प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w07 ६/१ p. ८-p. ११ par. ७
  • विलापको पुस्तकका विशेषताहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विलापको पुस्तकका विशेषताहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “रोदनको आँसुले मेरो आँखा टटाइसक्यो”
  • (विलाप १:१–२:२२)
  • “मेरो पुकारामा तपाईं आफ्नो कान नथुन्‍नुहोस्‌”
  • (विलाप ३:१–५:२२)
  • यहोवालाई आफ्नो भरोसा बनाउनुहोस्‌
  • यर्मियाको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • स्कूलको शिक्षा र तपाईंको आध्यात्मिक लक्ष्य
    हाम्रो राज्य सेवा—२०१२
  • यर्मियाजस्तै साहसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
w07 ६/१ p. ८-p. ११ par. ७

यहोवाको वचन जीवित छ

विलापको पुस्तकका विशेषताहरू

अगमवक्‍ता यर्मिया आफूले ४० वर्षदेखि सुनाउँदै आएको न्यायको घोषणा पूरा भएको देख्छन्‌। आफ्नो प्यारो सहर विनाश भएको देख्दा यर्मिया कस्तो महसुस गर्छन्‌? युनानी सेप्टुआजिन्ट-मा विलापको पुस्तकको परिचयमा यसो भनिएको छ: “यर्मियाले यरूशलेमको विनाशमा दुःखको आँसु झारे र विलापका यी शब्दहरू कोरे।” ईसापूर्व ६०७ मा यो पुस्तक लेख्दा यर्मियाको मनमा यरूशलेम सहरलाई अठाह्र महिनासम्म घेरा हालिएको र त्यसपछि आगो लगाएर ध्वस्त बनाइएको कुरा ताजै थियो। तिनले यस पुस्तकमा आफ्नो वेदना जीवन्त ढंगमा पोखेका छन्‌। (यर्मिया ५२:३-५, १२-१४) इतिहास हेर्ने हो भने, अरू कुनै सहरको विनाशमा यस्तो हृदयविदारक विलाप गरिएको पाइँदैन।

विलापको पुस्तक पाँच वटा गीति-कविताहरूको संग्रह हो। पहिलो चार वटा विलाप वा शोकको कविता हुन्‌ भने पाँचौं चाहिं प्रार्थना वा बिन्ती हो। पहिलो चार वटा कविता हिब्रू वर्णमालाको २२ अक्षरबाट क्रमअनुसार सुरु गरिएको छ। अनि पाँचौं कवितामा हिब्रू वर्णमालासित ठ्याक्कै मिल्ने गरी २२ वटा पदहरू भए तापनि यो कविता चाहिं वर्णमालाको क्रमअनुसार छैन।—विलाप ५:१.

“रोदनको आँसुले मेरो आँखा टटाइसक्यो”

(विलाप १:१–२:२२)

“मानिसहरूले भरिएको शहर अब कस्तो एक्लो भयो। त्यो त एक विधवाजस्तो भएको छ, जाति-जातिहरूमा महान्‌ र शहरहरूमा राजकुमारीजस्तै त्यो थियो, अब दासत्वमा परेको शहर त्यो भएको छ।” यसरी यरूशलेम सहरबारे अगमवक्‍ता यर्मिया आफ्नो विलाप सुरु गर्छन्‌। यसमाथि आइपरेको विपत्तिको कारण दिंदै अगमवक्‍ता यर्मिया यसो भन्छन्‌: “त्यसका धेरै अपराधहरूले गर्दा परमप्रभुले त्यसलाई दुःख दिनुभएको हो।”—विलाप १:१, ५.

पति र छोराछोरीको मृत्युले शोकमा परेकी विधवाको रूपमा चित्रण गरिएको यरूशलेम सहर यस्तो प्रश्‍न गर्छिन्‌: “मलाई दिनुभएको कष्टजस्तै अरू कुनै पीडा छ र?” आफ्ना शत्रुहरूबारे तिनी परमेश्‍वरलाई यसरी प्रार्थना गर्छिन्‌: “तिनीहरूका सबै दुष्ट कामहरू तपाईंको सामु आऊन्‌, औ मेरा सबै अपराधहरूको कारण मलाई गर्नुभएझैं तिनीहरूमाथि पनि त्यस्तै व्यवहार गर्नुहोस्‌। किनभने म धेरै सुस्केरा मार्दछु, औ मेरो मन निर्बल छ।”—विलाप १:१२, २२.

अत्यन्तै दुःखित हुँदै यर्मिया भन्छन्‌: “आफ्नो भयंकर रीसमा उहाँले [यहोवा] इस्राएलका सबै शक्‍तिलाई नाश गर्नुभयो। शत्रुकै सामने उहाँले आफ्नो गोहारको हात हटाउनुभयो। उहाँको प्रकोप याकूबमाथि चारैतिर भस्म गर्ने तरवारजस्तै पऱ्‍यो।” आफूले महसुस गरेको गहिरो शोकको वर्णन गर्दै यर्मिया यसरी विलाप गर्छन्‌: “रोदनको आँसुले मेरो आँखा टटाइसक्यो। मेरो प्राण मभित्र मढारिन्छ। . . . मेरो हृदय छिया छिया भयो।” यरूशलेम हुँदै जानेहरूले समेत छक्क पर्दै यसो भनेका छन्‌: “के यो त्यही शहर हो, जो ‘परम सुन्दरी र सारा पृथ्वीको आनन्द’ भनी कहलाइन्थ्यो?”—विलाप २:३, ११, १५.

धर्मशास्त्रीय प्रश्‍नको जवाफ:

१:१५—यहोवाले कसरी ‘कोलको दाखझैं यहूदाको कुमारीलाई पेल्नुभयो’? कुमारीको रूपमा चित्रण गरिएको सहर विनाश गर्दा, बेबिलोनीहरूले रगतको आहाल नै बगाएका थिए र यसलाई कोलमा दाख पेल्नुसित तुलना गर्न सकिन्छ। यहोवाले यसबारे भविष्यवाणी गर्नुभएको थियो र उहाँले सो हुन पनि दिनुभयो। त्यसैकारण, उहाँले यरूशलेम सहरलाई ‘दाखझैं पेल्नुभयो’ भन्‍न सकिन्छ।

२:१—कसरी ‘इस्राएलको गौरवलाई आकाशदेखि पृथ्वीमा खसालियो’? “आकाश पृथ्वीभन्दा अल्गो” भएकोले उच्च कुराहरूको सेखी झार्ने कुरालाई बुझाउन कहिलेकाहीं ‘आकाशदेखि पृथ्वीमा खसालियो’ भन्‍ने अभिव्यक्‍ति चलाइन्छ। यहोवाको आशिष्‌ होउन्जेल ‘इस्राएलसित गौरव’ र शक्‍ति थियो तर यरूशलेमको विनाश र यहूदा उजाड हुँदा यसले त्यो गौरव र शक्‍ति गुमायो अर्थात्‌ यसलाई खसालियो।—यशैया ५५:९.

२:१, ६—यहोवाको “पाउदान” र “छाप्रो” के हो? भजनहारले यस्तो गाए: “हामी उहाँको बासस्थानमा जानेछौं, हामी उहाँको पाउदानमा दण्डवत्‌ गर्नेछौं।” (भजन १३२:७) त्यसैले विलाप २:१ मा बताइएको “पाउदान[ले]” यहोवाको उपासनास्थल अर्थात्‌ उहाँको मन्दिरलाई बुझाउँछ। बेबिलोनीहरूले ‘परमप्रभुको भवनलाई’ बगैंचाको छाप्रो वा झुप्रोलाई झैं ‘आगो लगाइदिए।’—यर्मिया ५२:१२, १३.

२:१७—“ठहराउनुभएको” कुन चाहिं कुरा यहोवाले यरूशलेमको सन्दर्भमा पूरा गर्नुभयो? अवश्‍यै पनि त्यो लेवी २६:१७ मा भनिएको कुरा हो जहाँ यसो भनिएको छ: “म तिमीहरूको विरोध गर्नेछु, र तिमीहरू शत्रुका हातबाट मारिनेछौ। तिमीहरूसँग वैरभाव राख्नेहरूले तिमीहरूमाथि प्रभुत्व गर्नेछन्‌, र कसैले नखेदे पनि तिमीहरू भाग्नेछौ।”

हाम्रो लागि पाठ:

१:१-९. यरूशलेम रातभरि धुरुधुरु रुन्छे र त्यसको गालामा आँसु बगिरहन्छ। त्यसका मूल-ढोकाहरू उजाड छन्‌ र त्यसका पूजाहारीहरू सुस्केरा मार्दैछन्‌। त्यसका कुमारीहरू शोकित छन्‌ र तिनी आफै पनि दयनीय अवस्थामा छे। किन? किनभने यरूशलेम घोर पापहरूमा मुछिई। त्यसको अशुद्धपना त्यसको फरियामा थियो। पापको फल आनन्द नभई आँसु, सुस्केरा, दुःख र पीडा हो।

१:१८. पापीहरूलाई सजाय दिने कुरामा यहोवा सधैं न्यायी हुनुहुन्छ।

२:२०. यहोवाको आज्ञा नसुनेमा तिनीहरूले विपत्ति भोग्नुपर्नेछ भनी इस्राएलीहरूलाई चेतावनी दिइएको थियो र यो विपत्तिमा “आफ्नै छोरा छोरीको मासु” खानु पनि समावेश थियो। (व्यवस्था २८:१५, ४५, ५३) यहोवा परमेश्‍वरप्रति अनाज्ञाकारी हुनु कत्ति ठूलो मूर्खता!

“मेरो पुकारामा तपाईं आफ्नो कान नथुन्‍नुहोस्‌”

(विलाप ३:१–५:२२)

विलाप अध्याय ३ मा इस्राएल राष्ट्रलाई जवान “मान्छे[को]” रूपमा चित्रण गरिएको छ। दुःखकष्टको भुमरीमा परे तापनि त्यस मानिस यसरी गाउँछन्‌: “परमप्रभुको बाटो हेर्ने, उहाँलाई खोज्नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्छ।” साँचो परमेश्‍वरलाई प्रार्थना गर्दै तिनी यस्तो बिन्ती गर्छन्‌: “तपाईंले मेरो बिन्ती सुन्‍नुभयो, सहायताको निम्तिको मेरो पुकारामा तपाईं आफ्नो कान नथुन्‍नुहोस्‌।” शत्रुहरूले लगाएको दोषमाथि ध्यान दिन बिन्ती गर्दै तिनी यसो भन्छन्‌: “हे परमप्रभु, तिनीहरूका कामअनुसार तिनीहरूलाई उचित दण्ड दिनुहोस्‌।”—विलाप ३:१, २५, ५६, ६४.

अठाह्र महिनासम्म घेराउमा पर्दा यरूशलेमले भोग्नुपरेको कठोर असरहरूबारे आफ्नो भावना पोख्दै यर्मिया यसरी विलाप गर्छन्‌: “मेरो प्रजाकी छोरीको अपराध सदोमको पापभन्दा ठूलो छ, जो कसैको हात नपरे तापनि क्षणभरमानै उल्टाइयो।” यर्मिया अझै यसो भन्छन्‌: “भोकले मर्नेहरूभन्दा तरवारले मर्नेहरू सौभाग्यशाली भए, किनभने जमीनको फलको अभावले तिनीहरू सुक्दै गए।”—विलाप ४:६, ९.

पाँचौं कवितामा चाहिं यरूशलेमका बासिन्दाहरू बोलेझैं गरी चित्रण गरिएको छ। तिनीहरू भन्छन्‌: “हे परमप्रभु, हामीमाथि के परिआएको छ, सो सम्झनुहोस्‌। हामी कति घृणित भएका छौं, सो विचार गर्नुहोस्‌।” आफूले भोग्नुपरेको दुःखकष्ट सम्झँदै तिनीहरू यस्तो बिन्ती गर्छन्‌: “हे परमप्रभु, तपाईं ता सदा सर्वदै विराजमान हुनुहुन्छ। तपाईंको सिंहासन पुस्तौंसम्म रहिरहन्छ। हे परमप्रभु, हामीलाई आफूतिर फर्काउनुहोस्‌, र हामी फर्कनेछौं। हाम्रा दिन तादिका दिनझैं बनाइदिनुहोस्‌।”—विलाप ५:१, १९, २१.

