प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ८/१५ pp. २९-३०
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • पुनरुत्थान—तपाईंलाई असर गर्ने शिक्षा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • “मैले पनि परमेश्‍वरमा आशा राखेको छु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • पुनरुत्थानको आशाको शक्‍ति
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • फेरि जीवित हुने पक्का आशा!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ८/१५ pp. २९-३०

पाठकहरूको प्रश्‍न

येशूले सदुकीहरूलाई पुनर्जीवित भएकाहरूले “विवाह गर्नेछैनन्‌” भन्‍नुभयो। (लूका २०:३४-३६) के उहाँले पृथ्वीमा हुने पुनर्जीवनको विषयमा कुरा गर्दै हुनुहुन्थ्यो?

विशेषगरि मृत्युको कारण जीवनसाथी गुमाएकाहरूको लागि यो प्रश्‍न अर्थपूर्ण छ। तिनीहरूले नयाँ संसारमा पुनर्जीवित भएको आफ्नो श्रीमान्‌ वा श्रीमतीसित फेरि एक हुने आशा गरिरहेका हुन सक्छन्‌। श्रीमती गुमाएका एक भाइ यसो भन्छन्‌, “हामीले सधैंका लागि वैवाहिक बन्धनमा बाँधिने निर्णय गरेका थियौं। हामी सधैंभरि सँगै यहोवाको सेवा गरिरहन चाहन्थ्यौं। अझै पनि म त्यही चाहन्छु।” पुनर्जीवित भएकाहरूले विवाह गर्नेछन्‌ भन्‍ने कुनै आधार छ? हामी यसबारे केही भन्‍न सक्दैनौं।

लामो समयदेखि हाम्रा प्रकाशनहरूले यस्तो कुरा बताउँदै आएको थियो: येशूले पुनर्जीवन र विवाहबारे कुरा गर्नुहुँदा सम्भवतः पृथ्वीमा हुने पुनर्जीवनबारे बताउँदै हुनुहुन्थ्यो र पुनर्जीवित भएकाहरूले विवाह गर्नेछैनन्‌।a (मत्ती २२:२९, ३०; मर्कू. १२:२४, २५; लूका २०:३४-३६) तर येशूले स्वर्गीय पुनर्जीवनबारे पो कुरा गर्दै हुनुहुन्थ्यो कि? हामी तोकेरै भन्‍न सक्दैनौं। यसबारे येशूले भन्‍नुभएको केही कुरा विचार गरौं।

पुनर्जीवनबारे बताउनुहुँदा येशू कोसँग कुरा गर्दै हुनुहुन्थ्यो? (लूका २०:२७-३३ पढ्‌नुहोस्‌) पुनर्जीवनमा विश्‍वास नगर्ने सदुकीहरूसँग। तिनीहरू पुनर्जीवनबारे अनि विधवाले श्रीमान्‌को दाइ वा भाइसित विवाह गर्ने चलनबारे कुरा गरेर येशूलाई फसाउन खोज्दै थिए।b येशूले तिनीहरूलाई यसो भन्‍नुभयो, “यस युगका मानिसहरूले विवाह गर्छन्‌। तर पुनर्जीवित हुन र आउँदै गरेको युगमा जीवन पाउन योग्य ठहरिएकाहरूले विवाह गर्नेछैनन्‌। वास्तवमा, तिनीहरू फेरि कहिल्यै मर्नेछैनन्‌, किनकि तिनीहरू स्वर्गदूतहरूजस्तै हुनेछन्‌ र पुनर्जीवित भएको हुनाले तिनीहरू परमेश्‍वरका छोराछोरी बन्‍नेछन्‌।”—लूका २०:३४-३६.

येशूले सम्भवतः पृथ्वीमा हुने पुनर्जीवनबारे कुरा गर्दै हुनुहुन्थ्यो भनेर हाम्रा प्रकाशनहरूले बताउनुको कारण के हो? दुइटा कारण छ। पहिलो, येशूसँग कुरा गर्दा सायद सदुकीहरूले पृथ्वीमा हुने पुनर्जीवनबारे विचार गर्दै थिए। त्यसकारण येशूले पनि पृथ्वीमा हुने पुनर्जीवनबारे नै कुरा गर्दै हुनुहुन्थ्यो भनेर बताइएको थियो। दोस्रो, येशूले पृथ्वीमा जीवन पाउने आशा भएका अब्राहाम, इसहाक र याकूबबारे उल्लेख गर्दै कुरा टुङ्‌ग्याउनुभयो।—लूका २०:३७, ३८.

तर येशूले स्वर्गीय पुनर्जीवनबारे कुरा गर्नुभएको हो कि जस्तो पनि देखिन्छ। हामी किन यसो भन्‍न सक्छौं? आउनुहोस्‌, येशूले बताउनुभएको दुइटा कुरा विचार गरौं।

“पुनर्जीवित हुन . . . योग्य ठहरिएकाहरू।” विश्‍वासी अभिषिक्‍त ख्रीष्टियनहरू “परमेश्‍वरको राज्य हासिल गर्न योग्य ठहरिएका” छन्‌। (२ थिस्स. १:५, ११) तिनीहरू फिरौतीको आधारमा यहोवासामु असल ठहरिएका छन्‌; तिनीहरू पापको दोषीको रूपमा मर्दैनन्‌। (रोमी ५:१, १८; ८:१) तिनीहरूलाई “धन्य अनि पवित्र” भनिएको छ र तिनीहरू स्वर्गमा पुनर्जीवित हुन एकदमै योग्य छन्‌। (प्रका. २०:५, ६) अर्कोतर्फ, पृथ्वीमा पुनर्जीवित हुनेहरूमा ‘परमेश्‍वरको स्तरबमोजिम असल काम नगर्नेहरू’ पनि पर्छन्‌। (प्रेषि. २४:१५) त्यसोभए के तिनीहरूलाई पुनर्जीवित हुन “योग्य ठहरिएकाहरू” भन्‍न सकिन्छ?

“तिनीहरू फेरि कहिल्यै मर्नेछैनन्‌।” अन्य बाइबलमा यस अभिव्यक्‍तिलाई यसरी पनि अनुवाद गरिएको छ: “तिनीहरू मृत्युको अधीनमा छैनन्‌” र “तिनीहरूमाथि मृत्युको कुनै अख्तियार छैन।” मृत्युसम्मै वफादार रहेका अभिषिक्‍त ख्रीष्टियनहरूलाई स्वर्ग लगिन्छ। त्यसपछि तिनीहरूले अमर जीवन पाउँछन्‌। यसको अर्थ तिनीहरू कहिल्यै पनि मर्दैनन्‌ र तिनीहरूलाई कसैले पनि नाश गर्न सक्दैन। (१ कोरि. १५:५३, ५४) पुनर्जीवित भएर स्वर्ग जानेहरू मृत्युको अधीनमा हुँदैनन्‌।c

यी कुराहरू विचार गर्दा हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं? येशूले स्वर्गीय पुनर्जीवनबारे कुरा गर्नुभएको हुन सक्छ। येशूले भन्‍नुभएको कुराबाट स्वर्गमा जीवन पाएकाहरूबारे तीनवटा कुरा बुझ्न सक्छौं: (१) तिनीहरूले विवाह गर्दैनन्‌, (२) तिनीहरू कहिल्यै मर्दैनन्‌ र (३) तिनीहरू स्वर्गदूतहरूजस्तै हुन्छन्‌। यदि येशूले स्वर्गीय पुनर्जीवनबारे कुरा गर्दै हुनुहुन्थ्यो भने निम्न प्रश्‍नहरूको जवाफ पाउनु आवश्‍यक छ।

पहिलो, सम्भवतः पृथ्वीमा हुने पुनर्जीवनबारे सोचिरहेका सदुकीहरूलाई जवाफ दिंदा येशूले किन स्वर्गीय पुनर्जीवनबारे बताउनुभयो? येशूले सधैं नै आफ्ना विरोधीहरूलाई उनीहरूले सोचेजस्तो जवाफ दिनुभएन। जस्तै, येशूसित चिन्ह मागेका यहूदीहरूलाई उहाँले यसो भन्‍नुभयो, “यो मन्दिर भत्काओ अनि तीन दिनमा म यसलाई फेरि खडा गर्नेछु।” उनीहरूले साँच्चैको मन्दिरबारे सोचिरहेका छन्‌ भनेर येशूलाई थाह थियो होला “तर उहाँले जुन मन्दिरको विषयमा बताउँदै हुनुहुन्थ्यो, त्यो उहाँको शरीर थियो।” (यूह. २:१८-२१) पुनर्जीवन र स्वर्गदूतहरूको अस्तित्वमा विश्‍वास नगर्ने ती कपटी सदुकीहरूलाई जवाफ दिन येशूले आवश्‍यक ठान्‍नुभएन। (हितो. २३:९; मत्ती ७:६; प्रेषि. २३:८) बरु, आफ्ना निष्कपट चेलाहरूको फाइदाको लागि उहाँले स्वर्गीय पुनर्जीवनबारे सत्य कुरा बताउन चाहनुभएको हुन सक्छ। भविष्यमा ती चेलाहरू स्वर्गमा जीवन पाउनेहरूमध्ये हुने थिए।

दोस्रो, येशूले किन पृथ्वीमा जीवन पाउने आशा भएका अब्राहाम, इसहाक र याकूबबारे उल्लेख गर्दै कुरा टुङ्‌ग्याउनुभयो? (मत्ती २२:३१, ३२ पढ्‌नुहोस्‌) ती वफादार पुरुषहरूबारे उल्लेख गर्नुअघि येशूले “मरेकाहरूले पुनर्जीवन पाउने विषयमा” भन्‍ने अभिव्यक्‍ति चलाउनुभयो। यो अभिव्यक्‍ति चलाएर येशूले पृथ्वीमा हुने पुनर्जीवनतिर कुरा मोड्‌दै हुनुहुन्थ्यो। सदुकीहरू मोशाको लेखोटमा विश्‍वास गर्छन्‌ भनेर येशूलाई थाह थियो। त्यसकारण जलिरहेको पोथ्रा नजिक उभिरहेका मोशालाई यहोवाले भन्‍नुभएको कुरा येशूले उल्लेख गर्नुभयो। येशू सदुकीहरूलाई पृथ्वीमा हुने पुनर्जीवनबारे यहोवाले राख्नुभएको उद्देश्‍य अवश्‍य पूरा हुन्छ भनेर प्रमाण दिन चाहनुहुन्थ्यो।—प्रस्थ. ३:१-६.

तेस्रो, येशूले स्वर्गीय पुनर्जीवनबारे कुरा गर्दै हुनुहुन्थ्यो भने के यसको मतलब पृथ्वीमा पुनर्जीवित भएकाहरूले विवाह गर्नेछन्‌ भन्‍ने हो? यस प्रश्‍नको जवाफ बाइबलले तोकेरै दिएको छैन। येशूका शब्दहरूबाट पृथ्वीमा पुनर्जीवित भएकाहरूले विवाह गर्छन्‌ कि गर्दैनन्‌ भन्‍ने कुरा स्पष्ट हुँदैन।

जीवनसाथीको मृत्यु हुँदा वैवाहिक सम्बन्धको अन्त हुन्छ। त्यसकारण श्रीमान्‌ वा श्रीमती गुमाएकाहरूले विवाह गर्ने निर्णय गरेका छन्‌ भने दोषी महसुस गर्नुपर्दैन। यो व्यक्‍तिगत निर्णय हो अनि जीवनसाथीको खाँचो महसुस गरिरहेका त्यस्ता भाइबहिनीको कसैले पनि आलोचना गर्नुहुँदैन।—रोमी ७:२, ३; १ कोरि. ७:३९.

नयाँ संसारबारे हाम्रो मनमा विभिन्‍न प्रश्‍न उठ्‌नु स्वाभाविकै हो। तर त्यस्ता प्रश्‍नहरूबारे अनावश्‍यक खोजीनिती गर्नुको साटो धीरजी भई पर्खनुपर्छ। हामी यस कुरामा ढुक्क छौं: आज्ञाकारी मानिसहरू आनन्दित हुनेछन्‌ किनकि यहोवाले उनीहरूको हरेक आवश्‍यकता र इच्छा पूरा गरिदिनुहुनेछ।—भज. १४५:१६.

a प्रहरीधरहरा (अङ्‌ग्रेजी), जून १, १९८७, पृष्ठ ३०-३१ हेर्नुहोस्‌।

b बाइबल लेखिएको समयमा विधवाले श्रीमान्‌को दाइ वा भाइसित विवाह गर्ने चलन थियो। कुनै व्यक्‍ति निस्सन्तान मरे भने तिनकी श्रीमतीले तिनको दाइ वा भाइसित विवाह गर्नुपर्थ्यो। यसो गर्दा वंश धान्‍न सकिन्थ्यो।—उत्प. ३८:८; व्यव. २५:५, ६.

c पृथ्वीमा जीवन पाउन पुनर्जीवित भएकाहरूले अमर जीवन होइन, अनन्त जीवन पाउनेछन्‌। अमर जीवन र अनन्त जीवनको भिन्‍नता बुझ्न प्रहरीधरहरा (अङ्‌ग्रेजी), अप्रिल १, १९८४, पृष्ठ ३०-३१ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने