तिनीहरूले यहोवाको इच्छा गरे
येशूलाई मसीह र राजाको रूपमा जयजयकार गरिन्छ!
यरूशलेममा सा.यु. ३३ नीसान ९ का दिन हल्लाखल्ला गर्दै आएको ठूलो भीड देखेर यहूदीहरू छक्क परे। हुन त, निस्तार चाडअघि यसप्रकार मानिसहरू शहरमा ओइरिरहेको देख्नु कुनै असामान्य कुरा थिएन तैपनि यो भीड भने अलि बेग्लै थियो। यस भीडको प्रमुख पात्र चाहिं गधैनीको बछेडामाथि सवार भएका व्यक्ति थिए। उहाँ येशू ख्रीष्ट हुनुहुन्थ्यो र मानिसहरूले उहाँ जानुहुने बाटोमा आफ्नो लुगाफाटा तथा रूखका हाँगाहरू काटेर ओछ्याउँदै यसो भनेर कराउँदै थिए: “दाऊदका पुत्रलाई होसन्ना परमप्रभुको नाउँमा आउने धन्य हुन्, परमधाममा होसन्ना।” यरूशलेममा पुगिसकेका अरू थुप्रै मानिसहरू पनि त्यस भीड देखेर लावालस्करमा भाग लिन जुरमुरिए।—मत्ती २१:७-९; यूहन्ना १२:१२, १३.
अहिले उहाँको धुमधाम स्वागत गरिए तापनि पछि कस्तो सतावट भोग्नुपर्छ भनी येशूलाई थाह थियो। हो, त्यही शहरमा पाँच दिनपछि उहाँलाई मारिने थियो! अनि, येशूलाई यरूशलेम उहाँका विरोधीहरूको अखडा भनी थाह थियो र यही कुरा मनमा राख्दै उहाँ त्यस शहरभित्र प्रवेश गर्नुभयो।
पुरातन भविष्यवाणीको पूर्ति
येशू यरूशलेममा विजयल्लोससित प्रवेश गर्नुहुनेछ भनी जकरियाले सा.यु.पू. ५१८ मा भविष्यवाणी गरेका थिए। तिनले यसो लेखे: “हे सियोनकी छोरी, खूब रमाऊ! हे यरूशलेमकी छोरी, जयजयकार गर! हेर, तिम्रा राजा तिमीकहाँ आउँदैहुनुहुन्छ। उहाँ पराक्रमी र विजयी हुनुहुन्छ। उहाँ दीन हुनुहुन्छ र गधामाथि, अर्थात् गधैनीको बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्छ। . . . उहाँले अन्यजातिहरूसित शान्तिको कुरा गर्नुहुनेछ। उहाँको राज्य समुद्रसम्म र महानदीदेखि पृथ्वीको अन्तसम्मै हुनेछ।”—जकरिया ९:९, १०.
अतः नीसान ९ का दिन येशू यरूशलेममा प्रवेश गर्नुहुँदा बाइबलको उक्त भविष्यवाणी पूरा भयो। यो संयोगको घटना थिएन तर यसको लागि सबै प्रबन्ध पहिल्यै मिलाइएको थियो। यरूशलेममा प्रवेश गर्नुअघि येशूले आफ्ना दुइ जना चेलाहरूलाई यस्तो निर्देशन दिनुभएको थियो: “तिमीहरू सामनेको गाउँमा जाओ, र झट्टै तिमीहरूले एउटा गधा र त्यसको बछेड़ा बाँधिएका भेट्टाउनेछौ, तिनलाई फुकाएर मकहाँ ल्याओ। औ कसैले तिमीहरूलाई केही भन्यो भने, प्रभुलाई यिनको जरूरत परेको छ भनी तिमीहरूले भन र तिनले तुरुन्तै ती पठाइदिनेछन्।” (मत्ती २१:१-३) तर येशू बछेडामा सवार भएर यरूशलेममा जान किन चाहनुभएको? र भीडको क्रियाकलापले के प्रदर्शित गऱ्यो?
राजत्वबारे सन्देश
बोलेको वचनभन्दा देखेको कुरा अक्सर धेरै प्रभावशाली हुन्छ। त्यसैले समय समयमा भविष्यसूचक सन्देशहरूलाई प्रभावशाली बनाउन यहोवाले आफ्ना अगमवक्ताहरूलाई त्यस्ता घटनाहरू प्रदर्शन पनि गर्न लगाउनुभयो। (१ राजा ११:२९-३२; यर्मिया २७:१-६; इजकिएल ४:१-१७) दृश्यद्वारा प्रदान गरिएको यस उच्चतम समाचारले असाध्यै कठोर हृदय भएका दर्शकहरूलाई समेत अमेट छाप पार्थ्यो। त्यसैगरि, येशूले पनि बछेडामा सवार भएर यरूशलेम शहर जानुभएर एउटा प्रभावशाली सन्देश प्रदर्शन गर्नुभयो। कसरी?
बाइबलकालीन समयमा गधालाई महत्त्वपूर्ण कार्यको लागि प्रयोग गरिन्थ्यो। उदाहरणका लागि, सुलेमान, राजाको रूपमा नियुक्त हुनका लागि जाँदा आफ्नो बुबाको “खच्चरमा” चढेर गए। खच्चर भनेको गधाको ठिमाहा बच्चा हो। (१ राजा १:३३-४०) त्यसैले येशूले पनि गधामा चढेर यरूशलेम जानुभएर आफूलाई राजाको रूपमा प्रस्तुत गर्नुभयो।a भीडमा सामेल भएका मानिसहरूको क्रियाकलापले उहाँ राजा हुनुहुन्छ भन्ने कुरालाई अझै पुष्टि गऱ्यो। निस्सन्देह, त्यस भीडमा धेरैजसो गालीलवासीहरू थिए र तिनीहरूले येशू जानुहुने बाटोमा लुगाफाटा ओछ्याइ दिए। यो कार्यले येहू राजा हुँदा सार्वजनिक रूपमा घोषणा भएको घटनालाई स्मरण गराउँछ। (२ राजा ९:१३) तिनीहरूले येशूलाई “दाऊदका पुत्र” भनी सम्बोधन गर्दा शासन गर्ने उहाँको कानुनी अधिकारबारे झनै पुष्टि दियो। (लूका १:३१-३३) अनि तिनीहरूले खजूरका हाँगाहरू हल्लाएर उहाँको राजकीय अख्तियारको अधीनमा बस्ने आफ्नो चाहना स्पष्टसित देखाए।—प्रकाश ७:९, १० तुलना गर्नुहोस्।
त्यसैले नीसान ९ मा निस्केको लावालस्करले येशू नै परमेश्वरद्वारा नियुक्त मसीह र राजा हुनुहुन्छ भनी स्पष्ट देखायो। निस्सन्देह, येशू यसरी सवार भएको सबै मानिसहरूलाई चित्त बुझेको थिएन। येशूलाई यस्तो राजकीय आदर देखाउनु विशेषगरि फरिसीहरूलाई पटक्कै चित्त बुझेको थिएन। पक्कै पनि रिसाउँदै तिनीहरूले यसो भने, “हे गुरु, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्।” तर येशूले भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, यिनीहरू चूप लागे भने ढुंगाहरू कराउनेछन्।” (लूका १९:३९, ४०) हो, येशूको प्रचारकार्यको मुख्य विषय नै परमेश्वरको राज्य थियो। चाहे मानिसहरूले स्वीकारून् वा नस्वीकारून्, उहाँले निडरतापूर्वक त्यो सन्देश घोषणा गर्नुहुनेथियो।
हाम्रोलागि पाठ
अगमवक्ता जकरियाले भविष्यवाणी गरेअनुरूप ढंगमा यरूशलेममा प्रवेश गर्न येशूलाई निकै साहस चाहिएको थियो। त्यसो गर्दा आफ्ना शत्रुहरूको रीस खप्नुपर्छै भनी उहाँलाई थाह थियो। स्वर्गमा जानुअघि येशूले आफ्ना अनुयायीहरूलाई परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न र “सबै देशका जातिहरूलाई चेला” बनाउन आदेश दिनुभयो। (मत्ती २४:१४; २८:१९, २०) यो कार्य सम्पन्न गर्न पनि साहस चाहिन्छ। सबै जना यो सन्देश सुनेर खुशी हुँदैनन्। कोही भावशून्य छन् भने कोहीले विरोध गर्छन्। केही सरकारहरूले प्रचारकार्यमा रोक लगाएका छन् भने कुनै कुनै सरकारले पूर्णतया प्रतिबन्ध लगाएका छन्।
तैपनि, मानिसहरूले सुनुन् या नसुनुन्, परमेश्वरको स्थापित राज्यको सुसमाचार प्रचार गर्नुपर्छ भनी यहोवाका साक्षीहरूले बुझेका छन्। (इजकिएल २:७) जीवन बचाउने यो कार्यमा भाग लिंदा तिनीहरू येशूको यस प्रतिज्ञामा ढुक्क छन्: “हेर, म सब दिन, अँ, जगत्को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।”—मत्ती २८:२०.
[फुटनोट]
a मर्कूसको विवरणअनुसार त्यो “अहिलेसम्म कोही मानिस नचढ़ेको बछेड़ा” थियो। (मर्कूस ११:२) स्पष्टतः, कुनै पनि प्रकारका कार्यको लागि नचलाइएको जनावर पवित्र कार्यको निम्ति झनै उपयुक्त हुन्छ।—तुलना गर्नुहोस् गन्ती १९:२; व्यवस्था २१:३; १ शमूएल ६:७.