“तपाईंको आगमनको चिह्न के हुन्छ?”
“यो कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र जगतको अन्तको चिह्न के हुन्छ?” —मत्ती २४:३.
धेरै मानिसहरू भविष्यबारे चासो राख्छन्। के तपाईं राख्नुहुन्न र? “भविष्यबारे अध्ययन गर्ने सङ्गठनहरू अकस्मात् छ्यास्छ्यास्ती बढेको” प्राध्यापक आल्भीन टफ्लरले आफ्नो पुस्तक फ्युचर शक-मा टिपोट गरे। उनले अझै लेखे: ‘भविष्य पत्ता लगाउन वैचारिक केन्द्रहरू गठन भएको; बेलाइत, फ्रान्स, इटाली, जर्मनी र संयुक्त राज्य अमेरिकामा भविष्य बताउने पत्रिकाहरूमा वृद्धि भएको; विश्वविद्यालयमा भावी बताउने पाठ्यक्रमहरू अधिक मात्रामा थपिएको हामीले देखिरहेका छौं।’ टफ्लरले आफ्नो विचार यसरी टुङ्ग्याए: “तर, वास्तवमा, कसैले पनि भविष्यबारे पूर्णतया ‘थाहा’ पाउन भने सक्दैन।”
२ साइन्स् अफ थिङ्गस् टु कम भन्ने पुस्तकले भन्छ: “हात हेर्ने, काँचको डल्लो अथवा तास हेरेर भावी बताउने, ज्योतिष शास्त्र, र एउटा पूर्वीय पुस्तक अर्थात् ये जिङ्ग-द्वारा भावी बताउने जस्ता तरिकाहरू सबै धेरथोर जटिल भए तापनि आफ्नो भविष्यबारे केही जानकारी दिने प्रविधिहरू हुन्।” तर यस्ता मानव पद्धतिहरूमा भर पर्नुभन्दा भरपर्दो स्रोत, यहोवातिर फर्किनु बेस हुनेछ।
३ साँचो परमेश्वरले भन्नुभयो: “जो युक्ति मैले गरेको छु, त्यो निश्चय पूरा हुनेछ, जो अभिप्राय मैले गरेको छु, त्यो निश्चय स्थिर रहनेछ।” (यशैया १४:२४, २७; ४२:९) हो, यहोवाले भविष्यमा के हुनेछ भनेर मानवजातिलाई सल्लाह दिन सक्नु भएको छ। यसो गर्न उहाँले मानिसहरूलाई नै प्रवक्ताहरूको रूपमा प्रयोग गर्नुभयो। तीमध्ये एक भविष्यवक्ताले लेखे: “निश्चय परमेश्वरले आफ्ना दास अगमवक्ताहरूलाई आफ्नो रहस्य प्रकट नगरीकन केही गर्नुहुनेछैन।”—आमोस ३:७, ८; २ पत्रुस १:२०, २१.
४ परमेश्वरको प्रथम अगमवक्ता येशू ख्रीष्ट हुनुहुन्छ। (हिब्रू १:१, २) हाम्रा वरपर विद्यमान घटनाहरूबारे येशूका प्रमुख भविष्यवाणीहरूमध्ये एउटालाई हामी ध्यान देऔं। यस भविष्यवाणीले वर्तमान दुष्ट रीतिरिवाजको अन्तपश्चात् त्यसको ठाउँमा परमेश्वरले पार्थिव प्रमोदवन प्रतिस्थापन गर्नु हुँदा लगत्तैपछि के हुनेछ भन्ने विषयमा पनि अर्न्तदृष्टि प्रदान गर्छ।
५ येशूले आफूलाई एक अगमवक्ता साबित गरी सक्नु भएको थियो। (मर्कूस ६:४; लूका १३:३३; २४:१९; यूहन्ना ४:१९; ६:१४; ९:१७) तसर्थ, जैतून डाँडाबाट यरूशलेमलाई हेरिरहेका येशूका प्रेरितहरूले भविष्यबारे निम्न प्रश्न गर्नुको तात्पर्य बुझ्न कुनै गाह्रो पर्दैन। तिनीहरूले सोधे: “यो कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र जगतको अन्तको चिह्न के हुन्छ?”—मत्ती २४:३; मर्कूस १३:४.
६ तिनीहरूको प्रश्न तथा येशूको उत्तर तपाईंले मत्ती अध्याय २४, मर्कूस अध्याय १३ र लूका अध्याय २१-मा पाउनुहुनेछ।a धेरै तरिकामा ती विवरणहरू एक अर्काका पूरकहरू जस्तो देखिन्छन् तर तिनीहरू दुरुस्तै भने छैनन्। उदाहरणको लागि, लूकाले मात्र ‘विभिन्न ठाउँहरूमा रूढी’ हुने विवरण दिएका छन्। (लूका २१:१०, ११; मत्ती २४:७; मर्कूस १३:८) के येशूले आफ्ना स्रोताहरूको जीवनकालमा घट्ने घटनाहरूबारे मात्र भविष्यवाणी गर्दै हुनुहुन्थ्यो अथवा उहाँको मनमा हाम्रो समय र अझै पछि हुने कुराहरू पनि थियो भनी प्रश्न गर्नु तार्किक नै हुनेछ।
प्रेरितहरूले जान्न चाहन्थे
७ यहूदीहरूको राजधानी यरूशलेमलाई परमेश्वरले तिरस्कार गर्नुभयो भनी येशूले आफू मारिनुभन्दा केही दिनअघि मात्र घोषणा गर्नुभयो। त्यो शहर र त्यसको विशाल मन्दिर पनि नष्ट हुनेथियो। यसपश्चात् केही प्रेरितहरूले ‘येशूको आगमन र जगतको अन्तको चिह्न’ मागे। (मत्ती २३:३७-२४:३) निस्सन्देह तिनीहरूले यहूदी रीतिरिवाज र यरूशलेमबारे सोचिरहेका थिए किनभने तिनीहरूले अगाडि हुन लागेका विस्तृत कुराहरू बुझेका थिएनन्। तर येशूले तिनीहरूलाई जवाफ दिनुहुँदा रोमीहरूले यरूशलेमलाई सा०यु० ७०-मा नाश गर्ने समय लगायत टाढाको भविष्यमा हुने कुराहरू दृष्टिगत गर्दै हुनुहुन्थ्यो।—लूका १९:११; प्रेरित १:६, ७.
८ जातिको विरुद्धमा जाति, राज्यको विरुद्धमा राज्य, अनिकाल, भैंचालो, डरलाग्दा दृश्यहरू र आकाशीय चिह्नहरूबारे येशूले भन्नुभयो। यी विवरणहरू तपाईंले सुसमाचारको तीन वटा पुस्तकहरूमा पढ्न सक्नुहुन्छ। येशूले ती चिह्नहरू दिनुभएको समय (सा०यु० ३३) देखि यरूशलेमको विनाश (सा०यु० ६६-७०) हुने समयावधिमा झूटा अगमवक्ताहरू र झूटा ख्रीष्टहरू खडा हुने थिए। येशूको समाचार प्रचार गरिरहेका मसीहीहरूलाई यहूदीहरूले सताउने थिए।
९ त्यस चिह्नको यी अंशहरू साँच्चै पूरा भए भन्ने कुरालाई इतिहासकार फ्लेभियस जोसेफसले पनि पुष्टि दिन्छन्। रोमीहरूले आक्रमण गर्नुअघि झूटा मसीहहरूले विद्रोह गर्न मानिसहरूलाई भड्काए भनी उनी लेख्छन्। यहूदिया र अन्य ठाउँहरूमा भयङ्कर भैंचालोहरू गए। रोमी साम्राज्यका धेरै क्षेत्रहरूमा युद्धहरू छेंडिए। के त्यहाँ ठूलठूला अनिकालहरू पनि भए? निश्चय नै भए। (प्रेरित ११:२७-३० तुलना गर्नुहोस्।) राज्य प्रचार कार्य नि? सा०यु० ६० वा ६१ तिर कलस्सीको पुस्तक लेखिंदा परमेश्वरको राज्यको “सुसमाचारको आशा” अफ्रिका, एशिया र यूरोपमा चारैतिर फैलिसकेको थियो।b—कलस्सी १:२३.
“त्यसपछि” अन्त
१० भविष्यवाणीहरूका कुनै कुनै अंशहरूमा येशूले घटनाक्रमलाई सिलसिलाबद्ध ढङ्गमा प्रस्तुत गर्नुभएको छ। उहाँले भन्नुभयो: “राज्यको यो सुसमाचार . . . प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” अङ्ग्रेजी बाइबलहरूमा “तसर्थ” अथवा “तर” भन्ने अर्थ बुझाउन बारम्बार “त्यसपछि” प्रयोग भएको छ। (मर्कूस ४:१५, १७; १३:२३) तथापि, मत्ती २४:१४-मा प्रयोग गरिएको “त्यसपछि” भन्ने शब्द युनानी क्रियाविशेषण टोटे-मा आधारित छ।c टोटे भनेको “समयको दौडानमा हुने घटनाहरू” अथवा “तत्पश्चात् हुने घटनाहरू” बुझाउने “समयको व्याख्यात्मक क्रियाविशेषण” हो भनी युनानी भाषाविद्हरू वर्णन गर्छन्। अतः, राज्य प्रचार हुनेछ र त्यसपछि (‘त्यसपश्चात्’ अथवा ‘तत्पश्चात्’) “अन्त” आउनेछ भनेर येशूले भविष्यवाणी गर्नुभयो। तर कुन अन्त?
११ येशूले भविष्यवाणी गर्नु भएका घटनाहरूको प्रथम पूर्ति यहूदी रीतिरिवाजको अन्त हुन अघि भयो। येशूले भविष्यवाणी गर्नुभएका युद्ध, भैंचालो, अनिकाल र एवम् प्रकारका घटनाहरू तीन दशकभित्र साँच्चै घटे। यद्यपि, मत्ती २४:१५, मर्कूस १३:१४ र लूका २१:२० देखि पढ्दै लग्दा यी घटनाहरू छिट्टै हुन लागेको विनाश अर्थात् ढोकैमा भएको अन्तसित प्रत्यक्षतः सम्बन्धित थियो।—विवरणिकामा एकसरो थोप्ले धर्सा कोरेका अंशहरू हेर्नुहोस्।
१२ यहूदीहरूले सा०यु० ६६-मा गरेको विद्रोहको बदलामा सेस्टियस ग्यालसको नेतृत्वमा आएका रोमी फौजहरूले यहूदीहरूले पवित्र मानेको शहर अर्थात् यरूशलेम विरुद्ध जाइ लागे र यस शहरलाई घेरे। (मत्ती ५:३५) यहूदीहरूको जवाफी हमलाको अतिरिक्त रोमीहरू बलजफती शहरभित्र घुसे। यसरी “पवित्र स्थानमा खडा” हुनेछ भनी मत्ती २४:१५ र मर्कूस १३:१४-मा येशूले गर्नुभएको भविष्यवाणी सत्य साबित भयो। त्यसपछि एउटा छक्कलाग्दो कुरा भयो। शहरलाई पूरै घेरिसकेर पनि रोमीहरू अचानक फर्केर गए। यो येशूको भविष्यवाणीको पूर्ति अनुरुप हो भनी मसीहीहरूले बुझिहाले र त्यसरी रोमीहरू फर्केर जाँदा तिनीहरू यहूदियाबाट यर्दनपारिका पहाडहरूतिर भाग्न सके। तिनीहरूले ठीक यस्तै गरे भनी इतिहासले बताउँछ।
१३ रोमीहरू यरूशलेमबाट फर्किसकेका थिए भने कसैलाई पनि भाग्ने खाँचो नै किन पऱ्यो र? किनभने जुन घटना घट्यो त्यो ‘यरूशलेमको विनाश नजिकै आइपुगेछ’ भन्ने कुराको प्रमाण हो भनी येशूका शब्दहरूले स्पष्ट पाऱ्यो। (लूका २१:२०) हो, त्यो नजिकै आइ पुगेको विनाश। ‘जगतको सुरुदेखि अहिलेसम्म कहिल्यै नभएको नता फेरि कहिल्यै हुने महासङ्कष्टबारे’ उहाँले भविष्यवाणी गर्नुभएको थियो। झन्डै साढे तीन वर्षपश्चात्, सा०यु० ७०-मा सेनानी टाइटसको नेतृत्वमा आएका रोमी फौजहरूको हातमा यरूशलेमले “महासङ्कष्ट” भोग्नु पऱ्यो। (मत्ती २४:२१; मर्कूस १३:१९) उसोभए येशूले त्यसलाई अघिपछि कहिल्यै नभएको सबैभन्दा ठूलो महासङ्कष्ट भनेर किन वर्णन गर्नुभयो त?
१४ बेबिलोनीहरूले सा०यु०पू० ६०७-मा यरूशलेमलाई भताभुङ्ग पारिसकेका थिए र वर्तमान शताब्दीमा पनि त्यस शहरले क्रूर युद्धहरू सामना गर्दै आएको छ। यसो भए तापनि, सा०यु० ७०-मा घटेको घटना अपूर्व ढङ्गमा एउटा महासङ्कष्ट नै थियो। लगभग पाँच महिने अभियानमा टाइटसका योद्धाहरूले यहूदीहरूलाई पराजित गरे। तिनीहरूले लगभग ११,००,०००-लाई मारे र झन्डै १,००,०००-लाई दासत्वमा लगे। यस बाहेक रोमीहरूले यरूशलेमको विध्वंस गरे। एक समय स्वीकारयोग्य ठहरिएको मन्दिरमा केन्द्रित उपासनाको यहूदी व्यवस्थालाई त्यस बित्यासपूर्ण घटनाले अन्त गऱ्यो। (हिब्रू १:२) हो, सा०यु० ७०-का घटनाहरूलाई साँच्चै ‘जगतको सुरुदेखि [त्यस शहर, राष्ट्र र रीतिरिवाजमाथि] अहिलेसम्म नभएको, नता फेरि कहिल्यै हुने महासङ्कष्ट’ भन्न सकिन्छ।—मत्ती २४:२१.d
भविष्यवाणीअनुसार थुप्रै हुनु बाँकि
१५ तथापि, येशूले आफ्ना भविष्यवाणीहरूलाई प्रथम शताब्दीमा हुने सङ्कष्टमा मात्र सीमित गर्नु भएन। मत्ती २४:२३ र मर्कूस १३:२१-मा प्रयोग गरिएको टोटे अर्थात् “त्यसपछि”-ले त्यस सङ्कष्टपछि निकै कुराहरू हुनेछन् भनेर बाइबलले देखाउँछ। सा०यु० ७० पछिको समयावधिमा कस्ता घटनाहरू घट्नेथिए? यहूदी रीतिरिवाजमाथि आएको महासङ्कष्टपछि धेरै झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू देखा पर्ने थिए। (मर्कूस १३:६ लाई १३:२१-२३ सित तुलना गर्नुहोस्।) सा०यु० ७०-मा यरूशलेमको विनाशपश्चात्का शताब्दीहरूमा त्यस्ता व्यक्तिहरू खडा भएका छन् भनी इतिहासले पुष्टि दिन्छ। तर ख्रीष्टको “आगमन” पर्खिरहेका र तीक्ष्ण आध्यात्मिक अर्न्तदृष्टि भएकाहरूलाई भने त्यस्ता व्यक्तिहरूले बहकाउन सकेका छैनन्। (मत्ती २४:२७, २८) तथापि सा०यु० ७०-को महासङ्कष्टपश्चात् भएका यी घटनाहरूले येशूले त्यस सङ्कष्टपछिका घटनाहरूलाई देखाइरहनुभएको थियो भन्ने एउटा सङ्केत दिन्छ। त्यो एउटा प्रारम्भिक पूर्ति मात्र थियो।
१६ हामीले मत्ती २४:१५-२८ र मर्कूस १३:१४-२३ लाई लूका २१:२०-२४ सित तुलना गऱ्यौं भने येशूले गर्नुभएको भविष्यवाणीहरू यरूशलेमको विनाशभन्दा व्यापक थियो भन्ने दोस्रो सङ्केत पाउँछौं। लूकाले मात्र रूढीहरूबारे उल्लेख गरेको पनि याद गर्नुहोस्। त्यस्तैगरि उनले मात्र येशूका शब्दहरूको यस भागलाई यसरी टुङ्ग्याए: “अन्यजातिको समय पूरा नहोउन्जेलसम्म राष्ट्रहरूले यरूशलेममाथि कुल्चीमिल्ची गर्नेछन्।”e (लूका २१:२४ न्यु व०) सा०यु०पू० ६०७-मा बेबिलोनीहरूले यहूदीहरूका अन्तिम राजालाई सत्ताच्युत गरेपछि परमेश्वरको राज्यको प्रतिनिधित्व गर्ने यरूशलेममाथि कुल्चीमिल्ची भयो। (२ राजा २५:१-२६; १ इतिहास २९:२३; इजकिएल २१:२५-२७) भविष्यमा राज्य स्थापना गर्ने परमेश्वरको तोकिएको समय नआउन्जेल परिस्थिति त्यस्तै नै रहनेछ भनेर लूका २१:२४-मा येशूले सङ्केत दिनुभयो।
१७ टाढाको भविष्यमा हुने पूर्तिलाई येशूले इङ्गित गर्दैहुनुहुन्थ्यो भन्ने तेस्रो सङ्केत यसप्रकार छ: शास्त्रअनुसार मसीहको मृत्यु र पुनरुत्थान हुनु पर्ने थियो। त्यसपश्चात् पिताले शासन गर्ने आज्ञा नदिनु भएसम्म उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ बस्नु हुने थियो। (भजनसंग्रह ११०:१, २) पिताको दाहिने बाहुलीमा आफू बस्नु पर्नेछ भन्ने छनक येशूले दिनुभयो। (मर्कूस १४:६२) पुनरुत्थान भइसक्नुभएको येशू राजा र परमेश्वरको न्यायकर्त्ता हुन यहोवाको दाहिने बाहुलीतर्फ पर्खिरहनुभएको छ भनेर प्रेरित पावलले पुष्टि दिए।—रोमी ८:३४; कलस्सी ३:१; हिब्रू १०:१२, १३.
१८ जगतको अन्तबारे येशूको भविष्यवाणी प्रथम शताब्दीमा मात्र सीमित थिएन भन्ने चौथो अनि अन्तिम सङ्केत हामी प्रकाश अध्याय ६-मा पाउँछौं। सा०यु० ७०-को केही दशकपछि प्रेरित यूहन्नाले सक्रिय घोडसवारहरूको जोडदार दृश्य वर्णन गरे। (प्रकाश ६:२-८) “प्रभुको दिन” अर्थात् उहाँको आगमनको दिनबारे यो भविष्यसूचक दृश्यले यस २०औं शताब्दीलाई उल्लेखनीय युद्धहरू (पद ४), व्यापक अनिकाल (पदहरू ५ र ६), र “रूढी”-ले व्याप्त (पद ८) समयको रूपमा चिह्नित गर्छ। स्पष्टतः, यो विवरण सुसमाचारको पुस्तकहरूमा येशूले भन्नु भएको कुराहरूसित समानान्तर छ र उहाँको भविष्यवाणीको महान पूर्ति ‘प्रभुको दिनमा’ हुनेछ भनेर पनि प्रमाणित गर्छ।—प्रकाश १:१०.
१९ मत्ती २४:७-१४ र प्रकाश ६:२-८ मा भविष्यवाणी गरिएको मिश्रित चिह्न सन् १९१४-मा पहिलो विश्व युद्ध भएदेखि प्रकट भइरहेका छन् भनी जानिफकार व्यक्तिहरू मानी लिन्छन्। येशूको भविष्यवाणीको दोस्रो अर्थात् महान पूर्ति अहिले हाम्रो समयमा भइरहेको छ भनी यहोवाका साक्षीहरूले विश्वव्यापी तवरमा घोषणा गरिरहेका छन्। तिनीहरूको यस तथ्यलाई निर्मम युद्धहरू, विनाशकारी भैंचालोहरू, दुःखदायी अनिकालहरू र रूढीहरूको बिगबिगीले प्रमाणित गर्छ। रूढीको विषयमा यू० एस न्युज एण्ड वर्ल्ड रिपोर्ट-ले (जुलाई २७, १९९२) यसो भन्यो: “एड्सको महामारीले . . . लाखौं बिरामीहरूलाई मृत्युमा पुऱ्याइरहेको छ र छिट्टै नै इतिहासमा सबैभन्दा महँगो र विस्मयकारी रूढी हुने सम्भावना छ। चौधौं शताब्दीमा ब्लाक डेथ भन्ने रूढीले २ करोड ५० लाख मानिसहरूको ज्यान लियो। अहिले १ करोड २० लाख मानिसहरू एड्स रोगको एचआइभी जीवाणुद्वारा पीडित छन् भने सन् २००० सम्ममा त ३ देखि ११ करोड मानिसहरू सो जीवाणुले ग्रसित हुनेछन्। त्यसको कुनै उपचार नै नभएको हुनाले यी सबै व्यक्तिहरूको मृत्यु निश्चित छ।”
२० उसो भए प्रेरितहरूले सोधेका प्रश्नहरूको उत्तरमा येशूले भन्नुभएका ती कुराहरूबाट हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं? उहाँको भविष्यवाणीहरूले ठीक-ठीक ढङ्गमा यरूशलेमको विनाशलगायत विनाशअघिका घटनाहरूबारे बतायो। यसका साथै उहाँले सा०यु० ७०-पश्चात् हुने केही घटनाहरू पनि उल्लेख गर्नुभयो। तर अधिकांश भविष्यवाणीहरूको दोस्रो अनि महान पूर्ति भविष्यमा अर्थात् महासङ्कष्टमा वर्तमान दुष्ट रीतिरिवाजको अन्त हुँदा हुने थियो। यसको अर्थ हो, मत्ती २४:४-२२ र मर्कूस अनि लूकाका समानान्तर विवरणहरूमा उल्लिखित येशूका भविष्यवाणीहरू सा०यु० ३३ देखि सा०यु० ७०-मा सङ्कष्टको दौडान पूरा भए। यद्यपि, त्यही भविष्यवाणीहरूको दोस्रो पूर्ति अर्थात् भविष्यमा अझ ठूलो महासङ्कष्ट हुनेथियो। यो महान पूर्ति हाम्रो माझमा भइरहेको छ; हामी ती दिनहुँ देखिरहेका छौं।f
कहाँसम्म पुऱ्याउने?
२१ ‘अन्यजातिको समय पूरा नहोउन्जेल’ त्यस लामो समयावधिमा झूटा अगमवक्ताहरूले भ्रमात्मक चिह्नहरू देखाउनेछन् भन्दै येशूले आफ्नो भविष्यवाणी टुङ्ग्याउनु भएन। (लूका २१:२४; मत्ती २४:२३-२६; मर्कूस १३:२१-२३) सारा पृथ्वीभरि देखिने आश्चर्यकर्महरूबारे उहाँले थप विवरणहरू दिनुभयो। शक्ति र महिमासहित मानिस पुत्रको आगमनसित यी चिह्नहरू सम्बन्धित छन्। मर्कूस १३:२४-२७ ले भविष्यवाणीका बाँकि विवरणहरू देखाउँछ:
२२ “तर ती दिनमा त्यस घोर दुःखपछि सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, औ ताराहरू आकाशबाट खस्नलाग्नेछन्, र स्वर्गमा भएका शक्तिहरू डग्मगाउनेछन्। तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महिमासित बादलहरूमा आउँदै गरेको देख्नेछन्। तब उसले स्वर्गदूतहरूलाई पठाउनेछ, र पृथ्वीको अन्तदेखि आकाशको अन्तसम्म चारै दिशाबाट आफ्ना चुनिएकाहरूलाई एकै ठाउँमा बटुल्नेछ।”
२३ सा० यु० ७०-मा यहूदी रीतिरिवाजको विनाशपश्चात् मानिसको पुत्र अर्थात् पुनरुत्थान भइसक्नुभएको येशू ख्रीष्ट तहल्का मच्चाउने गरी त्यस्तो शानसित देखा पर्नु भएन। मत्ती २४:३०-ले टिप्पणी गरेअनुसार न पृथ्वीका सब जातिहरूले उहाँलाई चिने नता स्वर्गदूतहरूले सम्पूर्ण पृथ्वीमा भएका अभिषिक्त जनहरूलाई नै जम्मा गरे। उसो भए, येशूले गर्नु भएको आश्चर्यजनक भविष्यवाणीको यस थप अंश कहिले पूरा हुनेछ? के ती हाम्रा वरपर घटिरहेका घटनाहरूमा पूरा भइरहेका छन् अथवा यसले निकट भविष्यमा हामीले आशा गर्न सक्ने कुराहरूप्रति ईश्वरीय अर्न्तदृष्टि प्रदान गर्छ? यी कुराहरू थाहा पाउन हामी निश्चय नै उत्सुक हुनुपर्छ किनभने येशूले दिनुभएको नसिहत लूकाले यसरी लिपिबद्ध गर्छन्: “जब यी कुरा हुनेछन् तब शिर उठाएर माथि हेर, किनभने तिमीहरूको छुटकारा नजीकै आएको हुनेछ।”—लूका २१:२८. (w94 2/15)
[[फुटनोटहरू]
a यी अध्यायहरूका केही अंशहरू पृष्ठ २४ र २५-को विवरणिकामा पाईन्छ; थोप्ले धर्साहरूले समानान्तर अंशहरू देखाउँछ।
b यी घटनाहरूका ऐतिहासिक उद्धरणहरूको निम्ति जनवरी १५, १९७० द वाचटावर-को पृष्ठ ४३-५ हेर्नुहोस्।
c मत्तीको पुस्तकमा ८० पटकभन्दा बढी (अध्याय २४-मा ९ पटक) र लूकाको पुस्तकमा १५ पटक टोटे शब्द उल्लेख गरिएको पाईन्छ। मर्कूसले छ पटक मात्र टोटे प्रयोग गरे तर त्यसमध्ये चार पटक “चिह्न”-सित सम्बन्धित छन्।
d बेलाइती लेखक म्याथ्यु हेन्रीले यसरी टिप्पणी गरे: “कल्दीहरूले यरूशलेमलाई गरेको विनाश भयङ्कर थियो तर यो विनाश त्योभन्दा निकै भयानक थियो। यसले विश्वभरिका यहूदीहरूको . . . संहार हुन सक्ने खतरा ल्यायो।”
e लूका २१:२४-उप्रान्त लूकाको विवरणले एउटा बेग्लै मोड लियो भनी धेरै व्यक्तिहरू भन्छन्। डा० लियोन मोरिस टिपोट गर्छन्: “येशू अन्यजातिको समयबारे भन्दै जानुहुन्छ। . . . धेरै विद्वानहरूको दृष्टिकोणमा तत्पश्चात् मानिस पुत्रको आगमनतर्फ ध्यान केन्द्रित भएको छ।” प्राध्यापक आर० जिन्स् लेख्छन्: “मानिस पुत्रको आगमन—(मत्ती २४:२९-३१; मर्कूस १३:२४-२७) अन्यजातिको समयको उल्लेखले यस शीर्षकको प्रसङ्ग तयार पार्छ; [लूकाको] दृष्टिकोण अब यरूशलेमको विनाशपश्चात् भविष्यमा हुने घटनाहरूमा केन्द्रित छ।”
f प्राध्यापक वाल्टर एल० लिफेल्ड लेख्छन्: “येशूले गर्नुभएका भविष्यवाणीहरूले दुई वटा समयावधि ढाकिरहेको थियो भनेर अनुमान लाउनु अवश्यम्भावी छ: (१) मन्दिर लगायत ई०स० ७०-का घटनाहरू र (२) विनाशकारी ढङ्गमा टाढाको भविष्यमा हुने घटनाहरूबारे गरिएको विवरण।” जे० आर० डमेलोद्वारा सम्पादित टिप्पणीले यसो भन्छ: “हाम्रा प्रभुले एउटा मात्र नभइ दुई वटा घटनालाई सङ्केत गरिरहनुभएको थियो र त्यसमा दोस्रो चाहिं पहिलो जस्तै दुरुस्त थियो भनी मानी लियौं भने यस महान विवरणबारे उत्पन्न भएका जटिल अप्ठ्याराहरू सजिलै हट्छन्। . . . ‘अन्यजातिको समय’-बारे बताउने विशेषगरि [लूका] २१:२४-ले . . . यरूशलेमको पतन र जगतको अन्तबीच लामो अनिश्चित समयावधि जनाउँछ।”
के तपाईंलाई सम्झना छ?
▫ मत्ती २४:३-मा उठाइएको प्रश्नको सन्दर्भमा येशूको उत्तर सा०यु० ७० सम्मका घटनाहरूमा कसरी पूरा भए?
▫ टोटे शब्दको प्रयोगले येशूको भविष्यवाणी बुझ्न हामीलाई कसरी मदत गर्छ?
▫ प्रथम शताब्दीमा पहिले कहिल्यै नभएको जस्तो “महासङ्कष्ट” कुन अर्थमा भयो?
▫ आज हामी पनि मुछिएको येशूको भविष्यवाणीका कुन दुई वटा अद्भुत पक्षहरू लूकाले उल्लेख गर्छन्?
▫ मत्ती २४:४-२२ को भविष्यवाणीको दोस्रो र महान पूर्तिलाई कुन कुन कुराहरूले सङ्केत गर्छ?
[अध्ययनका लागि प्रश्नहरू]
१, २. मानिसहरू भविष्यबारे चासो राख्छन् भनेर कुन कुराले देखाउँछ?
३. भविष्यबारे जान्न परमेश्वरतिर फर्किनु किन उपयुक्त छ?
४, ५. (क) भविष्यबारे जान्ने सन्दर्भमा येशूले कसरी मदत दिन सक्नुहुन्छ? (ख) उहाँका चेलाहरूले कस्ता मिश्रित प्रश्नहरू सोधे?
६. मत्ती २४, मर्कूस १३ र लूका २१ बीच कस्तो सम्बन्ध छ; र कुन प्रश्न हाम्रो लागि गम्भीर चासोको विषय हुनुपर्छ?
७. प्रेरितहरूले विशेषगरि कुन कुरा सोध्दैथिए तर येशूको उत्तरले कस्ता कुराहरू दृष्टिगत गरिरहेको थियो?
८. येशूले भविष्यवाणी गर्नुभएका केही घटनाहरू के के थिए?
९. प्रथम शताब्दी सा० यु० मा येशूको भविष्यवाणीको पूर्ति कसरी भयो?
१०. युनानी शब्द टोटे-लाई हामीले किन ध्यान दिनुपर्छ र यसको के विशेषता छ?
११. यरूशलेमको विनाशसित प्रत्यक्षतः सम्बन्धित घटनाहरूमा येशूले कसरी ध्यान केन्द्रित गर्नुभयो?
१२. मत्ती २४:१५-को पूर्तिमा रोमी सेनाहरू कसरी संलग्न थिए?
१३. भागेर जाऊ भन्ने येशूको चेतावनीलाई मसीहीहरूले कसरी पालन गर्न सके?
१४. सा०यु० ७०-मा यरूशलेममाथि भएको घटनालाई जगतको सुरुदेखि अहिलेसम्म नभएको, नता फेरि कहिल्यै हुने “महासङ्कष्ट” भनी हामी किन भन्न सक्छौं?
१५. (क) यरूशलेममाथि आइपर्ने सङ्कष्टपश्चात् कस्ता घटनाहरू हुनेछन् भनी येशूले भविष्यवाणी गर्नुभयो? (ख) मत्ती २४:२३-२८ लाई ध्यानमा राख्दै येशूको भविष्यवाणीको पूर्तिबारे हामी कस्तो निष्कर्षमा पुग्नु पर्छ?
१६. लूका २१:२४-ले येशूको भविष्यवाणीबारे के थप कुरा भन्छ र त्यसको के विशेषता छ?
१७. येशूको भविष्यवाणी टाढाको भविष्यमा पूरा हुनेथियो भन्ने हामी कुन तेस्रो सङ्केत पाउँछौं?
१८, १९. सुसमाचारको पुस्तकहरूमा भएको समानान्तर भविष्यवाणीहरूसित प्रकाश ६:२-८ को कस्तो सम्बन्ध छ?
२०. मत्ती २४:४-२२-को प्रारम्भिक पूर्ति के हुनेथियो र अर्को कुन पूर्ति पनि स्पष्ट छ?
२१, २२. अरू घटनाहरू पनि घट्नेछन् भन्ने भविष्यसूचक सङ्केत हामी कहाँ पाउँछौं?
२३. मत्ती २४:२९-३१ मा उल्लिखित भविष्यवाणीको पूर्ति प्रथम शताब्दी सा० यु० मा मात्र नभएर पछि पनि हुनेछ भनेर हामी किन आशा गर्न सक्छौं?
[पृष्ठ २४, २५-मा भएको तालिका]
४ “येशूले तिनीहरूलाई भन्नुभयो, ‘होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्। ५किनभने धेरै जना मेरो नाउँमा “म ख्रीष्ट हुँ,” भन्दै आउनेछन्, धेरैलाई भ्रममा पार्नेछन्। ६औ तिमीहरूले लड़ाईं र लड़ाईंका हल्ला सुन्नेछौ; हेर, न घबराओ, किनकि यी हुनु आवश्यकनै छन्, तर अन्त ता त्यत्तिनैखेरि हुँदैन।
७ “‘किनभने जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्नेछ, र ठाउँ ठाउँमा अनिकाल र भैंचालो हुनेछ। ८यी सब ता कष्टका शुरू हुन्।
९ “‘तब तिनीहरूले तिमीहरूलाई घोर शासनाको लागि सुम्पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्, औ मेरो नाउँको खातिर सबै जातिमध्ये तिमीहरू घृणित हुनेछौ। १०तब धेरै जनाले ठेस खानेछन्, र एउटाले अर्कोलाई विश्वासघात गर्नेछ, र घृणा गर्नेछ। ११औ धेरै झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र धेरैलाई भ्रममा पार्नेछन्। १२औ अधर्म बढ़ने हुनाले धेरैका प्रेम सेलाएर जानेछ। १३तर अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ। १४औ राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
१५ “‘यसकारण जब तिमीहरूले दानियल अगमवक्ताबाट बोलिएको उजाड़ गर्ने घृणित कुरा पवित्र स्थानमा खड़ा भएको देखौला (पढ़नेले बुझोस्) १६तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्। १७कौसीमा हुनेहरू आफ्ना घरमा भएका केही निकाल्नालाई तल नझरून्; १८खेतबारीमा हुने आफ्नो खाष्टो लिनालाई फर्की नआऊन्। १९तर हाय, ती दिनमा गर्भवतीहरू र दूध खुवाउनेहरूलाई। २०तिमीहरूको भगाई हिउँदमा, कि विश्रामको दिनमा, नपरोस् भनी प्रार्थना गर। २१किनकि त्यस बेला यस्तो महा सङ्कष्ट हुनेछ, जो जगत्को शुरूदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ। २२औ ती दिन नघटाइएका भए कोही देहधारी बाँच्नसक्ने थिएन तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछन्।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
२३ “‘त्यस बेला तिमीहरूलाई कसैले “हेर, ख्रीष्ट यहाँ छन्,” कि “त्यहाँ छन्” भन्यो भने, विश्वास नगर। २४किनकि झूटा ख्रीष्टहरू, र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, औ हुनसके चुनिएकाहरूलाई पनि भ्रममा पार्नालाई, ठूला-ठूला चिह्नहरू र आश्चर्यका कामहरू देखाउनेछन्। २५हेर, मैले तिमीहरूलाई अघिबाटै भनिदिएको छु। २६तिनीहरूले तिमीहरूलाई “हेर, उनी वनमा छन्,” भनी भन्छन् भने निस्केर नजाओ “हेर, उनी भित्रका कोठाहरूमा छन्,” भने पनि नपत्याओ। २७किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्चिमसम्म देखिन्छ, उसरीनै मानिसको पुत्रको आगमन पनि हुनेछ। २८जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू पनि जम्मा हुन्छन्।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
२९ “‘तर ती सङ्कष्टका दिनको तुरुन्त पछि सूर्य अँध्यारो हुनेछ, र जूनले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा स्वर्गका शक्तिहरू डग्मगाउनेछ। ३०औ तब मानिसको पुत्रको चिह्न आकाशमा देखा पर्नेछ औ पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासित आउँदैगरेको देख्नेछन्। ३१औ उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथमा पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई जम्मा गर्नेछन्।’”
५ “येशूले तिनीहरूलाई भन्नलाग्नुभयो, ‘होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्। ६धेरै जना मेरो नाउँमा, “म उही हुँ,” भन्दै आउनेछन्, र तिनीहरूले धेरैलाई धोका दिनेछन्। ७औ जब तिमीहरूले लड़ाइँ र लड़ाइँहरूको हल्ला सुनौला तब नघबराओ, किनकि यो हुनु आवश्यक छ, तर अन्तको समय त्यो होइन।
८ “‘किनकि जातिको विरुद्धमा, जाति र राज्यको विरुद्धमा राज्य खड़ा हुनेछ, ठाउँ ठाउँमा भैंचालो जानेछ, अनिकाल हुनेछ। सङ्कष्टको आरम्भ यही हो।
९ “‘तिमीहरू आफ्नो विषयमा होशियार रहो, तिमीहरूलाई महासभाहरूमा सुम्पनेछन्। तिमीहरू पिटिनेछौ, र हाकिमहरू र राजाहरूका सामु मेरो खातिर गवाही दिनाको निम्ति तिमीहरू खड़ा हुनेछौ। १०तर पहिला सबै जातिहरूलाई सुसमाचार प्रचार गरेको हुनुपर्छ। ११औ जब तिनीहरूले तिमीहरूलाई पक्री लगेर सुम्पलान्, तब के बोलौं भनी अघिबाटै फिक्री नगर, तर त्यसै बेला जे तिमीहरूलाई दिइन्छ, त्यही बोल, किनकि बोल्ने तिमीहरू होइनौ तर पवित्र आत्मा हुनुहुनेछ। १२औ भाइले भाइलाई मृत्युको लागि सुम्पनेछ, बाबुले छोरालाई, औ छोरा-छोरीहरू बाबु-आमाको विरुद्धमा खड़ा हुनेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्; १३औ मेरो नाउँको खातिर तिमीहरू सबैबाट घृणित हुनेछौ, तर जो अन्तसम्म स्थिर रहला त्यसैको उद्धार हुनेछ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
१४ “‘जब तिमीहरू उजाड़ अवस्थाको घृणित कुरालाई जहाँ उचित छैन त्यहाँ उभिएका देखौला (पढ़नेले बुझोस्), तब यहूदियामा हुनेहरू डाँड़ाहरूतिर भागून्। १५घरको कौसीमा हुने तल नओर्लोस् नता आफ्नो घरबाट केही निकाल्नालाई भित्र पसोस्; १६खेतमा हुने आफ्नो खाष्टो लिनालाई पछाड़ि नफर्कोस्। १७तर ती दिनमा, हाय, गर्भवती र दूध खुवाउनेहरूलाई! १८यो हिंउदमा नहोस् भनी प्रार्थना गर। १९किनकि ती दिनहरू यस्ता दुःखका हुनेछन्, यस्तो परमेश्वरले सृजनुभएको सृष्टिको शुरुदेखि अहिलेसम्मता नता भएको छ, र न कहिल्यै हुनेछ। २०औ परमप्रभुले ती दिन नघटाइदिनुभएको भएता कुनै प्राणी बाँच्नेथिएन, तर उहाँले चुन्नुभएकाहरूको खातिर ती दिन घटाउनुभयो।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
२१ “‘त्यो बेला कसैले तिमीहरूलाई “हेर, ख्रीष्ट यहाँ छन्,” कि “त्यहाँ छन्,” भन्यो भने तिमीहरूले नपत्याओ। २२किनभने झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र हुनसक्छ भने चुनिएकाहरूलाई भ्रममा पार्नालाई तिनीहरूले चिह्नहरू र आश्चर्यकर्महरू गर्नेछन्। २३तर तिमीहरू चाहिं होशियार रहो; हेर, मैले तिमीहरूलाई सबै कुरा अघिबाटै भनिदिएकै छु, है!
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
२४ “‘तर ती दिनमा, त्यस घोर दुःखपछि सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, २५औ ताराहरू आकाशबाट खस्नलाग्नेछन्, र स्वर्गमा भएका शक्तिहरू डग्मगाउनेछन्। २६अनि तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महिमासित बादलहरूमा आउँदै गरेको देख्नेछन्। २७तब उसले स्वर्गदूतहरूलाई पठाउनेछ, र पृथ्वीको अन्तदेखि आकाशको अन्तसम्म चारै दिशाबाट आफ्ना चुनिएकाहरूलाई एकै ठाउँमा बटुल्नेछ।’”
८ “उहाँले भन्नुभयो, ‘होशियार रहो, तिमीहरूलाई नलोभ्याओस्, किनकि धेरै जना मेरो नाउँमा “म उहीनै हुँ,” भनेर आउनेछन्। “बेला नजीकै भएको हुन्छ।” तिमीहरू तिनीहरूका पछि नलाग। ९औ जब लड़ाइँ र हलचलको विषयमा तिमीहरू सुन्नेछौ तब नआत्तियौ, किनभने पहिले यी कुराहरू हुनैपर्छ, तर अन्त चाहिं तुरुन्तै हुँदैन।’
१० “तब उहाँले तिनीहरूलाई भन्नुभयो: ‘जाति, जातिको विरुद्धमा, र राज्य, राज्यको विरुद्धमा उठनेछ, ११ठूला ठूला भैंचालो जानेछ, औ विभिन्न ठाउँहरूमा रूढ़ी र अनिकाल हुनेछ; आकाशबाट डरलाग्दा लक्षण र ठूला ठूला चिह्नहरू हुनेछन्।
१२ “‘तर यी सबै कुराहरू हुनुभन्दा अघि, तिनीहरूले मेरो नाउँको खातिर तिमीहरूलाई हात हाल्नेछन्, र खेदो गर्नेछन्, र सभाघरहरूमा सुम्पिदिनेछन्, औ राजाहरू र हाकिमहरूका सामने पुर्याएर तिमीहरूलाई झ्यालखानमा हाल्नेछन्। १३तर यी तिमीहरूलाई गवाहीको निम्ति हुनेछ। १४यसकारण के जवाफ दिने हो, सो अघिबाटै विचार नगर्नालाई आफ्ना मनमा निश्चय गर। १५किनभने म तिमीहरूलाई यस्तो बोल्ने मुख र बुद्धि दिनेछु कि तिमीहरूका विरोधीहरूले नता प्रत्त्युत्तर दिन न खण्डन गर्न सक्नेछन्। १६तर तिमीहरू आफ्ना आमा-बाबुसमेत र दाज्यू-भाइहरू, नातेदारहरू र मित्रहरूबाट सुम्पिइनेछौ। औ मानिसहरूले तिमीहरूमध्ये कुनै कुनैलाई मार्नेछन्; १७औ मेरो नाउँको खातिर तिमीहरू सबै मानिसहरूबाट घृणित हुनेछौ। १८तर तिमीहरूका शिरको एउटा केश पनि नष्ट हुनेछैन। १९तिमीहरूको आफ्नो धैर्यमा तिमीहरूले आफ्ना प्राण प्राप्त गर्नेछौ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
२० “‘तर जब यरूशलेमलाई फौजले घेरेको देखौला, तब त्यसको विनाश नजीकै आइपुगेछ भनेर जान। २१तब यहूदियामा हुनेहरू डाँड़ाहरूतिर भागून्। औ शहरभित्र हुनेहरू निस्किजाऊन्, र गाउँमा हुनेहरू त्यहाँभित्र नपसून्; २२किनभने लेखिएका कुराहरू सबै पूरा हुनालाई यी बदला लिने दिन हुनेछन्। २३ती दिनमा गर्भवती र दूध खुवाउनेहरूको निम्ति, हाय! किनकि देशमा ठूलो संकष्ट, र यी मानिसहरूमाथि क्रोध आइपर्नेछ; २४औ मानिसहरू तरवारले मारिनेछन्, र सब देशमा कैदी भएर जानेछन्,
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
अनि अन्यजातिको समय पूरा नहोउन्जेलसम्म राष्ट्रहरूले यरूशलेममाथि कुल्चीमिल्ची गर्नेछन्। [न्यु व०]
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
२५ “‘अनि सूर्य, चन्द्र, र ताराहरूमा चिह्न हुनेछन्, र समुद्र र छालहरूको गर्जनले व्याकुल भएर पृथ्वीमा जाति जातिका मानिसहरूमा संकष्ट हुनेछ, २६र संसारमा हुने घटनाहरूको डर र आशाले मानिसहरू मूर्च्छा पर्नेछन्, किनकि आकाशमा शक्तिहरू डग्मगाउनेछन्। २७त्यसपछि मानिसको पुत्रलाई शक्ति र महा महिमासँग बादलमा आइरहेको तिनीहरूले देख्नेछन्। २८तर जब यी कुरा हुनेछन् तब शिर उठाएर माथि हेर, किनभने तिमीहरूको छुटकारा नजीकै आएको हुनेछ।’”
[पृष्ठ ८-मा भएको चित्र]
सा०यु० ७०-मा यरूशलेम र यहूदी रीतिरिवाजले अनुभव गरेको सङ्कष्ट सबैभन्दा ठूलो सङ्कष्ट थियो