प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w07 ११/१ pp. १९-२३
  • “चाँदी मेरै हो, र सुन पनि मेरै”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “चाँदी मेरै हो, र सुन पनि मेरै”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • खर्च कसरी बेहोरिन्छ?
  • चार सय सैंतीस भाषामा प्रकाशनहरू
  • अनुवादको गुणस्तर बढाउने
  • मन छुने शब्दहरू
  • “हामी परमेश्‍वरका सहकर्मी हौं”
  • के तपाईंलाई ‘दान दिने सुअवसर पाउँदा’ खुसी लाग्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • “परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • दिंदा कस्तो आनन्द प्राप्त हुन्छ, के तपाईंलाई थाह छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • दिने मनोभाव खेती गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
w07 ११/१ pp. १९-२३

“चाँदी मेरै हो, र सुन पनि मेरै”

ईसापूर्व छैटौं शताब्दीमा फारसका राजा कोरेसले परमेश्‍वरका जनहरूलाई बेबिलोनको कैदबाट छुटाए। तिनीहरूमध्ये हजारौं जना परमेश्‍वरको मन्दिर पुनर्निर्माण गर्न यरूशलेम फर्किए। मन्दिर ध्वस्त भएको थियो। फर्कि आउनेहरूको आर्थिक अवस्था दयनीय थियो अनि विरोधी छिमेकीहरूद्वारा पुनर्निर्माण कामको विरोध भयो। त्यसैले, पुनर्निर्माणको काममा लागेकाहरूमध्ये केहीले त, त्यो अति महत्त्वपूर्ण काम फत्ते गर्न सकिएला र भनेर पनि सोचे।

अगमवक्‍ता हाग्गै मार्फत यहोवाले पुनर्निर्माणको काममा जुटेकाहरूलाई आफू तिनीहरूको साथमा भएको आश्‍वासन दिनुभयो। उहाँले यसो भन्‍नुभयो: “सबै जातिहरूलाई हल्लाउनेछु, र सबै जाति जातिका धन-सम्पत्तिहरू आउनेछ, र म यस भवनलाई महिमाले परिपूर्ण पारिदिनेछु।” पुनर्निर्माण कार्यमा लागेकाहरूको आर्थिक चिन्ताको बारेमा चाहिं हाग्गैले यस्तो सन्देश दिए: “चाँदी मेरै हो, र सुन पनि मेरै हो भनी सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ।” (हाग्गै २:७-९) हाग्गैले यी प्रोत्साहनदायी शब्दहरू बोलेको पाँच वर्षभित्र पुनर्निर्माणको काम पूरा भयो।—एज्रा ६:१३-१५.

वर्तमान समयमा पनि हाग्गैका ती शब्दहरूले उहाँका सेवकहरूलाई परमेश्‍वरको उपासनासित सम्बन्धित ठूल-ठूला कामहरू गर्दा उत्प्रेरित गरेको छ। सन्‌ १८७९ मा विश्‍वासी र बुद्धिमान्‌ दास वर्गले त्यतिबेला जायन्स्‌ वाच टावर एण्ड हेरल्ड अफ क्राइस्ट्‌स प्रेजेन्स भनिने यो पत्रिका प्रकाशित गर्न थाल्दा त्यहाँ यस्तो लेखिएको थियो: “हामीलाई विश्‍वास छ, ‘जायन्स्‌ वाच टावरले’ यहोवाको साथ पाएको छ। यसैले सहयोगको लागि मानिसहरूसित कहिल्यै माग्ने वा हात फैलाउने छैनौं। ‘पहाडका सबै सुन र चाँदी मेरै हुन्‌’ भन्‍नुहुने परमेश्‍वरले जुटाइदिनुभएन भने छपाइसम्बन्धी काम बन्द गर्नुपर्ने बेला भएछ भनेर हामी बुझ्नेछौं।”

त्यसबेला देखि यो पत्रिका लगातार प्रकाशन हुँदै आएको छ। यसको पहिलो अंक जम्मा ६,००० प्रति छापिएको थियो, त्यो पनि अंग्रेजी भाषामा मात्र। आज यसको हरेक अंक १६१ भाषामा सरदर २,८५,७८,००० प्रति छापिन्छ।a प्रहरीधरहरा-को सहायक पत्रिका ब्यूँझनुहोस्‌! ८० भाषामा सरदर ३,४२,६७,००० प्रति छापिन्छ।

