जागा रहने समय
“पहिला सबै जातिहरूलाई सुसमाचार प्रचार गरेको हुनुपर्छ। . . . तर जो अन्तसम्म स्थिर रहला त्यसैको उद्धार हुनेछ।”—मर्कूस १३:१०, १३.
१. हामीले किन धैर्य धारण गर्नु र साहसी हुनुपर्छ?
यो अविश्वासी र टेढो पुस्ताबीच हामीले धैर्य धारण गर्नैपर्छ। सन् १९१४ देखि यताको पुस्ता येशूको दिनमाझैं भ्रष्ट भएको छ। भ्रष्टाचार सर्वव्याप्त छ। प्रेरित पावलले वर्णन गरेका यी “आखिरी दिनमा” “डरलाग्दो समय[ले]” सम्पूर्ण मानवजातिलाई प्रहार गरिरहेको छ। ‘खराब मानिसहरू र ठगाहहरू ठगेर र ठगिएर झन् झन् खराब हुँदैछन्।’ यसले स्पष्ट देखाउँछ, “सारा संसार त्यस दुष्ट” शैतान अर्थात् दियाबलको “अधीनमा परेको छ।” र अहिले यो पृथ्वीलाई बिगार्न त्यसले अन्तिम पटक भरमग्दुर प्रयास गर्दैछ। तर हतोत्साहित नहुनुहोस्! किनभने निकट भविष्यमा “महा संकष्ट” आउँदैछ। त्यसले सम्पूर्ण धार्मिकताका प्रेमीहरूलाई ती कुराहरूबाट सदाका लागि छुटकारा प्रदान गर्नेछ।—२ तिमोथी ३:१-५, १३; १ यूहन्ना ५:१९; प्रकाश ७:१४.
२. सन् १९१४ मा भविष्यवाणी कसरी पूरा भयो?
२ खुशीको कुरा, यहोवाले प्रभु येशू ख्रीष्टलाई स्वर्गमा राज्य दिइसक्नुभएको छ। उहाँ अहिले मानवजातिका दमनकारी शत्रुहरूलाई निर्मूल पार्ने तयारीमा हुनुहुन्छ। (प्रकाश ११:१५) मसीहको पहिलो आगमनमा जस्तै अहिले हाम्रो शताब्दीमा दानियलको उल्लेखनीय भविष्यवाणी पूरा भएको छ। हामी दानियल ४:१६, १७, ३२ मा “सात काल[सम्म]” पृथ्वीको वास्तविक हकदारले शासन गर्न नपाउने प्रतिबन्धबारे उल्लेख गरेको पाउँछौं। बाइबलमा एक वर्ष बराबर ३६० ‘दिन’ हुनेहुँदा यो भविष्यवाणीको प्रमुख पूर्तिअनुसार त्यो सात काल, सात बाइबल वर्ष अर्थात् कुल २,५२० वर्ष लामो हुन्छ।a यो सात काल, बाबेलले इस्राएल राज्यलाई कुल्चीमिल्ची गरेको समयदेखि येशू स्वर्गमा मानवजातिको वैधानिक राजा हुनुभएको समयसम्म अर्थात् सा.यु.पु. ६०७ देखि सुरु भएर सा. यु. १९१४ मा अन्त भयो। त्यही समयमा “अन्यजातिको समय” पनि अन्त भयो। (लूका २१:२४) तर राष्ट्रहरूले अहिलेसम्म निकट भविष्यमा आउने मसीही राज्यलाई स्वीकारेका छैनन्।—भजन २:१-६, १०-१२; ११०:१, २.
३, ४. (क) प्रथम शताब्दी र हाम्रो समयमा भएका घटनाहरूबीच कस्तो तुलना गर्न सकिन्छ? (ख) कस्ता सान्दर्भिक प्रश्नहरू उठ्नसक्छन्?
३ वर्षमा हिसाब गरिने ७० औं हप्ता (सा.यु. २९-३६) सुरु हुँदा र त्यस्तैगरि सन् १९१४ नजीक आउँदा ईश्वरभीरु मानिसहरूले मसीहको प्रतीक्षा गरिरहेका थिए। र उहाँ साँच्चै आउनु पनि भयो! यद्यपि, यी दुवै पटक मानिसहरूले आशा गरेजस्तो ढंगमा उहाँ प्रकट हुनुभएन। अनि यी दुवै पटक मसीह देखा पर्नुहुँदा तुलनात्मक रूपमा छोटो समय बितेपछि दुष्ट “पुस्ता[ले]” अन्ततः ईश्वरीय दण्ड पाउँछन्।—मत्ती २४:३४.
४ येशूको प्राण माग्ने दुष्ट यहूदी पुस्ता कसरी नाश भयो, त्यो हामीले अघिल्लो लेखमा पढ्यौं, जान्यौं। त्यसोभए अहिले येशूको विरोध वा बेवास्ता गर्ने विनाशकारी पुस्ताको के हविगत हुनेछ त? यो अविश्वासी पुस्ताको न्याय कहिले हुनेछ?
“जागा रहो!”
५. (क) यहोवाको “दिन र घड़ी” हामीले जान्न आवश्यक नहुनुको ठोस कारण के हो? (ख) मर्कूसअनुसार येशूले कुन हितकर सल्लाह दिनुभएर आफ्नो भविष्यवाणी टुंग्याउनुभयो?
५ “महा संकष्ट” सुरु हुनुअघि हुने घटनाहरूबारे भविष्यवाणी गर्नुभएपछि येशूले अझ यसो भन्नुभयो: “त्यस दिन र घड़ीको विषयमा कसैले जान्दैन, नता स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र।” (मत्ती २४:३-३६; मर्कूस १३:३-३२) महासंकष्ट ठीक कुनबेला सुरु हुन्छ, त्यो हामीले जान्नु जरुरी छैन। दिन गन्नुको साटो हामी होशियार हुनुपर्छ, विश्वासलाई बलियो बनाउनुपर्छ र यहोवाको सेवामा व्यस्त हुनुपर्छ। येशूले आफ्नो महान् भविष्यवाणी यसरी टुंग्याउनुभयो: “होशियार रहो, जाग बस् . . . किनकि त्यो बेला कहिले हुने हो सो तिमीहरू जान्दैनौ। औ जे म तिमीहरूलाई भन्दछु, त्यो म सबैलाई भन्दछु, ‘जागा रहो।’” (मर्कूस १३:३३-३७) कालो बादल छाएको यो संसारमा चारैतिर खतरा मडारिरहेको छ। अतः हामी जागा बस्नैपर्छ!—रोमी १३:११-१३.
६. (क) हाम्रो विश्वास कुन कुरामा लंगरझैं अड्केको हुनुपर्छ? (ख) हामी कसरी हाम्रो ‘दिन गन्न’ सक्छौं? (ग) येशूले भन्नुभएको “पुस्ता” शब्दको मुख्य अर्थ के हो?
६ यो दुष्ट रीतिरिवाजका यी आखिरी दिनमा हामीले प्रेरित भविष्यवाणीहरूमा ध्यान दिएर मात्र पुग्दैन। मुख्यतः येशू ख्रीष्टको अमूल्य बलिदान र त्यही बलिदानको आधारमा परमेश्वरले गर्नुभएका अद्भुत प्रतिज्ञाहरूमा हाम्रो विश्वास लंगरझैं अड्केको हुनुपर्छ। (हिब्रू ६:१७-१९; ९:१४; १ पत्रुस १:१८, १९; २ पत्रुस १:१६-१९) यहोवाका साक्षीहरू यो दुष्ट रीतिरिवाज चाँडै नष्ट भएको हेर्न उत्सुक छन्। त्यसैले बेला-बेलामा तिनीहरूले “महा संकष्ट” सुरु हुने समयबारे अनुमान लगाएका छन्। तिनीहरूले सन् १९१४ देखि सुरु हुने पुस्ताको जीवनकाल कति लामो हुन्छ भनेर गणनासमेत गरेका छन्। तथापि, एक पुस्तामा कति वर्ष वा दिन हुन्छ भनेर अनुमान लगाउनुको साटो यहोवाको आनन्ददायी प्रशंसा गर्न कसरी हाम्रो ‘दिन गन्ने’ भनेर सोच्यौं भने हामीले “बुझ्ने हृदय” प्राप्त गर्नेछौं। (भजन ९०:१२) येशूले उल्लेख गर्नुभएको “पुस्ता” शब्दले समय नाप्ने नियम दिंदैन। बरु त्यसले मुख्यतः विशिष्ट लक्षणहरू भएको कुनै निश्चित ऐतिहासिक अवधिका समकालीन मानिसहरूलाई संकेत गर्छ।b
७. इतिहासका प्रोफेसरले “सन् १९१४ को पुस्ता[बारे]” के लेख्छन् र त्यो कसरी येशूको भविष्यवाणीसित मेल खान्छ?
७ उपरोक्त कुरालाई समर्थन गर्दै इतिहासका प्रोफेसर रबर्ट भल आफ्नो पुस्तक द जेनरेसन अफ १९१४-मा यो विवरण दिन्छन्: “ऐतिहासिक पुस्तालाई मितिले निर्धारण गर्दैन . . . त्यो मितिको परिधिभित्र हुँदैन।” बरु तिनले के औंल्याए भने, प्रथम विश्वयुद्धले गर्दा “विगत र वर्तमानबीच साह्रै ठूलो भिन्नता देखा पऱ्यो। फलतः त्यो युद्धबाट बच्ने मानिसहरूले अगस्त १९१४ मा एउटा संसार बितेर अर्को नयाँ संसार सुरु भयो भनेर कहिल्यै बिर्सन सकेनन्।” कति सत्य! वास्तवमा त्यसले उपरोक्त ऐतिहासिक घटनाको गुदीलाई छोएको छ। सन् १९१४ देखि सुरु भएको “यो पुस्ता[ले]” डरलाग्दा परिवर्तनहरू देखेको छ। त्यसले करोडौं मानिसहरूको रगतले यो पृथ्वी भिजेको देखेको छ। युद्ध, जातिसंहार, आतंकवाद, अपराध र अधर्मले पूरै संसारलाई हल्लाएको त्यसले देखेको छ। अनि अनिकाल, रोग र अनैतिकताले हाम्रो पृथ्वीलाई झम्टेको त्यसले देखेको छ। यस्तै परिस्थितिलाई लिएर येशूले यस्तो भविष्यवाणी गर्नुभयो: “तिमीहरू [आफ्ना चेलाहरू] पनि जब यी कुरा भइरहेका देख्छौ, तब परमेश्वरको राज्य नजीकै छ भनी जान। म तिमीहरूलाई साँच्चै भन्दछु, जबसम्म यी सब पूरा भइसक्तैनन्, तबसम्म यो पुस्ता बितिजानेछैन।”—लूका २१:३१, ३२.
८. यहोवाका अगमवक्ताहरूले जागा रहनुपर्ने आवश्यकतामाथि कसरी जोड दिन्छन्?
८ हो, मसीही राज्यको पूर्ण विजय अब नजीकै छ! त्यसोभए, दिनको गणना गरेर वा एउटा “पुस्ता[को]” जीवनकाल कति लामो हुन्छ भन्ने अनुमान लगाएर केही फाइदा होला त? निस्सन्देह, हुँदैन! हबकूक २:३ ले यो स्पष्ट जवाफ दिन्छ: “त्यो दर्शन ठहराएको समयमा पूरा हुनेछ, त्यो पूरा हुने बेला चाँड़ै आउँदैछ, त्यसले धोका दिंदैन। त्यो पूरा हुनु ढीलो भए तापनि त्यसको बाटो हेर्दै बस्, किनभने त्यो निश्चय पूरा हुनेछ, त्यसले ढीलो गर्दैन।” यहोवाले न्याय गर्नुहुने दिन चाँडै आउँदैछ।—यर्मिया २५:३१-३३; मलाकी ४:१.
९. सन् १९१४ देखि भएका कुन घटनाहरूले समय अल्प छ भनेर देखाउँछ?
९ सन् १९१४ मा ख्रीष्टको राज्य सुरु हुँदा शैतानलाई पृथ्वीमा फ्याँकिएको थियो। यसको अर्थ अब “पृथ्वी[लाई] . . . धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग . . . तल गएको छ।” (प्रकाश १२:१२) निस्सन्देह, शैतानले शासन गर्दै आएको हजारौं वर्षको तुलनामा त्यो समय अल्प छ। अतः परमेश्वरको राज्य नजीकै छ र साथै यहोवाको दिन अनि यो दुष्ट पुस्तालाई न्यायदण्ड दिने घडी पनि नजीकै छ!—हितोपदेश ३:२५; १०:२४, २५.
बितेर जाने “पुस्ता”
१०. कसरी “यो पुस्ता” नूहको समयको पुस्ताजस्तै छ?
१० आउनुहोस्, येशूले मत्ती २४:३४, ३५ मा भन्नुभएका निम्न शब्दहरूलाई राम्ररी केलाएर हेरौं: “म तिमीहरूलाई साँच्चै भन्दछु, कि यो पुस्ता बिती नजाँदै यी सब कुराहरू पूरा भइजानेछ। स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरो वचन चाहिं बितेर जानेछैन।” त्यसपछि येशू “त्यस दिन वा घड़ीको विषयमा कसैले जान्दैन” भनेर बताउनुहुन्छ। अझ योभन्दा महत्त्वपूर्ण कुरा त के हो भने, यो पुस्तालाई चारैतिरबाट घेरिराखेका पासोहरूबाट हामी अलग बस्नुपर्छ भनेर उहाँ सम्झाउनुहुन्छ। येशू अगाडि यसो भन्नुहुन्छ: “तर जस्तो नूहको दिनमा भएथ्यो, उस्तैगरी मानिसको पुत्रको आगमन हुनेछ। किनकि जसरी जलप्रलयका अघाड़िका दिनमा नूह जहाजमा नपसेका दिनसम्म, मानिसहरू खाइरहेका, र पिइरहेका र विवाह-बारी गरिरहेका थिए, औ जलप्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल तिनीहरूले थाहै पाएनथे, उसैगरी मानिसको पुत्रको आगमन पनि हुनेछ।” (मत्ती २४:३६-३९) येशूले यहाँ आफ्नो समयको पुस्तालाई नूहको समयको पुस्तासित तुलना गर्नुभयो।—उत्पत्ति ६:५, ९.
११. मत्ती र लूकाको विवरणअनुसार येशूले ‘पुस्ताहरू[बीच]’ कस्तो तुलना गर्नुभयो?
११ प्रेरितहरूले योभन्दा अघि पनि येशूले यसरी ‘पुस्ताहरूबीच’ तुलना गर्नुभएको सुनिसकेका थिए। किनभने केही दिनअघि मात्र येशूले आफ्नो विषयमा यसो भन्नुभएको थियो: “मानिसको पुत्र[ले] . . . धेरै कुरा सहनु र यस पुस्ताबाट इन्कार हुनु आवश्यक छ। औ जस्तै नूहका दिनमा भएको थियो, त्यस्तै मानिसको पुत्रका दिनमा पनि हुनेछ।” (लूका १७:२४-२६) यसप्रकार, मत्ती २४ र लूका १७ अध्यायले एकै किसिमको तुलना गर्छ। नूहको दिनमा “सबै प्राणीले पृथ्वीमा आफ्नो चाल-चलन भ्रष्ट पारिसकेका थिए।” त्यतिबेला जलप्रलयमा जो-जो नाश भए तिनीहरू नै “यस पुस्ता” थिए। येशूको समयमा चाहिं उहाँलाई इन्कार गर्ने धर्मत्यागी यहूदीहरू “यस पुस्ता” थिए।—उत्पत्ति ६:११, १२; ७:१.
१२, १३. (क) अहिले हाम्रो समयमा बितेर जानैपर्ने “यो पुस्ता” के हो? (ख) यहोवाका जनहरूले यो “टेढ़ा र बरालिएको पुस्ता[सित]” कसरी सामना गर्दैछन्?
१२ तसर्थ, आज येशूको भविष्यवाणीको अन्तिम पूर्ति हुँदा “यो पुस्ता” शब्दले सम्भवतः पृथ्वीका ती मानिसहरूलाई संकेत गर्छ, जसले ख्रीष्टको उपस्थितिको चिन्ह देखेर पनि आफूलाई सुधार्दैनन्। यसको विपरित हामी चाहिं येशूका चेलाहरू भएकोले “यो पुस्ता[को]” जीवनशैलीअनुसार चल्न इन्कार गर्छौं। हामी संसारमै भए तपानि त्यसको भाग कदापि हुनुहुँदैन। “किनभने समय नजीकै छ।” (प्रकाश १:३; यूहन्ना १७:१६) यसैकारण, प्रेरित पावल हामीलाई यस्तो सल्लाह दिन्छन्: “गनगनाइ र वाद-विवाद नगरीकन सबै काम गर्दैजाओ, कि तिमीहरूचाहिं निष्खोट र सुधा भएर टेढ़ा र बरालिएको पुस्ताका बीचमा परमेश्वरका निर्दोषी सन्तान होओ, जसको बीचमा तिमीहरू संसारमा ज्योतिहरूझैं देखा पर्दछौ।”—फिलिप्पी २:१४, १५; कलस्सी ३:५-१०; १ यूहन्ना २:१५-१७.
१३ “ज्योतिहरूझैं देखा” पर्न निष्खोट मसीही व्यक्तित्व देखाएर मात्र पुग्दैन। बरु त्योभन्दा महत्त्वपूर्ण कुरा हामीले येशूको यो भविष्यसूचक काम पूरा गर्नुपर्छ: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४) अन्त कहिले आउँछ, त्यो कुनै मानिसले बताउन सक्दैन। तर परमेश्वर सन्तुष्ट हुनेगरि “पृथ्वीको अन्तसम्म” साक्षी दिइसकेपछि दुष्ट मानिसहरूको “यो पुस्ता[को]” अन्त आउनेछ भनेर चाहिं बताउनसक्छौं।—प्रेरित १:८.
“त्यस दिन र घड़ी”
१४. येशू र पावलले “बेला र समय[बारे]” के सल्लाह दिए र हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्ने हो?
१४ यहोवाको उद्देश्यअनुरूप विश्वव्यापी साक्षी दिने काम पूरा भएपछि यो संसारको रीतिरिवाजलाई नाश गर्ने “दिन र घड़ी” आउनेछ। तर हामीले अहिल्यै त्यो दिन वा घडी जान्नु जरुरी छैन। येशूको अनुकरण गर्दै प्रेरित पावलले यस्तो सल्लाह दिए: “हे भाइ हो, बेला र समयहरूका विषयमा कसैले तिमीहरूलाई लेख्नुपर्ने दरकार छैन। किनकि तिमीहरू आफै ठीक ठीक जान्दछौ, प्रभुको दिन ता रातमा चोर आएझैं आउनेछ। जब मानिसहरूले शान्ति र सुरक्षित भनिरहेका हुन्छन्, तब सुत्केरी हुने स्त्रीलाई बेथा लागेझैं अचानकसँग तिनीहरूमाथि विनाश आइलाग्छ, र तिनीहरू कुनै रीतिले उम्कनेछैनन्।” पावलले जोड दिएको शब्दलाई फेरि विचार गर्नुहोस्: ‘जब मानिसहरूले भनिरहेका हुन्छन्।’ हो, मानिसहरूले ‘शान्ति र सुरक्षाको’ कुरा गरिरहेको बेला, अझ भनौं भने मानिसहरूले आशै नगरेको बेला परमेश्वरको न्याय एक्कासी आउनेछ। अतः हामीले पावलको यो सुझाव सुन्नु निकै उपयुक्त छ: “यसैकारण अरूहरूझैं हामी नसुतौं, तर जागा रहौं र होशियार रहौं।”—१ थिस्सलोनिकी ५:१-३, ६; ७-११ पदहरू पनि हेर्नुहोस्; प्रेरित १:७.
१५, १६. (क) आरमागेडोन हामीले सोचेभन्दा टाढा छ भनेर किन ठान्नुहुँदैन? (ख) निकट भविष्यमा यहोवाको सार्वभौमिकता कसरी उच्च पारिनैपर्छ?
१५ उसोभए, “यो पुस्ता” भन्ने शब्दको यो अझ सही दृष्टिकोणले के आरमागेडोन हामीले सोचेभन्दा अझ टाढै छ भनेर देखाउँछ? अहँ, पटक्कै देखाउँदैन। हामीलाई त्यो “दिन वा घड़ी” कहिल्यै थाह नभए तापनि यहोवालाई पहिलेदेखि थाह छ र त्यसलाई उहाँले परिवर्तन गर्नुहुन्न। (मलाकी ३:६) हामीले यो संसार विनाशकारी अन्ततर्फ झन् झन् लम्कंदै गरेको स्पष्ट देख्दैछौं। हामी पहिलेभन्दा जागा रहनु नितान्त आवश्यक भएको छ। यहोवाले “चाँड़ै अवश्य हुनआउने कुरा” प्रकट गर्नुभएकोले हामी चाहिं कुनै ढिलासुस्ती नगरी त्यसअनुरूप चलिहाल्नु पर्ने हो।—प्रकाश १:१; ११:१८; १६:१४, १६.
१६ समय बित्दै जाँदा झन् झन् जागा हुनुहोस्। किनभने यहोवाले शैतानको सम्पूर्ण रीतिरिवाजमाथि विपत्ति ल्याउनै लाग्नुभएको छ! (यर्मिया २५:२९-३१) यहोवा यसो भन्नुहुन्छ: “मेरो महानता र पवित्रताको प्रमाण दिएर धेरै जातिहरूकहाँ आफैलाई प्रकट गर्नेछु। तब मानिसहरूले मनै परमप्रभु हुँ भनी जान्नेछन्।” (इजकिएल ३८:२३) ‘परमप्रभुको त्यो निर्णायक दिन’ अब नजीकै छ!—योएल १:१५; २:१, २; आमोस ५:१८-२०; सपन्याह २:२, ३.
धार्मिक “नयाँ आकाश र नयाँ पृथ्वी”
१७, १८. (क) येशू र पत्रुसअनुसार “यो पुस्ता” कसरी बितेर जान्छ? (ख) ईश्वरीय भक्तिका आचरण र कामहरूबारे हामी किन जागा हुनुपर्छ?
१७ ‘पूरा हुनैपर्ने यी सब कुराहरूको’ सन्दर्भमा येशूले यसो भन्नुभयो: “स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरो वचन चाहिं बितेर जानेछैन।” (मत्ती २४:३४, ३५) यो कुरा भन्नुहुँदा सम्भवतः उहाँले “यो पुस्ता[को]” “स्वर्ग र पृथ्वी” अर्थात् शासक र प्रजालाई मनमा राख्नुभएको हुनसक्छ। “भक्तिहीन मानिसको इन्साफ र विनाशको दिनसम्म छुट्टयाई आगोको निम्ति साँचेर राखिएका” “आकाशहरू र पृथ्वी[बारे]” उल्लेख गर्दा प्रेरित पत्रुसले त्यस्तै प्रकारको शब्द चलाएका थिए। अनि त्यसपछि कसरी “प्रभुको [यहोवा, न्युव] दिन चोर जस्तैगरी आउनेछ, जसमा आकाशचाहिं [सरकार]” भ्रष्ट मानव समाज अर्थात् “पृथ्वी,” त्यसका पापी कार्यहरूसँगै बितेर जानेछ, त्यो वर्णन गर्छन्। प्रेरित पत्रुस अझै यो आग्रह पनि गर्छन्, “परमेश्वरको त्यस दिनको बाटो हेर्दै, उत्सुकतासाथ इच्छा गरेर, जुन कारणबाट आगलागी भएको आकाश पग्लिहाल्नेछ, र तत्त्वहरू चाहिं उखुम गर्मीले गलिहाल्नेछ।” त्यसपछि? त्यसपछि पत्रुस ‘धार्मिकताले बास गर्ने नयाँ स्वर्ग र नयाँ पृथ्वीतर्फ’ हाम्रो ध्यानाकर्षण गर्छन्।—२ पत्रसु ३:७, १०-१३.c
१८ त्यो “नयाँ स्वर्ग” अर्थात् येशू ख्रीष्ट र उहाँका सँगी राजाहरूको राज्यले धार्मिक मानव समाज अर्थात् “नयाँ पृथ्वी[लाई]” प्रशस्त आशिष् दिनेछ। के तपाईं त्यो समाजको सम्भाव्य सदस्य हुनुहुन्छ? हुनुहुन्छ भने, तपाईं एउटा सुन्दर भविष्यको लागि आनन्दित हुन सक्नुहुन्छ।—यशैया ६५:१७-१९; प्रकाश २१:१-५.
१९. हाल हामीले कुन ठूलो सुअवसर पाइरहेका छौं?
१९ हो, धर्मी मानवजातिको “पुस्ता” अहिले पनि एकत्रित गरिंदैछ। आज अभिषिक्त “विश्वासी र बुद्धिमान दास[ले]” भजन ७८:१, ४ का निम्न शब्दहरूअनुरूप ईश्वरीय शिक्षा दिइरहेका छन्: “ए मेरो प्रजा, मेरो शिक्षातिर कान लगाओ, मेरो मुखको वचनतिर कान थाप। . . . उहाँले गर्नुभएका उहाँका आश्चर्यकामहरू आउँदो पुस्तालाई [सुनाओ]।” (मत्ती २४: ४५-४७) यो वर्ष अप्रिल १४ का दिन २३० मुलुकहरूमा छरिएका ७५,५०० भन्दा बढी मण्डलीहरूमा १,२०,००,००० भन्दा धेरै मानिसहरू ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सव मनाउन भेला भएका थिए। के तपाईं तिनीहरूमध्ये हुनुहुन्थ्यो? हुनुहुन्थ्यो भने, येशू ख्रीष्टमाथि तपाईंको विश्वास रहोस् र तपाईंले ‘उद्धारका लागि यहोवाको नाउँ पुकारोस्।’—रोमी १०:१०-१३.
२०. “समय अल्प” भएकोले हामी कसरी जागा हुनैपर्छ र कुन आशा मनमा राखेर?
२० “समय अल्प भएको छ,” प्रेरित पावलले भने। तसर्थ, अहिले मानवजातिको दुष्ट पुस्ताको घृणा र परीक्षाहरू सहँदै जागा भएर बस्ने अनि यहोवाको काममा व्यस्त हुने समय हो। (१ कोरिन्थी ७:२९; मत्ती १०:२२; २४:१३, १४) “यो पुस्ता[माथि]” आइपर्ने कुराहरूबारे बाइबलले गरेको अगमवाणीलाई ध्यान दिंदै हामी सबै जागा बसौं। (लूका २१:३१-३३) यो पुस्तामाथि आइपर्ने कुराहरूबाट बच्यौं अनि मानिसको पुत्रको ईश्वरीय अनुमोदन पायौं भने अन्ततः हामी सबैले अनन्त जीवनको इनाम पाउनसक्छौं।
[फुटनोटहरू]
a “सात काल[बारे]” विस्तृत जानकारी चाहिएमा वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ न्यु योर्क, इन्क.-द्वारा प्रकाशित “लेट योर किङडम कम” (“तपाईंको राज्य आओस्”) पुस्तकको पृष्ठ १२७-३९, १८६-९ हेर्नुहोस्।
b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ न्यु योर्क इन्क.-द्वारा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स् (शास्त्रमाथि अन्तरदृष्टि) खण्ड १, पृष्ठ ९१८ हेर्नुहोस्।
c वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटी इन्क.-द्वारा प्रकाशित आवर इनकमिंग वर्ल्ड गभर्नमेन्ट—गड्स किङडम (आउँदै गरेको हाम्रो विश्व सरकार—परमेश्वरको राज्य) पुस्तकको पृष्ठ १५२-६ र १८०-१ पनि हेर्नुहोस्।
पुनरावृत्तिका लागि प्रश्नहरू:
◻ हामीले दानियल ४:३२ को पूर्ति देखिसकेको हुँदा अहिले कसरी “जागा रहनु[पर्ने]” हो?
◻ मत्ती तथा लूकारचित सुसमाचारहरूले कसरी “यो पुस्ता[को]” चिनारी दिन्छन्?
◻ “त्यस दिन र घड़ी[लाई]” पर्खंदै हामी कुन कुरालाई ध्यान दिन्छौं र हामीले त्यसप्रति कस्तो प्रतिक्रिया देखाउनुपर्ने हो?
◻ “नयाँ स्वर्ग र नयाँ पृथ्वीको” प्रत्याशाले हामीलाई के गर्न प्रोत्साहित गर्नुपर्ने हो?
[पृष्ठ १७-मा भएका चित्रहरू]
यो हिंस्रक, दुष्ट पुस्ता बितेर गएपछि यो पीडित मानवताले आराम पाउनेछ
[स्रोत]
Alexandra Boulat/Sipa Press
[स्रोत]
बायाँ र तल: Luc Delahaye/Sipa Press
[पृष्ठ १८-मा भएको चित्र]
सबै मानवजातिका लागि महिमित “नयाँ स्वर्ग र नयाँ पृथ्वी” नजीकै छ