के यी साँच्चै आखिरी दिन हुन्?
तपाईं डुंगाको टुप्पोमा बस्नुभएको छ र डुंगा नदीको त्यस भागमा प्रवेश गर्छ जहाँ खियाउन असाध्यै गाह्रो छ। झरझर फोहरा निक्लिरहेको ठाउँमा ठूल-ठूला ढुंगाहरू अस्पष्ट र डरलाग्दो रूपमा देखा पर्छन्। तपाईं त्यसबाट बच्ने कोसिस गर्नुहुन्छ। तपाईंको पछाडि बस्ने व्यक्तिले डुंगा खियाएर त्यहाँबाट मोड्न तपाईंलाई मदत गर्नुपर्ने हो। तर तिनी त्यति अनुभवी छैनन्। अझ अत्यास लाग्ने कुरा त के पऱ्यो भने, तपाईंसित नक्सा छैन। तसर्थ, नदीको यो तीब्र धारले तपाईंलाई शान्त कुण्ड वा छाँगो कतातिर लग्ने हो, तपाईंलाई केही थाह छैन।
यस्तो दृश्यको वर्णन गर्नु रमाइलो छैन। छ त? त्यसोभए, लौ त दृश्य परिवर्तन गरौं। कल्पना गर्नुहोस्, तपाईंसित एक जना अनुभवी मार्गनिर्देशक छन्। तिनलाई नदीको कुनाकाप्ची सबै थाह छ। नदीको यो तीब्र धार कतातिर बग्दैछ, अगावै थाह छ। यो कहाँ टुंगिन्छ र कस्तो भागमा कसरी डुंगा खियाउनुपर्छ, तिनलाई सिकाइरहनु पर्दैन। त्यसोभए, के तपाईं निकै सुरक्षित महसुस गर्नुहुन्न र?
वास्तवमा, हामी सबै यस्तै प्रकारको अप्ठ्यारो स्थितिमा परेका छौं। हामी आफूलाई मानव इतिहासको अशान्त युगमा पाउँछौं, यसमा हाम्रो भूल छैन। यस्तो स्थिति कहिलेसम्म रहनेछ, परिस्थितिहरू सुध्रिन्छन् या सुध्रिदैनन् वा त्यतिञ्जेल कसरी गुजारा गर्नुपर्ने हो भन्नेबारे अधिकांश मानिसहरूलाई थाह छैन। तर हामीले आफूलाई त्यागिएको वा बेसहारा ठान्नु आवश्यक छैन। हाम्रो सृष्टिकर्ताले मार्गनिर्देशकको प्रबन्ध गर्नुभएको छ। त्यस्तो मार्गनिर्देशक जसले इतिहासको यस अन्धकार समयबारे अगमवाणीसमेत गरेको थियो। त्यो मार्गनिर्देशकले यस युगको अन्त कसरी हुनेछ भनेर भविष्यवाणी गर्नुका साथै बच्नको लागि आवश्यक निर्देशन दिन्छ। त्यो मार्गनिर्देशक एउटा पुस्तक हो अर्थात् बाइबल। यसको लेखक यहोवा परमेश्वर हुनुहुन्छ। उहाँले आफूलाई महान् शिक्षक भन्नुहुन्छ। उहाँले यशैया मार्फत आश्वासन दिंदै यसो भन्नुहुन्छ: “तिमीहरू दाहिने-देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्ने शब्द सुन्नेछौ, ‘बाटो यही हो, यसैमा तिमीहरू हिंड़।’ ” (यशैया ३०:२०, २१) के तपाईं यस्तो निर्देशन ग्रहण गर्नुहुन्न र? उसोभए हामी बाँचिरहेको समय कस्तो हुनेथियो भनेर बाइबलले साँच्चै अगमवाणी गरेको थियो वा थिएन, विचार गरौं।
येशूका अनुयायीहरू गहकिलो प्रश्न सोध्छन्
येशूका अनुयायीहरू पक्कै पनि चकित भए होलान्। यरूशलेमको मन्दिरका आकर्षक भवनहरू पूर्णतया नष्ट हुनेछन् भनेर येशूले स्पष्टसित बताउनुभएको थियो! त्यो पूर्ववाणी आश्चर्यलाग्दो थियो। त्यसको तुरुन्तैपछि, उहाँ जैतून डाँड़ामा हुनुहुँदा उहाँका चार जना चेलाहरूले येशूलाई यसरी सोधे: “हामीलाई भन्नुहोस्, यो कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र जगत्को अन्तको चिह्न के हुन्छ?” (मत्ती २४:३; मर्कूस १३:१-४) येशूले दिनुभएको जवाफको अर्थ तिनीहरूले बुझे या बुझेनन् तर त्यसले थुप्रै अर्थ राख्नेथियो।
यरूशलेमको मन्दिरको विनाश तथा यहूदी रीतिरिवाजको अन्त हुनु नै ख्रीष्टको उपस्थिति र संसारको रीतिरिवाजको अन्त हुने समय थिएन। तैपनि, येशूले लामो जवाफ दिनुहुँदै त्यस प्रश्नपछाडि लुकेका यी जम्मै पक्षहरूलाई कौशलतापूर्वक प्रष्ट्याउनुभयो। यरूशलेमको विनाश हुनअघि परिस्थिति कस्तो हुनेथियो, सो उहाँले बताउनुभयो। येशूको उपस्थितिको दौडान संसार कस्तो हुनेथियो भनेर पनि उहाँले बताउनुभयो जुन उपस्थितिको बेला उहाँले स्वर्गमा राजाको हैसियतमा शासन गर्नुका साथै संसारको रीतिरिवाजलाई अन्त गर्नै लाग्नुभएको हुनेथियो।
यरूशलेमको विनाश
प्रथमतः येशूले यरूशलेम र त्यहाँको मन्दिरबारे के भन्नुभयो, त्यसलाई विचार गर्नुहोस्। तीन दशकभन्दा अगावै उहाँले संसारका महान् शहरहरूमध्ये एकमाथि असह्य कठिनाइहरू आइपर्ने समयबारे अगमवाणी गर्नुभयो। विशेषगरि लूका २१:२०, २१ मा लिपिबद्ध उहाँका यी शब्दहरूलाई ध्यान दिनुहोस्: “जब यरूशलेमलाई फौजले घेरेको देखौला, तब त्यसको विनाश नजीकै आइपुगेछ भनेर जान। तब यहूदियामा हुनेहरू डाँडाहरूतिर भागून्। औ शहरभित्र हुनेहरू निस्किजाऊन्, र गाउँमा हुनेहरू त्यहाँभित्र नपसून्।” यरूशलेमलाई फौजले घेर्नेथियो भने त येशूको आज्ञाअनुसार ‘त्यसभित्र हुनेहरू’ कसरी ‘निस्कनसक्थे र?’ स्पष्टतया, अवसरको ढोका खोलिनेथियो भनेर येशूले भन्नुहुँदैथियो। खोलियो त?
सा.यु. ६६ मा सेस्तियस ग्यालसको नेतृत्वमा आएका रोमी फौजले यहूदी विद्रोही सेनालाई यरूशलेम फर्कन बाध्य तुल्याउनुका साथै शहरभित्र हल न चल बनाएर राखे। रोमीहरू शहरभित्र प्रवेश समेत गरेर मन्दिरको ढोकासम्म पुगे। तर त्यसपछि ग्यालसले साँच्चै अलमल्ल पार्ने निर्देशन दिए। तिनले फौजलाई पछि हट्ने आज्ञा दिए! यो देखेर खुशी हुँदै यहूदी सैनिकहरूले भागिरहेका रोमी शत्रुहरूलाई लखेटे। यसरी, येशूले अगमवाणी गर्नुभएको अवसरको ढोका खोलियो। साँचो मसीहीहरूले उहाँको चेताउनी पालन गरे अनि यरूशलेमबाट निक्ले। यसो गर्नु बुद्धिमानी ठहरियो किनभने ठीक चार वर्षपछि सेनापति टाइटसको नेतृत्वमा रोमी फौज फर्क्यो। यसपाली भने उम्कने सम्भावना थिएन।
रोमी फौजले फेरि यरूशलेमलाई घेऱ्यो। तिनीहरूले यसको वरिपरि तीखा खम्बाहरू गाढेर किल्लाबन्दी गरे। येशूले यरूशलेमबारे यस्तो भविष्यवाणी गर्नुभएको थियो: “तँमाथि ती दिन आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि मोर्चा बाँधेर घेरा हाल्नेछन् र सबैतिरबाट तँलाई थुनिराख्नेछन्।”a (लूका १९:४३) नभन्दै केही दिनभित्र यरूशलेमको पतन भयो। यसको गौरवमय मन्दिर उजाड भयो। येशूले भन्नुभएका एक एक शब्दहरू पूरा भए!
तैपनि, येशूको मनमा यरूशलेमको विनाशबाहेक अरू कुरा पनि थियो। चेलाहरूले उहाँको उपस्थितिबारे पनि सोधेका थिए। त्यतिबेला तिनीहरूले आफ्नो प्रश्न कत्तिको विस्तृत थियो भनेर बुझेनन्। तर यसले उहाँ शासन गर्न स्वर्गमा राजा नियुक्त हुने समयलाई बुझाउँथ्यो। उहाँले के अगमवाणी गर्नुभयो?
आखिरी दिनमा युद्ध
मत्ती अध्याय २४ र २५, मर्कूस अध्याय १३, अनि लूका अध्याय २१ पढ्नुभयो भने, येशूले हाम्रो समयबारे कुरा गरिरहनुभएको रहेछ भनेर बुझ्नुहुनेछ। उहाँले युद्धहरू हुने समयबारे अगमवाणी गर्नुभयो। यसमा मानव इतिहासमा पहिलेदेखि कालो दाग लगाउँदै आएका “लड़ाइँ, र लड़ाइँका हल्ला” मात्र होइन तर ‘जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य’ उठ्ने युद्धहरू पनि समावेश छन्। हो, ठूला अन्तरराष्ट्रिय युद्ध।—मत्ती २४:६-८.
युद्ध र झै-झगडाले हाम्रो शताब्दीको रूपरङ कसरी बद्लाएको छ, त्यसबारे एकछिन सोच्नुहोस् त। पहिला पहिला युद्धमा दुइ विरोधी राष्ट्रका सेनाहरूबीचको मुठभेड अर्थात् युद्धभूमिमा तरवारले काटाकाट वा बन्दूकले हानाहान समेत गरिन्छ भनेर थाह पाउँदा असाध्यै डरलाग्दो लाग्थ्यो। तर ठूलो युद्ध त सन् १९१४ मा पो छेंडियो। प्रथम विश्वयुद्धको भुँवरीमा एकपछि अर्को राष्ट्र तानियो। अझ टाढाबाट धेरैभन्दा धेरै मानिसहरू मार्न स्वचालित हातहतियारहरू निर्माण गरियो। घातक पाराले गोली फ्याँक्ने मेशिनगन बनाइयो। मस्टर्ड ग्याँसले जलायो, सतायो, अंगभंग गऱ्यो र हजारौं सैनिकहरूलाई माऱ्यो। ट्यांकहरूले निर्मतापूर्वक शत्रुको इलाकामा तहल्का मच्चाए। हवाईजहाज र पनडुब्बी पनि प्रयोग गरियो। ती हातहतियार र साधनहरू त केवल पछि बनाइने अझ जटिल र उत्कृष्ट युद्ध साधनहरूको पूर्वसूचना थिए।
दोस्रो विश्वयुद्ध यति भयानक होला भनेर मानिसहरूले सोचेका थिएनन्। वास्तवमा यसअघिका युद्धहरू यति ठूलो थिएनन्। यस युद्धमा करोडौं मानिसहरूले ज्यान गुमाए। ठूल-ठूला युद्धपोतहरू समुद्रमा चले अनि शत्रुमाथि बमबारी गर्न त्यहाँबाट लडाकू विमानहरू पठाइए। पनडुब्बीहरूले शत्रुका जहाजहरूलाई बम हानेर डुबाए। अनि परमाणु बमहरू खसाइए। प्रत्येक विस्फोटनमा लाखौंको ज्यान गएको छ! हामी बाँचिरहेको युद्धग्रस्त समयलाई देखाउन येशूले भविष्यवाणी गर्नुभएझैं वास्तवमा “डरलाग्दा लक्षण” भएका छन्।—लूका २१:११.
दोस्रो विश्वयुद्धदेखि यता के युद्धहरू कम भएका छन् त? अहँ, भएका छैनन्। भनौं भने, कहिलेकाहीं एकै वर्षमा थुप्रै युद्धहरू मच्चिन्छन् र लाखौंले ज्यान गुमाउँछन्। सन् १९९० को दशकमा पनि यस्तै भएको छ। अब त युद्धमा को मर्छन् र मारिइन्छन्, त्यसमा पनि फरक पऱ्यो। युद्धमा सैनिकहरू मात्र मर्दैनन्। आज, युद्धमा मर्नेहरूमध्ये जनसाधारणहरू ९० प्रतिशतभन्दा ज्यादा छन्।
चिह्नका अरू भागहरू
युद्ध त येशूले उल्लेख गर्नुभएको चिह्नको एउटा पक्ष मात्र हो। उहाँले “अनिकाल” हुनेछ भनेर पनि चेताउनी दिनुभयो। (मत्ती २४:७) हो, पृथ्वीले सारा मानिसजातिलाई चाहिएकोभन्दा ज्यादा खानेकुरा उत्पादन गरिरहेको छ, मानव इतिहासभरि कृषि विज्ञानमा नभएको प्रगति अहिले भइरहेको छ, संसारको कुनै पनि ठाउँमा तुरुन्तातुरुन्तै खानेकुरा ओसारपसार गर्न सकिने उत्कृष्ट साधनहरू उपलब्ध छन्। तर अफसोसको कुरा, येशूले भविष्यवाणी गर्नुभएझैं अनिकाल पो परेको छ। प्रत्येक दिन विश्व जनसंख्याको पाँच भागमा एक भाग मानिसहरू भोकै हुन्छन्।
येशूले “विभिन्न ठाउँहरूमा रूढ़ी” हुनेछ भनेर पनि अगमवाणी गर्नुभयो। (लूका २१:११) हाम्रो समयमा अर्को विरोधाभासपूर्ण कुरा पनि देखा परेको छ। त्यो हो, पहिलाभन्दा उत्तम उपचारको प्रबन्ध, तकनीकि प्रगति र सामान्य रोगहरू रोक्ने उत्तम खोपहरू भए तापनि दुःखदायी रोगहरू सोच्दै नसोचेको गतिमा फैलिरहेका छन्। प्रथम विश्वयुद्धको तुरुन्तैपछि स्पेनिश इन्फ्लुन्जा फैलियो र युद्धले भन्दा ज्यादा मानिसहरूको ज्यान लियो। यो बिमारी कत्ति साह्रो संक्रामक थियो भने न्यु योर्कजस्ता शहरहरूमा मानिसहरूले हाच्छ्यूँ गरेमा तिनीहरूलाई जरिमाना तिराउन वा झ्यालखानामा हाल्न सकिन्थ्यो। आज, क्यान्सर र हृदयरोगले वर्षेनी लाखौंको ज्यान लिन्छ। यी रोगहरू पक्का महामारी हुन्। अनि एड्सको कारण मृत्यु भइरहेको छ जसको उपचार आजसम्म चिकित्सा विज्ञानले पत्ता लगाउन सकेको छैन।
येशूले मुख्यतः विस्तृत ऐतिहासिक र राजनैतिक स्थितिहरूको सन्दर्भमा बताउनुभयो भने, प्रेरित पावलले विशेषगरि सामाजिक समस्या तथा व्याप्त झुकाउहरूमाथि प्रकाश पारे। तिनले लेखेका कुराहरूमध्ये केही यी हुन्: “यो जान, कि आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी . . . अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने . . . असंयमी, असल नरूचाउने, निष्ठूर, विश्वासघाती, दिमागी, घमण्डी, परमेश्वरभन्दा बरु सुख-विलास निको मान्ने हुनेछन्।”—२ तिमोथी ३:१-५.
यी शब्दहरू के तपाईंलाई चिरपरिचित लाग्छ? आज संसारमा भइरहेको सामाजिक पतनको एउटा मात्र पक्ष अर्थात् पारिवारिक फाटोलाई विचार गर्नुहोस्। घरपरिवारमा फाटो, लोग्नेस्वास्नीबीच दुर्व्यवहार, बाल दुर्व्यवहार र वृद्ध आमाबाबुप्रति नराम्रो व्यवहारको महामारी नै फैलिएको छ। यी कुराहरूले मानिसहरू “स्वाभाविक प्रेम रहितका,” “निष्ठूर” अनि “विश्वासघाती” र “असल नरुचाउने” समेत छन् भनेर कत्ति प्रष्टै देखाउँछन्! हो, यी लक्षणहरूलाई आज हामी महामारीको रूपमा देख्छौं।
के अगमवाणीले हाम्रै पुस्तालाई औंल्याएको हो?
तपाईं सोच्नुहुन्छ होला, ‘के यी परिस्थितिहरूले मानिसजातिलाई पहिलेदेखि पिरोलेका छैनन् र? अहिलेको हाम्रो पुस्ता नै यी पुरातन भविष्यवाणीहरूमा अगमवाणी गरिएको पुस्ता हो भनेर हामी कसरी थाह पाउनसक्छौं?’ येशूले हाम्रो समयबारे बताउनुहुँदैथियो भनेर पुष्टि दिने प्रमाणका तीन भागहरूलाई विचार गरौं।
प्रथम, येशूका शब्दहरूको आंशिक तथा प्रारम्भिक पूर्ति यरूशलेम र यसको मन्दिर विनाश हुँदा पूरा भए तापनि ती शब्दहरूले निश्चयै त्योभन्दा पछिको समयलाई औंल्याइरहेका थिए। यरूशलेम विनाश भएको लगभग ३० वर्षपछि येशूले वृद्ध प्रेरित यूहन्नालाई दर्शन दिनुभयो। त्यस दर्शनमा के थियो भने, परिस्थितिहरू अर्थात् युद्ध, अनिकाल, महामारी र त्यसको परिणामस्वरूप हुने मृत्यु भविष्यमा विश्वभरि आइपर्नेथियो। हो, दुःखकष्टले कुनै एक ठाउँलाई मात्र होइन तर सम्पूर्ण “पृथ्वीलाई” पिरोल्नेथियो।—प्रकाश ६:२-८.
दोस्रो, यस शताब्दीमा येशूको चिह्नका केही भागहरू पूर्ति भइरहेका छन् र यस पूर्तिलाई हामी विस्तृत पूर्ति भन्नसक्छौं। उदाहरणका लागि, सन् १९१४ देखि भइरहेको युद्धहरूलाई विचार गर्नुहोस्, के कुनै युद्ध यीभन्दा विध्वंसकारी हुन सम्भव छ कि? तेस्रो विश्वयुद्ध भएमा र त्यस युद्धमा परमाणु शस्त्र भएका देशहरूले आ-आफ्नो हातहतियार प्रयोग गरेमा, यो पृथ्वी डढेर काम नलाग्ने हुन के बेर। मानिसजातिको नामोनिसान रहनेछैन। त्यस्तै प्रकारले प्रकाश ११:१८ ले आखिरी दिनमा जाति जातिहरू “क्रोधित” हुन्छन् र “पृथ्वीका नष्टकारी” हुनेछन् भनेर अगमवाणी गरेको थियो। प्रदूषण र खराब वातावरणले गर्दा अहिले यो ग्रहमा जीवन नै खतरामा पर्न गएको मानव इतिहासमा पहिलोचोटि हो! तसर्थ, भविष्यवाणीको यो भाग पनि विस्तृत रूपमा पूर्ति भइरहेको छ वा पूरा हुन लागेको छ। मानिसले आफैलाई र यस ग्रहलाई नष्ट नगरूञ्जेल के युद्ध र प्रदूषण झन् झन् बढिरहन्छ? अहँ, बढ्दैन। किनभने बाइबलले त पृथ्वी सधैंभरि रहनेछ अनि यसमा सही मनोवृत्ति भएका मानिसहरू बस्नेछन् भनेर बताउँछ।—भजन ३७:२९; मत्ती ५:५.
तेस्रो, आखिरी दिनको चिह्नलाई विशेषगरि एकसाथ समेटेर हेर्दा पत्यारिलो देखिन्छ। येशूले तीन सुसमाचारका पुस्तकहरू, पावलका लेखोटहरू र प्रकाशको पुस्तकमा उल्लेख गर्नुभएका भागहरूलाई विचार गर्दा हामी यस चिह्नका थुप्रै भागहरू पाउँछौं। चिह्नका कुनै एक भाग औंल्याएर अरू समयमा पनि त्यस्तै कठिनाइहरू आएको थियो भनेर कुनै व्यक्तिले विरोध गर्लान्। तर ती भागहरूलाई एकसाथ विचार गर्दा त्यसले निस्सन्देह हाम्रै समयलाई औंल्याएको पाउँछौं।
तैपनि, यी सबैको अर्थ के हो? के बाइबलले हाम्रो समय निराशाजनक र खिन्नलाग्दो समय मात्र हो भनेर बताउँछ? पटक्कै होइन!
सुसमाचार
आखिरी दिनको चिह्नका भागहरूमध्ये सबैभन्दा उल्लेखनीय भाग मत्ती २४:१४ मा लिपिबद्ध छ: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” अहिले यहोवाका साक्षीहरूले इतिहासमा कहिल्यै नभएको अनुपम कार्य गरेका छन्। तिनीहरूले यहोवा परमेश्वरको राज्यबारे बाइबलको सन्देश अर्थात् यो राज्य के हो, यसले कसरी शासन गर्छ र यो कसरी आउनेछ भन्ने समाचार ग्रहण गरेका छन् अनि यो सन्देश सारा पृथ्वीभरि फैलिएको छ। तिनीहरूले यसबारे ३०० भन्दा बढी भाषाहरूमा साहित्य प्रकाशित गरेका छन् अनि घरदैलोमा वा सडकमा अथवा काम गर्ने ठाउँमा गएर मानिसहरूलाई ती साहित्य दिएका छन्। यो काम पृथ्वीको प्रायजसो सबै ठाउँमा गरिएको छ।
यसो गरेर तिनीहरूले उक्त भविष्यवाणी पूरा गरिरहेका छन्। तर तिनीहरूले आशा पनि बाँडिरहेका छन्। ध्यान दिनुहोस्, येशूले यसलाई अशुभ समाचार होइन “सुसमाचार” भन्नुभयो। यस अन्धकार समयमा यो कसरी सम्भव छ? किनभने बाइबलको मुख्य सन्देश यस पुरानो संसारको अन्त हुने समयमा कत्तिका खराब कुराहरू हुनेछन् भनेर बताउनु होइन। यसको मुख्य सन्देश त परमेश्वरको राज्य हो। अनि त्यस राज्यले प्रत्येक शान्तिप्रिय मानिसलाई मूल्यवान् लाग्ने कुरा अर्थात् छुटकाराको प्रतिज्ञा गर्छ।
तर त्यो छुटकारा के हो र तपाईंले त्यो कसरी पाउन सक्नुहुन्छ? कृपया, यसबारे जान्न यसपछिका लेखहरू विचार गर्नुहोस्।
[फुटनोट]
a टाइटसले अचूक युक्ति चलाए। तैपनि, तिनले चिताएजस्तो दुइ महत्त्वपूर्ण कुराहरू गर्न पाएनन्। तिनले शान्तिमय ढंगमा आत्मसमर्पण गर्न प्रस्ताव राखे। तर अचम्मलाग्दो कुरा, शहरका नेताहरूले हठी हुँदै त्यस प्रस्तावलाई ठुक्राए। अनि अन्ततः शहरको पर्खाल भत्काइँदा तिनले मन्दिर चाहिं नष्ट नगर्ने आज्ञा दिए। यद्यपि, यसलाई पूर्णतया जलाइयो! यरूशलेम तहसनहस पारिनेथियो र त्यसको मन्दिर पूर्णतया नष्ट हुनेथियो भनेर येशूले प्रष्टै भविष्यवाणी गर्नुभएको थियो।—मर्कूस १३:१, २.
[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]
मानिसहरूले यस्ता दुःखदायी प्रश्नहरूका जवाफ खोजिरहेका छन्, यति विघ्न खराबी किन? मानिसजाति कतातिर लम्किंदैछ?
[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]
आज, युद्धमा मर्नेहरूमध्ये ९० प्रतिशत त जनसाधारण नै छन्
[पृष्ठ ७-मा भएको चित्र]
यरूशलेमको विनाशबारे येशूले गर्नुभएको एक एक भविष्यवाणी पूरा भयो