अध्याय १४
मण्डलीको शान्ति अनि स्वच्छता कायम राख्नुहोस्
बाइबलमा भविष्यवाणी गरिएझैँ प्रत्येक वर्ष हजारौँ मानिस यहोवाको उपासना गर्न उहाँको भवनमा ओइरिरहेका छन्। (मिका ४:१, २) यी मानिसहरूलाई ‘परमेश्वरको मण्डलीमा’ स्वागत गर्न पाएकोमा हामी असाध्यै खुसी छौँ। (प्रेषि. २०:२८) यिनीहरू पनि हामीसँगै मिलेर यहोवाको सेवा गर्न पाएकोमा र स्वच्छ अनि शान्त आध्यात्मिक प्रमोदवनमा बस्न पाएकोमा खुसी छन्। यहोवाको पवित्र शक्तिले र उहाँको वचनमा पाइने बुद्धिमानी सल्लाहले मण्डलीलाई शान्त अनि स्वच्छ राखिरहन मदत गरेको छ।—भज. ११९:१०५; जक. ४:६.
२ बाइबलका सिद्धान्तहरू लागू गरेर हामी “नयाँ व्यक्तित्व” धारण गर्छौँ। (कल. ३:१०) हामी एकअर्काको सानोतिनो गल्तीलाई मनमा लिएर बस्दैनौँ। हामीबीच फूट ल्याउने कुराहरूदेखि टाढै रहेर अनि विश्वभरका दाजुभाइ दिदीबहिनीसित एकतामा रहेर हामी यहोवाको जस्तै दृष्टिकोण राख्ने कोसिस गर्छौँ।—प्रेषि. १०:३४, ३५.
३ तैपनि बेलाबेलामा मण्डलीमा विभिन्न समस्या आइपर्छ, जसले गर्दा मण्डलीको शान्ति र एकता खलबलिन सक्छ। यस्तो समस्या आउनुको कारण के हो? यसको एउटा मुख्य कारण बाइबलको सल्लाह पालन गर्नदेखि चुक्नु हो। हामीले आफ्नो त्रुटिपूर्ण झुकावहरूसित पनि सङ्घर्ष गर्नुपर्छ। गल्ती नगर्ने मानिस कोही पनि छैन। (१ युह. १:१०) कसै-कसैले गलत कदम चाल्न सक्छन्, जसले गर्दा मण्डलीमा नैतिक वा आध्यात्मिक रूपमा अशुद्ध कुराहरू घुस्न सक्छ। कहिलेकाहीँ हामीले विचारै नपुऱ्याई बोल्दा वा कुनै काम गर्दा अरूको चित्त दुख्न सक्छ। अथवा अरूको बोली वा व्यवहारले गर्दा हामीले ठक्कर खान सक्छौँ। (रोमी ३:२३) हामी कसरी यस्ता समस्याहरू सुल्झाउन सक्छौँ?
४ मण्डलीमा यस्ता विभिन्न समस्या आइपर्न सक्छ भनेर यहोवालाई राम्ररी थाह छ। उहाँको वचनमा यस्ता समस्याहरूको कसरी सामना गर्न सकिन्छ भन्नेबारे सल्लाहहरू पाइन्छ। साथै मण्डलीका मायालु गोठालाहरू अर्थात् एल्डरहरूले पनि हामीलाई आवश्यक मदत दिन्छन्। उनीहरूले दिएको बाइबलमा आधारित सल्लाह लागू गऱ्यौँ भने मण्डलीका दाजुभाइ दिदीबहिनीसित फेरि राम्रो सम्बन्ध बनाउन अनि सफा अन्तस्करण राखेर यहोवाको सेवा गर्न सक्छौँ। गलत काम गरेकोले अनुशासन वा न्यायिक सुधार पायौँ भने त्यस्तो सुधार यहोवा हामीलाई माया गर्नुहुन्छ भन्ने कुराको प्रमाण हो भनेर मनमा राख्नुपर्छ।—हितो. ३:११, १२; हिब्रू १२:६.
सानोतिनो मनमुटाव कसरी सुल्झाउने?
५ कहिलेकाहीँ मण्डलीका दाजुभाइ दिदीबहिनीबीच सानोतिनो मनमुटाव हुन सक्छ। त्यतिबेला एकअर्कालाई प्रेम देखाउँदै तुरुन्तै समस्या सुल्झाइहाल्नुपर्छ। (एफि. ४:२६; फिलि. २:२-४; कल. ३:१२-१४) प्रेषित पत्रुसले दिएको सल्लाह पालन गऱ्यौँ भने प्रायजसो अवस्थामा यस्ता सानातिना मनमुटाव सजिलै सुल्झाउन सक्छौँ। तिनले यसो भने: “आपसमा प्रगाढ प्रेम गर किनकि प्रेमले असङ्ख्य पापहरू ढाक्छ।” (१ पत्रु. ४:८) साथै “हामी सबै जना धेरै चोटि चुक्छौँ” भन्ने कुरा सम्झँदा पनि समस्या सुल्झाउन मदत पाउँछौँ। (याकु. ३:२) “मानिसहरूले तिमीहरूलाई जे-जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर” भनी येसुले दिनुभएको सुनौलो नियम पालन गर्दै हामी अरूलाई क्षमा दिन्छौँ र सानातिना गल्तीलाई मनमा लिएर बस्दैनौँ।—मत्ति ६:१४, १५; ७:१२.
६ तपाईँको बोली वा व्यवहारले गर्दा कसैको चित्त दुखेको छ भने तिनीसित शान्ति कायम गर्न तुरुन्तै कदम चाल्नुहोस्। अन्यथा यसले यहोवासितको तपाईँको सम्बन्धलाई असर गर्नेछ। येसुले आफ्ना चेलाहरूलाई यस्तो सल्लाह दिनुभयो: “तिमीले वेदीमा आफ्नो भेटी चढाउन ल्याउँदा तिम्रो विरुद्धमा तिम्रो भाइसित केही गुनासो छ भन्ने तिमीलाई झल्याँस्स याद आयो भने आफ्नो भेटी त्यहीँ वेदीअगाडि छोड र गएर पहिले आफ्नो भाइसित मिलाप गर अनि फर्केर आएपछि आफ्नो भेटी चढाऊ।” (मत्ति ५:२३, २४) कहिलेकाहीँ गलतफहमीले गर्दा सम्बन्ध बिग्रन सक्छ। त्यतिबेला एकअर्कासित खुलस्त कुराकानी गर्नुहोस्। यसरी कुराकानी गर्नुभयो भने मण्डलीका दाजुभाइ दिदीबहिनीबीच गलतफहमी हुन पाउँदैन। अनि एकअर्काको कमीकमजोरीले गर्दा भएका समस्याहरू पनि समाधान हुन सक्छ।
एल्डरहरू बाइबलबाट सल्लाह दिन्छन्
७ कहिलेकाहीँ निरीक्षकहरूले कुनै भाइ वा बहिनीलाई सही बाटोमा ल्याउन सल्लाह दिनुपर्ने हुन्छ। यसरी सल्लाह दिनु सधैँ सजिलो हुँदैन। गलातियाका ख्रिष्टियनहरूलाई प्रेषित पावलले यस्तो लेखे: “भाइहरू हो, यदि कोही मानिसले अनजानमा कुनै गलत कदम चाल्यो भने तिमीहरू जो आध्यात्मिक रूपमा परिपक्व छौ, कोमलताको भावले यस्तो मानिसलाई सच्याउने कोसिस गर।”—गला. ६:१.
८ निरीक्षकहरू बगालको हेरचाह गरेर मण्डलीलाई आध्यात्मिक खतराबाट जोगाउँछन् र गम्भीर समस्याहरूलाई बढ्न दिँदैनन्। यी गोठालाहरू यहोवाले यसैयामार्फत गर्नुभएको यो प्रतिज्ञाअनुरूप मण्डलीको सेवा गर्न सक्दो गर्छन्: “तिनीहरू हरेक हुरीबतास चल्दा लुक्ने ठाउँ अनि आँधीबेहरी आउँदा आड लिने ठाउँ हुनेछन्। निर्जल भूमिमा खोलाझैँ र सुक्खा ठाउँमा ठूलो चट्टानको छायाझैँ हुनेछन्।”—यसै. ३२:२.
बेकाइदासित चल्नेहरूलाई चिन्नुहोस्
९ प्रेषित पावलले मण्डलीमा नराम्रो प्रभाव पार्न सक्ने केही व्यक्तिबारे चेतावनी दिए। तिनले यसो भने: “जो भाइ तिमीहरूले हामीबाट पाएको निर्देशनबमोजिम नचली बेकाइदासित चलिरहेको छ, ऊदेखि अलग होओ।” आफ्नो भनाइलाई प्रस्ट पार्न तिनले अझै यसो भने: “यदि कसैले यस पत्रमा भएको हाम्रो वचन पालन गर्दैन भने त्यस्तालाई चिनिराख र ऊसित सङ्गत गर्न छोड ताकि ऊ आफ्नो काम सम्झेर लज्जित होस्। तैपनि उसलाई आफ्नो शत्रु नठानिहाल बरु आफ्नो भाइ ठानेर निरन्तर सम्झाइबुझाइ गरिरहो।”—२ थिस्स. ३:६, १४, १५.
१० कुनै व्यक्तिले बहिष्कारै गर्नुपर्ने खालको गल्ती त गरेका छैनन् होला। तर तिनले परमेश्वरको स्तरको ठाडै अनादर हुने किसिमको काम गरेका हुन सक्छन्। तिनी एकदमै अल्छी, आलोचना गर्ने वा फोहोरी हुन सक्छन्। तिनलाई ‘आफूसित सरोकार नभएका कुराहरूमा हात हाल्दै हिँड्ने’ बानी परेको हुन सक्छ। (२ थिस्स. ३:११) तिनले जालसाजी गरेर अरूबाट भौतिक फाइदा उठाएका हुन सक्छन् वा अनुचित प्रकारको मनोरञ्जनमा भाग लिएका हुन सक्छन्। यस्तो किसिमको बेकाइदापूर्ण आचरणले मण्डलीमा नराम्रो प्रभाव पार्छ। परिणामस्वरूप अरू ख्रिष्टियनले पनि त्यस्तै आचरण देखाउन सक्छन्।
११ सुरुमा त एल्डरहरूले यसरी बेकाइदासित चल्ने व्यक्तिलाई बाइबलबाट सल्लाह दिएर मदत दिने कोसिस गर्छन्। तर बारम्बार सल्लाह दिए तापनि तिनले बाइबलका सिद्धान्तहरूलाई बेवास्ता गर्छन् भने एल्डरहरूले मण्डलीलाई चेतावनीमूलक भाषण दिने निर्णय गर्न सक्छन्। तिनीहरूले अवस्था कत्तिको गम्भीर छ र त्यसले अरूलाई कत्तिको असर गरेको छ भनेर विचार गरेपछि चेतावनीमूलक भाषण दिनुपर्छ कि पर्दैन भनेर निर्णय गर्नेछन्। वक्ताले बेकाइदापूर्ण आचरणको विषयमा चेतावनी दिनेछन् तर को बेकाइदासित चल्दै छन्, तिनको नाम भने बताउने छैनन्। भाषणमा बताइएको बेकाइदापूर्ण आचरण कसले देखाउँदै छ भनेर थाह भएका प्रकाशकहरूले तिनीसँग सर-सङ्गत गर्न छोड्नेछन्। तैपनि तिनीहरूले ती व्यक्तिसँग आध्यात्मिक गतिविधिमा भाग लिन छोड्नु पर्दैन बरु तिनलाई ‘आफ्नो भाइ ठानेर निरन्तर सम्झाइबुझाइ गर्नुपर्छ।’
१२ वफादार दाजुभाइ दिदीबहिनीले जे सही छ, त्यही गर्ने दृढ अडान लिँदा बेकाइदासित चलेका व्यक्ति लज्जित हुन सक्छन् र पश्चात्ताप गर्न उत्प्रेरित हुन सक्छन्। तिनले नराम्रो कामकुरा त्यागेको स्पष्ट देखिएपछि तिनलाई बेकाइदासित चल्ने व्यक्तिको रूपमा हेर्नु पर्दैन।
खास किसिमको गम्भीर मामिला सुल्झाउने तरिका
१३ सानोतिनो गल्तीलाई मनमा नलिनु र क्षमा दिनु भनेको गलत कामप्रति आँखा चिम्लनु वा ठीकै छ भनेर चुप लाग्नु होइन। ‘त्रुटिपूर्ण भएकोले गल्ती त भइहाल्छ नि’ भनेर सधैँ बहाना बनाउन मिल्दैन अनि गलत कामहरूलाई बेवास्ता गर्न पनि मिल्दैन। (लेवी १९:१७; भज. १४१:५) मोसाको व्यवस्थामा कुनै-कुनै गल्ती अति गम्भीर प्रकृतिको हुन्छ भनेर बताइएको थियो र आज पनि कुरा त्यही हो।—१ युह. ५:१६, १७.
१४ कुनै दुई जना ख्रिष्टियनबीच गम्भीर समस्या खडा हुँदा त्यो सुल्झाउन कस्तो कदम चाल्नुपर्छ भनेर येसुले बताउनुभयो। उहाँले के भन्नुभयो, ध्यान दिनुहोस्: “यदि तिम्रो भाइले पाप गऱ्यो भने [१] जाऊ अनि तिमी र ऊ मात्रै हुँदा उसको दोष देखाइदेऊ। उसले तिम्रो कुरा सुन्यो भने तिमीले आफ्नो भाइलाई ठीक बाटोमा फर्काउन सक्यौ। तर उसले सुनेन भने [२] आफूसित अरू एक वा दुई जनालाई लिएर जाऊ ताकि दुई वा तीन जना साक्षीको बयानको आधारमा मात्र हरेक मामिलाको फैसला सुनाइयोस्। यदि उसले तिनीहरूको कुरा सुनेन भने [३] मण्डलीलाई भन। अनि यदि उसले मण्डलीको कुरासमेत सुनेन भने ऊ तिम्रो लागि अन्यजाति वा कर उठाउने मानिससरह होस्।”—मत्ति १८:१५-१७.
१५ मत्ति १८:१५-१७ मा उल्लेख गरिएको पापमा आर्थिक लेनदेन वा सर-सम्पत्तिसित सम्बन्धित पाप, जस्तै: ऋण नतिर्नु वा जालसाजी गर्नु पनि समावेश छ भन्ने कुरा येसुले मत्ति १८:२३-३५ मा भन्नुभएको उदाहरणबाट प्रस्ट हुन्छ। यस्तो पापमा कसैको निन्दा गरेर तिनको बदनाम गर्नु पनि समावेश छ।
१६ मण्डलीको कसैले तपाईँविरुद्ध यस्तो पाप गरेको छ र तपाईँसित यस कुराको प्रमाण पनि छ भने एल्डरहरूलाई तपाईँको पक्षमा बोलिदिनुहोस् भनेर आग्रह गर्न हतार नगर्नुहोस्। येसुले सल्लाह दिनुभएझैँ पहिला तपाईँ आफैले त्यो व्यक्तिसित कुरा गर्नुहोस्। तपाईँहरूको मामिलामा अरू कसैलाई नमुछीकन समस्या समाधान गर्ने कोसिस गर्नुहोस्। नबिर्सनुहोस्, येसुले ‘एक पटक मात्र जाऊ र उसको दोष देखाइदेऊ’ भन्नुभएन। त्यसैले तिनले गल्ती स्विकारेनन् वा माफी मागेनन् भने केही समयपछि फेरि भेट्न जानुहोस्। यसो गर्दा समस्या समाधान हुन सक्छ। अनि तपाईँले तिनको पापबारे अरूलाई नबताउनुभएकोमा र तिनको इज्जतमा दाग लाग्ने काम नगर्नुभएकोमा तिनी तपाईँप्रति धन्यवादी हुन सक्छन्। यसरी तपाईँ “आफ्नो भाइलाई ठीक बाटोमा फर्काउन” सफल हुनुहुनेछ।
१७ गल्ती गर्ने व्यक्तिले आफ्नो गल्ती स्विकारेर माफी मागे अनि आफ्नो गल्ती सुधार्न कदम चाले भने तपाईँले अरू केही गर्नु आवश्यक छैन। हुनत यो गम्भीर गल्ती हो। तैपनि यस्तो किसिमको गल्तीलाई आपसमै सुल्झाउन सकिन्छ।
१८ तपाईँले ‘आफू र तिनी मात्रै हुँदा तिनको दोष देखाइदिनुभयो’ तैपनि तिनलाई ठीक बाटोमा फर्काउन सक्नुभएन भने के गर्नुपर्छ? येसुले भन्नुभएझैँ ‘आफूसित अरू एक वा दुई जनालाई लिएर जानुहोस्’ र तिनीसित फेरि कुरा गर्नुहोस्। तपाईँसँगै जाने साथीको उद्देश्य पनि ती गल्ती गर्ने व्यक्तिलाई ठीक बाटोमा फर्काउने हुनुपर्छ। सकेसम्म त्यस गलत कामबारे थाह भएको व्यक्तिलाई साक्षीको रूपमा लैजानु बेस हुन्छ। तर त्यसबारे थाह भएको कोही छैन भने अरू कोही एक वा दुई जनालाई साथमा लैजान सक्नुहुन्छ र तिनीहरूलाई तपाईँहरूको कुराकानीको साक्षी बनाउन सक्नुहुन्छ। तपाईँसँगै जाने साथी त्यस्तो मामिला सम्हाल्नमा अनुभवी अनि दोषीले साँच्चै गलत काम गरेका हुन् कि होइनन् भनेर छुट्ट्याउन सक्ने भए बेस हुन्छ। तपाईँहरूको कुराकानीको साक्षी बन्न कुनै एल्डरलाई लैजानुभयो भने तिनले मण्डलीको प्रतिनिधित्व गरिरहेका हुँदैनन् किनकि तिनलाई एल्डरहरूको निकायले खटाएको होइन।
१९ तपाईँले दुई जना मात्र बसेर कुरा गरिसक्नुभयो अनि सँगै एक वा दुई जना साथी लगेर पनि कुरा गरिसक्नुभयो। तर यसरी बारम्बार कोसिस गर्दा पनि समस्या सुल्झिएन र यस मामिलालाई यत्तिकै छोड्न मिल्दैन जस्तो तपाईँलाई लाग्छ भने एल्डरहरूलाई रिपोर्ट गर्नुपर्छ। एल्डरहरूको उद्देश्य मण्डलीको शान्ति र स्वच्छता कायम राख्नु हो भनेर नबिर्सनुहोस्। एल्डरहरूलाई रिपोर्ट गरेपछि त्यस मामिलालाई तिनीहरूकै हातमा छोडिदिनुहोस् र यहोवामाथि भरोसा राख्नुहोस्। अरूको आचरणले गर्दा ठेस नखानुहोस् बरु आनन्दित भई यहोवाको सेवा गरिरहनुहोस्।—भज. ११९:१६५.
२० यस मामिलामा बगालका गोठालाहरूले खोज-अनुसन्धान गर्नेछन्। त्यसपछि आरोपित व्यक्तिले तपाईँविरुद्ध साँच्चै गम्भीर पाप गरेका रहेछन् भनेर प्रमाणित भयो तर तिनी पश्चात्ताप गर्दैनन् अनि मेलमिलाप गर्न कुनै कदम चाल्दैनन् भने न्यायिक समिति गठन गरेर तिनलाई मण्डलीबाट बहिष्कार गर्नुपर्ने हुन सक्छ। यसो गर्दा बगालको सुरक्षा हुन्छ र मण्डलीको स्वच्छता पनि कायम रहन्छ।—मत्ति १८:१७.
गम्भीर गलत कामसम्बन्धी मामिला सुल्झाउने तरिका
२१ अवैध यौनसम्बन्ध, व्यभिचार, समलैङ्गिक यौनसम्बन्ध, ईश्वरनिन्दा, धर्मत्याग, मूर्तिपूजा र यस्तै प्रकारको गम्भीर पाप गर्ने व्यक्तिलाई पीडित पक्षले क्षमा दिएर मात्र पुग्दैन। (१ कोरि. ६:९, १०; गला. ५:१९-२१) यस्ता गम्भीर पापहरूले गर्दा मण्डलीको आध्यात्मिक तथा नैतिक स्वच्छता खतरामा पर्ने भएकोले यसबारे एल्डरहरूलाई रिपोर्ट गर्नै पर्छ। तिनीहरूले उक्त मामिला सम्हाल्नेछन्। (१ कोरि. ५:६; याकु. ५:१४, १५) कसै-कसैले एल्डरहरूसामु आफ्नो पाप आफै स्विकार्छन्। अनि कसैले भने अरूले गम्भीर गलत काम गरेको थाह पाएपछि त्यसबारे एल्डरहरूलाई बताउँछन्। (लेवी ५:१; याकु. ५:१६) बप्तिस्मा गरेका ख्रिष्टियनले गम्भीर गलत काम गरेको कुरा एल्डरहरूले जुनसुकै तरिकामा थाह पाएको भए तापनि सबैभन्दा पहिला दुई जना एल्डरले त्यस मामिलाको छानबिन गर्नेछन्। छानबिन गरेपछि गम्भीर पाप साँच्चै भएको हो भनेर प्रमाणित भएमा एल्डरहरूको निकायले उक्त मामिला सम्हाल्न कम्तीमा तीन जना एल्डरसहितको न्यायिक समिति गठन गर्नेछ।
२२ एल्डरहरू बगालको राम्ररी हेरविचार गर्छन् र आध्यात्मिक रूपमा हानि पुऱ्याउने कुराहरूबाट बगाललाई जोगाउने प्रयास गर्छन्। साथै तिनीहरू पाप गर्ने व्यक्तिलाई सुधार्न र तिनलाई आध्यात्मिक रूपमा फेरि स्वस्थ बनाउन बाइबलबाट सल्लाह दिन्छन्। (यहु. २१-२३) यो कुरा प्रेषित पावलले तिमोथिलाई दिएको निर्देशनअनुरूप छ: “ख्रिष्ट येसु, . . . जो प्रकट भएर जिउँदा र मरेका दुवैको न्याय गर्नुहुनेछ, उहाँसामु अनि परमेश्वरसामु म तिमीलाई यो गम्भीर आज्ञा दिन्छु: . . . असाध्यै धीरजी भएर अनि शिक्षणकलाको पूर्ण सदुपयोग गरेर सुधार, हप्काऊ र अर्ती देऊ।” (२ तिमो. ४:१, २) यसो गर्न निकै समय लाग्न सक्छ र कडा परिश्रम पनि गर्नुपर्ने हुन्छ। तर यो एल्डरहरूले गर्नै पर्ने काम हो। मण्डलीका दाजुभाइ दिदीबहिनी तिनीहरूको मेहनतको कदर गर्छन् र तिनीहरूलाई “दोबर आदरको योग्य” ठान्छन्।—१ तिमो. ५:१७.
२३ पाप गर्ने व्यक्तिको दोष प्रमाणित भएपछि निरीक्षकहरू सबैभन्दा पहिला उनलाई आध्यात्मिक रूपमा स्वस्थ बनाउने प्रयास गर्छन्। यदि उनी साँचो पश्चात्ताप गर्छन् र एल्डरहरूको मदत स्विकार्छन् भने न्यायिक समितिले उनलाई एक्लै राखेर सुधार्छ अथवा न्यायिक सुनुवाइको बेला साक्षीहरू बोलाइएको थियो भने तिनीहरूको अगाडि सुधार्छ। यसो गर्दा उनले अनुशासन पाउँछन् र बयान दिने साक्षीहरू पनि अझै होसियार हुन सक्छन्। (२ समु. १२:१३; १ तिमो. ५:२०) मामिला जस्तोसुकै होस्, न्यायिक समिति गठन भएको छ भने दोषी व्यक्तिमाथि केही न केही प्रतिबन्ध लगाइन्छ। यसबाट उनले आफ्नो खुट्टाको निम्ति “सीधा बाटो” बनाउन अर्थात् आफ्नो गल्तीलाई सुधार्न मदत पाउँछन्। (हिब्रू १२:१३) उनी आध्यात्मिक रूपमा फेरि स्वस्थ भएको प्रस्ट देखिन थालेपछि उनीमाथि लगाइएको प्रतिबन्ध हटाइनेछ।
न्यायिक सुधारको घोषणा
२४ न्यायिक समिति दोषी व्यक्तिले पश्चात्ताप गरेको भए तापनि उनको पापबारे पछि मण्डली वा समाजलाई थाह हुन सक्छ भन्ने निष्कर्षमा पुगेमा अथवा पश्चात्तापी व्यक्तिदेखि मण्डली सावधान हुनुपर्छ भन्ने निष्कर्षमा पुगेमा यसबारे जीवन र सेवा सभामा एउटा सानो घोषणा गर्नुपर्छ। घोषणा यसरी गर्नुपर्छ: “[नाम]-लाई न्यायिक सुधार गरिएको छ।”
बहिष्कार गर्ने निर्णय भएमा
२५ कुनै-कुनै अवस्थामा दोषी व्यक्तिले गलत काम गर्न छोड्दैनन् र एल्डरहरूले जति मदत गर्न खोजे तापनि तिनीहरूको मदत स्विकार्दैनन्। न्यायिक सुनुवाइको बेला उनले “पश्चात्ताप गरेको देखिने कामहरू” गरेका छन् भन्ने कुरा नदेखिन सक्छ। (प्रेषि. २६:२०) यस्तो अवस्थामा के गर्नुपर्छ? पश्चात्ताप नगर्ने व्यक्तिले यहोवाका स्वच्छ जनहरूसित सङ्गत गर्न नपाओस् भनेर उनलाई मण्डलीबाट हटाउनुपर्छ। दोषी व्यक्तिको नराम्रो प्रभावबाट मण्डलीलाई जोगाउँदा मण्डली नैतिक र आध्यात्मिक रूपमा स्वच्छ रहन्छ अनि मण्डलीको प्रतिष्ठामा आँच आउन पनि पाउँदैन। (व्यव. २१:२०, २१; २२:२३, २४) कोरिन्थ मण्डलीको कसैले लाजमर्दो काम गरेको थाह पाएपछि प्रेषित पावलले त्यहाँका एल्डरहरूलाई यस्तो सल्लाह दिए: “त्यस्तो मानिसलाई सैतानको हातमा सुम्पिदेओ ताकि . . . मण्डलीको असल झुकाव सुरक्षित रहोस्।” (१ कोरि. ५:५, ११-१३) त्यसैगरि पावलले सत्यको विरोध गरेका अरूलाई पनि मण्डलीबाट बहिष्कार गरिएको कुरा बताएका थिए।—१ तिमो. १:२०.
२६ न्यायिक समितिले पश्चात्ताप नगर्ने व्यक्तिलाई बहिष्कार गर्ने निर्णय गरेपछि यस निर्णयबारे उक्त व्यक्तिलाई जानकारी दिनुपर्छ। उनलाई बहिष्कार गर्नुको धर्मशास्त्रीय कारण(हरू) स्पष्टसँग बताउनुपर्छ। दोषी व्यक्तिलाई सो निर्णय गलत छ भन्ने लागेमा पुनरावेदनको लागि पत्र पेस गर्न सकिन्छ भनेर न्यायिक समितिले बताउनुपर्छ। साथै पत्रमा पुनरावेदन गर्नुका कारणहरू स्पष्ट उल्लेख गर्नुपर्छ भनेर पनि सम्झाउनुपर्छ। न्यायिक समितिले आफ्नो निर्णयबारे जानकारी गराएको दिनदेखि सात दिनभित्र पुनरावेदनको लागि निवेदन पेस गर्न पाइन्छ। दोषी व्यक्तिले पुनरावेदन पेस गरेमा एल्डरहरूको निकायले क्षेत्रीय निरीक्षकसित सम्पर्क गर्नुपर्छ। त्यसपछि क्षेत्रीय निरीक्षकले उक्त मामिलाबारे पुनर्विचार गर्न केही अनुभवी एल्डरसहितको पुनरावेदन समिति गठन गर्नेछन्। यस समितिले दोषी व्यक्तिले लिखित पुनरावेदन दिएको एक हप्ताभित्रै उक्त मामिलाको सुनुवाइ गर्न सक्दो प्रयास गर्नुपर्छ। दोषी व्यक्तिले पुनरावेदन पेस गरेमा बहिष्कारको घोषणा केही समयको लागि पछि सार्नुपर्छ। त्यस अवधिमा उनलाई सभामा टिप्पणी गर्न र प्रार्थना गर्न दिइनेछैन र सेवाका सुअवसरहरू पनि दिइनेछैन।
२७ पुनरावेदन गर्न पाउनु एउटा दयालु प्रबन्ध हो किनभने यसले दोषी व्यक्तिलाई आफ्नो सफाइ दिने थप मौका दिन्छ। तर उनी जानाजानी पुनरावेदनको सुनुवाइमा उपस्थित हुँदैनन् र एल्डरहरूले सम्पर्क गर्न प्रयास गरे तापनि सम्पर्कमा आउन चाहँदैनन् भने बहिष्कारको घोषणा गर्नुपर्छ।
२८ दोषी व्यक्ति पुनरावेदन गर्न चाहँदैनन् भने न्यायिक समितिले उनलाई साँचो पश्चात्ताप गरेमा र आवश्यक कदमहरू चालेमा समयको दौडान पुनर्बहाली हुन सकिन्छ भनेर बताउनुपर्छ। यी कुराहरू दोषीलाई आफ्नो गल्ती सुधार्न र यहोवाको सङ्गठनमा फर्कन मदत हुने तरिकामा बताउनुपर्छ। यसो गर्दा एल्डरहरूले उनलाई दया देखाइरहेका र मदत गरिरहेका हुन्छन्।—२ कोरि. २:६, ७.
बहिष्कारको घोषणा
२९ पश्चात्ताप नगर्ने व्यक्तिलाई मण्डलीबाट बहिष्कार गर्नुपर्दा एउटा छोटो घोषणा गरिन्छ। घोषणा यसरी गर्नुपर्छ: “[नाम] अब उप्रान्त यहोवाको साक्षी हुनुहुन्न।” यस्तो घोषणाले मण्डलीका वफादार दाजुभाइ दिदीबहिनीलाई ती व्यक्तिसित सङ्गत नगर्न सचेत गराउनेछ।—१ कोरि. ५:११.
मण्डली परित्याग
३० “मण्डली परित्याग” भन्ने अभिव्यक्तिले यस्तो व्यक्तिले चाल्ने कदमलाई बुझाउँछ, जो बप्तिस्मा गरिसकेको यहोवाको साक्षी हुन् तर तिनले जानाजानी आफ्नो ख्रिष्टियन चिनारीलाई तिरस्कार गर्छन् र अबउसो आफू यहोवाको साक्षीको रूपमा चिनिन चाहन्नँ भनेर बताउँछन्। अथवा तिनले मण्डलीको भाग हुन नचाहेको कुरा आफ्नो व्यवहारबाट देखाउन सक्छन्। जस्तै: तिनी बाइबलको शिक्षाविपरीत चल्ने कुनै सङ्गठनको सदस्य बन्न सक्छन्, जुन सङ्गठन यहोवाबाट सजाय पाउन लायकको छ।—यसै. २:४; प्रका. १९:१७-२१.
३१ प्रथम शताब्दीमा मण्डली परित्याग गरेकाहरूको विषयमा प्रेषित युहन्नाले यस्तो लेखे: “तिनीहरू हामीबाट निस्केर गए तर तिनीहरू हामीजस्ता थिएनन् किनकि तिनीहरू हामीजस्ता भएका भए तिनीहरू हामीसितै रहने थिए।”—१ युह. २:१९.
३२ कुनै व्यक्तिले मण्डली परित्याग गरेको छ भने यहोवाको नजरमा त्यो व्यक्तिको अवस्था प्रचारमा जान छोडेका निष्क्रिय ख्रिष्टियनहरूको भन्दा बिलकुलै फरक हुन्छ। कुनै प्रकाशक नियमित रूपमा परमेश्वरको वचन अध्ययन नगरेकोले निष्क्रिय भएका हुन सक्छन्। अथवा व्यक्तिगत समस्या तथा खेदोले गर्दा यहोवाको सेवामा उनको जोस सेलाएको हुन सक्छ। एल्डरहरू तथा मण्डलीका दाजुभाइ दिदीबहिनीले निष्क्रिय प्रकाशकलाई आध्यात्मिक रूपमा मदत गरिरहनुपर्छ।—रोमी १५:१; १ थिस्स. ५:१४; हिब्रू १२:१२.
३३ तर कुनै ख्रिष्टियनले मण्डली परित्याग गर्ने निर्णय गरेमा त्यसबारे मण्डलीका दाजुभाइ दिदीबहिनीलाई जानकारी दिन एउटा छोटो घोषणा गरिन्छ। घोषणामा यसो भन्नुपर्छ: “[नाम] अब उप्रान्त यहोवाको साक्षी हुनुहुन्न।” मण्डली परित्याग गर्ने व्यक्तिलाई पनि बहिष्कृत व्यक्तिलाई जस्तै व्यवहार गरिन्छ।
पुनर्बहाली
३४ बहिष्कार भएका व्यक्ति वा मण्डली परित्याग गरेका व्यक्तिले पश्चात्ताप गरेको र समयको दौडान गलत काम गर्न छोडेको स्पष्ट देखिएमा तिनलाई पुनर्बहाली गरिन्छ। तिनले यहोवासित फेरि राम्रो सम्बन्ध गाँस्न चाहेको कुरा देखाउनुपर्छ। तिनलाई आफूले साँचो पश्चात्ताप गरेको हो भनी प्रमाणित गरेर देखाउन पर्याप्त समय अर्थात् थुप्रै महिना, एक वर्ष वा अवस्था हेरेर त्योभन्दा लामो समय दिनुपर्छ। एल्डरहरूको निकायले बहिष्कार भएका व्यक्तिबाट पुनर्बहाली हुन पाऊँ भनेर लिखित निवेदन प्राप्त गरेमा पुनर्बहाली समितिले उक्त व्यक्तिसित कुरा गर्नुपर्छ। तिनले “पश्चात्ताप गरेको देखिने कामहरू” गरेका छन् कि छैनन् भनेर यस समितिले जाँच गर्छ र तिनलाई पुनर्बहाली गर्ने कि नगर्ने, निर्णय गर्छ।—प्रेषि. २६:२०.
३५ यदि पुनर्बहाली हुन पाऊँ भनी निवेदन दिने व्यक्ति अर्कै मण्डलीबाट बहिष्कार भएका थिए भने स्थानीय पुनर्बहाली समितिले तिनलाई भेट्नुपर्छ र तिनको निवेदन विचार गर्नुपर्छ। अनि स्थानीय पुनर्बहाली समिति उक्त व्यक्तिलाई पुनर्बहाली गर्न सकिन्छ भन्ने निष्कर्षमा पुग्छ भने तिनीहरूले आफ्नो सिफारिस पहिला यो मामिला सम्हालेको मण्डलीको एल्डरहरूको निकायलाई पठाउनुपर्छ। उक्त व्यक्तिलाई पुनर्बहाली गर्ने कि नगर्ने भनेर सही निर्णय गर्न दुवै मण्डलीका सम्बन्धित समिति मिलेर आवश्यक प्रमाणहरू जुटाउनुपर्छ। तर पुनर्बहाली गर्ने कि नगर्ने भन्ने कुरा पहिला यो मामिला सम्हालेको मण्डलीको पुनर्बहाली समितिले निर्णय गर्नुपर्छ।
पुनर्बहालीको घोषणा
३६ बहिष्कार भएको व्यक्ति वा मण्डली परित्याग गरेको व्यक्तिले साँचो पश्चात्ताप गरेका हुन् र तिनलाई पुनर्बहाली गर्नुपर्छ भन्ने निष्कर्षमा पुनर्बहाली समिति पुग्यो भने पहिला यो मामिला सम्हालेको मण्डलीमा तिनको पुनर्बहालीको घोषणा गरिन्छ। उक्त व्यक्ति अर्कै मण्डलीमा सरेका छन् भने त्यहाँ पनि घोषणा गरिनेछ। घोषणा यसरी गर्नुपर्छ: “[नाम] यहोवाको साक्षीको रूपमा पुनर्बहाली हुनुभएको छ।”
बप्तिस्मा गरेका नाबालिग मुछिएका मामिलाहरू
३७ बप्तिस्मा गरेका नाबालिगले कुनै गम्भीर गलत काम गरेका छन् भने त्यसबारे एल्डरहरूलाई बताउनुपर्छ। एल्डरहरूले यस्तो मामिला सम्हाल्दा ती नाबालिगको बप्तिस्मा गरेका आमाबुबा पनि सँगै बस्नु बेस हुन्छ। आमाबुबाले सत्यतथ्य बताएर न्यायिक समितिलाई सहयोग गर्नुपर्छ, छोरा वा छोरीलाई अनुशासन पाउनदेखि जोगाउने प्रयास गर्नु हुँदैन। वयस्क व्यक्तिले गल्ती गर्दा तिनलाई सुधार्न र फेरि सही बाटोमा ल्याउन एल्डरहरूले जस्तो प्रयास गर्छन्, त्यस्तै प्रयास नाबालिग मुछिएको मामिलामा पनि गर्नुपर्छ। ती नाबालिगले पश्चात्ताप नगरेमा तिनलाई मण्डलीबाट बहिष्कार गरिन्छ।
बप्तिस्मा नगरेका प्रकाशकले गम्भीर गलत काम गर्दा
३८ बप्तिस्मा नगरेका प्रकाशकले गम्भीर गलत काम गरे भने के गर्नुपर्छ? तिनले बप्तिस्मा नगरिसकेकोले तिनलाई मण्डलीबाट बहिष्कार गर्न मिल्दैन। तिनले बाइबलको स्तरलाई राम्ररी नबुझेकोले गल्ती गरेका हुन सक्छन्। त्यसैले एल्डरहरूले तिनलाई दयालु भई सल्लाह दिनुपर्छ र त्यस्तो सल्लाहले तिनलाई आफ्नो पाइलाको निम्ति “सीधा बाटो” बनाउन मदत गर्न सक्छ।—हिब्रू १२:१३.
३९ बप्तिस्मा नगरेका प्रकाशकले गल्ती गरेपछि दुई जना एल्डरले तिनलाई मदत गर्ने कोसिस गर्छन्। तर तिनी पश्चात्ताप गर्दैनन् भने त्यसबारे एउटा छोटो घोषणा गरेर मण्डलीलाई जानकारी दिनुपर्छ। घोषणा यसरी गर्नुपर्छ: “[नाम] अब उप्रान्त बप्तिस्मा नगरेको प्रकाशक हुनुहुन्न।” त्यसपछि तिनलाई मण्डलीले संसारकै मानिसको रूपमा हेर्नेछ। हुनत तिनलाई बहिष्कार गरिएको होइन तैपनि मण्डलीका दाजुभाइ दिदीबहिनी तिनीसित सरसङ्गत गर्नदेखि भने सजग हुनुपर्छ। (१ कोरि. १५:३३) तिनले दिएको क्षेत्र सेवाको रिपोर्ट स्वीकार्य हुनेछैन।
४० बप्तिस्मा नगरेको प्रकाशकको रूपमा सेवा गर्ने सुअवसर गुमाएका व्यक्तिले पछि फेरि प्रकाशक बन्ने इच्छा व्यक्त गर्न सक्छन्। यस्तो अवस्थामा दुई जना एल्डरले तिनलाई भेट्नुपर्छ र तिनले आध्यात्मिक रूपमा कत्तिको उन्नति गरेका छन्, पक्का गर्नुपर्छ। तिनी प्रकाशक हुन योग्य भएका रहेछन् भने यसबारे एउटा छोटो घोषणा गरिन्छ। घोषणा यसरी गर्नुपर्छ: “[नाम] फेरि बप्तिस्मा नगरेको प्रकाशक हुनुभएको छ।”
यहोवा शान्त अनि स्वच्छ मण्डलीलाई आशिष् दिनुहुन्छ
४१ यहोवाले आफ्ना जनहरूलाई प्रशस्त आध्यात्मिक सम्पत्ति दिनुभएको छ। यसबाट परमेश्वरको मण्डलीसित सङ्गत गरिरहेका सबैले लाभ उठाउन सक्छन्। यहोवाले हामीलाई आध्यात्मिक रूपमा हराभरा खर्कमा चराउनुभएको छ। अनि बाइबलको सत्य बुझ्न मदत गर्नुभएको छ, जुन स्फूर्ति दिने पानीजस्तै छ। साथै हामीलाई सुरक्षा दिन यहोवाले मण्डलीको प्रबन्ध गर्नुभएको छ, जसको शिर ख्रिष्ट हुनुहुन्छ। (भज. २३; यसै. ३२:१, २) यो संसार समस्यै समस्याले भरिएको छ। तर हामी भने आध्यात्मिक प्रमोदवनमा रहन पाएकोमा सुरक्षित महसुस गर्छौँ।
मण्डलीको शान्ति अनि स्वच्छता कायम राख्दा हामी परमेश्वरको राज्यसम्बन्धी सत्यको ज्योति चम्काइरहन सक्छौँ
४२ मण्डलीको शान्ति अनि स्वच्छता कायम राख्दा हामी परमेश्वरको राज्यसम्बन्धी सत्यको ज्योति चम्काइरहन सक्छौँ। (मत्ति ५:१६; याकु. ३:१८) यहोवाको आशिष् हामीमाथि भएकोले थुप्रै मानिसले उहाँबारे सिकेको देख्न पाउनेछौँ र तिनीहरूसँगै मिलेर उहाँको इच्छा पूरा गर्न पाउनेछौँ।