“जम्मै दशांश भण्डारमा ल्याउ”
“यसरी मलाई जाँचेर हेर कि म स्वर्गका झ्यालहरू उघारेर अटाउने ठाउँ पनि नहुने सम्मका आशिष तिमीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिनँ।”—मलाकी ३:१०.
१. (क) सा० यु० पू० पाँचौ शताब्दीमा यहोवाले उहाँका जनहरूलाई के निमन्त्रणा दिनु भयो? (ख) सा० यु० प्रथम शताब्दीमा यहोवा उहाँको मन्दिरमा आउनु हुँदा, परिणाम के भयो?
सा०यु०पू० पाचौं शताब्दीमा इस्राएलीहरू यहोवाप्रति अविश्वासी भएका थिए। तिनीहरूले दशांश दिएका थिएनन् र मन्दिरमा भेटी चढाउन असुहाउँदो अवस्थाका जनावरहरू ल्याएका थिए। तापनि, तिनीहरूले सम्पूर्ण दशांश भण्डारमा ल्याएको खण्डमा, अँटाउने ठाउँ नै नहुने गरी आशिष खन्याइदिने प्रतिज्ञा यहोवाले गर्नु भयो। (मलाकी ३:८-१०) केही ५०० वर्ष पश्चात्, यहोवा र उहाँको प्रतिनिधित्व गर्नु हुँदै उहाँको दूत येशू, यरूशलेमको मन्दिरमा इन्साफ गर्न आउनु भयो। (मलाकी ३:१) राष्ट्रिय तवर्मा इस्राएलका अति नै थुप्रै त्रुटिहरू देखा पऱ्यो। तर यहोवातिर फर्कने व्यक्तिहरूले चाहिं प्रशस्त आशिष पाए। (मलाकी ३:७) यहोवाको आत्मिक पुत्रहरू अथवा एउटा नयाँ सृष्टि र “परमेश्वरको इस्राएल” हुन तिनीहरू अभिषिक्त भए।—गलाती ६:१६; रोमी ३:२५, २६.
२. मलाकी ३:१-१०-को दोस्रो पूर्ति कहिले हुनु परेको थियो र यसबारे के गर्ने निमन्त्रणा हामीले पाएका छौं?
२ यसको केही १,९०० वर्षपछि, १९१४-मा परमेश्वरको स्वर्गीय राज्यको राजाको हैसियतमा येशू सिंहासनमा विराजमान हुनु भयो। मलाकी ३:१-१० का शब्दहरू दोस्रो पटक पूरा हुने समय आएको थियो। यही रोमाञ्चकारी घटनाको सिलसिलामा आज मसीहीहरूलाई सम्पूर्ण दशांश भण्डारभित्र ल्याउने निमन्त्रण दिइन्दैछ। यसो गऱ्यौं भने, हामीले पनि अँटाउने ठाउँ नै नहुने गरी आशिषको आनन्द उठाउन सक्नेछौं।
३. (क) प्रथम शताब्दीमा र (ख) प्रथम विश्व युद्ध अघि, यहोवाको सामुन्ने बाटो तयार गर्ने दूत को थियो?
३ उहाँ मन्दिरमा आउनु हुने सम्बन्धमा, यहोवाले यसो भन्नु भएको थियो: “हेर, म आफ्नो दूतलाई पठाउँछु र उसले मेरो अगि अगि बाटो तयार गर्नेछ।” (मलाकी ३:१) यी शब्दहरूलाई प्रथम शताब्दीमा पूरा गर्दै, बप्तिस्मा दिने यूहन्ना इस्राएलमा पापहरूको प्रायश्चितबारे प्रचार गर्दै आए। (मर्कूस १:२, ३) मन्दिरमा यहोवाको दोस्रो आगमनको सिलसिलामा पनि के कुनै यस्तो प्रकारको तयारी आवश्यक थियो? थियो। प्रथम विश्व-युद्ध अघिका दशकहरूमा, बाइबलका शुद्ध शिक्षाहरू सिकाउँदै र त्रिएक र नरकको आगो जस्ता, परमेश्वरको अपमान गर्ने झुट्टा शिक्षाहरूको पर्दाफास गर्दै बाइबलका विद्यार्थीहरू कहलिने एउटा समूह विश्व-मञ्चमा देखा परे। अन्य-जातिहरूको समय १९१४-मा अन्त हुने छ भनेर पनि तिनीहरूले अग्रिम चेताउनी दिए। सत्यका यी ज्योति-वाहकहरूको कुरालाई थुप्रैले स्वीकारे।—भजनसंग्रह ४३:३; मत्ती ५:१४, १६.
४. प्रभुको दिनमा कुन प्रश्नको फैसला हुनु परेको थियो?
४ बाइबलमा जुन समयावधिलाई “प्रभुको दिन” भनिन्छ, त्यसको सुरुआत १९१४-मा भयो। (प्रकाश १:१०) त्यस दिनको दौडानमा, “विश्वासी र बुद्धिमान दास” चिन्ने र तिनलाई “[मालिकको] सारा सम्पत्तिमाथि नियुक्त” गर्ने जस्तो महत्त्वपूर्ण घटनाहरू घट्नु थियो। (मत्ती २४:४५-४७) सन् १९१४-मा हजारौं गिर्जाहरूले मसीही हुने दाबी गर्द थिए। तर ती मध्ये कुन चाहिंलाई मालिक येशू ख्रीष्टले उहाँको विश्वासी र बुद्धिमान दासको रूपमा स्वीकार्नु हुने थियो? यहोवा मन्दिरमा आउनु भए पछि त्यस प्रश्नको फैसला गर्नु परेको थियो।
आत्मिक मन्दिरमा आगमन
५, ६. (क) इन्साफ गर्नका लागि यहोवा कुन मन्दिरमा आउनु भयो? (ख) मसीही जगतबारे यहोवाको न्यायिक फैसला के थियो?
५ तर उहाँ कुन चाहिं मन्दिरमा आउनु भयो? यरूशलेममा स्थित कुनै वास्तविक मन्दिरमा त निश्चय पनि आउनु भएन। त्यहाँ अन्तिम पटक खडा गरिएको मन्दिर त सा० यु० ७० मै नष्ट भइ सकेको थियो। तथापि, यहोवाको एउटा अर्कै अझ विशाल मन्दिर छ जसलाई यरूशलेमको मन्दिरले चित्रित गर्द थियो। पावलले त्यस विशाल मन्दिरको चर्चा गरे। त्यस मन्दिरको पवित्र स्थान स्वर्गमा र चोक चाहिं पृथ्वी भएको हुनाकारण त्यो वास्तवमा कति विशाल छ भन्ने कुरा तिनले देखाए। (हिब्रू ९:११, १२, २४; १०:१९, २०) यही विशाल आत्मिक मन्दिरमा यहोवा इन्साफ गर्न आउनु भयो।—प्रकाश ११:१; १५:८ सङ्ग तुलना गर्नु होस्।
६ तर कहिले? प्राप्त ठोस प्रमाण अनुसार, १९१८-मा।a यसको परिणामस्वरूप के भयो? मसीही जगतलाई हेर्नु हुँदा, यहोवाले त्यहाँ एउटा यस्तो सङ्गठन देख्नु भयो जसको हातबाट रगत तपतपी चुही रहेको थियो अर्थात् एउटा यस्तो भ्रष्ट धार्मिक व्यवस्था जसले यो संसारसित वेश्या काम गरेको थियो, जसले धनवानहरू सित लागेर गरिबहरू माथि अत्याचार गर्दै थियो र साँचो उपासना कायम राख्नुको सट्टा गैर-मसीही शिक्षाहरू सिकाउँदै थियो। (याकूब १:२७; ४:४) मलाकीद्वारा यहोवाले यो चेताउनी दिनु भएको थियो: “मंत्र-तंत्र गर्नेहरू, व्यभिचारीहरू र झूटो साक्षी बक्नेहरूका विरुद्धमा जसले मजदूरहरूलाई मजदूरीमा मार्दछन् र विधवा र टुहुरा-टुहुरीमाथि अत्याचार गर्दछन्, . . . यी सबैका विरुद्धमा म विलम्ब नगरी साक्षी दिनेछु।” (मलाकी ३:५) मसीही जगतले यी सबै कुराहरू र भनौं भने, यी भन्दा पनि खराब कामहरू गरेको थियो। यहोवाले त्यसलाई महान बेबिलोन अथवा झुट्टा धर्मको विश्व-व्यापी अखाडाको शेष भागसित नाशका लागि छुट्ट्याइ सक्नु भएको कुरा १९१९-सम्म स्पष्ट देखियो। त्यस समयदेखिन् असल हृदय भएकाहरूलाई यो आह्वान दिने कार्य सुरु भयो: “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ।”—प्रकाश १८:१, ४.
७. यहोवाले कसलाई आफ्नो विश्वासी र बुद्धिमान दासको रूपमा स्वीकार गर्नु भयो?
७ विश्वासी र बुद्धिमान दास को रहेछ त? प्रथम शताब्दीमा, बप्तिस्मा दिने यूहन्ना र करारको दूत, येशूले दिनु भएको साक्षी स्वीकार्ने एउटा सानो समूहदेखि त्यस दासको सुरुआत भयो। हाम्रो शताब्दीमा चाहिं त्यो दास ती केही हजारौं व्यक्तिहरू हुन् जसले १९१४ भन्दा केही वर्ष अघि देखिनै बाइबलका विद्यार्थीहरू कहलिने समूहले गरेको तयारी स्वीकारे। प्रथम विश्व-युद्धको बेलामा यी जनहरूले कडा परीक्षाहरूको सामुन्ने धैर्य धारण गर्नु परे तापनि, तिनीहरूको हृदय यहोवासित छ भन्ने कुराको प्रदर्शन तिनीहरूले गरेर देखाए।
एउटा शुद्धीकरण
८, ९. सन् १९१८-मा विश्वासी र बुद्धिमान दासको शुद्धीकरण कुन कुन कुराले गर्दा आवश्यक थियो र यस सम्बन्धमा यहोवाले के प्रतिज्ञा गर्नु भएको थियो?
८ तथापि, यस समूहलाई पनि शुद्धीकरणको खाँचो थियो। तिनीहरू सित लागेका केही व्यक्तिहरू पछि गएर विश्वासका दुश्मन साबित भए र तिनीहरूलाई निकालिदिन आवश्यक पऱ्यो। (फिलिप्पी ३:१८) अरू केहीले चाहिं यहोवाको सेवा गर्दा उठाउनु पर्ने जिम्मेवारीहरू उठाउन चाहेनन् र त्यसै त्यसै तर्केर गए। (हिब्रू २:१) यी कुराहरू बाहेक, बाँकी रहेका केही बेबिलोनी चलनहरूलाई हटाउनु परेको थियो। सङ्गठनात्मक तवर्मा पनि, विश्वासी र बुद्धिमान दासलाई शुद्ध पार्नु परेको थियो। यस संसारप्रति राख्नु पर्ने तटस्थता सिक्नु र त्यसलाई प्रयोगमा ल्याउनु खाँचो थियो। र संसार झन झन भ्रष्ट हुँदै जाँदा, मण्डलीहरू भित्र नैतिक र आध्यात्मिक अशुद्धता पस्न नदिने तिनीहरूले ठूलो सङ्घर्ष गर्नु आवश्यक थियो।—यहूदा ३, ४ सङ्ग तुलना गर्नुहोस्।
९ हो, शुद्धीकरणको खाँचो थियो, तर यहोवाले सिंहासनमा विराजमान हुनु भएको येशूबारे यो प्रतिज्ञा गर्नु भएको थियो: “चाँदी खार्ने र सफा गर्ने जस्तो गरी उनी बस्नेछन्, र लेवीका सन्तानलाई उनले शुद्ध पार्नेछन्, र सुन र चाँदीझैं निर्मल पर्नेछन्। औ तिनीहरूले धर्मसित परमप्रभुमा भेटी चढाउने छन्।” (मलाकी ३:३) वाचाको यस दूतद्वारा १९१८-देखि यहोवाले आफ्नो प्रतिज्ञा पूरा गर्नु हुँदै, उहाँका जनहरूलाई शुद्ध पार्नु भएको छ।
१०. परमेश्वरका जनहरूले कुन प्रकारका भेटीहरू ल्याए र यहोवाले तिनीहरूलाई के निमन्त्रणा दिनु भयो?
१० यहोवा, चाँदीलाई खार्ने र सफा गर्ने जस्तो हुनु भएकोले, ख्रीष्टका अभिषिक्त भाइहरू र पछि यहोवाको सेवा गर्न तिनीहरूलाई साथ दिने ठूलो भीडका सबैले नै लाभ उठाएका छन्। (प्रकाश ७:९, १४, १५) तिनीहरू धर्मसित भेटी चढाउँदै, एउटा सङ्गठनको रूपमा आए र अहिले पनि आइ नै रहेछन्। तिनीहरूले चढाएको भेटी “परमप्रभुलाई उहिलेझैं तथा प्राचीन समयमा झैं मन पर्नलाग्छ।” (मलाकी ३:४) यिनीहरूलाई नै यहोवाले भविष्यवाणीद्वारा यस प्रकार निम्त्याउनु भएको थियो: “‘जम्मै दशांश भण्डारमा ल्याऊ, र मेरो घरानामा भोजन रहोस्। यसरी मलाई जाँचेर हेर कि म स्वर्गका झ्यालहरू उघारेर अटाउने ठाउँ पनि नहुने सम्मका आशिष तिमीहरू माथि वर्षाउँछु वा वर्षाउँदिनँ’ सेनाहरूका परमप्रभु भन्नुहुन्छ।”—मलाकी ३:१०.
भेटीहरू र दशांशहरू
११. मोशाको व्यवस्था बमोजिम चढाउनु पर्ने भेटीहरू आज किन आवश्यक छैनन्?
११ मलाकीको दिनमा परमेश्वरका जनहरूले अन्न, फल-फुल र गाई-वस्तु जस्तो साँच्चैकै भेटीहरू र दशांशहरू ल्याउने गर्द थिए। येशूको पालोसम्म पनि, विश्वासी इस्राएलीहरूले मन्दिरमा साँच्चैकै भेटीहरू चढाउने गर्द थिए। तथापि, येशूको मृत्यु पछि ती जम्मै कुरामा परिवर्तन आयो। विशेष भौतिक भेटीहरू र दशांश चढाउने आदेश सँगसँगै व्यवस्था खारेज गरियो। (एफिसी २:१५) येशूले व्यवस्थामा उल्लिखित भेटीहरू सम्बन्धी भविष्यवाणी पूरा गरिदिनु भयो। (एफिसी ५:२; हिब्रू १०:१, २, १०) अतः मसीहीहरूले कुन अर्थमा भेटीहरू र दशांशहरू चढाउन सक्छन्?
१२. मसीहीहरूले कुन प्रकारका आत्मिक भेटीहरू र बलिदानहरू चढाउने गर्छन्?
१२ तिनीहरूले चढाउने भेटीहरू विशेषतः आत्मिक प्रकारका हुन्छन्। (फिलिप्पी २:१७; २ तिमोथी ४:६-सङ्ग तुलना गर्नु होस्।) उदाहरणका लागि, पावलले प्रचार कार्यलाई एउटा भेटीसित तुलना गर्दै यसो भने: “तब उहाँद्वारा नै हामी निरन्तर स्तुतिको बलिदान परमेश्वरलाई चढाऔं, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो।” तिनले एउटा अर्को आत्मिक बलिदानलाई सङ्केत गर्दै फेरि यसो भने: “तर भलाइ गर्न र सहयोगी हुन नबिर्स, किनकि यस्तै बलिदानहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ।” (हिब्रू १३:१५, १६) आफ्ना छोरा-छोरीहरूलाई अग्रगामी सेवामा सामेल हुने प्रोत्साहन दिनु, आमा-बाबुहरूले यहोवालाई आफ्ना छोरा-छोरी भेटी चढाएको जस्तै हो। जस्तो कि यिप्तहले पनि तिनलाई विजयी तुल्याउने परमेश्वरकहाँ आफ्नी छोरी एउटा “होमबलि” सरह चढाए।—न्यायकर्त्ता ११:३०, ३१, ३९.
१३. मसीहीहरूलाई तिनीहरूको आम्दानीबाट अक्षरशः दसौं भाग दिन किन आवश्यक छैन?
१३ तर दशांशहरूको विषयमा चाहिं के भन्न सकिन्छ? मसीही जगतका केही गिर्जाहरूमा गरे झैं, आफ्नो आम्दानीको दसौं भाग छुट्ट्याएर यहोवाको सङ्गठनलाई दिने बाध्यता के मसीहीहरू माथि छ? छैन। त्यस्को आवश्यकता छैन। मसीहीहरूका लागि यस्तो नियम शास्त्रमा कतै पनि पाइन्दैन। यहूदियामा खाँचोमा परेकाहरूका लागि पावलले चन्दा उठाउँदा, तिनले यति-उति प्रतिशत दिनु पर्छ भनेर तोकेनन्। बरु तिनले यसो भने: “हरेक मानिसले आफ्नो मनमा अडकले बमोजिम गरोस्, नता चित्त दुखाएर, न जरुरत भएकोले, किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नु हुन्छ।” (२ कोरिन्थी ९:७) विशेष सेवकाईमा लाग्नेहरू मध्ये कसै कसैको जीविका अरूहरूले स्वेच्छासाथ दिइएको चन्दाद्वारा चल्द थियो र यसो हुनु उचित भए तापनि, पावल चाहिं स्वयं काम गरेर आफ्नो जीविका चलाउन तयार थिए। (प्रेरित १८:३, ४; १ कोरिन्थी ९:१३-१५) यसका लागि दशांशहरू दिने नियम तोकेको थिएन।
१४. (क) दशांश दिनुको अर्थ यहोवालाई हामीले आफूसित भएको सबै थोक दिनु किन होइन? (ख) दशांशले के को प्रतिनिधित्व गर्दछ?
१४ स्पष्टतः, मसीहीहरूका लागि दशांश एउटा विशेष कुराको प्रतीक हो अथवा त्यसले कुनै एउटा चीजको प्रतिनिधित्व गर्दछ। बाइबलमा दस भन्नाले पार्थिव सम्पूर्णताको बोध भएको हुनाकारण, के दशांशको अर्थ हामीले यहोवालाई आफूसित भएको सबै थोक चढाउनु हो? होइन। यहोवालाई हामीले आफ्नो जीवन समर्पण गरेको कुरा पानीमा बप्तिस्मा लिएर प्रकट गर्दा नै हामीले यहोवालाई आफूसित भएको सबै थोक चढाउँदछौं। हामीले आफूलाई समर्पण गरेको समयदेखि उप्रान्त यहोवाको हक नलाग्ने हामीसित त्यस्तो कुनै कुरा हुँदैन। तथापि, व्यक्ति-व्यक्तिहरूलाई तिनीहरू सित भएका साधनहरूको सञ्चालन गर्न यहोवा दिनु हुन्छ। अतः यहोवाका लागि हाम्रो प्रेम र हामी उहाँकै हौं भन्ने कुराहरूको मान्यता दर्शाउँदै, हामी आफूसित भएका कुराहरूको जुन अंश यहोवाको सामुन्ने ल्याउँदछौं अथवा उहाँको सेवामा प्रयोग गर्दछौं, त्यसको प्रतीक नै दशांश हो। आधुनिक समयको दशांश साँच्चैनै दसौं भाग मात्र हुनु पर्दैन। कुनै कुनै बेला, त्यो दसौं भाग भन्दा कम होला। अथवा अरू बेला चाहिं दसौं भागभन्दा त्यो बढी पनि हुन सक्छ। प्रत्येक व्यक्तिले आफ्नो हृदयको प्रेरणा बमोजिम तथा आफ्नो परिस्थितिले भ्याए जति ल्याउने गर्दछ।
१५, १६. हाम्रो आत्मिक दशांशमा कुन कुन कुरा सम्मिलित छन्?
१५ यस आत्मिक दशांशमा के के समावेश छन्? एउटा त, हामी यहोवालाई आफ्नो समय र शक्ति दिन्छौं। सभाहरूमा, ठूलो-सानो सम्मेलनहरूमा उपस्थित हुँदा, र क्षेत्र-सेवकाईमा बिताइने जम्मै समय यहोवालाई दिइने कुरा हो—यो हाम्रो दशांशको एउटा भाग हो। बिमारीहरूलाई भेट्न जाँदा र अरूहरूलाई मद्दत दिंदा बिताइने समय र शक्ति, यो पनि हाम्रो दशांशकै एउटा भाग हो। राज्य सभा-गृहहरूको निर्माण कार्यमा भाग लिन र यी सभा-गृहहरूलाई सफा-सुग्घर राख्ने काममा भाग लिनु पनि त्यसैको एउटा भाग हो।
१६ दशांशमा हामीले दिने गरेको आर्थिक मद्दत पनि समावेश छ। यहोवाको सङ्गठनमा हालसालै भएको असाधारण वृद्धिका साथसाथै आर्थिक दायित्वहरू पनि बढेको छ। नयाँ राज्य सभा-गृहहरूका साथसाथै नयाँ शाखाहरू र सम्मेलन सभा-गृहहरू निर्माण गर्न र निर्माण गरी सकेका त्यस्ता भवनहरूको देख-रेख गर्न आवश्यक भएको छ। अक्सर व्यक्तिगत रूपमा ठूलो त्यागहरू गर्दै विशेष सेवकाईका निम्ति अघि सरेका जनहरूको खर्च धान्नु पनि एउटा भयङ्कर चुनौती हो। मिसनरीहरू, परिभ्रमण निरीक्षकहरू र विशेष अग्रगामीहरूलाई देख-रेख गर्न मात्र १९९१-मा चार करोड डलर भन्दा बढी रकम खर्च भयो। त्यो रकम सम्पूर्णतया स्वेच्छापूर्वक दिइएको चन्दाबाट उपलब्ध भएको थियो।
१७. हाम्रो आत्मिक दशांशको रूपमा हामीले दिनु पर्ने कुराहरू के हुन्?
१७ हामीले आफ्नो आत्मिक दशांशको रूपमा के चाहिं दिनु पर्ने हो? यहोवाले कुनै प्रतिशत तोक्नु भएको छैन। तापनि, मानिसहरूको प्राण बचाउनु परेको छ भन्ने महत्त्वपूर्ण कुरालाई स्वीकार्दै, समर्पणको भाव र यहोवा तथा भाइहरूका लागि प्रेमले हामीलाई सम्पूर्ण रूपमा आफ्नो आत्मिक दशांश ल्याउन प्रोत्साहित पार्दछ। हामी यहोवाको सकेसम्म बढी सेवा गर्न उत्प्रेरित हुँदछौं। हामी आफ्नो अथवा आफ्ना साधनहरूको प्रयोग कन्जुसीका साथ तथा हिचकिचाउँदै गर्छौं भने, हाम्रा परमेश्वरलाई लुटेको बराबर हुने छ।—लूका २१:१-४ सङ्ग तुलना गर्नुहोस्।
अटाउने ठाउँ नै नहुने गरी
१८, १९. सम्पूर्ण दशांश ल्याएकोमा यहोवाका जनहरूले के आशिष पाएका छन्?
१८ सन् १९१९ देखि, यहोवाका जनहरूले प्रचार कार्यका लागि आफ्नो समय, शक्ति र धन उदारचित्तका साथ दिंदै आएका छन्। तिनीहरूले साँच्चै नै भण्डारभित्र सम्पूर्ण दशांश ल्याएका छन्। फलःस्वरूप, यहोवाले आफ्नो प्रतिज्ञा पूरा गर्नु हुँदै, अटाउने ठाउँ नै नहुने गरी आशिष दिनु भएको छ। यो कुरा, विशेष गरी तिनीहरूको सङ्खयामा भएको वृद्धिबाट देख्न सकिन्छ। सन् १९१८-मा यहोवा उहाँको मन्दिरमा आउनु हुँदा, उहाँको सेवामा केही हजार अभिषिक्त जनहरू मात्र थिए। तर आज भने २२९ बेग्ला-बेग्लै मुलुकहरूमा, अभिषिक्त जनहरू र अरू भेडाहरूको कुल सङ्खया ४० लाख भन्दा बढी छ। (यशैया ६०:२२) यिनीहरूले पनि बढी मात्रामा सच्चाइ बुझ्दै आएका छन्। अगमवाणीको वचन यिनीहरूका लागि अझ पक्का भएको छ। यहोवाका उद्देश्यहरूको पूर्तिमा तिनीहरूको आस्था अझ बलियो भएको छ। (२ पत्रुस १:१९) तिनीहरू साँच्चै नै “परमप्रभुबाट सिकाइएका” जनहरू हुन्।—यशैया ५४:१३.
१९ मलाकीद्वारा यहोवाले एउटा थप आशिषको पनि अग्रिमवाणी गर्नु भयो: “तब परमप्रभुको डर मान्नेहरूले आपसमा कुरा गरे औ परमप्रभुले तिनीहरूका कुरा ध्यानसित सुन्नुभयो, औ उहाँको डर मान्नेहरू र उहाँको नाउँको सोच गर्नेहरूका नाउँ सम्झनाको पुस्तकमा उहाँकै सामने लेखियो।” (मलाकी ३:१६) मसीही हुने दाबी गर्ने सबै सङ्गठनहरू मध्ये यहोवाका साक्षीहरूले मात्र उहाँको नाउँबारे सोच्ने र जाति-जातिहरू बीच त्यसको महिमा गर्ने गर्छन्। (भजनसंग्रह ३४:३) तिनीहरूको विश्वासिलोपना यहोवाले निश्चय नै सम्झनु हुने छ भनी थाह पाएर तिनीहरू कति खुशी छन्!
२०, २१. (क) साँचो मसीहीहरूले कुन बहुमूल्य सम्बन्धबाट आनन्द उठाउँछन्? (ख) मसीही-धर्म बारे कुन कुरा झन झन स्पष्ट हुँदै गइरहेको छ?
२० अभिषिक्त जनहरू यहोवाका विशेष जनहरू हुन्। तर तिनीहरू सित सङ्गत गर्न बथानको बथान आइरहेको ठूलो भीडले पनि ती अभिषिक्त जनहरू सित साँचो उपासनाका आशिषहरूको आनन्द उठाउँछन्। (जकरिया ८:२३) मलाकीद्वारा यहोवाले यो प्रतिज्ञा गर्नु हुन्छ: “‘जुन दिन म तिनीहरूलाई मेरो निज धन बनाउनेछु तिनीहरू मेरा हुनेछन्’ सेनाहरूका परमप्रभु भन्नुहुन्छ। ‘औ कुनै मानिसले आफ्नो सेवा गर्ने छोरालाई छोडिदिएझैं [दया देखाएझैं, न्यु व०] म तिनीहरूलाई छोडिदिनेछु [दया देखाउने छु, न्यु व०]।’” (मलाकी ३:१७) यहोवाले तिनीहरू प्रति यति कोमल भाव राख्नु कति ठूलो आशिषको कुरा हो!
२१ वास्तवमा, साँचो र झूटो मसीहीहरू बीचको भिन्नता झन झन स्पष्ट भइरहेको छ। यहोवाका जनहरूले उहाँका सिद्धान्तहरूलाई प्रयोगमा ल्याउन जसै कोशिश गर्दछन्, उतातिर मसीही जगत संसारको नैतिक अशुद्धताको दलदलमा झन-झन फस्दै जान्छ। साँच्चै नै यहोवाका यी शब्दहरू सत्य साबित भएको छ: “धर्मी र दुष्ट, अनि परमेश्वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद तिमीहरू छुट्टाउनसक्नेछौ।”—मलाकी ३:१८.
२२. हामीले सम्पूर्ण दशांश निरन्तर ल्याइ नै रह्यौं भने कुन कुन आशिषहरूको आनन्द उठाउन पाउने छौं भनी हामी विश्वस्त रहन सक्छौं?
२२ झुट्टा मसीहीहरूले लेखा दिनु पर्ने समय चाँडै आउने छ। “‘हेर, भट्टी झैं दन्कँदै त्यो दिन आउँदैछ, जब सबै घमण्डी र दुष्ट काम गर्नेहरू ठूटाझैं हुनेछन्। त्यो आउने दिनले तिनीहरूलाई भस्म गर्नेछ,’ सेनाहरूका परमप्रभु भन्नुहुन्छ।” (मलाकी ४:१) यहोवाले आफ्ना आत्मिक राष्ट्रलाई सा० यु० पू० ७०-मा सुरक्षित राख्नु भएको थियो। त्यसरी नै उहाँले आफ्ना जनहरूलाई आउन लागेको समयमा पनि बचाउनु हुने छ भनी यहोवाका मानिसहरू निश्चित छन्। (मलाकी ४:२) यसबारे निश्चित हुन पाएकोमा तिनीहरू कति खुशी छन्! अतः त्यो समय नआउञ्जेलसम्म हामी प्रत्येकले सम्पूर्ण दशांश भण्डारमा ल्याउने गर्दै यहोवाका लागि मूल्याङ्कन र प्रेम व्यक्त गरौं। यसो गऱ्यौं भने, उहाँले हामीलाई अटाउने ठाउँ नै नहुने गरी आशिष दिनु हुनेछ भनी हामी विश्वस्त हुन सक्नेछौं। (w92 12/1)
[फुटनोट]
a थप जानकारीका लागि, जुन १५, १९८७-को वॉचटावर, पाना १४-२० हेर्नु होस्।
के तपाईं व्याख्या गर्न सक्नु हुन्छ?
▫ आधुनिक समयमा, वाचाको दूतका साथ यहोवा आफ्नो मन्दिरमा कहिले आउनु भयो?
▫ विश्वासी र बुद्धिमान दास को हो र १९१८ पछि तिनीहरूलाई कुन प्रकारको शुद्धीकरण आवश्यक भयो?
▫ साँचो मसीहीहरूले यहोवाकहाँ कुन प्रकारका आत्मिक भेटीहरू चढाउँछन्?
▫ मसीहीहरूले भण्डार भित्र ल्याउने निम्तो पाएको दशांश के हो?
▫ आत्मिक दशांशहरू चढाएर परमेश्वरका जनहरूले के आशिषहरू बाट आनन्द उठाउँछन्?
[पृष्ठ १६-मा भएको चित्र]
राज्य सभा-गृहहरूको निर्माण गर्न आफ्नो शक्ति र साधनहरू उपलब्ध गराउनु हाम्रो आत्मिक दशांशमा समावेश छ
[पृष्ठ १७-मा भएको चित्र]
यहोवाले आफ्ना जनहरूलाई आशिष दिनु भएको हुनाकारण, राज्य सभा-गृहहरू र सम्मेलन सभा-गृहहरू लगायत अन्य निर्माण कार्यहरू गर्न आवश्यक भएको छ