यहोवाको सेवा गर्नमा साँचो आनन्द छ
“याकूबका परमेश्वरलाई आफ्नो सहायक बनाउनेचाहिं सुखी हुन्छ, जसको आशा परमप्रभु तिनका परमेश्वरमा हुन्छ।”—भजनसंग्रह १४६:५.
१, २. आनन्दको परिभाषाबारे के भनिएको छ, र धेरै मानिसहरूका निम्ति आनन्दले के अर्थ राख्तछ?
आनन्द भनेको के हो? कोशकारहरू, दार्शनिकहरू, र धर्मशास्त्रीहरूले शदियौंदेखिन् यसको परिभाषा गर्ने प्रयास गरिरहेका छन्। तर सबैलाई ग्रहणयोग्य हुने कुनै एउटा परिभाषा तिनीहरूले पेस गर्न सकेका छैनन्। द इनसाइक्लोपिडिया ब्रिटानिकाले यो कुरा स्वीकार्दछ: “‘आनन्द’ एउटा अति नै छली शब्द हो।” जीवनप्रति आफ्नो दृष्टिकोणको आधारमा, स्पष्टतः आनन्दले विभिन्न मानिसहरूका निम्ति विभिन्न अर्थ राख्तछ।
२ धेरै मानिसहरूका लागि सुस्वाथ्य, भौतिक सम्पदाहरू, र रमाइलो साथी-सङ्गतिजस्ता कुराहरूसितै आनन्द जोडिएको हुन्छ। तर ती सबै कुराहरू आफूसित भएर पनि धेरै मानिसहरू दुःखी छन्। यहोवा परमेश्वरप्रति समर्पित लोग्ने मानिस र आइमाईहरूका निम्ति बाइबलले आनन्दबारे आम दृष्टिकोणभन्दा एउटा निकै नै भिन्न दृष्टिकोण प्रदान गर्दछ।
आनन्दबारे एउटा भिन्न दृष्टिकोण
३, ४. (क) येशूले कसलाई आनन्दमय घोषित गर्नु भयो? (ख) येशूले उल्लेख गर्नु भएका आनन्दसित सम्बन्धित कारणहरूबारे के देख्न सकिन्छ?
३ आफ्नो डाँडाको उपदेशमा येशू ख्रीष्टले सुस्वास्थ्य, भौतिक सम्पदाहरूजस्ता कुराहरूमा आनन्द निर्भर गर्दछ भनी भन्नु भएन। उहाँले “आत्मामा दरिद्र हुनेहरू” र “धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरूलाई” नै वास्तवमा सुखी घोषित गर्नुभयो। साँचो आनन्दका निम्ति आवश्यक यी दुइटा कुराहरूसित सम्बन्धित एउटा अर्को विरोधाभासपूर्ण देखिने बयान येशूले गर्नुभयो: “धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्।” (मत्ती ५:३-६) जरुर पनि, आफ्ना कुनै प्रिय जन गुमाउँनु पर्दा मानिसहरू स्वतः आनन्दित हुनेछन् भनी यहाँ येशूले भन्नुभएको होइन। बरु, उहाँ तिनीहरूबारे कुरा गर्नु हुँदै थियो जो आफ्नो पापपूर्ण अवस्था र त्यसको परिणामको कारण शोक गर्दछन्।
४ “विनाशको बन्धनबाट छुटकारा” पाउने आशाको आधारमा सारा सृष्टिले सुस्केरा हाल्दै छ भनी प्रेरित पावलले भने। (रोमी ८:२१, २२) हाम्रो छुटकाराका लागि ख्रीष्टले चढाउनु भएको बलिदानद्वारा पाप मोचन गराउने यहोवाको प्रबन्ध स्वीकार्दै परमेश्वरको इच्छा बमोजिम हिंड्नेहरूले साँचो सान्त्वना पाउँछन् र आनन्दित हुन्छन्। (रोमी ४:६-८) येशूले “नम्रहरू,” “दयावन्तहरू,” “हृदयमा शुद्ध हुनेहरू,” र “मेल-मिलाप गराउनेहरू” लाई पनि आफ्नो डाँडाको उपदेशमा सुखी घोषित गर्नुभयो। सताइए तापनि यस्ता नम्र जनहरूले आफ्नो आनन्द गुमाउने छैनन् भनी येशूले ढाडस दिनु भयो। (मत्ती ५:५-११) यहाँ चासोको कुरा के हो भने, आनन्दका निम्ति आवश्यक यी उच्च गुणहरूले धनी र गरीब दुवैलाई समान स्तरमा राख्तछ।
साँचो आनन्दको आधार
५. परमेश्वरका समर्पित व्यक्तिहरूको आनन्दको आधार के हो?
५ साँचो आनन्दको स्रोत भौतिक धनमा पाइँदैन। बुद्धिमान राजा सुलेमानले भने: “परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ, उहाँले तीसित दुःख पठाउनुहुन्न।” (हितोपदेश १०:२२) यहोवाको विश्वव्यापी सार्वभौमिकता स्वीकार गर्ने जीवहरूका निम्ति, आनन्द अविभाज्य ढङ्गमा परमेश्वरको आशिषसित जोडिएको छ। जुन समर्पित व्यक्तिले यहोवाको आशिष आफूमा अनुभव गर्दछ, सो व्यक्ति साँच्चै नै आनन्दित हुन्छ। बाइबलको दृष्टिकोणअनुसार, यहोवाको सेवामा अनुभव गर्न सकिने पूर्णता, सन्तोष, र तृप्तिसित आनन्द भन्ने कुरा सम्बन्धित छ।
६. यहोवाका जनहरू साँच्चै नै आनन्दित हुनका निम्ति के आवश्यक छ?
६ यहोवासँगको एउटा सही सम्बन्धमा साँचो आनन्द भर पर्दछ। परमेश्वरको प्रेम र उहाँ प्रति विश्वासिलो हुनुमा त्यो आधारित छ। पावलका यी शब्दहरूलाई यहोवाका समर्पित सेवकहरूले सम्पूर्ण हृदयबाट समर्थन गर्दछन्: “हामी कोही पनि आफ्नो निम्ति बाँच्तैनौं . . . हामी बाँचे पनि प्रभुको निम्ति बाँच्छौं . . . हामी प्रभुका हौं।” (रोमी १४:७, ८) त्यसकारण, यहोवा प्रतिको आज्ञाकारिता र उहाँको इच्छाको अधीनमा बस्ने आफ्नो प्रसन्नतापूर्ण स्वीकृति बिना साँचो आनन्द प्राप्त गर्न सकिन्दैन। येशूले भन्नुभयो: “तिनीहरू पो धन्य हुन्, जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्।”—लूका ११:२८.
आनन्दित हुने परिवर्त्तनशील कारणहरू
७, ८. (क) आनन्दित हुने कारणहरूको वर्गीकरण कसरी गर्न सकिन्छ? (ख) विवाह र बच्चा जन्माउने कुराबारे के भन्न सकिन्छ?
७ आनन्दित हुनका निम्ति माथि उल्लेखित आवश्यकताहरूलाई “आधारभूत” वा “स्थायी” भन्न सकिन्छ, किनभने यहोवाका समर्पित सेवकहरूका निम्ति ती कुराहरू हर समय लागू हुन्छन्। तर ती कुराहरू बाहेक, परिवर्तन भइ रहने अन्य कुराहरू पनि छन् जसबाट कुनै एउटा समयमा आनन्द प्राप्त गर्न सकिन्छ भने त्यही कुराहरूबाट अरू बेला फेरि अलिकता मात्र आनन्द अथवा आनन्द बिल्कुलै नपाउन पनि सकिएला। कुलपिताहरू र मसीही-पूर्व कालहरूमा, आनन्द प्राप्तिका निम्ति विवाह र बच्चा पाउनु अनिवार्य मानिन्थ्यो। यो कुरा याकूबलाई राहेलले गरेकी मार्मिक बिन्तीमा झल्किन्छ: “मलाई पनि सन्तान दिनुहोस्, नत्र म मर्नेछु।” (उत्पत्ति ३०:१) बच्चा जन्माउने प्रतिको यो प्रवृत्ति यहोवाको त्यस बेलाको उद्देश्यसित मिल्द थियो।—उत्पत्ति १३:१४-१६; २२:१७.
८ प्राचीन समयका यहोवाका साक्षीहरूले विवाह र बच्चा जन्माउने कामलाई ईश्वर-प्रदत्त आशिष सम्झिन्थि। तथापि, यी र अन्य कुराहरू, तिनीहरूको इतिहासको सङ्कटमय समयहरूमा दुःखका कारणहरू हुन्थ्ये। (भजनसंग्रह १२७, १२८ लाई यर्मिया ६:१२; ११:२२ सित तुलना गर्नुहोस्। विलाप गीत २:१९; ४:४, ५) यसकारण, विवाह गर्नु र बच्चा जन्माउनु नै आनन्द दिने स्थायी कुराहरू होइन रहेछन् भनी स्पष्टसँग देखिन्छ।
बितेका समयहरूमा विवाह बिना पनि आनन्दित
९. यिप्तहकी छोरीले सालाना किन प्रशंसा पाइन्?
९ परमेश्वरका धेरै सेवकहरूले विवाह बिना पनि साँचो आनन्द पाएका छन्। आफ्नो पिताले गरेको भाकलको कदर गर्दै यिप्तहकी छोरीले विवाहै नगरी बसी। तिनी कुंवारी भएर बस्नु परेकोमा तिनी र तिनकी केटी सङ्गीहरू केही समयसम्म रोए। तर यहोवाको भवनमा, सम्भवतः “भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीहरूसित” मिलेर यहोवाको सेवामा पूर्ण समय बिताउन पाएकोमा तिनले कति आनन्द अनुभव गरिन्! (प्रस्थान ३८:८) यसका लागि, तिनले प्रत्येक वर्ष प्रशंसा पाउँथिन्।—न्यायकर्त्ता ११:३७-४०.
१०. यर्मियाबाट यहोवाले के आशा राख्नु भयो, र फलःस्वरूप तिनले एउटा दुःखी जीवन बिताउनु परेको जस्तो देखिन्छ र?
१० अगमवक्ता यर्मिया एउटा अस्तव्यस्त समयमा बाँचेका हुनाकारण परमेश्वरले उनलाई विवाह र बच्चा जन्माउने काम नगर्नु भनी आदेश दिनुभयो। (यर्मिया १६:१-४) तरैपनि, यर्मियाले परमेश्वरका यी शब्दहरूको सत्यतालाई अनुभव गरे: “त्यो मानिस धन्यको हो, जसले परमप्रभुमाथि भरोसा राख्तछ, जसको आशा परमप्रभु हुनुहुन्छ।” (यर्मिया १७:७) ४० वर्षभन्दा बढी समयसम्म अगमवक्ताको हैसियतमा काम गर्दा यर्मियाले विवाहै नगरी एकलो बसरे विश्वासपूर्वक परमेश्वरको सेवा गरे। हामीलाई जहाँसम्म थाह छ, तिनले फेरि कहिले विवाह गरेनन् र बच्चा पनि जन्माएनन्। तापनि, ‘परमप्रभुको कृपाको कारण हर्षित हुने’ विश्वासी शेष यहूदीहरूजस्तै यर्मिया आनन्दित थिएनन् भनी कसले शङ्का गर्न सक्तछ र?—यर्मिया ३१:१२.
११. आफ्नो एक जना विवाहित साथी नभएर पनि आनन्दित रहेका परमेश्वरका विश्वासी सेवकहरूका केही शास्त्रीय उदाहरणहरू के हुन्?
११ अरू धेरै मानिसहरूले विवाह नगरी, एक जना जीवन साथी बिना नै आनन्दसाथ यहोवाको सेवा गरेका छन्। तिनीहरू या त अविवाहित व्यक्तिहरू, विधवाहरू वा विधुरहरू थिए। तिनीहरूमध्ये अगमवादिनी हन्ना, सम्भवतः डोर्कास वा तबिथा, प्रेरित पावल, र सबै भन्दा महान उदाहरण—येशू ख्रीष्ट—हुनुहुन्थ्यो।
आज पनि एकलो तर आनन्दित
१२. यहोवाका केही आनन्दित र समर्पित सेवकहरूले कुन कुरालाई आज ग्रहण गर्न राजी भएका छन?
१२ आज हजारौं यहोवाका साक्षीहरू एक जना वैवाहिक साथी बिनानै विश्वासिलो भएर परमेश्वरको सेवा गरिरहेका छन्। केहीले चाँहि येशूको यो निमन्त्रण स्वीकार गर्न सकेका छन्: “[विवाह नगरी, एकलो भएर बस्न सक्ने वरदान] ग्रहण गर्न सक्नेले त्यो ग्रहण गरोस्।” तिनीहरूले यो निमंत्रण, “स्वर्गराज्यको निम्ति” ग्रहण गरेका छन्। (मत्ती १९:११, १२) अर्थात्, तिनीहरूले राज्य सम्बन्धी जिम्मावारीहरूलाई अगाडि सार्न अझ बढी समय र शक्ति खर्च गरेर, आफ्नो ईश्वर-प्रदत स्वतंत्रताको प्रयोग गरेका छन्। तिनीहरूमध्ये धेरैले अग्रगामीहरू, मिसनरीहरू, वा वाचटावर सोसाइटीको मुख्यालय वा त्यसको कुनै एउटा शाखाको बेथेल परिवारका सदस्यहरू भएर सेवा गरिरहेका छन्।
१३. एक जना मसीही अविवाहित भएर पनि आनन्दित हुन सक्तछ भनी के उदाहरणहरूले देखाउँछ?
१३ एउटी उमेर पाकेकी बहिनीले आफ्नो जीवन कथाको रहस्यसूचक शीर्षक यस प्रकार राखिन्: “अविवाहित तर आनन्दित एउटी अग्रगामी।” (द वाचटावर, मई १, १९८५, २३-६ पानाहरू) बेथेलमा ५० वर्षभन्दा बढी समय बिताएकी अर्कि एउटी अविवाहित बहिनीले भनिन्: “म आफ्नो जीवन र आफ्नो कामसित पूर्णतया सन्तुष्ट छु। मलाई अति नै मन परेको काममा म पहिले भन्दा आज धेरै नै व्यस्त छु। मलाई कुनै कुराको पछितो छैन। फेरि सुरुदेखिन् निर्णय लिनपरेमा म फेरि पनि यही निर्णय लिने थिएँ।”—द वाचटावर, जुन १५, १९८२, पाना १५.
१४, १५. (क) प्रेरित पावलका अनुसार, अविवाहित रहनका निम्ति कुन कुरा जरुरी छ? (ख) अविवाहित व्यक्तिले “अझ राम्रो” गर्दछ र उनी “अझ सुखी” हुनेछ भनी पावल किन भन्छन्?
१४ “निर्णय” भन्ने शब्दलाई ध्यान दिनुहोस्। पावलले लेखे: “जुन व्यक्तिले हृदयमा फैसला गरी सकेको छ र उसलाई कुनै खाँचो पनि परेको छैन। तर उसले आफ्नो इच्छालाई वशमा राख्न सक्तछ र आफ्नो कौमार्य कायम राख्ने फैसला उसले स्वयं हृदयमा गरेको छ भने, उसले राम्रो गर्दछ। तेसो ता आफ्नो कौमार्य विवाहद्वारा त्याग्नेले पनि राम्रो गर्दछ तर विवाहद्वारा न त्याग्नेले अझ राम्रो गर्दछ। [न्यु०व०]” (१ कोरिन्थी ७:३७, ३८) अझ राम्रो किन? पावलले व्याख्या गरे: “तिमीहरू सबै निष्फिक्री होओ भन्ने म चाहन्छु। विवाह नभएकोले म प्रभुलाई कसरी खुशी राखूँ भन्ने प्रभुकै कुराको विषयमा फिक्री गर्दछ। . . . विवाह नभएकी, र कन्या प्रभुकै विषयमा फिक्री गर्दछन् . . . तर शिष्टाचारको निम्ति र बाधा बिना प्रभुको भक्ति गर्नसक भनेर तिमीहरूको आफ्नै भलोको निम्ति भन्दछु।”—१ कोरिन्थी ७:३२-३५.
१५ के ‘प्रभुको अनुमोदन प्राप्त गर्नका लागि’ “बाधा बिना प्रभुको भक्ति” गर्न सक्नुसँग आनन्द सम्बन्धित छ? पावलको विचारमा छ जस्तै देखिन्छ। एउटी मसीही विधवाबारे कुरा गर्दा, तिनले भने: “त्यसले जसलाई इच्छा गर्छे त्यससित विवाह गर्न स्वतन्त्र हुन्छ, तर प्रभुमा मात्र। तर मेरो विचारमा, त्यो त्यसै बस्छे भने झन् सुखी हुन्छ, औ म सम्झन्छु कि ममा पनि परमेश्वरको आत्मा हुनुहुन्छ।”—१ कोरिन्थी ७:३९, ४०.
अविवाहित अवस्थाका लाभहरू
१६. यहोवाका अविवाहित साक्षीहरूले उठाएका केही लाभहरू के हुन्?
१६ एक जना मसीही स्वेच्छाले वा परिस्थितिवस अविवाहित छ भने, अविवाहित अवस्थाबाट धेरै नै व्यक्तिगत लाभहरू उठाउन सकिन्छ। अविवाहित व्यक्तिहरूसित परमेश्वरको वचन अध्ययन गर्न र त्यसमाथि मनन गर्न साधारणतया अधिक समय हुन्छ। यस परिस्थितिको तिनीहरूले लाभ उठाएमा तिनीहरूको आध्यात्मिकता अझ गहिरो हुनजान्छ। आफ्ना समस्याहरू बाँड्ने विवाहिता साथी नहुँदा तिनीहरू यहोवामाथि अझ बढी भर पर्न र सबै कुरामा उहाँको निर्देशन खोज्न थाल्दछन्। (भजनसंग्रह ३७:५) यसले गर्दा यहोवासित अझ नजिकको सम्बन्ध कायम गर्नमा मदत मिल्दछ।
१७, १८. (क) यहोवाका अविवाहित सेवकहरूका निम्ति सेवकाईको कुन विस्तृत क्षेत्रमा काम गर्ने मौकाहरू उपलव्ध छन्? (ख) यहोवाका कुनै कुनै अविवाहित सेवकहरूले आफ्नो आनन्दको बयान कसरी गरेका छन्?
१७ सेवाको एउटा विस्तृत क्षेत्रमा यहोवाको प्रशंसा गर्ने मौकाहरू अविवाहित मसीहीहरूले पाउँदछन्। मिनिस्टेरिएल ट्रेनिङ्ग स्कूलमा अहिले दिइरहेको विशेष प्रशिक्षण, अविवाहित वा विधुर भाइहरूका लागि मात्र उपलव्ध छ। अविवाहित बहिनीहरू पनि परमेश्वरको सेवामा पाइने सुअवसरहरूका लागि अगाडि बढ्न सक्छन्। अघि उल्लेख गरिएकी पाको बहिनीका शब्दानुसार, तिनी “पचास वर्ष नाघेकी एउटी कमजोर आइमाई” छँदा एउटा अफ्रिकी देशमा सेवा गर्न तयार भएकी थिइन्। र त्यस देशमा प्रतिबन्ध लाग्दा र सारा मिसनरीहरू त्यहाँबाट निष्काशित हुँदा पनि तिनी त्यहीं बसिरहिन्। अहिले ८० वर्षभन्दा बढी उमेर भइसक्ता पनि तिनी त्यहाँ विशेष अग्रगामी भएर सेवा गर्दैछिन्। के तिनी सुखी छन्? आफ्नो जीवन कथामा तिनले लेखिन्: “अविवाहित अवस्थाले प्रदान गरेको बढी स्वतन्त्रता र गतिशीलतालाई सेवकाईमा व्यस्त रहन प्रयोग गर्न सकें र यसबाट मैले ठूलो आनन्द पाएकी छु। . . . बितेका वर्षहरूको दौडानमा, यहोवासितको मेरो सम्बन्ध गहिरो भएर गएको छ। एउटा अफ्रिकी देशमा एक जना अविवाहित आइमाई भएर मैले यहोवालाई आफ्नो संरक्षकको रूपमा देखेकी छु।”
१८ अनेकौं दशकसम्म वाचटावर सोसाइटीको मुख्यालयमा काम गरेका एक जना भाइका शब्दहरू पनि बडो विचारणीय छन्। तिनले कहिले विवाह नगरे तापनि र तिनले राखेका स्वर्गीय आशामा विवाहको कुनै सम्भावना नभए तापनि, तिनी खुशी थिए। ७९ वर्षको उमेरमा तिनले लेखे: “उहाँको पवित्र इच्छा म बराबर गरी रहन सकूँ भनेर आफूलाई आध्यात्मिक र साथै शारीरिक रूपमा स्वस्थ र बलियो राख्न सक्नका निम्ति म सधैं नै स्वर्गमा हुनुहुने आफ्ना पितालाई प्रार्थनामा मदत र बुद्धि माँग्दछु। यहोवाको सेवामा बितेका ४९ वर्षहरूभित्र मैले एउटा वास्तवमा सुखी, फलदायक र आशिर्वादपूर्ण जीवनशैलीको आनन्द उठाएको छु। र यहोवाको अनुग्रहले उहाँको प्रतिष्ठा र महिमा र उहाँका जनहरूको आशिषका निम्ति आफ्नो सेवा चालू नै राख्ने आकांक्षा राख्तछु। . . . यहोवाको आनन्दले नै मलाई विश्वासको असल लडाइँ लड्नमा मदत दिन्छ, र म त्यस समयको प्रतिक्षामा छु जब यहोवाका शत्रुहरू रहने छैनन् र सारा पृथ्वी उहाँको महिमाले भरिभराउ हुनेछ।”—गन्ती १४:२१; नहेम्याह ८:१०; द वाचटावर, नोभेम्बर १५, १९६८, पानाहरू ६९९-७०२.
साँचो आनन्द कुन कुराहरू माथि भर पर्दछ?
१९. हाम्रो आनन्द सदा केमा निर्भर गर्नेछ?
१९ यहोवासितको हाम्रो अनमोल सम्बन्ध, उहाँको अनुमोदन र आशिष—यी नै कारणहरूद्वारा हामीले अनन्तसम्म साँचो आनन्द पाउन सक्नेछौं। साँचो आनन्दको स्रोतबारे यो उचित दृष्टिकोण राखेको हुनाकारण, जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा विवाह होइन भनी यहोवाका विवाहित सेवकहरूले पनि स्वीकार्दछन्। तिनीहरू प्रेरित पावलका सल्लाहलाई ध्यान दिंदछन्: “ए भाइ हो, म यो भन्दछु, कि समय अल्प भएको छ, र अब उप्रान्त पत्नी भएका मानिसहरू पत्नी हुँदै नभएकाहरू जस्तै होऊन्।” (१ कोरिन्थी ७:२९) यसको अर्थ तिनीहरूकी पत्नीहरूको उपेक्षा गर्नु भनेको होइन। परिपक्व मसीही पतिहरूले यहोवाको सेवालाई प्रथम स्थान दिन्छन्, र तिनकी धार्मिक, मायालु, र समर्थनदायक पत्नीहरूले पनि त्यसै गर्दछन्। अझ केहीले ता आफ्ना पतिहरूका सहकर्मीहरू भएर पूर्ण समय सेवामा लगाउँछन्।—हितोपदेश ३१:१०-१२, २८; मत्ती ६:३३.
२०. आफ्नो वैवाहिक सुविधाहरूबारे धेरै मसीहीहरूले के उचित दृष्टिकोण राख्तछन्?
२० विवाहित भाइहरू जो परिभ्रमण अध्यक्षहरू, बेथेलका स्वयं-सेवकहरू र मण्डलीका प्राचीनहरू होलान्—अथवा राज्यका जिम्मावारीहरूलाई प्रथम स्थान दिने सबै नै विवाहित मसीहीहरू—‘संसारको रीतिमा चल्दैनन्’; यहोवाको सेवा गर्न समर्पण गरिएको जीवन पद्धतिसित आफ्ना वैवाहिक जिम्मावारीहरूलाई एक सुरमा बाँधने हर प्रयास गर्छन्। (१ कोरिन्थी ७:३१) तापनि, तिनीहरू खुशी छन्। किन? किनभने तिनीहरूको आनन्दको मूल आधार तिनीहरूको विवाह होइन तर यहोवाको सेवा हो। र धेरै जना विश्वासी पति र पत्नीहरू—हो, तिनका छोरा-छोरीहरू समेत—यसो गर्नमा आनिन्दत छन्।
२१, २२. (क) यर्मिया ९:२३, २४ को आधारमा कुन कुराले हामीलाई आनन्दित पार्नु पर्ने हो? (ख) हितोपदेश ३:१३-१८ मा आनन्दित हुने कुन कुन कारणहरू उल्लेख गरिएका छन्?
२१ अगमवक्ता यर्मियाले लेखे: “परमप्रभु भन्नुहुन्छ: ‘ज्ञानी मानिसले आफ्नो ज्ञानमा घमण्ड नगरोस्, बलियो मानिसले आफ्नो बलमा घमण्ड नगरोस्, धनी मानिसले आफ्नो धनमा घमण्ड नगरोस्, तर जसले घमण्ड गर्छ त्यसले यसो भनेर घमण्ड गरोस् म परमप्रभुलाई बुझ्दछु, चिन्दछु औ उहाँनै परमप्रभु हुनुहुन्छ, जसले पृथ्वीमा दया, इन्साफ र धार्मिकताको व्यवहार गर्नुहुन्छ। किनभने यिनै कुरामा म प्रसन्न हुन्छु’ परमप्रभु भन्नुहुन्छ।”—यर्मिया ९:२३, २४.
२२ हामीसित यहोवाबारे ज्ञान छ र हामी उहाँको इच्छानुसार चलेका हुनाकारण हामीमाथि उहाँको आशिष छ भनी ढुक्क मान्न सक्नु नै, हामी विवाहित र अविवाहितहरू दुवैका लागि सबैभन्दा ठूलो आनन्दको स्रोत हो। यहोवालाई प्रसन्न तुल्याउने साँचो मूल्यहरूबारे अन्तरदृष्टि पाउन सकेकोमा हामी आनन्दित छौं। धेरै पटक विवाह गर्ने सुलेमानले विवाहलाई आनन्दको एक मात्र कुञ्जी ठानेनन्। तिनले भने: “बुद्धि पाउने र समझ-शक्ति प्राप्त गर्ने मानिस सुखी रहन्छ। किनभने बुद्धि चाँदीभन्दा धेरै लाभदायक हुन्छ, र त्यसबाट हुने फायदा सुन भन्दा बढी हुन्छ। त्यो मूगा-मोतीभन्दा पनि बहुमूल्य हुन्छ, र तेरा सबै रत्नहरू त्यसको बराबरी हुनैसक्तैन। बुद्धिको दाहिने हातमा दीर्घायु र त्यसको देब्रे हातमा धन र यश हुन्छन्। त्यसका मार्गहरू आनन्ददायक हुन्छन्, र त्यसका सबै बाटोहरू उन्नतितिर लान्छन्। त्यसलाई समात्नेहरू सबैका निम्ति त्यो त्यसको जीवनको सहारा हो, र त्यसलाई बलियोगरी समात्नेहरू सुरक्षित रहन्छन्।”—हितोपदेश ३:१३-१८.
२३, २४. नयाँ रीतिरिवाजमा यहोवाका सबै नै विश्वासी सेवकहरू आनन्दित हुनेछन् भनी हामी किन आश्वस्त हुन सक्तछौं?
२३ हामी विवाहित जत्तिले ईश्वरको इच्छा गर्नमा अनन्त आनन्द प्राप्त गर्न सकौं। र स्वेच्छा वा परिस्थितिवस अविवाहित रहेका हाम्रा प्रिय भाइ र बहिनीहरूले पनि अनेक प्रकारका परीक्षाहरूलाई सँहदै यहोवाको सेवा अहिले र सदा गरिरहनमा सुख र संतोष प्राप्त गर्न सकून्। (लूका १८:२९, ३०; २ पत्रुस ३:११-१३) परमेश्वरको नयाँ आउने रीतिरिवाजमा, “पुस्तकहरू” खोलिनेछन्। (प्रकाश २०:१२) तिनीहरूमा आज्ञाकारी मानवजातिको आनन्दमा योगदान दिने उत्साहप्रद नयाँ आज्ञाहरू र नियमहरू हुनेछन्।
२४ हामीहरूका लागि हाम्रा “आनन्दित परमेश्वरले” अद्भुत र असल कुराहरूको प्रबन्ध मिलाउनु भएको छ जसबाट हामीले सम्पूर्ण आनन्द उठाउन सक्ने छौं भनी हामी विश्वस्त हुन सक्छौं। (१ तिमोथी १:११, न्यु०व०) परमेश्वरले ‘आफ्नो मुठ्ठी खोल्नु हुनेछ र सबै जीवित प्राणीहरूको इच्छालाई संतुष्ट पार्नु हुनेछ।’ (भजनसंग्रह १४५:१६) यसैकारण त, यहोवाको सेवामा साँचो आनन्द आज र सदाका लागि पाइन्छ भन्नु कुनै अनौठो कुरा होइन। (w 5/15/92)
प्रत्युत्तरमा तपाईं के भन्नु हुन्छ?
◻ यहोवाका समर्पित सेवकहरू आनन्दित हुने आधार के हो?
◻ बाइबलको समयमा यहोवाका केही अविवाहित सेवकहरू को थिए?
◻ पावलले अविवाहित अवस्थाको किन सिफारिस गरे र केही मसीहीहरूले यस प्रकारको जीवनमा कसरी आनन्द पाएका छन्?
◻ हाम्रो आनन्द सधैं नै कुन कुरामाथि निर्भर हुनेछ?
◻ नयाँ रीतिरिवाजमा सबै नै विश्वासी जनहरू आनन्दित हुनेछन् भनी हामी किन विश्वस्त हुन सक्तछौं?
[पृष्ठ २९-मा भएको चित्र]
धेरै अविवाहित बहिनीहरू पूर्ण-समय सेवक भएर आनन्दका साथ यहोवाको सेवा गर्दैछन्
[पृष्ठ ३१-मा भएको चित्र]
यहोवासित सम्बन्धित जिम्मावारीहरू पूरा गर्नका निम्ति काम गर्नु नै आनन्दको मुख्य स्रोत हो