प्रहरीधरहरा-को उद्देश्‍य यहोवालाई ब्रह्‍माण्डको सर्वसत्ताधारी प्रभु मानेर उहाँलाई महिमित पार्नु अनि उहाँको राज्यको सुसमाचार घोषणा गर्नु हो र यहोवाका साक्षीहरूले यही उद्देश्‍यसहित थुप्रै काम गर्छन्‌। (मत्ती २४:१४; प्रकाश ४:११) आज साक्षीहरूको विश्‍वस्तता सन्‌ १८७९ मा यस पत्रिकामा व्यक्‍त गरिएको जस्तै छ। आफूहरूले गरेको काममा परमेश्‍वरको साथ छ अनि उहाँको आशिष्‌ भएका कामहरूका लागि खर्च उपलब्ध हुनेछ भनेर तिनीहरू विश्‍वास गर्छन्‌। तर साँच्चै भन्‍नुपर्दा, यहोवाका साक्षीहरूको क्रियाकलापमा लाग्ने खर्च कसरी बेहोरिन्छ? अनि संसारभरि सुसमाचार सुनाउनको लागि तिनीहरूले कस्ता कामहरू गर्दैछन्‌?

खर्च कसरी बेहोरिन्छ?

जनप्रचार कार्यमा भाग लिंदा मानिसहरूले यस्तो प्रश्‍न गरेको सुन्‍नु यहोवाका साक्षीहरूका लागि नौलो कुरा होइन: “यसको लागि तपाईंले पैसा पाउनुहुन्छ?” जवाफ हो, पाउँदैनन्‌। तिनीहरू स्वेच्छाले आफ्नो समय खर्च गर्छन्‌। यी प्रचारकहरूले यहोवा र उत्तम भविष्यबारे बाइबलमा गरिएको प्रतिज्ञा अरूलाई बताउन थुप्रै घण्टा बिताउँछन्‌ किनभने तिनीहरू परमेश्‍वरप्रतिको कृतज्ञताले उत्प्रेरित छन्‌। परमेश्‍वरले तिनीहरूका लागि गरेका कुराको अनि सुसमाचारले तिनीहरूको आफ्नै जीवन र दृष्टिकोणमा ल्याएको ठूलो परिवर्तनको तिनीहरू मोल गर्छन्‌। त्यसैले, तिनीहरू यी असल कुरा अरूलाई पनि बाँड्‌न चाहन्छन्‌। यसो गर्दा, तिनीहरूले येशूले भनेको यो सिद्धान्त पालन गर्छन्‌: “सित्तैमा पायौ, सित्तैमा देओ।” (मत्ती १०:८) वास्तवमा, यहोवा र येशूको साक्षी बन्‍ने इच्छाले गर्दा नै तिनीहरू आफ्नो विश्‍वास मानिसहरूलाई बताउन आफ्नै गोजीबाट खर्च बेहोर्न उत्प्रेरित हुन्छन्‌, चाहे ती मानिसहरू टाढा-टाढा बस्ने नै किन नहून्‌।—यशैया ४३:१०; प्रेरित १:८.

व्यापक तवरमा प्रचार गर्न र यस कामलाई पूरा गर्न प्रयोग गरिने साधनहरू—जस्तै: छापाखाना, कार्यालय, सम्मेलन भवन, मिसनरी घर आदिको लागि धेरै खर्च चाहिन्छ। त्यो पैसा कहाँबाट आउँछ? स्वैच्छिक अनुदानबाट। यहोवाका साक्षीहरूले संगठनको कामकुराको लागि मण्डलीका सदस्यहरूबाट अनिवार्य रूपमा पैसा उठाउँदैनन्‌, नता प्रचारकार्यमा दिइने प्रकाशनहरूको दाम नै लिन्छन्‌। यदि कसैले यहोवाका साक्षीहरूको शैक्षिक कार्यलाई सहयोग गर्न अनुदान दिन चाहन्छन्‌ भने त्यो तिनीहरू खुसीसाथ स्वीकार्छन्‌। आउनुहोस्‌, संसारभरि सुसमाचार प्रचार गर्न गरिएका प्रयासहरूको एउटा पक्षमा के-के समावेश छ, त्यो विचार गरौं। त्यो पक्ष हो—अनुवाद।

चार सय सैंतीस भाषामा प्रकाशनहरू

वर्षौंदेखि यहोवाका साक्षीहरूको प्रकाशनहरू संसारमा सबैभन्दा बढी अनुवाद गरिएका साहित्यहरूमध्ये पर्छन्‌। पर्चा, पुस्तिका, पत्रिका र किताब ४३७ भाषामा अनुवाद गरिएका छन्‌। सुसमाचार प्रचारसित सम्बन्धित अन्य क्रियाकलापमा जस्तै अनुवाद कार्यको लागि पनि निश्‍चय नै निकै स्रोतसाधनको आवश्‍यकता पर्छ। अनुवाद प्रक्रियामा वास्तवमा के-के हुन्छ?

यहोवाका साक्षीहरूको प्रकाशनहरूको सम्पादक-मण्डलले लेखहरू अंग्रेजीमा तयार पारिसकेपछि त्यसका प्रतिहरू इलेक्ट्रोनिक माध्यमद्वारा विश्‍वभरि छरिएर रहेका प्रशिक्षित अनुवादकहरूकहाँ पठाइन्छ। त्यसको अनुवाद गर्ने जिम्मा अनुवाद गरिने भाषाको अनुवाद टोलीले लिन्छ। कामको संख्या र अनुवाद गरिने भाषाको जटिलताको आधारमा यी अनुवाद टोलीमा ५ देखि २५ जनासम्म सदस्य रहन्छन्‌।

अनुवाद गरिसकेपछि त्यसको चेकिङ अर्थात्‌ अनुवाद गरिएको लेखमा अंग्रेजीको भाव हुबहु व्यक्‍त गरिएको छ कि छैन हेर्न अंग्रेजीसित होशियारीसाथ दाँजेर हेरिन्छ अनि प्रूफरिडिङ अर्थात्‌ अनुवाद गरिएको लेख पढ्‌न सजिलो र सरर्र बगेको छ कि छैन अनि हिज्जे र व्याकरण ठीक छ वा छैन आदि हेरिन्छ। यसको उद्देश्‍य अंग्रेजीमा लेखिएका विचारलाई यथासक्दो सही र स्पष्ट तरिकामा व्यक्‍त गर्नु हो। यसमा विभिन्‍न चुनौती खडा हुन्छ। कुनै विशेष शब्दहरू भएको लेख अनुवाद गर्दा अनुवादक र प्रूफरिडरले सही शब्द अनुवाद गर्न अंग्रेजी (केही भाषाहरूले फ्रान्सेली, रूसी वा स्पेनी भाषाबाट अनुवाद गर्छन्‌।) र अनुवाद गरिने भाषा दुवैमा विस्तृत अनुसन्धान गर्नुपर्ने हुन सक्छ। उदाहरणको लागि, ब्यूँझनुहोस्‌! पत्रिकामा प्राविधिक वा ऐतिहासिक विषय छ भने अनुवादकहरूले घुँडा धसेर अनुसन्धान गर्नुपर्ने हुन्छ।

थुप्रै अनुवादकहरू यहोवाका साक्षीहरूको शाखा कार्यालयहरूमा पूर्ण-समय वा पार्ट-टाइम काम गर्छन्‌। अरू कतिपय चाहिं अनुवाद गरिने भाषा बोलिने ठाउँमै बसेर अनुवादको काम गर्छन्‌। अनुवादकहरूले अनुवाद गरे बापत तलब पाउँदैनन्‌। पूर्ण-समय अनुवादकहरूले चाहिं खान-बस्न र आवश्‍यक व्यक्‍तिगत खर्चको लागि अलिकति खर्च पाउँछन्‌। विश्‍वभरि, लगभग २,८०० साक्षीहरूले अनुवाद कार्य गर्छन्‌। हाल, यहोवाका साक्षीहरूका ९८ शाखा कार्यालयहरूमा अनुवाद टोलीहरू छन्‌ र ती शाखाले अन्य स्थानमा भएका अनुवाद टोलीहरूलाई पनि रेखदेख गर्छ। उदाहरणका लागि, रूसी शाखा कार्यालय अन्तर्गत २३० भन्दा बढी पूर्ण-समय वा पार्ट-टाइम अनुवादकहरूले काम गर्छन्‌। रूसका ती अनुवादकहरूले ३० भन्दा बढी भाषामा अनुवाद गर्छन्‌। त्यसमा चुभास, ओसेसियाली र उइगुर जस्ता भाषा पनि पर्छन्‌ जुन भाषा त्यस इलाकाबाहिर त्यति प्रचलनमा छैनन्‌।

अनुवादको गुणस्तर बढाउने

अर्को भाषा सिक्ने प्रयास गरेका व्यक्‍तिलाई थाह छ, एउटा भाषामा भएको जटिल विचारलाई अर्को भाषामा सही अनुवाद गर्नु चानचुने कुरा होइन। अनुवादको उद्देश्‍य हुन्छ, अंग्रेजीमा भएको तथ्य र विचार हुबहु प्रस्तुत गर्नुका साथै त्यसलाई अनुवाद गरिएको जस्तो नलाग्नेगरि पढ्‌दा सरर्र बग्ने पनि बनाउनु। यसो गर्न सक्नु एउटा कला हो। नयाँ अनुवादकहरूलाई दक्ष हुन वर्षौं लाग्छ र यहोवाका साक्षीहरूले तिनीहरूलाई लगातार प्रशिक्षण दिइरहन्छन्‌। दक्ष प्रशिक्षक भाइहरूले समय-समयमा अनुवाद टोलीहरूलाई तिनीहरूको अनुवाद कला तिखार्न र कम्प्युटरका नयाँ-नयाँ प्रोगामहरू चलाउन मदत दिन्छन्‌।

यस्ता प्रशिक्षणले राम्रो परिणाम ल्याइरहेको छ। उदाहरणको लागि, यहोवाका साक्षीहरूको निकारागुआ शाखाले यस्तो रिपोर्ट दियो: “मिस्किटो भाषाका हाम्रा अनुवादकहरूले मेक्सिको शाखाका एक जना प्रशिक्षकबाट अनुवाद प्रक्रिया तथा तरिकाबारे पहिलो चोटि प्रशिक्षण पाए। यसले हाम्रा अनुवादकहरूको काम गर्ने तरिकामा ठूलो फरक पारेको छ। अनुवादको गुणस्तर उल्लेखनीय ढंगमा बढेको छ।”

मन छुने शब्दहरू

बाइबल र बाइबल आधारित साहित्य मानिसहरूको मातृभाषामा अनुवाद गर्नुको लक्ष्य हो, तिनीहरूको मन छुनु। अनि त्यस्तै भई पनि रहेको छ। सन्‌ २००६ मा न्यु वर्ल्ड ट्रान्सलेसन अफ द क्रिश्‍चियन ग्रीक स्क्रिप्चर्स बुल्गेरियाली भाषामा विमोचन हुँदा बुल्गेरियाका साक्षीहरू अत्यन्तै खुसी भए। यसको लागि थुप्रैले धन्यवादका शब्दहरू पठाइरहेका छन्‌ भनी बुल्गेरिया शाखा रिपोर्ट गर्छ। “अहिले त बाइबलले हाम्रो दिमागलाई मात्र होइन मनलाई नै छुन्छ” भनेर मण्डलीका सदस्यहरू भन्छन्‌। सोफिया सहरका एक वृद्ध पुरुषले यसो भने: “धेरै वर्षदेखि बाइबल पढ्‌दै आएको छु। तर बुझ्न एकदमै सजिलो र मनलाई नै छुने यस्तो अनुवाद कहिल्यै पढेको थिइनँ।” त्यस्तैगरि, अल्बेनियाली भाषामा सम्पूर्ण भाग अनुवाद गरिएको न्यु वर्ल्ड ट्रान्सलेसन-को एक प्रति पाएपछि त्यहाँकी एक साक्षीले यसो भनिन्‌: “अल्बेनियाली भाषामा परमेश्‍वरको वचन कत्ति सुन्दर लागेको! यहोवा हामीसित हाम्रै भाषामा बोलेको देख्न पाउनु कस्तो सुअवसर!”

सम्पूर्ण बाइबल अनुवाद गरी सिध्याउन एउटा अनुवाद टोलीलाई धेरै वर्ष लाग्न सक्छ। तर लाखौं मानिसले पहिलो चोटि परमेश्‍वरको वचनलाई साँच्चै बुझ्न पाउँदा, अनुवादको लागि गरिएका ती सब प्रयास त्यसै खेर गएन भनेर के तपाईं भन्‍नुहुन्‍न र?

“हामी परमेश्‍वरका सहकर्मी हौं”

अनुवाद भनेको प्रभावकारी ढंगमा सुसमाचार प्रचार गर्न आवश्‍यक थुप्रै क्रियाकलापमध्ये एउटा हो। बाइबल आधारित प्रकाशनहरू लेख्न, छाप्न, ढुवानी गर्न अनि यहोवाका साक्षीहरूको शाखा कार्यालय, क्षेत्र र मण्डलीसित सम्बन्धित अरू थुप्रै क्रियाकलापको लागि धेरै प्रयास र ठूलो खर्च चाहिन्छ। तर, यस कामको लागि परमेश्‍वरका जनहरूले “राजी-खुशीले आफैलाई अर्पण” गर्छन्‌। (भजन ११०:३) तिनीहरू आफूले योगदान दिन पाउनुलाई एउटा सुअवसर र सम्मानको रूपमा लिन्छन्‌ र यहोवा तिनीहरूलाई आफ्नो “सहकर्मी” ठान्‍नुहुन्छ।—१ कोरिन्थी ३:५-९.

यो साँचो हो कि “चाँदी मेरै हो, र सुन पनि मेरै” भन्‍नुहुने परमेश्‍वर आफ्नो काम पूरा गर्न हाम्रो आर्थिक सहयोगमा भर पर्नुहुन्‍न। तैपनि, “सब जातिहरूलाई” जीवनदायी सच्चाइ प्रचार गर्ने काममा आर्थिक अनुदान दिने मौका दिई आफ्नो नाउँ पवित्र पार्ने काममा सहभागी गराएर यहोवाले आफ्ना सेवकहरूको सम्मान गर्नुभएको छ। (मत्ती २४:१४; २८:१९, २०) पछि फेरि कहिल्यै नदोहोऱ्‍याइने यस काममा सक्दो सहयोग गर्न के तपाईं उत्प्रेरित हुनुहुन्‍न र? (w 07 11/1)

[फुटनोट]

a भाषाहरूको सूचीका लागि यस पत्रिकाको पृष्ठ २ हेर्नुहोस्‌।

[पृष्ठ २२-मा भएको पेटी]

“ती पत्रिकाले हामीलाई गहिरिएर सोच्न लगाउँछ”

एक १४ वर्षीया केटीले यहोवाका साक्षीहरूको क्यामरून शाखामा यस्तो पत्र लेखिन्‌: “मैले यसपालिको कापी-किताब किनिसकेपछि अघिल्लो कक्षाको २ वटा किताब २,५०० फ्रांकमा [५ अमेरिकी डलरमा] बेच्न सकें। यो पैसामा मैले बचाएर राखेको थप ९१० फ्रांक [झन्डै २ अमेरिकी डलर] थपेर अनुदान पठाउँदैछु। तपाईंहरू आफ्नो काममा निरन्तर लाग्नुहोस्‌, यही मेरो शुभेच्छा। प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाको लागि मुरीमुरी धन्यवाद। ती पत्रिकाले हामीलाई गहिरिएर सोच्न लगाउँछ।”

[पृष्ठ २२-मा भएको पेटी]

गजबको अनुदान

मेक्सिकोको चिपास राज्यमा बस्ने मान्वेल नाउँको ६ वर्षे केटोले कृतज्ञता देखाउँदै लेखेको पत्र त्यहाँको शाखा कार्यालयले प्राप्त गऱ्‍यो। ऊ लेख्न जान्‍ने भइसकेको छैन, त्यसैले उसको लागि साथीले पत्र लेखिदिए। पत्र यस्तो छ: “मेरी बज्यैले मलाई एउटा माउ सुँगुर दिइन्‌। त्यो बियाएपछि एउटा गतिलो बच्चा चाहिं रोजें र मण्डलीका भाइहरूको मदत लिई त्यसलाई पालेर ठूलो पारें। त्यसलाई बेचेको पैसा प्रेमसहित पठाउँदैछु। त्यो १०० केजीको थियो र १,२५० पेसोमा [११० अमेरिकी डलरमा] बेचें। कृपया, यो पैसा यहोवाको लागि चलाउनुहोस्‌।”

[पृष्ठ २३-मा भएको पेटी]

‘यो पैसा बाइबल अनुवाद गर्न चलाउनुहोस्‌’

युक्रेनमा, यहोवाका साक्षीहरूको २००५ को जिल्ला अधिवेशनमा युक्रेनी भाषाको न्यु वर्ल्ड ट्रान्सलेसन अफ द क्रिश्‍चियन ग्रीक स्क्रिप्चर्स विमोचन गरियो। भोलिपल्ट जिल्ला अधिवेशनको अनुदान बाकसभित्र यस्तो नोट भेट्टाइयो: “म नौ वर्षकी छु। ग्रीक स्क्रिप्चर्स-को लागि धेरै-धेरै धन्यवाद। आमाले भाइ र मलाई स्कूल जान बस भाडा दिनुहुन्थ्यो। तर पानी नपरेको दिन हामी हिंडेरै स्कूल जान्थ्यौं र बस भाडा जोगाएर ५० रिभ्निया [१० अमेरिकी डलर] जम्मा गर्न सक्यौं। भाइ र म यो चाहन्छौं, यो पैसा तपाईंहरू युक्रेनी भाषामा सम्पूर्ण बाइबलको अनुवाद गर्न चलाउनुहोस्‌।”

[पृष्ठ २०-मा भएको पेटी]

स्वेच्छासाथ दिने तरिकाहरू

विश्‍वव्यापी कार्यका लागि अनुदान

“विश्‍वव्यापी कार्यका लागि अनुदान—मत्ती २४:१४” लेखिएको बाकसमा अनुदान खसाल्न धेरैजसोले केही पैसा वा बजेट छुट्याउँछन्‌।

हरेक महिना मण्डलीहरूले यो पैसा आ-आफ्नो देशमा रहेका यहोवाका साक्षीहरूको कार्यालयमा पठाउँछन्‌। स्वेच्छापूर्वक अनुदान दिइएको रुपैयाँ-पैसा सीधै ती कार्यालयहरूमा पठाउन पनि सकिन्छ। शाखा कार्यालयका ठेगानाहरू यस पत्रिकाको पृष्ठ २ मा पाउन सकिन्छ। चेक “वाच टावर” को नाउँमा भुक्‍तान हुने गरी बनाउनुपर्छ। गरगहना तथा अन्य बहुमूल्य सामानहरू पनि अनुदान दिन सकिन्छ। यस्ता अनुदानहरू पठाउँदा स्पष्टसित त्यो पैसा वा सामान पूर्णतया दान हो भनेर छोटो पत्र पनि पठाउनुपर्छ।

ससर्त-अनुदान कोषको प्रबन्धb

पैसा संसारको कुनै पनि ठाउँमा चलाउन मिल्नेगरि वाच टावरको कोषमा जम्मा गर्न सकिन्छ। तथापि, अनुरोध गरिएमा उक्‍त रकम फिर्ता दिइनेछ। थप जानकारीको लागि कृपया तपाईंको स्थानीय शाखा कार्यालयमा सम्पर्क राख्नुहोस्‌।

परोपकारी योजनाc

पूर्ण दान र सर्तनामा अनुदानबाहेक विश्‍वव्यापी राज्यसेवामा टेवा पुऱ्‍याउन दान दिन मिल्ने अन्य केही तरिकाहरू पनि छन्‌। ती हुन्‌:

बिमा: वाच टावरलाई जीवन बिमा वा अवकाश/पेन्सन बिमाको हकदार बनाउन सकिन्छ।

बैंक खाता: बैंक खाता, निक्षेप प्रमाण-पत्र वा व्यक्‍तिगत अवकाश खातालाई स्थानीय बैंकको नियमअनुसार वाच टावरलाई दिन वा शेषपछि हस्तान्तरण गर्न सकिन्छ।

ऋणपत्र तथा बन्ड: ऋणपत्र तथा बन्डहरू वाच टावरलाई पूर्णतया उपहारको रूपमा अनुदान दिन सकिन्छ।

घर, जग्गाजमिन: बिक्री गर्न मिल्ने जग्गाजमिन पूर्णतया दानको रूपमा दिन सकिन्छ वा आफूले उपभोग गरिरहेको घर-जग्गाचाहिं अनुदानदाता बाँचुन्जेल प्रयोग गर्न सक्ने गरी दिन सकिन्छ। कुनै घर, जग्गाजमिन दिनुअघि तपाईंको देशमा भएको शाखा कार्यालयसित सम्पर्क राख्नुहोस्‌।

वार्षिक भत्ता पाउने गरी दिइने दान: यो एउटा यस्तो प्रबन्ध हो जसअन्तर्गत कुनै व्यक्‍तिले रकम अथवा जायजेथा वाच टावर कर्पोरेसनको नाउँमा नामसारी गर्न सक्छ। त्यसको बदलामा दाता अथवा दाताले नियुक्‍त गरेको व्यक्‍तिले बाँचुन्जेल हरेक वर्ष निश्‍चित वार्षिक भत्ता पाउँछ। वार्षिक भत्ता पाउने गरी दिइने दानको प्रबन्ध गरेको वर्षमा दाताले तिर्नुपर्ने आयकरमा केही छुट पाउँछ।

वसियतनामा तथा कोष: जायजेथा वा पैसा, कानुनी वसियतनामाद्वारा वाच टावरलाई हस्तान्तरण गर्न सकिन्छ अथवा वाच टावरलाई कोषको हकदार बनाउन सकिन्छ। कुनै-कुनै मुलुकमा धार्मिक संगठनलाई टेवा पुऱ्‍याउने कोषलाई निश्‍चित कर छुट हुन सक्छ।

“परोपकारी योजना” भन्‍ने अभिव्यक्‍तिले यस प्रकारका अनुदानहरूको लागि दाताले केही योजना बनाउनु आवश्‍यक पर्छ भन्‍ने कुरा स्वतः स्पष्ट हुन्छ। परोपकारी योजनाका केही तरिकाहरूद्वारा यहोवाका साक्षीहरूको विश्‍वव्यापी कार्यलाई टेवा पुऱ्‍याउने इच्छा भएका व्यक्‍तिहरूलाई मदत गर्न अङ्‌ग्रेजी र स्पेनिस भाषामा च्यारिटेबल प्लानिङ्‌ग टु बेनिफिट किङ्‌डम सर्भिस वर्ल्डवाइडd शीर्षकको एउटा पुस्तिका तयार पारिएको छ। कुनै व्यक्‍तिले आफू जीवित छँदै वा आफ्नो शेषपछि विभिन्‍न तरिकाहरूद्वारा कसरी दान दिन सक्छ भनी जानकारी दिन यो पुस्तिका तयार पारिएको हो। यो पुस्तिका पढेर अनि आफ्ना कानुनी वा कर सल्लाहकार र परोपकारी योजना कार्यालयसित परामर्श गरिसकेपछि धेरैले विश्‍वभर रहेका यहोवाका साक्षीहरूको काममा मदत गर्न सकेका छन्‌, साथै यसो गर्दा तिनीहरूले करमा धेरै छुट पनि पाएका छन्‌।

थप जानकारीको लागि तपाईंले यहोवाका साक्षीहरूसित पत्राचार अथवा टेलिफोनद्वारा तल दिइएको ठेगानामा अथवा आफ्नो देशमा रहेको यहोवाका साक्षीहरूको कार्यालयमा सम्पर्क राख्न सक्नुहुन्छ।

Jehovah’s Witnesses,

Post Box 6440,

Yelahanka,

Bangalore 560 064,

Karnataka.

Telephone: (080) 28468072

[पादटिप्पणीहरू]

b भारतमा लागू हुँदैन

c ध्यान दिनुपर्ने कुरा: करसम्बन्धी नियमहरू देशअनुसार बेग्लाबेग्लै हुन सक्छ। करसम्बन्धी कानुन र योजनाबारे धारणा बुझ्न कृपया तपाईंको एकाउन्टेन्ट वा वकिलसित सम्पर्क राख्नुहोस्‌। अन्तिम निर्णय गर्नुअघि कृपया स्थानीय शाखा कार्यालयमा पनि सम्पर्क राख्नुहोस्‌।

d भारतमा उपलब्ध छैन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने