प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • brw071201 p. २८-p. ३१ par. ५
  • मलाकीको पुस्तकका विशेषताहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मलाकीको पुस्तकका विशेषताहरू
  • सन्‌ २००७ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पूजाहारीहरूले ‘धेरैलाई ठोकर दिएका छन्‌’
  • (मलाकी १:१–२:१७)
  • ‘परमप्रभु आफ्नो मन्दिरमा आउनुहुनेछ’
  • (मलाकी ३:१–४:६)
  • साँचो “परमेश्‍वरको भय राख्‌”
  • यहोवाको दिनमा को बच्नेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • यहोवाले विश्‍वासघातको व्यवहारलाई घृणा गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • ईश्‍वरीय स्तरअनुरूप हिंड्‌दा यहोवाको महिमा हुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • यहोवाको आशिषले सम्पन्‍नता ल्याउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
सन्‌ २००७ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
brw071201 p. २८-p. ३१ par. ५

यहोवाको वचन जीवित छ

मलाकीको पुस्तकका विशेषताहरू

यरूशलेमको मन्दिरको पुनर्निर्माण कार्य सकिएको पनि ७० वर्ष नाघिसकेको छ। तर समय बित्दै जाँदा, यहूदीहरूको आध्यात्मिक अवस्था भने दिन-प्रतिदिन खस्कँदै गइरहेको छ। पूजाहारीहरूसमेत भ्रष्ट भएका छन्‌। तिनीहरूलाई आफ्नो वास्तविक अवस्थाबारे चेतना दिन र आध्यात्मिक रूपमा पुनः जागृत हुन कसले झकझकाउने छ? यहोवाले यो काम अगमवक्‍ता मलाकीलाई सुम्पनुहुन्छ।

मलाकीले जोडदार ढंगमा लेखेका हिब्रू धर्मशास्त्रको यस अन्तिम पुस्तकमा परमेश्‍वरबाट प्रेरणा पाएर गरिएका भविष्यवाणीहरू समावेश छन्‌। मलाकीका भविष्यसूचक वाणीहरूमा ध्यान दिंदा “परमप्रभुको त्यो महा र डरलाग्दो दिन[को]” लागि तयार रहन हामीलाई मदत मिल्न सक्छ। त्यस दिनमा यस वर्तमान दुष्ट संसारको अन्त्य हुनेछ।—मलाकी ४:५.

पूजाहारीहरूले ‘धेरैलाई ठोकर दिएका छन्‌’

(मलाकी १:१–२:१७)

इस्राएलीहरूप्रतिको आफ्नो भावना यहोवा यसरी पोखाउनुहुन्छ: “मैले तिमीहरूलाई प्रेम गरें।” तर पूजाहारीहरूले भने परमेश्‍वरको नाउँको अवहेलना गरेका छन्‌। कसरी? “[उहाँको] वेदीमा अशुद्ध रोटी” चढाएर अनि “लङ्‌गडा र बेथा लागेको पशु” बलिदान गरेर।—मलाकी १:२, ६-८.

पूजाहारीहरूले ‘धेरैलाई व्यवस्थाको विषयमा ठोकर दिएका छन्‌।’ मानिसहरू एकअर्कालाई ‘धोका दिन्छन्‌।’ कसै-कसैले विदेशी स्वास्नी ल्याएका छन्‌। कतिपयले “जवानीपनको [आफ्ना] स्वास्नीलाई” धोका दिएका छन्‌।—मलाकी २:८, १०, ११, १४-१६.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

२:२—यहोवाले कसरी बाटो बिराएका पूजाहारीहरूको ‘आशिष्‌माथि सराप’ दिनुभयो? यहोवाले यस अर्थमा त्यसो गर्नुभयो कि ती पूजाहारीहरूले पाउने आशिष्‌लाई उहाँले सरापमा परिणत गर्नुहुने थियो।

२:३—पूजाहारीहरूको मुखमा ‘गोबर दलिदिनुको’ अर्थ के थियो? व्यवस्थाअनुसार बलि चढाइने जनावरका गोबरलाई छाउनी बाहिर ल्याएर जलाउनुपर्थ्यो। (लेवी १६:२७) पूजाहारीहरूको मुखमा गोबर दलिदिनुको अर्थ तिनीहरूले चढाएका बलिदानलाई यहोवाले तिरस्कार गर्नुभयो र ती चढाउनेहरू पनि उहाँको अघि घृणित भए।

२:१३—यहोवाको वेदी कसको आँसुले भरिएको थियो? यो आँसु मन्दिरमा आएर यहोवासामु आफ्नो हृदय पोखाउने स्त्रीहरूको थियो। केले तिनीहरूलाई यतिबिघ्न विचलित बनाएको? सम्भवतः तरुणी विदेशी केटीहरूलाई विवाह गर्न तिनीहरूका यहूदी पतिहरूले कुनै जायज कारण विना नै तिनीहरूसित सम्बन्ध विच्छेद गरेका थिए।

हाम्रो लागि पाठ:

१:१०. ढोकाहरू थुनिदिने र वेदीमा आगो सल्काउने जस्ता साधारण कामको लागि समेत पैसा लिने ती लोभी पूजाहारीहरूले चढाएको भेटीप्रति यहोवा रतीभर खुसी हुनुभएन। मसीही सेवकाईमा गरिने कुराहरू लगायत उपासनाका अन्य कार्यहरू कहिल्यै पनि पैसाको लोभले नभई परमेश्‍वर र छिमेकीप्रतिको निःस्वार्थ प्रेमद्वारा उत्प्रेरित भई गर्नु कत्ति महत्त्वपूर्ण छ!—मत्ती २२:३७-३९; २ कोरिन्थी ११:७.

१:१४; २:१७. यहोवा कपट सहनुहुन्‍न।

२:७-९. मण्डलीमा सिकाउने सुअवसर पाएकाहरूले, आफूले सिकाउने कुरा पवित्र धर्मशास्त्र बाइबल र “विश्‍वासी भण्डारे[द्वारा]” प्रबन्ध गरिएका बाइबल आधारित प्रकाशनहरूसँग मेल खान्छ कि खाँदैन भनेर पक्का गर्नुपर्छ।—लूका १२:४२; याकूब ३:११.

२:१०, ११. “प्रभुमा मात्र” विवाह गर्नु भन्‍ने सल्लाहलाई आफ्ना उपासकहरूले गम्भीरतासाथ लिएको यहोवा आशा गर्नुहुन्छ।—१ कोरिन्थी ७:३९.

२:१५, १६. आफ्नो जवानीपनको स्वास्नीसँग बाँधेको विवाह वाचाप्रति साँचो उपासकहरूले आदर देखाउनुपर्छ।

‘परमप्रभु आफ्नो मन्दिरमा आउनुहुनेछ’

(मलाकी ३:१–४:६)

‘परमप्रभु [यहोवा परमेश्‍वर] एक्कासी आफ्नो मन्दिरमा’ ‘करारका दूत [येशू ख्रीष्टसित]’ आउनुहुनेछ। परमेश्‍वर “न्याय गर्नलाई” आफ्ना मानिसहरूकहाँ आउनुहुनेछ र सबै गलत काम गर्नेहरू विरुद्ध विलम्ब नगरी साक्षी दिनुहुनेछ। साथसाथै, यहोवासँग डराउनेहरूको नाउँ “सम्झनाको पुस्तकमा” लेखिनेछ।—मलाकी ३:१, ३, ५, १६.

त्यो दिन “भट्टीझैं दन्कँदै” आउनेछ र दुष्टहरू सबै स्वाहा हुनेछन्‌। त्यो दिन आउनुअगाडि, “बाबुहरूका हृदय तिनीहरूका छोराहरूतिर र छोराहरूका हृदय तिनीहरूका बाबुहरूतिर” फर्काइदिनलाई एउटा अगमवक्‍ता पठाइनेछ।—मलाकी ४:१, ५, ६.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

३:१-३—“परमप्रभु” र “करारका ती दूत” मन्दिरमा कहिले आउनुभयो र उहाँहरूका अघि-अघि को पठाइयो? आफ्नो प्रतिनिधिमार्फत यहोवा उहाँको मन्दिरमा आउनुभयो र इस्वी संवत्‌ ३३ निसान १० को दिन यसलाई सफा पार्नुभयो। त्यस दिन येशू मन्दिरभित्र पसेर बेच्ने र किन्‍नेहरूलाई बाहिर निकाल्नुभयो। (मर्कूस ११:१५) येशूलाई भावी राजाको रूपमा नियुक्‍त गरिएको साढे तीन वर्षपछिको कुरा हो यो। त्यस्तैगरि, स्वर्गमा राजाको भूमिका निर्वाह गरेको साढे तीन वर्षपछि येशू यहोवासँगै आध्यात्मिक मन्दिरमा आउनुभयो र परमेश्‍वरका जनहरूलाई सफा पारिनुपर्ने आवश्‍यकता देख्नुभयो। प्रथम शताब्दीमा, येशू ख्रीष्टको लागि बाटो तयार पार्न बप्तिस्मा दिने यूहन्‍ना यहूदीहरू समक्ष पठाइएका थिए। वर्तमान समयमा, यहोवा आफ्नो आध्यात्मिक मन्दिरमा आउनुभन्दा अगाडि नै बाटो तयार पार्न एउटा सन्देशबाहकलाई पठाइयो। सन्‌ १८८० को दशक सुरु भएदेखि नै, निष्कपट मानिसहरूलाई बाइबलका थुप्रै आधारभूत सत्य सिकाउन बाइबल विद्यार्थीहरूको एउटा समूहले बाइबल शिक्षण कार्यक्रममा भाग लिन सुरु गरिसकेका थिए।

३:१०—“जम्मै दशांश” दिनुले आफूसँग भएका सबै यहोवालाई दिनुपर्ने कुरालाई बुझाउँछ? येशूको मृत्युले मोशाको व्यवस्थालाई खारेज गऱ्‍यो। तसर्थ, आर्थिक लाभको दशांश दिनु आवश्‍यक छैन। तथापि, दशांश दिनुको प्रतीकात्मक अर्थ भने छ। (एफिसी २:१५) यसले आफूसँग भएका सबै दिनुपर्ने कुरालाई त बुझाउँदैन। दशांश वर्षैपिच्छे ल्याउनुपर्थ्यो भने हामी आफ्नो सबै कुरा यहोवासामु एकपटक मात्र ल्याउँछौं जुन कुरा पानीको बप्तिस्माद्वारा आफूलाई परमेश्‍वरप्रति समर्पण गरेर देखाउँछौं। त्यसबेलादेखि, हामीसँग जे छ ती सबै यहोवाकै हुन्छन्‌। तैपनि, उहाँले हामीलाई हामीसँग भएको केही कुरा अर्थात्‌ प्रतीकात्मक दशांश उहाँको सेवामा चलाउन मौका दिनुहुन्छ। परिस्थितिले दिएसम्म त्यो प्रतीकात्मक दशांश परमेश्‍वरको सेवामा चलाउँछौं र यसो गर्न हामी हृदयभित्रैदेखि उत्प्रेरित हुनुपर्छ। आफ्नो समय, शक्‍ति र स्रोत-साधनलाई राज्य प्रचार र चेला बनाउने काममा प्रयोग गर्नु यहोवासामु हामीले ल्याउने भेटीमा समावेश छ। त्यसैगरि मसीही सभाहरू धाउनु, बिरामी र वृद्ध सँगी विश्‍वासीहरूलाई भेट्‌न जानु र साँचो उपासनाको लागि आर्थिक सहयोग गर्नु पनि यसमा समावेश छ।

४:३—यहोवाका उपासकहरूले कुन अर्थमा ‘दुष्टहरूलाई कुल्चनेछन्‌’? पृथ्वीमा रहेका परमेश्‍वरका जनहरूले साँच्चै नै “दुष्टहरूलाई कुल्चने” अर्थात्‌ दुष्टहरूमाथि उहाँको न्याय कार्यान्वयन गर्ने काममा भाग त लिने छैनन्‌। तर शैतानको संसारको विनाशपछि तिनीहरूले विजय उत्सवमा सम्पूर्ण हृदयले भाग लिएर लाक्षणिक अर्थमा ‘दुष्टहरूलाई कुल्चनेछन्‌’।—भजन १४५:२०; प्रकाश २०:१-३.

४:४—हामीले किन ‘मोशाको व्यवस्थाको सम्झना राख्नुपर्छ’? हामी मसीहीहरू व्यवस्थाको अधीनमा त छैनौं। तथापि, त्यसले “आउने उत्तम कुराहरूको . . . छाया” भई काम गऱ्‍यो। (हिब्रू १०:१) तसर्थ, मोशाको व्यवस्थालाई ध्यान दिंदा त्यसमा लेखिएका कुराहरू कसरी पूरा भएका छन्‌ भनेर बुझ्न हामी मदत पाउन सक्छौं। (लूका २४:४४, ४५) अझ महत्त्वपूर्ण, त्यस व्यवस्थामा “स्वर्गका कुराहरूका नमूनाहरू” पनि छन्‌। मसीही शिक्षा र आचरणबारे समझ पाउने हो भने यसलाई अध्ययन गर्नु अपरिहार्य छ।—हिब्रू ९:२३.

४:५, ६—“एलिया अगमवक्‍ता[ले]” कसलाई चित्रण गर्छ? “एलिया[ले]” सच्याउने काम अर्थात्‌ मानिसहरूको हृदय तयार पार्ने काममा भाग लिनेछन्‌ भनेर पहिल्यै बताइएको थियो। इस्वी संवत्‌ प्रथम शताब्दीमा, बप्तिस्मा दिने यूहन्‍नालाई येशू ख्रीष्टले “एलिया[को]” रूपमा चिनाउनुभयो। (मत्ती ११:१२-१४; मर्कूस ९:११-१३) वर्तमान समयका एलिया “विश्‍वासी र बुद्धिमान दास” वर्ग हो। उनीहरूलाई “परमप्रभुको त्यो महा र डरलाग्दो दिन आउनअघि” पठाइएको छ। (मत्ती २४:४५) अभिषिक्‍त मसीहीहरूको यस वर्ग, मानिसहरूलाई परमेश्‍वरसँगको सम्बन्ध सच्याउन मदत गर्ने काममा लगनशील भई लागिपरेका छन्‌।

हाम्रो लागि पाठ:

३:१०. आफूसँग भएको सर्वोत्तम कुरा यहोवालाई चढाउनदेखि चुक्नु भनेको उहाँको आशिष्‌बाट आफूलाई वञ्चित गराउनु हो।

३:१४, १५. पूजाहारीहरूको खराब उदाहरणले गर्दा परमेश्‍वरको सेवालाई यहूदीहरूले हल्कासित लिन थाले। मसीही मण्डलीका जिम्मेवार भाइहरू उदाहरणीय हुनुपर्छ।—१ पत्रुस ५:१-३.

३:१६. यहोवासँग डराउने र उहाँप्रति विश्‍वासी रहनेहरूको उहाँ रेकर्ड राख्नुहुन्छ। शैतानको दुष्ट संसारको विनाश गर्दा उहाँले तिनीहरूलाई सम्झनुहुन्छ र तिनीहरूलाई जोगाउनुहुन्छ। त्यसैले परमेश्‍वरप्रति निष्ठावान्‌ रहिरहने हाम्रो संकल्पलाई कमजोर हुन कहिल्यै नदेऔं।

४:१. यहोवालाई लेखा दिनुपर्ने समयमा “हाँगा” र “जरा” दुवैले एउटै नतिजा भोग्नेछ, मतलब छोराछोरीले पनि आमाबाबुको जस्तै न्याय भोग्नेछन्‌। त्यसोभए आफ्ना साना छोरोछोरीप्रति आमाबाबुको जिम्मेवारी कत्ति गहन रहेछ! परमेश्‍वरको अनुमोदन पाउन र उहाँको अगाडि असल व्यक्‍तिको रूपमा चिनिन मसीही आमाबाबुले कडा प्रयत्न गर्नै पर्छ।—१ कोरिन्थी ७:१४.

साँचो “परमेश्‍वरको भय राख्‌”

“परमप्रभुको त्यो महा र डरलाग्दो दिन[मा]” को बचाइने छन्‌? (मलाकी ४:५) “तिमीहरू मेरो नाउँको भय मान्‍नेहरूमाथि चाहिं धर्मको सूर्य आफ्ना पखेटामा आरोग्यता लिएर उदय हुनेछ। तिमीहरू गोठबाट निस्केका बाछोजस्तै उफ्रँदै कुद्‌नेछौ” भनी यहोवा भन्‍नुहुन्छ।—मलाकी ४:२.

“धर्मको सूर्य” येशू ख्रीष्ट, श्रद्धासाथ परमेश्‍वरको नाउँको भय मान्‍नेहरूमाथि चम्कनुहुन्छ र तिनीहरूले यहोवाको अनुमोदन पाउँछन्‌। (यूहन्‍ना ८:१२) तिनीहरूका लागि “पखेटामा आरोग्य” छ अर्थात्‌ अहिल्यै आध्यात्मिक आरोग्यता र परमेश्‍वरको नयाँ संसारमा शारीरिक, मानसिक र भावनात्मक तवरमा पूर्ण आरोग्यता। (प्रकाश २२:१, २) खुसीले ओतप्रोत भएर तिनीहरू “गोठबाट निस्केका बाछोजस्तै” व्यवहार गर्छन्‌। यस्ता आशिष्‌लाई मनमा राख्दै राजा सुलेमानको यो सल्लाहलाई हामी सधैं ध्यान देऔं: “परमेश्‍वरको भय राख्‌, र उहाँका आज्ञा पालन गर्‌। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।”—उपदेशक १२:१३.

[पृष्ठ २८-मा भएको चित्र]

अगमवक्‍ता मलाकी, परमेश्‍वरका जोसिला र समर्पित सेवक

[पृष्ठ ३१-मा भएको चित्र]

हामीले सिकाउने कुरा बाइबलसँग मेल खाने हुनुपर्छ

[पृष्ठ ३१-मा भएको चित्र]

यहोवाका सेवकहरू आफ्नो विवाह वाचाप्रति आदर देखाउँछन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने