प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 मार्च pp. १४-१९
  • जकरियाले देखेको कुरा के तपाईँ पनि देख्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जकरियाले देखेको कुरा के तपाईँ पनि देख्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विरोधको सामना गर्नुपर्दा
  • परिस्थिति परिवर्तन हुँदा
  • निर्देशन स्विकार्न गाह्रो हुँदा
  • जकरियाले देखेको कुरा के तपाईँले पनि देख्नुभयो?
  • रथहरू अनि मुकुटले तपाईंलाई सुरक्षा दिन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • तिमीहरूका हातहरू बलिया होऊन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • हाग्गै र जकरियाको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • अचानक समस्या आइपर्दा यहोवाले साथ दिनुहुन्छ भनेर ढुक्क हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 मार्च pp. १४-१९

अध्ययन लेख १२

जकरियाले देखेको कुरा के तपाईँ पनि देख्नुहुन्छ?

“‘मेरो शक्‍तिले,’ सेनाहरूका यहोवा भन्‍नुहुन्छ।”—जक. ४:६.

गीत ७३ साहस हाम्रो बढाइदेऊ

परिचयa

१. यहुदीहरूमाझ किन खुसीको बहार छायो?

बेबिलोनको दासत्वमा धेरै वर्ष बिताइसकेका इस्राएलीहरूलाई छुटकारा दिन यहोवा परमेश्‍वरले “फारसका राजा कोरेसको . . . मनलाई उत्प्रेरित गर्नुभयो।” कोरेस राजाले यहुदीहरू मातृभूमि फर्केर “इस्राएलका परमेश्‍वर यहोवाको भवन पुनर्निर्माण” गर्न सक्ने उर्दी जारी गरे। (एज्रा १:१, ३) यो साँच्चै रोमाञ्चकारी उर्दी थियो! यसले गर्दा यहुदीहरूमाझ खुसीको बहार छायो। यस्तो उर्दीले गर्दा यहोवाले आफ्ना मानिसहरूलाई दिनुभएको भूमिमा साँचो उपासना पुनर्स्थापित हुन सम्भव हुने थियो।

२. यरुसलेम फर्कनेबित्तिकै यहुदीहरूले के गरे?

२ ईसापूर्व ५३७ मा निर्वासनबाट फर्केका यहुदीहरूको पहिलो समूह यरुसलेम आइपुग्यो। यो सहर पहिला दक्षिणी राज्य यहुदाको राजधानी थियो। ती यहुदीहरूले तुरुन्तै मन्दिरको पुनर्निर्माण गर्न थाले। तिनीहरूले ईसापूर्व ५३६ सम्ममा त मन्दिरको जग हालिसकेका थिए।

३. यहुदीहरूले कस्तो विरोधको सामना गर्नुपऱ्‍यो?

३ मन्दिरको निर्माणकार्य सुरु भएपछि वरपरको देशका मानिसहरूले ती यहुदीहरूको घोर विरोध गर्न थाले। ती मानिसहरूले “यहुदाका मानिसहरूलाई निरुत्साहित बनाइरहे किनकि तिनीहरू उनीहरूले हताश भएर मन्दिर बनाउन छोडून्‌ भन्‍ने चाहन्थे।” (एज्रा ४:४) यहुदीहरूको लागि अवस्था एकदमै गाह्रो थियो। त्यसमाथि अर्को नयाँ अवस्था पनि सृजना भयो। ईसापूर्व ५२२ मा फारसमा आर्टजारसेज राजा भए।b यो नयाँ परिस्थितिको फाइदा उठाउँदै विरोधीहरूले एउटा षड्यन्त्र रचे। तिनीहरूले “कानुनको आडमा समस्या खडा” गरेर निर्माणकार्यलाई ठप्पै पार्न खोजे। (भज. ९४:२०) तिनीहरूले राजा आर्टजारसेजसामु थुप्रै कुराको चुक्ली लगाए र त्यसमध्ये एउटा यहुदीहरूले राजद्रोह गर्ने षड्यन्त्र रचिरहेका छन्‌ भन्‍ने थियो। (एज्रा ४:११-१६) राजाले तिनीहरूको झूट पत्याए र मन्दिरको निर्माणकार्य रोक्ने आदेश दिए। (एज्रा ४:१७-२३) यसले गर्दा एकदमै उत्साहित भएर मन्दिर निर्माण गरिरहेका यहुदीहरूको काम ठप्पै भयो।—एज्रा ४:२४.

४. विरोधीहरूले मन्दिरको निर्माणकार्य रोक्न खोज्दा यहोवाले के गर्नुभयो? (यसैया ५५:११)

४ यहोवाको उपासना नगर्ने मानिसहरू र केही फारसी उच्च अधिकारी मन्दिरको निर्माणकार्य रोक्न चाहन्थे तर यहोवाले कुनै पनि हालतमा त्यसो हुन दिनुहुने थिएन किनभने उहाँको उद्देश्‍य सधैँ पूरा हुन्छ। (यसैया ५५:११ पढ्‌नुहोस्‌।) उहाँले जकरिया नाम गरेका एक जना निडर भविष्यवक्‍ता नियुक्‍त गर्नुभयो र तिनलाई आठ वटा रोमाञ्चकारी दर्शन देखाउनुभयो। तिनले यहुदीहरूलाई ढाडस दिन ती दर्शनहरूबारे बताउनुपर्ने थियो। ती दर्शनहरूले गर्दा यहुदीहरूले विरोधीहरूसित नडराउन र यहोवाको कामलाई अघि बढाउन मदत पाउने थिए। जकरियाले देखेका दर्शनहरूमध्ये पाँचौँ दर्शनमा तिनले एउटा पानस र जैतुनका दुई वटा रूख देखे।

५. यस लेखमा हामी के छलफल गर्नेछौँ?

५ हामी कहिलेकाहीँ निरुत्साहित हुन्छौँ। त्यस्तो अवस्थामा यहोवाले जकरियालाई देखाउनुभएको पाँचौँ दर्शनबाट हामी सबैले प्रोत्साहन पाउन सक्छौँ। त्यस दर्शनलाई राम्रोसँग बुझ्यौँ भने विरोधको सामना गर्नुपर्दा, हाम्रो परिस्थिति परिवर्तन हुँदा र हामीलाई दिइएको निर्देशन बुझ्न गाह्रो हुँदा वफादार भई यहोवाको सेवा गरिरहन सक्नेछौँ।

विरोधको सामना गर्नुपर्दा

जकरियाले जैतुनका दुई वटा रूखको दर्शन देखे; ती रूखहरूबाट पानसको सात वटा दियोमा तेलको आपूर्ति भइरहेको थियो (अनुच्छेद ६ हेर्नुहोस्‌)

६. जकरिया ४:१-३ मा बताइएको पानस र जैतुनका दुई वटा रूखको दर्शनले यहुदीहरूलाई कसरी साहस दियो? (आवरण चित्र हेर्नुहोस्‌।)

६ जकरिया ४:१-३ पढ्‌नुहोस्‌। पानस र जैतुनका दुई वटा रूखको दर्शनले यहुदीहरूलाई विरोधको सामना गर्न साहस दियो। कसरी? यो विवरण पढ्‌दा के तपाईँले पानसमा निरन्तर तेलको आपूर्ति भइरहेको याद गर्नुभयो? जैतुनका दुई वटा रूखबाट एउटा कचौराजस्तो भाँडोमा तेल बगिरहेको छ। त्यस तेलले गर्दा पानसका सातै वटा दियो सधैँ बलिरहन्छन्‌। जकरियाले यस्तो सोध्छन्‌: “यी सबै कुराको अर्थ के हो?” जवाफमा स्वर्गदूतले यहोवाको यस्तो सन्देश दिन्छन्‌: “‘न कुनै सैन्य शक्‍तिले, न त मानिसको बलले तर मेरो शक्‍तिले,’ सेनाहरूका यहोवा भन्‍नुहुन्छ।” (जक. ४:४, ६) रूखहरूबाट बगिरहेको तेलले यहोवाको पवित्र शक्‍तिलाई चित्रण गर्छ, जुन कहिल्यै सिद्धिँदैन। फारसी साम्राज्य एकदमै शक्‍तिशाली भए तापनि यहोवाको पवित्र शक्‍तिको तुलनामा त्यो केही पनि थिएन। यहोवाको साथ पाएकोले ती यहुदीहरूले जस्तोसुकै विरोध पार गर्दै मन्दिरको निर्माणकार्य पूरा गर्न सके। यो कुरा तिनीहरूको लागि साँच्चै प्रोत्साहनदायी भएको हुनुपर्छ। त्यसोभए तिनीहरूले के गर्नुपर्थ्यो? मन्दिरको निर्माणकार्यमा अझै रोक लगाइएको भए तापनि यहोवामाथि भरोसा राख्दै फेरि काम सुरु गर्नुपर्ने थियो अनि तिनीहरूले त्यसै गरे।

७. कस्तो परिवर्तनले गर्दा मन्दिरको निर्माणकार्य अघि बढ्‌न सम्भव भयो?

७ एउटा परिवर्तनले गर्दा मन्दिरको निर्माणकार्य फेरि अघि बढ्‌न सम्भव भयो। कस्तो परिवर्तन? ईसापूर्व ५२० मा फारसमा राजा दारा प्रथमले शासन गरिरहेका थिए। तिनको शासनकालको दोस्रो वर्षमा तिनले मन्दिरको निर्माणकार्य रोक्नु गैर-कानुनी हो भनेर थाह पाए। त्यसपछि तिनले मन्दिरको निर्माणकार्य पूरा गर्न उर्दी जारी गरे। (एज्रा ६:१-३) यो उर्दी सुनेर मानिसहरू छक्कै परे। त्यति मात्र होइन, राजाले वरपरको देशका मानिसहरूलाई निर्माणकार्यमा हस्तक्षेप नगर्न अनि यस कामको लागि चाहिने खर्च र सामग्रीहरू जुटाउन आदेश दिए। (एज्रा ६:७-१२) त्यसैले यहुदीहरूले लगभग चार वर्षपछि ईसापूर्व ५१५ मा मन्दिर निर्माण गर्न सिद्ध्याए।—एज्रा ६:१५.

झ्यालखानामा भएका एक भाइ जैतुनका दुई वटा रूखबाट सात वटा दियो भएको पानसमा तेलको आपूर्ति भइरहेको कल्पना गर्दै छन्‌।

विरोधको सामना गर्नुपर्दा यहोवाको शक्‍तिमा भर पर्नुहोस्‌ (अनुच्छेद ८ हेर्नुहोस्‌)

८. विरोधको सामना गर्नुपर्दा तपाईँ किन साहसी हुन सक्नुहुन्छ?

८ आज पनि यहोवाका थुप्रै साक्षीले विरोधको सामना गर्दै छन्‌। उदाहरणको लागि, कोही-कोही साक्षीहरू हाम्रो उपासनामा प्रतिबन्ध लगाइएका मुलुकहरूमा बस्छन्‌। त्यस्ता मुलुकहरूमा हाम्रा भाइबहिनी गिरफ्तार हुन्छन्‌ अनि ‘राज्यपाल र राजाहरूसामु उभ्याइन्छन्‌।’ (मत्ति १०:१७, १८) कहिलेकाहीँ भने सरकार परिवर्तन हुँदा हाम्रा भाइबहिनीले स्वतन्त्र भएर उपासना गर्न पाउँछन्‌। अथवा निष्पक्ष न्यायाधीशले हाम्रो पक्षमा फैसला सुनाएकोले उपासना गर्न सजिलो हुन सक्छ। अरू कतिपय साक्षीले भने बेग्लै प्रकारको विरोधको सामना गर्छन्‌। तिनीहरू बसोबास गर्ने देशमा यहोवाको उपासना गर्ने स्वतन्त्रता छ होला तर आफ्नै परिवारका सदस्यहरूबाट घोर विरोधको सामना गर्छन्‌। (मत्ति १०:३२-३६) धेरैजसो अवस्थामा ती विरोधीहरूले जति प्रयास गर्दा पनि केही सीप नलागेपछि विरोध गर्न छोड्‌छन्‌। पहिला घोर विरोध गर्ने कोही-कोही पछि यहोवाको जोसिलो सेवक बनेका छन्‌। त्यसैले हरेस नखानुहोस्‌। साहसी हुनुहोस्‌ अनि नडराउनुहोस्‌। किनकि यहोवा र उहाँको पवित्र शक्‍ति सधैँ तपाईँको साथमा छ।

परिस्थिति परिवर्तन हुँदा

९. नयाँ मन्दिरको जग बसालिँदा केही यहुदी किन निराश भए?

९ नयाँ मन्दिरको जग बसालिँदा केही वृद्ध यहुदी रोए। (एज्रा ३:१२) किन? किनभने तिनीहरूले सुलेमानले बनाएको भव्य मन्दिर देखेका थिए। त्यसैले तिनीहरूलाई “पहिलेको तुलनामा अहिले त केही पनि छैन” जस्तो लाग्यो। (हाग्गै २:२, ३) त्यसैले तिनीहरू साह्रै दुःखी भए। जकरियाको दर्शनले तिनीहरूलाई निराशा हटाउन कसरी मदत गर्ने थियो?

१०. जकरिया ४:८-१० मा पाइने शब्दहरूले यहुदीहरूलाई निराशा हटाउन कसरी मदत गऱ्‍यो?

१० जकरिया ४:८-१० पढ्‌नुहोस्‌। स्वर्गदूतले “[यहुदी राज्यपाल] यरुबाबेलको हातमा साहुल देखेर मानिसहरू रमाउनेछन्‌” भन्‍नुको अर्थ के थियो? साहुल भनेको डकर्मीले गारो उठाउँदा सोझो भए-नभएको जाँच्ने साधन हो। त्यो मन्दिर कसै-कसैलाई साधारणजस्तो लागे तापनि त्यसको निर्माणकार्य पूरा हुनेछ र त्यहाँ परमेश्‍वरको स्तरअनुसार उपासना गर्न सकिनेछ भनेर स्वर्गदूतले परमेश्‍वरका सेवकहरूलाई आश्‍वासन दिँदै थिए। यो नयाँ मन्दिर देखेर यहोवा खुसी हुनुहुन्थ्यो भने ती यहुदीहरू निराश हुनुपर्ने केही कारण थियो र? नयाँ मन्दिरमा यहोवाले चाहनुभएको स्तरअनुसारै उहाँको उपासना हुने थियो। त्यसैले यहुदीहरूले उहाँलाई स्वीकार्य हुने तरिकामा उपासना गरे र उहाँको अनुमोदन पाउन प्रयास गरे भने तिनीहरू फेरि रमाउन सक्ने थिए।

अस्पतालमा भएका एक वृद्ध भाइ बाइबल पढ्‌दै साहुलबारे कल्पना गर्दै छन्‌।

नयाँ परिस्थितिलाई सकारात्मक दृष्टिकोणले हेर्ने प्रयास गर्नुहोस्‌ (अनुच्छेद ११-१२ हेर्नुहोस्‌)c

११. यहोवाका केही उपासकले कस्तो अवस्थाको सामना गरिरहेका छन्‌?

११ हामीमध्ये धेरैलाई परिवर्तन स्विकार्न गाह्रो लाग्छ। विशेष पूर्ण-समय सेवामा धेरै वर्ष बिताइसकेका कसै-कसैको असाइनमेन्ट परिवर्तन भएको छ। अरूले भने ढल्कँदो उमेरले गर्दा आफूलाई असाध्यै मन परेको असाइनमेन्ट छोड्‌नुपरेको छ। यस्तो अवस्थामा हामी निराश हुनु स्वाभाविक हो। सुरुमा त हामीलाई त्यस्तो निर्णय गरिनुको कारण बुझ्न वा त्यससित सहमत हुन गाह्रो लाग्न सक्छ। पुराना दिनहरू सम्झेर हामीलाई न्यास्रो लाग्न सक्छ। अब यहोवाको लागि आफूले गर्न सक्ने केही पनि छैन जस्तो लागेर हामी निराश हुन सक्छौँ। (हितो. २४:१०) त्यस्तो अवस्थामा पनि यहोवालाई उत्तम सेवा चढाइरहन जकरियाको दर्शनले हामीलाई कसरी मदत गर्न सक्छ?

१२. परिस्थिति परिवर्तन हुँदा पनि यहोवाको सेवामा रमाइरहन जकरियाको दर्शनले कसरी मदत गर्छ?

१२ कुनै पनि अवस्थालाई यहोवाको दृष्टिकोणले हेऱ्‍यौँ भने त्यो स्विकार्न हामीलाई सजिलो हुन्छ। यहोवाले अहिले ठूलठूला कामहरू गरिरहनुभएको छ र हामीले पनि उहाँका सहकर्मीहरू हुने विशेष सुअवसर पाएका छौँ। (१ कोरि. ३:९) हाम्रो असाइनमेन्ट परिवर्तन हुन सक्छ तर हामीप्रतिको यहोवाको प्रेम कहिल्यै परिवर्तन हुँदैन। सङ्‌गठनमा भएको कुनै परिवर्तनले हामीलाई व्यक्‍तिगत रूपमा असर गऱ्‍यो भने पनि त्यस्तो परिवर्तन किन गरियो भन्‍ने कुरामै घोरिएर नबस्नुहोस्‌। “उहिले-उहिलेका दिन” सम्झेर न्यास्रो मान्‍नुको साटो यो नयाँ परिस्थिति स्विकार्न यहोवासित मदत माग्नुहोस्‌। (उप. ७:१०) आफूले गर्न नसक्ने कुरामा होइन तर गर्न सक्ने कुरामा ध्यान दिनुहोस्‌। सकारात्मक मनोवृत्ति राख्नु कत्ति महत्त्वपूर्ण छ भन्‍ने कुरा जकरियाको दर्शनबाट बुझ्यौँ। यसो गऱ्‍यौँ भने परिस्थिति परिवर्तन हुँदा पनि रमाइरहन र वफादार भई यहोवाको सेवा गरिरहन सक्नेछौँ।

निर्देशन स्विकार्न गाह्रो हुँदा

१३. केही इस्राएलीलाई मन्दिर फेरि निर्माण गर्न थाल्नु किन मूर्खतापूर्ण लागेको हुनुपर्छ?

१३ मन्दिरको निर्माणकार्यमा लगाइएको रोक यथावतै थियो। तैपनि नेतृत्व लिन नियुक्‍त गरिएका दुई जना पुरुष, प्रधानपुजारी यसुआ (यहोसु) र राज्यपाल यरुबाबेलले “परमेश्‍वरको भवन पुनर्निर्माण गर्न सुरु गरे।” (एज्रा ५:१, २) कतिपय यहुदीलाई यस्तो कदम चाल्नु मूर्खतापूर्ण लागेको हुनुपर्छ। मन्दिरको निर्माणकार्य शत्रुहरूको नजरबाट लुक्न सक्दैन र उनीहरूले त्यस कामलाई हरहालतमा रोक्न प्रयास गर्नेछन्‌ भनेर तिनीहरूलाई थाह थियो। त्यस्तो अवस्थामा ती दुई जना पुरुष, यहोसु र यरुबाबेललाई आफूसित यहोवाको साथ छ भन्‍ने आश्‍वासन चाहिएको थियो। तिनीहरूले त्यस्तो आश्‍वासन कसरी पाए?

१४. जकरिया ४:१२, १४ अनुसार प्रधानपुजारी यहोसु र राज्यपाल यरुबाबेलले कस्तो आश्‍वासन पाए?

१४ जकरिया ४:१२, १४ पढ्‌नुहोस्‌। यस दर्शनमा स्वर्गदूतले जैतुनका दुई वटा रूखले “दुई अभिषिक्‍त जन” यहोसु र यरुबाबेललाई चित्रण गर्छ भनेर बताए। ती पुरुषहरू ‘सारा पृथ्वीका मालिकको छेउमा उभिरहेको’ जस्तो देखिन्छ भनेर ती स्वर्गदूतले बताए। यो तिनीहरूको लागि कत्ति ठूलो सम्मानको कुरा थियो! यहोवा तिनीहरूलाई भरोसा गर्नुहुन्थ्यो र तिनीहरूलाई उहाँले नै चलाइरहनुभएको थियो। त्यसकारण इस्राएलीहरूले ती दुई जना पुरुषको निर्देशन स्विकार्नुपर्ने हर कारण थियो।

१५. यहोवाले बाइबलमार्फत दिनुहुने निर्देशनको कदर गरेको हामी कसरी देखाउन सक्छौँ?

१५ आज यहोवाले हामीलाई निर्देशन दिनुहुने एउटा माध्यम उहाँको वचन बाइबल हो। उहाँले कस्तो उपासना स्विकार्नुहुन्छ भनेर बाइबलमार्फत बताउनुभएको छ। उहाँले दिनुहुने निर्देशनको कदर गरेको हामी कसरी देखाउन सक्छौँ? बाइबलको गहिरो अध्ययन गरेर अनि पढेको कुरा बुझ्न समय लगाएर। आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘बाइबल वा कुनै प्रकाशन पढ्‌दा के म एकछिन रोकिएर आफूले पढेको कुराबारे मनन गर्ने गर्छु? के म “बुझ्न गाह्रा” सत्यहरूको अर्थ बुझ्ने प्रयास गर्छु? अथवा म सरसरती मात्र पढ्‌ने गर्छु कि?’ (२ पत्रु. ३:१६) यहोवाले हामीलाई सिकाउन खोज्नुभएको कुराहरू बुझ्न समय लगाएर अध्ययन गर्छौँ भने हामीले उहाँको निर्देशन पालन गर्न र सुसमाचार सुनाउने काम राम्ररी पूरा गर्न सक्नेछौँ।—१ तिमो. ४:१५, १६.

एक बहिनी JW ब्रोडकास्टिङ हेर्दै यरुबाबेल र यहोसुले मन्दिरको निर्माणकार्यमा सङ्‌गी इस्राएलीहरूलाई निर्देशन दिइरहेको कल्पना गर्दै छिन्‌।

“विश्‍वासी र बुद्धिमान्‌ दास”-ले दिने निर्देशनमा भरोसा गर्नुहोस्‌ (अनुच्छेद १६ हेर्नुहोस्‌)d

१६. “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले दिएको निर्देशन पूरै नबुझे तापनि त्यो पालन गर्न हामीलाई केले मदत गर्नेछ?

१६ यहोवाले हामीलाई निर्देशन दिनुहुने अर्को माध्यम “विश्‍वासी र बुद्धिमान्‌ दास” हो। (मत्ति २४:४५) कहिलेकाहीँ यस दासले दिने निर्देशन हामीले पूरै नबुझ्न सक्छौँ। उदाहरणको लागि, कुनै प्राकृतिक प्रकोपको लागि तयारी गर्ने सन्दर्भमा यस दासले तोकेरै निर्देशनहरू दिन सक्छ तर त्यस्तो प्रकोप हाम्रो इलाकामा कहिल्यै हुँदैन जस्तो लाग्न सक्छ। अथवा महामारीको बेला यस दासले अति नै कडिकडाउ गरेको जस्तो लाग्न सक्छ। यस्ता निर्देशनहरू अव्यावहारिक जस्तो लाग्दा हामीले के गर्नुपर्छ? यहोसु र यरुबाबेलले दिएको निर्देशनअनुसार चल्दा इस्राएलीहरूको भलो भएको कुरा हामी विचार गर्न सक्छौँ। साथै आफूले बाइबलमा पढेका अरू विवरणबारे पनि सोच्न सक्छौँ। विगतमा कहिलेकाहीँ यहोवाका जनहरूलाई आफूले पाएको निर्देशन अव्यावहारिक जस्तो लागेको थियो तर त्यो पालन गर्दा तिनीहरूको ज्यान जोगियो।—न्याय. ७:७; ८:१०.

जकरियाले देखेको कुरा के तपाईँले पनि देख्नुभयो?

१७. पानस र जैतुनका दुई वटा रूखको दर्शनले यहुदीहरूमा कस्तो प्रभाव पाऱ्‍यो?

१७ जकरियाले देखेको पाँचौँ दर्शन छोटो थियो तर त्यसले यहुदीहरूलाई मन्दिरको निर्माणकार्य र उपासनाप्रति सकारात्मक दृष्टिकोण राख्न मदत गऱ्‍यो। जकरियाले जे देखे, त्यसैअनुसार कदम चाल्दा तिनीहरूले यहोवाको मायालु साथ र डोऱ्‍याइ महसुस गरे। उहाँको पवित्र शक्‍तिको मदत पाएर तिनीहरू निर्माणकार्यमा लागिरहन र फेरि रमाउन सके।—एज्रा ६:१६.

१८. जकरियाको दर्शनले तपाईँको जीवनमा कस्तो प्रभाव पार्न सक्छ?

१८ जकरियाले देखेको पानस र जैतुनका दुई वटा रूखको दर्शनले तपाईँको जीवनमा पनि गहिरो प्रभाव पार्न सक्छ। हामीले यस लेखमा छलफल गरेअनुसार तपाईँले विरोधको सामना गर्न बल पाउन सक्नुहुन्छ, परिस्थिति परिवर्तन हुँदा यहोवाको सेवामा रमाउन सक्नुहुन्छ अनि आफूले पाएको निर्देशन बुझ्न नसक्दा पनि यहोवाप्रति आज्ञाकारी हुन र उहाँमा भरोसा राख्न सक्नुहुन्छ। जीवनमा चुनौतीहरूको सामना गर्नुपर्दा तपाईँले के गर्नुपर्छ? जकरियाले यहोवा आफ्ना जनहरूको सधैँ हेरचाह गर्नुहुन्छ भन्‍ने कुराको प्रमाण देखे। तपाईँले पनि त्यो कुरा हेर्ने प्रयास गर्नुपर्छ। त्यसपछि त्यसैअनुसार कदम चाल्नुपर्छ। मतलब, यहोवामा भरोसा राख्दै सारा हृदयले उहाँको उपासना गरिरहनुपर्छ। (मत्ति २२:३७) यसो गर्नुभयो भने यहोवाले तपाईँलाई आनन्दित भई सधैँभरि उहाँको सेवा गर्न मदत दिनुहुनेछ।—कल. १:१०, ११.

जकरियाको दर्शनले हामीलाई निम्न अवस्थामा कसरी मदत गर्छ?

  • विरोधको सामना गर्नुपर्दा।

  • परिस्थिति परिवर्तन हुँदा।

  • निर्देशन पाउँदा।

गीत ७ यहोवा हाम्रा बल

a यहोवाले भविष्यवक्‍ता जकरियालाई एकपछि अर्को गर्दै थुप्रै दर्शन देखाउनुभयो। जकरियाले दर्शनमा जे देखे, त्यसले तिनलाई र यहोवाका मानिसहरूलाई शुद्ध उपासना पुनर्स्थापना गर्ने क्रममा आइपरेका चुनौतीहरू पार गर्न बल दियो। ती दर्शनहरूले हामीलाई जस्तोसुकै बाधाविघ्न आइपरे पनि वफादार भई यहोवाको सेवा गरिरहन मदत गर्नेछ। यस लेखमा जकरियाले देखेका दर्शनहरूमध्ये एउटा—पानस र जैतुनका रूखहरूको दर्शनबाट हामीले सिक्न सक्ने महत्त्वपूर्ण पाठहरूबारे छलफल गर्नेछौँ।

b धेरै वर्षपछि राज्यपाल नहेम्याहको समयमा आर्टजारसेज नाम गरेका अर्का राजाले यहुदीहरूलाई दया देखाए।

c तस्बिरको व्याख्या: एक जना भाइ आफ्नो ढल्कँदो उमेर र स्वास्थ्य समस्याले गर्दा भएको परिवर्तनलाई स्विकार्नुपर्ने आवश्‍यकता महसुस गर्छन्‌।

d तस्बिरको व्याख्या: एक बहिनी विगतमा यहोवाले यहोसु र यरुबाबेललाई जस्तै अहिले पनि “विश्‍वासी र बुद्धिमान्‌ दास”-लाई साथ दिइरहनुभएको छ भन्‍ने कुरामा मनन गर्छिन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने