ईश्वरीय शान्तिका सन्देशवाहकहरूलाई आनन्दित घोषित गरिन्छ
“परमप्रभुले उद्धार गर्नुभएकाहरू फर्केर आउनेछन्। तिनीहरू सियोनमा गाउँदै आउनेछन्। तिनीहरूका अनुहारमा सदा आनन्द देखिनेछ। तिनीहरूले आनन्द र रमाहट प्राप्त गर्नेछन्।”—यशैया ३५:१०.
१. संसारलाई कुन कुराको अत्यन्तै आवश्यक परेको छ?
मानिसजातिलाई आज जति सुसमाचारको सन्देशवाहकको खाँचो पहिला कहिल्यै परेको थिएन। परमेश्वर र उहाँका उद्देश्यहरूसम्बन्धी सत्य कुरा बताउने व्यक्तिको नितान्त आवश्यक छ। निडर साक्षीले दुष्टहरूलाई आउनै लागेको विनाशको चेताउनी सुनाउनेछ र नम्रहरूलाई ईश्वरीय शान्ति प्राप्त गर्न मदत दिनेछ।
२, ३. इस्राएलको सन्दर्भमा यहोवाले आमोस ३:७ मा लिपिबद्ध प्रतिज्ञा कसरी पूरा गर्नुभयो?
२ पुरातन इस्राएल राष्ट्रको समयमा यहोवाले यस प्रकारका सन्देशवाहकहरूको प्रबन्ध गर्ने प्रतिज्ञा गर्नुभएको थियो। सा.यु.पू. नवौं शताब्दीको अन्ततिर भविष्यवक्ता आमोसले यसो भने: “निश्चय परमप्रभुले आफ्ना दास अगमवक्ताहरूलाई आफ्नो रहस्य प्रकट नगरीकन केही गर्नुहुनेछैन।” (आमोस ३:७) यस घोषणापछिका शताब्दीहरूमा यहोवाले थुप्रै शक्तिशाली कार्यहरू गर्नुभयो। उदाहरणका लागि, उहाँका चुनिएका जनहरू विद्रोही र रक्तदोषी भएको हुँदा उहाँले तिनीहरूमाथि सा.यु.पू. ६०७ मा आफ्नो क्रोध खन्याउनुभयो। इस्राएलको पीडा देखेर रमाउने वरपरका राष्ट्रहरूलाई पनि उहाँले दण्ड दिनुभयो। (यर्मिया अध्याय ४६-४९) त्यसपछि सा.यु.पू. ५३९ मा यहोवाले विश्वशक्ति बेबिलोनको पतन गराउनुभयो जसको फलस्वरूप सा.यु.पू. ५३७ मा इस्राएलका शेष जनहरूलाई यरूशलेम र यसको मन्दिर पुनर्निर्माण गर्न तिनीहरूको भूमिमा फर्काउनुभयो।—२ इतिहास ३६:२२, २३.
३ यी घटनाहरूले पृथ्वी नै थर्काए। अनि आमोसका शब्दहरूअनुरूप यहोवाले इस्राएलमा के हुन लागेको छ त्यसको चेताउनी सन्देशवाहकहरूको रूपमा सेवारत भविष्यवक्ताहरूलाई अगावै प्रकट गर्नुभयो। उहाँले सा.यु.पू. आठौं शताब्दीको मध्यतिर यशैयालाई प्रयोग गर्नुभयो। सा.यु.पू. सातौं शताब्दीको मध्यतिर यर्मियालाई चलाउनुभयो। त्यसपछि, त्यसै शताब्दीको अन्ततिर इजकिएललाई प्रयोग गर्नुभयो। यी अगमवक्ताहरू र अन्य विश्वासी भविष्यवक्ताहरूले यहोवाका उद्देश्यहरूबारे सबैलाई साक्षी दिए।
आज परमेश्वरका सन्देशवाहकहरूलाई चिन्ने
४. मानिसजातिलाई शान्तिका सन्देशवाहकहरूको आवश्यकता परेको छ भनेर कुन कुराले देखाउँछ?
४ आज नि? बिग्रँदो समाज देखेर थुप्रैले नराम्रो कुरा हुन्छ भन्ने अनुमान लगाउँछन्। मसीहीजगत्को कपट र दुष्टता प्रष्टै देख्दा धार्मिकताका प्रेमीहरू दुःखी हुन्छन्। इजकिएल मार्फत यहोवाले अगमवाणी गर्नुभएझैं तिनीहरू “त्यसमा गरिएका सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप” गरिरहेका छन्। (इजकिएल ९:४) तथापि, तिनीहरूलाई यहोवाका उद्देश्यहरू थाह छैन। तिनीहरूलाई बताउनु आवश्यक छ।
५. हाम्रो समयमा पनि सन्देशवाहकहरू हुनेछन् भनी येशूले कसरी देखाउनुभयो?
५ यशैया, यर्मिया र इजकिएलजस्तै आज पनि निडर भई बोल्ने के कोही छन्? हुनेछन् भनेर येशूले संकेत गर्नुभएको थियो। हाम्रो समयमा हुने घटनाहरूबारे उहाँले यसरी अगमवाणी गर्नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४) सुसमाचारको प्रचारक अर्थात् सन्देशवाहकको हैसियतमा सेवा गरेर आज कसले त्यो भविष्यवाणी पूरा गरिरहेका छन्? पुरातन इस्राएल र हाम्रो समयबीचको समानताले त्यस प्रश्नको जवाफ दिन हामीलाई मदत गर्छ।
६. (क) पहिलो विश्वयुद्धताका “परमेश्वरको इस्राएल[ले]” पाएका अनुभवहरू वर्णन गर्नुहोस्। (ख) पुरातन इस्राएलमा इजकिएल ११:१७ कसरी पूरा भयो?
६ बाबेलमा इस्राएलीहरू कैदी भएझैं प्रथम विश्वयुद्धको निराशाजनक समयको दौडान यहोवाका आधुनिक जनहरू अर्थात् “परमेश्वरको इस्राएल[का]” शेष अभिषिक्त जनहरू कैदी भए। (गलाती ६:१६) मसीहीजगत्ले सबैभन्दा मुख्य भूमिका खेलेको झूटा धर्महरूको विश्व समूह महान् बेबिलोनको हातमा तिनीहरू आध्यात्मिक निर्वासनमा परे। तरैपनि, तिनीहरू त्यागिएनन् भनेर इजकिएललाई यहोवाले भन्नुभएका शब्दहरूले देखाए। उहाँले यसो भन्नुभयो: “मानिसहरूका बीचदेखि म तिमीहरूलाई जम्मा गर्नेछु, र म तिमीहरूलाई इस्राएलको देश दिनेछु।” (इजकिएल ११:१७) पुरातन इस्राएलको लागि त्यो प्रतिज्ञा पूरा गर्न उहाँले फारसी कोरेसलाई चलाउनुभएर विश्वशक्ति बाबेलको पतन गराउनुभयो र इस्राएलका शेष जनहरूलाई तिनीहरूको भूमिमा फर्कन बाटो खोलिदिनुभयो। तर वर्तमान समयबारे के भन्न सकिन्छ त?
७. येशूले महान् बेबिलोन विरुद्ध कारबाही गर्नुभयो भनी सन् १९१९ को कुन घटनाले देखायो? व्याख्या गर्नुहोस्।
७ यस शताब्दीको सुरुतिर महान् कोरेस कार्यरत हुनुहुन्थ्यो भन्ने ठोस प्रमाण थियो। उहाँ को हुनुहुन्थ्यो? सन् १९१४ देखि स्वर्गीय राज्यमा शासनारूढ येशू ख्रीष्ट सिवाय अरू कोही होइन। यी महान् राजाले पृथ्वीमा भएका आफ्ना अभिषिक्त भाइहरूमाथि निगाह देखाउनुभयो। त्यतिबेला अर्थात् सन् १९१९ मा अभिषिक्त मसीहीहरू आध्यात्मिक कैदबाट स्वतन्त्र भएर तिनीहरूको “भूमि” अर्थात् आध्यात्मिक अवस्थामा फर्के। (यशैया ६६:८; प्रकाश १८:४) तसर्थ, इजकिएल ११:१७ आधुनिक समयमा पूरा भयो। पुरातन समयमा इस्राएलीहरू तिनीहरूको भूमिमा फर्कन बाबेलको पतन हुनुपऱ्यो। तसर्थ, आधुनिक समयमा “परमेश्वरको इस्राएल[को]” पुनर्स्थापना नै महान् कोरेस मार्फत महान् बेबिलोनले भोग्नुपरेको पतनको प्रमाण थियो। यो पतनबारे प्रकाश अध्याय १४ मा उल्लिखित दोस्रो स्वर्गदूतले यसो भन्दै घोषणा गरे: “सारा जातिलाई त्यसको व्यभिचारको क्रोधको मद्य पियाउनलाउने बेबिलोनको पतन भएको छ।” (प्रकाश १४:८) महान् बेबिलोन र विशेषगरि मसीहीजगत्माथि कस्तो विपत्ति! र साँचो मसीहीहरूका लागि चाहिं कस्तो आशिष्!
८. सन् १९१९ मा छुटकारा पाएपछि परमेश्वरका जनहरूले महसुस गरेका आनन्दबारे इजकिएलको पुस्तकले कसरी वर्णन गरेको छ?
८ इजकिएल ११:१८-२० मा हामी परमेश्वरका जनहरूलाई पुनर्स्थापित गराइसकेपछि तिनीहरूले प्राप्त गर्ने आनन्दबारे भविष्यवक्ताले दिएको विवरण पाउँछौं। तिनका शब्दहरूको प्रथम पूर्तिअनुरूप एज्रा र नहेम्याहको समयमा इस्राएल शुद्ध हुनुपर्थ्यो। आधुनिक पूर्तिको अर्थ त्यससित मिल्दोजुल्दो छ। कसरी, आउनुहोस् हेरौं। यहोवा यसो भन्नुहुन्छ: “जब तिनीहरू [आफ्नो भूमिमा] आउँछन् तब तिनीहरूले त्यहाँबाट त्यसका सबै घृणित कुराहरू र घिनलाग्दा कामहरू हटाउनेछन्।” भविष्यवाणी गरिएझैं सन् १९१९ देखि यहोवाले आफ्ना मानिसहरूलाई शुद्ध पार्नुभयो र उहाँको सेवा गर्न पुनः बल प्रदान गर्नुभयो। तिनीहरूले परमेश्वरसामु आफूलाई प्रदूषित पार्ने बेबिलोनी प्रचलनहरू र सिद्धान्तहरूलाई तिनीहरूको आध्यात्मिक वातावरणबाट हटाउन थाले।
९. सन् १९१९ देखि यहोवाले आफ्ना जनहरूलाई कस्तो उल्लेखनीय आशिष्हरू दिनुभयो?
९ पद १९ अनुसार यहोवा अझै यसो भन्नुहुन्छ: “म तिनीहरूलाई नयाँ हृदय दिनेछु, र तिनीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु। म तिनीहरूका शरीरदेखि ढुंगाको हृदय निकालेर मासुको हृदय हालिदिनेछु।” यी शब्दहरूअनुरूप यहोवाले उहाँलाई “एकै हृदयको भएर” सेवा गरोस् भनी आफ्ना अभिषिक्त सेवकहरूलाई सन् १९१९ मा एकत्रित गर्नुभएर “एउटा हृदय” दिनुभयो। (सपन्याह ३:९) त्यसबाहेक, यहोवाले आफ्ना जनहरूलाई साक्षी कार्य गर्न र गलाती ५:२२, २३ मा वर्णित असल फल फलाउन पवित्र आत्माद्वारा बल प्रदान गर्नुभयो। उहाँले तिनीहरूलाई ढुंगाजस्तो कठोर हृदयको साटो उहाँको इच्छा स्वीकार्ने कोमल, लचकदार र आज्ञाकारी हृदय दिनुभयो।
१०. सन् १९१९ देखि यता यहोवाले किन आफ्नो पुनर्स्थापित जनहरूलाई आशिष् दिनुभएको छ?
१० उहाँले किन यसो गर्नुभयो? यहोवा स्वयं बताउनुहुन्छ। त्यसो गर्नुको कारण हामी इजकिएल ११:२० मा यसरी पाउँछौं: “तिनीहरू मेरा नियमहरूमा हिंडून् र तिनीहरूले मेरा धर्म-विधिहरू मानेर ती पालन गरून्। औ तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु।” परमेश्वरको इस्राएलले आफ्नै धारणाहरूअनुसार चल्नुको साटो यहोवाको व्यवस्था पालन गर्न सिक्यो। तिनीहरूले मानिसको डर नराखी परमेश्वरको इच्छा गर्न सिके। तसर्थ, तिनीहरू मसीहीजगत्का नकली मसीहीहरूभन्दा प्रष्टै भिन्न भए। तिनीहरू यहोवाका जनहरू थिए। त्यसैले यहोवा तिनीहरूलाई आफ्नो “विश्वासी र बुद्धिमान दास” अर्थात् सन्देशवाहकको हैसियतमा चलाउन तयार हुनुहुन्थ्यो।—मत्ती २४:४५-४७.
परमेश्वरका सन्देशवाहकहरूको आनन्द
११. यहोवाका जनहरूको आनन्दबारे यशैयाको पुस्तकले कसरी वर्णन गर्छ?
११ आफूले कत्ति ठूलो विशेषाधिकार पाएको रहेछु भनी थाह पाएपछि तिनीहरूले महसुस गर्ने आनन्दबारे के तपाईं कल्पना गर्न सक्नुहुन्छ? समूहगत रूपमा तिनीहरूले यशैया ६१:१० का शब्दहरू यसरी गुञ्जाए: “म परमप्रभुमा साह्रै आनन्दित हुनेछु। मेरो आत्माले मेरा परमेश्वरमा आनन्द मनाउनेछ।” यशैया ३५:१० को प्रतिज्ञा तिनीहरूमाथि पूरा भयो: “परमप्रभुले उद्धार गर्नुभएकाहरू फर्केर आउनेछन्। तिनीहरू सियोनमा गाउँदै आउनेछन्। तिनीहरूका अनुहारमा सदा आनन्द देखिनेछ। तिनीहरूले आनन्द र रमाहट प्राप्त गर्नेछन्, र शोक र सुस्केरा दूर हुनेछ।” परमेश्वरको ईश्वरीय शान्तिका सन्देशवाहकहरूले सन् १९१९ पछि सबै मानिसजातिलाई सुसमाचार प्रचार गर्दा यस्तो आनन्द प्राप्त गरे। त्यसबेलादेखि अहिलेसम्म यो कार्य गर्न छाडेका छैनन् र तिनीहरूले अझ बढी आनन्द पाएका छन्। येशूले डाँडाको उपदेशमा यसो भन्नुभयो: “धन्य मेल-मिलाप गराउनेहरू किनभने तिनीहरू परमेश्वरका पुत्र[हरू] कहलाइनेछन्।” (मत्ती ५:९) सन् १९१९ देखि अहिलेसम्म “परमेश्वरका पुत्र[हरू]” अर्थात् शेष अभिषिक्त जनहरूले त्यो घोषणा पूरा भएको अनुभव गरेका छन्।
१२, १३. (क) यहोवाको सेवा गर्न परमेश्वरको इस्राएललाई कसले साथ दियो र तिनीहरूले के काम गरे? (ख) यहोवाका चुनिएका सेवकहरूले कस्ता महान् आनन्दहरू उठाएका छन्?
१२ समय बित्दै जाँदा “परमेश्वरको इस्राएल[को]” संख्या १९३० दशकसम्म अर्थात् शेष अभिषिक्त जनहरू जम्मा नगरुञ्जेल बढ्यो। के त्यसपछि सुसमाचारका प्रचारकहरूको संख्या वृद्धि हुन रोकियो त? पटक्कै रोकिएन। पार्थिव आशा भएका मसीहीहरूको ठूलो भीड देखा पर्न थाल्यो र तिनीहरू आफ्ना अभिषिक्त भाइहरूसित प्रचार कार्यमा सामेल भए। प्रेरित यूहन्नाले यस ठूलो भीडलाई दर्शनमा देखे र तिनले यसबारे गरेको वर्णन ध्यान दिन योग्य छ: “तिनीहरू परमेश्वरको सिंहासनको सामने छन्, र दिन-रात उहाँको मन्दिरमा उहाँको सेवा गर्दछन्।” (प्रकाश ७:१५) हो, ठूलो भीड परमेश्वरको सेवामा तल्लीन भयो। परिणामस्वरूप, अभिषिक्त जनहरूको संख्या १९३५ देखि घट्दै जाँदा यी विश्वासी सहयोगीहरूले प्रचार कार्यलाई अझ अघि बढाए।
१३ यसरी यशैया ६०:३, ४ पूरा भयो: “जाति जातिहरू तेरो ज्योतिमा र राजाहरू तेरो उदयको प्रकाशमा आउनेछन्। तेरो आँखा उठाएर चारैतिर हेर, तिनीहरू सबै जम्मा भएर तँकहाँ आउँदैछन्। तेरा छोराहरू टाढ़ाबाट आउनेछन्, र तेरा छोरीहरू हात हातमा बोकेर ल्याइनेछन्।” यी घटनाहरूबाट परमेश्वरको इस्राएलले प्राप्त गर्ने आनन्दबारे यशैया ६०:५ मा सुन्दर ढंगमा वर्णन गरिएको छ। त्यस पदमा यसो भनिएको छ: “तब यो देखेर तँ आनन्दित हुनेछस्, र तेरो हृदय हर्षले गद्गद् हुनेछ। किनकि समुद्रका सम्पूर्ण धन तँतर्फ फर्कनेछ। जाति जातिको सम्पत्ति तँकहाँ आउनेछ।”
अघि बढिरहेको यहोवाको संगठन
१४. (क) इजकिएलले कुन स्वर्गीय कुराहरूको दर्शन देखे र के आदेश पाए? (ख) आधुनिक समयमा यहोवाका जनहरूले के बुझेका छन् र आफ्नो दायित्त्वबारे कस्तो महसुस गर्छन्?
१४ सा.यु.पू. ६१३ तिर इजकिएलले यहोवाको रथरूपी गतिशील स्वर्गीय संगठनको अद्भुत दर्शन देखे। (इजकिएल १:४-२८) त्यसपछि यहोवाले तिनलाई यसो भन्नुभयो: “हे मानिस, इस्राएलीहरूकहाँ जा, र तिनीहरूलाई मेरो कुरा सुना।” (इजकिएल ३:४) यस वर्ष अर्थात् सन् १९९७ मा पनि यहोवाको स्वर्गीय संगठन परमेश्वरका उद्देश्यहरू पूरा गर्न अझै दृढतासाथ अघि बढिरहेको हामीलाई थाह छ। त्यसैले ती उद्देश्यहरूबारे अरूलाई बताउन हामी अझै बाध्य महसुस गर्छौं। इजकिएलले आफ्नो समयमा प्रत्यक्षतः यहोवाबाट प्रेरित भएर वचनहरू बोले। आज, हामी यहोवाको प्रेरित वचन बाइबलबाट वचनहरू बोल्छौं। त्यस पुस्तकमा मानिसजातिको लागि कस्तो उत्तम सन्देश छ! थुप्रै मानिसहरू भविष्यबारे चिन्तित भए तापनि तिनीहरूले सोचेभन्दा परिस्थिति धेरै खराब हुनुका साथै त्यत्तिकै असल पनि छन् भनेर बाइबलले देखाउँछ।
१५. धेरैले सोचेभन्दा आज स्थिति किन बिग्रँदो छ?
१५ हामीले यसअघिका लेखहरूमा देखेअनुसार परिस्थितिहरू खराब छन्। त्यसैले सा.यु.पू. ६०७ मा यरूशलेमलाई नाश गरेझैं मसीहीजगत् र अन्य झूटा धर्महरू पूर्णतया नष्ट गरिनेछन्। त्यति मात्र होइन, प्रकाशको पुस्तकमा सात शिर र दश सिङ भएको जंगली जनावरद्वारा चित्रित विश्वव्यापी सम्पूर्ण राजनैतिक सत्तालाई पनि यरूशलेमका थुप्रै मूर्तिपूजक छिमेकीहरूलाई झैं नष्ट गरी नै लागेको छ। (प्रकाश १३:१, २; १९:१९-२१) यरूशलेममाथि आउन लागेको विनाशबारे यहोवाले इजकिएललाई ज्वलन्त विवरण दिनुभयो। तर मानिसहरूले यस संसारमाथि आउनै लागेको विनाशबारे थाह पाउँदा उहाँका वचनहरूले त्योभन्दा ठूलो अर्थ राख्छन्। यहोवाले इजकिएललाई भन्नुभयो: “यसकारण हे मानिस, सुस्केरा हाल्। साह्रै शोक गर्दै फोक्सो फुटुञ्जेल तिनीहरूका आँखाकै सामने सुस्केरा हाल्। औ तिनीहरूले तँलाई तिमी किन खुइ खुइ गर्छौ? भनी सोधे भने यस्तो जवाफ दे, समाचारको कारण, किनकि यस्तो कुरा आउनलागेको छ कि सबैका हृदय गलिजानेछन्, र सबै हात शिथिल हुनेछन्, सबै आत्मा निरुत्साहित हुनेछन्, र सबै घुँड़ा पानीजस्तै निस्तेज हुनेछन्। हेर्, यस्तो आउनेछ, औ त्यो पूरा हुनेनैछ, परमप्रभु परमेश्वर भन्नुहुन्छ।” (इजकिएल २१:६, ७; मत्ती २४:३०) हो, डरलाग्दा घटनाहरू नजीकै छन्। सँगी मानवहरूप्रतिको हाम्रो गहिरो चासोले गर्दा तिनीहरूलाई यहोवाको आउँदै गरेको क्रोधको “सूचना” दिन हामी उत्प्रेरित हुन्छौं।
१६. नम्रहरूका लागि धेरैले सोचेभन्दा परिस्थिति किन राम्रो छ?
१६ त्यति नै खेर इमानदार हृदय भएकाहरूका लागि चाहिं तिनीहरूले सोचेभन्दा औधी राम्रो परिस्थिति हुन्छ। कुन तरिकामा? येशू हाम्रा पापहरूका निम्ति मर्नुभएको छ र अहिले उहाँ परमेश्वरको राज्यको राजाको हैसियतमा शासन गर्नुहुन्छ। (१ तिमोथी १:१५; प्रकाश ११:१५) मानव दृष्टिकोणअनुसार सुल्झाउन नसकिने मानिसजातिका समस्याहरू स्वर्गीय राज्य मार्फत हटाइनेछन्। मृत्यु, बिमारी, भ्रष्टाचार, भोकमरी, अपराध र वातावरण प्रदूषण विगतको कुरा हुनेछन् र परमेश्वरको राज्यले पार्थिव प्रमोदवनमा शासन गर्नेछ। (प्रकाश २१:३, ४) सबै मानिसजातिले ईश्वरीय शान्तिको उपभोग गर्नेछन् अर्थात् यहोवा परमेश्वर र आपसमा शान्तिमय अनि मायालु सम्बन्धको आनन्द उठाउनेछन्।—भजन ७२:७.
१७. ईश्वरीय शान्तिका सन्देशवाहकहरूका हृदय कस्ता वृद्धिहरूले गर्दा आनन्दित हुन्छ?
१७ संसारका केही भागहरूमा नम्र जनहरूको भीडले ईश्वरीय शान्तिको यस सन्देशलाई स्वीकार्दैछ। केही उदाहरणहरू हेरौं, गत वर्ष युक्रेनले १७ प्रतिशत प्रकाशकहरू वृद्धि भएको प्रतिवेदन दियो। मोजाम्बिकमा १७ प्रतिशत र लिथुआनियामा २९ प्रतिशत वृद्धि भएको प्रतिवेदन छ। रूसमा ३१ प्रतिशत वृद्धि भयो भने अल्बेनियामा प्रकाशकहरू ५२ प्रतिशत वृद्धि भए। यी वृद्धिहरूले के देखाउँछन् भने, लाखौं इमानदार व्यक्तिहरू ईश्वरीय शान्ति चाहन्छन् र धार्मिकताको निम्ति तिनीहरूले बलियो अडान लिएका छन्। यस्तो तीव्र वृद्धिले सम्पूर्ण मसीही भ्रातृत्वलाई आनन्दित तुल्याउँछ।
१८. मानिसहरूले सुनोस् या नसुनोस् हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ?
१८ के मानिसहरूले तपाईंको क्षेत्रमा तुरुन्तै सन्देश स्वीकार्छन्? स्वीकार्छन् भने, हामी तपाईंसितै रमाउँछौं। यद्यपि, कुनै कुनै क्षेत्रहरूमा एक जना इच्छुक व्यक्ति भेट्टाउन कठिन मेहनत गर्नुपर्छ। यस्ता क्षेत्रहरूमा सेवा गर्दा के तिनीहरू हतोत्साहित वा निरुत्साहित हुन्छन्? हुँदैनन्। धेरै मेहनत गर्नुपरे तापनि अन्ततः कुनै व्यक्तिले चासो देखाउँदा त्यो मेहनत सार्थक हुन्छ। त्यसबाहेक, परमेश्वरले जवान भविष्यवक्ता इजकिएललाई तिनका सँगी देशवासी यहूदीहरूलाई प्रचार गर्न दायित्व सुम्पनुहुँदा र त्यतिखेर परमेश्वरले तिनलाई भन्नुभएका वचनहरू यहोवाका साक्षीहरू सम्झन्छन्। जहाँ यसो भनिएको छ: “तिनीहरूले सुने पनि वा सुन्नलाई अस्वीकार गरे तापनि (किनभने तिनीहरू वागी सन्तान हुन्) तिनीहरूले आफ्ना बीचमा एउटा अगमवक्ता ता रहेछन् भन्ने कुरा जान्नेछन्।” (इजकिएल २:५) इजकिएलले झैं हामी पनि मानिसहरूले चाहे सुनून् या नसुनून्, ईश्वरीय शान्तिबारे तिनीहरूलाई बताइरहन्छौं। तिनीहरूले सुन्दा हामी रोमाञ्चित हुन्छौं। तर तिनीहरूले हाम्रो कुरा अस्वीकार गर्दा, उपहास गर्दा र सताउँदासमेत हामी त्यस काममा लागिरहनेछौं। हामी यहोवालाई प्रेम गर्छौं। बाइबल यसो भन्छ: “प्रेम[ले] . . . सबै कुरा सहन्छ।” (१ कोरिन्थी १३:४, ७) हामीले धैर्यधारण गरेको हुँदा यहोवाका साक्षीहरू को हुन्, तिनीहरूले चिन्छन्। हाम्रो सन्देश के हो, तिनीहरूलाई थाह छ। तिनीहरूले ईश्वरीय शान्तिको आनन्द उठाओस् भनी यहोवाका साक्षीहरूले भरमग्दुर चेष्टा गरेका थिए भनेर अन्त आउँदा थाह पाउनेछन्।
१९. साँचो परमेश्वरका सेवकहरूको हैसियतमा हामी कुन विशेषाधिकारलाई अनमोल ठान्छौं?
१९ यहोवाको सेवा गर्नुबाहेक अरू कुनै महान् विशेषाधिकार छ? अहँ, छैन! हामी परमेश्वरसितको सम्बन्ध र उहाँको इच्छा गरेर प्राप्त ज्ञानबाट महान् आनन्द पाउँछौं। “ती मानिसहरू धन्य हुन्, जसले आनन्दको सोर चिन्छन्। हे परमप्रभु, तिनीहरू तपाईंको मोहोड़ाको प्रकाशमा हिंड़छन्।” (भजन ८९:१५) तसर्थ, मानिसजातिको निम्ति परमेश्वरको शान्तिका सन्देशवाहकहरू हुन पाउँदा प्राप्त हुने आनन्दलाई सधैं अनमोल ठानौं। यहोवाले अब पुग्यो नभन्नुभएसम्म आउनुहोस्, यस काममा तनमनले लागिरहौं।
के तपाईंलाई सम्झना छ?
◻ आज परमेश्वरको शान्तिका सन्देशवाहकहरू को हुन्?
◻ सन् १९१९ मा महान् बेबिलोनको पतन भयो भनेर हामी कसरी भन्नसक्छौं?
◻ “ठूलो भीड़[को]” मुख्य चिन्ताको विषय के हो?
◻ आज धेरै मानिसहरूले सोचेभन्दा भविष्य किन अन्धकार छ?
◻ धर्मीहरूका लागि भविष्य तिनीहरूले सोचेभन्दा किन उत्तम हुनसक्छ?
[पृष्ठ २१-मा भएको चित्रहरू]
बिग्रँदो मानव समाज देखेर थुप्रैले नराम्रो हुनेछ भनेर अनुमान लगाउँछन्
[पृष्ठ २३-मा भएको चित्रहरू]
ईश्वरीय शान्तिका सन्देशवाहकहरू आज संसारका सबैभन्दा आनन्दित व्यक्तिहरू हुन्