छिमेकीलाई प्रेम गर्ने चलन, खै कता गयो?
लाखौं मानिसहरू आफूलाई एक्लो ठान्छन्, डराउँछन् अनि अरू कतै जाने उपाय नभएको दुःखी मानिस सम्झन्छन्। “म एक्लै खान्छु, एक्लै हिंड्छु, एक्लै सुत्छु र एक्लै बरबराउँछु,” एक व्यक्तिले आफ्नो दुःखेसो पोखे। हुन पनि खाँचोमा परेकाहरूलाई मदत गर्न अघि सर्ने मानिसहरू आजकाल कमै पाइन्छन्।
अवकाशप्राप्त एक व्यापारी महिलाले यसो भनिन्: ‘मेरो घरको पल्लो कोठामा बस्ने विधवाले एक साँझ मेरो कोठामा आएर आफूलाई एक्लो लागिरहेको कुरा बताइन्। मैले सोझै तर विनयी भावमा मसँग कुरा गर्ने फुर्सत छैन भनिदिएँ। मलाई बाधा पुऱ्याएकोमा माफी मागेर तिनी आफ्नो बाटो लागिन्।’
सो व्यापारी महिलाले अझ भनिन्: ‘त्यस्तो झन्झटबाट उम्कन सकेकोमा मलाई निकै गर्व लाग्यो। भोलिपल्ट साँझ साथीले फोन गरेर म बसेकै घरमा बस्ने आइमाईले हिजो राति आत्महत्या गरिन् भनेर मलाई बताइन् र कतै मैले त्यो आइमाईलाई चिन्छु कि भनेर सोधिन्। सायद तपाईंले अनुमान लगाइसक्नुभयो होला। हो, तिनी त्यही आइमाई थिइन् जो त्यो साँझ मेरो ढोका ढकढक्याउन आएकी थिइन्।’ यो घटनापछि, आफूले “ठूलो पाठ” सिकेकी उक्त व्यापारी महिलाले पछि बताइन्।
माया नपाउने बच्चाहरू मर्नसक्छन् भनेर सबैलाई थाह छ। तर माया पाएनन् भने वृद्ध व्यक्तिहरू पनि त्यसरी नै मर्नसक्छन्। पन्ध्र वर्षकी एउटी सुन्दरीले आत्महत्या गर्नुअघि लेखेकी थिइन्: “माया पाउने व्यक्ति कहिल्यै एक्लो हुँदैन।”
वर्तमान समयको दुःखलाग्दो घटना
केही वर्षअघि जातीय घृणाबारे टिप्पणी गर्दै न्यूजविक पत्रिकाले यस्तो रिपोर्ट दिएको थियो: “यो वर्षको आहान नै ‘आफ्नो छिमेकीलाई घृणा गर’ भन्ने भएजस्तो छ।” पहिलेको युगोस्लाभियाको भूभागमा, बोस्निया र हर्जगोभिनामा भएको भिडन्तमा लाखौं मानिसहरू घरबारविहीन भए, अनि हजारौं मारिए। कसले गर्दा? “हाम्रा छिमेकीले गर्दा,” आफ्नो गाउँबाट खेदिएकी केटीले दुःखी हुँदै भनिन्। “हामीले तिनीहरूलाई राम्ररी चिनेका थियौं।”
रुगान्डा भन्ने गाउँमा बसोबास गर्ने ३,००० हुटु र टुट्सी गाउँलेहरूबारे एउटी महिलाले यसो भनिन्: “हामी मिलेर बस्थ्यौं।” यस सन्दर्भमा न्यु योर्क टाइम्स पत्रिकामा यो लेखिएको थियो: “रूवान्डाको यो एउटा गाउँको कथा पूरै रूवान्डाकै कथा थियो: हुटु र टुट्सीहरू मिलेर बस्थे, उनीहरूबीच विवाह चल्थ्यो र अझ भनौं भने को हुटु, को टुट्सी कसैलाई मतलबै थिएन। तर एक दिन त्यो कथाले अर्कै मोड लियो,” र त्यही दिनदेखि “माराकाट सुरु भयो।”
त्यस्तैगरि इजरायलमा यहूदी र अरबीहरू सँगसँगै बस्छन् र पनि थुप्रैले एकअर्कालाई घृणा गर्छन्। यो २० औं शताब्दीभरि उत्तरी आयरल्याण्डमा, भारत र पाकिस्तानमा, मलेसिया र इन्डोनेसियामा, संयुक्त राज्यका जातिहरूबीचमा भनौं हामी बसिरहेको संसारभरि यसरी एकअर्कामाथि घृणा व्यक्त गरिंदै आएको छ।
जातीय र धार्मिक घृणाका यस्ता उदाहरणहरू थाकुञ्जेल बताउन सकिन्छ। यो संसारमा यति विघ्न प्रेमको कमी सायद यसअघि कहिल्यै भएको थिएन।
दोषी को?
प्रेम गर्न सिकाइएजस्तै घृणा गर्न पनि सिकाइन्छ। एउटा लोकप्रिय गीतको बोलले केटाकेटीहरूलाई “छ, सात, आठ नपुगि सिक, तिम्रा आफन्तहरूले घृणा गर्नेलाई घृणा गर” भनेर प्रोत्साहन दिइन्छ भनेर बताउँछ। विशेषगरि, आजकाल सिकाइने कुरा नै घृणा हो। अझ खासगरी चर्चहरूले पनि आफ्ना सदस्यहरूलाई प्रेम गर्न सिकाएका छैनन्।
फ्रेन्च समाचारपत्र ले मोन्ड-मा यस्तो प्रश्न गरिएको थियो: “बुरुन्डी र रूवान्डामा लड्ने टुट्सी र हुटुहरूलाई सिकाउने मसीही मिसनरीहरू अनि तिनीहरूले धाउने गरेका चर्चहरू एउटै थिए, हामी कसरी बिर्सनसक्छौं?” हुन पनि नेशनल क्याथोलिक रिपोर्टर, अनुसार रुवान्डाका “७० प्रतिशत जनताहरू क्याथोलिक हुन्।”
यो शताब्दीको सुरुसुरुतिर पूर्वीय युरोपका देशहरू नास्तिक अनि साम्यवादी भएका थिए। किन? चेकोस्लोभाकिया, प्रागको धर्म विभागका डीनले सन् १९६० तिर यस्तो विचार प्रकट गरे: “यो देशमा साम्यवाद आउनुका कारण हामी, हामी मसीहीहरू हौं। . . . कुनै समय साम्यवादीहरू पनि मसीहीहरू थिए भनेर नबिर्सनुहोस्। तिनीहरूले परमेश्वर न्यायी हुनुहुन्छ भनेर विश्वास गर्न सकेनन् भने त्यसको दोषी को?”
प्रथम विश्व युद्ध हुँदा चर्चहरूले गरेका काम सम्झनुहोस्। बेलायती ब्रिगेडियर जनरल फ्रान्क क्रोजियरले यसो भने: “मसीही चर्चहरू रक्तपिपासुहरूका स्रष्टा हुन्। ती अझै पनि हामीसँग छन् र त्यसको हामीले खुलेआम प्रयोग पनि गऱ्यौं।” पछि, दोस्रो विश्व युद्ध अन्त हुँदा, न्यु योर्क टाइम्स-ले भनेको थियो: “बितेका समयमा स्थानीय क्याथोलिक पादरी वर्गले प्रायः सधैं आफ्नो देशले लडिरहेका युद्धलाई समर्थन गर्थे। सिपाहीहरूलाई आशिष् दिन्थे, विजयका लागि प्रार्थना गर्थे जबकि विपक्षीहरूका पादरीहरूले पनि आफ्नो देशका लागि त्यस्तै खुलेआम प्रार्थना गरिरहेका हुन्थे।”
तर येशू ख्रीष्टले आफ्ना सम्पूर्ण काम तथा व्यवहारमा प्रेम प्रदर्शन गर्नुभयो। अनि प्रेरित पावलले लेखे: “आपसमा प्रेम गर्नू भन्ने तिमीहरू आफैले पनि परमेश्वरबाट शिक्षा पाएका छौ।” (१ थिस्सलोनिकी ४:९) “साँचो मसीहीहरू येशू ख्रीष्टका भाइबहिनीहरू हुन्,” भ्यानकुभरबाट प्रकाशित हुने सन पत्रिकाका स्टाफ लेखकले भने। “तिनीहरूले कहिल्यै जानाजानी एकअर्कालाई चोट पुऱ्याउने छैनन्।”
प्रष्ट छ, आज प्रेम कतै नपाइनुमा चर्चहरूको ठूलो दोष छ। इन्डिया टुडे पत्रिकामा प्रकाशित एउटा लेखमा के भनिएको थियो भने, “धर्मको नाउँमा असाध्यै घृणास्पद अपराधहरू भएका छन्।” तथापि, हाम्रो पुस्ता यतिविघ्न निष्ठुर हुनुको आधारभूत कारण छ।
प्रेम किन सेलाएको?
त्यसको जवाफ हाम्रो सृष्टिकर्ताले दिनुहुन्छ। उहाँको वचन बाइबलले हामी बाँचिरहेको समयलाई “आखिरी दिन” भनेको छ। बाइबलको भविष्यवाणीअनुसार यो यस्तो समय हो जुनबेला मानिसहरू “स्वाभाविक प्रेम रहितका” हुन्छन्। हामी बसिरहेको “डरलाग्दो समय” जसलाई धर्मशास्त्रमा “जगत्को अन्त” पनि भनेको छ, येशू ख्रीष्टले त्यतिबेला “धेरैका प्रेम सेलाएर जानेछ“ भनेर भविष्यवाणी गर्नुभएको थियो।—२ तिमोथी ३:१-५; मत्ती २४:३, १२.
त्यसकारण, आजभोलि मानिसहरूमा प्रेम नहुनु, हामी यो संसारको आखिरी दिनमा बाँचिरहेका छौं भन्ने प्रमाण हो। तर खुसीको कुरा, त्यसको मतलब अब छिट्टै अभक्त मानिसहरूले भरिएको यो संसारको ठाउँमा प्रेमले भरिएको धार्मिक संसार स्थापित हुनेछ।—मत्ती २४:३-१४; २ पत्रुस ३:७, १३.
तर यस्तो परिवर्तन हुनेछ भनेर विश्वास गर्ने कुनै ठोस कारण छ र? एकअर्कालाई प्रेम गर्ने अनि आपसमा मिलेर बस्ने मानिसहरूले भरिएको संसारमा हामी बस्न पाऔंला त?