प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ६/१ पृ. ९-१४
  • साँपको सन्तान कसरी पर्दाफास भयो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँपको सन्तान कसरी पर्दाफास भयो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • त्यस भविष्यवाणीको अर्थ के हो
  • “तेरो र स्त्रीको बीचमा . . . दुश्‍मनी”
  • परमेश्‍वरकी स्त्रीको सन्तानप्रति वैरभाव
  • आधुनिक समयमा साँपको सन्तानको पर्दाफास
  • बाइबलको महान विषय
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • सबै अगमवक्‍ताहरूले गवाही दिएका जन
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • ती जन जसबारे सबै अगमवक्‍ताहरूले गवाही दिए
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • हाम्रो लागि ठूलो अर्थ राख्ने बाइबलको पहिलो भविष्यवाणी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ६/१ पृ. ९-१४

साँपको सन्तान कसरी पर्दाफास भयो?

“तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु।”—उत्पत्ति ३:१५.

१. (क) यहोवा किन आनन्दित परमेश्‍वर हुनुहुन्छ? (ख) हामीले उहाँको आनन्दमा भाग लिन सकोस्‌ भनी उहाँले के गर्नुभएको छ?

यहोवा आनन्दित परमेश्‍वर हुनुका असल कारणहरू छन्‌। उहाँ असल कुराहरूको महान्‌ र प्रमुख दाता हुनुहुन्छ। उहाँका उद्देश्‍यहरूको पूर्तिमा कुनै कुराले बाधा पुऱ्‍याउन सक्दैन। (यशैया ५५:१०, ११; १ तिमोथी १:११; याकूब १:१७) आफ्ना सेवकहरू उहाँको आनन्दमा सहभागी भएको उहाँ चाहनुहुन्छ। र उहाँले त्यसो गर्ने उचित कारणहरू प्रदान गर्नुहुन्छ। अतः मानव इतिहासको सबैभन्दा अन्धकार क्षण अर्थात्‌ अदनमा विद्रोह हुँदा पनि आशा लिएर भविष्यको बाटो हेर्ने आधार उहाँले हामीलाई प्रदान गर्नुभयो।—रोमी ८:१९-२१.

२. यहोवाले अदनमा विद्रोहीहरूलाई न्यायदण्ड सुनाउनुहुँदा आदम र हव्वाको सन्तानका लागि कसरी आशाको आधार दिनुभयो?

२ यहोवाका आत्मिक पुत्रहरूमध्ये एकले परमेश्‍वरको विरोध र निन्दा गरेर आफूलाई भर्खरै शैतान अर्थात्‌ दियाबल बनाएको थियो। प्रथम मानव आदम र हव्वाले त्यसको प्रभावमा परेर यहोवाको सुस्पष्ट नियम उल्लंघन गरेका थिए। तिनीहरूलाई मृत्युदण्ड दिनु न्यायोचित थियो। (उत्पत्ति ३:१-२४) यद्यपि, यहोवाले ती विद्रोहीहरूलाई न्यायदण्ड सुनाउनुहुँदा आदम र हव्वाका सन्तानहरूलाई आशाको आधार प्रदान गर्नुभयो। कसरी? यहोवाले भन्‍नुभएको कुरा उत्पत्ति ३:१५ मा यसरी लिपिबद्ध छ: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्‌।” त्यो भविष्यवाणी सम्पूर्ण बाइबलका साथै संसार र यहोवाका सेवकहरू समावेश भएको अतीत तथा वर्तमानका घटनाहरू बुझ्ने कुञ्जी हो।

त्यस भविष्यवाणीको अर्थ के हो

३. उत्पत्ति ३:१५ मा उल्लेख गरेअनुसार (क) साँप, (ख) “स्त्री,” (ग) साँपको “सन्तान,” (घ) स्त्रीको “सन्तान” को हुन्‌, पत्ता लगाउनुहोस्‌।

३ त्यस भविष्यवाणीको महत्त्व बुझ्न त्यसका विभिन्‍न पक्षहरू विचार गर्नुहोस्‌। उत्पत्ति ३:१५ मा सम्बोधन गरिएको साँप वास्तविक सर्प नभएर त्यसलाई प्रयोग गर्ने व्यक्‍ति हो। (प्रकाश १२:९) त्यस “स्त्री” चाहिं हव्वा होइनन्‌ तर यहोवाको स्वर्गीय संगठन अर्थात्‌ पृथ्वीमा भएका उहाँका आत्मा-अभिषिक्‍त सेवकहरूकी आमा हुन्‌। (गलाती ४:२६) साँपको “सन्तान” अर्थात्‌ शैतानको सन्तान शैतानका गुनहरू देखाउने र स्त्रीको “सन्तान”-प्रति दुश्‍मनी गर्ने प्रेत, मानव तथा मानव संगठनहरू हुन्‌। (यूहन्‍ना १५:१९; १७:१५) त्यस स्त्रीको “सन्तान” मुख्यतः येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ सा.यु. २९ मा पवित्र आत्माद्वारा अभिषिक्‍त हुनुभयो। एक लाख चवालिस हजार चाहिं पुनः “पानी र आत्माले जन्मे[का]” अनि स्वर्गीय राज्यमा येशूका उत्तराधिकारी हुन्‌ र प्रतिज्ञा गरिएको सन्तानको सहायक भाग हुन्‌। सा.यु. ३३ पेन्तिकोसदेखि तिनीहरूलाई स्त्रीको सन्तानमा सम्मिलित गराइयो।—यूहन्‍ना ३:३, ५; गलाती ३:१६, २९.

४. पृथ्वी पाप र मृत्युबाट मुक्‍त मानिसहरूले भरिएको प्रमोदवन हुन्छ भन्‍ने कुरासित उत्पत्ति ३:१५ कसरी सम्बन्धित छ?

४ अदनमा वास्तविक साँपलाई बोल्ने साधनको रूपमा प्रयोग गर्ने व्यक्‍तिको छलले गर्दा मानिसजातिले प्रमोदवन गुमायो। उत्पत्ति ३:१५ ले त्यो साँप चलाउने व्यक्‍तिको नाश हुने समयलाई संकेत गर्छ। त्यसपछि फेरि परमेश्‍वरका सेवकहरूले पाप र मृत्युबिनाको प्रमोदवनमा बस्ने मौका पाउनेछन्‌। त्यो कति आनन्ददायक समय हुनेछ!—प्रकाश २०:१-३; २१:१-५.

५. कुन दुर्गुणहरूले दियाबलको आत्मिक सन्तानलाई चिनाउँछन्‌?

५ अदनको विद्रोहपछि यहोवाको इच्छा र उहाँका उपासकहरूको विरोध गर्ने र साथै विद्रोह, झूट, निन्दा र हत्याजस्ता शैतान अर्थात्‌ दियाबलका दुर्गुणहरू प्रदर्शित गर्ने व्यक्‍तिविशेष तथा संगठनहरू देखा पर्न थाले। उपरोक्‍त दुर्गुणहरूले दियाबलका आत्मिक छोराछोरीहरू चिनाए। यिनीहरूमध्ये कयिन पनि एक थिए। यहोवाले कयिनको साटो हाबिलको उपासना ग्रहण गर्नुहुँदा तिनले हाबिलको हत्या गरेका थिए। (१ यूहन्‍ना ३:१०-१२) अर्को निम्रोद हो, जसको नाउँले नै तिनलाई विद्रोही भनेर चिनायो। तिनी परमेश्‍वरको विरुद्धमा एक शक्‍तिशाली शिकारी र शासक भए। (उत्पत्ति १०:९) यसबाहेक, बाबेललगायत एकपछि अरू पुरातन राज्यहरू क्रमशः देखा परे। ती राज्यहरूले झूटमा आधारित आफ्नै राष्ट्रिय धर्महरूको प्रवर्धन गर्नुका साथै यहोवाका उपासकहरूलाई निर्ममतापूर्वक दबाए।—यर्मिया ५०:२९.

“तेरो र स्त्रीको बीचमा . . . दुश्‍मनी”

६. कुन तरिकाहरूमा शैतानले यहोवाकी स्त्रीप्रति दुस्मनी देखाएको छ?

६ यहोवा परमेश्‍वरले भविष्यवाणी गर्नुभएजस्तै त्यस सम्पूर्ण समयको दौडान साँप र यहोवाकी स्त्रीबीच अथवा शैतान अर्थात्‌ दियाबल र यहोवाका वफादार आत्मिक प्राणीहरूले बनिएको परमेश्‍वरको स्वर्गीय संगठनबीच दुस्मनी थियो। शैतानले यहोवाको निन्दा गरेर अनि स्वर्गदूतहरूलाई तिनीहरूको उचित स्थान त्याग्न उक्साउँदै यहोवाको स्वर्गीय संगठन भंग गर्न खोजेर आफ्नो दुस्मनी देखायो। (हितोपदेश २७:११; यहूदा ६) यहोवाले पठाउनुभएका स्वर्गदूतीय सन्देशवाहकहरूलाई शैतानले आफ्ना प्रेतहरू चलाएर हस्तक्षेप गर्ने चेष्टा गर्दा त्यसको दुस्मनी प्रकट भयो। (दानियल १०:१३, १४, २०, २१) यस २०औं शताब्दीमा मसीह राज्य जन्मेपछि त्यसलाई नष्ट गर्ने कोसिस गर्न खोज्दा त्यसको दुस्मनी पूर्णतया छर्लंग भयो।—प्रकाश १२:१-४.

७. यहोवाका वफादार स्वर्गदूतहरूले कस्तो धैर्य धारण गरेका भए तापनि किन तिनीहरूले प्रतीकात्मक साँपप्रति दुस्मनी महसुस गरे?

७ त्यस प्रतीकात्मक साँपसित यहोवाकी स्त्री र वफा- दार स्वर्गदूतहरूको समूहको पनि दुस्मनी थियो। शैतानले परमेश्‍वरको असल नाउँको निन्दा गरेको थियो। त्यसले स्वर्गदूतहरूलगायत यहोवाका प्रत्येक बौद्धिक प्राणीहरूको निष्ठाबारे पनि शंका गरेको थियो। अनि त्यसले परमेश्‍वरप्रति तिनीहरूको वफादारीलाई भंग गर्ने प्रयास पनि गरिरहेको थियो। (प्रकाश १२:४क) अतः वफादार स्वर्गदूत, करुब तथा सराफहरूले दियाबल अर्थात्‌ शैतानलाई किन घृणा नगरोस्‌। यद्यपि, यहोवाले आफ्नो निर्धारित समयमा यस मामिलालाई सँभाल्नुहुनेछ भनेर तिनीहरूले धैर्य धारण गरेका छन्‌।—तुलना गर्नुहोस्‌ यहूदा ९.

परमेश्‍वरकी स्त्रीको सन्तानप्रति वैरभाव

८. शैतानले कसलाई खोजिरहेको थियो?

८ त्यसबीच शैतानले बडो होशियार भई स्त्रीको सन्तानलाई खोजिरहेको थियो किनभने स्त्रीको यही सन्तानले साँपको शिर कुच्याउनेछ भनेर यहोवाले भविष्यवाणी गर्नुभएको थियो। बेतलेहेममा जन्मनुभएको येशू “मुक्‍तिदाता, . . . ख्रीष्ट प्रभु हुनुहुन्छ” भनेर स्वर्गदूतले स्वर्गबाट घोषणा गरेपछि अग्रिमवाणी गरिएकी स्त्रीको सन्तान उहाँ हुनुहुन्छ भनी पक्का भयो।—लूका २:१०, ११.

९. येशूको जन्मपछि शैतानले कसरी भीषण दुस्मनी प्रदर्शन गऱ्‍यो?

९ शैतानको भीषण दुस्मनी चाँडै देखियो। त्यसले मूर्तिपूजक ज्योतिषीहरूलाई प्रथमतः यरूशलेमका राजा हेरोदकहाँ अनि त्यसपछि येशू जन्मनुभएको बेतलेहेमको घरमा जान प्रलोभित गऱ्‍यो। त्यहाँ तिनीहरूले बालक येशू र उहाँकी आमा मरियमलाई भेट्टाए। त्यसको तुरुन्तैपछि राजा हेरोदले बेतलेहेम वरपरका दुइ वर्ष पुगेका र त्यस मनिका सबै बालकहरूलाई मार्ने आदेश दिए। यसो गरेर हेरोदले स्त्रीको सन्तानप्रति शैतानी घृणा देखाए। मसीह हुने व्यक्‍तिको हत्या गर्ने चेष्टा गरिरहेको छु भनेर हेरोदलाई राम्ररी थाह थियो। (मत्ती २:१-६, १६) राजा हेरोद कुटिल, धूर्त र हत्यारा थिए भनेर इतिहासले पुष्टि दिन्छ। साँच्चै तिनी साँपका सन्तानहरूमध्ये एक थिए।

१०. (क) येशूको बप्तिस्मापछि शैतानले कसरी प्रतिज्ञा गरिएको सन्तानबारे यहोवाको उद्देश्‍य विफल तुल्याउने चेष्टा गऱ्‍यो? (ख) आफ्नो लक्ष्य पूरा गर्न शैतानले कसरी यहूदी धार्मिक नेताहरूलाई चलायो?

१० यहोवाले येशूलाई सा.यु. २९ मा पवित्र आत्माद्वारा अभिषेक गर्नुभएर स्वर्गीय वाणीद्वारा आफ्नो पुत्र भनी स्वीकार्नुभयो। त्यसपछि शैतानले यहोवाको पुत्रसम्बन्धी उहाँको उद्देश्‍यलाई विफल पार्न येशूलाई बारम्बार प्रलोभनमा फसाउने कोसिस गऱ्‍यो। (मत्ती ४:१-१०) त्यसमा असफल भएपछि त्यसले आफ्ना लक्ष्यहरू पूरा गर्न मानव कार्यकर्ताहरूलाई चलायो। येशूको अपमान गर्न त्यसले प्रयोग गरेकाहरूमध्ये कपटी धार्मिक नेताहरू पनि थिए। शैतानले चलाउने झूट र निन्दाजस्ता युक्‍तिहरू तिनीहरूले चलाए। येशूले पक्षाघातीलाई “साहस गर, . . . तिम्रा पाप तिमीलाई क्षमा भयो” भन्‍नुहुँदा शास्त्रीहरूले त्यो मानिस साँच्चै निको भयो या भएन हेर्दै नहेरी येशूलाई ईश्‍वरनिन्दक भनेर दोष लगाए। (मत्ती ९:२-७) येशूले विश्राम दिनमा मानिसहरूलाई निको पार्नुहुँदा उहाँले विश्राम दिनको नियम भंग गर्नुभयो भनेर फरिसीहरूले भर्त्सना गरे र उहाँको हत्या गर्ने मतो बाँधे। (मत्ती १२:९-१४; यूहन्‍ना ५:१-१८) येशूले भूतहरू धपाउनुहुँदा फरिसीहरूले “भूतको मालिक, बालजिबुल[सित]” उहाँको सम्बन्ध छ भने। (मत्ती १२:२२-२४) लाजरसलाई बिउँताउनुभएपछि थुप्रै मानिसहरूले येशूमाथि विश्‍वास गरे तर मुख्य पूजाहारी र फरिसीहरूले उहाँलाई मार्ने पुनः मतो बाँधे।—यूहन्‍ना ११:४७-५३.

११. आफ्नो मृत्यु हुनुभन्दा तीन दिनअघि येशूले कसलाई साँपको सन्तानको भाग भनेर चिनाउनुभयो र किन?

११ तिनीहरूको योजना राम्ररी थाह हुँदाहुँदै पनि नीसान ११, सा.यु. ३३ का दिन येशू निडर भएर यरूशलेमको मन्दिरमा सरासर जानुभयो र तिनीहरूमाथि आइपर्ने न्याय खुलेआम घोषणा गर्नुभयो। आफू कुन प्रकारका व्यक्‍ति हुन्‌ भनेर शास्त्री र फरिसीहरूले सामूहिक तवरमा बारम्बार प्रदर्शन गरे। त्यसैकारण येशूले भन्‍नुभयो: “धिक्कार, तिमीहरूलाई, शास्त्री र फरिसी हो, कपटीहरू! किनकि तिमीहरू मानिसहरूका विरुद्ध स्वर्गको राज्य बन्द गर्दछौ। किनभने तिमीहरू नता आफै पस्तछौ, न पस्नेहरूलाई पनि पस्न दिन्छौ।” तिनीहरू साँपको सन्तानको भाग हुन्‌ भनेर येशूले औंल्याउनुहुँदै यसो भन्‍नुभयो: “ए सर्पहरू, साँबे सर्पका बच्चा हो, तिमीहरू नरकको दण्डदेखि कसरी उम्कनेछौ?” (मत्ती २३:१३, ३३) उहाँका शब्दहरूले उत्पत्ति ३:१५ को भविष्यवाणीलाई झल्काउँछन्‌।

१२, १३. (क) आफ्नो आत्मिक पिता को हो भनी मुख्य पूजाहारी र शास्त्रीहरूले कसरी थप प्रमाण दिए? (ख) तिनीहरूलाई कसले साथ दियो? (ग) अतः उत्पत्ति ३:१५ को भविष्यवाणीको पूर्तिअनुरूप सर्पले स्त्रीको सन्तानको कुर्कुच्चो कसरी डस्यो?

१२ के येशूका शब्दहरूले तिनीहरूको हृदय छोए? के तिनीहरूले परमेश्‍वरसित दयाको भीख मागे? के तिनीहरूले आफ्नो दुष्टताको लागि पश्‍चात्ताप गरे? अहँ, गरेनन्‌! त्यसको भोलिपल्टै मुख्य पूजाहारीको चोकमा सम्पन्‍न सभामा “मुख्य पूजाहारीहरू र शास्त्रीहरू उहाँलाई [येशू] कसरी छलसित पक्रेर मारौं भन्‍ने खोजीमा थिए” भनेर मर्कूस १४:१ ले बताउँछ। तिनीहरूले शैतानको घातक मनोवृत्ति प्रदर्शित गरिरहे, जसलाई येशूले केही समयअघि हत्यारा भनेर संज्ञा दिनुभएको थियो। (यूहन्‍ना ८:४४) त्यसको लगत्तैपछि शैतानको बहकाउमा परेर धर्मत्यागी यहूदा इस्करयोतीले तिनीहरूलाई साथ दिए। यहूदाले परमेश्‍वरको स्त्रीको निर्दोष सन्तानलाई त्यागेर साँपको सन्तानलाई साथ दिए।

१३ नीसान १४ को सबेरै यहूदी धार्मिक महासभाका सदस्यहरूले येशूलाई कैदीको रूपमा रोमी बडाहाकिमकहाँ सुम्पे। येशूलाई झुण्ड्याउनैपर्छ भनी माग गर्दा अगुवाइ लिने व्यक्‍ति मुख्य पूजाहारी थिए। पिलातसले “के म तिमीहरूका राजालाई क्रूसमा टाँगूँ?” भनेर सोध्दा “सिजरबाहेक हाम्रा अरू राजै छैन” भनेर जवाफ दिने व्यक्‍ति मुख्य पूजाहारी थिए। (यूहन्‍ना १९:६, १५) निस्सन्देह, तिनीहरूले आफू साँपको सन्तानका भाग हुन्‌ भनेर हरेक तरिकाबाट साबित गरे। तर अवश्‍य तिनीहरू मात्र साँपका सन्तान थिएनन्‌। मत्ती २७:२४, २५ मा लिपिबद्ध प्रेरित अभिलेखले यस्तो विवरण दिन्छ: “पिलातसले पानी लिई भीड़को सामु आफ्नो हात धोए।” तब सबै मानिसले भने: “उसको रगत, हामीहरू र हामीहरूका सन्तानमाथि परोस्‌।” यसरी, त्यस पुस्ताका थुप्रै यहूदीहरूले आफू साँपको सन्तानको भाग हुन्‌ भनी चिनाए। त्यो दिन बित्नुअघि नै येशूको मृत्यु भयो। शैतानले आफ्नो दृश्‍य सन्तानलाई चलाएर परमेश्‍वरकी स्त्रीको सन्तानको कुर्कुच्चो डस्यो।

१४. स्त्रीको सन्तानको कुर्कुच्चो डस्नुको अर्थ किन शैतानको विजय थिएन?

१४ के शैतानको विजय भयो? कदापि भएन! येशू ख्रीष्टले संसार र यसको शासकमाथि विजय हासिल गर्नुभएको थियो। (यूहन्‍ना १४:३०, ३१; १६:३३) उहाँ मृत्युपर्यन्त यहोवाप्रति वफादार रहनुभयो। सिद्ध मानवको हैसियतमा उहाँको मृत्युले आदमद्वारा गुमेको जीवन पुनः प्राप्त गर्ने छुडौतीको मोल प्रदान गऱ्‍यो। अतः त्यस प्रबन्धमा विश्‍वास गर्ने र परमेश्‍वरको आज्ञा पालन गर्नेहरूका लागि उहाँले अनन्त जीवनको बाटो खोल्नुभयो। (मत्ती २०:२८; यूहन्‍ना ३:१६) यहोवाले येशूलाई मृत्युबाट अमर स्वर्गीय जीवनमा बिउँताउनुभयो। यहोवाले तोक्नुभएको समयमा येशूले शैतानको अस्तित्व नामेट पार्नुहुनेछ। यहोवाले त्यस वफादार सन्तान मार्फत आशिष्‌ प्राप्त गर्न योग्य कदम चाल्ने पार्थिव परिवारहरूलाई अनुग्रह गर्नुहुनेछ भनी उत्पत्ति २२:१६-१८ मा भविष्यवाणी गरिएको छ।

१५. (क) येशूको मृत्युपछि उहाँका प्रेरितहरूले कसरी साँपको सन्तानको पर्दाफास गरिरहे? (ख) साँपको सन्तानले हाम्रो समयसम्म कुन थप वैरभाव प्रदर्शित गरेको छ?

१५ येशूको मृत्युपछि आत्मा-अभिषिक्‍त मसीहीहरूले आफ्नो प्रभुले जस्तै साँपको सन्तानको पर्दाफास गरिरहे। पवित्र आत्माद्वारा उत्प्रेरित भई पावलले “शैतानको कामबमोजिम” गर्ने “पापको मानिस” विरुद्ध चेताउनी दिए। (२ थिस्सलोनिकी २:३-१०) यो सामूहिक “मानिस” मसीहीजगतको पादरी प्रमाणित भएको छ। त्यसको जवाफमा साँपको सन्तानले येशू ख्रीष्टका अनुयायीहरूलाई भीषण सतावट दियो। शैतानले परमेश्‍वरको स्त्रीको बाँकी सन्तान विरुद्ध हाम्रो समयसम्म युद्ध गरिरहनेछ भनेर प्रेरित यूहन्‍नाले प्रकाश १२:१७ मा अग्रिमवाणी गरे। अनि ठीक त्यस्तै भएको छ। यहोवाका साक्षीहरूले परमेश्‍वरको राज्य र उहाँका धार्मिक तौरतरिकाहरूप्रति दृढ अडान लिएकाले तिनीहरूमाथि प्रतिबन्ध लगाइएको छ, तिनीहरू लुटिए, झ्यालखानामा थुनिए वा जबरजस्ती यातना शिविरमा हालिए।

आधुनिक समयमा साँपको सन्तानको पर्दाफास

१६. आधुनिक समयमा कसलाई साँपको सन्तानको भागको रूपमा पर्दाफास गरिएको छ र कसरी?

१६ येशू ख्रीष्टको अनुकरण गर्दै साँप र त्यसको सन्तानको पर्दाफास गर्न साँचो मसीहीहरू पछि हटेका छैनन्‌। त्यति बेला बाइबल स्टुडेन्ट्‌सका रूपमा चिनिने यहोवाका साक्षीहरूले सन्‌ १९१७ मा टुंगिएको रहस्य (अंग्रेजी) पुस्तक प्रकाशित गरे। त्यसमा तिनीहरूले मसीहीजगतका कपटी पादरीहरूको पर्दाफास गरे। तत्पश्‍चात्‌ सन्‌ १९२४ मा पादरीहरू दोषी ठहराइए (अंग्रेजी) शीर्षक भएको मुद्रित प्रस्तावना प्रकाशित गरियो। विश्‍वभरि यसको पाँच करोड प्रति वितरण गरिए। सन्‌ १९३७ मा वाच टावर सोसाइटीका तत्कालीन अध्यक्ष जे. एफ. रदरफोर्डले “पर्दाफास” अनि “धर्म र मसीही धर्म” शीर्षक भएका आफ्ना भाषणहरूमा जोडतोडले शैतानको सन्तानको पर्दाफास गरे। लगत्तै अर्को वर्ष तिनले लन्डन, बेलाइतबाट रेडियोटेलिफोन मार्फत दिएको “तथ्यहरूको सामना गर्नुहोस्‌” शीर्षक भाषण विभिन्‍न मुलुकमा सम्पन्‍न ५० अधिवेशनका श्रोताहरूले सुने। त्यसको एक महिनापछि संयुक्‍त राज्यको विस्तृत रेडियो नेटवर्कले “फासिज्म वा स्वतन्त्रता” शीर्षक भएको वक्‍तव्य प्रसारण गऱ्‍यो। ती कार्यक्रमहरूलाई दुस्मन र धर्म जस्ता पुस्तकहरूलगायत प्रकट पुस्तिकाले पनि सहयोग पुऱ्‍याएका थिए। सन्‌ १९२० दशकदेखि प्रकाशित जे जति प्रकाशनहरूअनुरूप प्रकाश—त्यसको चरमोत्कर्ष निकट!a पुस्तकले भ्रष्ट राजनैतिक शासकहरू र सिद्धान्तरहित लोभी व्यापारीहरूलाई साँपको दृश्‍य सन्तानका मुख्य सदस्यहरू हुन्‌ भनी चिनाउँछ। हाल त्यो पुस्तक ६५ भाषाहरूमा मुद्रण गरिएको छ। आफ्ना नागरिकहरूलाई गलत दिशामा डोऱ्‍याउन झूट बोलेर, रगतको पवित्रताप्रति आदर नदेखाएर अनि यहोवाका सेवकहरूलाई थिचोमिचो गरेर (परमेश्‍वरकी स्त्रीको सन्तानप्रति घृणा देखाउँदै) राजनैतिक नेताहरूले निश्‍चय आफूलाई साँपको सन्तानको भाग भनी चिनाउँछन्‌। यही कुरा अवैध व्यापारीहरूमा पनि लागू हुन्छ। तिनीहरूले सही अन्तस्करण नराखी नाफा कमाउन झूट बोल्छन्‌ र रोग उत्पन्‍न गराउने वस्तुहरू उत्पादन गर्छन्‌ वा बिक्री गर्छन्‌।

१७. यस संसारको रीतिरिवाजबाट निक्लेर आउनसक्ने विशिष्ट व्यक्‍तिविशेषहरूका लागि कुन मौका अझै खुल्ला छ?

१७ अन्ततः सांसारिक धर्म, राजनीति वा व्यापारद्वारा कलंकित सबै व्यक्‍तिविशेष साँपको सन्तानको भाग भनी गणना हुनेछैन। यी केही पुरुष तथा स्त्रीहरूले यहोवाका अभिषिक्‍त सेवकहरूप्रति दुस्मनी भाव राख्नुको साटो यहोवाका साक्षीहरूको प्रशंसा गर्छन्‌। यहोवाका साक्षीहरूलाई सहायता गर्न तिनीहरूले आफ्नो अख्तियार प्रयोग गर्छन्‌ र समयमा साँचो उपासनालाई अंगाल्छन्‌। (तुलना गर्नुहोस्‌ प्रेरित १३:७, १२; १७:३२-३४) यस्ता जनहरूलाई यस्तो निवेदन गरिएको छ: “हे राजा हो, बुद्धिमान होओ। हे पृथ्वीका न्यायाधीश हो, शिक्षा लेओ। डरसँग परमप्रभुको सेवा गर, थरथर कामेर रमाओ। पुत्रलाई चुम्बन गर, नत्रता उहाँ रिसाउनुहुनेछ, र तिमीहरू बाटैमा नष्ट हुनेछौ, किनभने उहाँको क्रोध चाँड़ैनै दन्कनेछ। उहाँको शरण लिनेहरू सबै धन्यका हुन्‌।” (भजन २:१०-१२) निस्सन्देह, स्वर्गमा हुनुहुने न्यायाधीशले मौकाको ढोका अकस्मात्‌ बन्द गर्नुअघि यहोवाको अनुग्रह चाहनेहरूले अहिल्यै उपरोक्‍त आग्रह पालन गर्नु अत्यावश्‍यक छ!

१८. स्त्रीको सन्तानको भाग नभए तापनि को चाहिं यहोवाका उपासकहरू हुन्‌?

१८ स्वर्गीय राज्यमा सम्मिलित हुनेहरू मात्र स्त्रीको सन्तानका भाग हुन्‌। तिनीहरू थोरै छन्‌। (प्रकाश ७:४, ९) यद्यपि, अरू मानिसहरूले बनेको एउटा ठूलो भीड छ। हो, तिनीहरू लाखौं छन्‌ र यहोवाका उपासकहरूको हैसियतमा तिनीहरूले पार्थिव प्रमोदवनमा अनन्त जीवनको प्रतीक्षा गर्छन्‌। तिनीहरूले आफ्नो बोली र कार्य दुवैद्वारा यहोवाका अभिषिक्‍त जनहरूलाई यसो भन्छन्‌: “हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाइँसित हुनुहुन्छ।”—जकरिया ८:२३.

१९. (क) सबै मानिसले कुन छनौट गर्नैपर्छ? (ख) मौका हुँदा नै बुद्धिमानीपूर्वक काम गर्न विशेषगरि कसलाई हार्दिक आग्रह गरिएको छ?

१९ सारा मानिसजातिले छनौट गर्नुपर्ने समय अहिल्यै हो। के तिनीहरू यहोवाको उपासना गर्न तथा उहाँको सार्वभौमिकता स्वीकार्न चाहन्छन्‌ वा शैतानलाई खुशी पार्ने कामहरू गरेर त्यसलाई आफ्नो शासक हुने मौका दिन्छन्‌? स्त्रीको सन्तानका शेष जनहरू अर्थात्‌ राज्य उत्तराधिकारीहरूसित मिलेर सारा राष्ट्रका केही ५० लाख मानिसहरूले यहोवाको पक्ष लिएका छन्‌। अरू ८० लाख मानिसहरूले यहोवाका साक्षीहरूसित गृह बाइबल अध्ययन गर्न चासो देखाएका छन्‌ वा तिनीहरूका सभाहरू धाउँदैछन्‌। यी सबैलाई यहोवाका साक्षीहरू यसो भन्छन्‌: मौकाको ढोका अझै खुल्ला छ। कुनै शंकाबिना यहोवाको पक्ष लिनुहोस्‌। ख्रीष्ट येशूलाई प्रतिज्ञा गरिएको सन्तान भनी स्वीकार्नुहोस्‌। आनन्दित भई यहोवाको दृश्‍य संगठनसित संगति गर्नुहोस्‌। यहोवाले राजा ख्रीष्ट येशूको शासन मार्फत प्रबन्ध गर्नुहुने सबै आशिष्‌हरू तपाईंले उपभोग गर्न पाओस्‌।

[फुटनोट]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।

के तपाईंलाई सम्झना छ?

◻ उत्पत्ति ३:१५ मा उल्लेख गरिएको साँप को हो? अनि स्त्री चाहिं को हुन्‌?

◻ कुन दुर्गुणहरूले साँपको सन्तानलाई चित्रित गर्छन्‌?

◻ येशूले कसरी साँपको सन्तानको पर्दाफास गर्नुभयो?

◻ आधुनिक समयमा कसलाई शैतानको सन्तानको भाग भनी पर्दाफास गरिएको छ?

◻ साँपको सन्तानको भाग नहुन कुन अविलम्बी पाइला चाल्नु आवश्‍यक छ?

[पृष्ठ १०-मा भएको चित्र]

येशूले कपटी धार्मिक नेताहरू साँपको सन्तानका भाग हुन्‌ भनी पर्दाफास गर्नुभयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने