प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • kr chap. १० pp. १००-१०७
  • राजा येशू ख्रीष्टले आफ्नो प्रजालाई शुद्ध पार्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राजा येशू ख्रीष्टले आफ्नो प्रजालाई शुद्ध पार्नुहुन्छ
  • परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “लेवीका सन्तानलाई” शुद्ध पार्ने
  • “आफैलाई शुद्ध पार”
  • के ख्रीष्टियनहरूले क्रिसमस मनाउनुहुन्छ?
  • ख्रीष्टियनहरूले क्रस चलाउनुहुन्छ?
  • “परमेश्‍वरको स्तरबमोजिम असल काम गर्ने मानिसहरूको माझबाट दुष्टलाई अलग” पार्ने
  • आधुनिक क्रिसमसको मूल
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • के ख्रीष्टियनहरूले क्रिसमस मनाउनु हुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • क्रिसमस—पूर्वीय देशहरूमा पनि किन?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • क्रिसमस किन मनाइन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
परमेश्‍वरको राज्यले शासन गर्दै छ!
kr chap. १० pp. १००-१०७

अध्याय १०

राजा येशू ख्रीष्टले आफ्नो प्रजालाई शुद्ध पार्नुहुन्छ

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

येशूले आफ्ना अनुयायीहरूलाई किन र कसरी आध्यात्मिक रूपमा शुद्ध पार्नुभयो

१-३. व्यापारीहरूले मन्दिरलाई दूषित बनाइरहेको देखेपछि येशूले के गर्नुभयो?

येशू यरूशलेमको मन्दिरको सम्मान गर्नुहुन्थ्यो। उहाँले यो मन्दिरको महत्त्व बुझ्नुभएको थियो। यो मन्दिरले वर्षौंदेखि पृथ्वीमा साँचो उपासनाको केन्द्रको रूपमा काम गरिरहेको थियो। यहोवा परमेश्‍वर पवित्र हुनुभएकोले उहाँलाई चढाइने उपासना पनि पवित्र हुनै पर्छ। त्यसैले इस्वी संवत्‌ ३३, नीसान १० का दिन यरूशलेमको मन्दिरमा पस्नुहुँदा त्यहाँको अवस्था देखेर येशूलाई कस्तो लाग्यो होला, हामी कल्पना गर्न सक्छौं।—मत्ती २१:१२, १३ पढ्‌नुहोस्‌।

२ अन्यजातिहरूको चोकमा लोभी व्यापारी र पैसा साट्‌नेहरूले मन्दिरमा भेटी चढाउन आएका उपासकहरूलाई ठगिरहेका थिए।a येशूले “किनबेच गरिरहेकाहरू सबैलाई बाहिर लघार्नुभयो। उहाँले पैसा साट्‌नेहरूको टेबुल . . . पल्टाइदिनुभयो।” (नहेम्याह १३:७-९ तुलना गर्नुहोस्‌) ती लोभी मानिसहरूले आफ्नो बुबाको घरलाई “डाँकुहरूको ओडार” बनाए भनेर येशूले भर्त्सना गर्नुभयो। यसरी येशूले त्यो मन्दिर यहोवाको उपासना गर्ने स्थल हो भनेर जोड दिंदै मन्दिरको सम्मान गर्नुभयो। यहोवालाई चढाउने उपासना शुद्ध हुनै पर्छ भनेर पनि उहाँले जोड दिनुभयो!

३ त्यो घटना भएको सयौं वर्षपछि येशू मसीही राजा नियुक्‍त हुनुभयो र उहाँले फेरि मन्दिरलाई शुद्ध पार्नुभयो। उहाँले गर्नुभएको यो कामले गर्दा आज यहोवाको इच्छाबमोजिम उपासना गर्ने सबैलाई फाइदा भएको छ। त्यसोभए उहाँले शुद्ध पार्नुभएको मन्दिर कुन हो?

“लेवीका सन्तानलाई” शुद्ध पार्ने

४, ५. (क) सन्‌ १९१४ देखि १९१९ को सुरु-सुरुसम्म येशूका अभिषिक्‍त अनुयायीहरूलाई कसरी शुद्ध पारियो? (ख) परमेश्‍वरका जनहरूलाई शुद्ध पार्ने काम के त्यति नै थियो, बताउनुहोस्‌।

४ सन्‌ १९१४ मा राजा नियुक्‍त भएपछि येशू आफ्नो बुबासँगै आध्यात्मिक मन्दिरको निरीक्षण गर्न आउनुभयो भनेर हामीले यस किताबको अध्याय २ मा पढेका थियौं।b साँचो उपासनाको लागि गरिएका प्रबन्धको निरीक्षण गर्नुभएपछि राजा येशू ख्रीष्टले अभिषिक्‍त ख्रीष्टियनहरू अर्थात्‌ “लेवीका सन्तानलाई” शुद्ध पार्नुपर्ने आवश्‍यकता देख्नुभयो। (मला. ३:१-३) सन्‌ १९१४ देखि १९१९ को सुरु-सुरुसम्म आफ्ना जनहरूले विभिन्‍न परीक्षा अनि यातना भोग्दा यहोवाले त्यसलाई रोक्नुभएन। यस्ता परीक्षाहरूले गर्दा तिनीहरूले आफूलाई शुद्ध पार्न सके। खुसीको कुरा, यस्ता कडा परीक्षा पार गरेर खारिएका अभिषिक्‍त जनहरूले आफ्नो मसीही राजालाई समर्थन गर्न कम्मर कसे!

५ परमेश्‍वरका जनहरूलाई शुद्ध पार्ने काम के त्यति नै थियो त? अहँ थिएन। परमेश्‍वरका जनहरू आध्यात्मिक मन्दिरमा रहिरहन सकून्‌ भनेर यहोवाले अन्तको दिनमा पनि मसीही राजा येशूमार्फत ख्रीष्टियनहरूलाई शुद्ध पार्ने काम गरिरहनुभएको छ। यहोवाले कसरी तिनीहरूलाई नैतिक अनि सङ्‌गठनात्मक रूपमा शुद्ध पार्नुभएको छ भनेर हामी यसपछिका दुईवटा अध्यायमा बुझ्नेछौं। यस अध्यायमा भने उहाँले आफ्ना जनहरूलाई आध्यात्मिक रूपमा कसरी शुद्ध पार्नुभएको छ, त्यो हेरौं। येशूले आफ्ना अनुयायीहरूलाई आध्यात्मिक रूपमा शुद्ध पार्न हामीले थाह पाउने गरी र चाल नपाउने गरी के-के गर्नुभएको छ भनेर बुझ्दा हाम्रो विश्‍वास अझ बलियो हुन्छ।

“आफैलाई शुद्ध पार”

६. बेबिलोनमा निर्वासित जीवन बिताइरहेका यहूदीहरूलाई यहोवाले दिनुभएको आज्ञाबाट हामी के बुझ्न सक्छौं?

६ आध्यात्मिक रूपमा शुद्ध हुनु भनेको के हो? यसको जवाफ पाउन ईसापूर्व ५३७ मा बेबिलोन छोड्‌ने बेला निर्वासित जीवन बिताइरहेका यहूदीहरूलाई यहोवाले के भन्‍नुभयो, विचार गरौं। (यशैया ५२:११ पढ्‌नुहोस्‌) ती निर्वासित यहूदीहरूले आफ्नो घर यरूशलेम फर्केर मन्दिरको पुनर्निर्माण गर्नु र साँचो उपासना पुनर्स्थापित गर्नुपर्थ्यो। (एज्रा १:२-४) भनौं भने, तिनीहरू घर फर्कनुको मुख्य कारणै यही थियो। यहोवा आफ्ना जनहरूले बेबिलोनको धर्म चटक्कै छोडेको चाहनुहुन्थ्यो। त्यसैले उहाँले तिनीहरूलाई यस्ता आज्ञाहरू दिनुभयो: “अशुद्ध थोक नछोऊ!,” “त्यसको बीचबाट निस्केर जाऊ” र “तिमीहरू आफैलाई शुद्ध पार।” यहोवाका उपासकहरूले झूटो उपासना गरेर उहाँको शुद्ध उपासनालाई अशुद्ध पार्नु हुँदैन। त्यसोभए आध्यात्मिक रूपमा शुद्ध हुनु भनेको के हो त? आध्यात्मिक रूपमा शुद्ध हुनु भनेको झूटो धर्मका शिक्षा र रीतिथितिहरूबाट पूरै अलग हुनु हो।

७. आफ्ना अनुयायीहरूलाई आध्यात्मिक रूपमा शुद्ध रहन येशूले कसरी मदत गर्नुभएको छ?

७ राजा नियुक्‍त भएलगत्तै येशूले एउटा माध्यम खडा गर्नुभयो। सबैले प्रस्ट देख्न सक्ने त्यो माध्यम विश्‍वासी र बुद्धिमान्‌ दास थियो। येशू ख्रीष्टले सन्‌ १९१९ मा दासलाई नियुक्‍त गर्नुभयो। त्यसपछि आफ्ना अनुयायीहरूलाई आध्यात्मिक रूपमा शुद्ध रहन मदत गर्न उहाँले यही माध्यम चलाउन थाल्नुभयो। (मत्ती २४:४५) सन्‌ १९१९ सम्ममा बाइबल विद्यार्थीहरूले थुप्रै झूटो शिक्षाहरू त्यागिसकेका थिए। तर तिनीहरू आध्यात्मिक रूपमा पूर्णतया शुद्ध भने भइसकेका थिएनन्‌। त्यसैले आफ्ना अनुयायीहरूले कुन-कुन चाडपर्व अनि रीतिरिवाज त्याग्नुपर्छ, ख्रीष्टले विश्‍वासी र बुद्धिमान्‌ दासमार्फत एक-एक गरी सिकाउन थाल्नुभयो। (हितो. ४:१८) हामी केही उदाहरण विचार गरौं।

के ख्रीष्टियनहरूले क्रिसमस मनाउनुहुन्छ?

८. बाइबल विद्यार्थीहरूलाई पहिल्यैदेखि क्रिसमसबारे के थाह थियो? तर तिनीहरूले कुन कुरा राम्ररी बुझेका थिएनन्‌?

८ क्रिसमस चाडको बाइबलसित कुनै सम्बन्ध छैन र येशू डिसेम्बर २५ मा जन्मनुभएको पनि होइन भनेर बाइबल विद्यार्थीहरूलाई पहिल्यैदेखि थाह थियो। डिसेम्बर १८८१ मा छापिएको एउटा प्रहरीधरहरा-मा यसो भनिएको थियो: “अरू धर्म मान्‍ने लाखौं मानिसहरूले ख्रीष्टियन धर्म अँगाल्न आफ्नो नामबाहेक अरू केही परिवर्तन गर्नु परेन। मूर्तिपूजक धर्मका गुरुहरू ख्रीष्टियन धर्मका गुरु भए अनि तिनीहरूले पहिले मानिराखेको चाडलाई नयाँ नाम दिएर ख्रीष्टियन चाडको रूपमा मनाउन थाले। क्रिसमस त्यसकै एउटा उदाहरण हो।” त्यसैगरि, सन्‌ १८८३ मा छापिएको अर्को एउटा प्रहरीधरहरा-मा येशूको जन्म अक्टोबर महिनाको सुरुतिर भएको थियो भनेर बताइएको थियो। उक्‍त लेखको शीर्षक थियो, “येशूको जन्म कहिले भयो?”c तर त्यतिबेला बाइबल विद्यार्थीहरूले क्रिसमस मनाउनुहुन्‍न भनेर राम्ररी बुझेका थिएनन्‌। त्यसैले ब्रूक्लिन बेथेलमा समेत क्रिसमस मनाउन बन्द गरिएन। तर सन्‌ १९२६ पछि परिवर्तन आउन थाल्यो। यसरी परिवर्तन आउनुको कारण के थियो?

९. क्रिसमसबारे बाइबल विद्यार्थीहरूले के बुझे?

९ क्रिसमसको विषयमा गहिरो अध्ययन गरेपछि बाइबल विद्यार्थीहरूले क्रिसमसको सुरुवात बाइबलबाट भएको होइन र क्रिसमससित सम्बन्धित विभिन्‍न चलनले परमेश्‍वरको अनादर गर्छ भनेर बुझे। डिसेम्बर १४, १९२७ अङ्‌कको सुनौलो युग (अहिले ब्यूँझनुहोस्‌) पत्रिकामा “क्रिसमसको सुरुवात” भन्‍ने एउटा लेख छापियो। उक्‍त लेखमा क्रिसमस ख्रीष्टियन चाड होइन र क्रिसमसको सम्बन्ध मूर्तिपूजासित छ भनेर लेखिएको थियो। क्रिसमसको बेला मानिसहरूको ध्याउन्‍न मोजमस्ती गर्नुबाहेक अरू केही हुँदैन भनेर पनि उक्‍त लेखमा बताइएको थियो। ख्रीष्टले क्रिसमस मनाउनू भनेर आज्ञा दिनुभएको थिएन भनेर उक्‍त लेखमा प्रस्ट पारिएको थियो। लेखको अन्तमा यसो पनि भनिएको थियो: “संसार, शारीरिक इच्छा अनि सैतान यो चाडको पक्षमा छ . . . यहोवाको सेवामा समर्पित भएकाहरूले यो चाड मनाउनुहुन्‍न भन्‍ने कुरा यसबाटै स्पष्ट हुन्छ।” त्यसैले त्यस वर्षको डिसेम्बर महिनादेखि बेथेल परिवारले कहिल्यै क्रिसमस मनाएन।

“क्रिसमस, यसको सुरुवात र उद्देश्‍य”

सन्‌ १९२८ डिसेम्बरमा भाइ रिचर्ड एच. बार्बरले (चित्रमा घेरा लगाइएका व्यक्‍ति) क्रिसमसको विषयमा रेडियोमा जोडदार भाषण दिए। त्यस भाषणको विषयवस्तु डिसेम्बर १२, १९२८ को सुनौलो युग-मा “क्रिसमस, यसको सुरुवात र उद्देश्‍य” भन्‍ने शीर्षकअन्तर्गत छापियो। भाषणको केही अंश यसप्रकार छन्‌:

  • “फिरौतीको बलिदानको महत्त्वलाई हल्का बनाउन सैतानले मानिसहरूलाई येशूको मृत्युभन्दा उहाँको जन्मलाई बढी महत्त्व दिन सिकाएको छ।”

  • “क्रिसमसको बेलामा मानिसहरूले कुन हदसम्म मस्ती गर्छन्‌, उच्छृङ्‌खल व्यवहार गर्छन्‌ र रक्सी खान्छन्‌, त्यो त सबैलाई थाह छ। यस्ता कुराहरूले पक्कै पनि यहोवा परमेश्‍वरको र उहाँको छोराको आदर गर्दैन।”

  • “सैतानले झूटा धर्मका चाडपर्वहरू, उपवासका दिनहरू र पवित्र ठानिने दिनहरूलाई चर्चमा भित्र्याएको छ। सैतानले झूटा चलनहरूलाई ख्रीष्टियन चलनको नाम दिएको छ। यसरी त्यसले महान्‌ परमेश्‍वर यहोवाको खिसी गरेको छ।”

सन्‌ १९२६ मा बेथेल परिवारले अन्तिम पटक क्रिसमस मनाउँदा; घेरामा रिचर्ड एच. बार्बर

सन्‌ १९२६ मा अन्तिम पटक ब्रूक्लिन बेथेलमा क्रिसमस मनाइँदा

१०. (क) डिसेम्बर १९२८ मा बाइबल विद्यार्थीहरूले क्रिसमसबारे के कुरा स्पष्टै बुझे? (“क्रिसमस, यसको सुरुवात र उद्देश्‍य” शीर्षक भएको पेटी पनि हेर्नुहोस्‌।) (ख) परमेश्‍वरका जनहरूलाई अरू चाडपर्वबारे कस्तो कुरा बताइयो? (“अरू चाडपर्वको पर्दाफास” शीर्षक भएको पेटी हेर्नुहोस्‌।)

१० त्यसको एक वर्षपछि बाइबल विद्यार्थीहरूले क्रिसमसबारे अझ अरू कुरा बुझे। ब्रूक्लिन बेथेलमा सेवा गरिरहेका भाइ रिचर्ड एच. बार्बरले क्रिसमसको सुरुवात झूटो धर्मबाट भएको हो भनेर उदाङ्‌ग पार्दै डिसेम्बर १२, १९२८ मा रेडियोमा भाषण दिए। विश्‍वासी र बुद्धिमान्‌ दासबाट आएको यस्तो स्पष्ट निर्देशन सुनेपछि परमेश्‍वरका जनहरूले के गरे? आफू र आफ्नो परिवारले क्रिसमस मनाउन छोडेको क्षण सम्झँदै भाइ चार्ल्स ब्रान्डलिनले यसो भने: “बाइबलको शिक्षासित मेल नखाने यस्ता चलन छोड्‌नुपर्दा हामीलाई रतीभर थकथकी लागेन। . . . बरु, हामीलाई त आफूले लगाइराखेको मैलो कपडा फुकालेझैं लाग्यो।” त्यसैगरि, परिभ्रमण निरीक्षकको रूपमा सेवा गरेका भाइ हेन्री ए. क्यान्टवेलले यसो भने: “यहोवालाई माया गर्छौं भनेर प्रमाणित गर्न हामी जुनसुकै चलन त्याग्न खुसी थियौं।” हो, ख्रीष्टका वफादार अनुयायीहरू झूटो धर्ममा जरा गाडेर बसेको जुनसुकै चलन त्याग्न खुसी थिए।d—यूह. १५:१९; १७:१४.

११. मसीही राजालाई समर्थन गरेको कुरा हामी कसरी देखाउँछौं?

११ ती बाइबल विद्यार्थीहरू हाम्रो लागि राम्रो उदाहरण हुन्‌! तिनीहरूले बसालेको उदाहरण मनन गर्दै हामी आफैलाई सोध्न सक्छौं: ‘विश्‍वासी र बुद्धिमान्‌ दासको निर्देशनलाई म कसरी लिन्छु? के म ती निर्देशन खुसीसाथ लागू गर्छु?’ मसीही राजा येशूले ठीक समयमा आध्यात्मिक भोजन बाँड्‌न विश्‍वासी र बुद्धिमान्‌ दासलाई चलाउँदै हुनुहुन्छ। त्यसैले राजीखुसीले त्यस दासको आज्ञा पालन गर्नु भनेको मसीही राजा येशूलाई समर्थन गर्नु हो।—प्रेषि. १६:४, ५.

अरू चाडपर्वको पर्दाफास

वर्षौंको दौडान ख्रीष्टले आफ्ना अनुयायीहरूलाई संसारबाट अलग रहन मदत गर्नुभएको छ। साँचो ख्रीष्टियनहरू अलग रहनुपर्ने चाडपर्वबारे परमेश्‍वरका जनहरूलाई प्रकाशनहरूमार्फत सजग गराइएको थियो। हाम्रा पुराना पत्रिकामा छापिएका केही उदाहरण यसप्रकार छन्‌:

  • इस्टर। “अरू थुप्रै मानिसहरूले मनाउने चाड इस्टरलाई ख्रीष्टियन भनौदाहरूले चर्चकै चाड बनाइदिए।”—सुनौलो युग, डिसेम्बर १२, १९२८, पृष्ठ १६८।

  • प्रणय दिवस (भ्यालेनटाइन डे)। “भ्यालेनटाइन डे कसरी सुरु भयो भनेर हेर्ने हो भने यसलाई पवित्र ठान्‍नुपर्ने कुनै कारण छैन।”—सुनौलो युग, डिसेम्बर २५, १९२०, पृष्ठ २०८।

  • जन्मोत्सव। “बाइबलमा जन्मोत्सव मनाएको दुइटा मात्र विवरण छ। एउटा हो, यूसुफको समयमा मिश्रका राजाले मनाएको जन्मोत्सव। तिनी यहोवाको उपासक थिएनन्‌। अर्को विवरण हेरोदसित सम्बन्धित छ। तिनको जन्मोत्सवमा बप्तिस्मा गराउने यूहन्‍नाको हत्या गरिएको थियो। बाइबलमा परमेश्‍वरका जनहरूले जन्मोत्सव मनाएको एउटा पनि विवरण छैन।”—सुनौलो युग, मे ६, १९३६, पृष्ठ ४९९।

  • नयाँ वर्ष। “नयाँ वर्ष मनाउँदा मानिसहरू धेरै रक्सी खाएर होहल्ला गर्छन्‌। नयाँ वर्ष हप्ताको जुनसुकै दिनदेखि सुरु भए तापनि त्यो दिनलाई विशेष ठान्‍नु ख्रीष्टियन चलन होइन। सुरु-सुरुका ख्रीष्टियनहरू नयाँ वर्ष मनाउँदैन थिए।”—ब्यूँझनुहोस्‌!, डिसेम्बर २२, १९४६, पृष्ठ २४।

ख्रीष्टियनहरूले क्रस चलाउनुहुन्छ?

क्रस र मुकुटको पीन

क्रस र मुकुटको पिन (अनुच्छेद १२ र १३ हेर्नुहोस्‌)

१२. बाइबल विद्यार्थीहरूले क्रसको प्रयोग कसरी गर्थे?

१२ बाइबल विद्यार्थीहरूले धेरै वर्षसम्म क्रसलाई ख्रीष्टियन धर्मको एउटा चिनारी ठान्थे। तर तिनीहरूले क्रसको उपासना भने गरेनन्‌ किनभने मूर्तिपूजा गर्नु हुँदैन भनेर तिनीहरूलाई थाह थियो। (१ कोरि. १०:१४; १ यूह. ५:२१) सन्‌ १८८३ मा प्रकाशित एउटा प्रहरीधरहरा-मा स्पष्टै यसो भनिएको थियो, “परमेश्‍वरलाई कुनै पनि प्रकारको मूर्तिपूजा मन पर्दैन।” तैपनि बाइबल विद्यार्थीहरूले उपासनाबाहेक अरू कुरामा क्रसको प्रयोग गर्नु गलत ठानेनन्‌। उदाहरणको लागि तिनीहरू क्रस र मुकुटको आकृति भएको पिन लुगामा लगाउँथे। तिनीहरू त्यो पिन मृत्युसम्मै वफादार हुने ख्रीष्टियनले पाउने जीवनको मुकुटको प्रतीक हो भन्ठान्थे। सन्‌ १८९१ देखि प्रहरीधरहरा-को आवरणमा समेत क्रस र मुकुटको लोगो प्रयोग गर्न थालियो।

१३. ख्रीष्टका अनुयायीहरूले क्रसबारे कस्तो नयाँ कुरा सिके? (“क्रससम्बन्धी तथ्य कुरा थाह भयो” शीर्षक भएको पेटी हेर्नुहोस्‌।)

१३ बाइबल विद्यार्थीहरू क्रस र मुकुटको पिनमा गर्व गर्थे। तर सन्‌ १९२८ देखि ख्रीष्टका अनुयायीहरूले क्रसबारे तथ्य कुराहरू बिस्तारै बुझ्न थाले। सन्‌ १९२८ मा अमेरिकाको मिशिगन राज्यको डिटरोइटमा आयोजना गरिएको सम्मेलनमा सिकेको कुरा सम्झँदै भाइ ग्रान्ट सुटरले (तिनले पछि परिचालक निकायको सदस्यको रूपमा सेवा गरे) यसो भने: “हामीले अबदेखि क्रस र मुकुटको पिन चलाउनु पर्दैन अनि चलाउनु पनि हुँदैन भनेर राम्ररी बुझ्यौं।” त्यसपछिका वर्षहरूमा क्रसबारे अझ नयाँ जानकारी प्राप्त भयो। यहोवाको शुद्ध उपासनामा क्रसको कुनै ठाउँ छैन भनेर अन्ततः प्रस्ट भयो।

क्रससम्बन्धी तथ्य कुरा थाह भयो

बिल्लामा क्रस र मुकुटको पीन लगाएका व्यक्‍ति
  • हामीले अबदेखि क्रस र मुकुटको पिन चलाउनु पर्दैन अनि चलाउनु पनि हुँदैन।—अमेरिकाको मिशिगन राज्यको डिटरोइटमा आयोजित सम्मेलन, १९२८।

  • क्रस र मुकुटको पिन पनि एक किसिमको मूर्ति नै हो।—अङ्‌ग्रेजी भाषाको प्रकाशन तयारी, १९३३, पृष्ठ २३९।

  • क्रसको सुरुवात मूर्तिपूजक चलनबाट भएको हो। —सुनौलो युग, फेब्रुअरी २८, १९३४, पृष्ठ ३३६।

  • येशूलाई क्रसमा होइन तर खम्बामा मारिएको थियो।—सुनौलो युग, नोभेम्बर ४, १९३६, पृष्ठ ७२; अङ्‌ग्रेजी किताब धनसम्पत्ति, १९३६, पृष्ठ २७।

ग्रीक शब्द स्टाउरोस-लाई थुप्रै बाइबल अनुवादहरूमा “क्रस” भनी अनुवाद गरिएको छ। तर यस शब्दको अर्थबारे विभिन्‍न किताबमा के बताइएको छ, याद गर्नुहोस्‌:

  • “ग्रीक शब्द स्टाउरोस-को अर्थ . . . खम्बा हो।”—बाइबल तथा चर्चसम्बन्धी साहित्यको विश्‍वकोश (अङ्‌ग्रेजी)।

  • “सीधै भन्‍नुपर्दा यसको अर्थ खम्बा हो, ‘क्रस’ होइन।”—पुरातन समयमा क्रसमा टाँग्ने चलन (अङ्‌ग्रेजी)।

  • “स्टाउरोस भनेको किसानहरूले बार लगाउन प्रयोग गर्ने बलियो खम्बा नै हो, अरू केही होइन।”—क्रसको इतिहास (अङ्‌ग्रेजी)।

  • “यसले एउटा काठमाथि अर्को काठलाई कुनै कोण बन्‍नेगरि खप्ट्याउनु भन्‍ने अर्थ कहिल्यै बुझाउँदैन। बरु काठको एउटा सिङ्‌गो टुक्रोलाई बुझाउँछ।”—सहयोगी बाइबल (अङ्‌ग्रेजी)।

  • “एउटा खम्बा . . . यस शब्दले एउटा काठमाथि अर्को काठलाई कुनै कोण बन्‍नेगरि जोड्‌नु भन्‍ने अर्थ कहिल्यै दिंदैन।”—समालोचनात्मक शब्दकोश तथा शब्दानुक्रमणिका (अङ्‌ग्रेजी)।

१४. क्रससम्बन्धी तथ्य कुरा सिकेपछि परमेश्‍वरका जनहरूले के गरे?

१४ क्रसको प्रयोगबारे तथ्य कुरा सिकेपछि परमेश्‍वरका जनहरूले के गरे? के तिनीहरूले आफूले पहिल्यैदेखि प्रिय ठानिराखेको क्रस र मुकुटको पिन चलाई नै रहे? लामो समयदेखि यहोवाको सेवा गरेकी बहिनी लिला रोबर्ट्‌सले यसो भनिन्‌: “क्रसको अर्थ बुझेपछि हामीलाई ती मिल्काउन अप्ठेरो लागेन।” अर्सिला सेरेन्को नाम गरेकी अर्की वफादार बहिनीले पनि यसो भनिन्‌: “हामीले त्यसलाई प्रभुको मृत्यु र ख्रीष्टियन भक्‍तिको प्रतीक ठानेका थियौं। तर वास्तवमा त्यसको प्रयोग गर्नु त मूर्तिपूजा पो रहेछ भनेर हामीले बुझ्यौं। हितोपदेश ४:१८ ले भनेझैं हाम्रो बाटो पहिलेभन्दा झन्‌ उज्यालो भएकोले हामी खुसी थियौं।” त्यतिखेरका हाम्रा वफादार भाइबहिनीहरू झूटो धर्मसित सम्बन्धित रीतिरिवाज वा चलनबाट पूरै अलग रहन चाहन्थे!

१५, १६. यहोवाको आध्यात्मिक मन्दिरको पार्थिव चोक सफा राख्ने अठोट गरेका छौं भने, त्यो हामी कसरी देखाउँछौं?

१५ अहिले हामी पनि सुरु-सुरुका ती वफादार ख्रीष्टियनहरू जस्तै हुन चाहन्छौं। आफ्ना अनुयायीहरूलाई आध्यात्मिक रूपमा शुद्ध पार्न येशू ख्रीष्टले विश्‍वासी र बुद्धिमान्‌ दासलाई चलाइरहनुभएको छ भनेर हामीले प्रस्टै देखिरहेका छौं। त्यसैले विश्‍वासी र बुद्धिमान्‌ दासले फलाना-फलाना उत्सव, चलन वा रीतिरिवाजमा झूटो धर्म मुछिएको छ भनेर हामीलाई जानकारी दिंदा हामी तुरुन्तै त्यसअनुसार छाँटकाँट गर्छौं। ख्रीष्टको उपस्थिति भर्खरै सुरु भएको बेला हाम्रा भाइबहिनीले गरेजस्तै अहिले हामी पनि यहोवाको आध्यात्मिक मन्दिरको पार्थिव चोकलाई सफा राख्न दिलोज्यान दिन्छौं।

१६ यहोवाका जनहरूको मण्डलीलाई गलत मानिसहरूले पनि आध्यात्मिक रूपमा दूषित बनाउन सक्छन्‌। अन्तको दिन सुरु भएदेखि हाम्रो राजा येशू ख्रीष्टले हामीले चाल नपाउने तरिकामा त्यस्ता मानिसहरूबाट पनि हामीलाई जोगाइराख्नुभएको छ। उहाँले यो काम कसरी गर्दै हुनुहुन्छ? आउनुहोस्‌, विचार गरौं।

“परमेश्‍वरको स्तरबमोजिम असल काम गर्ने मानिसहरूको माझबाट दुष्टलाई अलग” पार्ने

१७, १८. निम्न कुराहरूले के बुझाउँछ: (क) समुद्रमा ठूलो जाल हाल्ने, (ख) ‘विभिन्‍न किसिमका माछाहरू बटुल्ने,’ (ग) असल माछाहरू जति भाँडामा जम्मा गर्ने र (घ) काम नलाग्ने माछाहरू जति फ्याँक्ने?

१७ राजा येशू ख्रीष्टले संसारभरि छरिएका ख्रीष्टियन मण्डलीहरूको एक-एक कुरा नियालेर हेर्नुहुन्छ। येशू ख्रीष्ट र स्वर्गदूतहरूले मानिसहरूलाई अलग पार्ने काम गर्दै हुनुहुन्छ। तर उहाँहरूले यो काम कसरी गरिरहनुभएको छ, हामी सबै कुरा राम्ररी बुझ्न सक्दैनौं। मानिसहरूलाई अलग पार्ने कामबारे येशूले ठूलो जालको दृष्टान्तमा बताउनुभएको थियो। (मत्ती १३:४७-५० पढ्‌नुहोस्‌) यस दृष्टान्तको अर्थ के हो, अब हामी विचार गरौं।

समुद्रमा माछा समातेपछि जाल तानिरहेका जलारीहरू

ठूलो जालले समुद्र अर्थात्‌ संसारमा भइरहेको राज्य प्रचारको कामलाई बुझाउँछ (अनुच्छेद १८ हेर्नुहोस्‌)

१८ ‘समुद्रमा ठूलो जाल’ हाल्ने। ठूलो जालले समुद्र अर्थात्‌ संसारमा भइरहेको राज्य प्रचारको कामलाई बुझाउँछ। ‘विभिन्‍न किसिमका माछाहरू बटुल्ने।’ हामीले राज्यको सुसमाचार प्रचार गर्दा विभिन्‍न किसिमका मानिसहरूले विभिन्‍न प्रतिक्रिया देखाउँछन्‌। तिनीहरूमध्ये कतिपयले साँचो ख्रीष्टियन बन्‍न कदम चाल्छन्‌ भने अरू कतिपयले चाहिं सुरुमा केही चासो देखाए तापनि शुद्ध उपासनाको पक्ष भने लिंदैनन्‌।e “असल माछाहरू जति भाँडामा जम्मा” गर्ने। राज्यको सुसमाचार ग्रहण गर्ने असल मानिसहरू भाँडारूपी मण्डलीमा जम्मा गरिन्छन्‌। त्यहाँ तिनीहरूले यहोवालाई शुद्ध उपासना चढाउँछन्‌। “काम नलाग्ने माछाहरू जति” फ्याँक्ने। अन्तको दिन चलिरहेको बेला येशू ख्रीष्ट र स्वर्गदूतहरूले “परमेश्‍वरको स्तरबमोजिम असल काम गर्ने मानिसहरूको माझबाट दुष्टलाई अलग” पार्दै हुनुहुन्छ।f त्यसैले असल हृदय नभएका मानिसहरू अर्थात्‌ झूटो धर्म र यसका रीतिथिति त्याग्न नचाहने मानिसहरूले मण्डलीलाई दूषित बनाउन सकेका छैनन्‌।g

१९. साँचो उपासनाको रक्षा गर्न र परमेश्‍वरका जनहरूलाई शुद्ध पार्न ख्रीष्टले जे-जति गर्नुभएको छ, त्यसबारे तपाईं कस्तो महसुस गर्नुहुन्छ?

१९ हाम्रो राजा येशू ख्रीष्टले आफ्ना अनुयायीहरूको रक्षा गर्नुहुन्छ भनेर थाह पाउँदा हामीलाई ढुक्क लाग्छ! पृथ्वीमा हुनुहुँदा उहाँले जोसिलो भएर यरूशलेमको मन्दिरलाई शुद्ध पार्नुभएको थियो। उहाँले अहिले पनि त्यस्तै जोस देखाएर साँचो उपासना र साँचो उपासकहरूलाई शुद्ध पार्नुका साथै तिनीहरूको रक्षा गरिरहनुभएको छ। यो कुराले पनि हामीलाई धेरै हौसला दिन्छ। परमेश्‍वरका जनहरूलाई आध्यात्मिक तवरमा शुद्ध राख्न येशू ख्रीष्टले यसरी काम गर्दै हुनुहुन्छ भनेर थाह पाउँदा हामी कृतज्ञताको भावले ओतप्रोत हुन्छौं! त्यसैले आउनुहोस्‌, झूटो धर्मसित कुनै किसिमको सम्बन्ध नराखौं र हाम्रो राजा येशू ख्रीष्ट र उहाँको राज्यलाई सधैं समर्थन गरिरहौं।

a यरूशलेममा अरू ठाउँको पैसा चल्दैन थियो। त्यसैले बाहिरबाट आएका यहूदीहरूले मन्दिरको वार्षिक कर तिर्न आफ्नो पैसा साट्‌नुपर्थ्यो। ती यहूदीहरूले मन्दिरमै पैसा साट्‌न सक्थे। तर पैसा साट्‌ने व्यापारीहरूले निकै नाफा खान्थे। मन्दिरमा आउने यहूदीहरूले भेटी चढाउन पशुहरू पनि किन्‍नुपर्थ्यो। येशूले यस्ता व्यापारीहरूलाई “डाँकु” भन्‍नुभयो किनभने तिनीहरू असाध्यै महँगो भाउमा पशुहरू बेच्थे अनि मन्दिरमा हुने अरू काममा पनि तिनीहरूलाई ठग्थे।

b पृथ्वीमा भएका यहोवाका जनहरू महान्‌ आध्यात्मिक मन्दिरको पार्थिव चोकमा उहाँको उपासना गर्छन्‌।

c यस लेखमा येशू जाडोको बेला जन्मनुभएको थियो भन्‍ने कुरा र “गोठालाहरू आफ्नो बगालसहित बाहिर बसिरहेका थिए भन्‍ने कुरा मेल खाँदैन” भनेर बताइएको थियो।—लूका २:८.

d नोभेम्बर १४, १९२७ मा भाइ फ्रेडरिक डब्ल्यु. फ्रान्जले एउटा चिठीमा यस्तो लेखेका थिए: “यो वर्ष हामी क्रिसमस मनाउने छैनौं। बेथेल परिवारले अबदेखि क्रिसमस नमनाउने निर्णय गरेको छ।” त्यसको केही महिनापछि फेब्रुअरी ६, १९२८ मा भाइ फ्रान्जले एउटा अर्को चिठीमा यस्तो लेखे: “बेबिलोनका अशुद्ध कुराहरूबाट प्रभुले हामीलाई एक-एक गरी शुद्ध पार्दै हुनुहुन्छ।”

e उदाहरणको लागि सन्‌ २०१३ मा प्रकाशकहरूको शिखर सङ्‌ख्या ७९,६५,९५४ थियो भने ख्रीष्टको मृत्युको वार्षिकीमा १,९२,४१,२५२ जना उपस्थित भए।

f काम नलाग्ने माछाहरूबाट असल माछा अलग गर्ने काम अनि भेडा र बाख्रा छुट्ट्याउने काम एउटै होइन। (मत्ती २५:३१-४६) भेडा र बाख्रा छुट्ट्याउने काम अर्थात्‌ अन्तिम न्यायको काम महासङ्‌कष्टमा हुनेछ। काम नलाग्ने माछाले चित्रण गर्ने मानिसहरूले यहोवाकहाँ फर्केर फेरि भाँडारूपी मण्डलीको भाग हुने मौका त्यो समय नआउन्जेल पाउन सक्छन्‌।—मला. ३:७.

g अन्ततः काम नलाग्ने माछाहरू आगोको भट्टीमा फालिनेछन्‌। आगोको भट्टीले तिनीहरूको भावी विनाशलाई बुझाउँछ।

परमेश्‍वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?

  • आध्यात्मिक रूपमा शुद्ध रहनुको अर्थ के हो? आफ्ना अनुयायीहरूलाई आध्यात्मिक रूपमा शुद्ध पार्न ख्रीष्टले कुन माध्यम चलाउनुभएको छ?

  • साँचो ख्रीष्टियनहरूले क्रिसमस मनाउनु हुँदैन अनि क्रस र मुकुटको पिन चलाउनु हुँदैन भनेर बुझाउन येशू ख्रीष्टले कसरी विश्‍वासी र बुद्धिमान्‌ दासलाई चलाउनुभयो?

  • साँचो उपासनाको रक्षा गर्न ख्रीष्टले जे-जति गर्नुभयो, त्यो तपाईंलाई कस्तो लाग्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने