“यी हुनु आवश्यकनै छन्”
“येशूले तिनीहरूलाई भन्नुभयो, . . . यी हुनु आवश्यकनै छन्, तर अन्त ता त्यत्तिनैखेरि हुँदैन।”—मत्ती २४:४-६.
१. कुन विषयप्रति हाम्रो चासो जाग्नु पर्ने हो?
निस्सन्देह, तपाईं आफ्नो जीवन र भविष्यप्रति चासो राख्नुहुन्छ। त्यसोभए, तपाईंले सन् १८७७ मा सि. टि. रसलको ध्यानाकर्षण गरेको विषयमा पनि चासो राख्नुपर्ने हो। पछि रसलले वाच टावर सोसाइटी स्थापना गरे अनि प्रभुको आगमनको उद्देश्य तथा तरिका (अंग्रेजी) भन्ने पुस्तिका लेखे। यो ६४ पृष्ठे पुस्तिकामा येशूको आगमन अथवा भावी उपस्थितिबारे बताइएको थियो। (यूहन्ना १४:३) जैतून डाँडामा हुँदा प्रेरितहरूले उहाँको आगमनबारे एक चोटि यस्तो प्रश्न गरेका थिए: “हामीलाई भन्नुहोस्, यो कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र जगत्को अन्तको चिह्न के हुन्छ?”—मत्ती २४:३.
२. येशूको भविष्यवाणीबारे किन थुप्रै विरोधाभासपूर्ण दृष्टिकोण राखिन्छ?
२ के तपाईंलाई येशूको जवाफ थाह छ अनि के त्यसको अर्थ बुझ्नुभएको छ? उहाँको जवाफ सुसमाचारका तीन पुस्तकहरूमा पाइन्छ। प्राध्यापक डि. ए. कार्सन यसो भन्छन्: “मत्ती २४ र यसको समानान्तर विवरण मर्कूस १३ अनि लूका २१ भन्दा बाइबलका अन्य केही अध्यायहरूले अनुवादकहरूबीच बढी मतभेद उत्पन्न गरेका छन्।” त्यसपछि तिनी आफ्नो विचार बताउँछन्। तर त्यो पनि एउटा अर्को विरोधाभासपूर्ण विचारधारा मात्र थियो। गत शताब्दी वा त्यसअघि त्यस्ता थुप्रै विचारधाराहरूले विश्वासको कमी देखायो। त्यस्ता विचारधारा राख्ने व्यक्तिहरूअनुसार सुसमाचारका पुस्तकहरूमा हामी जे पढ्छौं, त्यो येशूले भन्नुभएकै थिएन। अनि उहाँका वचनहरू समयको दौडान बंग्याइयो अथवा उहाँको पूर्वानुमान विफल भयो। यो तिनीहरूको बाइबल सम्बन्धी आलोचनात्मक विचारधारा हो। एक टिप्पणीकारले त मर्कूसको सुसमाचार ‘महायाना-बौद्ध दर्शन सरह हो’ समेत भनेका छन्!
३. येशूको भविष्यवाणीप्रति यहोवाका साक्षीहरू कस्तो दृष्टिकोण राख्छन्?
३ यसको विपरीत, यहोवाका साक्षीहरू येशूले आफ्नो मृत्यु हुनुभन्दा तीन दिनअघि जैतून डाँडामा चार प्रेरितहरूलाई भन्नुभएको कुरालगायत सबै बाइबल सत्यता र विश्वसनीयता स्वीकार्छन्। येशूले जैतून डाँडामा भन्नुभएको भविष्यवाणी परमेश्वरका जनहरूले सि. टि. रसलको समयदेखि झन् स्पष्टसित बुझ्दै आएका छन्। तिनीहरूले यस भविष्यवाणीप्रति राख्ने दृष्टिकोणबारे गत केही वर्षहरूमा प्रहरीधरहरा-ले अझ थप स्पष्टिकरण दिएको थियो। के तपाईंले आफ्नो जीवनमा ती जानकारीहरूको प्रभाव देखेर त्यसलाई स्वीकार्नुभयो?a आउनुहोस्, ती जानकारीहरू पुनरावलोकन गरौं।
भविष्यवाणीको दुःखद् पूर्ति हुनैलागेको थियो
४. प्रेरितहरूले येशूलाई भविष्यबारे किन प्रश्न गरे होलान्?
४ येशू मसीह हुनुहुन्छ भनेर प्रेरितहरूलाई थाह थियो। तसर्थ, उहाँले आफ्नो मृत्यु, पुनरुत्थान र आगमनबारे बताउनुहुँदा तिनीहरूको मनमा यस्तो प्रश्न आएको हुनुपर्छ, ‘उहाँको मृत्युपछि मसीहले गर्नुपर्ने अद्भुत कार्यहरू उहाँले कसरी पूरा गर्नुहुन्छ?’ यसबाहेक, येशूले यरूशलेम र यसको मन्दिरको विनाशबारे बताउनुभयो। प्रेरितहरूको मनमा ‘त्यो कहिले र कसरी हुन्छ’ भन्ने प्रश्न उठेको हुनुपर्छ। ती कुराहरू बुझ्न प्रेरितहरूले यस्तो प्रश्न गरे: “यी कुरा कहिले हुनेछन्? र यी सबै कुरा हुनलाग्दा के चिह्न हुनेछ?”—मर्कूस १३:४; मत्ती १६:२१, २७, २८; २३:३७–२४:२.
५. येशूले जवाफमा भन्नुभएको कुरा प्रथम शताब्दीमा कसरी पूरा भयो?
५ लडाइँ, अनिकाल, रूढी, भैंचालो हुनेछन्, मसीहीहरूलाई घृणा गरिनेछ तथा सताइनेछ, झूटा मसीहहरू देखा पर्नेछन् अनि विश्वव्यापी तवरमा परमेश्वरको राज्यको सुसमाचार प्रचार गरिनेछ भनेर येशूले भविष्यवाणी गर्नुभएको थियो। त्यसपछि अन्त आउने थियो। (मत्ती २४:४-१४; मर्कूस १३:५-१३; लूका २१:८-१९) उक्त कुरा येशूले सा.यु. ३३ को प्रारम्भतिर भन्नुभएको थियो। त्यसपछिका वर्षहरूमा उहाँका सचेत चेलाहरूले भविष्यवाणी गरिएका कुराहरू उल्लेखनीय ढंगमा पूरा भइरहेछन् भनी थाह पाउने थिए। हो, त्यतिखेर चिह्नको पूर्ति भयो जसको फलस्वरूप सा.यु. ६६-७० मा रोमीहरूद्वारा यहूदी रीतिरिवाजको अन्त भयो भनेर इतिहासले प्रमाण दिन्छ। त्यो कसरी भयो?
६. सा.यु. ६६ मा रोमी र यहूदीहरूबीच के भयो?
६ यहूदी हठधर्मीहरूले सा.यु. ६६ को गर्मी महिनाको दौडान यरूशलेमको मन्दिर नजिकैको किल्लामा रोमी पहरेदारहरूको हत्या गर्न थाले। फलस्वरूप, अन्य ठाउँहरूमा पनि हिंसा मच्चियो। यहूदीहरूको इतिहास-मा (अंग्रेजी) प्राध्यापक हेन्रिक ग्रिट्स यसो लेख्छन्: “सेस्टियस ग्यालस सिरियाको राज्यपाल भएकाले रोमी सेनाहरूको सम्मान गर्नुपर्थ्यो, . . . तिनी आफ्नो वरिपरि मच्चिरहेको विद्रोह रोक्न केही नगरी मुक दर्शक भएर बसिरहन सकेनन्। तिनले सबै सेनाहरूलाई एकत्रित गरे अनि छिमेकी शासकहरूले पनि स्वेच्छासाथ आफ्ना सेनाहरू पठाए।” यसरी एकत्रित भएका ३०,००० सेनाहरूले यरूशलेम घेरे। केही समयसम्म लडाइँ गरेपछि यहूदीहरू मन्दिर नजिकैको पर्खालतिर भागे। “सुरुका पाँच दिनसम्म रोमीहरूले पर्खाल भत्काउने प्रयास गरे तर यहूदीहरूको आक्रमण सामना गर्न नसकेर तिनीहरू पछि हट्न बाध्य भए। छ दिनपछि मात्र तिनीहरू मन्दिर अघिल्लतिर उत्तरपट्टिको पर्खालमुनि सुरुङ खन्न सफल भए।”
७. किन अधिकांश यहूदीहरूले भन्दा येशूका चेलाहरूले भिन्नै दृष्टिकोण राखे?
७ परमेश्वरले आफू र आफ्नो मन्दिरलाई सुरक्षा गर्नुहुन्छ भन्ठान्ने यहूदीहरू कत्ति रनभुल्लमा परे होलान्, यसो कल्पना गर्नुहोस् त! तथापि, यरूशलेममाथि विपत्ति आइपर्नेछ भनेर येशूका चेलाहरूलाई पहिल्यै चेताउनी दिइएको थियो। येशूले यस्तो भविष्यवाणी गर्नुभएको थियो: “तँमाथि ती दिन आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि मोर्चा बाँधेर घेरा हाल्नेछन् र सबैतिरबाट तँलाई थुनिराख्नेछन्, र तँलाई र तँभित्र भएका बाल-बच्चाहरूलाई जमीनमा पछार्नेछन्, औ ढुङ्गामाथि ढुङ्गा पनि छोड़िनेछैन।” (लूका १९:४३, ४४) तर के त्यसको मतलब सा.यु. ६६ मा यरूशलेमका मसीहीहरूको हत्या हुनेथियो?
८. येशूले कस्तो दुःखलाग्दो घटनाबारे भविष्यवाणी गर्नुभयो अनि “चुनिएकाहरू” को हुन् जसको खातिर दिन घटाइने थियो?
८ येशूले जैतूनको डाँडामा प्रेरितहरूलाई जवाफ दिनुहुँदा यसो भन्नुभयो: “ती दिनहरू यस्ता दुःखका हुनेछन्, यस्तो परमेश्वरले सृजनुभएको सृष्टिको शुरूदेखि अहिलेसम्मता नता भएको छ, र न कहिल्यै हुनेछ। औ परमप्रभुले ती दिन नघटाइदिनुभएको भएता कुनै प्राणी बाँच्नेथिएन, तर उहाँले चुन्नुभएकाहरूको खातिर ती दिन घटाउनुभयो।” (मर्कूस १३:१९, २०; मत्ती २४:२१, २२) दिन घटाइने थियो अनि ‘चुनिएकाहरू’ बच्ने थिए। तिनीहरू को थिए? निस्सन्देह, ती विद्रोही यहूदीहरू त होइनन् जसले यहोवाको उपासना गर्छौं भनेर दाबी गरे तापनि उहाँको पुत्रलाई इन्कार गरे। (यूहन्ना १९:१-७; प्रेरित २:२२, २३, ३६) त्यतिखेर येशू नै मसीह र उद्धारकर्ता हुनुहुन्छ भनेर विश्वास गर्ने यहूदी र गैरयहूदीहरू चुनिएका जनहरू थिए। परमेश्वरले तिनीहरूलाई चुन्नुभयो अनि सा.यु. ३३ पेन्तिकोसमा तिनीहरूलाई एउटा नयाँ आध्यात्मिक राष्ट्र अर्थात् “परमेश्वरका इस्राएल” बनाउनुभयो।—गलाती ६:१६; लूका १८:७; प्रेरित १०:३४-४५; १ पत्रुस २:९.
९, १०. रोमी आक्रमणको दिन कसरी ‘घटाइयो’ अनि नतिजा के भयो?
९ के दिनहरू ‘घटाइए’ अनि यरूशलेमका चुनिएका अभिषिक्त जनहरू बचे? प्राध्यापक ग्रिट्स यसो भन्छन्: “[सेस्टियस ग्यालसले] साहसी यहूदीहरू विरुद्ध निरन्तर युद्ध गरेर लामो समयसम्म अभियान जारी राख्न उचित ठानेनन्। किनकि त्यतिखेर शरद ऋतुको वर्साद सुरु हुन लागेको थियो . . . अनि सेनाहरूले आवश्यक सरसामग्रीहरू पाउन सक्दैनथ्यो। त्यसकारण, तिनले पछि हट्नु नै बुद्धिमानी ठानेको हुनसक्छ।” सेस्तियस ग्यालसले जेसुकै सोचेको होस्, रोमीहरू शहरबाट पछि हटे अनि तिनीहरूले यहूदीहरूको खेदोको कारण ठूलो नोक्सानी भोगे।
१० त्यसरी बिना कारण रोमीहरू फर्केपछि “प्राणी” अर्थात् यरूशलेममा खतरामा परेका येशूका चेलाहरूले बच्ने मौका पाए। यसरी मौका पाएपछि मसीहीहरू यरूशलेमबाट भागे भनेर इतिहासले देखाउँछ। पहिल्यै भविष्य जान्नसक्ने अनि आफ्ना उपासकहरूको सुरक्षा निश्चित गर्नसक्ने परमेश्वरको कस्तो गजबको क्षमता! यद्यपि, यरूशलेम र यहूदामै बस्ने अविश्वासी यहूदीहरूलाई के भयो?
येशूका समकालीनहरूले महा संकष्ट देख्ने थिए
११. येशूले “यो पुस्ता[बारे]” के भन्नुभयो?
११ थुप्रै यहूदीहरू मन्दिरमा केन्द्रित रहेको आफ्नो उपासना सधैंभरि चलिरहनेछ भन्ठान्थे। तर येशूले यसो भन्नुभयो: “नेभाराको रूखबाट . . . सिक जब त्यसको हाँगा कमलो भएर पातहरू पलाउँछ, तब ग्रीष्म ऋतु आएछ भनी थाह पाउँछौ। त्यसरीनै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ तब उ नजीकै, ढोकाहरूमै छ भनी जान। म तिमीहरूलाई साँच्चै भन्दछु, कि यो पुस्ता बिती नजाँदै यी सब कुराहरू पूरा भइजानेछ। स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरो वचन चाहिं बितेर जानेछैन।”—मत्ती २४:३२-३५.
१२, १३. येशूले भन्नुभएको “यो पुस्ता[लाई]” चेलाहरूले कसरी बुझेको हुनुपर्छ?
१२ सा.यु. ६६ अघिका वर्षहरूमा मसीहीहरूले लडाइँ, अनिकाल अनि परमेश्वरको राज्यको व्यापक प्रचार जस्ता मिश्रित चिह्नको थुप्रै प्रारम्भिक पूर्ति देखे होलान्। (प्रेरित ११:२८; कलस्सी १:२३) तथापि, अन्तचाहिं कहिले आउने थियो? येशूले यसो भन्नुको मतलब के थियो: ‘यो पुस्ता [युनानी, जीनिया] बितेर जाने छैन’? येशूले धार्मिक नेताहरूलगायत समकालीन विरोधी यहूदीहरूलाई अक्सर “दुष्ट व्यभिचारी पुस्ता” भन्नुभयो। (मत्ती ११:१६; १२:३९, ४५; १६:४; १७:१७; २३:३६) तसर्थ, जैतून डाँडामा फेरि “यो पुस्ता” भन्नुहुँदा उहाँले सम्पूर्ण यहूदीहरूबारे भनिरहनुभएको थिएन। उहाँका अनुयायीहरू “चुनिएका वंश” भए तापनि उहाँले तिनीहरूबारे पनि भनिरहनुभएको थिएन। (१ पत्रुस २:९) येशूले भन्नुभएको “यो पुस्ता” कुनै समयावधि पनि होइन।
१३ बरु, येशूले त्यतिखेरका विरोधी यहूदीहरूबारे बताइरहनुभएको थियो जसले उहाँले भन्नुभएका चिह्नको पूर्ति देख्ने थिए। लूका २१:३२ को “यो पुस्ता[बारे]” प्राध्यापक जोएल बि. ग्रिन यसो भन्छन्: “सुसमाचारको तेस्रो पुस्तकको ‘यो पुस्ताले’ (अनि यससित मल्दोजुल्दो वाक्यांश) परमेश्वरको उद्देश्यप्रति विरोध जनाउने मानिसहरूलाई बुझाउँछ। . . . [यसले] ढीठ भएर ईश्वरीय उद्देश्य इन्कार गर्ने मानिसहरूलाई बुझाउँछ।”b
१४. त्यो “पुस्ता[ले]” के अनुभव गऱ्यो तर मसीहीहरूले कसरी भिन्नै नतिजा भोगे?
१४ चिह्नको पूर्ति देख्ने विरोधी यहूदीहरूको दुष्ट पुस्ताले यहूदी रीतिरिवाजको अन्त पनि देख्ने थियो। (मत्ती २४:६, १३, १४) अनि तिनीहरूले देखे पनि! सा.यु. ७० मा सम्राट भेस्पासियनको पुत्र टाइटसको नेतृत्वमा रोमी सेनाहरू फर्केर आए। फेरि घेरामा परेका यहूदीहरूले विश्वासै गर्न नसकिने दुःखकष्ट सामना गर्नुपऱ्यो।c प्रत्यक्षदर्शी फ्लेभियस जोसेफसअनुसार रोमीहरूले शहर तहसनहस गरुञ्जेल करिब ११,००,००० यहूदीहरूले ज्यान गुमाइसकेका थिए अनि लगभग १,००,००० जना दासत्वमा परिसकेका थिए। दासत्वमा परेकाहरूमध्ये धेरैजसोको खान नपाएर अथवा रोमी तमासा भएर दुःखद् मृत्यु भयो। हो, सा.यु. ६६-७० को संकष्ट यरूशलेम र यहूदी रीतिरिवाजको लागि महा संकष्ट थियो। त्यस्तो न त्यसअघि भएको थियो नता फेरि कहिल्यै हुनेथ्यो। येशूको भविष्यसूचक चेताउनी पालन गरेर सा.यु. ६६ मा रोमी सेना फर्केपछि यरूशलेमबाट भाग्ने मसीहीहरूले कस्तो भिन्नै नतिजा भोगे! सा.यु. ७० मा अभिषिक्त मसीही अर्थात् “चुनिएकाहरू” ‘बचे’ वा सुरक्षित रहे।—मत्ती २४:१६, २२.
अर्को पूर्ति हुनेछ
१५. सा.यु. ७० पछि येशूको भविष्यवाणीको महान् पूर्ति हुनेछ भनेर हामी कसरी निश्चित हुनसक्छौं?
१५ तथापि, त्यो अन्तिम महा संकष्ट थिएन। येशूले शहर तहसनहस भएपछि उहाँ यहोवाको नाउँमा आउनुहुनेछ भनेर पहिल्यै बताउनुभएको थियो। (मत्ती २३:३८, ३९; २४:२) त्यसपछि उहाँले उक्त कुरा जैतून डाँडामा भविष्यवाणी गर्नुहुँदा स्पष्ट पार्नुभयो। उहाँले आउँदै गरेको “महा संकष्ट[बारे]” बताउनुभएपछि झूटा ख्रीष्टहरू आउनेछन् अनि यरूशलेमलाई लामो समयसम्म अन्य राष्ट्रहरूले कुल्चीमिल्ची गर्नेछन् भनी बताउनुभयो। (मत्ती २४:२१, २३-२८; लूका २१:२४) के त्यसको मतलब दोस्रो अर्थात् महान् पूर्ति हुन बाँकी थियो? प्राप्त तथ्यअनुसार, बाँकी थियो। मत्ती २४:६-८ र लूका २१:१०, ११ सित प्रकाश ६:२-८ (सा.यु. ७० मा यरूशलेममाथि संकष्ट आएपछि लेखिएको) तुलना गर्दा विस्तृत रूपमा लडाइँ, अनिकाल अनि रूढी आउन बाँकी नै छ भन्ने कुरा थाह पाउँछौं। येशूका शब्दहरूको यो महान् पूर्ति १९१४ मा प्रथम विश्वयुद्ध सुरु भएपछि पूरा भइरहेका छन्।
१६-१८. हामी अझै के हुने प्रत्याशा राख्छौं?
१६ वर्तमान समयमा पूरा भइरहेका चिह्नले “महा संकष्ट” आउन बाँकी नै छ भन्ने प्रमाण दिन्छ भनेर यहोवाका साक्षीहरूले सिकाएको अहिले दशकौं भइसक्यो। अहिलेको दुष्ट ‘पुस्ताले’ त्यो संकष्ट भोग्नेछ। सा.यु. ६६ मा ग्यालसले आक्रमण गरेपछि यरूशलेममाथि संकष्ट सुरु भएझैं महा संकष्टको पनि प्रारम्भिक चरण (सबै झूटा धर्महरूमाथि आक्रमण) हुन्छ जस्तो देखिन्छ।d त्यसपछि अनिश्चित समयको अन्तरालपश्चात अन्त अर्थात् सा.यु. ७० मा जस्तै विश्वव्यापी विनाश आउनेछ।
१७ येशूले हाम्रोसामु आउनै लागेको संकष्टबारे बताउनुहुँदा यसो भन्नुभयो: “ती संकष्टका दिनको तुरुन्त पछि सूर्य अँध्यारो हुनेछ, र जूनले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा स्वर्गका शक्तिहरू डगमगाउनेछ, औ तब मानिसको पुत्रको चिह्न आकाशमा देखा पर्नेछ औ पृथ्वीका सब जातिहरू, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासित आउँदैगरेको देख्नेछन्।”—मत्ती २४:२९, ३०.
१८ तसर्थ, “ती संकष्टका दिनको तुरुन्त पछि” केही आकाशीय अद्भुत घटनाहरू हुनेछन् भनी येशूले बताउनुभयो। (योएल २:२८-३२; ३:१५ तुलना गर्नुहोस्।) ती घटनाहरूले अनाज्ञाकारी मानिसहरूलाई यत्ति झस्काउने अनि धक्का दिनेछ कि तिनीहरूले “विलाप गर्नेछन्।” “संसारमा हुने घटनाहरूको डर र आशाले मानिसहरू मूर्च्छा पर्नेछन्।” तर साँचो मसीहीहरूको त्यस्तो हालत हुनेछैन! तिनीहरूले आफ्नो ‘शिर उठाएर माथि हेर्नेछन्, किनभने तिनीहरूको छुटकारा नजीकै आएको हुनेछ।’—लूका २१:२५, २६, २८.
न्याय निकट!
१९. भेडा र बाख्राको उखान पूरा हुने समय हामी कसरी थाह पाउनसक्छौं?
१९ ध्यान दिनुहोस्, मत्ती २४:२९-३१ मा (१) मानिसको पुत्र आउनुहुनेछ, (२) उहाँ ठूलो महिमासित आउनुहुनेछ, (३) उहाँको साथमा स्वर्गदूतहरू हुनेछन् अनि (४) पृथ्वीका सब जातिहरूले उहाँलाई देख्नेछन् भनी अगमवाणी गरिएको छ। येशूले यी पक्षहरू भेडा र बाख्राको उखानमा फेरि दोहऱ्याउनुभयो। (मत्ती २५:३१-४६) त्यसकारण, यस उखानले संकष्ट सुरु भएपछिको समयलाई बुझाउँछ। त्यस बेला येशू स्वर्गदूतहरूसित आउनुभएर न्याय गर्न आफ्नो सिंहासनमा विराजमान हुनुहुनेछ। (यूहन्ना ५:२२; प्रेरित १७:३१, तुलना गर्नुहोस् १ राजा ७:७; दानियल ७:१०, १३, १४, २२, २६; मत्ती १९:२८) कसको न्याय हुनेछ अनि परिणाम के हुनेछ? सबै राष्ट्रहरू येशूको स्वर्गीय सिंहासनसामु भेला भए जस्तैगरि उहाँले तिनीहरूमाथि ध्यान केन्द्रित गर्नुहुनेछ भनी उखानले देखाउँछ।
२०, २१. (क) येशूको उखानको भेडालाई के हुनेछ? (ख) बाख्राहरूले भविष्यमा के अनुभव गर्नेछन्?
२० भेडाखाले पुरुष तथा स्त्रीहरू ख्रीष्टको अनुग्रहको दाहिने हातपट्टि छुट्याइने छन्। किन? किनकि तिनीहरूले ख्रीष्टको स्वर्गीय राज्यमा भाग लिने उहाँका भाइ अर्थात् अभिषिक्त मसीहीहरूप्रति भलाइ गर्ने सुअवसरहरूको सदुपयोग गरेका छन्। (दानियल ७:२७; हिब्रू २:९–३:१) उक्त उखानअनुरूप लाखौं भेडाखाले मसीहीहरूले येशूका आत्मिक भाइहरूलाई चिनेका छन् अनि तिनीहरूको समर्थनमा काम गरिरहेका छन्। फलस्वरूप, “ठूलो भीड़[सित]” “महा संकष्ट[मा]” बच्ने अनि परमेश्वरको राज्य अन्तर्गत पार्थिव प्रमोदवनमा सधैंभरि जीवन बिताउने बाइबल आधारित आशा छ।—प्रकाश ७:९, १४; २१:३, ४; यूहन्ना १०:१६.
२१ बाख्राखाले मानिसहरूले भने एकदम भिन्नै नतिजा भोग्नेछन्! येशू आउनुहुँदा तिनीहरूले “विलाप गर्नेछन्” भनी मत्ती २४:३० मा बताइएको छ। तिनीहरूले विलाप गर्नु पनि पर्छ किनकि तिनीहरूले परमेश्वरको राज्यको सुसमाचार इन्कार गरेका छन्, येशूका चेलाहरूको विरोध गरेका छन् अनि बितेर जाने संसारको पछि लागेका छन्। (मत्ती १०:१६-१८; १ यूहन्ना २:१५-१७) पृथ्वीमा भएका उहाँका कुनै चेलाहरूले नभई येशूले बाख्राखाले मानिसहरूलाई छुट्याउनुहुनेछ। तिनीहरूबारे उहाँले यसो भन्नुभयो: ‘यिनीहरूचाहिं अनन्त दण्डमा जानेछन्।’—मत्ती २५:४६.
२२. येशूको भविष्यवाणीको कुन भागले हाम्रो ध्यानाकर्षित गर्छ?
२२ हामीले मत्ती अध्याय २४ र २५ को भविष्यवाणीबारे रोमाञ्चकारी थप समझ प्राप्त गरेका छौं। तथापि, येशूको भविष्यवाणीको एक भागले अझै हाम्रो ध्यानाकर्षित गर्छ। त्यो हो, ‘पवित्र स्थानमा खड़ा हुने उजाड गर्ने घृणित कुरा।’ येशूले आफ्ना अनुयायीहरूलाई यो कुरा बुझ्न अनि त्यसअनुरूप कदम चाल्न तम्तयार हुने आग्रह गर्नुभयो। (मत्ती २४:१५, १६) त्यो “घृणित कुरा” के हो? त्यो कहिले पवित्र स्थानमा खडा हुनेछ? अनि त्यसमा हाम्रो वर्तमान र भावी जीवनका प्रत्याशाहरू कसरी विथोलित छन्? यसपछिको लेखमा त्यसबारे छलफल गरिनेछ।
[फुटनोटहरू]
a प्रहरीधरहरा, फेब्रुअरी १, १९९४; अक्टोबर १५ (अंग्रेजी) र नोभेम्बर १, १९९५ र अगस्त १५, १९९६ का अध्ययन लेखहरू हेर्नुहोस्।
b बेलाइती शास्त्रविद् जि. आर. बेसली-मुरे यसो भन्छन्: “ ‘यो पुस्ता’ भन्ने वाक्यांशले अनुवादकहरूलाई अप्ठ्यारोमा नपार्नु पर्ने हो। प्रारम्भिक युनानीमा जीनिया-को अर्थ जन्म, वंश अनि जाति हुन्थ्यो, . . . [युनानी सेप्टुआजिन्ट-मा] यसलाई डोर भन्ने हिब्रू शब्दबाट पटक पटक अनुवाद गरिएको छ जसको अर्थ उमेर, पिंढी अथवा समकालीन पुस्ता हो। . . . येशूले भन्नुभएको वाक्यांशको दुई अर्थ लाग्नसक्छ: एउटा उहाँका समकालीन मानिसहरू, अर्को अप्रत्यक्ष रूपमा गरिएको घोर भर्त्सना।”
c प्राध्यापक ग्रिट्सले यहूदीहरूको इतिहास-मा (अंग्रेजी) बताएअनुसार, रोमीहरूले कहिलेकाहीं एकै दिनमा ५०० कैदीहरूलाई झुन्ड्याएर मारे। अरू कैदीहरूलाई हात काटेर शहर फर्काइयो। त्यहाँ कस्ता परिस्थितिहरू खडा भए? “मुद्रास्फीति भयो किनकि पैसा भएर पनि खाने कुरा किन्न पाइँदैनथ्यो। एक मुठी भुस, छाला अथवा कुकुरहरूलाई दिइएको असाध्यै घिनलाग्दो खाने कुराका निम्ति मानिसहरू सडकमा तँछाडमछाड गर्थे। . . . दिन दिनै लाशको थुप्रो लागेकोले गर्मी महिनाको हावा डुङडुङ गन्हाउने भयो अनि मानिसहरू रोगबिमार, अनिकाल र तरवारको सिकार भए।”
d यसपछिको लेखले भावी संकष्टको यस पक्षबारे छलफल गर्नेछ।
के तपाईंलाई सम्झना छ?
◻ प्रथम शताब्दीमा कसरी मत्ती २४:४-१४ पूरा भयो?
◻ मत्ती २४:२१, २२ मा पूर्वानुमान गरिएअनुसार प्रेरितहरूको समयमा कसरी दिन घटाइयो अनि कसरी प्राणीहरू बचे?
◻ मत्ती २४:३४ को ‘पुस्ताले’ कुन कुरा चित्रित गर्छ?
◻ जैतून डाँडामा गरिएको भविष्यवाणीको दोस्रो अर्थात् महान् पूर्ति हुनेछ भनेर हामी कसरी भन्नसक्छौं?
◻ भेडा र बाख्राको उखान कहिले अनि कसरी पूरा हुनेछ?
[पृष्ठ १२-मा भएको चित्र]
आर्च अफ टाइटसको रोममा देख्न सकिने यरूशलेमको विनाशपछि लुटको माल
[स्रोत]
Soprintendenza Archeologica di Roma