यहोवाको भवनको अझ ठूलो महिमा
“ ‘म यस भवनलाई महिमाले परिपूर्ण पारिदिनेछु,’ भनी सेनाहरूका परमप्रभु भन्नुहुन्छ।” —हाग्गै २:७.
१. विश्वास र कामसित पवित्र आत्मा कसरी सम्बन्धित छ?
घरघरै प्रचार गर्न जाँदा यहोवाकी एक साक्षीले पेन्टिकोस्टल स्त्री भेटिन्। त्यस स्त्रीले भनिन्, ‘पवित्र आत्मा हामीसित छ तर काम भने तपाईंहरू गर्नुहुन्छ।’ तिनलाई पवित्र आत्मा हुनेहरू स्वतः परमेश्वरको काम गर्न उत्प्रेरित हुन्छन् भनेर कौशलतापूर्वक व्याख्या गरियो। याकूब २:१७ यसो भन्छ: “विश्वास पनि कामरहितको छ भनेता स्वयं मरेको तुल्य हुन्छ।” यहोवाका साक्षीहरूले उहाँको आत्माको मदतद्वारा बलियो विश्वास खेती गरेका छन् र तिनीहरूलाई धार्मिक कार्य अर्थात् ‘परमेश्वरको राज्यको सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गर्न’ लगाउनुभएर उहाँले ‘आफ्नो भवन महिमाले परिपूर्ण पार्नुभएको छ।’ यहोवा पूर्णतया सन्तुष्ट हुनुहुने हदसम्म यो कार्य गरिएपछि ‘अन्त आउनेछ।’—मत्ती २४:१४.
२. (क) यहोवाको कार्यमा आफूलाई व्यस्त राख्यौं भने कस्तो आशिष् पाउनेछौं? (ख) “ढीलो” भएजस्तो देखिए तापनि हामी किन खुशी हुनुपर्छ?
२ येशूका उपरोक्त शब्दहरूअनुसार आज हामीलाई सुम्पिएको कार्य “परमधन्य परमेश्वरको महिमाको सुसमाचार” अरूलाई प्रचार गर्नुमा केन्द्रित हुनुपर्छ भन्ने निष्कर्षमा पुग्छौं। (१ तिमोथी १:११) यहोवाको सेवामा हामी जत्ति व्यस्त हुन्छौं, अन्त पनि त्यत्ति नै छिटो आएको जस्तो लाग्नेछ। हबकूक २:२, ३ मा हामी यहोवाका यी शब्दहरू पढ़छौं: “तैंले यो दर्शन पाटीहरूमा प्रष्ट गरी लेख्, र पढ़नेले त्यो छर्लङै पढ्नसकोस्। त्यो दर्शन ठहराएको समयमा पूरा हुनेछ, त्यो पूरा हुने बेला चाँडै आउँदैछ, त्यसले धोका दिंदैन। त्यो पूरा हुनु ढीलो भए तापनि त्यसको बाटो हेर्दै बस्, किनभने त्यो निश्चय पूरा हुनेछ, त्यसले ढीलो गर्नेछैन।” हो, “दर्शन” “पूरा हुनु ढीलो भए तापनि” निश्चय पूरा हुनेछ। येशूले राज्य गर्नुभएको ८३ वर्ष बितिसकेको हुँदा हाल अन्त आउन ढीलो भइरहेको कसै कसैले महसुस गर्लान्। तर अन्त अहिलेसम्म नआएकोले के हामी खुशी हुनुपर्ने होइन र? पूर्वी युरोप, अफ्रिकाका केही भूभाग तथा अन्य मुलुकहरूमा सुसमाचार प्रचारकार्यमाथि लगाइएको प्रतिबन्ध सन् १९९० दशकको दौडान चमत्कारै भएको हो कि भन्ने भान पार्ने गरी हटाइएको छ। अन्त आउन “ढीलो” भएजस्तो देखिए तापनि हालै मात्र खोलिएका यी क्षेत्रहरूबाट धेरैजसो “भेडा” जम्मा गर्न समय पाएका छौं।—यूहन्ना १०:१६.
३. “पुस्ता[बारे]” हामीले हालै पाएको जानकारीले हामीलाई कसरी परमेश्वरको कार्य अबिलम्बी भई गर्न उत्प्रेरित गर्छ?
३ अगमवक्ता यसो भन्छन्, “त्यसले ढीलो गर्नेछैन।” “यी सब कुराहरू पूरा” नहोउञ्जेल वर्तमान दुष्ट रीतिरिवाज बितेर जानेछैन भनी येशूले भन्नुभएको थियो। (मत्ती २४:३४) उहाँका शब्दहरूबारे हामीले भर्खरै हासिल गरेको नयाँ ज्ञानको अर्थ हाम्रो प्रचारकार्यमा हतार गर्नु आवश्यक छैन भनेको हो?a तथ्यहरूले के देखाउँछन् भने, कुरा यसको ठीक विपरीत छ! हाम्रो समकालीन पुस्ता पहिला कहिल्यै नभएको दुष्टता र भ्रष्टाचारमा धस्सिंदै गइरहेको छ। (प्रेरित २:४० तुलना गर्नुहोस्।) हामी हाम्रो काममा अबिलम्बी भई लाग्नुपर्छ। (२ तिमोथी ४:२) महासंकष्टको समयसम्बन्धी सम्पूर्णअगमवाणीहरूले त्यो एक्कासि, एकै झोक्कामा चालै नपाउने गरी आउनेछ भनी देखाउँछन्। (१ थिस्सलोनिकी ५:१-४; प्रकाश ३:३; १६:१५) “यसकारण तिमीहरू पनि तयार रहो किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउँछ।” (मत्ती २४:४४) यस ईश्वरहीन पुस्ता सर्वनाशको सँघारमै छ। अतः सांसारिक कुराहरूमा अलमलिएर फेरि ‘हिलैमा लड़ीबड़ी खेल्दै’ अनन्त जीवनको बहुमूल्य आशा हामी पक्कै पनि गुमाउन चाहँदैनौं!—२ पत्रुस २:२२; ३:१०; लूका २१:३२-३६.
४. कस्तो परिस्थितिले गर्दा “ठीक ठीक समयमा” दिने “भोजन[को]” परिमाणलाई बढाउनु परेको छ र यो आवश्यकता कसरी पूरा गरिएको छ?
४ येशूले गर्नुभएको अगमवाणीअनुरूप सन् १९१४ मा मानिसजाति “जगत्को अन्त[मा]” प्रवेश गर्दा “कष्टको शुरू” भयो। दुःख, विनाशकारी घटनाहरू र अधर्मीहरू आज पनि झन् झन् बढ्दैछन्। (मत्ती २४:३-८, १२) त्यही समयमा यहोवाले विश्वासी र बुद्धिमान दासवर्गलाई तिनीहरूको मालिक ख्रीष्टको घरानालाई “ठीक ठीक समयमा” आध्यात्मिक “भोजन” प्रबन्ध गर्न अह्राउनुभएको छ। (मत्ती २४:४५-४७) स्वर्गस्थित आफ्नो सिंहासनबाट हाल मसीह राजाले पृथ्वीभरि एक अद्भुत आध्यात्मिक भोजन खुवाउने कार्यक्रमलाई निर्देशित गरिरहनुभएको छ।
प्रचुर मात्रामा “भोजन”
५. “भोजन[को]” मुख्य व्यञ्जनले कस्तो ध्यानाकर्षण गरिरहेको छ?
५ “भोजन” तयार पार्ने विधिलाई ध्यान दिनुहोस्। (लूका १२:४२) मसीही भोजन सूचीको मुख्य व्यञ्जन परमेश्वरको वचन बाइबल हो। प्रभावकारी ढंगमा बाइबलका कुरा सिकाउन पढ्न सकिने सही अनुवाद हुनु अत्यावश्यक छ। वर्षौंको दौडान यो आवश्यकता प्रगतिशील ढंगमा पूरा हुँदै आइरहेको छ, विशेषगरि सन् १९५० मा मसीही युनानी धर्मशास्त्रको नयाँ विश्व अनुवाद अंग्रेजीमा विमोचन भएदेखि सन् १९६१ सम्ममा सम्पूर्ण बाइबलको नयाँ विश्व अनुवाद उपलब्ध भयो र अन्य मुख्य भाषाहरूमा थप संस्करणहरू प्रकाशित हुन थाले। सन् १९९६, सेवा वर्षमा ३ वटा खण्डहरू विमोचन गरियो र यसरी जम्माजम्मी २७ भाषाहरूमध्ये अब १४ भाषाहरूमा सम्पूर्ण बाइबल उपलब्ध छ। बाइबल र बाइबल सहायक सामग्रीहरू तयार पार्न लगभग १,१७४ समर्पित मसीहीहरू अहिले ७७ देशहरूमा अनुवादमा पूर्ण-समय कार्यरत छन्।
६. सोसाइटीले कसरी बाइबल साहित्यहरूको माग पूरा गरेको छ?
६ अनुवादकहरूको पल्टनलाई साथ दिंदै वाच टावर सोसाइटीका २४ वटा शाखा छापाखानाहरूमा धेरैभन्दा धेरै प्रकाशनहरू छापिरहेका छन्। त्यसका लागि द्रुत गतिले चल्ने थप रोटरी छापाखानाहरू केही प्रमुख शाखा कार्यालयहरूमा जडान हुँदैछन्। प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरूको उत्पादन महिनैपिच्छे बढ्दै गइरहेको छ र अहिले यी दुवै पत्रिकाहरू जम्माजम्मी ९४,३८,९२,५०० प्रति छापिन्छन् जुन गत वर्षभन्दा १३.४ प्रतिशत वृद्धि हो। इटाली, कोरिया, जर्मनी, जापान, फिनल्याण्ड, ब्राजिल, मेक्सिको र संयुक्त राज्यमा मात्र सन् १९९५ को तुलनामा बाइबलहरू र सजिल्द पुस्तकहरूको कुल उत्पादन १९९६ मा ४० प्रतिशतले बढेको छ अर्थात् ७,६७,६०,०९८ प्रति पुगेको छ। समष्टिगत रूपमा भन्ने हो भने, अन्य शाखा कार्यालयहरूले पनि साहित्य प्रकाशन गर्न उल्लेखनीय योगदान पुऱ्याएका छन्।
७. यशैया ५४:२ पहिलेभन्दा झनै महत्त्वपूर्ण किन भएको छ?
७ यी वृद्धिहरूमध्ये धेरैजस्तो त सन् १९९० दशकको दौडान पूर्वी युरोप र अफ्रिकामा यहोवाका साक्षीहरूमाथिको प्रतिबन्ध हटाइएपछि आवश्यक पर्न गएको हो। यी स्थानहरूमा आध्यात्मिक भोक निकै तीव्र छ। त्यसकारण यी शब्दहरू पहिलेभन्दा झनै अर्थपूर्ण तरिकामा गुञ्जायमान भइरहेका छन्: “तेरो पालको ठाउँ बढ़ा। तेरो डेराको पाटा तन्काइऊन्। न थाम्, लामो पार्, र तेरा कीलाहरू बलियो गर्।”—यशैया ५४:२.
८. उदारचित्त भई चन्दा दिंदा आर्थिक सहयोगमा कस्तो मदत पुगेको छ?
८ यसरी सोसाइटीका १०४ वटा शाखा कार्यालयहरूका सुविधाहरू बढाउनु आवश्यक परेको छ। हालै खोलिएका नयाँ इलाकाहरूको आर्थिक अवस्था निकै कमजोर छ। त्यसैकारण यस विस्तारको अधिकांश खर्च विश्वव्यापी कार्यका लागि धनी राष्ट्रले दिएको चन्दाद्वारा नै बेहोरिएको छ। खुशीको कुरा, मण्डलीहरू तथा व्यक्तिविशेषले सम्पूर्ण हृदयले प्रस्थान ३५:२१ को यो मनोभावअनुरूप गरेका छन्: “जस जसका हृदय प्रेरणाले भऱ्यो, र हरेक जसको मन इच्छुक भयो, तिनीहरूले भेट हुने पालको काम त्यसका सबै सेवाका काम र पवित्र पोशाकको निम्ति परमप्रभुको लागि भेटी ल्याए।” यो मौकाको फाइदा उठाउँदै हामी उदारचित्त भई दिनुहुने सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं।—२ कोरिन्थी ९:११.
९. आज रोमी १०:१३, १८ कसरी पूरा भइरहेको छ?
९ निस्सन्देह, सन् १९९६ मा वाच टावर सोसाइटीका प्रकाशनहरूले पृथ्वीको कुना कुनासम्म यहोवाको नाउँ र उद्देश्यहरू महिमित गरेका थिए। यो प्रेरित पावलले अगमवाणी गरेझैं हो। योएलको भविष्यवाणी र भजन १९ औं अध्याय उद्धरण गर्दै तिनले लेखे: “किनकि प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ। तर म भन्दछु, ‘के तिनीहरूले सुनेनन्? निश्चय, तिनीहरूको सोर सारा पृथ्वीमा पुग्यो, औ तिनीहरूका कुरा संसारको अन्तसम्म।’ ” (रोमी १०:१३, १८) यसप्रकार बहुमूल्य नाउँ यहोवाको स्तुति गर्दै उहाँका जनहरूले उहाँको उपासना भवनलाई महिमाले भर्ने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यद्यपि, विशेषगरि सन् १९९६ को दौडान यो उद्घोषणा कसरी चारैतिर फैलियो? कृपया पृष्ठ १८ देखि २१ को चार्ट जाँच्नुहोस्।
विश्वव्यापी फसल
१०. पृष्ठ १८ देखि २१ को चार्टमा यहोवाका जनहरूको क्रियाकलापहरूमध्ये कुन कुन पक्ष तपाईंलाई विशिष्ट लाग्यो?
१० लूका १०:२ मा पाइने येशूका यी शब्दहरू पहिले कहिल्यै यत्तिको सशक्त थिएन: “फसल ता प्रशस्त छ, तर खेतालाहरू थोरै छन्, यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्।” के तपाईंले यो आह्वानको जवाफ दिइरहनुभएको छ? पृथ्वीभरि लाखौंले दिइरहेका छन्। सन् १९९६ को दौडान क्षेत्र सेवाको रिपोर्ट दिने ५४,१३,७६९ राज्य प्रकाशकहरूको नयाँ शिखर संख्याले यसको पुष्टि गर्छ। यसबाहेक, ३,६६,५७९ नयाँ भाइ तथा बहिनीहरूले बप्तिस्मा लिए। ‘यहोवाको उपासना गर्ने भवनलाई महिमाले परिपूर्ण पार्ने’ काममा भाग लिइरहेका यी “जाति जातिका धन-सम्पत्तिहरूलाई” हामी कत्ति प्रिय ठान्छौं!—हाग्गै २:७.
११. हामी सबैसित औधी रमाउनुपर्ने के कारण छ?
११ हालै खोलिएका नयाँ इलाकाहरूमा भएको वृद्धि पनि निकै उल्लेखनीय छ। यस्तो वृद्धिमा आनन्द गर्ने साक्षीहरू देखेर हामीमध्ये कसैको मन ईर्ष्याले पोलेको छ कि? अहँ, बरु हामी पनि तिनीहरूसँगसँगै रमाउँछौं। जुनसुकै देश होस्, सुरुमा वृद्धि कम थियो। हाग्गैका समकालीन अगमवक्ता जकरियाले यस्तो लेखे, कसले “यो कामको क्षुद्र हिसाबले भएको शुरूलाई तुच्छ [ठानेका छन्?]” (जकरिया ४:१०) साक्षीकार्य राम्ररी स्थापित भएका मुलुकहरूमा अहिले लाखौं राज्य प्रकाशकहरू देखेर हामी औधी रमाउँछौं। ती मुलुकहरूका इलाकाहरूमा अक्सर बारम्बार प्रचार गरिन्छ। अझ भनौं भने, धेरैजसो ठूल-ठूला शहरहरूमा त हरेक हप्ता प्रचार गरिएको हुन्छ। पहिले प्रतिबन्धित देशहरूमा हाल यहोवाले छुटकारा दिने मौका दिइरहनुभएको बेला के हामी सुस्ताउने कारण छ? कदापि छैन! “खेत संसार हो,” येशूले भन्नुभयो। (मत्ती १३:३८) यहूदी रीतिरिवाजको अन्त हुनलाग्दा प्रारम्भिक चेलाहरूले विस्तृत रूपमा साक्षी दिएझैं हामीले पनि विस्तृत साक्षी दिनैपर्छ।—प्रेरित २:४०; १०:४२; २०:२४; २८:२३.
सधैं अगाडि बढिरहने
१२. “अगाडि बढिरहन” हामीसित कस्तो उत्प्रेरणा छ? (“ ‘पृथ्वीको पल्लो छेउदेखि’ कटनी गर्ने” पेटी पनि हेर्नुहोस्।)
१२ हो, यहोवाको स्वर्गदूतीय दिव्य रथसँगसँगै हामी पनि “सीधा सोझै” अगाडि बढिरहनै पर्छ। (इजकिएल १:१२) पत्रुसका यी शब्दहरू पनि हामी मनमा राख्छौं: “कसै कसैले सम्झेझैं आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढीलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चाताप गरून् भन्ने इच्छा गरेर प्रभुले तिमीहरूतर्फ धीरज देखाउनुभएको छ।” (२ पत्रुस ३:९) दरिद्र मुलुकहरूका हाम्रा भाइहरूको उदाहरणीय जोसले हामीलाई पनि उत्प्रेरित गरोस्। आरमागेडोन सुरु हुन ढीलो भइरहेको जस्तो देखिए तापनि यसले यी मुलुकलगायत धेरै पटक पूरापूर प्रचार गरिसकिएका इलाकाहरूका हजारौं मानिसहरूलाई जम्मा गर्ने समय दिइरहेको छ। धोकामा नपर्नुहोस्: “परमप्रभुका भयानक दिन नजीकै छ, नजीकै, त्यो चाडै आउँदैछ।” (सपन्याह १:१४) त्यसैले अन्तिम पटक विस्तृत साक्षी दिन हामीले पनि हतार गर्नुपर्ने हो!
१३, १४. (क) सन् १९९६ दौडान वितरण गरिएका प्रकाशनहरूबारे के भन्न सकिन्छ? (ख) हरेक वर्ष मण्डलीहरूले कस्ता विशेष योजनाहरू बनाउनसक्छन् र त्यसमा सहभागी हुन तपाईंले कस्तो योजना बनाउनुभएको छ?
१३ सेवा चार्टमा विस्तृत विवरण नदिइएको भए तापनि गत वर्ष बाइबल, पुस्तक तथा पत्रिकाहरूको वितरणमा उल्लेखनीय वृद्धि भएको थियो। उदाहरणका लागि, विश्वभरि कुल ५४,३६,६७,९२३ प्रति पत्रिकाहरू वितरण हुँदा पत्रिका वितरण १९ प्रतिशतले बढेको देखियो। हाम्रा पत्रिकाहरूले सडक, पार्क, बसबिसौनी, व्यापार क्षेत्र जताततै हामीलाई भिन्नाभिन्नै तरिकामा प्रचार गर्न मदत गर्छन्। अक्सर प्रचार गरिएको इलाकामा पेशेवर मानिसहरू हाम्रा पत्रिकाहरूको गुणस्तर देखेर प्रभावित भएर बाइबल अध्ययन गर्न राजी भएका छन्।
१४ हरेक वर्ष अप्रिल महिनाको दौडान मण्डलीहरू अक्सर पत्रिका वितरण गर्न विशेष प्रबन्ध मिलाउँछन् र त्यस महिनाभरि दिनदिनै घर-घरै तथा सार्वजनिक स्थलहरूमा पत्रिका वितरण गर्छन्। सन् १९९७ अप्रिल महिनाको दौडान के तपाईंको मण्डलीले यस कार्यमा भाग लिनेछ? अप्रिल महिनाको प्रहरीधरहरा र ब्यूँझनुहोस्!-मा विशिष्ट अंकहरू तयार पारिएका छन् र एकै विषयमा एकैसाथ विश्वभरि प्रस्तुत गर्दा तिनले पक्कै पनि अमेट छाप पार्नेछन्! साइप्रस टापुमा मण्डलीहरूको नारा यस्तो छ: “यथासम्भव सबैलाई राज्य समाचार सुनाउनुहोस्।” यो नाराअनुसार तिनीहरूले प्रत्येक महिना पत्रिका वितरण गर्ने तालिकासमेत मिलाएका थिए। यसो गर्दा गत वर्ष प्रस्तुत गरिएका पत्रिकाहरूको नयाँ शिखर संख्या २,७५,३५९ कायम भयो, जुन ५४ प्रतिशत वृद्धि हो।
हाग्गैका अन्तिम सन्देशहरू
१५. (क) यहोवाले हाग्गै मार्फत अझ अरू सन्देशहरू किन पठाउनुभयो? (ख) हाग्गैको तेस्रो सन्देशले हामीलाई कस्तो पाठ सिकाउनुपर्ने हो?
१५ हाग्गैले दोस्रो सन्देश सुनाएको ६३ दिनपछि यहोवाले तिनलाई तेस्रो उद्घोषणा गर्न पठाउनुभयो र यो उद्घोषणा आज हामी पनि मनमा राख्नसक्छौं। मानौं यहूदीहरूले १७ वर्षअघि बसालिसकेको मन्दिरको जग अहिले बसाल्दैछन् कि भन्ने भान पर्ने तरिकामा हाग्गैले कुरा गरे। फेरि पनि यहोवाले शुद्ध पार्नुपर्ने आवश्यकता देख्नुभयो। पूजाहारी तथा मानिसहरू लापरवाह भएका थिए त्यसैकारण तिनीहरू यहोवाको दृष्टिमा अशुद्ध थिए। कतै आज पनि यहोवाका जनहरूमध्ये कोही कोही लापरवाह भएर संसारको छाडा तथा भौतिक तौरतरिकाहरूमा समेत डुबिरहेका त छैनन्? हामीहरू सबैले “अब उप्रान्त” यहोवाको नाउँ महिमा गर्न मन लगाउन र “आजको दिनदेखि म तिमीहरूलाई आशिष दिनेछु” भन्ने उहाँको प्रतिज्ञामा भरोसा गर्न रत्तिभर ढीलो गर्नु हुँदैन।—हाग्गै २:१०-१९; हिब्रू ६:११, १२.
१६. कस्तो ‘हल्लाउने’ कार्य नजीकै छ र यसको नतिजा के हुनेछ?
१६ त्यही दिन “सेनाहरूका परमप्रभुको” वाणी चौथो अनि अन्तिम पटक हाग्गैकहाँ आयो। उहाँले ‘आकाश र पृथ्वी हल्लाउनुमा’ के विथोलित छ, यसो भन्नुहुँदै प्रकट गर्नुभयो: “राज्य राज्यहरूको गद्दी म पल्टाइदिनेछु, र राज्य राज्यहरूको र जाति जातिहरूको शक्तिलाई म नाश पार्नेछु। रथहरू र तिनमा सवार हुनेहरूलाई समेत म पल्टाइदिनेछु। घोड़ाहरू र घोड़चढीहरू समेत आफ्ना आफ्ना साथीको तरवारबाट काटिनेछन्।” (हाग्गै २:६, २१, २२) यहोवाले आरमागेडोनमा पृथ्वीलाई पूर्णतया सफा गर्नुहुँदा यो ‘हल्लाउने’ कार्य चरमोत्कर्षमा पुग्नेछ। त्यतिञ्जेल “सबै जाति जातिका धन-सम्पत्तिहरू” भित्री सक्नेछन्। अनि यो नयाँ संसारमा मानव समाजको केन्द्र बन्नेछ। हर्षित हुने र यहोवालाई प्रशंसा चढाउने कत्ति असल कारणहरू!—हाग्गै २:७; प्रकाश १९:६, ७; २१:१-४.
१७. येशू कसरी “छापऔंठी” साबित हुनुभएको छ?
१७ आफ्नो अगमवाणीलाई टुंग्याउँदै हाग्गै लेख्छन्: “सेनाहरूका परमप्रभु यही भन्नुहुन्छ, ‘त्यस दिन, हे . . . यरूबाबेल, म तँलाई लिएर छापऔंठी जस्तै तुल्याउनेछु, किनभने मैले तँलाई रोजेको छु’ सेनाहरूका परमप्रभु यही भन्नुहुन्छ।” (हाग्गै २:२३) ख्रीष्ट येशू अहिले यहोवाको प्रतिरूपी मसीह राजा तथा प्रधानपूजाहारी हुनुहुन्छ। बडाहाकिम यरूबाबेल र प्रधानपूजाहारी यहोशूले पार्थिव यरूशलेममा भिन्नाभिन्नै तरिकामा वहन गरेको कार्यभारलाई येशूले स्वर्गमा बसेर एक्लैले सँभाल्दै हुनुहुन्छ। येशू यहोवाको दाहिने हातको आधिकारिक छापऔंठीजस्तै हुनुभएको छ। “परमेश्वरका जुनसुकै प्रतिज्ञाहरू” वास्तविकतामा परिणत गर्ने साधन अर्थात् “हो” हुनुहुन्छ। (२ कोरिन्थी १:२०; एफिसी ३:१०, ११; प्रकाश १९:१०) बाइबलका सम्पूर्ण भविष्यसूचक सन्देशहरू राजा, पूजाहारी तथा मुक्तिदाताको रूपमा ख्रीष्टसित सम्बन्धित यहोवाको प्रबन्धमा केन्द्रित छ।—यूहन्ना १८:३७; १ पत्रुस १:१८, १९.
१८. ‘सेनाहरूका यहोवाको’ समापन ‘वाणीको’ प्रोत्साहनदायी पूर्ति कसरी हुनेछ?
१८ साँच्चै, यहोवाको ज्योतिर्मय आध्यात्मिक मन्दिरमा मात्र आज सबैभन्दा धेरै महिमा पाइन्छ! अनि चाँडै यहोवाले शैतानको सम्पूर्ण रीतिरिवाजलाई नष्ट गर्नुभएपछि हाग्गै २:९ अझ रोचक ढंगमा पूर्ति हुनेछ: “यस ठाउँमा म शान्ति ल्याउनेछु भनी सेनाहरूका परमप्रभु भन्नुहुन्छ।” अन्ततः शान्ति! अर्थात् यहोवाको “छापऔंठी” वा “शान्तिका राजकुमार” ख्रीष्ट येशूले ग्यारेन्टी दिनुभएको चिरकालीन विश्वव्यापी शान्ति। उहाँबारे यस्तो लेखिएको छ: “उहाँको शासन र शान्तिको वृद्धिको अन्त चाहिं कहिल्यै हुनेछैन। . . . सेनाहरूका परमप्रभुको उत्तेजित जोसले यो गर्नेछ।” (यशैया ९:६, ७) अनन्तसम्म यहोवाको उपासना गर्ने भवनको महिमा उहाँको विश्वव्यापी सार्वभौम शान्तिमय राज्यभरि प्रतिबिम्बित भई नै रहनेछ। त्यस भवनमा सदा हाम्रो बास रहोस्!—भजन २७:४; ६५:४; ८४:१०.
[फुटनोट]
a प्रहरीधरहरा, नोभेम्बर १, १९९५ अंकको “ ‘दुष्ट पुस्ता[बाट]’ जोगाइएका” र “जागा रहने समय” हेर्नुहोस्।
के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?
◻ आज यहोवाको भवन कसरी ‘महिमाले परिपूर्ण’ भएको छ?
◻ सुसमाचार प्रचारकार्यमा पहिलेभन्दा किन हतार गर्नुपरेको छ?
◻ सेवा वर्ष सन् १९९६ को प्रतिवेदनले प्रचारकार्यमा हतार गर्न कसरी उत्प्रेरित गरेको छ?
◻ ख्रीष्टले यहोवाको “छापऔंठी[को]” रूपमा कसरी सेवा गरिरहनुभएको छ?
[पृष्ठ १५-मा भएको पेटी]
“पृथ्वीको पल्लो छेउदेखि” कटनी गर्ने
यशैया ४३:६ मा हामी यहोवाको यो आज्ञा पाउँछौं: “छोड़िदे। . . . मेरो छोराहरूलाई टाढ़ादेखि र मेरा छोरीहरूलाई पृथ्वीको पल्लो छेउदेखि ल्याऊ।” आज पूर्वी युरोपमा यो शास्त्रपद अपूर्व ढंगले पूरा भइरहेको छ। उदाहरणका लागि, पहिलेको साम्यवाद राष्ट्र मोल्डोभालाई लिनुहोस्। त्यहाँ यस्ता गाउँहरू पनि छन्, जहाँ अहिले लगभग आधा गाउँ नै साक्षीहरू भएका छन्। प्रचार गर्ने इलाका भेट्टाउन तिनीहरूले लामो दूरी तय गर्नुपर्छ। तैपनि तिनीहरू प्रयत्न गरिरहेका छन्! यी मण्डलीहरूमा भएकाहरूमध्ये धेरैजसो सन् १९५० दशकको प्रारम्भतिर साइबेरियामा धपाइएकाहरूका सन्तान हुन्। ती नै सन्तानहरूले अहिले यस कटनी कार्यमा अगुवा लिइरहेका छन्। गत वर्ष १२,५६५ प्रकाशकहरूमध्ये १,९१७ जनाले बप्तिस्मा लिए। त्यहाँका ४३ मण्डलीहरूमध्ये प्रत्येक मण्डलीमा करिबन १५० प्रकाशकहरू छन्। नयाँ सेवा वर्षमा त्यहाँका क्षेत्रहरू चारबाट आठ पुगेको छ।
अल्बेनियाको वृद्धि पनि उल्लेखनीय छ। त्यहाँका मुट्ठीभर साक्षीहरूले लगभग ५० वर्षदेखि अति क्रूर निरंकुश शासन सहनुपरेको थियो। तिनीहरूमध्ये कोही कोही मारिए पनि। यसले येशूको यो प्रतिज्ञा स्मरण गराउँछ: “तिमीले कष्ट भोग्न लागेका कुराहरूसँग नडराऊ, हेर, तिमीहरू परीक्षामा पर भनेर शैतानले तिमीहरूमध्ये कुनै कुनैलाई कैदमा हाल्नआँटेको छ, . . . तिमी मृत्युसम्मै विश्वासी होऊ, र म तिमीलाई जीवनको मुकुट दिनेछु।” (प्रकाश २:१०; यूहन्ना ५:२८, २९; ११:२४, २५ पनि हेर्नुहोस्।) हाल अल्बेनियामा के भइरहेको छ? भनौं भने, यशैया ६०:२२ को “थोरै चाहिं हजार हुनेछ” भन्ने यहोवाको प्रतिज्ञा एकदमै सशक्त रूपमा पूरा भइरहेको छ! सन् १९९० दौडान अल्बेनियामा एक जना प्रकाशकले मात्र रिपोर्ट गरेको थियो। तथापि, इटालीलगायत अन्य मुलुकहरूबाट आएका थप “खेतालाहरू[ले]” येशूका यी शब्दहरू पालन गरे: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, . . . बप्तिस्मा देओ।” (मत्ती २८:१९; लूका १०:२) सन् १९९६ मा येशूको मृत्युको स्मरणार्थ मनाउने समयसम्ममा त्यहाँ ७७३ जना प्रकाशकहरू क्षेत्र सेवकाईमा सक्रिय भइसकेका थिए र यिनीहरूले स्मरणार्थमा ६,५२३ जनालाई भेला गराए! यो संख्या प्रकाशकहरूको संख्याभन्दा आठ गुना बढी थियो! दुर्गम इलाकाहरूमा पनि उपस्थित संख्या अद्भुत तरिकाले बढेको रिपोर्ट प्राप्त भयो। कुक्स र डीभ्येकजस्ता शहरहरूमा स्थानीय प्रकाशकहरू नभए तापनि क्रमशः १९२ तथा २३० जना उपस्थित भएका थिए। क्रुयेमा एक जना मात्र प्रकाशक भए तापनि स्मरणार्थमा २१२ जना उपस्थित भएका थिए। कोर्चका ३० प्रकाशकहरूले ३०० भन्दा बढी मानिसहरू अटाउने हल भाडामा लिए। हल टनाटन भरिएपछि ठाउँ नपुगेकोले अरू २०० जनालाई फर्काउनु परेको थियो। साँच्चै खेत कटनी गर्न योग्य छ!
रोमानियाको प्रतिवेदन यस्तो छ: “घर-घरै साक्षी दिइरहेको बेला हामीले एक मानिसलाई भेट्यौं। तिनको भनाइअनुसार तिनी यहोवाका साक्षी थिए र एउटा सानो गाउँमा बस्दा रहेछन्। हामीलाई थाह भएसम्म त्यहाँ एक जना पनि साक्षी थिएनन्। तिनको भनाइअनुसार तिनीलगायत अरू १५ जनाले वर्षौंदेखि बिहीबार तथा आइतबार सभाहरू सञ्चालन गर्दै आएका थिए। यसबाहेक तिनीहरूले घर-घरको प्रचार पनि गर्न थालिसकेका थिए। भोलिपल्टै हामी त्यो गाउँमा गयौं। त्यहाँ हामीलाई १५ पुरुष, स्त्री तथा केटाकेटीहरू दुइटा कोठामा पर्खिरहेका थिए। तिनीहरूले २० वटा पुस्तकहरू तथा २० वटा ताजा पत्रिकाहरू लिए। हामीले तिनीहरूलाई बाइबल अध्ययन कसरी सञ्चालन गर्ने हो, देखायौं। हामीले एक साथ गीत गायौं र तिनीहरूले जवाफ खोजिरहेका महत्त्वपूर्ण प्रश्नहरूको उत्तर दियौं। त्यस समूहको अगुवाइ गर्नेले यो कुरा स्वीकारे: ‘केही दिनअघि मात्र हामीकहाँ एक जना गोठालो पठाइदिनुस् भनेर आँसु बगाउँदै यहोवालाई प्रार्थना गरेको थिएँ र मैले मेरो प्रार्थनाको जवाफ पाएँ।’ हामी औधी खुशी भयौं र फर्कने बेला टुहुरोले बुबालाई भेट्टाउँदाजस्तै गरी तिनले यसो भने: ‘हामीलाई नबिर्सनुहोस्। हामीलाई भेट्न फेरि फेरि आउनुहोस् है!’ हामीले त्यसै गऱ्यौं र अहिले त्यस गाउँमा सातवटा बाइबल अध्ययन सञ्चालन भइरहेका छन्। धेरैजसो नयाँ इलाकाहरूमा बाइबल साहित्यको निकै मूल्यांकन गरिन्छ र त्यहाँ ती साहित्यहरू मार्फत प्रचारकार्य निकै अचम्मलाग्दो गरी सुरु हुन्छ। अनि यस कार्यपछाडि ईश्वरीय स्रोत छ भनेर यसले देखाउँछ।”
[पृष्ठ १८-२१-मा भएको तालिका]
विश्वव्यापी यहोवाका साक्षीहरूको १९९६ सेवा वर्ष रिपोर्ट
(छापिएको प्रकाशन हेर्नुहोस्)
[पृष्ठ १६, १७-मा भएको चित्र]
समुद्री टापुहरू (१), दक्षिण अमेरिका (२), अफ्रिका (३), एसिया (४), उत्तर अमेरिका (५) र युरोपमा (६) “सबै जाति जातिका धन-सम्पत्तिहरू” जम्मा गरिंदैछन्