धर्मशास्त्रीय प्रश्‍नको जवाफ:

३:१६—“उहाँले रोडा खुवाएर मेरा दाँत भाँचिदिनुभयो” भन्‍ने अभिव्यक्‍तिको अर्थ के हो? एउटा पुस्तक यस्तो भन्छ: “यहूदीहरू निर्वासनमा जाँदै गर्दा जमिनमा खाल्डो बनाएर रोटी पकाउन बाध्य भएका थिए र यसरी पकाएको रोटीमा रोडा मिसिन्थ्यो।” यस्तो रोटी खाँदा दाँत भाँच्चिन सक्थ्यो।

४:३, १०—यर्मियाले “मेरो प्रजाकी छोरी ता मरूभूमिका शतुर्मुर्गहरूजस्तै भएकी छ” भने, किन? शतुर्मुर्ग अर्थात्‌ ओस्ट्रिचले “बच्चाहरूलाई आफ्नो होइन जस्तैगरी . . . निर्दयी व्यवहार गर्छ” भनी अय्यूब ३९:१६ बताउँछ। उदाहरणका लागि, पोथी ओस्ट्रिच अण्डा कोरलेपछि अरू पोथीहरूसित जान्छे र बच्चाको हेरचाह भाले ओस्ट्रिचले गर्छ। अनि खतराको मुखमा पर्दा तिनीहरूले के गर्छन्‌? भाले-पोथी दुवै, बच्चाहरूलाई अलपत्र छोडेर भाग्छन्‌। यरूशलेमलाई बेबिलोनीहरूले घेरा लगाउँदा त्यहाँ यस्तो नराम्रो अनिकाल पऱ्‍यो कि साधारणतया ममतामयी आमाहरू पनि आफ्ना सन्तानहरूप्रति निष्ठुर भए र मरूभूमिका शतुर्मुर्ग जस्तै भए। यो, स्यालहरूले देखाउने आमाको ममताभन्दा बिलकुलै फरक थियो।

५:७—के यहोवाले मानिसहरूलाई तिनीहरूको पितापुर्खाले गरेका गल्तीको लागि दोषी ठहऱ्‍याउनुहुन्छ? पितापुर्खाले गरेको गल्तीको लागि यहोवाले मानिसहरूलाई सीधै दण्ड दिनुहुन्‍न। “हामी हरेकले परमेश्‍वरलाई आफ्ना आफ्ना लेखा दिनुपर्नेछ” भनी बाइबलमा बताइएको छ। (रोमी १४:१२) तर गल्तीका असरहरू अझै बाँकी हुन सक्छन्‌ र यसको नतिजा पछिका पुस्ताहरूले भोग्नुपर्ने हुन्छ। उदाहरणका लागि, प्राचीन इस्राएल मूर्तिपूजक भएको थियो र यसले गर्दा पछिका विश्‍वासी इस्राएलीहरूलाई समेत धर्मी मार्गमा हिंड्‌न निकै गाह्रो भयो।—प्रस्थान २०:५.

हाम्रो लागि पाठ:

३:८, ४३, ४४. यरूशलेममाथि विपत्ति आइपर्दा यहोवाले त्यस सहरका बासिन्दाहरूको पुकारा सुन्‍नुभएन। किन? किनभने मानिसहरू अनाज्ञाकारी र अपश्‍चात्तापी भएका थिए। यहोवाले हाम्रो प्रार्थनाको जवाफ दिनुभएको चाहन्छौं भने उहाँको आज्ञा पालन गर्नै पर्छ।—हितोपदेश २८:९.

३:२०. “सारा पृथ्वीमा सर्वोच्च” यहोवा एकदमै उच्च हुनुभएकोले “आकाश र पृथ्वीका कुराहरूमा नजर गर्नालाई” भन्‍ने हो भने उहाँ निहुरिनुपर्छ। (भजन ८३:१८; ११३:६) तैपनि, मानिसहरूलाई प्रोत्साहन दिन सर्वोच्च परमेश्‍वर उनीहरूको स्तरअनुसार झरेर निहुरिन तयार हुनुहुन्छ भनी यर्मियालाई थाह थियो। साँचो परमेश्‍वर सबैभन्दा शक्‍तिशाली र बुद्धिमान्‌ मात्र नभई नम्र पनि हुनुहुन्छ भनी थाह पाउँदा हामी कत्ति हर्षित हुन सक्छौं!

३:२१-२६, २८-३३. चरम दुःख समेत हामी कसरी सहन सक्छौं? यर्मिया हामीलाई बताउँछन्‌। यहोवाको प्रेम कहिल्यै थामिंदैन र उहाँको कृपाको अन्त कहिल्यै हुँदैन भनेर हामीले बिर्सनुहुँदैन। हामी जीवित रहनु मात्र पनि आशा नमार्नको लागि पर्याप्त कारण हो र मुक्‍तिको लागि यहोवामा गनगन नगरी धीरजी भई कुर्नुपर्छ भनेर पनि सम्झनुपर्छ। यसबाहेक, “आफ्नो मुखले भुइँ” छुनुपर्छ अर्थात्‌ यहोवाले असलै कारणको लागि दुःख आइपर्न दिनुहुन्छ भनी मानिलिंदै परीक्षाहरू नम्रतापूर्वक सहनुपर्छ।

३:२७. युवावस्थामा परीक्षाहरू भोग्नुको अर्थ दुःख र गिल्ला सहनु हुन सक्छ। तर “आफ्नो युवावस्थामानै जुवा बोक्नु मानिसलाई असल हुन्छ।” किन? किनभने युवावस्थामै दुःखको जुवा बोक्न सिकेमा पछि गएर जीवनमा आइपर्ने चुनौतीहरूको सामना गर्न सक्षम भइन्छ।

३:३९-४२. दुःखकष्ट आइपर्दा ‘गनगनाउनु’ बुद्धिमानी होइन। गल्तीको नतिजा भोग्दा गनगनाउनुको सट्टा “हामी आफ्ना चाल जाँचेर हेरौं, र परमप्रभुतिर फर्कौं।” पश्‍चात्ताप गरेर आफ्नो मार्ग सच्याउनु नै बुद्धिमानी हुनेछ।

यहोवालाई आफ्नो भरोसा बनाउनुहोस्‌

बेबिलोनीहरूले यरूशलेमलाई आगो लगाएपछि र यहूदालाई उजाड छोडेपछि ती सहर र भूमिलाई यहोवाले कसरी हेर्नुभयो भनी यस विलापको पुस्तकमा बताइएको छ। आफ्ना पाप स्वीकारेका अभिव्यक्‍तिहरूबाट के कुरा स्पष्ट हुन्छ भने यहोवाको दृष्टिकोणमा, मानिसहरूले विपत्ति भोग्नुको कारण तिनीहरूको पाप नै थियो। यस पुस्तकमा लिपिबद्ध प्रेरणा पाएर लेखिएका कविताहरूमा यहोवामाथि आशा राख्नुका साथै सही मार्ग पछ्याउने चाहना पनि व्यक्‍त गरिएको छ। यर्मियाको पालाका प्रायः मानिसहरूको विचार यस्तो नभए तापनि ती शब्दहरूले यर्मिया र बाँकी रहेका पश्‍चात्तापी व्यक्‍तिहरूको भावनालाई चित्रण गर्छन्‌।

विलापको पुस्तकमा लिपिबद्ध यरूशलेमको अवस्थाबारे यहोवाले गर्नुभएको लेखाजोखाबाट हामी दुई महत्त्वपूर्ण पाठ सिक्न सक्छौं। पहिलो पाठ, यरूशलेमको विनाश र यहूदा उजाड हुनुले यहोवाप्रति आज्ञाकारी हुनुको महत्त्वलाई देखाउँछ र परमेश्‍वरको इच्छालाई नलत्याउन चेतावनी दिन्छ। (१ कोरिन्थी १०:११) दोस्रो पाठ, यर्मियाको उदाहरणबाट पाउँछौं। (रोमी १५:४) कुनै आशा नै नभए जस्तो अवस्थामा पनि अत्यन्तै दुःखित भएका अगमवक्‍ताले मुक्‍तिको लागि यहोवामा भर पर्न छोडेनन्‌। यहोवा र उहाँको वचनमा पूर्णतया विश्‍वास राख्दै उहाँलाई आफ्नो भरोसा बनाउनु कत्ति आवश्‍यक छ!—हिब्रू ४:१२. (w 07 6/1)

[पृष्ठ ९-मा भएको चित्र]

अगमवक्‍ता यर्मियाले आफूले सुनाएको न्यायको घोषणा पूरा भएको देखे

[पृष्ठ १०-मा भएको चित्र]

मसीही तटस्थताको कारण यी कोरियाली साक्षीहरूको विश्‍वासको जाँच भयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने