अध्ययन लेख ३४
गीत १०७ ईश्वरीय प्रेमको नमुना
एल्डरहरूले गम्भीर पाप गर्ने व्यक्तिलाई कसरी प्रेम र कृपा देखाउन सक्छन्?
“परमेश्वरले दया गरेर तिमीलाई पश्चात्तापतिर लैजाने कोसिस गर्दै हुनुहुन्छ।”—रोमी २:४.
सिक्न सकिने कुरा
एल्डरहरूले गम्भीर पाप गर्ने व्यक्तिलाई कसरी मदत गर्छन्?
१. गम्भीर पाप गर्ने कसै-कसैले के गर्न सक्छन्?
यसअघिको लेखमा हामीले प्रेषित पावलले कोरिन्थमा गम्भीर गलत कामसम्बन्धी एउटा मामिलालाई कसरी सम्हाले भनेर बुझ्यौँ। ती गलत काम गर्ने व्यक्तिले पश्चात्ताप गरेनन्। त्यसैले तिनलाई मण्डलीबाट हटाउनुपरेको थियो। तर यस लेखको डोऱ्याउने पदले देखाएझैँ गम्भीर पाप गर्ने कसै-कसैलाई पश्चात्ताप गर्न मदत दिन सकिन्छ। (रोमी २:४) एल्डरहरूले त्यस्ता व्यक्तिहरूलाई कसरी मदत गर्न सक्छन्?
२-३. कुनै भाइबहिनीले गम्भीर पाप गरेको कुरा थाह पायौँ भने हामीले के गर्नुपर्छ र किन?
२ कसैले गम्भीर पाप गरेका छन् भन्ने कुरा एल्डरहरूलाई थाह भएन भने तिनीहरूले तिनलाई मदत गर्न सक्दैनन्। त्यसैले कुनै भाइबहिनीले गम्भीर पाप गरेको कुरा हामीले थाह पायौँ भने के गर्नुपर्छ? हामीले तिनलाई एल्डरहरूसित गएर कुरा गर्न भन्नुपर्छ।—यसै. १:१८; प्रेषि. २०:२८; १ पत्रु. ५:२.
३ तर तिनले एल्डरहरू कहाँ गएर कुरा गर्न मानेनन् भने नि? त्यसो हो भने हामी आफै गएर एल्डरहरूलाई बताउनुपर्छ। किनभने हामीलाई थाह छ, एल्डरहरूले तिनलाई आवश्यक मदत दिन सक्छन्। त्यसो गर्दा हामीले तिनलाई प्रेम देखाइरहेका हुन्छौँ किनभने हामी आफ्नो प्यारो भाइ वा बहिनी गुमाउन चाहँदैनौँ। तर तिनले गलत काम गर्न छोडेनन् भने यहोवासित तिनको सम्बन्ध झनै बिग्रनेछ। तिनले मण्डलीको पनि बदनाम गरिरहेका हुन्छन्। त्यसैले यहोवाप्रति र ती व्यक्तिप्रतिको प्रेमले गर्दा हामी साहस बटुलेर एल्डरहरूलाई तिनीबारे बताउँछौँ।—भज. २७:१४.
गम्भीर पाप गरेका व्यक्तिलाई एल्डरहरूले कसरी मदत गर्न सक्छन्?
४. एल्डरहरूले गम्भीर पाप गरेको व्यक्तिलाई भेट्नुको मुख्य उद्देश्य के हुनुपर्छ?
४ मण्डलीका कसैले गम्भीर पाप गर्दा एल्डरहरूको निकायले तीन जना एल्डरहरूको एउटा समिति गठन गर्छ।a ती भाइहरू कोमल र नम्र हुनुपर्छ। तिनीहरू गलत काम गरेका व्यक्तिलाई पश्चात्ताप गर्न मदत दिन्छन् तर जबरजस्ती भने गर्दैनन्। (व्यव. ३०:१९) गलत काम गर्ने सबैले राजा दाउदले जस्तै पश्चात्ताप गर्छन् भन्ने छैन भनेर एल्डरहरूले बुझेका हुन्छन्। (२ समु. १२:१३) कसै-कसैले यहोवाको सल्लाह नसुन्ने छनौट गर्न सक्छन्। (उत्प. ४:६-८) जेहोस्, एल्डरहरूको मुख्य उद्देश्य भनेको पाप गरेको व्यक्तिलाई पश्चात्ताप गर्न सक्दो मदत दिनु हो। त्यस व्यक्तिलाई भेट्न जाँदा एल्डरहरूले कस्ता सिद्धान्तहरू मनमा राख्नुपर्छ?
५. एल्डरहरूले गलत काम गर्ने व्यक्तिसित भेट्दा कस्ता गुणहरू देखाउनुपर्छ? (२ तिमोथि २:२४-२६) (चित्र पनि हेर्नुहोस्।)
५ एल्डरहरू गम्भीर पाप गर्ने व्यक्तिलाई हराएको भेडा ठान्छन्, जो अझै यहोवाको लागि बहुमूल्य छन्। (लुका १५:४, ६) त्यसैले एल्डरहरू तिनलाई भेट्दा रुखो बोली बोल्दैनन् र कठोर व्यवहार गर्दैनन्। साथै तिनीसितको भेटलाई प्रश्नहरू सोधेर सत्यतथ्य पत्ता लगाउने एउटा प्रक्रियाजस्तो पनि ठान्दैनन्। बरु तिनीहरू २ तिमोथि २:२४-२६ मा दिइएका गुणहरू देखाउन प्रयास गर्छन्। (पढ्नुहोस्।) तिनीहरू कोमल र दयालु हुँदै तिनको मनसम्म पुग्ने प्रयास गर्छन्।
पुरातन समयका गोठालाहरूजस्तै एल्डरहरू पनि हराएको भेडालाई खोज्न सक्दो प्रयास गर्छन् (अनुच्छेद ५ हेर्नुहोस्)
६. गम्भीर गल्ती गर्ने व्यक्तिलाई भेट्नुअघि एल्डरहरू कसरी आफ्नो मन तयार पार्छन्? (रोमी २:४)
६ एल्डरहरू आफ्नो मन तयार पार्छन्। तिनीहरू पावलका यी शब्दहरू सधैँ सम्झन्छन्: “परमेश्वरले दया गरेर तिमीलाई पश्चात्तापतिर लैजाने कोसिस गर्दै हुनुहुन्छ।” (रोमी २:४ पढ्नुहोस्।) त्यसैले एल्डरहरू गम्भीर गल्ती गर्ने व्यक्तिलाई भेट्दा यहोवाको अनुकरण गर्न प्रयास गर्छन्। एल्डरहरू येसुको अधीनमा भएका गोठालाहरू हुन्। त्यसैले तिनीहरूले पनि येसुले जस्तै मण्डलीको हेरचाह गर्नुपर्छ। (यसै. ११:३, ४; मत्ति १८:१८-२०) एल्डरहरूको समितिको मुख्य उद्देश्य भनेको गम्भीर गल्ती गर्ने व्यक्तिलाई पश्चात्तापतिर लैजानु हो। त्यसैले एल्डरहरू तिनलाई भेट्न जानुअघि नै तिनलाई पश्चात्ताप गर्न मदत गर्न सकूँ भनेर प्रार्थना गर्छन्। तिनीहरू बाइबलमा र हाम्रा प्रकाशनहरूमा अनुसन्धान गर्छन् र यहोवासित बुद्धि माग्छन्। साथै तिनले किन त्यस्तो गलत सोचाइ राखेका होलान् र गम्भीर गल्ती गरेका होलान् भनेर बुझ्न तिनीबारे अझ धेरै कुरा थाह पाउने प्रयास गर्छन्।—हितो. २०:५.
७-८. एल्डरहरूले कसरी यहोवाले जस्तै धीरज देखाउन सक्छन्?
७ एल्डरहरू यहोवाले जस्तै धीरज देखाउँछन्। विगतमा यहोवाले गलत काम गर्ने व्यक्तिहरूलाई कसरी मदत गर्नुभयो भनेर तिनीहरू मनमा राख्छन्। उदाहरणको लागि, यहोवा कयिनसित धीरजी हुनुभयो। (उत्प. ४:६, ७) तिनले पाप गरेको खण्डमा कस्तो नतिजा भोग्नुपर्नेछ। तर असल काम गरेमा कस्तो आशिष् पाउनेछन् भनेर उहाँले तिनलाई बताउनुभयो। यहोवाले दाउदलाई सम्झाउन भविष्यवक्ता नातान पठाउनुभयो। (२ समु. १२:१-७) नातानले एउटा उदाहरण चलाएर दाउदलाई पश्चात्ताप गर्न मदत गरे। साथै यहोवाले उहाँबाट तर्किएको इस्राएल राष्ट्रलाई आफूकहाँ फर्काउन ‘बारम्बार भविष्यवक्ताहरू पठाइरहनुभयो।’ (यर्मि. ७:२४, २५) उहाँले तिनीहरूले पश्चात्ताप गरेपछि मात्र मदत गरौँला भन्ने सोचाइ राख्नुभएन। बरु उहाँ तिनीहरूलाई पश्चात्ताप गर्न मदत दिन अग्रसर हुनुभयो।
८ एल्डरहरू गम्भीर पाप गर्ने व्यक्तिलाई मदत गर्दा यहोवाको अनुकरण गर्ने प्रयास गर्छन्। दोस्रो तिमोथि ४:२ ले भनेझैँ एल्डरहरू तिनीसित “असाध्यै धीरजी भएर” व्यवहार गर्छन्। तिनीहरू गम्भीर गल्ती गर्ने व्यक्तिलाई सही बाटोमा फर्कन धीरजी भई मदत दिन चाहन्छन्। त्यसैले तिनीसित झर्किने वा रिसाउने गर्दैनन् किनभने त्यसो गरेको खण्डमा तिनले एल्डरहरूको सल्लाह नसुन्न सक्छन् वा पश्चात्ताप नगर्न सक्छन्।
९-१०. एल्डरहरूले पाप गर्ने व्यक्तिलाई तिनले गरेको काम गलत थियो भनेर बुझ्न कसरी मदत गर्न सक्छन्?
९ एल्डरहरू तिनी कसरी पाप गर्ने हदसम्म पुगे भनेर बुझ्न प्रयास गर्छन्। उदाहरणको लागि, यहोवासित तिनको सम्बन्ध कमजोर हुनुको कारण के थियो? के तिनले नियमित तवरमा व्यक्तिगत अध्ययन गर्न वा साक्षीकार्यमा भाग लिन छोडेका थिए? के तिनले नियमित रूपमा यहोवालाई प्रार्थना गर्न छोडेका थिए? के तिनले आफूमा गलत इच्छाहरू हाबी हुन दिएका थिए? के तिनले सरसङ्गत वा मनोरञ्जनको सन्दर्भमा गलत छनौटहरू गरेका थिए? तिनका छनौटहरूले कसरी तिनको सोचाइलाई असर गर्न थाल्यो? तिनले जे गरे, त्यसबारे यहोवा कस्तो महसुस गर्नुहुन्छ भनेर के तिनले बुझेका छन्?
१० एल्डरहरू तिनलाई के-कस्ता कारणहरूले गर्दा यहोवासित तिनको सम्बन्ध कमजोर भयो र पाप गर्ने हदसम्म पुगे भनेर बुझ्न मदत दिन चाहन्छन्। त्यसैले तिनीहरू दयालु ढङ्गमा विभिन्न प्रश्नहरू सोध्छन्। तर आफूले थाह पाउनु नपर्ने विषयमा अनावश्यक खोजीनिती गर्दैनन्। (हितो. २०:५) नातानले दाउदलाई मदत गर्न उदाहरण चलाएजस्तै एल्डरहरूले पनि तिनले गरेको काम किन गलत थियो भनेर बुझ्न मदत दिन उदाहरण चलाउन सक्छन्। सायद एल्डरहरूले तिनलाई पहिलो चोटि भेट्दा नै तिनलाई आफूले गरेको काम गलत थियो भनेर पछुतो लाग्न सक्छ र तिनले पश्चात्ताप पनि गर्न सक्छन्।
११. येसुले पाप गर्ने व्यक्तिहरूसित कस्तो व्यवहार गर्नुभयो?
११ एल्डरहरू येसुको अनुकरण गर्न प्रयास गर्छन्। फेरि जीवित हुनुभएका येसुले सावललाई (जो पछि पावल भए) यस्तो प्रश्न सोध्नुभयो, “सावल, ए सावल, तिमी किन मेरो खेदो गर्दै छौ?” (प्रेषि. ९:३-६) यो प्रश्नले गर्दा सावलले आफूले गरेको काम गलत थियो भनेर बुझ्न मदत पाए। प्रकाशको किताबमा उल्लेख गरिएकी “त्यस स्त्री ईजेबेल”-बारेb येसुले यसो भन्नुभयो, “मैले त्यसलाई पश्चात्ताप गर्ने समय दिएँ।”—प्रका. २:२०, २१.
१२-१३. एल्डरहरूले पाप गर्ने व्यक्तिलाई पश्चात्ताप गर्ने समय दिन के गर्न सक्छन्? (चित्र पनि हेर्नुहोस्।)
१२ एल्डरहरूले येसुको अनुकरण गर्दै पाप गर्ने व्यक्तिलाई पश्चात्ताप गर्न समय दिनुपर्छ। तिनले पश्चात्ताप गर्नेछैनन् भन्ने निष्कर्षमा पुगिहाल्नु हुँदैन। कसै-कसैले एल्डरहरूको समितिले पहिलो चोटि भेट्दा नै पश्चात्ताप गर्छन् भने अरू कतिलाई समय लाग्न सक्छ। त्यसैले एल्डरहरूले तिनीसित एक चोटि मात्र होइन, फेरि-फेरि भेट्नुपर्ने हुन सक्छ। एल्डरहरूसित पहिलो चोटि भेटेपछि सायद तिनले आफूले गरेको कामबारे गम्भीरतापूर्वक सोच्न थाल्न सक्छन्। तिनले यहोवालाई प्रार्थना गरेर उहाँसामु आफ्नो पाप स्विकार्न पनि सक्छन्। (भज. ३२:५; ३८:१८) त्यसपछि एल्डरहरूले भेट्दा तिनको मनोवृत्ति पहिलेको भन्दा फरक भइसकेको हुन सक्छ।
१३ एल्डरहरू पाप गर्ने व्यक्तिलाई पश्चात्ताप गर्न मदत दिन समानुभूति र दया देखाउँछन्। तिनीहरूले गरेको प्रयासमा यहोवाले आशिष् देऊन् भनेर प्रार्थना गर्छन्। साथै पाप गर्ने व्यक्तिको होस खुलोस् र तिनले पश्चात्ताप गरून् भन्ने आशा गर्छन्।—२ तिमो. २:२५, २६.
एल्डरहरूले पाप गर्ने व्यक्तिलाई पश्चात्ताप गर्ने समय दिन तिनीसित एक चोटि मात्र होइन फेरि-फेरि भेट्नुपर्ने हुन सक्छ (अनुच्छेद १२ हेर्नुहोस्)
१४. पाप गर्ने व्यक्तिले पश्चात्ताप गर्नुको श्रेय कसलाई जान्छ? हामी किन त्यसो भन्न सक्छौँ?
१४ पाप गर्ने व्यक्तिले पश्चात्ताप गर्नु भनेको ठूलो रमाहटको कारण हो! (लुका १५:७, १०) यसको श्रेय कसलाई जान्छ? एल्डरहरूलाई हो कि? पाप गर्ने मानिसहरूबारे पावलले यस्तो लेखे: “परमेश्वरले ती मानिसहरूलाई पश्चात्ताप गर्ने मौका” दिनुहुन्छ। (२ तिमो. २:२५) पाप गर्ने व्यक्तिलाई तिनको सोचाइ र मनोवृत्ति परिवर्तन गर्न मदत गर्ने कुनै मानिस होइन, बरु यहोवा हुनुहुन्छ। पाप गर्ने व्यक्तिलाई पश्चात्ताप गर्ने मौका दिएर परमेश्वरले तिनलाई सत्यको सही ज्ञान हासिल गर्न मदत दिनुहुनेछ, तिनको होस खुल्नेछ र तिनी सैतानको पासोबाट उम्कन सक्नेछन् भनेर पावलले बताए।—२ तिमो. २:२६.
१५. एल्डरहरूले पश्चात्ताप गरेको व्यक्तिलाई कसरी मदत गरिरहन सक्छन्?
१५ पाप गर्ने व्यक्तिले पश्चात्ताप गरेपछि एल्डरहरूको समितिले गोठालो भेटको प्रबन्ध मिलाउनेछ। यसरी गोठालो भेट गरिरहँदा तिनले कस्तो मदत पाउनेछन्? तिनले आध्यात्मिक रूपमा बलियो हुन मदत पाउनुका साथै सैतानले ल्याउने प्रलोभनहरूको प्रतिरोध गरिरहने र सही कुरा गर्ने बल पाउनेछन्। (हिब्रू १२:१२, १३) तिनले कस्तो गल्ती गरेका थिए भनेर एल्डरहरू अरूलाई बताउँदैनन्। तर मण्डलीलाई कुन कुराचाहिँ बताउनुपर्ने हुन सक्छ?
“सबैसामु सुधार”
१६. पहिलो तिमोथि ५:२० मा पावलले “सबैसामु” भनेर कसबारे कुरा गरिरहेका थिए?
१६ पहिलो तिमोथि ५:२० पढ्नुहोस्। पावलले सङ्गी एल्डर तिमोथिलाई ‘पाप गरिरहने’ व्यक्तिलाई “सबैसामु सुधार” भने। के पावलले यहाँ “सबैसामु” भन्दा पूरै मण्डलीबारे कुरा गरिरहेका थिए? त्यसो नहुन सक्छ। बरु ज-जसले तिनको पापबारे थाह पाइसकेका छन्, तिनीहरूबारे बताइरहेका थिए। तिनीहरू प्रत्यक्षदर्शीहरू हुन सक्छन् वा ती व्यक्तिहरू हुन सक्छन्, जसलाई पाप गर्ने व्यक्ति आफैले बताएका थिए। एल्डरहरूले तिनीहरूलाई मात्र ती पाप गर्ने व्यक्तिलाई सुधारिएको कुरा बताउँछन्।
१७. कसैले गम्भीर पाप गरेको कुरा धेरैलाई थाह भइसकेको छ वा पछि थाह हुन सक्छ भने मण्डलीमा कस्तो घोषणा गरिन्छ र किन?
१७ कुनै-कुनै अवस्थामा पाप गर्ने व्यक्तिले गरेको गलत कामबारे मण्डलीमा धेरैलाई थाह भइसकेको हुन सक्छ वा पछि थाह हुन सक्छ। त्यस्तो अवस्थामा “सबैसामु” भनेको पूरै मण्डलीसामु हो। त्यसैले एल्डरले ती भाइ वा बहिनीलाई सुधार गरिएको छ भनेर मण्डलीमा घोषणा गर्नेछन्। किन? पावलले भनेझैँ गम्भीर पाप नगर्न “अरूलाई पनि चेतावनी मिलोस्” भनेर।
१८. एल्डरहरूले बप्तिस्मा गरेका नाबालिगहरूको मामिला कसरी सम्हाल्छन्? (चित्र पनि हेर्नुहोस्।)
१८ बप्तिस्मा गरेको नाबालिगले (१८ वर्षभन्दा कम उमेरको) गम्भीर गलत काम गरेमा के गर्नुपर्छ? एल्डरहरूको निकायले ती नाबालिग र तिनको ख्रिष्टियन आमाबुबासितc भेट्न दुई जना एल्डरको प्रबन्ध मिलाउनेछ। आफ्नो छोरा वा छोरीलाई पश्चात्ताप गर्न मदत दिन आमाबुबाले कस्तो कदम चालिसकेका छन् भनेर ती एल्डरहरूले पक्का गर्छन्। उक्त नाबालिगको मनोवृत्ति राम्रो छ र तिनको आमाबुबाले आवश्यक मदत दिइरहेका छन् भने त्यस मामिलालाई एल्डरहरूको समितिले सम्हाल्नु आवश्यक छैन भनेर ती दुईजना एल्डरले निर्णय गर्न सक्छन्। किनभने आफ्ना छोराछोरीलाई यहोवा परमेश्वरको डोऱ्याइबमोजिम मायालु अनुशासन दिने जिम्मेवारी आमाबुबाकै हो। (व्यव. ६:६, ७; हितो. ६:२०; २२:६; एफि. ६:२-४) उक्त नाबालिगले आवश्यक आध्यात्मिक हेरचाह पाइरहेका छन् कि छैनन् भनेर ती एल्डरहरूले बेलाबेलामा आमाबुबासित पक्का गर्नेछन्। तर ती नाबालिगले पश्चात्ताप गर्दैन र गलत काम गरिरहन्छ भने नि? त्यस्तो अवस्थामा एल्डरहरूको समितिले ती नाबालिग र तिनका ख्रिष्टियन आमाबुबासित भेट्नेछन्।
नाबालिगले गम्भीर पाप गर्दा दुई जना एल्डरले तिनको ख्रिष्टियन आमाबुबासँगै तिनलाई भेट्छन् (अनुच्छेद १८ हेर्नुहोस्)
“यहोवा परमेश्वर कोमल स्नेहले भरिपूर्ण अनि कृपालु हुनुहुन्छ”
१९. एल्डरहरू कसरी यहोवाको अनुकरण गर्न प्रयास गर्छन्?
१९ यहोवाले एल्डरहरूलाई मण्डलीलाई स्वच्छ राख्ने जिम्मेवारी दिनुभएको छ। (१ कोरि. ५:७) तर तिनीहरू गलत काम गर्ने व्यक्तिले सकेसम्म पश्चात्ताप गरून् भन्ने पनि चाहन्छन्। त्यसैले गलत काम गर्ने व्यक्तिले पश्चात्ताप गर्नेछैनन् भनेर आशा मार्दैनन्। किन? किनभने तिनीहरू यहोवाको अनुकरण गर्न चाहन्छन्, जो “कोमल स्नेहले भरिपूर्ण अनि कृपालु हुनुहुन्छ।” (याकु. ५:११) वृद्ध भइसकेका प्रेषित युहन्नाले त्यस्तै मनोभाव देखाएका थिए। तिनले यस्तो लेखे: “हे मेरा साना केटाकेटी हो, म तिमीहरूलाई यी कुराहरू लेख्दै छु ताकि तिमीहरूले पाप नगर। तर यदि कसैले पाप गरिहाल्यो भने पनि बुबासँग हाम्रो निम्ति एक जना मदतगार हुनुहुन्छ अर्थात् येसु ख्रिष्ट, जो धर्मी हुनुहुन्छ।”—१ युह. २:१.
२०. अर्को लेखमा हामी के छलफल गर्नेछौँ?
२० दुःखको कुरा, कसै-कसैले पश्चात्ताप गर्दैनन्। यस्तो अवस्थामा तिनलाई मण्डलीबाट हटाउनुपर्छ। यस्ता गम्भीर मामिलाहरू एल्डरहरूले कसरी सम्हाल्छन्? यसबारे हामी अर्को लेखमा छलफल गर्नेछौँ।
गीत १०३ गोठालाहरू—वरदानको रूपमा पुरुषहरू
a पहिले तीन जना एल्डरहरूको यस समूहलाई न्यायिक समिति भनिन्थ्यो। तर न्याय गर्ने काम यस समितिले गर्ने कामको एउटा मात्र पाटो भएकोले अहिले न्यायिक समिति भन्ने अभिव्यक्ति चलाइँदैन। यस समूहलाई एल्डरहरूको समिति मात्र भनिन्छ।
b “त्यस स्त्री ईजेबेल”-ले मण्डलीमा कुप्रभाव पारिरहेकी स्त्री वा स्त्रीहरूको समूहलाई बुझाएको हुन सक्छ।
c आमाबुबाको सन्दर्भमा भनिएको कुरा नाबालिगको कानुनी अभिभावकहरूलाई वा तिनको हेरचाह गरिरहेका व्यक्तिहरूलाई पनि लागू हुन्छ।