“महा संकष्ट” आउनुअघि सुरक्षित स्थानमा भाग्नुहोस्
“जब यरूशलेमलाई फौजले घेरेको देखौला, . . . यहूदियामा हुनेहरू डाँड़ातिर भागून्।”—लूका २१:२०, २१.
१. अझै पनि संसारका भाग हुनेहरू तुरुन्तै भाग्नु किन जरुरी छ?
शैतानको संसारको भाग भएका मानिसहरू तुरुन्तै भाग्नु जरुरी छ। यस वर्तमान रीतिरिवाजको नाशबाट बच्न तिनीहरूले यहोवाको पक्षमा दृढ अडान लिएको र शैतान अधीनस्थ संसारको भाग होइन भनेर पत्यारिलो प्रमाण पेश गरेकै हुनुपर्छ।—याकूब ४:४; १ यूहन्ना २:१७.
२, ३. मत्ती २४:१५-२२ मा लिपिबद्ध येशूका शब्दहरूसित सम्बन्धित कुन प्रश्नहरू हामी छलफल गर्नेछौं?
२ येशूले यस रीतिरिवाजको अन्तबारे महान् भविष्यवाणी गर्नुहुँदा त्यस्तो भगाइ अत्यावश्यक छ भनेर जोड दिनुभयो। हामी मत्ती २४:४-१४ मा लिपिबद्ध कुराहरूबारे बारम्बार छलफल गर्छौं। यद्यपि, त्यसपछिका विवरणहरू पनि कम महत्त्वपूर्ण छैनन्। अहिले हामी तपाईंलाई आफ्नो बाइबल खोलेर पद १५ देखि २२ पढ्न प्रोत्साहित गर्छौं।
३ त्यस भविष्यवाणीको अर्थ के हो? प्रथम शताब्दीमा “उजाड़ गर्ने घृणित कुरा” के थियो? “पवित्र स्थानमा खड़ा भएको”-ले कुन कुरालाई संकेत गऱ्यो? त्यस घटनाले हामीमा के अर्थ राख्छ?
“पढ़नेले बुझोस्”
४. (क) यहूदीहरूले मसीहलाई अस्वीकार गरेपछि हुने घटनाबारे दानियल ९:२७ ले के भन्यो? (ख) यो कुरा उल्लेख गर्नुहुँदा किन येशूले स्पष्टसित यसो भन्नुभयो, “पढ़नेले बुझोस्”?
४ याद गर्नुहोस्, येशूले मत्ती २४:१५ मा दानियलको पुस्तकमा लेखिएको कुरा उल्लेख गर्नुभएको थियो। त्यस पुस्तकको अध्याय ९ मा मसीहको आगमन र उहाँलाई अस्वीकार गरेको हुनाले यहूदी राष्ट्रमाथि आइपर्ने न्यायदण्डबारे भविष्यवाणी गरिएको थियो। पद २७ को पछिल्लो भागले भन्छ: “यिनै घृणित कुराहरूको साथमा नाशको कर्त्ता आउनेछ।” एन्टिओक चौथौंले सा.यु.पू. दोस्रो शताब्दीतिर यरूशलेमस्थित यहोवाको मन्दिरलाई अपवित्र पार्दा दानियलको भविष्यवाणीको त्यो भाग प्रारम्भिक यहूदी परम्परामा लागू भयो। तर येशूले चेताउनी दिनुभयो: “पढ्नेले बुझोस्।” एन्टिओक चौथौंले मन्दिर अपवित्र पार्नु घृणित कुरा थियो, तैपनि यसले यरूशलेम, यसको मन्दिर वा यहूदी राष्ट्रमाथि विनाश भने ल्याएन। तसर्थ, स्पष्टतः येशूले आफ्ना श्रोताहरूलाई यस भविष्यवाणीको पूर्ति भइसकेको होइन तर भविष्यमा अझै हुनेछ भनेर भन्नुहुँदै थियो।
५. (क) सुसमाचारका विवरणहरू तुलना गर्दा कसरी हामी प्रथम शताब्दीको “घृणित कुरा” चिन्ने मदत पाउँछौं? (ख) सा.यु. ६६ मा किन सेस्तियस ग्यालसले यरूशलेममा सेना पठाए?
५ ती श्रोताहरू सतर्क हुनुपर्ने “घृणित कुरा” के थियो? यसको लागि मत्तीको विवरण उल्लेखनीय छ: “जब तिमीहरूले . . . उजाड़ गर्ने घृणित कुरा पवित्र स्थानमा खड़ा भएको देखौला।” तथापि, त्यस्तै विवरण हामी लूका २१:२० मा पाउँछौं: “जब यरूशलेमलाई फौजले घेरेको देखौला, तब त्यसको विनाश नजीकै आइपुगेछ भनेर जान।” येशूले अग्रिमवाणी गर्नुभएको कुरा यरूशलेममा बस्ने मसीहीहरूले सा.यु. ६६ मा अवश्यै देखे। यहूदी र रोमी अधिकृतहरूबीच भएका एकपछि अर्को संघर्षहरूले गर्दा यरूशलेम रोम विरुद्ध विद्रोहको अखडा भयो। परिणामस्वरूप यहूदिया, सामरिया, गालील, डिकापोलिस, फिनोसिया, उत्तर सिरिया र दक्षिण मिश्रभरि हिंसा फैलियो। रोमी साम्राज्यको त्यस भागमा शान्ति कायम गर्न सेस्तियस ग्यालसले अरामबाट यरूशलेममा सेना पठाए, जुन यरूशलेमलाई यहूदीहरू “पवित्र शहर” भन्थे। —नहेम्याह ११:१; यशैया ५२:१.
६. उजाड गर्नसक्ने “घृणित कुरा पवित्र स्थानमा खड़ा भएको” कुरा कसरी सत्य साबित भयो?
६ ध्वजा वा झन्डाहरू बोक्नु रोमी सेनाको प्रचलन थियो। तिनीहरूको दृष्टिकोणमा त्यो पवित्र थियो तर यहूदीहरू भने त्यसलाई मूर्तिपूजा ठान्थे। चाखलाग्दो कुरा, दानियलको पुस्तकमा “घृणित कुरा” भनेर अनुवाद गरिएको हिब्रू शब्द मुख्यतः मूर्ति र मूर्तिपूजा बुझाउन प्रयोग गरिन्छ।a (व्यवस्था २९:१७) यहूदीहरूको विरोधको बावजूद रोमी सेना सा.यु. ६६ नोभेम्बरतिर आफ्नो मूर्तिपूजाका झन्डाहरू बोकेर यरूशलेममा घुसे र मन्दिरको उत्तरपट्टिको पर्खालमुनि सुरुङ खन्न थाले। निस्सन्देह, यो “घृणित कुरा” थियो जसले “पवित्र स्थानमा खड़ा भएर” यरूशलेमको पूर्ण विनाश गर्नसक्थ्यो! तर कुनै पनि व्यक्ति कसरी भाग्नसक्थ्यो?
तुरुन्तै भाग्नु जरूरी थियो!
७. रोमी सेनाले कुन अप्रत्याशित काम गरे?
७ यरूशलेमलाई सजिलै कब्जा गर्न सकिने स्थिति हुँदाहुँदै रोमी सेना अचानक त्यहाँबाट फर्क्यो। मानव दृष्टिकोणले हेर्ने हो भने त्यसको कुनै स्पष्ट कारण थिएन। फर्कंदै गरेको रोमी सेनालाई यहूदी विद्रोहीहरूले यरूशलेमबाट लगभग ५० किलोमिटर पर एन्टिप्याट्रिससम्म मात्र लखेटे। त्यसपछि तिनीहरू यरूशलेम फर्के। त्यहाँ आइपुगेपछि तिनीहरू थप रणनीतिको योजना बनाउन मन्दिरमा भेला भए। युवाहरूलाई किल्लाबन्दी बलियो पार्न र सैन्य सेवाको लागि भर्ना गरियो। के यसमा मसीहीहरूले भाग लिए? तिनीहरूले यसलाई अस्वीकार गरे भने तापनि रोमी सेना यरूशलेम फर्केपछि के तिनीहरू अझै खतरापूर्ण क्षेत्रमा पर्नेथिए?
८. येशूका भविष्यसूचक शब्दहरूअनुरूप मसीहीहरूले तुरुन्तै के गरे?
