तपाईंको विवाहलाई कसरी बलियो बनाउने
जीर्ण अवस्थामा पुगेको एउटा घरको कल्पना गर्नुहोस्। रंग उप्किंदैछ, छाना भत्किएको छ र चौर पनि लथालिंग छ। एउटा कुरा स्पष्ट छ, यो घरले वर्षौंसम्म अनेकन् आँधीबेहरी खपिसक्यो र यसलाई लापरवाह अवस्थामा त्यत्तिकै छोडिएको छ। के यसलाई भत्काउनुपर्छ? भत्काउनै पर्छ भन्ने छैन। जग बलियो छ र संरचना स्थिर छ भने त्यो घरलाई सम्भवतः मर्मत गर्न सकिन्छ।
के त्यस घरको अवस्थाले तपाईंलाई आफ्नो विवाहको सम्झना गराउँछ? वर्षौंको दौडान कडा आँधीबेहरीरूपी घटनाहरूले तपाईंको वैवाहिक सम्बन्धमा प्रतिकूल प्रभाव पारिसकेको हुन सक्छ। तपाईं दुई जनामध्ये एक जना वा दुवैले केही हदसम्म हेलचेक्य्राइँ गरिरहेको पनि हुन सक्छ। तपाईंलाई पनि स्यान्डीलाई जस्तै महसुस भएको हुन सक्छ। पन्ध्र वर्षको वैवाहिक जीवनपछि तिनले यसो भनिन्: “हाम्रो एकअर्कासितको विवाहबीच समान कुरा केही थिएन। अनि त्यति मात्र भएर पुग्दैनथ्यो।”
तपाईंको विवाह यो बिन्दुसम्म पुगिसकेको भए तापनि अब अन्त गर्नुपर्छ भनेर हत्त न पत्त निष्कर्ष ननिकाल्नुहोस्। सम्भवतः तपाईंको विवाह पुनर्स्थापित गर्न सकिन्छ। तपाईं र तपाईंको जोडीबीच कत्तिको प्रतिबद्धता छ, त्यसमा निकै कुरा निर्भर हुन्छ। प्रतिबद्धताले परीक्षाको समयमा विवाहलाई स्थायित्व दिन मदत गर्न सक्छ। तर प्रतिबद्धता भनेको के हो? अनि बाइबलले यसलाई बलियो बनाउन कसरी मदत गर्न सक्छ?
प्रतिबद्धतामा दायित्व समावेश छ
एउटा शब्दकोशअनुसार प्रतिबद्धताले “दायित्वबोध वा भावनात्मक तवरले बन्धनमा परेको अवस्थालाई” बुझाउँछ। कहिलेकाहीं यो शब्द व्यापारिक कबुलियतनामा जस्ता अव्यक्त कुराहरूलाई पनि लागू हुन्छ। उदाहरणका लागि, ठेकेदारले घर निर्माण गर्न आफूले गरेको कबुलियतनामाका बुँदाहरू पूरा गर्नुपर्छ भन्ने दायित्व महसुस गर्लान्। तिनले ठेक्का दिने व्यक्तिलाई व्यक्तिगत तवरमा नचिनेका पनि हुन सक्छन्। तैपनि, तिनले आफ्नो वचनअनुसार काम गर्न बाध्य महसुस गर्छन्।
विवाह भावशून्य व्यापारिक लेनदेन नभए तापनि प्रतिबद्धतामा दायित्व समावेश छ। सम्भवतः तपाईं र तपाईंको जोडीले परमेश्वर र मानिस समक्ष जस्तोसुकै परिस्थिति आइपरे तापनि सँगै बाँच्ने वाचा बाँध्नुभएको छ। येशूले यस्तो उल्लेख गर्नुभयो: “के तिमीहरूले पढेका छैनौ, कि जसले [पुरूष र स्त्री] बनाउनुभयो, उहाँले तिनलाई शुरूदेखिनै नर र नारी गरी बनाउनुभयो, र भन्नुभयो, यही कारण मानिसले आफ्ना आमा-बाबुलाई छोड़ेर आफ्नो स्वास्नीसँग मिलिरहन्छ।” येशूले अझ भन्नुभयो: “जसलाई परमेश्वरले एक साथ जोडनुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्।” (मत्ती १९:४-६) त्यसकारण समस्या आइपर्दा तपाईं र तपाईंको जोडीले आफ्नो प्रतिबद्धता पूरा गर्न दृढ संकल्प गर्नुपर्छ।a एउटी पत्नी भन्छिन्: “हामीले सम्बन्ध विच्छेदलाई विकल्पको रूपमा सोच्न बन्द गरेपछि मात्रै परिस्थितिमा सुधार हुन थाल्यो।”
तर वैवाहिक प्रतिबद्धता भनेको दायित्व पूरा गर्नु मात्र होइन। अरू के-के कुरा समावेश छन्?
एकअर्कालाई सहयोग गर्दा विवाहप्रतिको प्रतिबद्धतालाई बलियो बनाउँछ
विवाहमा प्रतिबद्धताको अर्थ वैवाहिक जोडीबीच कहिल्यै मतभेद हुनेछैन भन्ने होइन। झगडा हुँदा आफ्नो वाचाको कारण दायित्वबोध भएर मात्र नभई विवाद सुल्झाउने साँचो इच्छा हुनुपर्छ तर भावनात्मक बन्धनको कारण। पति र पत्नीबारे येशूले यस्तो भन्नुभयो: “ती अब दुइ होइन, तर एउटै शरीर हुन्छन्।”
तपाईंको जोडीसँग “एउटै शरीर” हुनुको अर्थ के हो? प्रेरित पावलले “पतिहरूले पनि आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ” भनी लेखे। (एफिसी ५:२८, २९) त्यसकारण “एउटै शरीर” हुनुको एउटा पक्ष, तपाईं आफ्नो हितबारे जत्तिको चासो राख्नुहुन्छ, आफ्नो जोडीको हितबारे पनि त्यत्तिकै चासो लिनु हो। विवाहित व्यक्तिहरूले आफ्नो सोचाइलाई “मेरो” होइन “हाम्रो” र “म” होइन “हामी” बनाउनुपर्छ। एक जना सल्लाहकारले यस्तो लेखे: “दुवै जनाको हृदयमा म अविवाहित हुँ भन्ने सोचाइलाई हटाएर हृदयमा विवाहित हुनुपर्छ।”
के तपाईं र तपाईंको पति वा पत्नी “हृदयमा विवाहित” हुनुहुन्छ? विवाह भएको वर्षौं भए तापनि त्यो अर्थमा “एउटै शरीर” नहुनु सम्भव छ। हो, त्यस्तो हुन सक्छ तर गिभिङ टाइम अ चान्स नामक पुस्तक यसो भन्छ: “विवाह भनेको जीवन बाँड्ने हो र दुई व्यक्तिले जति धेरै बाँड्छन् त्यति नै धेरै फस्टाउँछ।”
कोही-कोही विवाहमा सन्तुष्ट नभएका दम्पतीहरू आफ्नो छोराछोरी वा आर्थिक सुरक्षाको लागि मात्रै सँगै बस्छन्। अरूचाहिं सम्बन्ध विच्छेदप्रति बलियो नैतिक अवरोधका कारण वा तिनीहरू छुट्टिंदा मानिसले के भन्लान् भन्ने डरले सहेर बसिरहन्छन्। यस्ता विवाहहरू टिकिरहनु सराहनीय कुरा हो, तर नबिर्सनुहोस्, तपाईंको लक्ष्य मायालु सम्बन्ध कायम राख्ने हुनुपर्छ, केवल विवाहलाई नटुंग्याउने होइन।
निस्स्वार्थ कार्यले वैवाहिक तिबद्धता बढाउँछ
“आखिरी दिनमा” मानिसहरू “स्वार्थी” हुनेछन् भनी बाइबलमा भविष्यवाणी गरिएको थियो। (२ तिमोथी ३:१, २) त्यही भविष्यवाणीअनुसार आज आफूलाई आराधना गर्नुलाई बढी जोड दिएको देखिन्छ। आज थुप्रै विवाहहरूमा आफूले बदलामा केही पाउने आशा नगरी आफूलाई पूर्णतया समर्पित गर्नु कमजोरीको चिह्नको रूपमा हेरिन्छ। तथापि, सफल विवाहमा दुवै जोडीले आत्म-त्यागी मनोभाव प्रदर्शन गर्छन्। तपाईंले त्यसो कसरी गर्न सक्नुहुन्छ?
‘यस सम्बन्धबाट मैले के पाउँछु?’ भन्ने प्रश्नमा ध्यान दिनुको सट्टा आफूलाई यस्तो प्रश्न सोध्नुहोस्, ‘मेरो विवाहलाई बलियो बनाउन मैले व्यक्तिगत रूपमा के गरिरहेको छु?’ बाइबलले बताएअनुसार मसीहीहरूले “आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान” दिनुपर्छ। (फिलिप्पी २:४) यस बाइबल सिद्धान्तमा गौर गर्दै विगत हप्ताको दौडान तपाईंका कार्यहरूलाई केलाउनुहोस्। तपाईंले आफ्नो पति वा पत्नीको लागि मात्रै दयाका कतिवटा कार्यहरू गर्नुभयो? तपाईंको पति वा पत्नीलाई कुरा गर्न चाहनुहुँदा तपाईंलाई खासै सुनुँजस्तो नलागे तापनि के तपाईंले सुन्नुभयो? आफूलाई त्यति खासै चासो नभए तापनि तपाईंको पति वा पत्नीलाई मन लाग्ने कतिवटा गतिविधिमा भाग लिनुभयो?
यस्ता प्रश्नहरूमाथि विचार गर्दा तपाईंको असल कार्यको वास्ता गरिने छैन भनी चिन्ता नलिनुहोस्। एउटा पुस्तक यसो भन्छ: “अधिकांश सम्बन्धहरूमा सकारात्मक व्यवहार गर्दा प्रतिक्रिया पनि सकारात्मक नै हुन्छ, त्यसैले तपाईं आफैले सकारात्मक ढंगमा व्यवहार गरेर तपाईंको जीवनसाथीलाई सकारात्मक व्यवहार गर्न प्रोत्साहन दिनुहोस्।” आत्म-त्यागी कार्यहरूले तपाईंको विवाहलाई बलियो बनाउँछ किनभने यसले तपाईं आफ्नो विवाहलाई मूल्यवान् ठान्नुहुन्छ र बचाउन चाहनुहुन्छ भनी देखाउँछ।
दीर्घकालीन दृष्टिकोण अत्यावश्यक छ
यहोवा परमेश्वरले वफादारिताको कदर गर्नुहुन्छ। साँच्चै बाइबलले यसो भन्छ: “वफादारप्रति [यहोवा] वफादार हुनुहुन्छ।” (२ शमूएल २२:२६, नयाँ संशोधित संस्करण) परमेश्वरप्रति वफादार रहनुमा उहाँले स्थापना गर्नुभएको विवाहको प्रबन्धप्रति वफादार रहनु पनि समावेश छ।—उत्पत्ति २:२४.
तपाईं र तपाईंको जोडी एकअर्काप्रति वफादार हुनुहुन्छ भने तपाईंले आफ्नो बन्धनको स्थायित्व अनुभूति गर्नुहुन्छ। तपाईंले आजभन्दा केही महिना, वर्ष र दशक पछिबारे सोच्नुहुँदा तपाईंले आफूलाई एकअर्काको साथमा देख्नुहुन्छ। एकअर्कासित विवाहित नभएको कल्पनासमेत गर्न सकिंदैन र यस्तो दृष्टिकोणले तपाईंको सम्बन्धलाई सुरक्षा प्रदान गर्छ। एउटी पत्नी भन्छिन्: “मलाई [मेरो पतिसित] असाध्यै रिस उठेको अनि दिक्क लागेको बेला पनि मलाई हाम्रो विवाह टुंगिएला भनेर चिन्ता लागिरहेको हुँदैन। हाम्रो सम्बन्ध फेरि कसरी पहिलाको जस्तै बनाउने भनेर मात्र चिन्ता लाग्छ। हाम्रो पुनः मिलाप हुनेछ भन्नेबारे मलाई पटक्कै शंका छैन, यति मात्र हो कि त्यतिखेर कसरी मिलाप गर्ने मलाई थाह हुँदैन।”
आफ्नो पति वा पत्नीप्रतिको प्रतिबद्धतामा दीर्घकालीन दृष्टिकोण राख्नु पनि एउटा अत्यन्तै महत्त्वपूर्ण पक्ष हो तर दुःखको कुरा, थुप्रै विवाहहरूमा यसको अभाव छ। झगडा एकदमै चर्काचर्की भएको बेला पति वा पत्नीले प्वाक्क यसो भन्न सक्छ, “म तिमीलाई छोड्दैछु!” वा “मलाई साँच्चै मूल्यांकन गर्ने अरू कोही नै खोज्छु!” हो, अक्सर यस्ता शब्दहरू साँच्चै भनिएका हुँदैनन्। तैपनि बाइबलले जिब्रो “भयंकर विषले भरिएको चंचल बदमास हो” भनी बताउँछ। (याकूब ३:८) डर तथा धम्कीले यस्तो सन्देश दिन्छ: ‘मलाई हाम्रो विवाह स्थायी जस्तो लाग्दैन। म कुनै पनि बेला छोड्न सक्छु।’ यस्ता कुराहरूको संकेत दिनु विवाहको लागि हानिकारक हुन सक्छ।
तपाईंले दीर्घकालीन दृष्टिकोण राख्नुहुँदा तपाईं आफ्नो जोडीसँग जस्तै कठिनाइ र साह्रो-गाह्रो आए तापनि सँगै बस्ने आशा गर्नुहुन्छ। यसको थप फाइदा छ। यसले तपाईं र तपाईंको जोडीलाई एकअर्काको कमजोरी र गल्तीहरू स्वीकार्न तथा स्वेच्छाले सहन अनि माफी दिन धेरै सजिलो हुन्छ। (कलस्सी ३:१३) एउटा निर्देशन पुस्तक यसो भन्छ: “असल विवाहमा तपाईं दुवै जनाका गल्तीका लागि ठाउँ हुन्छ र यसको बावजुद विवाह बन्धनलाई कायम राख्न सकिन्छ।”
तपाईंको विवाहको दिनमा तपाईंले विवाहको चलनलाई होइन तर एक जना जीवित व्यक्ति अर्थात् तपाईंको जोडीप्रति प्रतिबद्धता व्यक्त गर्नुभएको हो। यस तथ्यले तपाईंको अहिले सोचविचार गर्ने तरिका र विवाहित व्यक्तिको रूपमा चल्न गहिरो प्रभाव पार्नुपर्छ। तपाईंले वैवाहिक सम्बन्धको पवित्रतामा बलियो विश्वास राख्नुभएकोले मात्र होइन तर तपाईंले विवाह गर्ने व्यक्तिलाई प्रेम गर्नुभएकोले आफ्नो जोडीसँग रहने इच्छा गर्नुपर्छ भनेर के तपाईं सहमत हुनुहुन्न र?
[फुटनोट]
a कुनै-कुनै अचाक्ली अवस्थामा, विवाहित दम्पतीहरू छुट्टिनुमा जायज कारणहरू पनि हुन सक्छन्। (१ कोरिन्थी ७:१०, ११; यहोवाका साक्षीहरूद्वारा प्रकाशित पारिवारिक आनन्दको रहस्य पुस्तकको पृष्ठ १६०-१ हेर्नुहोस्।) यसबाहेक, व्यभिचार (यौन अनैतिकता) भएको खण्डमा बाइबलले सम्बन्ध विच्छेद गर्न अनुमति दिन्छ।—मत्ती १९:९.
[पृष्ठ ५-मा भएको पेटी/चित्र]
तपाईं अहिले के गर्न सक्नुहुन्छ
तपाईंको विवाहमा प्रतिबद्धताले कस्तो स्थान पाएको छ? सायद तपाईंले उन्नति गर्नुपर्ने ठाउँ देख्नुहुन्छ होला। तपाईंको प्रतिबद्धतालाई बलियो बनाउन निम्न कुराहरू विचार गर्नुहोस्:
● आत्म-परीक्षण गर्नुहोस्। आफैलाई सोध्नुहोस्: ‘के म साँच्चै हृदयमा विवाहित छु वा म अझै एक्लो व्यक्तिले जस्तै सोच्ने वा व्यवहार गर्ने गर्छु? यस क्षेत्रमा तपाईंको जोडीले कस्तो महसुस गर्छ पत्ता लगाउनुहोस्।
● यो लेख आफ्नो पति वा पत्नीसित पढ्नुहोस्। अनि शान्त ढंगमा तपाईंको विवाहमा तपाईंको प्रतिबद्धतालाई बलियो बनाउन सकिने तरिकाहरू छलफल गर्नुहोस्।
● आफ्नो प्रतिबद्धतालाई बलियो बनाउने गतिविधिहरूमा तपाईंको जोडीसँग भाग लिनुहोस्। उदाहरणका लागि: तपाईंको विवाहको दिन र अन्य स्मरणीय अवसरका फोटोहरू हेर्नुहोस्। विवाहपूर्व भेटघाट गर्दा वा विवाहका सुरु-सुरुका वर्षहरूमा तपाईंलाई रमाइलो लागेका कुराहरू गर्नुहोस्। प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाबाट विवाहसम्बन्धी बाइबल आधारित लेखहरू सँगै पढ्नुहोस्।
[पृष्ठ ६-मा भएको पेटी/चित्रहरू]
विवाहमा, प्रतिबद्धता भनेको . . .
● दायित्व “जे भाकल गर्दछस् त्यो पूरा गर्। भाकल गरेर पनि पूरा नगर्नुभन्दा ता भाकलै नगरेको असल हो।”—उपदेशक ५:४, ५.
● एकअर्कालाई सहयोग गर्दा “एकभन्दा दुइ असल हो। . . . किनभने एउटा लोट्यो भने अर्कोले आफ्नो साथीलाई उठ्न सहायता गर्छ।”—उपदेशक ४:९, १०.
● आत्म-त्याग “लिनुभन्दा दिनु अझ असल हो।”—प्रेरित २०:३५.
● दीर्घकालीन दृष्टिकोण “प्रेम . . . सबै कुरामा स्थिर रहन्छ।”—१ कोरिन्थी १३:४, ७.
[पृष्ठ ७-मा भएका चित्रहरू]
तपाईंको जीवनसाथी कुरा गर्न चाहँदा के तपाईं सुन्नुहुन्छ?