हाम्रा समस्याहरू तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?
गोरेटो बाटो हुँदै रामु आफ्नो छिमेकीको घरतर्फ गइरहेको बेलामा आँधीबेहरीको बादल मडारिरहेको थियो। उसलाई मनमनै डर लागिरहेको थियो। परीक्षाको समय नजिकै थियो र उसले गणितका केही पाठहरू बुझ्न सकेको थिएन। उसकी आमाले तिनीहरूको आफ्नो छिमेकीसित सहायता माग्नका निम्ति त्यहाँ जान उससँग जोड गरेकी थिइन्, तर रामुले सहरको विद्यालयमा गणित पढाउनुहुने मास्टरजीलाई अहिलेसम्म केही भनेको थिएन। आमाले भनेकी थिइन्, उहाँहरू मित्रैलो परिवार हुन् र सहायता दिन राजी हुनुहुनेछ। के मास्टरजीकी पत्नीले आमाको अवस्था देखेर रासनको पसलबाट आमाका खाद्यान्नहरू बोकेर ल्याइदिनुभएको थिएन र?
रामु आफ्नी आमाको विषयमा सोच्न थाल्यो। तिनी बिहानदेखि साँझसम्म कति साह्रो मेहनत गर्थिन्। र परिवारमा खुवाउन, लाउन दिन र हेरविचार गर्न चाँडै नै अर्को सदस्य पनि थपिनेवाला थियो। त्यसैले त उसको बुबाले उसलाई राम्रोसँग अध्ययन गर्न भनिरहनुहुन्थ्यो ताकि उसले राम्रो जागिर पाउन सकोस् र परिवार सँभाल्न सहायता दिन सकोस्।
ऊ मास्टरजीको घरमा आइपुगेको थियो। जसै ऊ ढोकामा अनकनाइरहेको थियो, भित्रबाट एउटा नम्र स्वरले भन्यो, “भित्र आउनुहोस्,” र रामु भित्र पस्यो।
केही समयपछि रामुको बुबा आनन्द कामबाट फर्कंदै थिए र उनले आफ्नो छोरालाई मास्टरजीको घरबाट निस्किरहेको देखे। रामु खुसी देखिन्थ्यो। ऊ उफ्रँदै हिंडिरहेको थियो। जसै आनन्द मास्टरजीको घरमा प्रवेश गरे, स्वर्ग उघ्रिएको जस्तै भयो र जोडसँग पानी पर्न थाल्यो। रामु घरतर्फ दगुर्दै गएको हेरिरहेका शिक्षकले आनन्दलाई भित्र बोलाए र बाहिरको मुसलधारे पानी भित्र नआओस् भनेर ढोका बन्द गरिदिए।
हामी सबैले सामना गर्नुपरेका समस्याहरू
साइकल मर्मत पसलमा दिनभरि काम गरेर थाकेको आनन्दले खुसीसाथ मास्टरजीकी पत्नी मरियमले, उनको निम्ति तयार पारेको तातो चिया स्वीकार गरे। जसै मरियम आफ्नो सिलाइ मेसिनतर्फ गइन् र मास्टरजीका छोराछोरी पावल र रेचेल आफ्नो पाठ पढ्न तयार भए, आनन्दले त्यो सफा कोठाको चारैतिर दृष्टि लगाए। अचानक, आनन्द एउटा ठूलो मानसिक वेदनाका साथ जोडसित बोल्न थाले, “मैले दिनहुँ सामना गर्नुपरेका समस्याहरू तपाईंहरूलाई छैन जस्तो देखिन्छ। तपाईंहरू कति शान्त र सन्तुष्ट हुनुहुन्छ। मलाई तपाईंहरूसित डाहै लागेर आउँछ!” मास्टरजी मुसुक्क हाँस्नुभयो र भन्नुभयो, “किन नहुनु, हामीसँग पनि आफ्ना समस्याहरू छन् आनन्द। तर तपाईंलाई विशेष कुन कुराले सताइरहेको छ?”
मास्टरजीको दयालु चासो देखेर आनन्दले आफ्नो मनको कुरा पोख्न थाले। धन, त्यो नै सबैभन्दा मुख्य कुरो थियो। पुग्दो कहिल्यै हुँदैनथ्यो। घर-धनीले बहाल बढाउँदै लग्थ्यो; स्कूलको फिस र पुस्तकहरू र स्कूलको पोसाकको मूल्य सधैं नै तीव्र गतिले बढिरहेको थियो। उनकी पत्नी निर्मला जहिले पनि बजारबाट आउनासाथै दैनिक आवश्यकताका सामानहरूको मूल्य वृद्धिबारे गुनासो गर्थिन्। अब तिनी फेरि गर्भवती भएकी थिइन्, र उनले टनिक खानुपर्छ भनेर डाक्टरले भनेका थिए, किनभने तिनी कमजोर र रक्तहीन छिन्। तर त्यसका लागि पैसा कहाँबाट ल्याउने? उनको छोरा रामुले स्कूलको पढाइ सिध्याउन अझ केही वर्ष बाँकी नै थियो, र यत्तिका सबै खर्च गरेर उसलाई राम्रो स्कूलमा पढाइसकेपछि पनि उसले राम्रो जागिर पाउनेछ भन्ने कुराको के ग्यारेन्टी थियो र? किनभने कलेजका धेरै डिग्री प्राप्त शिक्षित जनहरूले पनि त जागिर पाएका थिएनन्। एउटा साइकल मर्मत गर्नेको छोरोले आफ्नो परिवारको जीवन शैलीमा उन्नति ल्याउन सक्ने किसिमको जागिर के पाउन सक्थ्यो र? साथै, दाइजो दिने धन नभईकन आफ्ना छोरीहरूका लागि जुवाइँ पाउने आशा उनले कसरी गर्न सक्थे र? दाइजो दिने यो चलन गैरकानुनी भए तापनि मानिसहरूले कुनै न कुनै रूपबाट अहिले पनि त्यसको माग गर्दैछन्।
आनन्द आफूलाई इमानदार मान्छे ठान्थे। उनका आमाबाबुले उनलाई नचोर्नू र नठग्नू भनी सिकाएका थिए। तर उनलाई त्यसबाट के फाइदा भयो? उनलाई भ्रष्टाचार मन पर्दैनथ्यो तर इमानदार भएर केही प्रगति गर्न सकिंदोरहेनछ भनी उनलाई अब महसुस हुन थालेको थियो। साइकल मर्मत गर्ने अरू व्यक्तिहरूले चोरीका साइकलहरूको व्यापार गर्थे र प्रयोग भइसकेका कल-पुर्जाहरूलाई नयाँ भनी बिक्री गर्थे र तिनीहरूको व्यापारमा उत्तरोत्तर वृद्धि हुँदै थियो। उनले पनि त्यस्तै किन नगर्ने? अलिकता अरू धन भएमा उनले बोकेका भारहरू निकै नै हलुङ्गा हुने थिए।
आनन्दले आफ्नो दुःखको कथा नटुङ्ग्याउन्जेलसम्म मास्टरजीले धैर्य र सहानुभूतिका साथ सुनिरहनुभयो।
तब उहाँले सोध्नुभयो, “आनन्द, धनले नै तपाईंका समस्याहरूको समाधान हुनेछ भनी के तपाईं साँच्चै नै सोच्नुहुन्छ? के तपाईंको विचारमा सबै धनी मानिसहरू सुखी, सुरक्षित र समस्यारहित छन्? के तिनीहरू कहिल्यै बिरामी हुँदैनन्? तिनीहरूका छोराछोरीहरू लागूपदार्थको दुर्व्यसन गर्ने, अनैतिक र विद्रोही भएको विषयमा के कहिले सोच्नुभएको छ? प्रशस्त धन भएका तथाकथित विकसित देशहरूमा हुने भ्रष्टाचार, घूसखोरी, बेरोजगारी र बढ्दो हिंसाका खबरहरूबारे के हामी सुन्दैनौं? होइन आनन्द, धन मात्रैले तपाईं अथवा मेरा समस्याहरू समाधान गर्न सक्छ भनेर म विश्वास गर्न सक्दिनँ।”
“तपाईंका समस्याहरू?” आनन्दले सोधे, “तिनीहरू के हुन्?”
“ती तपाईंका जस्तै छन् आनन्द। मेरो विचारमा हामी धेरै जसो मानिसहरूको एकै प्रकारका समस्याहरू छन्।”
“तर तपाईं म जति विचलित हुनुभएको छैन। म तपाईंको परिवारलाई शान्त र खुसी देख्छु। यसको रहस्य के हो मास्टरजी?”
“हो आनन्द, कसैले हाम्रा सबै समस्याहरू चाँडै नै समाधान गरिदिनेछ भनी हामी सम्पूर्ण परिवार नै विश्वस्त छौं।”
“किन, के कतैबाट थुप्रो धन पाउने आशा गर्दै हुनुहुन्छ कि?”
“होइन, त्यसो होइन,” मास्टरजीले हाँस्दै भन्नुभयो। “होइन आनन्द, चाँडै नै परमेश्वरले संसारको परिस्थितिमा हस्तक्षेप गर्नुहुनेछ र यहाँ यस्तो परिवर्तन ल्याउनुहुनेछ कि असल र शान्ति रुचाउने मानिसहरूले फेरि कहिल्यै पनि मूल्य वृद्धि, रोगबिमारी, हत्या, निवासका समस्याहरू, बेरोजगारी, अपराध अथवा असुरक्षाबारे चिन्ता गर्नुपर्ने छैन भनी हामी विश्वास गर्छौं।”
आनन्द चकित भए। “तपाईं मेरी आमाजस्तै कुरा गर्नुहुन्छ: ‘सबै कुरा परमेश्वरमा छाडिदेऊ; तिम्रो भाग्य उहाँकै हातमा छ।’ तपाईंजस्तो शिक्षित व्यक्तिले पनि यस्ता कुरा गर्नुहोला भनेर मैले आशा गरेको थिइनँ मास्टरजी। तपाईं मसीही धर्म मान्नुहुन्छ भन्ने कुरा मलाई थाह छ तर मैले चिनेका अरू मसीहीहरूको सोचाइ र तपाईंको सोचाइमा फरक छ। तिनीहरू राजनीति र प्रदर्शनहरूमा सक्रिय छन् र आफ्नै प्रयासद्वारा अवस्थामा सुधार ल्याउने कोसिस गर्छन्; परिवर्तन ल्याउने कुरा ‘परमेश्वरको हातमा मात्र छोड्ने’ गर्दैनन्।”
“सायद मैले तपाईंलाई यहाँ एउटा कुरा बताउनुपर्छ आनन्द। मेरो परिवार र मैले विश्वास गरेका कुराहरू र गिर्जाघरहरूको शिक्षा र त्यहाँ गरिने काममा धेरै नै भिन्नता छ। तपाईंलाई थाहै छ, यसै सहरमा पनि आफूलाई मसीही कहलाउने भिन्न-भिन्न समूहहरू छन् जसले येशूको र बाइबलको शिक्षालाई अनुसरण गर्ने दाबी गर्छन्। तर तपाईंले तिनीहरूको विश्वासलाई जाँच गर्नुभयो भने तिनीहरूका धेरै शिक्षाहरू येशूका शिक्षाहरूभन्दा फरक पाउनुहुनेछ। उदाहरणका लागि येशूले आफ्ना चेलाहरूलाई हिंसा नगर्न र आफ्ना शत्रुहरूलाई पनि प्रेम गर्न सिकाउनुभएको थियो। तर के मसीही भनौदा राष्ट्रहरूले यस शिक्षाको अनुसरण गरेका छन् र? के तिनीहरूले दुईवटा विश्वयुद्धहरूमा र आणविक हतियारहरू उत्पादन गर्ने काममा अगुवाइ लिएका छैनन् र? तथ्याङ्कअनुसार यी राष्ट्रहरूलाई गिर्जाघरहरूले समर्थन गरेका छन्। त्यसैकारण तिनीहरूले आफ्ना धर्म प्रचारकहरूलाई गैर-मसीही राष्ट्रहरूमा पठाउँदा ती प्रचारकहरूले सधैं येशूका शिक्षाहरू ल्याउँछन् भन्न सकिंदैन।
“तथापि, परमेश्वरले हाम्रा समस्याहरूको समाधान गर्नुहुनेछ भनेर विश्वास गर्ने हामीजस्ता मानिसहरू संसारभरि नै छन्। हाम्रो आशा धेरै समय अगाडि बाइबलमा लेखिएका भविष्यवाणीहरूमा आधारित छ। अब विश्वको परिवर्तन नजिकै छ भनी यी भविष्यवाणीहरूले हामीलाई विश्वास दिलाउँछन् र यो सुसमाचार आफ्ना छिमेकीहरूलाई सुनाउन हामी सक्दोभर प्रयास गर्छौं। यस्तो प्रकारको परिवर्तन ल्याउने प्रतिज्ञा गर्नुहुने बाइबलका परमेश्वरको नाउँ यहोवा हो र यसैकारण हामीहरू पनि यहोवाका साक्षीहरू हौं।”
“ओहो! मास्टरजी, यो त मेरो निम्ति एउटा नयाँ कुरा हो। यस विषयमा तपाईंले मलाई फेरि अर्को कुनै समयमा अझ बताउनुपर्छ।”
पृथ्वीमा आनन्दित हुने इच्छा
“तिनीहरू परमेश्वरमा विश्वास गर्छन्,” निर्मलाले आफ्ना ससुरालाई भनिन्।
“तिमी के कुरा गर्दैछ्यौ निर्मला?”
“मास्टरजी र उनका परिवार कहिल्यै मन्दिर वा मस्जिद र गिर्जाघर जाँदैनन् र कुनै मूर्तिहरू वा धार्मिक चित्रहरू उनीहरूको घरमा छैन भन्दैमा तिनीहरू परमेश्वरमा विश्वास गर्दैनन् भनी तपाईं सोच्नुहुन्छ। तर होइन, तिनीहरू विश्वास गर्छन्। नयाँ जन्मने बच्चाका लागि लुगा सिलाउन सिक्न जाँदा मरियमले मलाई सबै कुरा बताइन्। तिनीहरू एउटा परमेश्वरमा विश्वास गर्छन् जसले सबै थोक सृजनुभयो र जसको नाउँ यहोवा हो। उहाँ अदृश्य हुनुहुन्छ र कसैले पनि उहाँलाई नदेखेको हुनाकारण उहाँको मूर्ति वा चित्र तिनीहरू बनाउँदैनन्। उनले मलाई बताइन् कि तिनीहरूको पवित्र शास्त्र बाइबल यसो भन्छ: “परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँलाई पुज्नेहरूले आत्मा र सत्यतामा पुज्नुपर्दछ।” (यूहन्ना ४:२४) त्यसैले तिनीहरू कुनै देख्न सकिने दृश्य वस्तुहरूको प्रयोगविना नै परमेश्वरसँग प्रार्थना गर्छन्। तिनीहरू आफूलाई यहोवाका साक्षीहरू भन्छन्।
“र मरियमले सत्यताका साथ परमेश्वरलाई उपासना गर्ने विषयमा एउटा एकदमै चासो लाग्दो कुरा बताइन्। वास्तवमा भइरहेका कुराहरू सत्य हुन्। मिथ्या वा काल्पनिक कुराहरू सत्य होइनन्। त्यसैले मान्छेले बनाएको, वास्तविकतासँग मेल नखाने, दर्शनशास्त्रमा तिनीहरू विश्वास गर्दैनन्। (मर्कूस ७:७, ८) उदाहरणका निम्ति हाम्रो अन्तिम लक्ष्य यो पृथ्वीलाई छाडेर परमेश्वरसँग मिल्न जानु हो अथवा कुनै पछिको आत्मिक जीवनमा केही इनाम पाउनु हो भनेर धेरै धर्महरूले सिकाए पनि यी कुराहरू वास्तविकतासँग मिल्दैन किनभने मानिसको प्राकृतिक झुकाव त्यस्तो छैन। बरु मानिसले त राम्रो घर, राम्रो स्वास्थ्य, एउटा राम्रो परिवार र माया गर्ने साथीहरू होस् भन्ने इच्छा गर्छ भनी तिनले जोड दिइन्। मानिसहरू खुसी भएका बेलामा मरेर, स्वर्ग जान वा निर्वाण वा मोक्ष पाएर, आफ्नो व्यक्तित्व गुमाएर अस्तित्त्वहीन हुन चाहँदैनन्। ‘पृथ्वीमा आनन्दित भएर बाँच्ने यो इच्छा मानिसलाई कसले दियो होला?’ उनले मलाई सोधिन्। अवश्य मानिसलाई सृष्टि गर्नुहुनेले नै त्यो दिएको हुनुपर्छ। त्यसैले सायद बाइबलले यो सिकाएको देखिन्छ कि यहोवा परमेश्वरले अनन्तकालसम्म यसै पृथ्वीमा आनन्दित भएर बस्नका निम्ति मानिसलाई बनाउनुभएको हो। मानिसको प्राकृतिक इच्छा पनि यही भएको हुनाकारण बाइबलको यो शिक्षाले एउटा वास्तविकताको वर्णन गर्छ र त्यसकारण यसलाई सत्य भन्न सकिन्छ भनेर तिनले दाबी गरिन्।”
“ओहो! निर्मला, यदि त्यो सत्य हो भने परमेश्वर आफ्नो उद्देश्यमा विफल हुनुभएछ। मानिसहरू पृथ्वीमा खुसी छैनन्। पार्थिव जीवन भनेको नै समस्याहरू र दुःख हो र पृथ्वीबाट उम्कन सक्यौं भने मात्र हामीले यसबाट छुटकारा पाउन सक्नेछौं। जे होस्, मास्टरजी र उनका परिवार हामीलाई राती भेट्न आउँदै हुनुहुन्छ भनी आनन्दले भनेको थियो। हेरौं, यस विषयमा उहाँले के भन्नुहुनेछ।”
सबै समस्याहरूको समाधान गर्ने प्रतिज्ञा गर्नुहुने व्यक्ति
मौसम र छोराछोरीहरूको आउँदो जाँचको विषयमा कुरा गरिसकेपछि हजुरबुबाले निर्मलासँग अघि दिउँसो गरेको तर्क सुरु गर्नुभयो। मास्टरजीले केही क्षण सोचिरहनुभयो र त्यसपछि आनन्दकी आमालाई सोध्नुभयो, “हजुरआमा, परिवारमा कसैलाई औलोको ज्वरो आयो भने तपाईं के गर्नुहुन्छ?”
अचम्म मान्दै उहाँले भन्नुभयो, “म निश्चय तिनीहरूलाई औषधी दिने गर्छु। र हाम्रो घरमा यस्तो एक पटक मात्रै भएको हो र? अब त औषधी पसलेसँग माग्नुपर्ने ओखतीको नाउँ पनि थाह भइसक्यो।”
आनन्दको बुबातर्फ फर्किएर मास्टरजीले भन्नुभयो, “देख्नुभयो त, हजुरबुबा। व्यथा लागेको समयमा गर्नुपर्ने सबैभन्दा तर्कसंगत कुरा यही नै हो अर्थात् निको हुन औषधी खानु। तर त्यसबेला ‘मलाई मर्न देऊ र पृथ्वीबाट उम्कन देऊ,’ तपाईं कदापि भन्नुहुन्न। र पृथ्वीमा हुने सबै दुःख र समस्याको समाधान गर्ने ठीक ‘औषधी’ हामीसँग भएमा के हामी मरेर आफूले माया गरेका व्यक्तिहरूलाई छाडेर जानुको सट्टा यहीं बस्न चाहँदैनौं र?
“निस्सन्देह, मान्छेसँग आफ्ना सबै समस्याहरू समाधान गर्ने शक्ति छैन। त्यसैले लामो समयदेखि मानिसहरू पृथ्वीमा दुःख भोगिरहेका छन्। तर कलियुगको समयमा पृथ्वीमा सत्ययुग ल्याउनका लागि परमेश्वरले अवतार लिनुपर्छ भन्ने कुरा तपाईंको धर्मले पनि सिकाउँछ, होइन र? यसकारण यो शिक्षाको विकास गर्ने ती प्राचीन दार्शनिकहरूले पनि मानिस यसै पृथ्वीमा सुखसँग बसेको परमेश्वर चाहनुहुन्छ भन्ने कुरामा विश्वास गर्थे भनी के देखिंदैन र?
“यही टोललाई विचार गर्नुहोस् हजुरबुबा। भर्खरै बनाइएको बेलामा यो टोल कति राम्रो थियो, होइन र? तर अहिले हेर्नुहोस्। यहाँ बस्न यस्ता धेरै मानिसहरू आएका छन् जसले अरूहरूको वास्तै गर्दैनन्। तिनीहरूले बाटोका बत्तीहरू फुटालेका छन्, जताततै फोहोर फाल्ने गरेका छन्, झ्यालका सिसा फोडेका छन् र धारा चोरेका छन् जसले गर्दा पानी बगेर खेर जाँदैछ र सडक हिलाम्मे भएको छ। अब यहाँ के गर्नु आवश्यक छ? यहाँका खराब बासिन्दाहरूलाई हटाएर टोलका सबै सुविधाहरूको मर्मत गरियो भने के हामी यहाँ आनन्दपूर्वक बस्न सक्दैनौं होला र? परमेश्वरले सारा पृथ्वीभरि ठीक यही गर्ने प्रतिज्ञा गर्नुभएको छ।
“बाइबलअनुसार परमेश्वरले मानिसलाई सिद्ध, स्वस्थ र सुखी बनाउनुभएको थियो। तर परमेश्वरका आज्ञाहरू उल्लङ्घन गरेर मानिसहरूले भ्रष्ट व्यवहार गरेका छन् र तिनीहरू त्रुटियुक्त भएका छन्। (व्यवस्था ३२:४, ५) तर यसबाहेक, आज तिनीहरूले परमेश्वरको सृष्टि यस पृथ्वीलाई समेत नाश गर्दैछन्। यसकारण बाइबल भन्छ कि परमेश्वरले सर्वप्रथम पृथ्वीबाट खराब ‘बासिन्दाहरूलाई’ हटाउनुहुनेछ र आनन्दित अवस्थाहरू पुनर्स्थापित गर्न असल मानिसहरूलाई मदत दिनुहुनेछ।”—प्रकाश ११:१८.
“तर मास्टरजी केही समयपछि फेरि सबै कुरा त्यतिकै खराब हुनेछ। त्यसैले त परमेश्वरले पृथ्वीलाई सफा गर्नुभएर सत्ययुग ल्याउनुभएपछि पनि खराब अवस्थाहरू पुनः दोहोरिनेछन् र फेरि कलियुग आउनेछ। यसकारण पृथ्वीबाट उम्केपछि मात्र स्थायी शान्ति पाउन सकिन्छ। उदाहरणका लागि मैले समय-समयमा आफ्ना परिवारका केही समस्याहरू समाधान गरेको छु तर ती समस्याहरू अथवा तिनीहरूको ठाउँमा अरू समस्याहरू फेरि आइहाल्छन्।”
“हो, हामी सबैलाई त्यस्तो हुन्छ। तर परमेश्वरसँग त्यस्तो हुनेछैन। उहाँसँग समस्याहरूको समाधान गर्ने शक्ति मात्रै होइन तर ती समस्याहरूलाई फेरि कहिल्यै उठ्न नदिने शक्ति र इच्छा पनि उहाँसँग छ; पृथ्वीभरि शान्ति र सुरक्षा स्थायी रूपमा कायम राख्ने उहाँमा सामर्थ्य छ।”—नहूम १:९.
अघिदेखि चुपो लागेर छलफल सुनिरहेका आनन्द यहाँ आएर बीचमै बोले: “तपाईंसित मेरो बिलकुलै सहमति छैन मास्टरजी। हामी यतिका लामो समयदेखि समस्याहरू झेल्दै आएका छौं। के परमेश्वरले हस्तक्षेप गर्नुभएको छ र? होइन, गर्नुभएको छैन! मेरो विचारमा हामी मानिसहरूले नै परिवर्तन ल्याउन सक्छौं। हामीले सम्पूर्ण व्यवस्थालाई बदल्नुपर्छ। धनी र भ्रष्ट मानिसहरूको विरुद्ध विद्रोह गरेर तिनीहरूलाई शक्तिबाट हटाउनुपरेको छ। संसारभरिका सबै पीडित मानिसहरू अत्याचारको विरुद्धमा उठे भने हामीले परिवर्तन ल्याउन सक्नेछौं। तब मैले सायद ठूलो चन्दा वा प्रभाव र सिफारिसको दबाब प्रयोग नगरीकनै पनि एउटा राम्रो स्कूलमा रामु र प्रियालाई भर्ना गराउन सक्ने थिएँ।”
“तपाईंको भावनालाई म बुझ्छु आनन्द। वास्तवमा, शदियौंदेखि एउटा ‘मानिसले अर्को मानिसलाई दुःख दिएको छ’ [“मानिसले मानिसमाथि प्रभुत्व चलाएर आफैलाई नै खति पुऱ्याएको छ,” NW] भन्दै बाइबलले यो स्थितिको वर्णन गर्छ।”—उपदेशक ८:९.
“तर परमेश्वरले पनि त यही चाहनुभएको हो, होइन र?” आनन्दले सोधे। “उपासना गर्ने ठाउँहरूमा पनि त धनीले गरिबभन्दा धेरै सहुलियत पाउँछन् र तिनीहरूले गरिबहरूमाथि अधिकार जमाउँछन्।”
“होइन, यो परमेश्वरको चाहना थिएन आनन्द। बाइबलको बयानअनुसार परमेश्वरले मानिसहरूलाई जनावरहरू, माछा र चराहरूजस्ता तल्लो स्तरका जीवहरूमाथि मात्र अधिकार जमाउन बनाउनुभएको थियो। मानिसले मानिसमाथि चाहिं अधिकार जमाउन बनाउनुभएको थिएन।”—उत्पत्ति १:२८.
“ठीक भन्नुभयो। यस प्रकार प्रभुत्व जमाउनु परमेश्वरको इच्छा विपरीत हो भने भ्रष्ट र अरूमाथि अधिकार जमाउने मानिसहरूलाई क्रान्तिकारीहरूले नाश गर्दा के तिनीहरूले परमेश्वरको इच्छाको पालना गरेको हुनेछैन र?”
“तर क्रान्तिकारीहरूले त्यस्तालाई हटाएपछि फेरि के हुनेछ? ती क्रान्तिकारीहरूले सबै कुरा आफ्नो वशमा लिनेछन् र तिनीहरू आफै फेरि अत्याचार गर्न थाल्नेछन्। अर्थात् हामीले कुरा जहाँबाट सुरु गरेका हुनेछौं, त्यहीं नै फेरि फर्कनेछौं। होइन, परमेश्वरले मात्र सबै दुष्ट प्रभुत्वहरूलाई हटाउन सक्नुहुन्छ र ईश्वरीय शासनद्वारा अनन्त शान्ति स्थापना गर्नुहुनेछ। यहोवा परमेश्वरले चाँडै नै यही गर्नुहुनेछ भनी बाइबल भन्छ। मेरो परिवार र यहोवाका हजारौं साक्षीहरू दृढतासाथ यसमा विश्वास गर्छन् र यसले हामीलाई भविष्यको निम्ति एउटा अद्भुत आशा दिन्छ।”
समस्याहरूको समाधान कहिले हुनेछ?
“कुरा सुन्दा त ठीकै लाग्छ,” आनन्दले भने, “तर पृथ्वीमा कुनै परिवर्तन वा उन्नति हुने केही चिह्न चाहिं म देख्दिनँ। परमेश्वरले मेरै जीवनकालमा नै यो परिवर्तन ल्याउनेहुनेछ भनी मैले कसरी विश्वास गर्ने?”
“उदाहरणका लागि आनन्द, तपाईं कतै बाहिर जानुभएको बेलामा मैले तपाईंको बगैंचामा आँपको बीउ रोपें र सो कुरा तपाईंलाई पछि भनें। तपाईं बाहिर बगैंचामा गएर हेर्नुहुन्छ तर त्यहाँ केही पनि देख्नुहुन्न। माटोलाई कसैले खनेको जस्तो पनि छैन। म तपाईंको निम्ति एक जना अपरिचित मानिस हुँ। तपाईं सोच्नुहोला: ‘यो अपरिचित व्यक्ति मेरो बगैंचामा आएर आँपको बीउ रोप्ने दुःख किन गर्थ्यो?’ मैले तपाईंको बगैंचामा साँच्चै नै आँपको बीउ रोपेको छु भनेर के तपाईं विश्वास गर्नुहुने थियो र?”
“अहँ, गर्ने थिइनँ जस्तो लाग्छ। तपाईंले सो गर्नुभयो होला भन्ने विषयमा मलाई अवश्य शङ्का लाग्ने थियो।”
“हो, तपाईं त्यस्तै सोच्नुहुन्थ्यो होला भनी मलाई पनि लाग्छ। तर केही समयपछि तपाईं त्यहाँ एउटा बिरुवा उम्रँदै गरेको देख्नुहुन्छ। तपाईं घरमा नभएको बेलामा कसैले आएर चुपचाप बिरुवामा पानी हालिरहेछ भनी तपाईं महसुस गर्नुहुन्छ। समय बित्दै जान्छ, वर्षौं बित्छ। त्यो पक्कै पनि आँपको रूख रहेछ भनी तपाईं चिन्न थाल्नुहुन्छ। र एक दिन त्यो रूखभरि कोपिलाहरू लागेको तपाईं देख्नुहुन्छ। त्यतिबेला तपाईंलाई कस्तो लाग्नेछ?”
“तपाईंले भन्नुभएको कुरा सत्य रहेछ भनेर मलाई थाह हुनेछ। तपाईं वास्तवमा दयालु हुनुहुन्छ र साँच्चै नै ममा चासो लिनुहुँदोरहेछ भनी म थाह पाउने थिएँ। र बडो उत्सुकतासाथ फलको प्रतीक्षा गर्दै त्यस रूखमाथि बराबर नजर राखिरहने थिएँ।”
“बिलकुल ठीक। यस परिस्थितिमा सबैले यही प्रतिक्रिया व्यक्त गर्नेछन्। चाँडै नै संसारमा एउटा महान परिवर्तन आउनेछ भनेर यहोवाका साक्षीहरूले किन आशा गरिरहेका छन् भनी तपाईंलाई बुझाउने यो एउटा उदाहरण हो। यसको अर्थ म अब तपाईंको निम्ति खोलिदिन चाहन्छु।
“बाइबल लेख्न करिब १,६०० वर्ष लाग्यो। यो ४० वर्षभन्दा बढी समयावधिमा, विभिन्न मानिसहरूले ६६ वटा साना साना किताबहरूको रूपमा लेखे तर पछि तिनीहरूलाई जम्मा गरेर एउटै ठूलो किताब बनाइयो। कुनै पनि लेखकले आफ्नै विचारहरू त्यसमा व्यक्त गरेको दाबी गर्दैनन्। के लेख्नुपर्ने हो, सो परमेश्वरले नै तिनीहरूलाई भन्नुभयो र ती सूचनाहरू सबै परमेश्वरबाट नै आएको हो भनी तिनीहरूले लेखे। एक जना लेखक जो मध्यपूर्वमा शासन गर्ने राजा पनि थिए, तिनले यस प्रकार लेखे: ‘यहोवाको आत्मा मद्वारा बोल्नुभएको छ, र उहाँको वचन मेरो मुखमा छ।’—२ शमूएल २३:२.
“सबैभन्दा प्रथम पुस्तकले सृष्टिको वर्णन गर्छ; यो पुस्तकअनुसार यहोवा परमेश्वरले मानिसलाई सिद्ध बनाउनुभएको थियो। तर उसले परमेश्वरको नियम पालन गर्ने वा नगर्ने फैसला स्वयम् गर्न सकोस् भनेर उहाँले मानिसलाई स्वतन्त्र इच्छा पनि दिनुभयो। ती नियमहरू पालन गरेमा सुख पाउने थियो: तिनीहरूको उल्लङ्घन गरेमा मानिसमाथि सजाय आउने थियो। मानिसले परमेश्वरका नियमहरू भङ्ग गर्न छान्यो र दुःख र मरण आफूमाथि मात्र होइन तर आफ्ना सन्तानमाथि पनि ल्यायो। तर अब परमेश्वरले एउटा ‘बीउ’ रोप्नुभयो। हो, एक दिन उहाँले हाम्रा सबै समस्याहरूको समाधान गरिदिनुहुनेछ र मानवजातिका निम्ति शान्ति र आनन्द पुनर्स्थापित गरिदिनुहुनेछ भनेर उहाँले एउटा आशाको ‘बीउ’ रोप्नुभयो।
“यो ‘बीउ,’ परमेश्वरले एउटा परिवर्तन ल्याउनुहुनेछ भन्ने प्रतिज्ञाको रूपमा थियो। अब, इतिहासभरि धेरैजसो मानवजातिका निम्ति परमेश्वर एक जना ‘अपरिचित’ व्यक्ति हुनुहुन्छ। यहोवाले आदिमा त्यो ‘बीउ’ रोप्नुहुँदा अर्थात् प्रथम प्रतिज्ञा गर्नुहुँदा तपाईं र म र आजका जीवित मानिसहरू कोही पनि त्यहाँ उपस्थित थिएनन्। पछि, उहाँले बारम्बार आफ्नो प्रतिज्ञालाई दोहोऱ्याउँदै बितेका शताब्दीहरूको दौडानमा त्यसको विषयमा अझ जानकारी दिनुहुँदा पनि हामीहरू उपस्थित थिएनौं। तर यस विषयमा बाइबलका विभिन्न पुस्तकहरूमा विस्तृत वर्णन दिएको पाउनुहुनेछ। बाइबल लेख्ने काम समाप्त हुँदा परमेश्वरले मानवजातिका समस्याहरू कसरी हटाउनुहुनेछ भनेर यसमा पूर्ण रूपले वर्णन गरिसकिएको थियो।
“अतः मेरो उदाहरणको मतलब यही हो आनन्द। यो ‘बीउ’—परमेश्वरको सुरुको प्रतिज्ञा—रोपेको हामीले नदेखेको भए तापनि अथवा पानीले सिंच्नुभएझैं परमेश्वरले त्यो प्रतिज्ञाबारे थप वृत्तान्तहरू दिनुभएको हामीले नदेखेको भए तापनि आज कोपिलाहरूले भरिएको र सम्पूर्णतया हुर्किसकेको रूख देख्न सक्छौं। जसले गर्दा फल फल्ने नै छ भनी हामी ढुक्क हुन सक्छौं।”
“तपाईं के भन्न खोज्नुहुँदैछ? किनभने तपाईंलाई मैले अघि नै भनिसकें कि परिवर्तन आउन लागेको म केही लक्षणै देख्दिनँ।”
“होइन, तपाईं देख्न सक्नुहुन्छ। तर तपाईंले त्यसलाई चिन्न सक्नुभएको छैन किनभने कसैले पनि तपाईंलाई त्यसका चिह्नबारे केही बताएकै छैन। परमेश्वरले हस्तक्षेप गर्नुहुने बेलामा पृथ्वीमा के कस्ता अवस्थाहरू हुनेछन् भनेर बाइबलमा पूरा वर्णन दिएको छ। धेरै उल्लेखनीय कुराहरू एउटै पुस्ताकाa मानिसहरूले देख्नेछन् र यसले दुष्टताको अन्त नजिकै छ भनेर देखाउनेछ र शान्तिमय नयाँ संसारको सुरुवात पनि देख्नेछ भनेर बाइबलले स्पष्टसँग बताउँछ। (मत्ती २४:३) अब आनन्द, बाइबलले के भन्छ भनी के तपाईं जान्न चाहनुहुन्न? यसरी तपाईं आफैले जाँच गर्न सक्नुहुनेछ र ती कुराहरू वास्तवमा भइरहेका छन् वा छैनन् भनी स्वयम् देख्न सक्नुहुनेछ।”
“म अवश्य चाहन्छु।”
“चिह्न”
“हाम्रो इलाकामा बढ्दो हिंसाबारे हामीले अस्तिको साँझ मात्र छलफल गरेको कुरा के तपाईंलाई याद छ? र अब स्वास्नी मानिसहरू र केटाकेटीहरू अँध्यारोमा एक्लै बाहिर जानु हुन्न भन्ने निष्कर्षमा पनि हामी पुगेका थियौं। यो ठाउँ केही समयअघि सहरको एउटा शान्त भाग थियो। तर आज यसै इलाकामा धेरैले कुटपिट र लुटमार अनुभव गरेका छन्। यो नै त्यो चिह्नको एउटा भाग हो। बाइबल भन्छ, ‘अधर्मीहरू बढ्नेछन्,’ र मानिसहरू ‘धनका लोभी असंयमी र निष्ठुर’ हुनेछन्। हालसालै नक्कली औषधीका उत्पादकहरूमाथि गरिएको खानतलासीबारे हामी छलफल गर्दै थियौं—के तपाईंलाई याद छ? पैसाको निम्ति मानिसको जीवनलाई समेत खतरामा पार्ने यो कस्तो निष्ठुर कुरा हो! साधारणतया बिरामी परेकाहरूका लागि त मानिस दुःख प्रकट गर्ने गर्छन् तर बाइबल भन्छ कि यो दुष्ट संसारको अन्तको दिनमा समय धेरै नै डरलाग्दो हुनेछ किनभने मानिसहरू ‘स्वार्थी, स्वाभाविक प्रेम रहितका, असल नरुचाउने’ हुनेछन्।”—मत्ती २४:१२; २ तिमोथी ३:१-३.
रामुले अचानक भन्यो, “यो त हजुरआमाले बताउनुहुने कलियुगका चिह्नहरू जस्तै छन्; उहाँ भन्नुहुन्छ कलियुगमा मानिसहरू स्वार्थी र लोभी हुनेछन्। तर उहाँ भन्नुहुन्छ सत्ययुग आउन अझ धेरै समय लाग्नेछ। यो उहाँको जीवनकालमा चाहिं आउँदैन रे।”
“हो रामु, हजुरआमाले जस्तै धेरैले सोच्छन्। अवस्था धेरै खराब छ भनी तिनीहरू महसुस गर्छन् र तिनीहरूले परिवर्तनको आशा पनि गर्छन् तर यो कहिले हुने हो भन्ने विषयमा विभिन्न विचारधाराहरू छन्। यसैमा हामीलाई बाइबलले मदत दिन्छ। यो परिवर्तन हाम्रै जीवनकालमा हुनेछ भनी यसले स्पष्टसँग भन्छ। मानिसको व्यक्तित्व खराब हुने कुराबाहेक यो चिह्नमा अरू धेरै कुराहरू पनि समावेश छन् भनी तिमीले देख्नेछौ।
“बाइबलले मत्तीको पुस्तक अध्याय २४ पद ७ मा यसो भनेको छ, ‘किनभने जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्नेछ र ठाउँ ठाउँमा अनिकाल र भैंचालो हुनेछ।’ दुष्टताको अन्त हुने समय अब आइपुग्यो र परमेश्वरबाट नाश नजिकै छ भनेर देखाउन येशू ख्रीष्टले दिनुभएको चिह्नको यो एउटा भाग हो। अब यी घटनाहरूलाई प्रकाश अर्थात् बाइबलको अन्तिम पुस्तकमा सोही अवधिबारे उल्लिखित वर्णनसँग तुलना गरेर हेरौं। प्रकाशको अध्याय ६ पद ४ देखि ८ सम्म यी अवस्थाहरू सारा संसारमा हुनेछन् भनेर उल्लेख गरिएको छ। लडाइँको वर्णन गर्दा पृथ्वीबाट शान्ति ‘हरण हुने’ कुरा यसमा गरिएको छ। रामु, तिमीले इतिहासमा पढ्दा १९१४ मा प्रथम विश्वयुद्ध सुरु भएको थियो भन्ने कुरा अवश्य पनि सिकेको हुनुपर्छ। त्यो घटना इतिहासमा एउटा परिवर्तनको बिन्दु थियो भनेर इतिहासकारहरू भन्छन् किनभने त्यही समयदेखि हामी एकपछि अर्को लडाइँ भएको देख्छौं र सारा पृथ्वीबाट शान्ति हरण भएको छ।
“येशूले भन्नुभएका अनिकालहरूबारे पनि यस अध्यायले थप वर्णन गर्छ। यस अध्यायमा दिनभरिको ज्याला अलिकता गहुँमात्र हुनेछ भनिएको छ। बजारबाट आउँदा निर्मलाको गुनासो पनि त यही हो, होइन र आनन्द? साधारणतया खाँचो पर्ने कुराहरूको मूल्य पनि निरन्तर बढ्दो छ। खडेरी परेर अफ्रिका र एसियाका धेरै भागहरूमा भइरहेको डरलाग्दो अनिकालबारे विचार गर्नुहोस्। लाखौं मानिसहरू राती भोक-भोकै सुत्छन्। कुपोषणको कारण हुने रोगहरूले गर्दा बच्चाहरू मर्छन्। हो, हाम्रो समयमा अनिकाल एउटा विश्वव्यापी खतरा भएको छ।
“सोही चिह्नको अर्को भाग हो—रूढी अथवा रोग। मानिसले चिकित्साको क्षेत्रमा धेरै उन्नति गरिसकेको भए तापनि त्यसले हामीलाई औलो र अरू रोगहरू फैलाउने लामखुट्टेहरूबाट बचाउन सकेको छैन। टाईफाईड, कलेरा, कमलपित्त, रगतमासी अथवा जुका पर्ने जस्ता रोगहरूबाट हामीलाई बचाउन सकेको छैन। र यस्ता रोगहरू कम हुने विकसित भनौदा देशहरूमा चाहिं क्यान्सर, हृदय रोग, यौनको कारण हुने रोगहरू र अरू थुप्रै प्रकारका रूढीहरू बढिरहेका छन्।
“अब, वास्तवमा अन्त आउने समय अवधिलाई बाइबलले यहाँ तोकेको पाउँछौं। प्रिया, तिमीले मत्तीको पुस्तक अध्याय २४ पद ३२ देखि ३४ सम्म हाम्रो निम्ति पढिदिए कसो होला?”
“तर नेभाराको रूखबाट एउटा उपमा सिक: जब त्यसको हाँगा कमलो भएर पातहरू पलाउँछ, तब ग्रीष्म ऋतु आएछ भनी थाह पाउँछौं। त्यसरी नै तिमीहरूले पनि जब यी कुरा भइरहेको देख्नेछौ तब ऊ नजिकै ढोकाहरूमै छ भनी जान। म तिमीहरूलाई साँच्चै भन्छु कि यो पुस्ता बिति नजाँदै यी सब कुराहरू पूरा भइजानेछ।”
“धन्यवाद प्रिया। के तपाईंले यसको अर्थ बुझ्नुभयो? रूखमा पातहरू पलाउँछ र ग्रीष्मऋतु नजिकै छ भनी तपाईं थाह पाउनुहुन्छ। त्यसै गरी, तपाईं त्यो चिह्न देख्नुहुन्छ—चिह्नमा समावेश हुने सबै विभिन्न कुराहरू देख्नुहुन्छ—र संसारको कामकाज परमेश्वरले आफ्ना हातमा लिने समय नजिकै छ भनी तपाईं बुझ्नुहुन्छ। कति नजिक? येशू भन्नुहुन्छ ‘यो पुस्ता बिति नजाँदै यी सब पूरा हुनेछन्।’ कुन पुस्ता? त्यो सम्पूर्ण चिह्न देख्ने पुस्ता। नत्रता चिह्न दिनुको अर्थै के हुनेछ र? आफ्नो जीवन बचाउनका निम्ति आवश्यक कदम चाल्न जरुरी छ भनेर यो चिह्न त्यस समयमा जीवित हुने मानिसहरूका निम्ति एउटा चेतावनी हो। रेलवे प्लेटफार्ममा घण्टी बज्नुको अर्थ रेलगाडी भोलि आउने हो र? के त्यसबेला हामी ढुक्क भएर झुल्न थाल्छौं? अहँ। हामी आफ्ना सामानहरू उठाउँछौं र तयार भएर उभिन्छौं किनभने रेल अब चाँडै नै प्लेटफार्ममा आउँदैछ भनी हामीले थाह पाएका छौं। त्यसै गरी येशूले यसो भन्दै हुनुहुन्थ्यो, त्यो चेतावनीको चिह्न देख्ने मानिसहरूले नै दुष्ट संसार सम्पूर्णतया नाश भएको पनि देख्नेछ। यो चिह्न १९१४ देखि देखिन थाल्यो।”
“हजुरबुबा, के तपाईं १९१४ मा जीवित हुनुहुन्थ्यो?”
“होइन रामु, म त्यत्तिको बूढा नभए तापनि त्यसको धेरै वर्षपछि जन्मेको पनि होइनँ। तर मेरो बुबा र परिवारका धेरै जना प्रथम विश्वयुद्धपछिको भयानक रोगमा परेर मरेका हुनाले हामी गरिब भयौं भनी म सानै छँदा मेरी आमाले भन्नुभएका कुराहरू मलाई सम्झना छ। त्यस रोगलाई स्पेनिस फ्लु भनिन्थ्यो र सारा संसारका लाखौं मानिस त्यसबाट मरे।”
“त्यो महामारी चिह्नको एउटा अर्को भाग हो हजुरबुबा। त्यो महामारी यति उल्लेखनीय थियो कि आजभन्दा ७० वर्ष अगाडि भएको घटनाको असर आज पनि तपाईंलाई सम्झना छ।
“तथापि, आफ्नो दयाको कारण परमेश्वरले गर्न लाग्नुभएका कुराहरूको यति स्पष्ट चेतावनी हामीलाई दिनुभए तापनि बाइबल भन्छ धेरै मानिसहरूले यो चेतावनीलाई ध्यान दिनेछैनन्। धेरै मानिसहरू आफूले के खाने र के लाउने जस्ता दैनिक कामकुराहरूमा र तिनीहरूका छोराछोरीहरूले कोसँग विवाह गर्ने र यस्तै अन्य साधारण कुराहरूमा मात्र ध्यान दिनेछन् र तिनीहरूमाथि अचानक नाश नआउन्जेलसम्म तिनीहरूले चेतावनीलाई ध्यान दिनेछैनन् भनी यसले बताउँछ। साथै, संसारमाथि आउँदै गरेको अन्तबारे बताउँदा धेरै मानिसहरूले गिल्ला र हाँसो गर्नेछन् भनी बाइबलमा भविष्यवाणी गरिएको छ। त्यसैले ती धेरै मानिसहरूजस्ता नभएर यो चेतावनीलाई गम्भीर ठान्न बाइबलले नम्र र सोझा मानिसहरूलाई चेतावनी दिन्छ।—मत्ती २४:३८, ३९; लूका २१:३४-३६; २ पत्रुस ३:३, ४.
“आज २३५ देशका ६५ लाखभन्दा बढी मानिसहरूले त्यसै गरिरहेका छन्। तिनीहरू यो चेतावनीलाई विश्वास गर्छन् र यो महाविनाशबाट बच्न र परमेश्वरले तिनीहरूलाई दिनुहुने सुन्दर घरजस्तो पृथ्वीमा बस्ने योग्यका बासिन्दा हुन आफूलाई प्रमाणित गर्न सकेसम्म कोसिस गरिरहेका छन्। तपाईंले देख्नुहुनेछ कि यहोवाका साक्षीहरू जहाँ बसे तापनि तिनीहरू आपसमा कुल, जाति र रङ्गको भेदभाव राख्दैनन्; तिनीहरू एउटा ठूलो विश्वव्यापी परिवार हुन्। परमेश्वरका नियमहरू पालन गर्दै तिनीहरू संसारमा परिवर्तन ल्याउने उद्देश्यले लडाइँ, हिंसा, क्रान्ति अथवा राजनैतिक मामिलाहरूमा भाग लिंदैनन्। बरु, तिनीहरू सबैलाई प्रेम गर्छन्। घर-घर गई मानिसहरूलाई भेट्न र परमेश्वरको शान्त नयाँ संसारमा जीवनको आनन्द उठाउने हो भने परमेश्वरको चेतावनीलाई ध्यान दिनुहोस् भन्दै प्रोत्साहन दिने काममा आफ्नो समय, प्रयास र धन खर्च गर्छन्। यसरी तिनीहरू प्रेमको एउटा महान प्रदर्शन गर्छन्।”
एउटा नयाँ संसार—कसरी भिन्न?
रामुले भन्यो, “मास्टरजी, तपाईं जहिले पनि एउटा नयाँ संसार र परमेश्वरले ल्याउनुहुने परिवर्तनबारे कुरा गर्नुहुन्छ। परमेश्वरले कुन प्रकारका परिवर्तनहरू ल्याउनुहुनेछ? मेरो मतलब यो नयाँ संसारमा कुन-कुन कुराहरू फरक हुनेछन्?”
“रामु, हामी यस विषयमा रेचेललाई केही भन्न लगाऊँ। रेचेल, परमेश्वरले मानिसको मामिलामा हस्तक्षेप गर्नुहुँदा पृथ्वीको अवस्थाबारे तिमीले बाइबलमा पढेकी छौ? तिमीलाई मन परेका केही कुराहरू हामीलाई पनि भन न।”
“मलाई पढ्न मन लाग्ने बाइबलको एउटा पद यो हो” रेचेलले भनी “किनभने मलाई जनावरसँग खेल्न मन लाग्छ। म पढेर सुनाऊँ? यो यशैयाको पुस्तकको अध्याय ११ का पदहरू ६-८ बाट लिइएको छ। यहाँ यसो भनिएको छ: “ब्वाँसो चाहिं थुमासित बस्नेछ र चितुवा पाठासित सुतेर बस्नेछ। बाछा, जवान सिंह र पालेको पशु एकैसाथ रहनेछन् र एउटा सानो बालकले तिनीहरूलाई डोऱ्याउनेछ। गाई र भालू एकैसाथ चर्नेछन् र तिनीहरूका बच्चाहरू एकैसाथ ढल्केर बस्नेछन्। सिंहले गोरूले झैं पराल खानेछ। दूधे बालक साँबे सर्पको कुरमा खेल्नेछ र विषालु सर्पको दूलोमा आफ्नो हात हाल्नेछ।” सिंहले आक्रमण गर्ला वा सर्पले टोक्ला भन्ने कुनै डरैविना हामी जङ्गलमा हिंड्न पाउँदा र सबै जनावरहरूसँग खेल्न पाउँदा कति रमाइलो हुनेछ।
“मलाई ज्वरो वा औलो अथवा रुघा मात्रै लाग्दा पनि त्यो पद याद आउँछ जहाँ भनिएको छ, ‘त्यहाँका बासिन्दाहरूले यसो भन्नेछैनन्: “म बिरामी परें।” (यशैया ३३:२४) स्कूलमा एउटी केटी लङ्गडी छे किनभने उसलाई सानै छँदा पोलियो भएको थियो। उसलाई धेरै दुःख छ र हामीसँग खेल्न पनि सक्दिन। एक दिन मैले मेरो बाइबल स्कूलमा लिएर गएँ र यशैया ३५:५, ६ बाट उसलाई यो पढेर सुनाएँ: ‘तब अन्धाहरूका आँखा खोलिनेछन् र बहिराहरूका कान उघारिनेछन्। तब लङ्गडा मृगझैं उफ्रनेछ र गूङ्गाको जिब्रोले स्तुति गर्नेछ।’ त्यो सुन्दा ऊ एकदमै खुसी भई।
“मेरो काका किसान हुनुहुन्छ र उहाँ यसै गाउँमा बस्नुहुन्छ। यसपछिको पद मैले उहाँलाई पढेर सुनाउँदा उहाँ पनि अति नै खुसी हुनुभयो: ‘मृग तृष्णा दह हुनेछ र ओबानो भूमिमा पानीका मूल फुट्नेछन्।’ (यशैया ३५:७) वर्षाऋतुमा पानी नपर्दा बाली राम्रो हुँदैन र उहाँलाई निकै नै समस्या पर्छ। तर बाइबल भन्छ कि परमेश्वरको नयाँ संसारमा सबैका लागि प्रशस्त खाना हुनेछ—कुनै बाली विनाश हुनेछैन! यहाँ भनिएको छ, यहोवा परमेश्वरले ‘सारा मानिसहरूका निम्ति . . . असल असल स्वादिष्ट थोकहरू’ दिनुहुनेछ र ‘पृथ्वीमा प्रशस्तगरि अन्न हुनेछ।’ (यशैया २५:६; भजन ७२:१६) इजकिएल ३४:२७ यसो भन्छ: ‘खेतमा भएका रूखहरूले फल दिनेछन्, भूमिले आफ्नो फसल दिनेछ र मानिसहरू मनमा चैन लिएर निज भूमिमा बस्नेछन्।’ के यो एउटा आश्चर्यजनक कुरा होइन र?”
“मैले एउटा सिंहसित वास्तवमा खेल्न पाए त गजब हुने थियो,” आनन्दकी कान्छी छोरी आशाले भनी। “मैले तिनीहरूलाई चिडियाखानामा देखेकी छु र तिनीहरू हेर्नमा एकदमै डरलाग्दा छन्।”
मास्टरजीले भन्नुभयो, “तिमीले त्यो अवश्य मन पराउने छौ आशा। आनन्द, यसरी हाम्रा खास समस्याहरू यहोवा परमेश्वर जान्नुहुन्छ र तिनीहरूलाई हटाउने प्रतिज्ञा उहाँले गर्नुभएको छ भनी बाइबलले कसरी देखाउँछ भन्ने कुरा के तपाईंले अब बुझ्नुभयो? बिरामी, बाली विनाश र अपुग वर्षाको कारण उपज नराम्रो हुन्छ र त्यसले खानाको अभाव हुँदा हामी सबैमाथि असर पर्छ। निवासस्थानसम्बन्धी दयनीय अवस्थाहरू पनि एउटा ठूलो समस्या हो। महँगो घर भाडा र कोचाकोच भएर बस्नुपर्ने जस्ता कुराहरू परमेश्वरको नयाँ संसारमा हुनेछैन। निवाससम्बन्धी समस्याबारे यशैया ६५:२१, २२ यसो भन्छ: ‘तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन् र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्। तिनीहरूले बनाएर अरूहरू बस्ने र तिनीहरूले रोपेर अरूहरूले खाने चाहिं हुनेछैन।’ यसरी परमेश्वर पृथ्वीमा सबैका लागि घर र बगैंचाको प्रतिज्ञा गर्नुहुन्छ।
“तथापि, युद्धहरू छेड्ने र हिंसा गर्ने दुष्ट व्यक्तिहरू त्यहाँ छन् भने हामीहरू फेरि पनि असुरक्षा महसुस गर्नेछौं र ती आश्चर्यमय स्थितिको आनन्द उठाउन पाउनेछैनौं। परमेश्वरले यस्ता मानिसहरूलाई नाश गर्नुहुनेछ। भजन ३७:१० भन्छ: ‘किनकि थोरै बेरपछि दुष्ट रहनेछैन। तैंले त्यसको ठाउँ राम्ररी हेरे तापनि त्यो पटक्कै रहनेछैन।’ दुष्ट मानिसहरू नाश हुने हुनाले ‘पृथ्वीको अन्तसम्मै उहाँले युद्धहरू रोक्नुहुनेछ’ भनेर उहाँले गर्नुभएको प्रतिज्ञामा हामी विश्वस्त हुन सक्छौं।”—भजन ४६:९.
“यहोवा परमेश्वरले यी प्रतिज्ञाहरूको पूर्ति एउटा सरकारद्वारा गर्नुहुनेछ जसलाई बाइबलले परमेश्वरको राज्य भनेको छ। यो राज्य धेरै कुराहरूमा मानव राज्यहरूभन्दा भिन्न हुनेछ। एउटा त, यो एउटा स्वर्गीय राज्य हुनेछ जसले गर्दा यो भ्रष्ट हुन असम्भव हुनेछ। दोस्रो कुरा, यसले न्याय पाउने ग्यारेन्टी, धनी र सामर्थीका लागि मात्र होइन सबैका लागि दिनेछ। यो राज्य कार्यान्वयन भएपछि हुने कुराहरूको एउटा मनोरम बयान म यहाँ पढेर तपाईंलाई सुनाउन चाहन्छु: ‘तर गरिबहरूको न्याय उहाँले ठीकसित गर्नुहुनेछ र पृथ्वीका दीन जनका पक्षमा धार्मिकतासाथ चेतावनी दिनुहुनेछ . . . उहाँको कम्मरको पटुका धार्मिकता हुनेछ। र उहाँको जाङको बन्धन सत्यता हुनेछ।’—यशैया ११:४, ५.
“अन्तिम कुरा, परमेश्वरको राज्यले अरू सबै राज्यहरूलाई हटाउनेछ र यो एउटा वास्तविक विश्व सरकार हुनेछ। यो घतलाग्दो भविष्यवाणी दानियलको पुस्तकमा पाइन्छ: ‘ती राजाहरूका समयमा स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चकनाचूर पार्नेछ र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।’ (दानियल २:४४) हो, परमेश्वरको राज्यले पूर्ण अधिकार लिएपछि स्थिति धेरै राम्रो हुनेछ। यसैले त येशूले आफ्ना चेलाहरूलाई त्यस राज्यको प्रतीक्षा गर्न सिकाउनुभयो। र परमेश्वरलाई यसरी प्रार्थना गर्नसम्म पनि उहाँले तिनीहरूलाई भन्नुभयो: ‘तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।’ ”—मत्ती ६:१०.
“यसरी तपाईं बुझ्न सक्नुहुन्छ कि सर्वशक्तिमान् परमेश्वर जसको नाम यहोवा हो, उहाँ हाम्रा सबै समस्याहरू पूर्णतया जान्नुहुन्छ र हामीप्रति सहानुभूति पनि राख्नुहुन्छ। चाँडै नै हाम्रा समस्याहरू हटाउने कारवाही गर्नुहुनेछ भनी उहाँ हामीलाई सान्त्वना पनि दिनुहुन्छ।”
बुद्धिमान् सल्लाहबाट अहिले हुने लाभहरू
“सुन्नमा त ती सबै अति राम्रा छन् मास्टरजी। तर परमेश्वरको राज्यले ल्याउने परिवर्तनहरू कुरेर बस्दैमा आज मेरा बच्चाहरूले खान र लाउन पाउने छैनन्। हामीले काम त गर्नै पर्छ। हाम्रो जीवन सुधार्नका लागि हामी आफैले प्रयत्न गर्नुपर्छ।”
“हामीले अवश्य काम गर्नुपर्छ आनन्द। हामीमाथि भर पर्नेहरूको पालन-पोषण गर्नका लागि कठिन अवस्थामा पनि मेहनती भएर काम गर्ने सल्लाह बाइबलले हामीलाई दिन्छ। (१ तिमोथी ५:८) वास्तवमा यसले स्पष्टसित भन्छ: ‘कसैले यदि काम गर्दैन भने उसले खाना पनि नखाओस्।’ (२ थिस्सलोनिकी ३:१०) हामीले अनुसरण गरेमा हाम्रो स्वास्थ्य र आनन्दका लागि लाभदायक हुने किसिमका कानुनहरू, सिद्धान्तहरू र सल्लाहहरू बाइबलले दिन्छ। उदाहरणका लागि हामीले बढी खाएको वा मतवाला भएको परमेश्वरले रुचाउनुहुन्न भनेर बाइबलले हामीलाई सिकाउँछ। हामीलाई थाह छ, यी दुवै कुराहरूले हाम्रो स्वास्थ्यलाई गम्भीर रूपले हानि गर्न सक्छ र मेहनत गरेर कमाएको पैसा व्यर्थमा जान्छ।
“त्यस्तै गरी, बाइबलका सिद्धान्तहरूअनुसार हामी सुर्ती र सुपारीबाट अलग बस्नुपर्छ। यस्ता प्रकारका कुराहरूबाट ऋणहरू तिर्ने अथवा परिवारका लागि खाने कुराहरू किन्ने पैसा हुने बाहेक डाक्टरहरूको विचारमा यी कुराहरूले हाम्रो शरीरलाई गम्भीर रूपमा हानि पनि पुऱ्याउन सक्छ। (२ कोरिन्थी ७:१) बाइबलले दिने उच्च नैतिक स्तर र स्वास्थ्यसम्बन्धी बुद्धिमानी सिद्धान्तहरू पालन गऱ्यौं भने हामीले मानसिक आनन्द प्राप्त गर्न सक्नेछौं र धेरै रोगहरूबाट बच्न मदत पनि पाउनेछौं। त्यसैकारण बाइबलमा यहोवा परमेश्वर आफ्नो विषयमा यसो भन्नुहुन्छ ‘म परमप्रभु [“यहोवा,” NW] तेरा परमेश्वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ,’ र फेरि भन्नुहुन्छ, ‘यदि तैंले मेरो आज्ञाहरू पालन गरेको भएता तेरो शान्ति नदीझैं र तेरो धार्मिकता समुद्रका छालहरूझैं हुनेथियो।’—यशैया ४८:१७, १८.
“तथापि, हामीले यो मान्नैपर्छ कि आज बुद्धिमान् सल्लाहको अनुसरण गरेर धेरै मात्रामा आफ्नो जीवनको गुणस्तर बढाउन हामी सक्षम भयौं भने पनि अन्याय, भ्रष्टाचार, जातीय भेदभाव, सिकिस्त बिरामी र मृत्युजस्ता ठूलठूला समस्याहरूको चाहिं समाधान गर्न सक्नेछैनौं। यी कुराहरूलाई सधैंका लागि हटाउन परमेश्वर आफैले हस्तक्षेप गर्नुपर्छ।”
“तर हामीले आफ्ना राम्रा कर्महरूद्वारा पनि ठूला परिवर्तनहरू ल्याउन सक्छौं भन्ने कुरामा म विश्वास गर्छु” हजुरआमाले भन्नुभयो। “हाम्रा असल कर्महरूले अरूहरूलाई पनि धेरै असर पार्छ र दिनहुँ ध्यान गऱ्यौं भने हामीले आन्तरिक शान्ति पाउन सक्छौं र जस्तोसुकै समस्या आइपरे पनि विचलित हुनेछैनौं।”
“आज धेरै मानिसहरूले तपाईंको जस्तै विचार राख्छन् हजुरआमा। तर एउटा कुरा निश्चित छ। हाम्रा कर्महरू जतिसुकै राम्रा भए तापनि हामीले पृथ्वीबाट दुष्टतालाई हटाउन सक्दैनौं। हाम्रा असल कर्मको कारण अरूहरू पनि असल काम गर्न प्रेरित होलान् तर कुनै कुनै मानिसहरूले चाहिं आफ्नो आनीबानीमा परिवर्तन ल्याउने छैनन्। भनौं भने, कसै-कसैले त तपाईंको सौजन्यताको फाइदा उठाएर अझ बढी हानि गर्न सक्छन्।
“परमेश्वरले अवतार लिएको खण्डमा मात्र सत्ययुग आउन सम्भव छ भनी धेरै हिन्दूहरूले विश्वास गर्छन् भन्ने कुरामा तपाईं सहमत हुनुहुन्छ होला। बहुसङ्ख्यक व्यक्तिहरूले खराब काम गरिरहेको बेलामा परमेश्वरले हस्तक्षेप गर्न अति नै आवश्यक हुनेछ भनी तिनीहरू सोच्छन्। अनि यसो विचार गर्नुहोस् त हजुरआमा, तपाईंले ध्यान गरेर आन्तरिक शान्ति पाउनुभयो भने पनि के त्यसबाट आनन्दले पुग्दो कमाएर परिवारलाई खुवाउन, लगाउन र शिक्षा दिलाउन सक्छन् होला? सक्नेछैनन्, होइन र?
“ध्यान गर्ने बारे तपाईंले भन्नुभएको कुरा एकदमै चासोलाग्दो छ। प्रथम त, हामीले ठीकसँग ध्यान गर्न सिक्नुपऱ्यो। उदाहरणका लागि, पहिले त कुन विषयमा ध्यान गर्ने हो, त्यसको जानकारी हामीलाई हुनुपऱ्यो। त्यसैकारण हामी आफ्ना छोराछोरीहरूलाई स्कूल पठाउँछौं; तिनीहरूलाई सिकाउन तिनीहरूभन्दा बढी ज्ञान भएको व्यक्ति आवश्यक छ। तब मात्र बच्चाहरूले सिकेका कुराहरूमा मनन अथवा ध्यान गर्न सक्छन्। हामी तिनीहरूलाई घरमै बसेर मनन गर र आफू भित्रैबाट ज्ञान आउन देऊ भनेर भन्दैनौं। किनभने तिनीहरूलाई भन्दा बढ्ता ज्ञान भएका एक जना शिक्षक वा गुरुको आवश्यकता हामी देख्छौं। अतः मानिस र उसका समस्याहरूको विषयमा तिनीहरूलाई सृष्टि गर्नुहुनेलाई भन्दा बढी कसलाई थाहा होला र? निस्सन्देह, हामीले पनि हाम्रा सृष्टिकर्ता हाम्रा गुरु हुनुहुनेछ र उहाँले नै हाम्रा समस्याहरूको समाधान गर्ने बाटो देखाइदिनुहुनेछ भनी आशा गर्न सक्छौं। हामी छोराछोरीहरूलाई शिक्षा दिन्छौं किनभने हामी तिनीहरूलाई प्रेम गर्छौं। के एक जना मायालु, सर्वशक्तिमान् स्वर्गीय परमेश्वरले पनि त्यसो गर्नुहुन्न होला र?”
“मास्टरजी, हुन त तपाईंका कुराहरू चित्त बुझ्दा छन्” हजुरबुबाले बीचैमा भन्नुभयो “तर तपाईंले बयान गर्नुभएको उपाय अति नै सरल छ। हाम्रो धर्ममा अझ धेरै गहिरो दर्शन पाइन्छ। हाम्रा सन्त र महात्माहरूले जीवनको अर्थ बुझ्न धेरै वर्षहरू ध्यान गर्नमा बिताए। मैले पनि आफ्नो जीवनकालमा धार्मिक पुस्तकहरू पढेको छु तर अझसम्म ब्रह्माण्डका रहस्यहरू र जीवन र जीवनको उद्देश्यबारे बुझ्न सकेको छैनँ।”
“हजुरबुबा, यो कुरा पक्का हो कि परमेश्वरको बुद्धि हाम्रा भन्दा धेरै नै उच्च छ। बाइबलमा एक जना अय्यूब भन्ने व्यक्तिबारे भनिएको छ कि उनले धेरै वर्षसम्म परमेश्वरको र उहाँको सृष्टिको विषयमा चिन्तन गरेपछि यसो भने, ‘हेर यी ता उहाँको शक्तिको एक छेउ मात्र हुन्, औ हामीले सुन्ने उहाँको मधुर-सोर कत्ति मधुरो छ।’ ” (अय्यूब २६:१४) तर हाम्रो तुच्छ दिमागले परमेश्वरको बारेमा सबै कुरा जान्न नसके तापनि कम से कम हामीले जान्नुपर्ने कुराहरू उहाँले चाहेको खण्डमा हामीलाई सिकाउनुहुन्न र?
“उदाहरणका लागि बुद्धिमान् गणितज्ञ भनी नाउँ चलेका एक जना बहुतै शिक्षित गणितका प्राध्यापकले रामुलाई निश्शुल्क पढाइदिने इच्छा व्यक्त गरेमा के तपाईं उहाँ एकदमै बुद्धिमान् हुनुहुन्छ; उहाँलाई थाहा भएका जति कुराहरू रामुले कहिल्यै बुझ्न सक्नेछैन भन्दै यो मौका अस्वीकार गर्नुहुन्छ? तपाईं अवश्य पनि यसो गर्नुहुने छैन! किनभने कुनै व्यक्ति जस्तोसुकै विद्वान् भए तापनि तिनी एउटा असल शिक्षक हुन् भने तिनले शिशुशालाका विद्यार्थीहरूलाई पनि बुझ्ने गरी पढाउन सक्ने छन्। त्यसै गरी सर्वज्ञ बुद्धिमान् परमेश्वरले पनि हामी उहाँका बच्चाहरूलाई हामीले बुझ्ने सरल भाषामा सिकाउन सक्नुहुन्न होला र? उहाँले यही गर्नुहुन्छ भनेर बाइबलले हामीलाई यसो भन्छ: ‘तेरा सबै छोराछोरीहरू परमप्रभुबाट [“यहोवाबाट,” NW] सिकाइएका हुनेछन्।’ (यशैया ५४:१३) त्यसैकारणले त बाइबलका सिद्धान्तहरू सरल र मानवजातिले बुझ्न सक्नेछन्। बाइबलभरि उखानहरू, साधारण मानिसहरूका काम-कारवाही र तिनीहरूका दैनिक विवरणहरू जसले पनि बुझ्न सक्ने सरल भाषामा लेखिएको छ। एउटा उच्च बुद्धि भएका व्यक्तिले हामीलाई हाम्रा समस्याहरूको समाधान देखाउने यो एउटा उत्कृष्ट तरिका हो।
“तर अब हामी जानुपर्छ। एकसाथ यसरी बिताइएको यो समय हामीलाई अति नै रमाइलो लाग्यो र तपाईंहरूको आतिथ्यका लागि धन्यवाद।”
निर्देशन पुस्तक
केही दिनपछि सिलाइ गर्ने कलले ठीकसँग काम नगरेको हुनाले निर्मला र मरियमले मरियमको सिउने कलको निर्देशन पुस्तिका हेरिरहेका थिए। त्रुटिको समाधान भएपछि मरियमले निर्मलालाई सोधिन्, “हाम्रो सृष्टि गर्नुहुने परमेश्वरले के हामीलाई समस्या पर्दा हेर्न एउटा निर्देशन पुस्तिका दिनुहुन्नथ्यो होला र? तपाईंलाई कस्तो लाग्छ निर्मला?”
“तपाईंले के भन्न खोज्नुभएको मरियम?” निर्मलाले छक्क परेर सोधिन्।
“हामीले यो सिउने कल किन्दा यसको निर्माताले त हामीलाई एउटा निर्देशन पुस्तिका दिएको थियो। त्यस्तै गरी मानिसहरूले अनुसरण गरेमा तिनीहरूलाई फाइदा हुने किसिमका निर्देशनहरू हाम्रा सृष्टिकर्त्ताले हामीलाई दिन के मनासिब हुनेछैन र?”
“र निर्देशनहरूको त्यो पुस्तक चाहिं बाइबल नै हो भनी तपाईं विश्वास गर्नुहुन्छ होला, होइन र?”
“हो, म विश्वास गर्छु निर्मला। धेरै पुस्तकहरू छन् जसलाई पवित्र शास्त्र भनिन्छ।” तीमध्ये केही पुस्तकहरूलाई दन्त्यकथा भने हुन्छ र केही चाहिं इतिहासको एउटा खास समयमा बस्ने व्यक्तिहरूको आफ्नै दर्शन हो जसलाई तिनीहरूले आफ्नै सोचाइको आधारमा विकास गर्दै लगे। फेरि अरूहरूमा चाहिं कुनै खास क्षेत्र र खास समयका लागि उपयुक्त हुने किसिमका एउटा नैतिक र सामाजिक नियमहरू दिइएका छन्। यी सबै पुस्तकहरूले बेग्लाबेग्लै किसिमका शिक्षाहरू दिन्छन् र आफूले कुन रङको सारी लगाउने हो भनेर एउटी स्वास्नीमानिसले छाने जस्तै विभिन्न व्यक्तिहरूले आफूलाई मन पर्ने प्रकारका शिक्षा छानेर त्यसका पछि हिंड्छन्।
“तर बाइबल भिन्न छ। हामीले पहिले नै छलफल गरिसक्यौं कि कुनै एक जना लेखकले पनि आफ्नै विचारबाट प्रेरित भएर लेखेको दाबी गरेनन्। एक जना लेखकले बाइबलमा भएको सन्देशबारे यसो भने, ‘मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर मानिसहरूले परमेश्वरका तर्फबाट बोल्दथिए।’ (२ पत्रुस १:२१) बाइबलका शिक्षाहरू सो लिएको समयमा व्यावहारिक थियो र आज २१ औं शताब्दीमा पनि त्यत्तिकै व्यावहारिक छ किनभने परमेश्वरको निर्देशन अनन्तसम्म फाइदाजनक हुन्छ र उहाँका सिद्धान्तहरूमा कहिल्यै परिवर्तन हुँदैनन्। ती शिक्षाअनुसार हिंड्नेहरूका निम्ति त्यो जहिले पनि असल कामप्रति डोऱ्याउने एउटा शक्ति भएको छ जसले गर्दा तिनीहरूले जीवनमा आमूल परिवर्तनहरू ल्याउन सकेका छन्। त्यसै कारणले त २,००० वर्ष अघिका एक जना कानुनवेत्ताले यसो भने: ‘परमेश्वरको वचन जीवित र प्रबल छ।’—हिब्रू ४:१२.
“तर आज हामी बाँचिरहेकाहरूका लागि बाइबल विशेष ढङ्गमा महत्त्वपूर्ण छ निर्मला किनभने परमेश्वरले प्रतिज्ञा गर्नुभएको परिवर्तन हाम्रै पुस्ताले देख्नेछ भनेर यसमा किटेर भनेको छ। हामीले हिजो बेलुकी छलफल गरेको “चिह्न[बारे]” यसले बताउँछ। बाइबलका लेखकहरूले त्यस समयको प्रतीक्षा गरे तर परमेश्वरले मानव समस्याहरूको कसरी समाधान गर्नुहुनेछ भनी जान्न तिनीहरू इच्छुक भए तापनि धेरैले आफैले लेखेका भविष्यवाणीहरूको अर्थ बुझ्न सकेनन्। उदाहरणका लागि एक जना लेखक दानियलले उनलाई लेख्न भनिएका कुराहरूका व्याख्या जान्नका लागि तिनले अनुरोध गरे। तर उनले पाएको जवाफ हेर्नुहोस् त: ‘तर तिमीले चाहिं, हे दानियल यी वचनहरूलाई गुप्तमा राख, र अन्तको समयको लागि यो पुस्तकमा छाप लगाएर बन्द गरिराख . . . अन्तरदृष्टि हुने जनहरूले बुझ्नेछन् [ NW]।’ उनलाई अन्तको समयबारे यसो पनि भनिएको थियो, ‘धेरै खोजी गर्दै हिंड्नेछन् र सही ज्ञान प्रशस्त हुनेछ।’ [ NW]—दानियल १२:४, ८-१०.
“यो आज यथार्थमा हुँदैछ। धेरै शताब्दीसम्म बाइबल सुरुमा जुन भाषाहरूमा लेखिएको थियो, ती भाषाहरूमा मात्र उपलब्ध थियो र त्यसपछि अरू एक वा दुई भाषाहरूमा मात्र त्यसको अनुवाद भयो। तर आज, सम्पूर्ण बाइबल अथवा त्यसका केही अंश २,००० भन्दा बढी भाषाहरूमा उपलब्ध छ र संसारभरि यसका २०० करोडभन्दा बढी प्रतिहरू बाँडिएको छ। यसका साथसाथै आज करिब ६५ लाखभन्दा बढी यहोवाका साक्षीहरू घर-घर गई मानिसहरूलाई बाइबल बुझ्ने मदत दिइरहेका छन् भन्ने कुरालाई पनि ध्यानमा राख्नुभयो भने त्यो भविष्यवाणीको पूर्ति तपाईंले देख्नुहुनेछ। यो ‘अन्तको समयमा’ ‘सही ज्ञानको’ जसै वृद्धि भइरहेछ, ‘गुप्त राखिएका’ कुराहरू बुझ्न पाइँदैछन्। यो हुन अति नै आवश्यक छ किनभने मानिसहरूले यस दुष्ट संसारको नाशबाट उम्कनका लागि परमेश्वरका निर्देशनहरू थाहा पाउनुपरेको छ। बाइबल अध्ययनद्वारा अतीतमा परमेश्वरले भविष्यवाणी गर्नुभएका कुराहरू साँच्चै नै पूरा भएका मानिसहरूले देख्न सक्नेछन् र यस प्रकार भविष्यमा पनि हाम्रा समस्याहरू अन्त गर्नका लागि उहाँले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमाथि तिनीहरूले विश्वास गर्न सक्नेछन्।”
बाँच्नका लागि हामीले के गर्नुपर्छ?
“मरियम निर्मलालाई घर पुऱ्याउन आएको बेलामा हजुरआमाले भर्खरै साँझको पूजा सिध्याउनुभएको थियो। प्रतीक्षा गरिरहेको नयाँ बच्चाका लागि सिलाइएका राम्रा लुगाहरूको प्रशंसा गर्नुभएपछि अचानक हजुरआमाले वार्तालापको विषय बदल्नुनुभयो।
“मास्टरजीले भनेका कुराहरू सत्य हुन्” हजुरआमाले भन्नुभयो “र परमेश्वरले चाँडै नै दुष्ट मानिसहरूलाई नाश गर्नुहुने हो भने हामी त सुरक्षित रहनेछौं। हामी कसैलाई ठग्दैनौं र झूट पनि बोल्दैनौं। मन्दिरमा गएर प्रार्थना गर्छौं र नैतिक जीवन बिताउँछौं। हाम्रो परिवारलाई कुनै किसिमको नोक्सानी आउन सक्दैन।”
“परमेश्वरले दुष्टमाथि ल्याउन लाग्नुभएको न्यायबाट बाँच्न हामीले अवश्य पनि एउटा नैतिक जीवन बिताउनुपर्छ,” मरियमले जवाफ दिइन्। “उहाँले आफ्नो नयाँ संसारमा झूट बोल्ने, ठग्ने र हत्या गर्ने व्यक्तिहरू चाहनुहुन्न नत्रता त्यो फेरि अहिलेको संसारभन्दा केही भिन्न हुनेछैन, होइन र? तर हजुरआमा, यसो विचार गर्नुहोस्। बाढीजस्तो विपत्तिको समयमा सरकारले हामीलाई बचाउनका लागि विशेष निर्देशन दिने गर्छ। परिस्थिति र हुनेवाला घटनाहरूबारे तिनीहरूले प्राप्त गरेको सही ज्ञानमा ती निर्देशनहरू आधारित हुन्छन्। त्यस्तो समयमा, ‘म एक जना असल व्यक्ति हुँ, त्यसैले म डुब्नेछैनँ’ भन्दै हामी घरमा बस्नेछौं होला र? अब, परमेश्वरले बाढीभन्दा अति नै महान विनाश ल्याउन लाग्नुभएको छ। उहाँले एउटा युद्ध ल्याउनुहुँदैछ जसलाई बाइबलले आरमागेडोन भन्छ र यसको असर पृथ्वीका सबै प्राणीहरूमा पर्नेछ। (प्रकाश १६:१४-१६) पवित्र शास्त्र भन्छ, असल नैतिकता बचावका लागि एउटा मौलिक आवश्यकता हो। तर परमेश्वरले परिस्थितिबारे आफ्नो ज्ञानमा आधारित अरू पनि विशेष निर्देशनहरू दिनुभएको छ। परमेश्वरका निर्देशनहरू पालन गर्नेहरूलाई बाइबलले ‘धर्मी,’ ‘सोझो,’ र ‘निष्खोट’ भन्छ र परमेश्वरले दुष्टहरूमाथि नाश ल्याउनुहुँदा ती व्यक्तिहरू मात्र पृथ्वीमा बाँकी रहनेछन्।”—हितोपदेश २:२०-२२.
यतिखेर हजुरबुबाले भन्नुभयो: “र बाँच्ने योग्यको धर्मी अहिले हामी कसरी हुन सक्छौं र?”
मरियमले उत्तर दिइन्, “मानिसलाई मदत गर्न यहोवा परमेश्वरले एउटा अद्भुत कानुनी व्यवस्था बनाउनुभएको छ। म यसलाई एउटा उदाहरणद्वारा बताउन चाहन्छु। मानिलिनुहोस्, निर्मला, तपाईंले रामुलाई पैसा दिएर बजारमा एक किलो चिनी किन्न पठाउनुभयो रे। पसल जाँदा ऊ बाटोमा खेल्न थाल्छ र पैसा हराउँछ। अब ऊ पसलमा पुग्दा के उसलाई पसलेले चिनी दिन्छ होला?”
“अहँ कदापि दिंदैन,” निर्मलाले भनिन्।
“रामु रुन थाल्छ। उसले पैसा हराएको कारण सारा परिवारलाई असुविधा हुनेछ भनी उसलाई थाह छ। त्यहाँ उभिरहेका एक जना दयालु भद्र मानिसलाई उसमाथि दया आउँछ र तिनले उसलाई त्यति नै पैसा दिन्छन्। त्यो पैसा पसलेलाई चिनीको निम्ति दिइन्छ र त्यो चिनी अब तपाईंको परिवारले उपभोग गर्न पाउने भयो।
“परमेश्वरले सृष्टि गर्नुभएको प्रथम मानव दम्पतीले आफ्नो स्वतन्त्र इच्छाको दुरुपयोग गर्दै परमेश्वरको बुद्धिमत्तापूर्ण निर्देशन उल्लङ्घन गर्न रोजेदेखि नै हाम्रो समस्या सुरु भएको हो भनी बाइबल भन्छ। अनाज्ञाकारिताको सजायबारे परमेश्वरले तिनीहरूलाई अग्रिम चेतावनी दिनुभएको थियो—तिनीहरूको सिद्धता, प्रमोदवनीय घर र पृथ्वीमा अनन्तसम्म बस्न पाउने तिनीहरूको अधिकार सबै हराउने थियो। परमेश्वरले उहाँका कानुनहरू न्यायसंगत कार्यान्वयन गर्नुभयो। यो ठूलो नोक्सानीको कारण तिनीहरूका सन्तान रुँदै बस्नुपरेको जस्तै भयो। तर परमेश्वर आफ्नो न्याय र प्रेम सन्तुलित ढङ्गमा प्रयोग गर्नुहुन्छ। यसकारण प्रथम दम्पतीले गुमाएको कुरा मानवजातिलाई फेरि प्राप्त गर्न सक्ने मौकाको प्रबन्ध गर्नुभयो। उदाहरणका ती दयालु र भद्र मानिसले जस्तै गुमाएको ठीक बराबरको मोल परमेश्वरले उपलब्ध गराउनुभयो। यसका लागि उहाँले येशू ख्रीष्ट कहलिनुहुने आफ्नो आत्मिक पुत्रलाई स्वर्गबाट पृथ्वीमा एउटा मानवको रूपमा जन्म लिन पठाउनुभयो। प्रथम मानव आदमले गुमाएको बराबरकै आफ्नो सिद्ध जीवन येशूले स्वेच्छापूर्वक बलिदान चढाउनुभएर त्यसको मोल परमेश्वरको सामुन्ने प्रस्तुत गर्नुभयो। यसपछि मानवजातिले गुमाएको कुरा अर्थात् पार्थिव प्रमोदवनमा सिद्ध अनन्त जीवन फिर्ता किन्नका लागि त्यो मोलको प्रयोग गर्न सकिने भयो।”
छलफलको यस घडीमा एकै छिनअघि मात्र आनन्दसित भित्र पस्नुभएका मास्टरजीले छलफलमा भाग लिंदै भन्नुभयो, “त्यसकारण मरियमले भनिरहेको कुराबाट तपाईं देख्न सक्नुहुन्छ कि येशू परमेश्वरको अवतार होइन तर परमेश्वरका आत्मिक पुत्र हुनुहुन्छ जसले मानिस भएर जन्म लिनुभयो र आफ्नो सिद्ध जीवन मानिसहरूका लागि चढाउनुभयो। यस प्रकार प्रथम दम्पतीले आफ्नो अनाज्ञाकारिताको कारण गुमाएका कुराहरू पुनः प्राप्त गर्ने बाटो उहाँले खोलिदिनुभयो। परमेश्वरले गर्नुभएको यस प्रबन्धलाई हामी स्वीकार्छौं भने यो दुष्ट संसारको अन्तमा बाँचेर एउटा शान्तिमय र समस्यारहित पृथ्वीमा अनन्त जीवनको आनन्द उठाउने सही बाटोमा हामी छौं भन्न सकिनेछ। यो आशा यति अद्भुत छ कि यस विषयमा सिक्ने मदत सबै जातिका मानिसहरूलाई दिन संसारभरिका यहोवाका साक्षीहरू दिन-रात जोड-तोडका साथ मेहनत गरिरहेका छन्। हो, यो आशा भरपर्दो हो भनी स्वयम्लाई प्रमाणित पार्न आफैले प्रयत्न गर्नुपर्छ। तर यो प्रयत्न र यसबाट पाउन सकिने हाम्रो सामुन्ने राखिएको इनामको तुलना गरेर हेऱ्यौं भने यो प्रयत्न केही जस्तो पनि हुनेछैन।”
एउटा उज्ज्वल भविष्य
आनन्दले निर्मला र नयाँ बच्चालाई अस्पतालबाट घरमा ल्याउँदा स्वच्छ निर्मल आकाशमा टन्न घाम लागेको थियो। वर्षा प्राय सिद्धिएको जस्तै देखिन्थ्यो। परिवारमा निकै चहलपहल थियो र छिमेकीहरू बच्चालाई हेर्न आउँदै थिए। आनन्द सुटुक्क बाहिर चौरमा निस्केर एउटा भँगेराले गुँड बनाउन परालका टुक्राहरू जम्मा गरिरहेको हेर्न थाले। तिनले सोचे, ‘यो चरी पनि म जस्तै आफ्नो परिवारको लागि एउटा सुरक्षित भविष्य चाहन्छे।’
मास्टरजीले भनेका सबै कुराहरू सत्य हुन् भने? तब उनको घरको यो नयाँ बच्चाले एउटा आनन्दमय भविष्य पाउनेछ। मास्टरजीले केही दिनअघि कुराकानीको अन्तमा भनेका कुराहरू आनन्दलाई सम्झना भयो। उहाँले भन्नुभएको थियो, “मानिलिनुहोस्, रामुको पढाइ समाप्त भएपछि तपाईंले अखबारमा नोकरीका लागि एउटा विज्ञापन देख्नुहुन्छ। रामुकै योग्यता भएको व्यक्तिलाई नै त्यो नोकरी दिइनेछ। तलब एकदमै राम्रो छ, ठाउँ पनि उसलाई बस्न मन लाग्ने प्रकारको छ, निवास उपलब्ध छ र काम पनि उसलाई मन पर्ने किसिमको छ। तपाईं के गर्नुहुनेछ? विज्ञापनको वास्ता गर्दै नगर्ने हो कि त्यो नोकरी प्राप्त गर्न आफूले सक्दोभर प्रयास गर्नुहुन्छ? ‘जवाफ स्पष्ट छ,’ आनन्दले सोचे।
अतः बाइबलमा परमेश्वरले आज बाँचिरहेका मानिसहरूका लागि प्रतिज्ञा गर्नुभएका कुराहरूबारे के त? एउटा प्रमोदवन, राम्रो घर, प्रशस्त भोजन, आनन्ददायक काम, सिद्ध स्वास्थ्य अनि पूर्ण सुरक्षा। मानिलिनुहोस्, यी सबै सत्य हुन्। आनन्दले निकै बेरसम्म विचार गरे।
सूर्य बिस्तारै तेजस्वी रङमा डुब्न थालेपछि उनले मनमा अठोट गरे। ‘हो।’ उनले आफैले आफैलाई भने। ‘यो परिवर्तन वास्तवमा आउने हो वा होइन भन्ने कुराको विस्तारपूर्वक प्रमाण जाँच गरेर हेर्नु मेरो परिवारको निम्ति र मेरो आफ्नै निम्ति निभाउनुपर्ने मेरो कर्त्तव्य हो। अनि मेरो चित्त बुझ्यो भने दुष्टताको नाश हुँदा हामी बाँच्ने योग्यको साबित हुनका लागि आफ्नो शक्तिले भ्याएसम्म सबै कुरा गर्नुपर्छ र यसरी हाम्रा सबै समस्याहरूको समाधान भइसकेपछि एउटा सुखमय भविष्यबाट लाभ उठाउन सक्नेछौं।’
[फुटनोट]
a यसबारे थप जानकारीको लागि नोभेम्बर १, १९९५ को प्रहरीधरहरा हेर्नुहोस्।
पुनर्विचारका लागि प्रश्नहरू
हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?
रामु मास्टरजीलाई भेट्न किन गए?
के कारणले गर्दा मास्टरजीले आनन्दलाई घरभित्र बोलाए?
हामी सबैले सामना गर्नुपरेका समस्याहरू
आनन्द किन मानसिक वेदनाले भरिएका थिए?
उनका केही समस्याहरू के थिए?
आनन्दको दुःखले भरिएको कथाप्रति मास्टरजीको प्रतिक्रिया कस्तो थियो?
मास्टरजीको परिवार किन सुखी थियो?
मास्टरजीको परिवारले मानेको धर्म र गिर्जाहरूमा मान्ने धर्म एउटै थियो र? किन थिएन?
पृथ्वीमा आनन्दसाथ बस्ने इच्छा
मरियमले निर्मलालाई परमेश्वरको बारेमा के विवरण दिइन्?
“सत्य” के हो?
मानिस कहाँ बाँच्ने स्वाभाविक इच्छा राख्छ?
सबै समस्याहरू समाधान गर्ने प्रतिज्ञा गर्नुहुनेवाला
मानिसको इच्छा यसै पृथ्वीमा बस्ने हो भनी प्रमाण दिन मास्टरजीले दिनुभएको उदाहरणको बयान गर्नुहोस्।
कसले मानिसको समस्या समाधान गर्नेछ भनी मास्टरजी भन्नुहुन्छ र कति समय सम्मका लागि?
आनन्द यस कुरासित किन सहमत छैनन्?
हिंसाद्वारा मानिसको समस्याको समाधान गर्न सकिंदैन भनी मास्टरजी कसरी देखाउनुहुन्छ?
समस्याहरूको समाधान कहिले हुनेछ?
मास्टरजीले दिनुभएको आँपको बोटको उखानको अर्थ के थियो?
पवित्र बाइबलबारे केही तथ्यहरू भन्नुहोस्।
“चिन्ह”
तल दिइएका पदहरूमा उल्लिखित “चिन्हका” केही अंशहरू के-के हुन्? (क) २ तिमोथी ३:१-३; (ख) मत्ती २४:७; (ग) प्रकाश ६:४-८.
मत्ती २४:३२-३४ ले अन्त आउने अवधिलाई कसरी तोकेर भन्छ?
परमेश्वरले चाँडै नै दुष्टमाथि गर्नुहुने कारवाहीबारे चेतावनी पाउँदा धेरैले कस्तो प्रतिक्रिया देखाउँछन्?
यहोवाका साक्षीहरू कसरी भिन्न छन्?
एउटा नयाँ संसार—कसरी भिन्न?
नयाँ संसारबारे रेचेललाई रोचक लागेका केही कुराहरू के-के थिए?
बाइबलबाट देखाउनुहोस् कि परमेश्वरले हाम्रा खास समस्याहरू बुझ्नुहुन्छ र हटाउने प्रतिज्ञा पनि गर्नुहुन्छ।
बुद्धिमान् सल्लाहबाट अहिले हुने लाभहरू
बाइबलले कामको विषयमा के भन्छ?
बाइबलका नियम र सिद्धान्तहरू कसरी लाभदायक छन्?
बाइबलका शिक्षाहरू किन सरल र बुझ्न सकिने छन्?
निर्देशनको पुस्तक
बाइबल परमेश्वरको निर्देशन दिने पुस्तक हो भनी मरियम किन निश्चित छिन्?
यसबाट आज हामी विशेष लाभ कसरी उठाउन सक्नेछौं?
बाँच्नका लागि हामीले के गर्नुपर्छ?
के नैतिक स्वच्छता मात्र बाँच्नका निम्ति यथेष्ट छ?
मरियमले यस कुरालाई कसरी उदाहरणद्वारा बुझाइन्?
हामी कोही पनि आफ्नो छुटकाराको निम्ति पर्याप्त असल काम गर्न असमर्थ भएको हुनाले परमेश्वरले हाम्रो बचावका लागि कस्तो कानुनी प्रबन्ध मिलाउनुभएको छ?
एउटा उज्ज्वल भविष्य
नयाँ बच्चालाई घरमा ल्याइसकेपछि आनन्दले के कुराबारे मनन गरे?
[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]
“मैले दिनहुँ सामना गर्नुपरेका समस्याहरू तपाईंहरूलाई छैन जस्तो देखिन्छ। तपाईंहरू कति शान्त र सन्तुष्ट हुनुहुन्छ। मलाई तपाईंहरूसित डाहै लागेर आउँछ!”
[पृष्ठ ७-मा भएको ठूलो अक्षरको क्याप्सन]
बरु मानिसले त राम्रो घर, राम्रो स्वास्थ्य, एउटा राम्रो परिवार र माया गर्ने साथीहरू होस् भन्ने इच्छा गर्छ
[पृष्ठ १३-मा भएको ठूलो अक्षरको क्याप्सन]
यो चिन्हमा मानिसको व्यक्तित्व खराब हुनुबाहेक अरू धेरै कुराहरू समावेश छन्
[पृष्ठ २०-मा भएको ठूलो अक्षरको क्याप्सन]
यहाँका खराब बासिन्दाहरूलाई हटाएर टोलका सबै सुविधाहरूको मर्मत गराइयो भने के हामी यहाँ आनन्दपूर्वक बस्न सक्दैनौं होला र? परमेश्वरले सारा पृथ्वीभरि ठीक यही गर्ने प्रतिज्ञा गर्नुभएको छ
[पृष्ठ २३-मा भएको ठूलो अक्षरको क्याप्सन]
“पक्कै पनि परमेश्वरको बुद्धि ‘हाम्रोभन्दा उच्च छ’ ”
पृष्ठ २७-मा भएको ठूलो अक्षरको क्याप्सन]
“तर बाँच्न योग्यको धर्मी अहिले हामी कसरी हुन सक्छौं र?”
[पृष्ठ ८-मा भएको चित्र]
लामो समयदेखि पृथ्वीमा मानिसहरूले दुःख भोगिरहेका छन्
[पृष्ठ ९-मा भएको चित्र]
यिनीहरूलाई एउटा आनन्दमय भविष्यको मौका दिन के एउटा क्रान्ति आवश्यक छ?
[पृष्ठ १४, १५-मा भएको चित्र]
जब तिमी रूखमा पातहरू पलाएको देख्छौ, तब ग्रीष्मऋतु आएछ भनी थाहा पाउँछौ। त्यसरी नै जब सम्पूर्ण चिन्ह पूरा हुन्छ, तब अन्त नजिकै छ
[पृष्ठ १६, १७-मा भएको चित्र]
परमेश्वरले दिनुभएको चेतावनीलाई गम्भीरतापूर्वक ध्यान दिन बाइबलले नम्र र सोझा मानिसहरूलाई होसियारी दिलाउँछ
[पृष्ठ २५-मा भएको चित्र]
बाइबलका सल्लाहरू आज पनि व्यावहारिक छन् किनभने परमेश्वरको वचन अनन्तकालीन छ
[पृष्ठ २९-मा भएको चित्र]
“विस्तारपूर्वक प्रमाण जाँचेर हेर्न मेरो परिवारको निम्ति र मेरो आफ्नै निम्ति पनि निभाउनुपर्ने मेरो एउटा कर्त्तव्य हो”