प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ५/१५ pp. २९-३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको पवित्र आत्मालाई सन्ताप नदिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • यहोवाको आत्माले उहाँका जनहरूलाई डोऱ्‍याउँदछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ५/१५ pp. २९-३१

पाठकहरूका प्रश्‍नहरू

• परमेश्‍वरको पवित्र आत्मा एउटा व्यक्‍ति नभए तापनि हामी कसरी त्यसलाई सन्ताप दिन सक्छौं?

“परमेश्‍वरका पवित्र आत्मालाई सन्ताप नदेऊ” भनी लेख्ने प्रेरित पावल थिए। (एफिसी ४:३०) कसै-कसैले यी शब्दहरू पढेपछि पवित्र आत्मा एउटा व्यक्‍ति हो भन्ठान्छन्‌। तथापि, प्रारम्भिक मसीहीहरूले पवित्र आत्मालाई न व्यक्‍ति नता तथाकथित त्रिएकको सर्वोच्च परमेश्‍वर बराबरको ईश्‍वर ठान्थे भन्‍ने धर्मशास्त्रीय तथा ऐतिहासिक प्रमाण ‘विश्‍वासी भण्डारेका’ प्रकाशनहरूले प्रस्तुत गरेका छन्‌।a (लूका १२:४२) त्यसकारण पावलले परमेश्‍वरको पवित्र आत्मालाई व्यक्‍तिको रूपमा सम्बोधन गरिरहेका थिएनन्‌।

परमेश्‍वरको पवित्र आत्मा भनेको उहाँको अदृश्‍य सक्रिय शक्‍ति हो। (उत्पत्ति १:२) यूहन्‍नाले पानीले बप्तिस्मा दिएझैं येशूले “पवित्र आत्मा[ले]” बप्तिस्मा दिनुहुने थियो। (लूका ३:१६) सा.यु. ३३ पेन्तिकोसमा १२० जना जति चेलाहरू “पवित्र आत्माले भरिए”—स्पष्टतः तिनीहरू व्यक्‍तिले भरिएका थिएनन्‌। (प्रेरित १:५, ८; २:४, ३३) यी अभिषिक्‍त जनहरूले स्वर्गीय आशा पाए अनि परमेश्‍वरको आत्माले तिनीहरूलाई विश्‍वासी जीवनतर्फ डोऱ्‍यायो। (रोमी ८:१४-१७; २ कोरिन्थी १:२२) यो आत्माले ईश्‍वरीय फल फलायो अनि ईश्‍वरीय अनुमोदन गुमाउन सक्ने पापी “शरीरका कामहरू” नगर्न तिनीहरूलाई मदत गऱ्‍यो।—गलाती ५:१९-२५.

हामी पार्थिव आशा भएका परमेश्‍वरका सेवकहरू हौं भने हामी पवित्र आत्माले अभिषिक्‍त भएका छैनौं। तैपनि हामीले पनि स्वर्गीय आशा भएकाहरूले जत्ति नै परमेश्‍वरको आत्मा पाउन सक्छौं। यसर्थ, हामीले पनि आत्मालाई सन्ताप दिन सक्छौं। तर कसरी?

पवित्र आत्माको निर्देशनमा लेखिएका धर्मशास्त्रीय सल्लाहलाई हामीले बेवास्ता गर्ने हो भने आत्माको विरुद्ध जानाजानी पाप गर्ने झुकाव विकास हुन सक्छ, यहोवाको अनुमोदन गुम्न सक्छ र अन्ततः विनाश हुन सक्छ। (मत्ती १२:३१, ३२) हामीले गम्भीर पाप गरिरहेका त नहौंला तर हामी गलत बाटोतिर लम्किरहेका हुन सक्छौं र त्यसले आत्माको निर्देशनभन्दा विपरीत दिशातर्फ लैजान सक्छ। त्यस्तो अवस्थामा हामीले पवित्र आत्मालाई सन्ताप दिइरहेका हुनेछौं।

त्यसोभए परमेश्‍वरको आत्मालाई सन्ताप नदिन हामी के गर्न सक्छौं? हामीले आफ्नो सोचाइ तथा कार्यलाई अवश्‍य नियन्त्रणमा राख्नुपर्छ। प्रेरित पावलले एफिसीहरूलाई लेखेको पत्रको अध्याय ४ मा बेइमान कुरा, क्रोधित भइरहने झुकाव, अल्छीपना अनि अनुपयुक्‍त बोलीबाट अलग्गै बस्नुपर्ने कुरा लेखे। हामीले “नयाँ व्यक्‍तित्व” धारण गरिसकेका छौं र अझै ती गलत कुराहरूतिर आफूलाई बहकिन दिन्छौं भने हामीले के गरिरहेका हुनेछौं? हामी परमेश्‍वरको वचन बाइबलको आत्मा-प्रेरित सल्लाहको विरुद्ध गइरहेका हुनेछौं। यसो गर्दा हामीले पवित्र आत्मालाई सन्ताप दिइरहेका हुन्छौं।

एफिसी अध्याय ५ मा पावलले व्यभिचारप्रति अस्वास्थ्यकर चासो राख्नदेखि अलग्गै रहन सल्लाह दिएको हामी पाउँछौं। सँगी विश्‍वासीहरूलाई अशिष्टता र बेमतलबको ठट्टाबाट अलग्गै बस्न प्रेरित पावल आग्रह गर्छन्‌। परमेश्‍वरको पवित्र आत्मालाई सन्ताप दिन चाहँदैनौं भने मनोरञ्जनको छनौट गर्दा हामीले यो कुरालाई मनमा राख्नुपर्छ। त्यस्ता विषयमा कुरा गरेर, पढेर अनि टिभी वा अन्य माध्यममा हेरेर ती कुराहरूमा किन चासो देखाउने?

हो, हामी अन्य तरिकामा आत्मालाई सन्ताप दिन सक्छौं। यहोवाको आत्माले मण्डलीमा एकता बढाउँछ तर मानिलिऊँ हामीले हानिकारक गफ फैलाउन थाल्यौं वा मण्डलीमा समूहहरू बनाउन थाल्यौं। अब के हामी एकता बढाउने आत्माको निर्देशन विपरीत काम गरिरहेका हुनेछैनौं र? साधारण अर्थमा भन्‍ने हो भने, कोरिन्थको मण्डलीमा विभाजन ल्याउनेहरूजस्तै हामीले पनि पवित्र आत्मालाई सन्ताप दिइरहेका हुनेछौं। (१ कोरिन्थी १:१०; ३:१-४, १६, १७) मण्डलीका आत्मा-नियुक्‍त पुरुषहरूलाई जानाजानी आदर दिंदैनौं भने पनि आत्मालाई सन्ताप दिइरहेका हुनेछौं।—प्रेरित २०:२८; यहूदा ८.

त्यसोभए, कुरा स्पष्ट छ, पवित्र आत्माको डोऱ्‍याइ हो भनेर बाइबल र मसीही मण्डलीमा झल्किने कुराहरूलाई विचार गर्दै हाम्रो मनोवृत्ति र कार्यलाई केलाउनु बुद्धिमानी हो। हामी पनि “पवित्र आत्मामा प्रार्थना” गरिरहौं, त्यसको निर्देशनलाई पछ्याऔं अनि परमेश्‍वरको प्रेरित वचनमा भनिएको कुरा अनुरूप सधैं व्यवहार गरिरहौं। (यहूदा २०) आत्मालाई कहिल्यै सन्ताप नदिने तर यहोवाको पवित्र नाउँको आदर हुनेगरी यसैको निर्देशनअनुसार चल्न कटिबद्ध होऔं।

• येशू ख्रीष्टले एक जना धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न कत्तिको गाह्रो हुन्छ भनेर बुझाउन सियोको नाथ्रीबाट छिर्न खोज्ने ऊँटसित तुलना गर्नुभयो। के येशूले साँच्चैको ऊँट र साँच्चैको सियोबारे कुरा गर्दै हुनुहुन्थ्यो?

यस वाक्यांशको तीनवटा धर्मशास्त्रीय उद्धरणमध्ये दुईवटा उस्ता-उस्तै छन्‌। मत्तीको विवरणअनुसार येशूले यसो भन्‍नुभयो: “धनी मानिसलाई परमेश्‍वरको राज्यभित्र पस्नुभन्दा बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुनेछ।” (मत्ती १९:२४) त्यसरी नै, मर्कूस १०:२५ मा यस्तो लेखिएको छ: “धनी मानिस परमेश्‍वरको राज्यभित्र पस्नुभन्दा ता बरू सियोको नाथ्रीबाट ऊँटलाई छिर्न सजिलो छ।”

केही सन्दर्भ सामग्रीअनुसार “सियोको नाथ्री” भनेको यरूशलेमका ठूल्ठूला ढोकाहरूमध्ये एउटा सानो ढोका थियो। राती ठूलो ढोका बन्द भएको खण्डमा सानो ढोका खोल्न सकिन्थ्यो। भनिन्छ, त्यो ढोकाबाट ऊँट छिर्न सक्थ्यो। के येशूले यो कुरा सम्झेर भन्दै हुनुहुन्थ्यो?

सम्भवतः होइन। येशूले सियोलाई सङ्‌केत गरिरहनुभएको हुन सक्छ। त्यस इलाकामा हाड र धातु दुवैबाट बनाइएका पुराना सियोहरू भेटिएको हुँदा ती सामान्य घरेलु वस्तुहरू हुनुपर्छ। लूका १८:२५ ले येशूका यी शब्दहरूबारे सबै शङ्‌का उपशङ्‌का हटाउँछ किनभने त्यस पदमा उहाँको कुरा यसरी उद्धरण गरिएको छ: “किनभने धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नभन्दा ता ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो छ।”

विभिन्‍न कोशकारहरू न्यु वर्ल्ड ट्रान्सलेसन-मा सियो अर्थ बुझाउन जुन शब्द प्रयोग गरिएको छ, त्यससित सहमत छन्‌। मत्ती १९:२४ र मर्कूस १०:२५ मा (राफीस) ‘सियो’ अर्थ बुझाउन प्रयोग गरिएको युनानी शब्द “सिउनु” भन्‍ने अर्थ बुझाउने क्रियाबाट लिइएको हो। अनि लूका १८:२५ मा पाइने युनानी पद (भेलोनी), शल्यचिकित्सामा प्रयोग गरिने साँच्चैको सियो बुझाउन प्रयोग गरिएको छ। भाइन्स एक्सपोजिटरी डिक्सनरी अफ ओल्ड एण्ड न्यु टेस्टामेन्ट वर्डस्‌ यसो भन्छ: “ ‘सियोको नाथ्री’ भन्‍ने अभिव्यक्‍तिलाई सानो ढोका भनेर अहिले आधुनिक समयमा अर्थ लगाइएको जस्तो देखिन्छ; यसरी पहिले कतै अर्थ लगाइएको पाइँदैन। यस वाक्यांशमा प्रभुको उद्देश्‍य मानव असम्भवता देखाउनु हो अनि सियोले जुन साधारण सामानलाई बुझाउँछ, त्योभन्दा अर्कै अर्थ लगाएर कठिनताको भावलाई हल्का बनाउनुपर्ने खाँचो छैन।”—१९८१, खण्ड ३, पृष्ठ १०६.

कोही-कोहीले यी पदहरूमा “ऊँट” शब्दलाई “डोरी” भनेर अनुवाद गर्नुपर्छ भन्छन्‌। डोरी (कामिलोस) र ऊँट (कामीलोस) बुझाउने युनानी शब्दहरू उस्ता-उस्तै छन्‌। तथापि, मत्तीको सुसमाचारको हाल अस्तित्वमा भएको सबैभन्दा पुरानो युनानी पाण्डुलिपिको (साइनाइटिक, भ्याटिकन नं. १२०९ र एलेक्जान्ड्रिन) मत्ती १९:२४ मा “डोरी” नभई “ऊँट” अर्थ बुझाउने युनानी शब्द प्रयोग गरिएको छ। प्राप्त रिपोर्टअनुसार मत्तीले सुसमाचारको पुस्तक पहिला हिब्रूमा लेखे अनि पछि आफैले युनानीमा अनुवाद गरेका हुन सक्छन्‌। तिनलाई येशूले ठ्याक्क के भन्‍न खोज्नुभएको हो भनेर थाह थियो अनि तिनले सही शब्द प्रयोग गरे।

अतः येशूले साँच्चैको सियो र साँच्चैको ऊँटबारे कुरा गर्दै हुनुहुन्थ्यो। उहाँले कुनै कुरा कत्तिको असम्भव हुन सक्छ भनी जोड दिन यी कुराहरू प्रयोग गर्नुभएको थियो। तर के येशूले कोही पनि धनी मानिस परमेश्‍वरको राज्यमा प्रवेशै गर्न सक्दैनन्‌ भन्‍न खोज्नुभएको थियो? थिएन किनभने येशूको भनाइ शाब्दिक अर्थमा थिएन। जसरी एउटा ऊँट सियोको नाथ्रीबाट छिर्न सक्दैन, त्यसरी नै धनी मानिस पनि आफ्नो धनसम्पत्तिमै निर्भर भइरहन्छ र आफ्नो जीवनमा यहोवालाई प्रथम स्थान दिंदैन भने परमेश्‍वरको राज्यमा प्रवेश गर्न असम्भव छ भनेर बुझाउन उहाँले अत्युक्‍ति प्रयोग गर्नुभएको थियो।—लूका १३:२४; १ तिमोथी ६:१७-१९.

एक जना धनी जवान शासकले येशूको अनुयायी हुने महान्‌ सुअवसरलाई लत्याएको लगत्तै येशूले यो कुरा भन्‍नुभएको थियो। (लूका १८:१८-२४) आध्यात्मिक कुराहरूभन्दा आफ्नो सम्पत्तिलाई बढी प्रेम गर्ने धनी व्यक्‍तिले परमेश्‍वरको राज्य प्रबन्धअन्तर्गत अनन्त जीवन पाउने आशा गर्न सक्दैन। यद्यपि, कोही-कोही धनी मानिसहरू येशूको चेला बने। (मत्ती २७:५७; लूका १९:२, ९) अतः आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सजग अनि ईश्‍वरीय मदत खोज्ने धनी व्यक्‍तिले ईश्‍वर-प्रदत्त मुक्‍ति पाउन सक्छन्‌।—मत्ती ५:३; १९:१६-२६.

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित शुड यु विलिभ इन द ट्रिनिटी? भन्‍ने पुस्तिका हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने