प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 सेप्टेम्बर pp. १७-२१
  • आनन्दित हुन्‌ ती मानिसहरू, जसले “आनन्दित परमेश्‍वर”-को सेवा गर्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आनन्दित हुन्‌ ती मानिसहरू, जसले “आनन्दित परमेश्‍वर”-को सेवा गर्छन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बलियो आध्यात्मिकता—आनन्दित हुनको लागि अत्यावश्‍यक
  • हामीलाई आनन्दित बनाउने गुणहरू
  • “हृदय चोखो” हुनेहरू किन आनन्दित हुन्छन्‌?
  • गाह्रो परिस्थितिको बाबजुद आनन्दित हुने
  • येशूका उपदेशहरूले आनन्दित हुन मदत गर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • यहोवाका आनन्दित सेवकहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • के गरेदेखि वास्तवमा आनन्दित भइन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • यहोवाको सेवा गर्नमा साँचो आनन्द छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 सेप्टेम्बर pp. १७-२१
विभिन्‍न उमेर र जातिका हँसिला साक्षीहरू

आनन्दित हुन्‌ ती मानिसहरू, जसले “आनन्दित परमेश्‍वर”-को सेवा गर्छन्‌

“आनन्दित हुन्‌ ती मानिसहरू, जसका परमेश्‍वर यहोवा हुनुहुन्छ!”—भज. १४४:१५.

गीत: ४४, १२५

हामीले के सिक्यौँ?

  • साँचो आनन्द पाउन कुन कुरा अत्यावश्‍यक छ?

  • कस्ता गुणहरूले हामीलाई आनन्दित बनाउँछ?

  • गाह्रो परिस्थितिमा पनि हामी कसरी आनन्दित हुन सक्छौँ?

१. यहोवाका उपासकहरू किन आनन्दित मानिसहरू हुन्‌? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

यहोवाका साक्षीहरू साँच्चै आनन्दित मानिसहरू हुन्‌। सभा, सम्मेलन र सामाजिक जमघटमा तिनीहरू रमाइलो कुराकानी गरिरहेका हुन्छन्‌ र तिनीहरूको हाँसो गुञ्जिरहेको हुन्छ। तिनीहरू किन यत्तिको आनन्दित छन्‌? मुख्य कारण भनेको तिनीहरू “आनन्दित परमेश्‍वर” यहोवालाई चिन्छन्‌, उहाँको सेवा गर्छन्‌ र उहाँको अनुकरण गर्ने प्रयास गर्छन्‌। (१ तिमो. १:११; भज. १६:११) यहोवा आनन्दको स्रोत हुनुहुन्छ। त्यसैले हामी पनि आनन्दित भएको उहाँ चाहनुहुन्छ अनि उहाँले हामीलाई आनन्दित हुने थुप्रै कारण दिनुभएको छ।—व्यव. १२:७; उप. ३:१२, १३.

२, ३. (क) आनन्दित हुनु भनेको के हो? (ख) आनन्दित हुन किन गाह्रो हुन सक्छ?

२ तपाईँ नि? के तपाईँ आनन्दित हुनुहुन्छ? के तपाईँ आफ्नो आनन्दलाई अझ बढाउन सक्नुहुन्छ? आनन्द भनेको “लामो समयसम्म टिकिरहने सुखद स्थितिको अनुभूति हो, जुन सामान्य सन्तुष्टिद्वारा मात्र नभई जिउनुको गहिरो र साँचो सन्तुष्टिद्वारा महसुस हुन्छ र यस्तो भावना सदा कायम रहोस्‌ भन्‍ने स्वाभाविक इच्छा हुन्छ।” परमेश्‍वरबाट आशिष्‌ पाएका मानिसहरूले नै वास्तवमा साँचो आनन्द पाउँछन्‌ भनी बाइबलले देखाउँछ। तर अहिलेको संसारमा आनन्दित हुन गाह्रो हुन सक्छ। किन?

३ तनावपूर्ण अवस्थाहरू, जस्तै: आफूले माया गर्ने व्यक्‍ति बहिष्कृत हुँदा वा तिनको मृत्यु हुँदा अथवा सम्बन्धविच्छेद हुँदा वा जागिर गुमाउँदा हाम्रो आनन्द खोसिन सक्छ। घरेलु तनाव र परिवारमा बेमेल हुँदा पनि हाम्रो आनन्द सेलाउँदै जान सक्छ। सहकर्मी वा सहपाठीले गर्ने गिल्ला, धर्मको कारण भोग्ने सतावट वा जेल सजायले पनि हाम्रो आनन्द खोस्न सक्छ। साथै बिग्रँदो स्वास्थ्य अवस्था, दीर्घकालीन रोग वा डिप्रेसनले पनि हामीलाई निराश बनाउन सक्छ। तर “आनन्दित र एक मात्र शक्‍तिशाली” व्यक्‍ति येसु ख्रिष्ट मानिसहरूलाई सान्त्वना दिन र आनन्दित बनाउन पाउँदा रमाउनुभयो। (१ तिमो. ६:१५; मत्ति ११:२८-३०) डाँडाको उपदेशमा येसुले सैतानको संसारमा जस्तोसुकै परीक्षाको सामना गर्नुपरे तापनि हामीलाई आनन्दित बनाउन सक्ने विभिन्‍न गुणहरूबारे वर्णन गर्नुभयो।

बलियो आध्यात्मिकता—आनन्दित हुनको लागि अत्यावश्‍यक

४, ५. हामी कसरी आनन्द प्राप्त गर्न र आनन्दित रहिरहन सक्छौँ?

४ येसुले जोड दिनुभएको पहिलो बुँदा विशेषगरि महत्त्वपूर्ण छ: “आनन्दित हुन्‌ ती मानिसहरू, जो आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सचेत हुन्छन्‌ किनकि स्वर्गको राज्य तिनीहरूकै हो।” (मत्ति ५:३) आध्यात्मिक आवश्‍यकताबारे सचेत भएको हामी कसरी देखाउँछौँ? आध्यात्मिक भोजन लिएर, आध्यात्मिक मूल्यमान्यताको कदर गरेर अनि आनन्दित परमेश्‍वरको उपासना गर्नुलाई प्राथमिकता दिएर। यस्ता कदमहरू चाल्यौँ भने हाम्रो आनन्द बढ्‌नेछ। परमेश्‍वरका प्रतिज्ञाहरू चाँडै पूरा हुनेछन्‌ भन्‍ने कुरामा हाम्रो विश्‍वास बलियो हुनेछ। अनि परमेश्‍वरको वचनले साँचो उपासकहरूलाई दिने “सुखद आशा”-बाट हौसला पाउनेछौँ।—ति. २:१३.

५ सधैँभरि आनन्दित रहन यहोवासित बलियो सम्बन्ध गाँस्नु अत्यावश्‍यक छ। परमेश्‍वरको प्रेरणा पाएर प्रेषित पावलले यस्तो लेखे: “प्रभु [यहोवामा] सधैँ रमाओ। म फेरि भन्छु, रमाओ!” (फिलि. ४:४) यस्तो अनमोल सम्बन्ध गाँस्न हामीले परमेश्‍वरको बुद्धि हासिल गर्नुपर्छ। परमेश्‍वरको वचन यसो भन्छ: “आनन्दित हो त्यो मानिस, जसले बुद्धि पाउँछ; धन्य हो त्यो मानिस, जसले समझ हासिल गर्छ। यसको बाटोमा हिँड्‌नेहरूका लागि यो जीवनको रूख हो, यसलाई बलियोसँग पक्रनेहरू खुसी हुनेछन्‌।”—हितो. ३:१३, १८.

६. सधैँभरि आनन्दित रहन हामीले के गर्नै पर्छ?

६ तर सधैँभरि आनन्दित रहिरहन हामीले परमेश्‍वरको वचन पढ्‌ने मात्र होइन, त्यसलाई लागू पनि गर्नुपर्छ। सिकेको कुरा लागू गर्नुपर्ने महत्त्वलाई जोड दिँदै येसुले यसो भन्‍नुभयो: “तिमीहरूलाई यी कुराहरू थाह छ अनि यदि तिमीहरू यी कुराहरू गर्छौ भने आनन्दित हौ।” (युह. १३:१७; याकुब १:२५ पढ्‌नुहोस्‌) हो, सिकेको कुरा लागू गऱ्‍यौँ भने मात्र हामी आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गर्न र सधैँभरि आनन्दित रहिरहन सक्छौँ। तर चारैतिर हाम्रो आनन्द खोस्ने कुराहरू व्याप्त भएको अवस्थामा हामी कसरी आनन्दित हुन सक्छौँ? आउनुहोस्‌, येसुले डाँडाको उपदेशमा भन्‍नुभएका कुराहरू केलाऔँ।

हामीलाई आनन्दित बनाउने गुणहरू

७. शोक गर्नेहरू कसरी आनन्दित हुन सक्छन्‌?

७ “आनन्दित हुन्‌ ती मानिसहरू, जसले शोक गर्छन्‌ किनकि तिनीहरूलाई सान्त्वना दिइनेछ।” (मत्ति ५:४) कसैलाई यस्तो लाग्ला, ‘शोक गर्नेहरू कसरी आनन्दित हुन सक्छन्‌ र?’ येसुले यहाँ जुनसुकै कारणले शोक गर्नेहरू आनन्दित हुन्छन्‌ भन्‍न खोजिरहनुभएको थिएन। दुष्ट मानिसहरूसमेत अहिलेको “असाध्यै कठिन समय”-ले निम्त्याएको गाह्रो परिस्थिति देखेर शोक गर्छन्‌। (२ तिमो. ३:१) तर तिनीहरूले आफ्नै विषयमा मात्रै सोचेर शोक गरेको हुँदा यहोवासित नजिक हुँदैनन्‌। त्यसैले त्यस्तो किसिमको शोकले आनन्दित बनाउँदैन। येसुले यहाँ आफ्नो आध्यात्मिक आवश्‍यकताप्रति सचेत भएकाहरूबारे बताइरहनुभएको हुनुपर्छ, जो संसारको दयनीय आध्यात्मिक अवस्था देखेर शोक गर्छन्‌। सायद उनीहरू आफ्नो पापी अवस्थाबारे सजग छन्‌ अनि मानिसहरूको पापपूर्ण अवस्थाले निम्त्याएको दुःखद परिणाम देखेर शोक गर्छन्‌। यस्तो अवस्था देखेर साँच्चै शोक गर्नेहरूलाई यहोवा याद गर्नुहुन्छ; उहाँ तिनीहरूलाई सान्त्वना दिनुहुन्छ, आफ्नो वचनमार्फत ढाडस दिनुहुन्छ अनि अनन्त जीवनको आशा दिनुहुन्छ।—इजकिएल ५:११; ९:४ पढ्‌नुहोस्‌।

८. कोमल स्वभावका मानिसहरू कसरी आनन्दित हुन सक्छन्‌?

८ “आनन्दित हुन्‌ ती मानिसहरू, जो कोमल स्वभावका छन्‌ किनकि तिनीहरू पृथ्वीका उत्तराधिकारी हुनेछन्‌।” (मत्ति ५:५) कोमल स्वभावका मानिसहरू कसरी आनन्दित हुन सक्छन्‌? परमेश्‍वरबारे सही ज्ञान लिएपछि मानिसहरूको स्वभाव परिवर्तन हुन्छ। पहिला तिनीहरू कठोर, झगडालु अनि आक्रामक स्वभावका थिए होलान्‌। तर अहिले तिनीहरूले “नयाँ व्यक्‍तित्व” धारण गरेका छन्‌ अनि “कोमल करुणा, दया, नम्रता, कोमलता र धीरज” देखाउँछन्‌। (कल. ३:९-१२) परिणामस्वरूप अहिले तिनीहरूको जीवन शान्ति, प्रेम अनि अझ धेरै आनन्दले भरिएको छ। साथै यस्ता मानिसहरूले “पृथ्वी अधिकार गर्नेछन्‌” भनी परमेश्‍वरको वचनमा प्रतिज्ञा गरिएको छ।—भज. ३७:८-१०, २९.

९. (क) कुन अर्थमा कोमल स्वभावका मानिसहरू “पृथ्वीका उत्तराधिकारी” हुनेछन्‌? (ख) ‘धार्मिकताका लागि भोकाउने र तिर्खाउनेहरू’ किन आनन्दित हुन सक्छन्‌?

९ कुन अर्थमा कोमल स्वभावका मानिसहरू “पृथ्वीका उत्तराधिकारी” हुनेछन्‌? पवित्र शक्‍तिले अभिषेक गरिएका येसुका चेलाहरूले राजा र पुजारीको रूपमा पृथ्वीमाथि शासन गर्दा तिनीहरू पृथ्वीका उत्तराधिकारी हुनेछन्‌। (प्रका. २०:६) तर स्वर्ग जाने बोलावट नपाएका लाखौँ मानिसहरू त्रुटिरहित, शान्तिमय र आनन्दित अवस्थामा पृथ्वीमा सधैँभरि बस्नेछन्‌। यस अर्थमा तिनीहरू पनि पृथ्वीका उत्तराधिकारी हुनेछन्‌। यी तिनै मानिसहरू हुन्‌, जो “धार्मिकताका लागि भोकाउँछन्‌ र तिर्खाउँछन्‌।” (मत्ति ५:६) धार्मिकता छाएको हेर्ने तिनीहरूको आध्यात्मिक भोक र प्यास नयाँ संसारमा पूर्णतया तृप्त हुनेछ। (२ पत्रु. ३:१३) परमेश्‍वरले दुष्टतालाई नामेट गर्नुभएपछि कुकर्मी र दुष्टहरूले धर्मीहरूको आनन्द खोस्न पाउनेछैनन्‌।—भज. ३७:१७.

१०. कृपालु हुनु भनेको के हो?

१० “आनन्दित हुन्‌ ती मानिसहरू, जो कृपालु छन्‌ किनकि तिनीहरूलाई कृपा देखाइनेछ।” (मत्ति ५:७) कृपासित सम्बन्धित हिब्रू क्रियाले “कोमल भावनाले गर्दा न्यानो महसुस गर्नु; . . . करुणा देखाउनु”-लाई बुझाउँछ। त्यसैगरि कृपा अर्थ लाग्ने ग्रीक क्रियाले अरूप्रति सहानुभूति महसुस गर्नुलाई बुझाउँछ। तर कृपा भनेको कोमल भावना महसुस गर्नु मात्र होइन। बाइबलअनुसार कृपा भनेको मनमा जागेको दयालाई कृपालु कार्यद्वारा देखाउनु हो।

११. मदतगार सामरीको दृष्टान्तबाट कृपालु हुने विषयमा के सिक्न सक्छौँ?

११ लुका १०:३०-३७ पढ्‌नुहोस्‌। येसुले मदतगार सामरीको दृष्टान्त बताउनुहुँदा कृपा भनेको के हो भनेर प्रस्ट पार्नुभयो। कोमल करुणा र कृपाले गर्दा ती सामरीले घाइते व्यक्‍तिलाई मदत गर्न ठोस कदम चाले। यो दृष्टान्त बताउनुभएपछि येसुले यसो भन्‍नुभयो: “जाऊ, तिमी पनि त्यसै गर।” त्यसकारण हामीले आफैलाई यस्ता प्रश्‍न सोध्न सक्छौँ: ‘के म त्यसै गरिरहेको छु? के म करुणा देखाउने सामरीले जस्तै दुःखमा परेकाहरूलाई मदत गर्छु? के म दुःख भोगिरहेकाहरूलाई अझ धेरै कृपा देखाउन उनीहरूको लागि कुनै दयालु काम गर्न सक्छु? उदाहरणको लागि, के म वृद्ध ख्रिष्टियन, विधवा र आमाबुबा सत्यमा नभएका छोराछोरीलाई व्यावहारिक मदत दिन सक्छु? “जो निराश छन्‌, तिनीहरूसित सान्त्वनादायी कुरा” गर्न के म अग्रसर हुन सक्छु?’—१ थिस्स. ५:१४; याकु. १:२७.

एक जवान भाइ खुसीसाथ वृद्ध भाइको सामान बोकिदिन्छन्‌

कृपा देखाउन अग्रसर हुनुहोस्‌ अनि त्यसो गर्दा कति धेरै आनन्द पाइन्छ, त्यो अनुभव गर्नुहोस्‌ (अनुच्छेद १२ हेर्नुहोस्‌)

१२. कृपालु हुँदा हामी कसरी आनन्दित हुन सक्छौँ?

१२ कृपालु हुँदा हामी कसरी आनन्दित हुन सक्छौँ? कृपालु हुँदा हामी अरूलाई केही दिइरहेका हुन्छौँ र अरूलाई दिँदा पाइने आनन्द महसुस गर्छौँ। साथै यो देखेर यहोवा पनि खुसी हुनुहुन्छ भनी थाह पाउँदा हामी आनन्दित हुन्छौँ। (प्रेषि. २०:३५; हिब्रू १३:१६ पढ्‌नुहोस्‌) अरूको ख्याल राख्ने व्यक्‍तिबारे राजा दाउदले यसो भने: “यहोवाले उसको रक्षा गर्नुहुनेछ र उसलाई जीवित राख्नुहुनेछ। ऊ पृथ्वीमा आनन्दित मानिस भनेर चिनिनेछ।” (भज. ४१:१, २) अरूलाई करुणा देखाउँदा यहोवाले हामीलाई पनि कृपा देखाउनुहुनेछ अनि हामी सधैँभरि आनन्दित हुन सक्नेछौँ।—याकु. २:१३.

“हृदय चोखो” हुनेहरू किन आनन्दित हुन्छन्‌?

१३, १४. हृदय चोखो हुनु र आनन्दित हुनुबीच कस्तो सम्बन्ध छ?

१३ येसुले यसो भन्‍नुभयो: “आनन्दित हुन्‌ ती मानिसहरू, जसको हृदय चोखो छ किनकि तिनीहरूले परमेश्‍वरलाई देख्नेछन्‌।” (मत्ति ५:८) हृदय चोखो राख्न हामीले आफ्नो भावना र चाहनालाई चोखो अर्थात्‌ सफा राख्नुपर्छ। यहोवाले हाम्रो उपासना स्विकारेको चाहन्छौँ भने हामीले आफ्नो सोचाइलाई सफा राख्नै पर्छ।—२ कोरिन्थी ४:२ पढ्‌नुहोस्‌; १ तिमो. १:५.

१४ हृदय चोखो हुनेहरू यहोवाको नजरमा स्वच्छ हुन्छन्‌ र उहाँसित तिनीहरूको सम्बन्ध राम्रो हुन्छ। यहोवा आफैले यसो भन्‍नुभएको छ: “आनन्दित हुन्‌ ती मानिसहरू, जसले आफ्नो लुगा धोएका छन्‌।” (प्रका. २२:१४) ‘आफ्नो लुगा धुनु’-को अर्थ के हो? अभिषिक्‍त ख्रिष्टियनहरूले “आफ्नो लुगा धोएका छन्‌” भन्‍नुको अर्थ हो, तिनीहरू यहोवाको नजरमा सफा छन्‌ अनि तिनीहरूले स्वर्गमा अमर जीवन पाउनेछन्‌ र सधैँभरि आनन्दित हुनेछन्‌। पृथ्वीमा सधैँभरि जिउने आशा पाएका ठूलो भीडका सदस्यहरू पनि परमेश्‍वरका मित्र बनेर उहाँसामु धर्मी ठहरिन सक्छन्‌। तिनीहरूले अहिल्यै पनि ‘आ-आफ्नो लुगा पाठोको रगतमा धोएर सेता बनाउँदै छन्‌।’—प्रका. ७:९, १३, १४.

१५, १६. चोखो हृदय भएकाहरूले कसरी ‘परमेश्‍वरलाई देख्न’ सक्छन्‌?

१५ चोखो हृदय भएकाहरूले कसरी “परमेश्‍वरलाई देख्न” सक्छन्‌ जबकि “[परमेश्‍वरको] अनुहार हेरेर कोही पनि जिउँदो रहन सक्दैन”? (प्रस्थ. ३३:२०) यहाँ प्रयोग गरिएको ग्रीक शब्द ‘देख्नु’-ले “मनले देख्नु, बुझ्नु र चिन्‍नु” भन्‍ने अर्थ दिन्छ। यहोवालाई साँच्चै चिनेकाहरूले अनि उहाँका गुणहरूको कदर गरेकाहरूले उहाँलाई ‘मनको आँखाले’ देख्छन्‌। (एफि. १:१८) येसुले यहोवाको व्यक्‍तित्व दुरुस्तै अनुकरण गर्नु भएकोले उहाँले यसो भन्‍न सक्नुभयो: “जसले मलाई देखेको छ, उसले बुबालाई पनि देखेको छ।”—युह. १४:७-९.

१६ साँचो उपासकहरूले यहोवाका गुणहरूबारे थाह पाउनुका साथै उहाँले तिनीहरूको खातिर गर्नुभएका कामहरूको आधारमा पनि ‘परमेश्‍वरलाई देख्न’ सक्छन्‌। (अय्यु. ४२:५) साथै चोखो रहन अनि वफादार भई यहोवाको सेवा गर्न प्रयत्न गर्नेहरूको लागि उहाँले प्रतिज्ञा गर्नुभएका सुन्दर आशाहरूमा तिनीहरू आफ्नो ‘मनको आँखा’ केन्द्रित गर्छन्‌। अनि पुनर्जीवित अभिषिक्‍त जनहरू स्वर्गमा गएपछि तिनीहरूले यहोवालाई साँच्चै देख्नेछन्‌।—१ युह. ३:२.

गाह्रो परिस्थितिको बाबजुद आनन्दित हुने

१७. शान्ति कायम गर्दा हामी कसरी आनन्दित हुन सक्छौँ?

१७ येसुले यसो पनि भन्‍नुभयो: “आनन्दित हुन्‌ ती मानिसहरू, जसले शान्ति कायम गर्छन्‌।” (मत्ति ५:९) शान्ति कायम गर्न अग्रसर हुँदा हामी आनन्दित हुन सक्छौँ। चेला याकुबले यस्तो लेखे: “यसबाहेक जसले शान्ति कायम गर्छ, उसको लागि शान्तिपूर्ण अवस्थामा धार्मिकताको फल रोपिन्छ।” (याकु. ३:१८) मण्डलीमा अथवा परिवारमा कसैसँग राम्रो सम्बन्ध कायम गर्न गाह्रो भइरहेको छ भने शान्ति कायम गर्न सकूँ भनेर हामी यहोवालाई मदत माग्न सक्छौँ। त्यसो गर्दा यहोवाको पवित्र शक्‍ति पाउनेछौँ, असल आचरण देखाउन सक्नेछौँ र आनन्दित हुन सक्नेछौँ। शान्ति कायम गर्न अग्रसर हुनुको महत्त्वलाई जोड दिँदै येसुले यसो भन्‍नुभयो: “तिमीले वेदीमा आफ्नो भेटी चढाउन ल्याउँदा तिम्रो विरुद्धमा तिम्रो भाइसित केही गुनासो छ भन्‍ने तिमीलाई झल्याँस्स याद आयो भने आफ्नो भेटी त्यहीँ वेदीअगाडि छोड र गएर पहिले आफ्नो भाइसित मिलाप गर अनि फर्केर आएपछि आफ्नो भेटी चढाऊ।”—मत्ति ५:२३, २४.

१८, १९. खेदोको बाबजुद ख्रिष्टियनहरू किन आनन्दित हुन सक्छन्‌?

१८ “आनन्दित हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको बदनाम गर्छन्‌, खेदो गर्छन्‌ र तिमीहरूविरुद्ध झूट बोलेर नानाथरीका खराब कुरा भन्छन्‌।” येसुले के भन्‍न खोज्दै हुनुहुन्थ्यो? उहाँले अझै यसो भन्‍नुभयो: “तब रमाओ र खुसीयाली मनाओ किनकि स्वर्गमा तिमीहरूको इनाम ठूलो छ; तिमीहरूअघिका भविष्यवक्‍ताहरूको पनि तिनीहरूले यसरी नै खेदो गरेका थिए।” (मत्ति ५:११, १२) कुटपिट गरिँदा र प्रचारकार्य बन्द गर्न धम्की दिइँदा प्रेषितहरू “रमाउँदै . . . यहुदी न्यायपरिषद्‌को सामुन्‍नेबाट निस्केर” गए। हुनत उनीहरू पिटाइ खाएकोमा रमाएका थिएनन्‌। बरु “[येसुको] नाममा अपमान सहन योग्य ठहरिएकोमा” रमाएका थिए।—प्रेषि. ५:४१.

१९ हाम्रो समयमा पनि यहोवाका जनहरू येसुको नाममा दुःख भोग्नुपर्दा अथवा गाह्रो परिस्थितिको सामना गर्नुपर्दा रमाउँदै त्यसलाई सहन्छन्‌। (याकुब १:२-४ पढ्‌नुहोस्‌) प्रेषितहरूजस्तै दुःख वा खेदोमा परेकोले हामी रमाउँदैनौँ। तर यदि परीक्षाको बेला हामीले आफ्नो सत्यनिष्ठा कायम राख्यौँ भने यहोवाले हामीलाई त्यो सहन चाहिने साहस दिनुहुनेछ। उदाहरणको लागि, सन्‌ १९४४ को अगस्तमा तानाशाही शासनको बेला हेनरिक डोरनिक र तिनको भाइलाई याताना शिविरमा पठाइएको थियो। विरोधीहरूले यसो भने: “तिनीहरूलाई जति सताए पनि केही लाग्दैन। बरु सहिद हुन पाउँदा तिनीहरू रमाउँछन्‌।” भाइ डोरनिकले यसो भने: “म सहिद हुन चाहन्‍नथेँ तर यहोवाप्रतिको वफादारिताको कदर गर्दै साहसका साथ दुःख भोग्दा मैले अपार आनन्द महसुस गरेँ। . . . व्यग्र प्रार्थना गर्दा म यहोवासँग अझ नजिक हुन सकेँ अनि उहाँ मेरो भरपर्दो मदतगार साबित हुनुभयो।”

२०. “आनन्दित परमेश्‍वर”-को सेवा गर्न पाउँदा हामी किन आनन्दित छौँ?

२० “आनन्दित परमेश्‍वर”-को अनुमोदन पाएका छौँ भने धर्मको कारण खेदो सहनुपर्दा, घर-परिवारबाट विरोध आइपर्दा, रोगबिमार अथवा ढल्कँदो उमेरजस्ता अवस्थाहरूमा पनि आनन्दित हुन सक्छौँ। (१ तिमो. १:११) हामी आनन्दित हुन सक्ने अर्को कारण हो, “झूट नबोल्नुहुने परमेश्‍वरले” हामीलाई थुप्रै आशिष्‌हरू दिने प्रतिज्ञा गर्नुभएको छ। (ति. १:२) यहोवाले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुँदा हामीले अहिले भोगिरहेको कठिन परिस्थितिहरूको कुनै सम्झना रहनेछैन। आउँदै गरेको प्रमोदवनमा यहोवाले दिनुहुने आशिष्‌हरूले गर्दा हाम्रो जीवन कत्ति रमाइलो हुनेछ भनेर हामी कल्पनासमेत गर्न सक्दैनौँ। त्यतिबेला हामीले अहिलेसम्म कहिल्यै अनुभव नगरेको आनन्द महसुस गर्नेछौँ। हो, हामीले ‘अपार शान्तिको आनन्द उठाउनेछौँ।’—भज. ३७:११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने