तपाईं विरोधको बाबजुद प्रचार गरिरहनुहुनेछ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने