प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • kr chap. २ pp. १३-२९
  • स्वर्गमा परमेश्‍वरको राज्यको जन्म भयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्वर्गमा परमेश्‍वरको राज्यको जन्म भयो
  • परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘मेरो दूतले मेरो अगिअगि बाटो तयार गर्नेछ’
  • सत्यबमोजिम उपासना गर्ने
  • “हे मेरा मानिसहरू हो, . . . त्यसबाट निस्केर आओ”
  • उपासनाको लागि भेला हुने
  • जोसिलो प्रचारकार्य
  • परमेश्‍वरको राज्यको जन्म भयो!
  • परीक्षाको समय
  • आध्यात्मिक तवरमा फेरि ब्यूँतिए!
  • यहोवाले आफ्ना जनहरूलाई जम्मा गर्नुहुन्छ र तिनीहरूलाई कामका लागि निपुण बनाउनुहुन्छ
    यहोवाका साक्षीहरू—विश्‍वभरि एक भएर परमेश्‍वरको इच्छा गरिरहेका छन्‌
  • मसीही विश्‍वासको जाँच हुनेछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • यहोवाका साक्षीहरू किन जागा रहन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • राजाले परमेश्‍वरको राज्यबारे थप कुरा बताउनुहुन्छ
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
परमेश्‍वरको राज्यले शासन गर्दै छ!
kr chap. २ pp. १३-२९

अध्याय २

स्वर्गमा परमेश्‍वरको राज्यको जन्म भयो

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

परमेश्‍वरले आफ्ना जनहरूलाई उहाँको राज्य जन्मने समयको निम्ति कसरी तयार पार्नुभयो

१, २. (क) इतिहासको कुन चाहिं घटनाले पूरै पृथ्वीमा हलचल मच्चायो? (ख) यो घटना कुनै मानिसले नदेखेकोमा हामीले किन छक्क मान्‍नु पर्दैन?

आफ्नै आँखाअगाडि कुनै ठूलो ऐतिहासिक परिवर्तन भएको देख्न पाउँदा कस्तो हुन्थ्यो होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? तर विचार गर्नुहोस्‌: त्यस्तो निर्णायक परिवर्तन देखे तापनि के-कस्ता महत्त्वपूर्ण घटनाहरूले गर्दा त्यस्तो परिवर्तन भयो, ती सबै तपाईंलाई थाह हुँदैन। जस्तै, इतिहासका किताबहरूमा पुराना सरकारहरू ढल्नुमा कस्ता कुराहरूको हात थियो भनेर लेखिएको हुन्छ तर सर्वसाधारणले अक्सर ती घटना देख्न पाएका हुँदैनन्‌। सायद, त्यस्ता ऐतिहासिक घटनाहरू राजदरबार, सांसद भवन वा सरकारी कार्यालयहरूभित्र भएका हुन सक्छन्‌। तर जेहोस्‌, त्यस्ता घटनाले लाखौं मानिसको जीवनलाई असर गर्छ।

२ त्यसैगरि इतिहासको एउटा सबैभन्दा ठूलो घटनाले पूरै पृथ्वीमा हलचल मच्चाउनुका साथै लाखौं मानिसको जीवनलाई असर गऱ्‍यो। तर त्यो घटना कुनै मानिसले देखेन। हो, हामी परमेश्‍वरको राज्य स्वर्गमा स्थापित भएको समयबारे कुरा गर्दैछौं। धेरै वर्ष अघिदेखि प्रतिज्ञा गरिएको त्यो राज्यले यस दुष्ट युगको अन्त गर्नेछ। (दानियल २:३४, ३५, ४४, ४५ पढ्‌नुहोस्‌) तर परमेश्‍वरको राज्य स्वर्गमा स्थापित भएको घटना कुनै मानिसले देखेन। के त्यसो भन्दैमा यहोवाले त्यो घटना मानिसजातिबाट लुकाउनुभयो भन्‍न मिल्छ? अथवा, कतै उहाँले आफ्ना वफादार जनहरूलाई पहिल्यैदेखि यो घटनाको लागि तयार पार्दै आउनुभएको पो थियो कि? आउनुहोस्‌, हेरौं।

‘मेरो दूतले मेरो अगिअगि बाटो तयार गर्नेछ’

३-५. (क) मलाकी ३:१ मा बताइएको ‘करारका दूत’ को हुन्‌? (ख) ‘करारका दूत’ मन्दिरमा आउनुअघि को आउने थियो?

३ यहोवाले आफ्नो उद्देश्‍यअनुसार प्राचीन समयदेखि आफ्ना जनहरूलाई मसीही राज्यको जन्मको निम्ति तयार पारिरहनुभएको थियो। उदाहरणको लागि मलाकी ३:१ मा गरिएको यो भविष्यवाणी विचार गर्नुहोस्‌: “हेर, म आफ्नो दूतलाई पठाउँछु, र उसले मेरो अगिअगि बाटो तयार गर्नेछ, र परमप्रभु जसलाई तिमीहरू खोज्दछौ, एक्कासि आफ्नो मन्दिरमा आउनेछन्‌, [र] करारका ती दूत जसलाई तिमीहरू औधी चाह गर्दछौ।”

४ आधुनिक समयमा यो भविष्यवाणी कहिले पूरा भयो? अर्को शब्दमा भन्‍नुपर्दा, “परमप्रभु” यहोवा आफ्नो आध्यात्मिक मन्दिरको पार्थिव चोकमा सेवा गरिरहेकाहरूको निरीक्षण गर्न कहिले आउनुभयो? भविष्यवाणीमा यहोवा र ‘करारका दूत’ सँगै आउनुहुनेछ भनेर बताइएको छ। ती दूत को हुन्‌? स्वयम्‌ मसीही राजा येशू ख्रीष्ट। (लूका १:६८-७३) भर्खरै राजा नियुक्‍त हुनुभएका येशूले पृथ्वीमा भएका परमेश्‍वरका जनहरूको निरीक्षण गर्नुहुने थियो र तिनीहरूलाई शुद्ध पार्नुहुने थियो।—१ पत्रु. ४:१७.

५ तर मलाकी ३:१ को सुरुमा बताइएको “दूत” चाहिं को हुन्‌? भविष्यवाणी गरिएका यी दूत मसीही राजाको उपस्थिति भन्दा अघि नै देखा पर्ने थिए। सन्‌ १९१४ भन्दा अघि के कसैले मसीही राजाको लागि “बाटो तयार” पार्ने काम गऱ्‍यो?

६. परमेश्‍वरका जनहरूलाई चाँडै हुन लागेका घटनाहरूका निम्ति तयार पार्न पहिला आएका “दूत” को थिए?

६ यो किताबमा हामी आधुनिक समयका यहोवाका जनहरूको रोमाञ्चकारी इतिहास केलाउनेछौं र ती प्रश्‍नहरूको जवाफ पनि पाउनेछौं। उन्‍नाइसौं शताब्दीको अन्ततिर नक्कली ख्रीष्टियनहरूको भीडमा साँचो ख्रीष्टियनहरूको एउटा सानो समूह देखा पऱ्‍यो। त्यो समूह बाइबल विद्यार्थीको नामले चिनिन थालियो। त्यो समूहको नेतृत्व लिने चार्ल्स. टी. रसल र तिनका सहयोगीहरू नै मलाकी ३:१ को सुरुमा बताइएको “दूत” थिए। तिनीहरूले परमेश्‍वरका जनहरूलाई आध्यात्मिक तवरमा डोऱ्‍याए अनि चाँडै हुन लागेका घटनाहरूका निम्ति तयार पारे। आउनुहोस्‌, ती “दूत”-ले यो काम कसरी गरे, चार तरिका विचार गरौं।

सत्यबमोजिम उपासना गर्ने

७, ८. (क) सन्‌ १८५० तिर कसले आत्मा अमर छ भन्‍ने शिक्षा झूटो हो भनेर पर्दाफास गऱ्‍यो? (ख) सी. टी. रसल र तिनका सहयोगीहरूले अरू कस्ता शिक्षाहरू पनि झूटा हुन्‌ भनेर पर्दाफास गरे?

७ बाइबल विद्यार्थीहरूले प्रार्थनापूर्वक बाइबल अध्ययन गरे; बाइबलले वास्तवमा के सिकाउँछ भनेर निष्कर्षमा पुगे र ती जम्मा गरेर प्रकाशित गरे। शताब्दीयौंदेखि चर्चजगत्‌लाई आध्यात्मिक अन्धकारले छोपेको थियो। त्यसले सिकाउने धेरैजसो शिक्षाहरू बाइबलले सिकाउने सत्य कुरासित मेल खाँदैन थियो। यसको एउटा उदाहरण आत्मा अमर छ भन्‍ने शिक्षा हो। सन्‌ १८५० तिर बाइबलको गहिरो अध्ययन गरिरहेका केही व्यक्‍तिहरूले यो शिक्षा परमेश्‍वरको वचनसित मेल खाँदैन भनेर बुझे। हेन्री ग्रू, जर्ज स्टेटसन र जर्ज स्टोर्सले निडर भएर त्यस्तो झूटो शिक्षाको पर्दाफास गरे।a सी. टी. रसल र तिनका सहयोगीहरू तिनीहरूको कुरा सुनेर धेरै प्रभावित भएका थिए।

८ “सबै असल मानिस स्वर्ग जान्छन्‌ र दुष्टहरूलाई चाहिं परमेश्‍वरले नरकको आगोमा सास्ती दिनुहुन्छ” भन्‍नेजस्ता चर्चले सिकाउने अरू शिक्षा पनि झूटा र मानिसहरूलाई झनै अलमल्याउने खालका छन्‌ भनेर बाइबल विद्यार्थीहरूको त्यो सानो समूहले बुझ्यो। भाइ रसल र तिनका सहयोगीहरूले थुप्रै लेख, किताब, पर्चा र प्रवचनहरू प्रकाशित गरेर निडर भई यस्ता झूटहरूको पर्दाफास गरे।

९. त्रिएकको शिक्षा झूटो हो भनेर प्रहरीधरहरा-ले कसरी पर्दाफास गऱ्‍यो?

९ त्यसैगरि, सबैले मान्दै आएको त्रिएकको शिक्षा पनि झूटो हो भनेर बाइबल विद्यार्थीहरूले पर्दाफास गरे। सन्‌ १८८७ को एउटा अङ्‌ग्रेजी प्रहरीधरहरा-माb यसो भनिएको थियो: “यहोवा र प्रभु येशू बेग्लाबेग्लै व्यक्‍ति हुनुहुन्छ र उहाँहरूबीच बाबुछोराको सम्बन्ध छ भनेर बाइबलमा स्पष्टसित बताइएको छ।” उक्‍त लेखमा यसो पनि भनिएको थियो: “त्रिएकको शिक्षा अर्थात्‌ तीन व्यक्‍ति एउटै ईश्‍वर हो अनि तीनै जना ईश्‍वर हो भन्‍ने शिक्षा लोकप्रिय हुनु छक्कलाग्दो कुरा हो। यस्तो गलत शिक्षा लोकप्रिय हुनुले चर्च कतिसम्म गहिरो निद्रामा परेको छ भनेर उदाङ्‌ग पार्छ।”

१०. सन्‌ १९१४ महत्त्वपूर्ण वर्ष हो भनेर प्रहरीधरहरा-ले कसरी देखायो?

१० त्यतिखेर प्रकाशित हुने अङ्‌ग्रेजी प्रहरीधरहरा-को पूरा नाम सियोनको प्रहरीधरहरा र ख्रीष्टको उपस्थितिको सूचक थियो। त्यतिखेरका अभिषिक्‍त जनहरू ख्रीष्टको उपस्थितिसित सम्बन्धित भविष्यवाणीहरूमा कति गहिरो चासो लिन्थे भन्‍ने कुरा यस्तो शीर्षकबाटै प्रस्ट हुन्छ। त्यो पत्रिकामा लेखहरू तयार गर्ने वफादार अभिषिक्‍त जनहरूले दानियलले “सातकाल”-को विषयमा गरेको भविष्यवाणी पनि केलाएर हेरे। दानियलको यो भविष्यवाणीले मसीही राज्य स्थापित हुने समय ठम्याउन मदत गर्छ भनेर तिनीहरूले बुझे। त्यसैले सन्‌ १८७६ तिरै तिनीहरूले सन्‌ १९१४ मा “सातकाल” पूरा हुनेछ भनेर औंल्याउन सके। (दानि. ४:२५; लूका २१:२४) त्यसबेलाका हाम्रा भाइहरूले सन्‌ १९१४ को महत्त्व पूरै नबुझे तापनि आफूले थाह पाएको कुरा चारैतिर घोषणा गरे। तिनीहरूको त्यो घोषणाले आज हामीलाई समेत प्रभाव पारेको छ।

११, १२. (क) आफूले सिकेका कुराहरूको श्रेय भाइ रसलले कसलाई दिए? (ख) सन्‌ १९१४ अघि भाइ रसल र तिनका सहयोगीहरूले गरेको काम कत्तिको महत्त्वपूर्ण थियो?

११ बाइबल पढेर आफूले थाह लगाएका यस्ता महत्त्वपूर्ण कुराहरूको श्रेय न भाइ रसलले न त उनका वफादार सहयोगीहरूले नै लिए। बरु भाइ रसलले आफ्ना अग्रज र त्योभन्दा पनि यहोवा परमेश्‍वरलाई त्यसको श्रेय दिए। किनकि उहाँ आफ्ना जनहरूले जतिबेला जुन कुरा थाह पाउनु आवश्‍यक छ, त्यतिबेला त्यो कुरा बताउनुहुन्छ। भाइ रसल र तिनका सहयोगीहरूले झूटलाई पर्दाफास गरेर बाइबलले सिकाउने सत्य कुरा प्रकट गर्न गरेको प्रयासमा यहोवाले प्रशस्तै आशिष्‌ दिनुभयो। त्यसैले, समय बित्दै जाँदा तिनीहरू झूटा ख्रीष्टियनहरूभन्दा फरक छन्‌ भन्‍ने कुरा झन्‌झनै प्रस्ट हुन थाल्यो।

आफ्ना सहयोगीहरूसँग कुरा गरिरहेका भाइ रसल

भाइ रसल र तिनका सहयोगीहरूले प्रार्थनापूर्वक बाइबल अध्ययन गरे र आफूले सिकेको कुरा प्रकाशित गरे

१२ बाइबलले सिकाउने सत्य कुरा प्रकट गर्न ती वफादार पुरुषहरूले सन्‌ १९१४ अघि जे-जति गरे त्यो साँच्चै प्रशंसायोग्य छ! नोभेम्बर १, १९१७ अङ्‌कको अङ्‌ग्रेजी प्रहरीधरहरा-ले पुराना कुराहरूको सम्झना गर्दै यसो भनेको थियो: “नरकको आगो तथा अन्य झूटा शिक्षाहरूले गर्दा डरैडरमा बाँच्नु परेका लाखौं मानिसहरू आज त्यसबाट मुक्‍त भएका छन्‌। . . . चालीस वर्षअघि उर्लन थालेको सत्यको त्यो सानो खोलो निरन्तर बढेर अहिले ठूलो नदी भएको छ र पूरै पृथ्वीलाई नढाकेसम्म त्यो बढी नै रहनेछ। विरोधीहरूले जस्तोसुकै बाँध खडा गरेर त्यसलाई रोक्न खोजे तापनि तिनीहरूको केही लाग्नेछैन।”

१३, १४. (क) मलाकी ३:१ को “दूत”-ले कसरी मसीही राजाको लागि बाटो तयार पाऱ्‍यो? (ख) सय वर्षअघिका हाम्रा भाइहरूबाट हामी के सिक्न सक्छौं?

१३ सी. टी. रसल र तिनका सहयोगीहरूले येशू र उहाँको बुबा यहोवा फरक-फरक व्यक्‍ति हुनुहुन्छ भनेर बुझाए। त्यसैगरि, पृथ्वीका सबै मानिसलाई होइन तर ख्रीष्टको पाइलामा हिंड्‌ने थोरैलाई मात्र परमेश्‍वरले स्वर्गमा अमर जीवनको उपहार दिनुहुनेछ र उहाँले मानिसहरूलाई नरकको आगोमा सधैं सास्ती दिनुहुन्‍न भन्‍ने कुरा पनि तिनीहरूले बुझाए। सी. टी. रसल र तिनका सहयोगीहरूले यस्ता महत्त्वपूर्ण कुराहरू बुझाएको हुनाले नै साँचो ख्रीष्टियनहरू ख्रीष्टको उपस्थिति सुरु हुने समयको लागि तयार हुन सके। साँच्चै त्यस “दूत”-ले मसीही राजाको लागि बाटो तयार पाऱ्‍यो!

१४ त्यसोभए हामीले के गर्नुपर्छ? सय वर्षअघिका हाम्रा ती भाइहरूबाट हामी के सिक्न सक्छौं? हामीले पनि तिनीहरूले जस्तै परमेश्‍वरको वचनको गहिरो अध्ययन गर्नुपर्छ। (यूह. १७:३) यो भौतिकवादी संसार आध्यात्मिक भोजन नपाएर झन्‌झनै कमजोर हुँदैछ। तर हामी भने आफ्नो भोक जगाउँदै आध्यात्मिक भोजन निरन्तर लिइरहौं!—१ तिमोथी ४:१५ पढ्‌नुहोस्‌।

“हे मेरा मानिसहरू हो, . . . त्यसबाट निस्केर आओ”

१५. बाइबल विद्यार्थीहरूले के कुरा बुझ्न थाले? (फुटनोट पनि हेर्नुहोस्‌।)

१५ साँचो ख्रीष्टियनहरूले चर्चसितको सम्बन्ध तोड्‌नै पर्छ भनेर बाइबल विद्यार्थीहरूले सिकाए। सन्‌ १८७९ को अङ्‌ग्रेजी प्रहरीधरहरा-मा “बेबिलोन चर्च”-बारे चर्चा गरिएको थियो। के यो पोपतन्त्र थियो? अथवा रोमन क्याथोलिक चर्च? बाइबलमा उल्लिखित बेबिलोनले क्याथोलिक चर्चलाई बुझाउँछ भनेर प्रोटेस्टेन्टहरूले भन्दै आएको सयौं वर्ष भइसकेको थियो। तर बाइबल विद्यार्थीहरूले आधुनिक “बेबिलोन”-मा सबै चर्चहरू पर्छन्‌ भनेर बुझ्न थाले। किन? किनभने सबै चर्चले झूटा शिक्षाहरू सिकाइरहेका थिए जसमध्ये केही हामीले माथि छलफल गऱ्‍यौं।c चर्चमा गइरहेका निष्कपट मानिसहरूले कस्तो कदम चाल्नुपर्छ, हाम्रा प्रकाशनहरूमा कुरा नघुमाई भन्‍न थालियो।

१६, १७. (क) सहस्र वर्षीय प्रभात किताबको खण्ड ३ र प्रहरीधरहरा-मा के भनिएको थियो? (ख) के कारणले गर्दा सबैले यो चेतावनीलाई गम्भीरतासाथ लिएनन्‌? (फुटनोट हेर्नुहोस्‌।)

१६ उदाहरणको लागि, सन्‌ १८९१ मा सहस्र वर्षीय प्रभात भन्‍ने अङ्‌ग्रेजी किताबको खण्ड ३ मा परमेश्‍वरले आधुनिक बेबिलोनलाई तिरस्कार गरिसक्नुभएको कुराबारे चर्चा गरिएको थियो। त्यहाँ यस्तो लेखिएको थियो: “सबै चर्चलाई परमेश्‍वरले तिरस्कार गर्नुभएको छ।” साथै चर्चका झूटा शिक्षा र चलनअनुसार चल्न नचाहनेहरूलाई त्यसबाट निस्केर आउन पनि भनिएको थियो।

१७ केही बाइबल विद्यार्थीले चर्चबाट आफ्नो सदस्यता हटाइसकेका थिएनन्‌। तिनीहरू “मैले सत्य स्वीकारेकै छु र म चर्च जाने पनि होइन” भनेर आफ्नो सफाइ दिन्थे। त्यसैले त्यस्ता व्यक्‍तिहरूलाई जनवरी १९०० को प्रहरीधरहरा-मा यस्तो सल्लाह दिइयो: “के एउटा खुट्टा बेबिलोनभित्र अनि अर्को खुट्टा बेबिलोनबाहिर राख्नु मनासिब होला र? के परमेश्‍वरले हामीबाट चाहनुभएको कुरा यही हो? के यस्तो कुरालाई परमेश्‍वरले स्वीकार्नुहुन्छ र? चर्चको सदस्यले सबैसामु एउटा वाचा गरेका हुन्छन्‌ र तिनले सार्वजनिक रूपमा आफ्नो सदस्यता रद्द नगरेसम्म त्यस वाचाअनुसार जीवन बिताएको आशा गरिन्छ।” प्रहरीधरहरा-ले पटक-पटक यो सन्देशलाई झन्‌ जोडतोडका साथ दोहोऱ्‍यायो।d यहोवाका सेवकहरूले झूटो धर्मसित सबै सम्बन्ध तोड्‌नै पर्छ।

१८. “महान्‌ बेबिलोन”-बाट किन निस्कि आउनुपर्छ?

१८ महान्‌ बेबिलोनबाट निस्केर आउन यस्ता चेतावनीहरू पटक-पटक नदिइएको भए येशू ख्रीष्टले राजा नियुक्‍त हुँदा पृथ्वीमा उहाँको उपस्थितिको निम्ति तयार भएर बसेका अभिषिक्‍त जनहरूको समूह फेला पार्नुहुने थिएन। किनकि बेबिलोनसितको सम्बन्ध पूरै तोडिसकेका ख्रीष्टियनहरूले मात्र यहोवालाई “पवित्र शक्‍तिको निर्देशनमा अनि सत्यबमोजिम” उपासना गर्न सक्थे। (यूह. ४:२४) के आज हामीले तिनीहरूले जस्तै झूटो धर्मसित कुनै सरोकार नराख्ने निर्णय गरेका छौं? हामी सधैं यो आज्ञा पालन गरिरहौं: “हे मेरा मानिसहरू हो, . . . त्यसबाट निस्केर आओ।”—प्रकाश १८:४ पढ्‌नुहोस्‌।

उपासनाको लागि भेला हुने

१९, २०. परमेश्‍वरका जनहरू उपासना गर्न भेला हुनुपर्छ भनेर प्रहरीधरहरा-ले कसरी प्रोत्साहन दियो?

१९ साँचो ख्रीष्टियनहरूले परिस्थितिले दिएसम्म सँगै भेला भएर यहोवाको उपासना गर्नुपर्छ भनेर बाइबल विद्यार्थीहरूले सिकाए। साँचो ख्रीष्टियनहरू झूटो धर्मबाट निस्की आएर मात्र पुग्दैन। तिनीहरूले शुद्ध उपासनामा भाग लिनु पनि पर्छ। साँचो ख्रीष्टियनहरूले सँगै भेला भएर यहोवाको उपासना गर्नुपर्छ भनेर प्रहरीधरहरा-ले सुरुदेखि नै आफ्ना पाठकहरूलाई प्रोत्साहन दिंदै आएको थियो। उदाहरणको लागि जुलाई, १८८० अङ्‌कको प्रहरीधरहरा-मा भाइ रसलले आफूले विभिन्‍न ठाउँमा गएर भाषण दिंदा बटुलेको अनुभवहरूको रिपोर्ट दिए। तिनले ती ठाउँहरूमा सभाहरू कत्ति प्रोत्साहनजनक भएका छन्‌ भनेर पनि टिप्पणी गरे। त्यसपछि तिनले आफ्ना पाठकहरूलाई तिनीहरूको प्रगतिबारे लेखेर पठाउन आग्रह गरे। किन? “प्रभुले तपाईंहरूलाई कसरी आशिष्‌ दिइरहनुभएको छ अनि तपाईंहरू सङ्‌गी विश्‍वासीहरूसित एक साथ भेला हुनुभएको छ भनेर हामीले थाह पाउन सकौं।” पाठकहरूले पठाएको कतिपय रिपोर्ट प्रहरीधरहरा-मा छापियो।

डेनमार्कको कोपनहेगनमा बाइबल विद्यार्थीहरूको समूह, १९०९]

सन्‌ १९०९ मा डेनमार्कको कोपनहेगनमा बाइबल विद्यार्थीहरूको समूहसँगै चार्ल्स रसल

२० त्यसैगरि, सन्‌ १८८२ को एउटा प्रहरीधरहरा-मा “एक साथ भेला हुनुहोस्‌” भन्‍ने लेख छापियो। त्यस लेखले ख्रीष्टियनहरूलाई “एकअर्कालाई सिकाउन, प्रोत्साहन दिन र ढाडस दिन” सभाहरू सञ्चालन गर्न आग्रह गऱ्‍यो। त्यो लेखमा यसो पनि भनिएको थियो, “तपाईंहरूमाझ लेखपढ गर्न जान्‍ने वा दक्ष व्यक्‍ति कोही छैन भने पनि चिन्ता नगर्नुहोस्‌। सबैले आ-आफ्नो बाइबल र कापी-कलम लिएर आउनुहोस्‌। त्यसपछि बाइबल पदहरूको सूचीबाटe कुनै एउटा विषय छान्‍नुहोस्‌ र पवित्र शक्‍तिको डोऱ्‍याइ माग्नुहोस्‌। त्यसपछि पढ्‌नुहोस्‌, मनन गर्नुहोस्‌ र बाइबल पदहरू तुलना गरेर हेर्नुहोस्‌। यसो गर्दा तपाईंलाई पक्कै पनि पवित्र शक्‍तिले डोऱ्‍याउनेछ र तपाईंले बाइबलले सिकाउने सत्य सिक्नुहुनेछ।”

२१. एलेगेनी मण्डलीले सभाहरू सञ्चालन गर्ने र भाइहरूलाई मदत गर्ने विषयमा कस्तो उदाहरण बसाल्यो?

२१ त्यतिखेर बाइबल विद्यार्थीहरूको मुख्य कार्यालय अमेरिकाको पेन्सिलभेनिया राज्यको एलेगेनी भन्‍ने ठाउँमा थियो। बाइबल विद्यार्थीहरूले हिब्रू १०:२४, २५ मा दिइएको सल्लाह पालन गर्दै एलेगेनीमा भेला भएर असल उदाहरण बसाले। (पढ्‌नुहोस्‌) चार्ल्स केपन नाम गरेका एक वृद्ध भाइले आफू ठिटो छँदा यी सभाहरूमा उपस्थित भएको कुरा सम्झदैं यसो भनेका थिए, “सोसाइटीको सम्मेलन भवनको भित्तामा ‘तिमीहरूको गुरु एकै जना हुनुहुन्छ र तिमीहरूचाहिं सबै दाजुभाइ हौ’ भनेर लेखिएको शास्त्रपद म अझै सम्झन्छु। त्यस पदले यहोवाका जनहरूमाझ चर्चहरूमा जस्तो पादरी र सर्वसाधारणबीच फरक छैन भनी सम्झन मलाई मदत गऱ्‍यो।” (मत्ती २३:८) ती उत्थानदायी सभाहरूबाट पाएको न्यानो प्रोत्साहन र भाइ रसलले मण्डलीका प्रत्येक सदस्यलाई भेटेर दिनुभएको मदत भाइ केपनले कहिल्यै बिर्सेनन्‌।

२२. ख्रीष्टियन सभामा जान दिइएको निर्देशन वफादार ख्रीष्टियनहरूले कसरी पालन गरे? हामीले पनि के गर्नुपर्छ?

२२ एलेगेनीका भाइबहिनीले बसालेको यस्तो उदाहरण अरू वफादार ख्रीष्टियनहरूले पनि अनुकरण गरे। तिनीहरू प्रहरीधरहरा-मा दिइएको निर्देशन पालन गर्दै एक ठाउँमा भेला हुन थाले। अमेरिकाको ओहायो र मिशिगन राज्यमा अनि पछि उत्तर अमेरिकाको सबै भागमा र अन्य मुलुकमा पनि मण्डलीहरू स्थापित भए। यहोवाको उपासना गर्न एकै ठाउँमा भेला हुनुपर्छ भनेर सिकाइएको हुनाले नै विश्‍वासी जनहरू ख्रीष्टको उपस्थितिको लागि तयार हुन सके। आज हामी नि? हामीले पनि ख्रीष्टियन सभामा नबिराई जाने कोसिस गरिरहनुपर्छ। अनि सँगै मिलेर यहोवाको उपासना गर्ने र एक अर्कालाई आध्यात्मिक रूपमा बलियो बनाउने मौका खोजिरहनुपर्छ।

जोसिलो प्रचारकार्य

२३. सबै अभिषिक्‍त जनहरूले प्रचार गर्नुपर्छ भनेर प्रहरीधरहरा-ले कसरी स्पष्ट पाऱ्‍यो?

२३ सबै अभिषिक्‍त जनहरूले प्रचार गर्नै पर्छ भनेर बाइबल विद्यार्थीहरूले सिकाए। सन्‌ १८८५ को अङ्‌ग्रेजी प्रहरीधरहरा-मा यस्तो लेखिएको थियो: “प्रत्येक अभिषिक्‍त जन प्रचार गर्नको लागि अभिषेक भएका हुन्‌ भनेर बिर्सनु हुँदैन। (यशै. ६१:१)” सन्‌ १८८८ को अङ्‌कमा चाहिं यस्तो सल्लाह दिइएको थियो: “हामीले गर्नुपर्ने काम के हो, स्पष्ट छ . . . त्यो कामलाई हल्कासित लिन्छौं वा बहाना बनाउँछौं भने हामी अल्छी दास हौं अनि त्यसले हामी अभिषिक्‍त हुन लायक छैनौं भनेर साबित गरिरहेको हुन्छ।”

२४, २५. (क) भाइ रसल र उनका सहयोगीहरूले प्रचार गर्ने प्रोत्साहन दिनुका साथै के गरे? (ख) भाइ चार्ल्स केपनले पहिले-पहिलेको दिन सम्झँदै के भने?

२४ भाइ रसल र उनका सहयोगीहरूले प्रचार गर्नुपर्छ भनेर प्रोत्साहन मात्र दिएनन्‌। तिनीहरूले पर्चाहरू पनि छाप्न थाले। यसको शीर्षक बाइबल विद्यार्थीका पर्चाहरू थियो। पछि यसको नाम फेरेर पुरानो धर्मसिद्धान्त भनेर राखियो र तीन-तीन महिनामा छापिन थाल्यो। प्रहरीधरहरा-का पाठकहरूले यी पर्चा पाएपछि सर्वसाधारणलाई निश्‍शुल्क बाँड्‌थे।

हामीले आफैलाई सोध्नुपर्छ, ‘के म प्रचारकार्यलाई प्राथमिकता दिन्छु?’

२५ आफ्नो धेरैजसो समय प्रचार गरेर बिताउने व्यक्‍तिलाई त्यतिखेर कल्पोर्टर भनिन्थ्यो, जसलाई अचेल अग्रगामी भनिन्छ। भाइ चार्ल्स केपन तिनीहरूमध्ये एक थिए। पहिले-पहिलेका कुरा सम्झँदै तिनी यसो भन्छन्‌: “पेन्सिलभेनियाको सबै ठाउँमा प्रचार गर्न म अमेरिकी सरकारको भौगर्भिक सर्वेक्षणले तयार पारेको नक्सा चलाउँथें। यो नक्सामा सडक-सडकको नाम समेत भएकोले मैले सबै टोलमा गएर प्रचार गर्न सकें। कहिलेकाहीं म तीन-तीन दिनसम्म धर्मशास्त्रको अध्ययन भन्‍ने अङ्‌ग्रेजी किताब खण्डको अर्डर लिंदै हिंड्‌थें। त्यसपछि टाँगा भाडामा लिएर ती किताबहरू पुऱ्‍याउँथें। म प्रायजसो किसानहरूकहाँ बास बस्थें। ती दिनमा गाडीहरू त्यति गुड्‌दैन थियो। त्यसैले यात्रा गर्न अहिलेजस्तो सजिलो थिएन।”

टाँगासँगै उभिरहेका कल्पोर्टर भाइ

कल्पोर्टर (अग्रगामी)। के तपाईंले टाँगामा टाँसिएको “युगहरूको चार्ट” याद गर्नुभयो?

२६. (क) साँचो ख्रीष्टियनहरूले किन प्रचार गर्नुपर्थ्यो? (ख) हामीले आफैलाई के सोध्नुपर्छ?

२६ त्यतिबेला प्रचार गर्न सजिलो थिएन। त्यसैले साँचो ख्रीष्टियनहरूले निडर र जोसिलो भएर प्रचार गरे। तिनीहरूले प्रचार गर्नु महत्त्वपूर्ण छ भनेर बुझेको हुनाले नै ख्रीष्टको शासनको लागि तयार भएर बस्न सके। हुन पनि सुसमाचारको प्रचार ख्रीष्टको उपस्थितिको चिन्हको एउटा महत्त्वपूर्ण भाग हुने थियो। (मत्ती २४:१४) मानिसहरूको जीवन बचाउने यस कामलाई परमेश्‍वरका जनहरूले प्राथमिकता दिनुपर्थ्यो। आज हामीले आफैलाई सोध्नुपर्छ: ‘के म प्रचारकार्यलाई प्राथमिकता दिन्छु? पूरा तनमनले प्रचार गर्न के म जस्तोसुकै छाँटकाँट गर्न तयार छु?’

परमेश्‍वरको राज्यको जन्म भयो!

२७, २८. प्रेषित यूहन्‍नाले दर्शनमा के देखे? सैतान अनि त्यसका दुष्ट स्वर्गदूतहरूले के गरे?

२७ अन्ततः सन्‌ १९१४ पनि सुरु भयो। यो महत्त्वपूर्ण वर्ष हो भनेर बाइबल विद्यार्थीहरूले वर्षौंअघिदेखि भन्दै आएका थिए। बाइबलले भविष्यवाणी गरेजस्तै स्वर्गमा परमेश्‍वरको राज्यको जन्म भयो। तर यस अध्यायको सुरुमै छलफल गरिएझैं त्यो घटना पृथ्वीमा कुनै मानिसले देखेन। प्रेषित यूहन्‍नाले यसबारे एउटा दर्शन देखेका थिए। दर्शनमा तिनले स्वर्गमा “एउटा ठूलो चिन्ह” देखे। तिनले परमेश्‍वरकी “स्त्री”-लाई देखे जसले स्वर्गमा बस्ने अदृश्‍य प्राणीहरू मिलेर बनेको सङ्‌गठनलाई चित्रण गर्छ। दर्शनमा परमेश्‍वरकी “स्त्री” गर्भवती भइन्‌ र तिनले एउटा छोरा जन्माइन्‌। यी बालकले ‘सबै राष्ट्रहरूमाथि फलामको डन्डाले शासन गर्ने थियो।’ तर जन्मनेबित्तिकै ती बालकलाई “परमेश्‍वर अनि उहाँको सिंहासन भएको ठाउँमा” लगियो। त्यसपछि स्वर्गमा यसो भन्‍ने चर्को आवाज सुनियो: “अब हाम्रा परमेश्‍वरले दिनुहुने उद्धार, उहाँको शक्‍ति, उहाँको राज्य अनि उहाँको ख्रीष्टको अख्तियार प्रकट भएको छ।”—प्रका. १२:१, ५, १०.

२८ यूहन्‍नाले दर्शनमा मसीही राज्यको जन्म भएको देखे भन्‍ने कुरामा कुनै शङ्‌का छैन। पक्कै पनि त्यो खुसीको घटना थियो, तर कोही-कोही भने खुसी भएनन्‌। सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूले माइकल अर्थात्‌ ख्रीष्टका वफादार स्वर्गदूतहरूसित युद्ध गरे। नतिजा? बाइबलमा यसो भनिएको छ: “दियाबल अनि सैतान भनिने र सारा संसारलाई ठग्ने त्यो ठूलो अजिङ्‌गर अर्थात्‌ पुरानो सर्पलाई तल पृथ्वीमा फालियो अनि त्यो सँगसँगै त्यसका स्वर्गदूतहरू पनि फालिए।”—प्रका. १२:७, ९.

मसीही राज्यको राजा ख्रीष्टको अदृश्‍य उपस्थिति

सन्‌ १९१४ मा ख्रीष्टको उपस्थितिको चिन्ह बाइबल विद्यार्थीहरूले देख्न थाले

२९, ३०. (क) मसीही राज्यको जन्म भएपछि पृथ्वीमा के भयो? (ख) मसीही राज्यको जन्म भएपछि स्वर्गमा के भयो?

२९ सन्‌ १९१४ देखि कष्टकर समय सुरु हुनेछ भनेर पनि बाइबल विद्यार्थीहरूले वर्षौंअघिदेखि भन्दै आएका थिए। आफूले भनेको कुरा कुन हदसम्म सही हुनेछ, उनीहरूले कल्पनै गरेका थिएनन्‌। यूहन्‍नाले दर्शनमा देखेजस्तै सैतानले मानिसजातिमाथि समस्याहरूको बाढी ल्याउने थियो। “पृथ्वी र समुद्रलाई भने धिक्कार छ, किनकि दियाबल तल तिमीहरूकहाँ आएको छ अनि आफ्नो समय थोरै मात्र बाँकी भएकोले त्यो असाध्यै रिसाएको छ।” (प्रका. १२:१२) नभन्दै सन्‌ १९१४ मा पहिलो विश्‍वयुद्ध सुरु भयो। येशू ख्रीष्टले आफ्नो उपस्थितिबारे भविष्यवाणी गर्नुहुँदा भन्‍नुभएका घटनाहरू विश्‍वभरि हुन थाले। यस युगको “अन्तको दिन” सुरु भयो!—२ तिमो. ३:१.

३० तर स्वर्गमा भने खुसीयाली छायो। सैतान र त्यसका दुष्ट स्वर्गदूतहरू सधैंका लागि त्यहाँबाट धपाइए। यूहन्‍नाको विवरण यसो भन्छ: “त्यसकारण हे स्वर्ग अनि त्यसमा बास गर्नेहरू हो, रमाओ!” (प्रका. १२:१२) येशू राजसिंहासनमा बस्नुभयो। सैतान र त्यसका दुष्ट स्वर्गदूतहरू नभएकोले स्वर्ग सफा पनि भयो। अब मसीही राज्य पृथ्वीमा परमेश्‍वरका जनहरूतर्फ ध्यान दिन तयार थियो। यसले के गर्ने थियो? यस अध्यायको सुरुतिर छलफल गरिएझैं सबैभन्दा पहिला “करारका दूत” अर्थात्‌ ख्रीष्टले पृथ्वीमा रहेका परमेश्‍वरका जनहरूलाई शुद्ध पार्नुहुनेथियो। कसरी?

परीक्षाको समय

३१. मलाकीको भविष्यवाणीअनुसार शुद्ध पार्ने समय कस्तो हुने थियो? यो भविष्यवाणी कसरी पूरा भयो? (फुटनोट पनि हेर्नुहोस्‌।)

३१ ख्रीष्टले शुद्ध पार्ने काम सुरु गर्नुहुँदा परमेश्‍वरका जनहरूलाई सजिलो हुनेछैन भनेर मलाकीले भविष्यवाणी गरे। तिनले लेखे: “उनको आउने दिनमा को टिक्नसक्छ? औ उनी देखा पर्दा को खडा हुनसक्छ? किनकि उनी सुनारको आगो र धोबीको साबुनजस्तै छन्‌।” (मला. ३:२) मलाकीले भनेजस्तै भयो! सन्‌ १९१४ देखि पृथ्वीमा परमेश्‍वरका जनहरूले एकपछि अर्को गर्दै ठूलठूला चुनौती अनि कठिनाइ झेल्नुपऱ्‍यो। पहिलो विश्‍वयुद्ध चर्किंदै गएपछि थुप्रै बाइबल विद्यार्थीहरू कठोर यातनाको सिकार भए र थुनामा परे।f

३२. सन्‌ १९१६ पछि सङ्‌गठनभित्रै कस्ता समस्याहरू भए?

३२ सङ्‌गठनभित्रै पनि समस्याहरू देखा पर्न थाले। सन्‌ १९१६ मा ६४ वर्षको उमेरमै भाइ रसलको मृत्यु भयो। यति छिटै तिनको मृत्यु होला भनेर धेरै बाइबल विद्यार्थीहरूले चिताएकै थिएनन्‌। तिनीहरूमध्ये कसै-कसैले परमेश्‍वरलाई भन्दा मानिसलाई बढ्‌तै महत्त्व दिइरहेका थिए भन्‍ने कुरा तिनको मृत्युपछि प्रस्ट भयो। हुन त भाइ रसलले कहिल्यै त्यस्तो भक्‍ति चाहेका थिएनन्‌ तर कतिपयले भने तिनलाई देउतै सम्झिरहेका थिए। धेरैले चम्किलो हुँदै गइरहेको सत्यको ज्योति अब निभ्यो भन्ठाने र केहीले सङ्‌गठनलाई अघि बढ्‌नदेखि जबरजस्ती रोक्न खोजे। यस्तो मनोवृत्तिले गर्दा धर्मत्यागले डरलाग्दो रूप धारण गऱ्‍यो र सङ्‌गठनमा फूट उत्पन्‍न भयो।

३३. आशा गरेका कुराहरू पूरा नहुनु परमेश्‍वरका जनहरूका निम्ति कसरी एउटा चुनौती साबित भयो?

३३ आशा गरेका कुराहरू पूरा नहुनु अर्को एउटा चुनौती साबित भयो। प्रहरीधरहरा-ले सन्‌ १९१४ मा अन्यजातिहरूको समय टुङ्‌गिनेछ भनेर सही कुरा भनेको थियो तर त्यो वर्ष के-के हुनेछ भनेर भाइहरूले सबै कुरा राम्ररी बुझेका थिएनन्‌। (लूका २१:२४) तिनीहरूले सन्‌ १९१४ मा ख्रीष्टले आफ्नो अभिषिक्‍त दुलही वर्गलाई स्वर्ग लैजानुहुनेछ र तिनीहरूले त्यहाँ शासन गर्नेछन्‌ भनेर सोचेका थिए। तर त्यो आशा पूरा भएन। पछि सन्‌ १९१७ को अन्ततिर प्रहरीधरहरा-ले ४० वर्ष लामो कटनीको समय सन्‌ १९१८ को वसन्त ऋतुमा सिद्धिनेछ भनेर घोषणा गऱ्‍यो। तर प्रचारकार्य टुङ्‌गिनुको साटो झन्‌झनै फैलियो। प्रहरीधरहरा-ले कटनीको समय सिद्धियो तर सिलाबाला बटुल्ने समय चाहिं बाँकी छ भनेर स्पष्टीकरण दियो। तैपनि आफ्नो आशा साकार नभएकोले धेरैले यहोवाको सेवा गर्न छोडे।

३४. परमेश्‍वरका जनहरूले सन्‌ १९१८ मा कस्तो चुनौतीको सामना गर्नुपऱ्‍यो? चर्चजगत्‌ले किन बाइबल विद्यार्थीहरू ‘मरे’ भन्ठान्यो?

३४ परमेश्‍वरका जनहरूले सन्‌ १९१८ मा अर्को एउटा ठूलो चुनौतीको सामना गर्नुपऱ्‍यो। भाइ जे. एफ. रदरफोर्ड र अरू सात जिम्मेवार भाइहरू पक्राउमा परे। भाइ रसलको मृत्युपछि परमेश्‍वरका जनहरूको नेतृत्व लिने काम त्यतिखेर जे. एफ. रदरफोर्डले गरिरहेका थिए। भाइ रदरफोर्ड र अरू सात भाइमाथि झूटो आरोप लगाइयो र तिनीहरूलाई लामो जेल सजाय सुनाइयो। तिनीहरू सबैलाई अमेरिकाको एटलान्टा भन्‍ने ठाउँको झ्यालखानामा हालियो। केही समयको लागि परमेश्‍वरका जनहरूको काम ठप्पै बन्द भएजस्तो देखियो। यो देखेर चर्चका धेरै पादरीहरू रमाए। बाइबल विद्यार्थीहरूको “नेता” थुनामा परेका थिए, ब्रूक्लिनको मुख्य कार्यालय बन्द भएको थियो र अमेरिका अनि युरोपमा प्रचारकार्यलाई पूरै रोक्ने प्रयास भइरहेको थियो। यो सब देखेर चर्चका पादरीहरूले बाइबल विद्यार्थीहरू ‘मरे’ भन्ठाने। तिनीहरू खतरा होइनन्‌ भनेर सोचे। (प्रका. ११:३, ७-१०) तर उनीहरूको सोचाइ कत्ति गलत थियो!

आध्यात्मिक तवरमा फेरि ब्यूँतिए!

३५. येशूले आफ्ना अनुयायीहरूमाथि किन परीक्षाहरू आइपर्न दिनुभयो? तिनीहरूलाई मदत गर्न उहाँले कसलाई नियुक्‍त गर्नुभयो?

३५ यहोवा आफ्ना जनहरूलाई “खार्ने र सफा गर्ने” काम गर्दै हुनुहुन्थ्यो। त्यसैले येशूले तिनीहरूमाथि विभिन्‍न परीक्षाहरू आइपर्न दिइरहनुभएको थियो। तर यो कुरा विरोधीहरूले बुझेका थिएनन्‌। (मला. ३:३) जो-जो वफादार छन्‌, तिनीहरू आगोसरि परीक्षाहरू पार गरिसकेपछि खारिनेछन्‌, शुद्ध पारिनेछन्‌ र पहिलाभन्दा झन्‌ सुसज्जित हुनेछन्‌ भन्‍ने कुरामा यहोवा र येशू ढुक्क हुनुहुन्थ्यो। जुन कुरा शत्रुहरूले असम्भव ठानेका थिए, त्यो काम परमेश्‍वरको पवित्र शक्‍तिले पूरा गऱ्‍यो भनेर सन्‌ १९१९ सुरु भएपछि प्रस्ट हुन थाल्यो। ती वफादार सेवकहरू फेरि ब्यूँतिए! (प्रका. ११:११) त्यतिखेर येशूले आफ्नो अर्को एउटा महत्त्वपूर्ण भविष्यवाणी पनि पूरा गर्नुभयो। उहाँले अभिषिक्‍त जनहरूको एउटा सानो समूहलाई “विश्‍वासी र बुद्धिमान्‌ दास” नियुक्‍त गर्नुभयो। तिनीहरूले नै परमेश्‍वरका जनहरूलाई ठीक-ठीक समयमा आध्यात्मिक भोजन बाँड्‌नुका साथै डोऱ्‍याउने थिए।—मत्ती २४:४५-४७.

बुलेटिन र सुनौलो युगको पहिलो अङ्‌क

३६. परमेश्‍वरका जनहरू आध्यात्मिक रूपमा फेरि ब्यूँतदै थिए भन्‍ने कुरा कसरी देखियो?

३६ सन्‌ १९१९, मार्च २६ मा भाइ रदरफोर्ड र उनका सहयोगीहरू झ्यालखानाबाट छुटे। तुरुन्तै त्यही वर्षको सेप्टेम्बर महिनामा अधिवेशन गर्ने प्रबन्ध मिलाइयो। अङ्‌ग्रेजी भाषामा सुनौलो युग (द गोल्डेन एज) भनिने एउटा अर्को पत्रिका छाप्ने योजना पनि बनाइयो। यो पत्रिका विशेषगरि प्रचारमा प्रयोग गरिने थियो र प्रहरीधरहरा-सँगै दिइने थियो।g त्यही साल बुलेटिन भनिने एउटा नयाँ प्रकाशनको पहिलो अङ्‌क छापियो। अहिले यसलाई हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य — अभ्यास पुस्तिका भनिन्छ। प्रकाशित हुन सुरु भएदेखि नै यसले क्षेत्र सेवालाई अघि बढाउन मदत गरेको छ। सन्‌ १९१९ देखि घर-घरमा मानिसहरूलाई भेटेर साक्षी दिने कामलाई झन्‌ धेरै जोड दिन थालियो भन्‍ने कुरा यसले स्पष्ट पार्छ।

३७. सन्‌ १९१९ पछि कसै-कसैले किन यहोवाको सङ्‌गठनसित सम्बन्ध तोडे?

३७ प्रचारकार्यले ख्रीष्टका सेवकहरूलाई शुद्ध पार्ने काम गरिरह्‍यो। किनभने यो काम गर्न नम्र हुनुपर्थ्यो। घमन्डी र अहङ्‌कारी व्यक्‍तिहरूले यो काम गर्न चाहेनन्‌। त्यसैले तिनीहरूले वफादार जनहरूसित सम्बन्ध तोडे। सन्‌ १९१९ पछि परमेश्‍वरको सङ्‌गठनसित सम्बन्ध तोडेर जाने केही व्यक्‍तिहरू रुष्ट भए। तिनीहरूले यहोवाका वफादार सेवकहरूको बदनाम र निन्दा समेत गरे। कसै-कसैले त शत्रुहरूसित समेत हात मिलाए।

३८. पृथ्वीमा भएका ख्रीष्टका अनुयायीहरूको सफलता र जितले केको प्रमाण दिन्छ?

३८ विरोधीहरूले यसरी आक्रमण गरे पनि येशूका अनुयायीहरूले आध्यात्मिक तवरमा झन्‌झन्‌ उन्‍नति गरिरहे। तिनीहरूले हासिल गरेको प्रत्येक जित र तिनीहरूले पाएको हरेक सफलताले परमेश्‍वरको राज्यले शासन गर्दैछ भन्‍ने कुराको प्रमाण दिन्छ। किनभने परमेश्‍वरले आफ्नो छोरा र मसीही राज्यमार्फत निरन्तर मदत र आशिष्‌ नदिनुभएको भए त्रुटिपूर्ण मानिसहरूको सानो समूहले सैतान र त्यसको दुष्ट रीतिरिवाजविरुद्ध एकपछि अर्को जित हासिल गर्न सक्दैन थियो।—यशैया ५४:१७ पढ्‌नुहोस्‌।

सन्‌ १९१९ मा बाइबल विद्यार्थीहरूले आयोजना गरेको अधिवेशनमा भाषण दिइरहेका जे. एफ. रदरफोर्ड

भाइ रदरफोर्डले झ्यालखानाबाट छुटेको केही महिनामै अधिवेशनमा जोडदार भाषण दिए

३९, ४०. (क) यो किताबमा कस्तो जानकारी पाइन्छ? (ख) यो किताब पढेर तपाईंले के फाइदा लिने विचार गर्नुभएको छ?

३९ स्वर्गमा परमेश्‍वरको राज्यको जन्म भएदेखि गत सय वर्षमा यसले पृथ्वीमा के गरेको छ भन्‍ने कुरा यसपछिका अध्यायहरूमा हामी बुझ्नेछौं। यो किताबलाई विभिन्‍न भागमा बाँडिएको छ र प्रत्येक भागमा परमेश्‍वरको राज्यले पृथ्वीमा गरेको कामको एउटा पक्ष ढाक्नेछ। हरेक अध्यायको अन्तमा पुनरावृत्तिको भाग पनि छ जसले परमेश्‍वरको राज्य व्यक्‍तिगत रूपमा हाम्रो लागि कत्तिको वास्तविक छ भनेर केलाउन मदत गर्छ। परमेश्‍वरको राज्यले दुष्टहरूको विनाश गरेर पूरै पृथ्वीलाई सुन्दर बगैंचा बनाउँदा के आशा गर्न सक्छौं, त्यसबारे अन्तिम अध्यायहरूमा छलफल गर्नेछौं। यो किताब पढेर तपाईंले के फाइदा लिने विचार गर्नुभएको छ?

४० तपाईंले परमेश्‍वरको राज्यमाथि राख्नुभएको विश्‍वास अनि भरोसालाई सैतान तोड्‌न चाहन्छ। तर यहोवा भने तपाईंको विश्‍वासलाई बलियो बनाउन चाहनुहुन्छ किनभने त्यस्तो विश्‍वासले तपाईंलाई सुरक्षित राख्छ र अटल भएर बस्न मदत गर्छ। (एफि. ६:१६) त्यसैले यो किताब राम्ररी अध्ययन गर्नुहोस्‌, लेखेको कुरा बुझ्न यहोवासित मदत माग्नुहोस्‌। “के परमेश्‍वरको राज्य मलाई वास्तविक लाग्छ?” भनेर बेला-बेलामा आफैलाई सोध्नुहोस्‌। परमेश्‍वरको राज्य तपाईंलाई जत्ति वास्तविक लाग्छ, तपाईंले त्यसलाई वफादार भएर सक्रियतासाथ समर्थन गरिरहने सम्भावना उत्ति नै बढी हुन्छ। साथै, भविष्यमा सबै जीवित प्राणीले देख्ने गरी त्यस राज्यले पृथ्वीमा शासन गर्दा तपाईं पनि त्यहीं हुने सम्भावना पनि उत्ति नै बढी हुन्छ।

a ग्रू, स्टेटसन र स्टोर्सबारे अझ धेरै बुझ्न अङ्‌ग्रेजी किताब यहोवाका साक्षीहरू—परमेश्‍वरको राज्यका उद्‌घोषकहरू-को पृष्ठ ४५-४६ हेर्नुहोस्‌।

b सन्‌ १८७९ मा प्रकाशित हुँदा यसको नाउँ सियोनको प्रहरीधरहरा र ख्रीष्टको उपस्थितिको सूचक थियो। तर यस किताबमा भने हामी प्रहरीधरहरा नाम नै प्रयोग गर्नेछौं।

c सैतानको संसारसित मित्रता गाँसिरहेका धर्महरूबाट अलग रहनुपर्छ भनेर बाइबल विद्यार्थीहरूले बुझेका थिए। तैपनि वर्षौंसम्म उनीहरूले बाइबल विद्यार्थी भई नसकेका तर फिरौतीको बलिदानमा विश्‍वास गर्छु भन्‍ने र आफूलाई परमेश्‍वरको समर्पित सेवक ठान्‍ने व्यक्‍तिहरूलाई पनि ख्रीष्टियन भाइकै रूपमा हेरे।

d त्यतिखेर सबैले यस्ता चेतावनीलाई गम्भीरतासाथ लिएनन्‌। त्यसको एउटा कारण ती चेतावनीहरू मुख्यगरि १,४४,००० जना मिलेर बनेको ख्रीष्टको सानो बगाललाई मात्र लागू हुन्छ भन्‍ने सोचाइ थियो। सन्‌ १९३५ अघिसम्म प्रकाश ७:९, १० मा उल्लेख गरिएको “ठूलो भीड”-मा चर्चजगत्‌का अनगिन्ती सदस्यहरू पनि पर्छन्‌ र तिनीहरूले अन्ततः येशूको पक्ष लिएमा दोस्रो दर्जाको स्वर्गीय इनाम पाउनेछन्‌ भन्‍ने बुझाइ थियो। यसबारे हामी अध्याय ५ मा अझ राम्ररी बुझ्नेछौं।

e अङ्‌ग्रेजी प्रकाशन अनुक्रमणिका-मा पाइने बाइबल पदहरूको सूची।

f सन्‌ १९२० सेप्टेम्बर अङ्‌कको सुनौलो युग (हाल ब्यूँझनुहोस्‌!) पत्रिकामा एउटा विशेष लेख छापियो। उक्‍त लेखमा क्यानाडा, बेलायत, जर्मनी र अमेरिकामा बाइबल विद्यार्थीहरूले युद्धको समयमा भोग्नुपरेको यातनाका विभिन्‍न घटनाहरू बताइएका थिए। तिनीहरूले भोगेका कुनै-कुनै यातना असाध्यै कठोर थिए। पहिलो विश्‍वयुद्धअघि बाइबल विद्यार्थीहरूले त्यति धेरै सतावट कहिल्यै भोग्नुपरेको थिएन।

g वर्षौंसम्म प्रहरीधरहरा पत्रिका विशेषगरि सानो बगालका सदस्यहरूको शिक्षाको लागि तयार पारिन्थ्यो।

परमेश्‍वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?

  • परमेश्‍वरको राज्यको जन्मको लागि तयार भएर बस्न कसले येशूका साँचो अनुयायीहरूलाई मदत गऱ्‍यो?

  • साँचो ख्रीष्टियनहरूलाई परमेश्‍वरको राज्यको शासनको लागि कसरी तयार पारियो?

  • परमेश्‍वरको राज्य वास्तविक सरकार हो भन्‍ने कुरा राज्यका कुन-कुन पक्षले देखाउँछ? (“परमेश्‍वरको राज्य—वास्तविक सरकार हो” भन्‍ने पेटी हेर्नुहोस्‌।)

  • तपाईं कसरी बाइबल विद्यार्थीहरूले जस्तै परमेश्‍वरको राज्यलाई समर्थन गर्न सक्नुहुन्छ?

परमेश्‍वरको राज्य—वास्तविक सरकार हो

परमेश्‍वरको राज्य वास्तविक सरकार हो। कसरी? यसका केही पक्ष हेरौं। परमेश्‍वरको राज्यको हरेक पक्षले यो मानव सरकारजस्तै वास्तविक सरकार हो र मानव सरकारभन्दा पनि श्रेष्ठ छ भनेर कसरी प्रस्ट पार्छ, विचार गर्नुहोस्‌।

  • सिंहासनमा विराजमान राजा

    शासक

    येशू ख्रीष्ट परमेश्‍वरको राज्यको राजा हुनुहुन्छ। उहाँ सन्‌ १९१४ मा राजसिंहासनमा बस्नुभयो। उहाँ शक्‍तिशाली, न्यायी, बुद्धिमान्‌ र कृपालु हुनुहुन्छ। आफू राजा भए तापनि नम्र भई उहाँ यहोवाको अधीनमा बस्नुहुन्छ। (यशै. ९:६, ७; ११:१-३) त्रुटिपूर्ण मानव शासक भ्रष्ट हुन सक्छ। तर उहाँ भ्रष्ट हुन असम्भव छ। संसद्‌ विभाजित भएकोले वा आफ्नो स्वार्थ पूरा गर्न खोज्ने अरू राजनीतिज्ञहरूले गर्दा मानव सरकारलाई काम गर्न गाह्रो हुन्छ। तर येशू ख्रीष्टको सरकारलाई भने यस्ता कुराहरूले कहिल्यै बाधा पुऱ्‍याउन सक्दैन।

  • व्यवस्थापिका र न्यायपालिका

    पृथ्वीमा छँदा येशूको जीवनशैली र उहाँको उदाहरणले एउटा त्रुटिरहित व्यवस्थाको जग बसाल्यो। त्यो हो, “ख्रीष्टको व्यवस्था।” —गला. ६:२, ४; १ पत्रु. २:२१.

    यहोवाले न्याय गर्ने काम आफ्नो छोरालाई सुम्पनुभएको छ। येशूको यस काममा कुनै खोट भेट्टाउन सकिंदैन र कोही मानव न्यायाधीश उहाँको बराबरीमा आउन सक्दैन।—यूह. ५:२२.

  • सहशासकहरू

    प्रशासनिक निकाय

    येशूका १,४४,००० सहशासक छन्‌। यी सहशासकहरूले येशूसित मिलेर पृथ्वीभरि न्यायले बास गर्ने शासन चलाउनेछन्‌। उहाँको सरकारको एउटा प्रमुख उद्देश्‍य भनेको मानिसजातिलाई परमेश्‍वरसँग पुनःमिलाप गराउनु हो। त्यसैले, उहाँका सहशासकहरूले पुजारीको रूपमा पनि सेवा गर्नेछन्‌।—प्रका. १४:१; २०:६.

  • हातमा तरबार बोकेका शक्‍तिशाली स्वर्गदूतहरू

    सेना

    यहोवाका शक्‍तिशाली स्वर्गदूतहरूको विशाल सेनाको प्रमुख येशू हुनुहुन्छ। उहाँले सबैभन्दा शक्‍तिशाली सेनाको नेतृत्व लिनुहुन्छ। चाँडै यसले हर किसिमको दुष्टताविरुद्ध युद्ध लड्‌नेछ।—भज. ४५:१, ३-५; प्रका. १९:११, १४-१६.

  • राजधानी

    येशूले आफ्नो बुबाको दाहिने हाततिर बसेर स्वर्गबाट शासन गर्नुहुनेछ। स्वर्ग यहोवाको “पवित्र बासस्थान” हो। (यशै. ६३:१५) के स्वर्ग साँच्चै छ? छ। मानव सरकारको राजधानी वा सरकारी भवनहरू त नष्ट हुन सक्छ तर स्वर्गका चीजहरू कहिल्यै नाश हुँदैनन्‌।—मत्ती ६:२०.

  • पृथ्वी

    पृथ्वीमा यसको इलाका

    आज येशूका प्रजा विभिन्‍न देश र राष्ट्रमा आ-आफ्नो देशको नियमकानुन पालन गरेर बसिरहेका छन्‌। येशूको राज्यले पूरै पृथ्वीमा शासन नगरुन्जेल तिनीहरू वास्तवमा अहिले परदेशी हुन्‌। (भज. ७२:८) तिनीहरू अहिले यहोवाको सङ्‌गठनभित्र छन्‌ जुन एक किसिमले एउटा देशजस्तै छ। सङ्‌गठनभित्र बसेर तिनीहरू आफ्नो राजा येशू ख्रीष्टको इच्छाबमोजिम चल्छन्‌।—यशै. ६०:२; ६६:८.

  • सरकारको योजना

    परमेश्‍वरले यी लगायत अन्य थुप्रै कुराहरू दिने प्रतिज्ञा गर्नुभएको छ। यो प्रतिज्ञा येशूको सरकारले चाँडै पूरा गर्नेछ।—भज. ७२:१६; यशै. २:३; ३३:२४; ३५:६; ६५:२१.

    • दौडिरहेकी स्वस्थ केटी

      सुस्वास्थ्य

    • सुन्दर घर

      आवास

    • घर बनाइरहेका मानिस

      रोजगार

    • ताजा फलफूल र तरकारी

      खानेकुरा

    • पढ्‌दै गरेका एक मानिस

      शिक्षा

  • वफादार प्रजा

    बाइबल यसो भन्छ: “प्रजाको धेरै संख्याले राजा प्रसिद्ध हुन्छ, प्रजा विनाको शासक नाश हुन्छ।” (हितो. १४:२८) परमेश्‍वरको राज्यका वफादार प्रजाको सङ्‌ख्या बढेर अहिले झन्डै ८० लाख पुगेको छ।—भज. ७२:८; यशै. ६०:२२.

    विभिन्‍न जात र उमेरका मानिसहरू

परमेश्‍वरको राज्यको निम्ति तयार पारियो

सन्‌ १९१४ अघिका निम्न केही ऐतिहासिक घटनाहरू विचार गर्नुहोस्‌। ती घटनाहरूले परमेश्‍वरका जनहरूलाई कसरी मसीही राज्यको जन्मको निम्ति तयार पाऱ्‍यो, बुझ्नुहोस्‌।

  1. सन्‌ १८५० तिर

    हेन्री ग्रू, जर्ज स्टेटसन र जर्ज स्टोर्सले आत्मा अमर छ भन्‍ने शिक्षा केलाए र त्यो शिक्षा झूटो हो भनेर पर्दाफास गरे

  2. सन्‌ १८६८ वा १८६९

    चार्ल्स टी. रसलले चर्चका शिक्षाहरू जाँचेर हेरे र चर्चले वास्तवमा सत्य कुरा सिकाएको रहेनछ भनेर भेट्टाए। एडभेन्टिस्ट्‌ चर्चका प्रचारक योनस वेन्डलको प्रवचन सुनेपछि रसलको “कमजोर विश्‍वास” फेरि बलियो भयो

  3. सन्‌ १८७०

    भाइ रसलले एउटा सानो समूह गठन गरेर व्यवस्थित ढङ्‌गमा बाइबलको गहिरो अध्ययन गर्न थाले

    सन्‌ १८७० दशकतिरको बाइबल अध्ययन समूह
  4. सन्‌ १८७०-१८७५

    फिरौती, येशू ख्रीष्टको पुनरागमन र आत्माबारे बाइबलले वास्तवमा के सिकाउँछ, बाइबल विद्यार्थीहरूले राम्ररी बुझ्न थाले

  5. सन्‌ १८७६

    बाइबल परीक्षक भन्‍ने अङ्‌ग्रेजी पत्रिकामा सी. टी. रसलले अन्यजातिको समय सन्‌ १९१४ मा अन्त हुन्छ भनेर लेखे

  6. सन्‌ १८७७

    ख्रीष्टको उपस्थितिबारे बाइबलले सिकाउने वास्तविक कुरा प्रस्ट पार्न भाइ रसलले प्रभुको उपस्थितिको उद्देश्‍य तथा तरिका नाम गरेको अङ्‌ग्रेजी पुस्तिका छापे

  7. सन्‌ १८७९

    अङ्‌ग्रेजी भाषामा प्रहरीधरहरा पत्रिकाको पहिलो अङ्‌क प्रकाशित भयो

    सियोनको प्रहरीधरहरा र ख्रीष्टको उपस्थितिको सूचक पत्रिकाको पहिलो अङ्‌क

    महान्‌ बेबिलोनले चर्चलाई चित्रण गर्छ भनेर प्रस्ट पारियो

  8. सन्‌ १८८०

    बाइबल अध्ययन समूहहरूलाई बलियो बनाउन भाइ रसलले अमेरिकाको उत्तरपूर्वी भागको भ्रमण गरे

  9. सन्‌ १८८१

    धेरै पाना भएका पर्चाहरू (कुनै-कुनै पर्चा १०० भन्दा धेरै पानाको थियो) छापिए र निश्‍शुल्क वितरण गर्न प्रहरीधरहरा-का पाठकहरूलाई दिइयो

    प्रहरीधरहरा-ले आफ्ना सबै पाठकलाई ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सव मनाउन पेन्सिलभेनियाको एलेगेनीमा आउन निम्तो दियो

    कल्पोर्टर (अग्रगामी) सेवा सुरु भयो

    “१,००० प्रचारक चाहियो” र “प्रचार गर्न अभिषिक्‍त” जस्ता लेखहरूले प्रचारकार्यमा भाग लिन प्रोत्साहन दियो

    नियमित रूपमा सभाहरू सञ्चालन नगरेका ख्रीष्टियनहरूलाई सो गर्न प्रोत्साहन दिइयो

  10. सन्‌ १८८२

    त्रिएकको शिक्षालाई गलत प्रमाणित गर्दै एउटा लेख छापियो

  11. सन्‌ १८८५

    वाच टावरका प्रकाशनहरू पाँचै महादेशमा पुग्यो

  12. सन्‌ १८८६

    अङ्‌ग्रेजी भाषामा परमेश्‍वरको युगौंदेखिको योजना प्रकाशित भयो। यो धर्मशास्त्रको अध्ययन भन्‍ने शृङ्‌खलाको पहिलो खण्ड थियो

    ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सवपछि तीन दिने “साधारण सभा”-मा उपस्थित हुन प्रहरीधरहरा-मा पाठकहरूलाई निम्तो दिइएको थियो; त्यसबेलादेखि हरेक वर्ष अधिवेशनको आयोजना गर्ने चलन सुरु भयो

  13. सन्‌ १८८९

    पेन्सिलभेनियाको एलेगेनीमा मुख्यालयको स्थापना भयो। यसको नाम बाइबल हाउस राखियो

  14. सन्‌ १८९१

    संयुक्‍त राज्य अमेरिकाको भ्रमण गरिसकेपछि सी. टी. रसलले अरू थुप्रै देशको भ्रमण गरे र त्यहाँ प्रचार गर्ने तरिकाहरू खोजे

  15. सन्‌ १८९४

    मण्डलीहरूको भ्रमण गर्न र तिनीहरूलाई बलियो बनाउन वाचटावर सोसाइटीका प्रतिनिधिहरू अर्थात्‌ परिभ्रमण निरीक्षकहरूलाई पठाइयो

    सन्‌ १८९० दशकका परिभ्रमण निरीक्षक
  16. सन्‌ १८९५

    केही वफादार ख्रीष्टियनहरूले बाइबल अध्ययन गर्नका लागि समूह गठन गरे, जसलाई त्यतिखेर “प्रभात समूह” भनिन्थ्यो। प्रहरीधरहरा-ले आफ्ना पाठकहरूलाई ठाउँ-ठाउँमा यस्तो समूह सञ्चालन गर्न प्रोत्साहन दियो

  17. सन्‌ १८९६

    सी. टी. रसलले अङ्‌ग्रेजी भाषामा नरकबारे धर्मशास्त्रले के भन्छ? भन्‍ने पुस्तिका प्रकाशित गरे

    द वाच टावर सोसाइटीले व्यावसायिक छापाखानालाई रथरहामको नयाँ नियम छाप्न लगायो

  18. सन्‌ १९००

    बेलायतको लन्डनमा पहिलो शाखा कार्यालय खोलियो

    प्रचारकार्य २८ वटा देशमा फैलियो

  19. सन्‌ १९०३

    आइतबारको दिन चर्च छेउछाउका सडकहरूमा निश्‍शुल्क पर्चा वितरण गरिन्थ्यो; तर अब जोडतोडका साथ घर-घर गएर वितरण गर्न थालियो

    अखबारहरूमा रसलका प्रवचनहरू नियमित रूपमा छापिन थाले

  20. सन्‌ १९०९

    वाचटावर सोसाइटीको मुख्यालय न्यु योर्कको ब्रूक्लिनमा सारियो

    आपसमा कुरा गरिरहेका तीन जना भाइ
  21. सन्‌ १९१०

    बाइबल विद्यार्थीहरूले अन्तरराष्ट्रिय बाइबल विद्यार्थी सङ्‌गठन भन्‍ने नाम चलाउन थाले

  22. सन्‌ १९११-१९१२

    सी. टी. रसल र तिनका छ जना सहयोगीले “ख्रीष्टियन धर्मको अवस्था र सम्भावना” बुझ्न चीन, भारत, जापान, फिलिपिन्सलगायत संसारको विभिन्‍न ठाउँको यात्रा गरे; तिनीहरूले झन्डै ५६,००० किलोमिटर यात्रा गरे

  23. सन्‌ १९१४

    “सृष्टिसम्बन्धी फोटो-नाटक” शीर्षक भएको अङ्‌ग्रेजी चलचित्र जनवरी ११ मा पहिलो चोटि न्यु योर्कमा देखाइयो; त्यसपछिको महिनामा अरू पाँच सहरमा पनि देखाइयो। वर्षको अन्तसम्ममा उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया र न्यु जील्याण्डमा गरेर झन्डै ९०,००,००० मानिसहरूले यो चलचित्र हेरिसकेका थिए

    “फोटो-नाटक” देखाइरहेका भाइ

    अक्टोबरमा भाइ रसलले बेथेल परिवारमा यस्तो घोषणा गरे: “अन्यजातिहरूको समय समाप्त भएको छ; तिनीहरूका राजाहरूको म्याद सिद्धियो।” त्यहाँ उपस्थित एक जना बहिनीअनुसार तिनले यसो पनि भने: “अब के हुन्छ, हामीलाई थाह छैन”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने