यहोवाको भयानक दिन नजीकै छ
“उहाँको डर मान्नेहरू र उहाँको नाउँको सोच गर्नेहरूका नाउँ सम्झनाको पुस्तकमा उहाँकै सामने लेखियो।”—मलाकी ३:१६.
१, २. कुन भयानक दिनबारे मलाकीले पूर्वचेताउनी दिन्छन्?
भयानक! अगस्त ६, १९४५ को झिसमिसे बिहान एउटा ठूलो शहर क्षणभरमै भताभुंग भयो। लगभग ८०,००० मारिए! हजारौं मानिसहरू अधमरो हुने गरी घाइते भए! दन्किरहेको आगो! आणविक बमले यो ठूलो विनाश गरेको थियो। यस विध्वंशमा यहोवाका साक्षीहरूको अवस्था कस्तो भयो? मसीही निष्ठाको कारण झ्यालखानाको सुरक्षात्मक पर्खालभित्र थुनिएका एक जना साक्षी मात्र हिरोशिमामा थिए। झ्यालखाना भत्कियो तर हाम्रो भाइलाई केही भएन। उनको भनाइअनुसार त्यस बमले गरेको शायद एक मात्र राम्रो काम उनलाई झ्यालखानाबाट निकाल्नु थियो।
२ त्यो बम विष्फोटन असाध्यै भयानक भए तापनि हाम्रो सामु रहेको “परमप्रभुको त्यो महा र डरलाग्दो दिन[को]” तुलनामा केही पनि होइन। (मलाकी ४:५) हो, अतीतमा भयानक दिनहरू भएका थिए तर यहोवाको त्यो दिन सबैभन्दा भयानक हुनेछ।—मर्कूस १३:१९.
३. जलप्रलयअघि “सबै प्राणी” र नूहको परिवारबीच कस्तो भिन्नता देख्न सकिन्छ?
३ नूहको दिनमा “सबै प्राणीले पृथ्वीमा आफ्नो चाल-चलन भ्रष्ट पारिसकेका थिए।” परमेश्वरले यसप्रकार घोषणा गर्नुभयो: “सबै प्राणीको अन्त्य गर्ने मैले अठोट गरिसकेको छु, किनभने पृथ्वी तिनीहरूद्वारा उपद्रवले भरिएको छ। हेर, म तिनीहरूलाई पृथ्वीसमेत नाश गर्नेछु।” (उत्पत्ति ६:१२, १३) मत्ती २४:३९ मा लिपिबद्ध गरिएअनुसार येशूले यसो भन्नुभयो, “जलप्रलय आएर स्वात्तै नलगुञ्जेल तिनीहरूले थाहै पाएनथे।” तर “धर्मका प्रचारक” विश्वासी नूह आफ्नो ईश्वरभीरु परिवारको साथ त्यस जलप्रलयबाट बचे।—२ पत्रुस २:५.
४. सदोम र गमोराले कस्तो चेताउनीमूलक उदाहरण प्रस्तुत गर्छ?
४ यहूदा ७ मा यसरी बताइएको छ, “सदोम र गमोरा, औ तिनका आसपासका शहरहरू, जो . . . व्यभिचारमा परेर बिरानो शरीरको पछि लागेका थिए, आगोको अनन्त दण्डमा परेर उदाहरणजस्तै भएका छन्।” तिनीहरूको अति घीनलाग्दो जीवनशैलीले गर्दा ती अधर्मी मानिसहरू नाश भए। यस आधुनिक संसारका यौन-प्रवृत्त समुदायहरूले यसलाई चेताउनीसरह लेओस्! तथापि, स्मरण रहोस्, ईश्वरभीरु लूत र उनकी छोरीहरू त्यस विध्वंसबाट बचाइएजस्तै सन्निकट महा संकष्टबाट यहोवाका उपासकहरू जोगाइनेछन्।—२ पत्रुस २:६-९.
५. यरूशलेममाथि ल्याएको विनाशबाट हामी के सिक्न सक्छौं?
५ यरूशलेमलाई नाश गर्न यहोवाले प्रयोग गर्नुभएको आक्रामक सेनाहरूको चेताउनीमूलक उदाहरणहरूलाई ध्यान दिनुहोस्। त्यो महान् शहर कुनै समय “सारा पृथ्वीको हर्षको ठाउँ” थियो। (भजन ४८:२) यी दुःखदायी घटनाहरू सर्वप्रथम सा.यु.पू. ६०७ र पुनः सा.यु. ७० मा भए किनभने परमेश्वरको उपासक भनौंदाहरूले साँचो उपासना त्यागेका थिए। आनन्दको कुरा, यहोवाका निष्ठावान साक्षीहरू बचे। सा.यु. ७० को विपत्तिलाई (तल देखाइएको) ‘परमेश्वरले सृजनुभएको सृष्टिको शुरूदेखि अहिलेसम्म नभएको महा संकष्ट’ भनी वर्णन गरिएको छ। यसले धर्मत्यागी यहूदी रीतिरिवाजलाई सदाको निम्ति हटायो र निस्सन्देह यस अर्थमा यो ‘फेरि कहिल्यै हुनेछैन।’ (मर्कूस १३:१९) तापनि ईश्वरीय न्यायको यस दण्ड अहिले संसारको सम्पूर्ण रीतिरिवाजलाई त्रसित पारिरहेको “महा संकष्ट[को]” छाँया मात्र थियो।—प्रकाश ७:१४.
६. यहोवाले विपत्तिहरू किन हुन दिनुहुन्छ?
६ त्यति धेरै जीवन अस्तव्यस्त पार्ने विपत्ति ल्याउन परमेश्वरले किन अनुमति दिनुहुनेथियो? नूह, सदोम र गमोरा, अनि यरूशलेमको सन्दर्भमा यहोवाले त्यस्ता व्यक्तिहरूको न्याय गर्नुभयो, जसले पृथ्वीलाई विनाश गरिरहेका थिए। भनौं भने, तिनीहरूले साँच्चै नै प्रदूषण र नैतिक पतनद्वारा यस सुन्दर ग्रहलाई दूषित पारिरहेका थिए। तिनीहरू साँचो उपासनाबाट धर्मत्यागी वा त्यसलाई इन्कार गर्ने भएका थिए। आज हामी सारा संसार बिथोलित सर्वव्यापी न्यायदण्डको नजीकै छौं।—२ थिस्सलोनिकी १:६-९.
“पछि-पछिका दिनहरूमा”
७. (क) पुरातन ईश्वरीय न्यायहरू कुन कुराको भविष्यसूचक थिए? (ख) कस्तो महिमित प्रत्याशा हामीसमक्ष छ?
७ पुरातन समयका ती विनाशहरू २ पत्रुस ३:३-१३ मा वर्णित भयानक महा संकष्टको भविष्यसूचक थिए। प्रेरित यसो भन्छन्: “पहिलेनै यो जान, कि पछि-पछिका दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै, तिनीहरूका आफ्नै अभिलाषामा . . . आउनेछन्।” त्यसपछि नूहको समयमा ध्यान केन्द्रित गर्दै पत्रुस लेख्छन्: “त्यस समयको संसार जलमय भएर नष्ट भएको थियो। तर अहिलेको आकाशहरू र पृथ्वीचाहिं त्यही वचनले, भक्तिहीन मानिसको इन्साफ र विनाशको दिनसम्म छुट्टयाई आगोको निम्ति साँचेर राखिएका छन्।” त्यो सबैभन्दा ठूलो महा संकष्टपश्चात् चिरप्रतीक्षित मसीही राज्य शासनले नयाँ अर्थ लिनेछ अर्थात् “नयाँ स्वर्ग र नयाँ पृथ्वी . . . जसमा धार्मिकताले बास” गर्नेछ। कस्तो आनन्ददायी प्रत्याशा!
८. विश्व घटनाहरू कसरी चरमोत्कर्षतर्फ बढ्दैछन्?
८ यस २० औं शताब्दीमा संसारका घटनाहरू क्रमशः चरमोत्कर्षतर्फ अघि बढेका छन्। हिरोशिमाको विध्वंस ईश्वरीय हस्तक्षेपले गर्दा नभएको भए तापनि येशूले भविष्यवाणी गर्नुभएको अन्तिम दिनमा हुने “डरलाग्दा लक्षण[मा]” यसलाई समावेश गर्न सकिन्छ। (लूका २१:११) यसले गर्दा मानवजातिलाई अझसम्म त्रसित तुल्याउने आणविक खतराको कालो बादल छाएको छ। तसर्थ, नोभेम्बर २९, १९९३ को द न्यु योर्क टाइम्स-को मुख्य समाचारमा यसो लेखिएको थियो: “बन्दूकहरू खिइए होलान् तर आणविक हतियारहरू तम्तयार पारिंदैछन्।” त्यसबीच अन्तर्राष्ट्रिय, अन्तर्जातीय र अन्तर्साम्प्रदायिक युद्धहरूले डरलाग्दो क्षति पुऱ्याइरहेको छ। अतीतका युद्धहरूमा अधिकांश नोक्सानी सेनाहरूबीच हुन्थ्यो। आज, युद्धले गर्दा हुने ८० प्रतिशत नोक्सानी साधारण जनताले भोग्ने रिपोर्ट गरिएको छ। यसबाहेक आफ्नो देश छोडेर भाग्ने शरणार्थीहरू लाखौं छन्।
९. धार्मिक नेताहरूले कसरी संसारसित मित्रता गाँसेका छन्?
९ युद्ध तथा रक्तपातपूर्ण क्रान्तिहरूमा सक्रिय भाग लिएर धार्मिक नेताहरूले “संसारसँग . . . मित्रता” गाँसेका थिए र गाँस्दै आएका पनि छन्। (याकूब ४:४) थुप्रो अस्त्र उत्पादन गर्ने तथा लागू पदार्थको साम्राज्य निर्माण गर्ने लोभी महाजनहरूसित केही धार्मिक नेताहरूले हात मिलाएका छन्। उदाहरणको लागि, दक्षिण अमेरिकाको लागू पदार्थ व्यापारीको हत्याबारे रिपोर्ट गर्दै द न्यु योर्क टाइम्स्-ले यसो भन्यो: “उपकारी र वैधव्यापारीको भेषमा उनले लागू पदार्थको व्यापार गर्थे। आफैले प्रायोजन गरेको रेडियो कार्यक्रममा उनी रोमन क्याथोलिक पादरीहरू सँगै हुन्थे।” द वल स्ट्रीट जर्नल-को रिपोर्टअनुसार लाखौं दुर्व्यसनीहरूको जीवन बिगार्नुका साथै यस लागू पदार्थ व्यापारीले हजारौंको हत्या गराएका थिए। लन्डनको द टाइम्स् यस्तो टिप्पणी गर्छ: “हत्याराहरूले धन्यवाद दिन विशेष मास समारोह आयोजना गरिरहेका हुन्छन् . . . र त्यतिनै खेर अर्को ठाउँमा मृतकको अन्त्येष्टि भइरहेको हुन्छ।” कस्तो दुष्ट्याइँ!
१०. बिग्रँदो विश्व-परिस्थितिलाई हामीले कुन दृष्टिकोणले हेर्नुपर्छ?
१० प्रेत-प्रेरित मानिसहरूले यस पृथ्वीमाथि अझ कति विचल्ली ल्याउनेछन् भनी कसलाई के थाह? पहिलो यूहन्ना ५:१९ ले भनेझैं “सारा संसार त्यस दुष्ट,” शैतान अर्थात् दियाबलको “अधीनमा परेको छ।” आज, “पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।” (प्रकाश १२:१२) तर आनन्दको कुरा, “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ” भनी रोमी १०:१३ ले हामीलाई आश्वासन दिन्छ।
परमेश्वर न्याय गर्न चाँडै आउनुहुन्छ
११. इस्राएलको कस्तो परिस्थितिले गर्दा मलाकी भविष्यवाणी गर्न प्रेरित भएका थिए?
११ मानवजातिको निकट भविष्यमा के हुनेछ भनी मलाकीको भविष्यवाणीले स्पष्ट पार्छ। पुरातन हिब्रू अगमवक्ताहरूको लामो सूचीमा मलाकीलाई सबैभन्दा अन्तमा सूचीबद्ध गरिएको छ। सा.यु.पू. ६०७ मा इस्राएलले यरूशलेमको विनाश भोगेका थिए। तर ७० वर्षपछि तिनीहरूको आफ्नै भूमिमा पुनःस्थापित गर्नुभएर यहोवाले करुणा देखाइसक्नुभएको थियो। तथापि, सय वर्षभित्र इस्राएल पुनः धर्मत्याग र दुष्टतातर्फ बहकिसकेका थिए। मानिसहरूले यहोवाको नाउँको अनादर अनि उहाँका धार्मिक नियमहरू बेवास्ता गरिरहेका थिए। अन्धा, लुला तथा बिरामी जनावरहरू बलिदान चढाउन ल्याएर मन्दिरलाई कलंकित गरिरहेका थिए। विदेशी स्त्रीहरू विवाह गर्न तिनीहरूले आफ्नो युवावस्थाकी पत्नीसित पारपाचुके गरिरहेका थिए।—मलाकी १:६-८; २:१३-१६.
१२, १३. (क) अभिषिक्त पूजाहारीवर्गको लागि कस्तो शुद्धीकरण खाँचो परेको छ? (ख) शुद्धीकरणबाट ठूलो भीडले पनि कसरी लाभ उठाउँछन्?
१२ शुद्धीकरण खाँचो परेको थियो। यो मलाकी ३:१-४ मा वर्णन गरिएको छ। प्राचीन इस्राएललाई जस्तै यहोवाको आधुनिक समयका साक्षीहरूलाई पनि त्यस्तै शुद्धीकरण खाँचो परेको थियो। अतः मलाकीमा वर्णित शुद्धीकरण तिनीहरूमाथि पनि लागू गर्न सकिन्छ। प्रथम विश्व-युद्ध अन्त हुन लाग्दा त्यतिबेला बाइबल स्टुडेन्टस् नाउँले चिनिने साक्षीहरूले सांसारिक क्रियाकलापहरूमा कडा तटस्थता कायम गरेनन्। आफ्ना उपासकहरूको सानो समूहलाई सांसारिक कलंकबाट सफा पार्न सन् १९१८ मा यहोवाले आफ्नो आध्यात्मिक मन्दिरमा “करारको ती दूत” अर्थात् येशू ख्रीष्ट पठाउनुभयो। भविष्यसूचक ढंगमा यहोवाले प्रश्न गर्नुभयो: “उनको [दूत] आउने दिनमा को टिक्नसक्छ? औ उनी देखा पर्दा को खड़ा हुनसक्छ? किनकि उनी सुनारको आगो र धोबीको साबुनजस्तै छन्। चाँदी खार्ने र सफा गर्ने जस्तो गरी उनी बस्नेछन्, र लेवीका सन्तानलाई [अभिषिक्त पूजाहारीवर्ग] उनले शुद्ध पार्नेछन्, र सुन र चाँदीझैं निर्मल पार्नेछन्। औ तिनीहरूले धर्मसित परमप्रभुमा भेटी चढ़ाउनेछन्।” विशुद्ध मानिसहरूको हैसियतमा तिनीहरूले ठीक त्यसै गरेका छन्!
१३ त्यस अभिषिक्त पूजाहारीवर्गमा जम्मा १,४४,००० मात्र छन्। (प्रकाश ७:४-८; १४:१, ३) तर आज अन्य समर्पित मसीहीहरूबारे के भन्न सकिन्छ? अहिले लाखौंको संख्यामा यी अन्य व्यक्तिहरू मिलेर “ठूलो भीड़” बनेको छ र तिनीहरूले पनि सांसारिक कामकुराहरूबाट “आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता” पारेको हुनुपर्छ। (प्रकाश ७:९, १४) तसर्थ, थुमा अर्थात् ख्रीष्ट येशूको छुडौतीको बलिदानमा विश्वास राखेर तिनीहरू यहोवासमक्ष सफा भएर खडा हुन सकेका छन्। यहोवाको भयानक दिन, महा संकष्टबाट बचाइनेछन् भन्ने प्रतिज्ञा तिनीहरूसित गरिएको छ।—सपन्याह २:२, ३.
१४. परमेश्वरका जनहरूले आज नयाँ व्यक्तित्व खेती गर्दै जाँदा कुन वचन पालन गर्नुपर्छ?
१४ पूजाहारीवर्गका अभिषिक्त जनहरूको साथमा यस ठूलो भीडले परमेश्वरको यो वचन पालन गर्नैपर्छ: “तब म न्याय गर्नलाई तिमीहरूकहाँ आउनेछु, र मंत्र-तंत्र गर्नेहरू, व्यभिचारीहरू र झूटा साक्षी बक्नेहरूका विरुद्धमा जसले मजदूरहरूलाई मजदूरीमा मार्दछन् र विधवा र टुहुरा-टुहुरीहरूमाथि अत्याचार गर्दछन्, औ परदेशीलाई पर हटाउनेहरू, औ मेरो डर नमान्नेहरू, यी सबैका विरुद्धमा म विलम्ब नगरी साक्षी दिनेछु, . . . किनकि म परमप्रभु कहिल्यै परिवर्त्तन हुँदिनँ।” (मलाकी ३:५, ६) अहँ, यहोवाका स्तरहरू परिवर्तन हुँदैनन्। अतः यहोवाको भय मान्दै आज उहाँका मानिसहरूले सबै प्रकारको मूर्तिपूजा त्याग्नुपर्छ अनि मसीही व्यक्तित्व खेती गर्दै सत्य, इमान्दार र उदार हुनुपर्छ।—कलस्सी ३:९-१४.
१५. (क) यहोवाले कस्तो दयालु निमन्त्रणा दिनुहुन्छ? (ख) यहोवालाई “लुट्न[देखि]” हामी कसरी जोगिन सक्छौं?
१५ आफ्नो धार्मिक मार्गबाट तर्किएका जोसुकैलाई यहोवा यो निमन्त्रणा दिनुहुन्छ: “मतिर फर्क र म तिमीहरूतिर फर्कनेछु।” यदि तिनीहरूले “हामी के कुरामा फर्कौं” भनी सोधेमा उहाँ यसरी जवाफ दिनुहुन्छ: “तिमीहरू मलाई लुट्दछौ।” अनि “के कुरामा हामीले तपाईंलाई लूट्यौं र?” भन्ने प्रश्नको जवाफमा यहोवा भन्नुहुन्छ, उहाँको मन्दिरको उपासनाको लागि सर्वोत्तम भेटीहरू नल्याएर तिनीहरूले उहाँलाई लुटिरहेका थिए। (मलाकी ३:७, ८) यहोवाका मानिसहरू भएकोले हामीले निस्सन्देह आफ्नो शक्ति, क्षमता र भौतिक स्रोतको सर्वोत्तम भाग यहोवाको सेवामा चढाउने इच्छा गर्नुपर्छ। तसर्थ, यहोवालाई लुट्नुको साटो हामी ‘पहिले उहाँको राज्य र धार्मिकता’ खोज्छौं।—मत्ती ६:३३.
१६. मलाकी ३:१०-१२ मा हामी कस्तो प्रोत्साहन पाउँछौं?
१६ यस संसारको आत्मसेवी भौतिकवादी तौरतरिका त्याग्ने व्यक्तिहरूले महान् आशिष् पाउनेछन् भनी मलाकी ३:१०-१२ ले यसरी संकेत दिन्छ: “‘मलाई जाँचेर हेर कि म स्वर्गका झ्यालहरू उघारेर अटाउने ठाउँ पनि नहुने सम्मका आशिष् तिमीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिनँ’ सेनाहरूका परमप्रभु भन्नुहुन्छ।” मूल्यांकन गर्ने सबै जनहरूलाई यहोवाले आध्यात्मिक संवृद्धि र फलदायी पार्ने प्रतिज्ञा गर्नुहुन्छ। उहाँ अझै यसो भन्नुहुन्छ: “सारा जातिहरूले तिमीहरूलाई सुखी भन्नेछन् किनकि तिमीहरूको देश मनोहर देश हुनेछ।” आज संसारभरि यहोवाका लाखौं कृतज्ञ जनहरूबीच के त्यो सत्य साबित भएको छैन र?
निष्ठावान व्यक्तिहरू जीवनको पुस्तकमा
१७-१९. (क) रूवाण्डाको गोलमालले त्यहाँका हाम्रा भाइहरूलाई कसरी असर गरेको छ? (ख) कस्तो विश्वासका साथ यी विश्वासी जनहरू अघि बढेका छन्?
१७ यस सन्दर्भमा हामी रूवाण्डाका हाम्रा भाइ-बहिनीहरूको सराहना गर्नसक्छौं। यहोवाको उपासना गर्ने आध्यात्मिक घरमा तिनीहरूले सधैं सर्वोत्तम भेटीहरू ल्याएका छन्। उदाहरणको लागि, सन् १९९३ डिसेम्बर महिनामा सम्पन्न “ईश्वरीय शिक्षा” जिल्ला अधिवेशनमा ४,०७५ उपस्थित भए, जबकि त्यहाँ २,०८० राज्य प्रकाशकहरू मात्र छन्। त्यहाँ २३० नयाँ साक्षीहरूले बप्तिस्मा लिए र त्यसपछिको महिनामा झन्डै १५० जना सहायक अग्रगामी सेवकाईमा भर्ती भए।
१८ सन् १९९४ अप्रिलमा जातीय हिंसा सुरु हुँदा राजधानी किगालीका शहर निरीक्षक र उनको सम्पूर्ण परिवारलगायत कम्तीमा हाम्रा १८० भाइहरू मारिए। किगालीस्थित वाच टावर सोसाइटीको कार्यालयमा कार्यरत छ अनुवादकहरूमध्ये चार हुटु र दुइ टुट्सी थिए। भीषण दबाबको बावजूद तिनीहरू कैयौं हप्तासम्म एकसाथ काम गरी रहे तर पछि त्यहाँबाट भागेका टुट्सीहरू सीमा क्षेत्रमा मारिए। अन्तमा, बाँकी कम्प्युटर उपकरणहरू बोकेर ती चार जना जायरको गोमा शहरमा भागे। त्यहाँ तिनीहरूले अहिलेसम्म निष्ठापूर्वक किन्यारवान्डा भाषामा द वाचटावर अनुवाद गरिरहेका छन्।—यशैया ५४:१७.
१९ यी शरणार्थी साक्षीहरू डरलाग्दो परिस्थितिमा भए तापनि तिनीहरूले सदैव भौतिक प्रबन्धहरूभन्दा आध्यात्मिक आहारको सर्वप्रथम माग गरेका छन्। ठूलो त्याग गरेर कैयन् मुलुकका हाम्रा मायालु भाइहरूले तिनीहरूको निम्ति उद्धार सामग्रीहरू पठाएका छन्। तनावपूर्ण परिस्थितिमा वचन र व्यवस्थित चालामालाद्वारा यी शरणार्थीहरूले अद्भुत साक्षी दिएका छन्। तिनीहरूले निस्सन्देह यहोवाको उपासनाका लागि सर्वोत्तम कुराहरू ल्याइरहेका छन्। तिनीहरूले रोमी १४:८ मा व्यक्त गरेझैं पावलको जस्तो विश्वास प्रदर्शन गरेका छन्: “हामी बाँचे पनि प्रभुको निम्ति बाँच्तछौं, औ मरे पनि प्रभुको निम्ति मर्दछौं। यसकारण चाहे हामी बाचौं, चाहे मरौं, हामी प्रभुकै हौं।”
२०, २१. (क) यहोवाको सम्झनाको पुस्तकमा कसका नाउँ लेखिएका छैनन्? (ख) पुस्तकमा कसका नाउँ लेखिएका छन् र किन?
२० निष्ठापूर्वक सेवा गर्ने सबैको यहोवाले अभिलेख राख्नुहुन्छ। मलाकीको भविष्यवाणीले अझै यसो भन्छ: “तब परमप्रभुको डर मान्नेहरूले आपसमा कुरा गरे, औ परमप्रभुले तिनीहरूका कुरा ध्यानसित सुन्नुभयो, औ उहाँको डर मान्नेहरू र उहाँको नाउँको सोच गर्नेहरूका नाउँ सम्झनाको पुस्तकमा उहाँकै सामने लेखियो।”—मलाकी ३:१६.
२१ यहोवाको नाउँको आदर गर्न आज हामीले ईश्वरीय भय देखाउनु कति महत्त्वपूर्ण छ! त्यसो गर्दा यस संसारको रीतिरिवाजतर्फ मोहित भई त्यसलाई समर्थन गर्ने व्यक्तिहरूले जस्तो हामीले प्रतिकूल न्याय भोग्नेछैनौं। तिनीहरूको नाउँ “जीवनको पुस्तकमा लेखिएको छैन” भनी प्रकाश १७:८ ले बताउँछ। यहोवाको जीवनको पुस्तकमा लेखिएको प्रमुख नाउँ जीवनको कर्ता, परमेश्वरको आफ्नै पुत्र येशू ख्रीष्टको हुनु तर्कसंगत छ। मत्ती १२:२१ यसप्रकार घोषणा गर्छ: “उनैको नाउँमा अन्यजातिहरूले आशा राख्नेछन्।” येशूको छुडौतीको बलिदानले त्यसमा विश्वास राख्ने प्रत्येकलाई अनन्त जीवनको ग्यारेन्टी दिन्छ। त्यस पुस्तकमा येशूको नाउँ सँगसँगै हाम्रो व्यक्तिगत नाउँ लेखिएको पाउनु कस्तो सुअवसर हो!
२२. यहोवाले न्याय गर्नुहुँदा कुन भिन्नता स्पष्ट हुनेछ?
२२ न्यायदण्ड आउँदा यहोवाका जनहरूको अवस्था कस्तो हुनेछ? यहोवाले मलाकी ३:१७, १८ मा जवाफ दिनुहुन्छ: “[आफ्नो सेवा गर्ने छोरालाई बाबुले अनुकम्पा देखाएझैं म तिमीहरूलाई अनुकम्पा देखाउनेछु।] औ धर्मी र दुष्ट, अनि परमेश्वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद तिमीहरू छुट्याउनसक्नेछौ।” भिन्नता सबैको अगाडि स्पष्ट हुनेछ: दुष्टहरू अनन्त विनाशको लागि फ्यालिनेछन् र धर्मीहरू राज्यमा बस्न अनन्त जीवनको लागि अनुमोदित हुनेछन्। (मत्ती २५:३१-४६) यसप्रकार भेडाखाले ठूलो भीड यहोवाको भयानक र महान् दिनबाट बच्नेछ।
के तपाईंलाई सम्झना छ?
◻ बाइबलको समयमा यहोवाले कस्तो न्याय गर्नुभयो?
◻ आजका परिस्थितिहरू कुन अर्थमा पुरातन समयका जस्तै छन्?
◻ मलाकीको भविष्यवाणीको पूर्तिअनुरूप कस्तो शुद्धीकरण भएको छ?
◻ परमेश्वरको सम्झनाको पुस्तकमा कसका नाउँ लेखिएका छन्?