८ यरूशलेम र सारा यहूदियामा बस्ने मसीहीहरूले येशू ख्रीष्टको भविष्यसूचक चेताउनी पालन गरेर खतरापूर्ण क्षेत्रबाट भागे। तुरुन्तै भाग्नु जरुरी थियो! समयमै तिनीहरू पहाडी भेकतिर लागे। सम्भवतः तिनीहरूमध्ये केही पेरियाको प्रान्त पेलामा बसोबास गरे। येशूको चेताउनीलाई मनमा राख्नेहरूले आफ्ना भौतिक सम्पत्तिहरू बचाउनेतर्फ ध्यान दिएर मूर्खता देखाएनन्। (तुलना गर्नुहोस् लूका १४:३३) त्यस्तो परिस्थितिमा यरूशलेमबाट पैदल हिंड्नु गर्भवती स्त्री र सुत्केरीहरूलाई अवश्य पनि सजिलो त भएन। तिनीहरूलाई यसरी भाग्दा विश्राम दिनको प्रतिबन्धहरूले रोकेनन् र जाडो याम आउनै लागेको भए तापनि आइसकेको थिएन। येशूको चेताउनी सुन्नेहरू चाँडै यरूशलेम र यहूदियाबाट सुरक्षितसाथ बाहिर निस्के। त्यसैमा तिनीहरूको जीवन निर्भर थियो।—तुलना गर्नुहोस् याकूब ३:१७.
९. रोमी सेना कति चाँडो फर्के र त्यसको परिणाम के भयो?
९ त्यसको लगत्तै अर्को वर्ष सा.यु. ६७ मा रोमीहरूले यहूदीहरू विरुद्ध नयाँ युद्ध अभियान चलाए। प्रथमतः तिनीहरूले गालील कब्जा गरे। त्यसपछिको वर्षमा यहूदिया तहसनहस पारे। सा.यु. ७० भित्र रोमी सेनाले यरूशलेमलाई पूरै घेरा हाले। (लूका १९:४३) यरूशलेम अचाक्ली अनिकालको चपेटामा पऱ्यो। शहरभित्र घेरामा परेकाहरूले एकअर्कालाई आक्रमण गरे। त्यहाँबाट भाग्ने चेष्टा गर्नेहरू मारिए। तिनीहरूले येशूले भन्नुभएको “महा संकष्ट” अनुभव गरे।—मत्ती २४:२१.
१०. होशियारीपूर्वक पढ्यौं भने अरू के कुराप्रति ध्यान केन्द्रित गर्नेछौं?
१० के येशूले अग्रिमवाणी गर्नुभएका सबै कुरा पूरा भए? अहँ, अझै थुप्रै कुरा पूरा हुन बाँकी नै थिए। येशूको सल्लाहअनुसार होशियारीपूर्वक धर्म- शास्त्र पढ्यौं भने, हुन आउने कुराहरूप्रति ध्यान केन्द्रित गर्न चुक्नेछैनौं। हाम्रो जीवनमा त्यसले के अर्थ राख्छ, त्यसबारे पनि हामी गम्भीरतापूर्वक सोच्नेछौं।
आधुनिक समयको “घृणित कुरा”
११. दानियलले अरू कुन दुइ परिच्छेदहरूमा “घृणित कुरा[को]” उल्लेख गर्छन् र त्यहाँ छलफल गरिएको समयावधि कुन हो?
११ याद गर्नुहोस्, दानियल ९:२७ बाहेक दानियल ११:३१ र १२:११ मा “उजाड़ गर्ने घृणित कुरा[बारे]” थप चर्चा गरिएका छन्। तर यी पछिका पदहरूमा यरूशलेमको विनाशबारे बताइएको छैन। वास्तवमा, दानियल १२:११ “अन्तको समय” उल्लेख गरेको केवल दुइ पदपछि लेखिएको जस्तो देखिन्छ। (दानियल १२:९) सन् १९१४ देखि हामी त्यस्तो समयमा बाँचिरहेका छौं। तसर्थ, आधुनिक समयको “उजाड़ गर्ने घृणित कुरा” चिन्न हामी सजग हुनुपर्छ र खतरापूर्ण क्षेत्रबाट निक्लन निश्चित गर्नुपर्छ।
१२, १३. राष्ट्र संघलाई आधुनिक समयको “घृणित कुरा” भनेर वर्णन गर्नु किन उपयुक्त छ?
१२ आधुनिक समयको “घृणित कुरा” के हो? प्रमाणले राष्ट्र संघलाई औंल्याउँछ। संसारले अन्तको समयमा पाइला टेकेको तुरुन्तैपछि सन् १९२० मा यसलाई स्थापित गरिएको थियो। तर त्यो कसरी “उजाड़ गर्ने घृणित कुरा” हुनसक्छ?
१३ स्मरण रहोस्, बाइबलमा “घृणित कुरा” भनेर प्रयोग गरिएको हिब्रू शब्द मुख्यतः मूर्ति र मूर्तिपूजासित सम्बन्धित छ। के राष्ट्र संघको मूर्तिपूजा गरियो? निस्सन्देह गरियो! पादरीहरूले यसलाई “पवित्र स्थानमा” खडा गरे र तिनीहरूका अनुयायीहरूले त्यसलाई गहिरो भक्ति चढाए। त्यो राष्ट्र संघ “परमेश्वरको पार्थिव राज्यको राजनैतिक अभिव्यक्ति” हुनेछ भनेर अमेरिकास्थित ख्रीष्टका चर्चहरूको संघीय परिषद्ले घोषणा गऱ्यो। राष्ट्र संघको प्रतिज्ञापत्रको समर्थन गर्न आग्रह गर्दै थुप्रै धार्मिक समूहहरूले संयुक्त राज्यको माथिल्लो सदनलाई पत्र पठाए। बेलाइतको ब्याप्टिस्ट, कग्रिंगेशनल तथा प्रेसबाइटेरियनको साधारण समितिले यसलाई “[पृथ्वीमा शान्ति] ल्याउने एक मात्र उपलब्ध साधन” भनेर प्रशंसा गरे।—हेर्नुहोस् प्रकाश १३:१४, १५.
१४, १५. कुन तरिकामा राष्ट्र संघ र त्यसपछि संयुक्त राष्ट्र “पवित्र स्थानमा” आए?
१४ परमेश्वरको मसीह राज्य सन् १९१४ मा स्थापित भइसकेको थियो। तर राष्ट्रहरूले आ-आफ्नो सार्वभौमिकताको लागि युद्ध लड्न थाले। (भजन २:१-६) राष्ट्र संघ स्थापना गर्ने प्रस्ताव राख्दा भर्खरै प्रथम विश्वयुद्ध लड्ने राष्ट्रहरूको सेनालाई आशिष् दिने पादरीहरूलगायत ती राष्ट्रहरूले परमेश्वरको नियम त्यागेको कुरा प्रदर्शित गरिसकेका थिए। तिनीहरूले ख्रीष्टलाई राजाको रूपमा मानिरहेका थिएनन्। यसप्रकार, तिनीहरूले परमेश्वरको राज्यको रूपमा मानव संगठनलाई राखे। राष्ट्र संघलाई तिनीहरूले “पवित्र स्थान[मा]” राखे, जुन स्थान त्यसको थिएन।
१५ राष्ट्र संघको उत्तराधिकारीको रूपमा सन् १९४५ को अक्टोबर २४ मा संयुक्त राष्ट्र संघ खडा भयो। पछि, रोमका पोपहरूले संयुक्त राष्ट्र संघलाई “एकता र शान्तिको लागि अन्तिम आशा” अनि “शान्ति र न्यायको सर्वोच्च मञ्च ” भनेर स्वागत गरे। हो, राष्ट्र संघ र यसको उत्तराधिकारी संयुक्त राष्ट्र संघ यहोवा र उहाँका मानिसहरूको दृष्टिमा मूर्ति अर्थात् “घृणित कुरा” भयो।
कहाँबाट भाग्नु?
१६. धार्मिकताका प्रेमीहरू आज कहाँबाट भाग्नु आवश्यक छ?
१६ उपरोक्त कुराप्रति ‘दृष्टि राख्दै’ अनि अन्तरराष्ट्रिय संगठन के हो र यसलाई कसरी पुजिंदैछ भनी थाह लाउँदै धार्मिकताका प्रेमीहरू सुरक्षित स्थानमा तुरुन्तै भाग्न आवश्यक छ। कहाँबाट भाग्नु? आधुनिक समयको प्रतिरूपी अविश्वासी यरूशलेम अर्थात् मसीहीजगत र झूटो धर्मको विश्वव्यापी रीतिरिवाज महान् बेबिलोनबाट।—प्रकाश १८:४.
१७, १८. आधुनिक समयको “घृणित कुरा[ले]” कसलाई उजाड पार्नेछ?
१७ यो पनि स्मरण रहोस्, यरूशलेम र यसको उपासना प्रणालीलाई उजाड पार्न मूर्तिपूजाका ध्वजाहरू लिएर प्रथम शताब्दीमा रोमी सेना यहूदीहरूको पवित्र शहरमा प्रवेश गरेका थिए। हाम्रो समयमा केवल एउटा शहर या मसीहीजगत होइन तर झूटो धर्मको सम्पूर्ण विश्वव्यापी रीतिरिवाज उजाड हुनेछ।—प्रकाश १८:५-८.
१८ प्रकाश १७:१६ मा लिपिबद्ध अग्रिमवाणीअनुसार चहकिलो रातो रंगको प्रतीकात्मक जंगली जनावर प्रमाणित भएको संयुक्त राष्ट्रले वेश्यारूपी महान् बेबिलोनसित दुस्मनी गरेर त्यसलाई क्रूरतापूर्वक नाश गर्नेछ। ज्वलन्त भाषामा त्यहाँ यस्तो लेखिएको छ: “तिमीले देखेका ती दश सीङ र त्यस जानवरले त्यस वेश्यासँग दुश्मनी गर्नेछन्, र त्यसलाई उजाड़ र नाङ्गो पार्नेछन्। औ त्यसको मासु खानेछन्, र त्यसलाई आगोमा भस्म पारिदिनेछन्।” सोच्दा मात्र पनि यो कति विस्मित पार्ने कुरा हो। यसको परिणामस्वरूप पृथ्वीका सम्पूर्ण झूटो धर्मको अन्त हुनेछ। निस्सन्देह, त्यसले महासंकष्ट सुरु भयो भनेर देखाउनेछ।
१९. संयुक्त राष्ट्र स्थापित भएदेखि कुन तत्त्वहरू यसको भाग भएका छन् र यो किन उल्लेखनीय छ?
१९ उल्लेखनीय कुरा, सन् १९४५ मा संयुक्त राष्ट्र सञ्चालन भएदेखि यसका सदस्यहरूबीच नास्तिकवाद, धर्मविरोधी तत्त्वहरूले विशिष्ट स्थान पाएका छन्। सारा संसारभरि बेग्लाबेग्लै समयमा धार्मिक प्रचलनहरूलाई कडिकडाउ गर्न वा ठप्प पार्न उग्रवादी तत्त्वहरू सहायक सिद्ध भएका छन्। तथापि, बितेका केही वर्षहरूमा थुप्रै ठाउँहरूमा धार्मिक समूहहरूमाथि सरकारको दबाब कम भएको छ। केही मानिसहरूलाई धर्ममाथि आइपर्ने कुनै पनि खतरा हट्यो भन्ने लाग्ला।
२०. संसारका धर्महरूले कस्तो नाउँ कमाएका छन्?
२० तथापि, महान् बेबिलोनका धर्महरूले संसारमा हिंसात्मक उत्पात मच्चाइरहेका छन्। समाचारपत्रको मुख्य समाचारहरूले बारम्बार युद्धरत गुट र आतंकवादी समूहहरूको परिचय तिनीहरूलाई समर्थन गर्ने धर्मको नाउँ लिएर दिन्छन्। दंगाफसाद नियन्त्रण प्रहरी र सिपाहीहरूले धार्मिक गुटबीचको हिंसा रोक्न तिनीहरूका मन्दिरहरूमा बलजफ्ती घुस्नु परेको छ। धार्मिक गुटहरूले राजनैतिक आन्दोलनलाई वित्तीय सहयोग दिएका छन्। जातीय समूहहरूको सम्बन्ध बलियो बनाउन संयुक्त राष्ट्रले चालेका प्रयासहरूलाई धार्मिक द्वेषभावले निरुत्साहित पारेको छ। शान्ति र सुरक्षा ल्याउन चाहने संयुक्त राष्ट्रभित्रका गुटहरूले त्यस लक्ष्यमा बाधा पुऱ्याउने कुनै पनि धार्मिक प्रभाव हटेको देख्न चाहन्छन्।
२१. (क) महान् बेबिलोनको नाश कहिले गर्ने भनेर कसले निर्णय गर्नेछ? (ख) त्यसअघि तुरुन्तै के गर्नु जरुरी छ?
२१ ध्यान दिनुपर्ने महत्त्वपूर्ण तत्त्व अर्को पनि छ। संयुक्त राष्ट्रभित्रका सैन्य शक्तिले महान् बेबिलोनलाई नाश गर्न सुसज्जित दश सिङलाई प्रयोग गर्ने भए तापनि वास्तवमा त्यो नाश ईश्वरीय न्यायको अभिव्यक्ति हुनेछ। परमेश्वरले तोक्नुभएको समयमा न्यायदण्ड आउनेछ। (प्रकाश १७:१७) त्यतिञ्जेल हामीले के गर्नुपर्छ? बाइबल जवाफ दिन्छ, “त्यसबाट निस्केर आओ” अर्थात् महान् बेबिलोनबाट निस्केर आओ।—प्रकाश ८:४.
२२, २३. यसरी भाग्नुमा कुन कुराहरू सम्मिलित छन्?
२२ यसरी सुरक्षित स्थानमा भाग्नु भनेको यरूशलेम छाडेर यहूदी मसीहीहरू भागेको जस्तो भौगोलिक बसाइँ सर्नु होइन। भाग्नु भनेको मसीहीजगतका धर्महरूबाट निस्कनु हो। हो, महान् बेबिलोनको कुनै पनि भागबाट निस्कनु। यसको अर्थ, झूटा धार्मिक संगठनहरूबाट मात्र होइन तर तिनीहरूको परम्परा र कुप्रवृत्तिहरूबाट पनि पूर्णतया अलग रहनु हो। यसको अर्थ, सुरक्षित स्थान अर्थात् यहोवाको ईश्वरतान्त्रिक संगठनभित्र भाग्नु हो।—एफिसी ५:७-११.
२३ यहोवाका अभिषिक्त सेवकहरूले प्रथम विश्वयुद्धपछि स्थापित राष्ट्र संघलाई आधुनिक समयको घृणित कुरा भनेर प्रथम चोटि चिन्दा साक्षीहरूले कस्तो प्रतिक्रिया देखाए? तिनीहरूले मसीहीजगतका चर्चहरूसित आफ्नो सम्बन्ध तोडिसकेका थिए। तर तिनीहरूले क्रसको प्रयोग अनि क्रिसमस तथा अन्य गैरमसीही उत्सवहरू मनाउने जस्ता मसीहीजगतका केही परम्परा र प्रचलनहरूलाई आफूले अझै मानि- रहेको कुरा भने बिस्तारै बुझे। ती कुराहरूबारे सच्चाइ थाह पाएपछि तिनीहरूले तुरुन्तै ती पनि त्यागे। यशैया ५२:११ को सल्लाह तिनीहरूले पालन गरे: “गइहाल, गइहाल, त्यहाँबाट जाऊ! अशुद्ध थोक नछोऊ! हे परमप्रभुका पात्र बोक्ने हो, त्यसको बीचबाट निस्केर जाऊ। तिमीहरू आफैलाई शुद्ध पार।”
२४. भाग्ने क्रममा विशेष गरेर सन् १९३५ देखि को सम्मिलित भए?
२४ पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने आशा राखेका अन्य मानिसहरूको बढ्दो भीडले विशेषगरि सन् १९३५ देखि त्यस्तै गर्न थाले। तिनीहरूले पनि ‘घृणित कुरा पवित्र स्थानमा खड़ा भएको देखेका छन्’ र त्यसको अर्थ बुझ्छन्। भाग्ने निर्णय गरेपछि तिनीहरूले महान् बेबिलोनको भाग भएका संगठनहरूबाट आफ्नो सदस्यता हटाएका छन्।—२ कोरिन्थी ६:१४-१७.
२५. झूटो धर्मसित सबै सम्बन्ध तोड्नुबाहेक के गर्नु आवश्यक छ?
२५ तथापि, महान् बेबिलोनबाट भाग्न झूटो धर्मलाई त्यागेर मात्र पुग्दैन। यसमा राज्यभवनका केही सभाहरू धाउनु वा महिनाको एक दुइ चोटि क्षेत्र सेवकाईमा सुसमाचार प्रचार गर्नु मात्र पर्याप्त छैन। एक व्यक्ति शारीरिक तवरमा महान् बेबिलोनबाट अलग बस्लान् तर के तिनले त्यसलाई साँच्चै त्यागेका छन्? के तिनले महान् बेबिलोन नै प्रमुख भाग भएको यस संसारबाट आफूलाई अलग राखेका छन्? परमेश्वरका धार्मिक स्तरहरूको तिरस्कार गर्ने खालका प्रवृत्तिलाई झल्काउने कुराहरूमा के तिनी अझै मुछिएका छन्? यौन नैतिकता र वैवाहिक विश्वसनीयतालाई के तिनले हल्कासित लिइरहेका छन्? के तिनले आध्यात्मिक कुरामा भन्दा व्यक्तिगत र भौतिक कुराप्रति जोड दिन्छन्? तिनले यस रीतिरिवाजको नक्कल उतार्नु हुँदैन।—मत्ती ६:२४; १ पत्रुस ४:३, ४.
तपाईं भाग्दा बाधा आउन नदिनुहोस्!
२६. कुन कुराले हामीलाई भाग्नु मात्र होइन तर यसलाई सफलतापूर्वक पूरा गर्न मदत दिनेछ?
२६ सुरक्षित ठाउँमा भाग्ने क्रममा हामीले छाडिसकेका कुराहरूको लालसा नगर्नु अपरिहार्य छ। (लूका ९:६२) हामीले आफ्नो मन तथा हृदयलाई परमेश्वरको राज्य र उहाँको धार्मिकताप्रति पूर्णतया केन्द्रित गर्नुपर्छ। के हामीले यस्तो विश्वासी कार्यमा यहोवाले आशिष् दिनुहुनेछ भनी निर्धक्क भई यी कुराहरूलाई प्राथमिकता दिंदै विश्वास प्रदर्शन गर्ने संकल्प गरेका छौं? (मत्ती ६:३१-३३) त्यस लक्ष्यलाई हासिल गर्न धर्मशास्त्रमा आधारित विश्वासले हामीलाई त्यति बेला उत्प्रेरित गर्नुपर्ने हो, जब हामी संसारको परिस्थितिमा हुने महत्त्वपूर्ण परिवर्तनहरूको उत्सुकतासाथ बाटो हेर्छौं।
२७. यहाँ सोधिएका प्रश्नहरूबारे गम्भीरतापूर्वक सोच्नु किन अत्यावश्यक छ?
२७ ईश्वरीय न्यायदण्ड महान् बेबिलोनको विनाशसँगै सुरु हुनेछ। वेश्यारूपी झूटो धर्मको साम्राज्यलाई सधैंको लागि अस्तित्वविहीन बनाइनेछ। त्यो समय एकदमै निकट छ! त्यो महत्त्वपूर्ण समय आउँदा यहोवासमक्ष हाम्रो व्यक्तिगत अडान कस्तो हुनेछ? महासंकष्टको चरमोत्कर्षमा शैतानको दुष्ट रीतिरिवाजका बाँकी भाग नाश हुँदा हामी कसको पक्षमा हुनेछौं? अहिल्यै आवश्यक कदम उठायौं भने हाम्रो सुरक्षा निश्चित हुनेछ। यहोवा हामीलाई भन्नुहुन्छ: “जसले मेरा वचन सुन्छन् तिनीहरू बेफिक्री रहनेछन्।” (हितोपदेश १:३३) यस रीतिरिवाजको अन्तको दौडान वफादारी र आनन्दसाथ यहोवाको निरन्तर सेवा गऱ्यौं भने हामी सधैंको लागि उहाँको सेवा गर्न योग्य हुन्छौं।
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित शास्त्रमाथि अन्तरदृष्टि-को (अंग्रेजी) खण्ड १, पृष्ठ ६३४-५ हेर्नुहोस्।
के तपाईंलाई सम्झना छ?
◻ आधुनिक समयको “घृणित कुरा” के हो?
◻ कुन अर्थमा “घृणित कुरा पवित्र स्थानमा” छ?
◻ सुरक्षित स्थानमा भाग्नुमा अहिले कुन कुरा सम्मिलित छ?
◻ त्यसो गर्नु किन जरुरी छ?
[पृष्ठ १६-मा भएको चित्र]
बच्नका लागि येशूका अनुयायीहरू अविलम्ब भाग्नुपर्थ्यो