स्कूलको शिक्षा र तपाईंको आध्यात्मिक लक्ष्य
१ केटाकेटी छँदा लिएको आधारभूत शिक्षाले तपाईंलाई राम्रोसित लेख्न, पढ्न अनि भूगोल, इतिहास, गणित र विज्ञानसम्बन्धी सामान्य कुराहरू बुझ्न आवश्यक शैक्षिक योग्यता प्रदान गर्न सक्छ। पढाइको क्रममा तपाईंले अझ राम्ररी विचार गर्न, तथ्य कुराको विश्लेषण गर्न, समस्या समाधान गर्न र लाभदायी उपाय निकाल्न सिक्नुहुनेछ। यस्तो प्रकारको शिक्षा जीवनभर उपयोगी हुन्छ। स्कूलको शिक्षा तपाईंको आध्यात्मिक लक्ष्यसित कसरी सम्बन्धित छ अनि यस्तो शिक्षाले व्यावहारिक “बुद्धि र विवेक” प्राप्त गर्न कसरी मदत गर्छ?—हितो. ३:२१, २२, NRV.
२ यहोवाको सेवामा उपयोगी हुनुहोस्: कक्षामा ध्यान दिनुहोस् र गृहकार्य राम्रोसँग गर्नुहोस्। राम्ररी पढ्न सिक्नुभयो र अध्ययन गर्ने राम्रो बानी बसाल्नुभयो भने परमेश्वरको वचन अझ राम्ररी जाँच्न र आध्यात्मिक तवरमा बलियो भइरहन सक्नुहुनेछ। (प्रेषि. १७:११) हरेक विषयको ज्ञान छ भने प्रचारकार्यमा भेटिने फरक-फरक पृष्ठभूमि, चासो तथा आस्था भएका मानिसहरूसित कुरा गर्न सजिलो हुनेछ। तपाईंले स्कूलमा लिएको शिक्षा परमेश्वरको सङ्गठनमा ख्रीष्टियन जिम्मेवारीहरू पूरा गर्न उपयोगी हुनेछ।—२ तिमोथी २:२१; ४:११ तुलना गर्नुहोस्।
३ आफ्नो खुट्टामा उभिन सिक्नुहोस्: तपाईं लगनशील हुनुभयो भने पढाइ सिद्धिएपछि जीविका चलाउन उपयोगी हुने सीपहरू पनि सिक्न सक्नुहुन्छ। (१ तिमोथी ५:८ तुलना गर्नुहोस्) सोचविचार गरेर विषय छान्नुहोस्। जागिर पाउनै गाह्रो हुने विषय छान्नुको सट्टा जुनसुकै ठाउँमा गए पनि सुहाउँदो काम पाउन सकिने किसिमको कुनै सीप वा व्यापार गर्न सिक्नुहोस्। (हितो. २२:२९, NRV) यदि तपाईंले आवश्यकता बढी भएको ठाउँमा सेवा गर्ने निर्णय गर्नुभयो भने यस्तो प्रशिक्षणले तपाईंलाई आफ्नो खुट्टामा उभिन मदत पुऱ्याउनेछ।—प्रेषित १८:१-४ तुलना गर्नुहोस्।
४ स्कूलमा लिएको आधारभूत शिक्षाले तपाईंलाई आफ्नो सेवाको काम अझ बढाउन मदत पुऱ्याउनेछ। यहोवाको सेवामा उन्नति गर्दै जाँदा आफ्नो खुट्टामा उभिन चाहिने सीपहरू सिक्न कडा मेहनत गर्नुहोस्। स्कूलको पढाइले तपाईंलाई आफ्नो आध्यात्मिक लक्ष्यमा पुग्न मदत गर्नेछ।