प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ३/१५ pp. १८-२३
  • स्वतन्त्रतामा मसीही समर्पणअनुरूप बाँच्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्वतन्त्रतामा मसीही समर्पणअनुरूप बाँच्ने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जहाँ परमेश्‍वरको आत्मा हुन्छ, त्यहाँ तीन थुप्रो नियम हुँदैनन्‌
  • परिचालक निकायप्रति जवाफदेही?
  • विद्यार्थी तथा सिपाहीहरू
  • सञ्चालक-समिति सँग आज सहयोग गर्न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • आज परमेश्‍वरका जनहरूलाई कसले डोऱ्‍याउँदै छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • “विश्‍वासी र बुद्धिमान्‌ दास”-को भूमिका
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • अहिले परिचालक निकायले कसरी काम गर्छ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ३/१५ pp. १८-२३

स्वतन्त्रतामा मसीही समर्पणअनुरूप बाँच्ने

“जहाँ प्रभुका आत्मा हुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।”—२ कोरिन्थी ३:१७.

१. यहोवाका साक्षीहरू कसप्रति समर्पित छन्‌ र तिनीहरू कानुनी संस्थाहरूको प्रयोग किन गर्छन्‌?

आफ्नो धर्म सदासर्वदा रहन्छ भन्‍ने विश्‍वास यहोवाका साक्षीहरूको छ। त्यसकारण, तिनीहरू अनन्तसम्म परमेश्‍वरको सेवा “आत्मा र सत्यतामा” गर्ने आशा गर्छन्‌। (यूहन्‍ना ४:२३, २४) असल खराब छान्‍ने अधिकार भएको व्यक्‍तिको हैसियतमा यी मसीहीहरू पूर्णतया यहोवा परमेश्‍वरमा समर्पित भएका छन्‌ र त्यही समर्पणअनुरूप बाँच्ने निधो गरेका छन्‌। त्यसो गर्नसक्न तिनीहरू परमेश्‍वरको वचन र उहाँको पवित्र आत्मामा पूर्ण भरोसा गर्छन्‌। ईश्‍वरप्रदत्त स्वतन्त्रताको अभ्यास गर्दै साक्षीहरू सम्पूर्ण हृदयले आफ्नो मसीही समर्पणअनुसार जीवन यापन गर्दा सरकारी “उच्च अख्तियारवालाहरूका” भूमिकाप्रति आदर देखाउँछन्‌ र कानुनी साधन तथा प्राबधानहरूको पनि उचित प्रयोग गर्छन्‌। (रोमी १३:१; याकूब १:२५) उदाहरणका लागि, विशेषगरि आध्यात्मिक तवरमा सँगी मानवहरूलाई सहयोग गर्न यहोवाका साक्षीहरू थुप्रै कानुनी माध्यामहरू प्रयोग गर्छन्‌, त्यसमध्ये वाच टावर सोसाइटी पनि एक हो। तर साक्षीहरू कानुनी माध्यमहरूप्रति होइन परमेश्‍वरप्रति समर्पित छन्‌ र यहोवा परमेश्‍वरप्रति तिनीहरूको समर्पण सधैंभरि रहिरहनेछ।

२. यहोवाका साक्षीहरू वाच टावर सोसाइटी र त्यस्तै अन्य कानुनी संस्थाप्रति किन आभारी छन्‌?

२ परमेश्‍वरको समर्पित सेवकहरूको हैसियतमा “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ” भन्‍ने येशूको निर्देशन पछ्याउनैपर्छ भनेर यहोवाका साक्षीहरू मानिलिन्छन्‌। (मत्ती २८:१९, २०) यो कार्य यस रीतिरिवाजको अन्तसम्मै कायम रहनेछ किनकि येशूले यसो भन्‍नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:३, १४) वर्षेनी, वाच टावर सोसाइटीको छापाखाना र त्यस्तै कानुनी संस्थाहरूले यहोवाका साक्षीहरूलाई विश्‍वव्यापी प्रचार कार्यमा प्रयोग गर्न करोडौं बाइबल, पुस्तक, पुस्तिका तथा पत्रिकाहरू उपलब्ध गराउँछ। अतः परमेश्‍वरका समर्पित सेवकहरूलाई आफ्नो समर्पणअनुरूप बाँच्न मदत दिन यी कानुनी प्राबधानहरू बहुमूल्य साबित भएका छन्‌।

३. यहोवाका साक्षीहरू कुन अर्थमा “सोसाइटी” पदावली प्रयोग गर्थे?

३ साक्षीहरूले वाच टावर सोसाइटी वा त्यसमा पनि अक्सर “सोसाइटी” बारे जुन तरिकाले कुरा गर्छन्‌, त्यसबाट तिनीहरू यसलाई कानुनी प्राबधान मात्र ठान्दैनन्‌ भनी कसै कसैले तर्क गर्लान्‌। उपासनाको सम्बन्धमा के तिनीहरू यसलाई नै प्रमुख आधिकारिक स्रोतको रूपमा मान्दैनन्‌? त्यसबारे यहोवाका साक्षीहरू—परमेश्‍वरको राज्यका उद्‌घोषकहरू (अंग्रेजी) पुस्तक यसरी प्रष्ट्याउँछ: “प्रहरीधरहरा-ले [जून १, १९३८] ‘सोसाइटीबारे’ उल्लेख गर्दा त्यसले कानुनी संस्थालाई मात्र होइन तर यो कानुनी संस्था खडा तथा प्रयोग गर्ने अभिषिक्‍त मसीहीहरूको समूहलाई पनि बुझाउँछ।”a तसर्थ, यो अभिव्यक्‍तिले “विश्‍वासी र बुद्धिमान दास[लाई]” बुझाउँछ। (मत्ती २४:४५) साक्षीहरू अक्सर यही अर्थमा “सोसाइटी” पदावली प्रयोग गर्थे। निस्सन्देह कानुनी संस्था तथा “विश्‍वासी र बुद्धिमान दास” पक्कै पनि साटफेर गरेर प्रयोग गर्नसकिने पदावलीहरू होइनन्‌। वाच टावर सोसाइटीका सञ्चालकहरू छानिन्छन्‌ तर ‘विश्‍वासी दासहरूको’ समूह यहोवाको पवित्र आत्माद्वारा अभिषिक्‍त भएका हुन्छन्‌।

४. (क) गलतफहमी नहोस्‌ भन्‍नाका लागि यहोवाका प्रायजसो साक्षीहरू आफूलाई कसरी प्रस्तुत गर्छन्‌? (ख) पदावलीहरूको सन्दर्भमा हामी किन सन्तुलित हुनुपर्छ?

४ आफूलाई प्रस्तुत गर्नुपर्दा गलत अर्थ नलागोस्‌ भनेर यहोवाका साक्षीहरू निकै होस पुऱ्‍याउँछन्‌। “सोसाइटीले सिकाउँछ” भन्‍नुको साटो प्रायजसो साक्षीहरू “बाइबल भन्छ” अथवा “मैले बुझेअनुसार बाइबलले सिकाउँछ” जस्ता अभिव्यक्‍तिहरू प्रयोग गर्न रुचाउँछन्‌। यसप्रकार प्रत्येक साक्षीले व्यक्‍तिगत निर्णयको आधारमा बाइबल शिक्षा ग्रहण गरेको हो भनेर तिनीहरू जोड दिन्छन्‌ र साक्षीहरू कुनै न कुनै तरिकामा केही धार्मिक सिद्धान्तहरूको अधीनमा जकडिएका छन्‌ भन्‍ने गलत भान अरूमाथि पर्न नदिन होस पुऱ्‍याउँछन्‌। जेहोस्‌, पदावलीलाई कहिल्यै पनि विवादको विषय बनाउनु नहुने हो। आखिर पदावलीहरूले गलतफहमीहरू हटाउँदैनन्‌ भने त्यसको के काम? मसीही सन्तुलन आवश्‍यक छ। बाइबलले हामीलाई “वेफायदाका कुरामा [“शब्दहरूका लागि,” NW] झगड़ा नग[र्नू]” भन्‍ने सल्लाह दिन्छ। (२ तिमोथी २:१४, १५) धर्मशास्त्रले निम्न सिद्धान्त पनि पेश गर्छ: “तिमीहरूले पनि सजिलैसँग बुझ्नसकिने विभिन्‍न भाषामा बोलेनौ भनेता, के बोलेको हो, कसरी बुझ्ने?”—१ कोरिन्थी १४:९.

जहाँ परमेश्‍वरको आत्मा हुन्छ, त्यहाँ तीन थुप्रो नियम हुँदैनन्‌

५. पहिलो कोरिन्थी १०:२३ लाई कसरी बुझ्नुपर्ने हो?

५ प्रेरित पावलले उल्लेख गरे, “सबै कुरा न्यायसंगत छन्‌, तर सबै कुरा फायदाका छैनन्‌।” तिनी अझै यसो भन्छन्‌: “सबै कुरा उचित छन्‌, तर सबै कुराले सुधार गर्दैनन्‌।” (१ कोरिन्थी १०:२३) पावलले यहाँ परमेश्‍वरको वचनले सरासर भर्त्सना गरेका कामहरू गर्नु उचित छन्‌ भन्‍न खोजेका होइनन्‌। पुरातन इस्राएललाई दिइएको ६०० नियमहरूको तुलनामा मसीही जीवनमा लागू हुने सुस्पष्ट नियमहरू थोरै छन्‌। यद्यपि, धेरैजसो कुरा त व्यक्‍तिविशेषको अन्तस्करणमै छोडिएको छ। यहोवालाई समर्पण गर्ने व्यक्‍तिले यस्तो स्वतन्त्रताको आनन्द उठाउँछ जुन परमेश्‍वरको आत्माद्वारा निर्देशित भएको परिणामस्वरूप उसले पाएको हुन्छ। सत्यलाई आफ्नो बनाइसकेको हुँदा मसीही व्यक्‍तिविशेषले बाइबल प्रशिक्षित अन्तस्करणबमोजिम कामकुराहरू गर्छ र परमेश्‍वरको पवित्र आत्मा मार्फत पाइने निर्देशनमा भर पर्छ। यसो गर्नाले आफूलगायत अन्य व्यक्‍तिहरूलाई कुन कुराले “सुधार” गर्नेछ र “फाइदा” पुऱ्‍याउनेछ, त्यो पक्का गर्न समर्पित मसीहीले मदत पाउनेछ। गरिएका निर्णयहरूले आफू समर्पित भएको परमेश्‍वरसित आफ्नो सम्बन्धलाई असर गर्छ भनेर पनि उसले बुझ्छ।

६. सत्यलाई हामीले आफ्नो बनाएका छौं भनी मसीही सभाहरूमा कसरी देखाउनसक्छौं?

६ साक्षी बन्‍ने व्यक्‍तिले मसीही सभाहरूमा टिप्पणी गरेर सत्यलाई आफ्नो बनाएको छ भनेर प्रकट गर्छ। सुरुमा त अध्ययन गरिरहेको प्रकाशनबाट उसले केही कुरा जस्ताको तस्तै भन्ला। तथापि, समयको क्रममा प्रगति गरेर उसले बाइबलका शिक्षाहरू आफ्नै शब्दमा व्यक्‍त गर्नसक्छ। अरूले भनेको कुरा दोहऱ्‍याउनुको साटो यसरी उसले आफ्नो सोच्ने क्षमता विकास हुँदै गएको प्रमाण दिन्छ। भन्‍नुपर्ने कुराहरू आफ्नै शब्दमा भन्दा अनि सत्यका सही शब्दहरू हृदयस्पर्शी तरिकाले व्यक्‍त गर्दा ऊ रमाउनेछ र यसबाट ऊ मनैदेखि विश्‍वस्त भएको पनि जाहेर हुन्छ।—उपदेशक १२:१०; तुलना गर्नुहोस्‌ रोमी १४:५ख.

७. यहोवाका सेवकहरूले के कस्ता निर्णयहरू स्वतन्त्र भई गरेका छन्‌?

७ यहोवाका साक्षीहरू परमेश्‍वर र सँगी मानवहरूप्रतिको प्रेमले उत्प्रेरित हुन्छन्‌। (मत्ती २२:३६-४०) हो, तिनीहरू ख्रीष्टको जस्तै प्रेमले विश्‍वव्यापी भ्रातृत्वमा एकअर्कासित घनिष्ठ भएका छन्‌। (कलस्सी ३:१४; १ पत्रुस ५:९) तर असल खराब छुट्याउने स्वतन्त्रता भएको व्यक्‍तिको हैसियतमा तिनीहरू प्रत्येकले परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्न, राजनीतिमा तटस्थ रहन, रगतबाट अलग्गै बस्न, केही खास प्रकारका मनोरञ्जनबाट टाढै रहन र बाइबलका स्तरअनुरूप जीवन बिताउन व्यक्‍तिगत निर्णय गरेका छन्‌। यी निर्णय गर्न तिनीहरूलाई दबाब दिइएको छैन। किनकि यी निर्णयहरू एक सम्भाव्य साक्षीले मसीही समर्पण गर्नुअघि बिताएको जीवनसित सम्बन्धित छ।

परिचालक निकायप्रति जवाफदेही?

८. कुन प्रश्‍नको स्पष्ट जवाफ चाहिएको छ?

८ साँचो मसीहीहरूले कसैको दबाबमा परेर परमेश्‍वरको सेवा गरेका होइनन्‌ भनेर बाइबलले प्रष्ट्याएको छ। बाइबल यसो भन्छ: “प्रभु ता आत्मा हुनुहुन्छ। औ जहाँ प्रभुका आत्मा हुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।” (२ कोरिन्थी ३:१७) तर यो तथ्यलाई परिचालक निकायमा समावेश भएको “विश्‍वासी र बुद्धिमान दास[को]” धारणासित कसरी मिलान गर्न सकिन्छ?—मत्ती २४:४५-४७.

९, १०. (क) मसीही मण्डलीमा शिरत्वको सिद्धान्त कसरी प्रयोग हुन्छ? (ख) प्रथम शताब्दीको मसीही मण्डलीमा शिरत्वको सिद्धान्तलाई पछ्याउन के गर्नुपऱ्‍यो?

९ यसको जवाफ दिन हामीले शिरत्वसम्बन्धी धर्मशास्त्रीय सिद्धान्तलाई मनमा राख्नैपर्छ। (१ कोरिन्थी ११:३) एफिसी ५:२१-२४ मा ख्रीष्टको परिचय “मण्डलीका शिर[को]” रूपमा दिइएको छ र मण्डली उहाँको “अधीनमा” छ। ख्रीष्टका आत्मिक भाइहरू मिलेर विश्‍वासी र बुद्धिमान्‌ दास बनेका हुन्‌ भनेर यहोवाका साक्षीहरूलाई थाह छ। (हिब्रू २:१०-१३) यो विश्‍वासी दास वर्ग परमेश्‍वरका जनहरूलाई “ठीक ठीक समयमा खाना” दिन नियुक्‍त भएका हुन्‌। यस अन्तको समयमा ख्रीष्टले यो दास वर्गलाई “आफ्नो सारा सम्पत्तिमाथि नियुक्‍त” गर्नुभएको छ। तसर्थ, मसीही भनेर दाबी गर्ने जोकसैले पनि यस दास वर्गको आदर गर्नुपर्छ।

१० शिरत्वको उद्देश्‍य एकता कायम राख्नु र “सबै काम शिष्ट रुपले र नियमपूर्वक” गर्नु हो। (१ कोरिन्थी १४:४०) त्यसो गर्न प्रथम शताब्दीमा विश्‍वासी र बुद्धिमान्‌ दास वर्गमध्येबाटै केही अभिषिक्‍त मसीहीहरू सम्पूर्ण समूहकै प्रतिनिधित्व गर्न छानिए। त्यसपछि भएका घटनाहरूले प्रथम शताब्दीका परिचालक निकायले गरेको काममाथि यहोवाको अनुमोदन तथा आशिष्‌ थियो भन्‍ने प्रमाण दिन्छ। प्रथम शताब्दीका मसीहीहरूले यो प्रबन्धलाई खुशीसाथ स्वीकारे। वास्तवमा यसले गर्दा देखा परेका असल परिणामहरूलाई तिनीहरूले स्वागत गरे, त्यसको निम्ति कृतज्ञता जाहेर गरे।—प्रेरित १५:१-३२.

११. वर्तमान परिचालक निकायलाई कुन दृष्टिले हेर्नुपर्छ?

११ यस्तो प्रबन्धको मूल्य अझै पनि कायमै छ। हाल यहोवाका साक्षीहरूको परिचालक निकाय दस जना अभिषिक्‍त मसीहीहरू मिलेर बनेको छ र तिनीहरू सबै मसीही भएका दशकौं बितिसक्यो। प्रथम शताब्दीको परिचालक निकायले जस्तै तिनीहरू यहोवाका साक्षीहरूलाई आध्यात्मिक निर्देशन दिन्छन्‌। (प्रेरित १६:४) प्रारम्भिक मसीहीहरूजस्तै आज साक्षीहरू उपासनासम्बन्धी बाइबलआधारित निर्देशन तथा डोऱ्‍याइको लागि खुसीसाथ परिचालक निकायका परिपक्व भाइहरूमा भर पर्छन्‌। परिचालक निकायका सदस्यहरू र तिनीहरूका सँगी मसीहीहरू यहोवा र ख्रीष्टका दासहरू हुन्‌। तैपनि बाइबल हामीलाई यस्तो निर्देशन दिन्छ: “तिमीहरूमाथि शासन गर्नेहरूका आज्ञाकारी होओ, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्ने जस्तैगरी, तिमीहरूका प्राणको तिनीहरूले हेरचाह गर्छन्‌, यो तिनीहरूले आनन्दसाथ गरून्‌। दुःख मानेर होइन, किनकि त्यसबाट तिमीहरूलाई लाभदायक हुँदैन।”—हिब्रू १३:१७.

१२. प्रत्येक मसीहीले कसलाई आफ्नो लेखा दिनैपर्छ?

१२ धर्मशास्त्रले परिचालक निकायलाई रेखदेख गर्न पदवी दिएको छ भन्दैमा के यहोवाका प्रत्येक साक्षीले आफ्नो कामको लेखा तिनीहरूलाई दिनैपर्छ? पावलले रोमका मसीहीहरूलाई लेखेका यी शब्दहरूअनुसार त दिनुपर्दैन: “तिमी आफ्नो भाइलाई किन दोष लाउँछौ? अथवा तिमी फेरि आफ्नो भाइलाई किन तुच्छ ठान्छौ? किनभने हामी सबै परमेश्‍वरको न्याय-आसनको सामने खड़ा हुनेछौं। . . . हामी हरेकले परमेश्‍वरलाई आफ्ना आफ्ना लेखा दिनुपर्नेछ।”—रोमी १४:१०-१२.

१३. यहोवाका साक्षीहरू आफ्नो प्रचारकार्यको गतिविधीबारे किन रिपोर्ट गर्छन्‌?

१३ तथापि, प्रत्येक साक्षीले आफ्नो प्रचार कार्यको रिपोर्ट बुझाउनुपर्छ होइन र? हो, तर यसको उद्देश्‍य साक्षीहरूको हातेपुस्तकमा सुस्पष्ट उल्लेख गरिएको छ: “प्रचार कार्यमा भएको उन्‍नतिको रिपोर्ट सुन्‍न येशू ख्रीष्टका प्रारम्भिक चेलाहरू निकै उत्सुक थिए। (मर्कूस ६:३०) प्रचार कार्यमा प्रगति हुँदै जाँदा तथ्यांकका साथै सुसमाचार प्रचार गर्दा प्राप्त विशिष्ट अनुभवहरू पनि संकलन गर्न थालियो। . . . (प्रेरित २:५-११, ४१, ४७; ६:७; १:१५; ४:४) . . . पूरा भइरहेको कामबारे रिपोर्ट सुन्‍न पाउँदा यी विश्‍वासी मसीही कामदारहरू कति प्रोत्साहित भए! . . . त्यसैगरि, यहोवाको आधुनिक संगठनले पनि मत्ती २४:१४ को पूर्तिअनुरूप भइरहेको कामको सही रिपोर्ट राख्ने अथक प्रयास गर्छ।”

१४, १५. (क) परिचालक निकायमाथि २ कोरिन्थी १:२४ कसरी लागू हुन्छ? (ख) कुन तथ्यलाई बुझेर प्रत्येक मसीहीले कुन आधारमा व्यक्‍तिगत निर्णयहरू गर्नैपर्छ?

१४ परिचालक निकाय एउटा मायालु प्रबन्ध हो र तिनीहरूको विश्‍वास अनुकरणीय छ। (फिलिप्पी ३:१७; हिब्रू १३:७) ख्रीष्टलाई नमुनाको रूपमा पछ्याएर उहाँको अनुकरण गर्दै तिनीहरू पावलका यी शब्दहरू प्रतिबिम्बित गर्नसक्छन्‌: “तिमीहरूका विश्‍वासमा हाम्रो प्रभुत्व भएको होइन, तर तिमीहरूका आनन्दका सहयोगी हौं, किनकि विश्‍वासबाटनै तिमीहरू स्थिर छौ।” (२ कोरिन्थी १:२४) समयको मागलाई विचार गर्दै परिचालक निकायले बाइबलको सल्लाह पालन गर्दा हुने फाइदाहरूप्रति ध्यानाकर्षण गर्छन्‌, बाइबलका व्यवस्था तथा सिद्धान्तहरू प्रयोग गर्ने विषयमा सरसल्लाहहरू दिन्छन्‌, छिपेका खतराहरूबारे चेताउनी दिन्छन्‌ र “सहयोगी[हरूलाई]” चाहिने प्रोत्साहन दिन्छन्‌। यसरी परिचालक निकायले आफ्नो मसीही भान्छेको काम पूरा गर्छ, ती सहयोगीहरूको आनन्द कायमै राख्न मदत गर्छ तथा स्थिर रहोस्‌ भन्‍नाका लागि उनीहरूको विश्‍वासलाई बलियो पार्छ।—१ कोरिन्थी ४:१, २; तीतस १:७-९.

१५ यदि कुनै साक्षीले परिचालक निकायले पेश गरेको बाइबल आधारित सल्लाहअनुसार निर्णय गर्छ भने त्यो साक्षीले उक्‍त निर्णय आफ्नो इच्छाअनुसारै गरेको हुन्छ किनकि आफैले बाइबल अध्ययन गरिसकेकोले यो नै सही मार्ग हो भनेर ऊ विश्‍वस्त भइसकेको हुन्छ। गरिएका निर्णयहरूले आफू समर्पित भएको परमेश्‍वरसितको आफ्नो व्यक्‍तिगत सम्बन्धलाई असर गर्नेछ भन्‍ने कुरा बुझ्दै प्रत्येक साक्षी परिचालक निकायले दिएको सही धर्मशास्त्रीय सल्लाहहरू प्रयोग गर्न परमेश्‍वरकै वचनबाट प्रभावित हुन्छन्‌।—१ थिस्सलोनिकी २:१३.

विद्यार्थी तथा सिपाहीहरू

१६. आचरणसम्बन्धी निर्णयहरू व्यक्‍तिगत मामिला भए तापनि कुनै कुनै मसीहीहरूलाई किन बहिष्कार गरिन्छ?

१६ आचरणसम्बन्धी निर्णयहरू व्यक्‍तिगत मामिला हुन्‌ भने यहोवाका कुनै कुनै साक्षीहरूलाई किन बहिष्कार गरिन्छ? कुनै खास प्रकारको पाप गर्दा बहिष्कार गर्नैपर्छ भनेर कसैले पनि व्यक्‍तिगत विचारको आधारमा निर्णय गर्नसक्दैन। बरु, मण्डलीको सदस्यले पहिलो कोरिन्थी अध्याय ५ मा सूचिबद्ध गरिएका गम्भीर पापहरू गऱ्‍यो र पश्‍चात्ताप पनि गरेन भने धर्मशास्त्रीय मागअनुसार त्यस व्यक्‍तिलाई बहिष्कार गर्नु आवश्‍यक हुन्छ। व्यभिचार गर्ने मसीही बहिष्कृत हुनसक्ने भए तापनि मायालु गोठालाहरूले दिने आध्यात्मिक मदत ग्रहण गर्न इनकार गर्दा मात्र अक्सर उक्‍त व्यक्‍तिलाई बहिष्कार गरिन्छ। तर यो मसीही कदम चाल्ने व्यक्‍तिहरू यहोवाका साक्षीहरू मात्र होइनन्‌। धर्मको विश्‍वकोश (अंग्रेजी) यसरी उल्लेख गर्छ: “अनाज्ञाकारी सदस्यहरूको कारण सम्पूर्ण समाजमै खतरा आउनसक्ने देखिएमा हरेक समाजले त्यस्ता सदस्यहरूबाट आफैलाई जोगाउनु आफ्नो अधिकार ठान्छन्‌। [बहिष्कारसम्बन्धी] धार्मिक नियम भंग गर्दा परमेश्‍वरसितको सम्बन्धमा नै असर पुग्ने विश्‍वासको कारण धार्मिक कामकुरामा त यो अझ कडिकडाउसाथ प्रयोग गरिन्छ।”

१७, १८. बहिष्कार गर्नु उचित छ भनी कसरी देखाउनसकिन्छ?

१७ यहोवाका साक्षीहरू बाइबलका विद्यार्थीहरू हुन्‌। (यहोशू १:८; भजन १:२; प्रेरित १७:११) परिचालक निकायले प्रबन्ध गरेको बाइबल शिक्षालाई शिक्षा बोर्डले तयार पारेको पाठ्यक्रमसित तुलना गर्नसकिन्छ। बोर्ड पाठ्यपुस्तकको स्रोत होइन तर यसले पाठ्यक्रम तयार पार्छ, सिकाउने तरिका बताउँछ र आवश्‍यक निर्देशनहरू दिन्छ। विद्यालयका नियमअनुसार यदि कुनै विद्यार्थी जानाजानी चल्दैन, सँगी विद्यार्थीलाई अप्ठ्यारोमा पार्छ वा विद्यालयकै बदनाम हुने काम गर्छ भने ऊ विद्यालयबाट निकालिनसक्छ। सम्पूर्ण विद्यार्थीको भलाइको लागि आफ्नो सीमाभित्र रहेर उचित कदम चाल्ने अधिकार विद्यालयका अधिकारीहरूसित हुन्छ।

१८ विद्यार्थी हुनुको अलावा यहोवाका साक्षीहरू येशू ख्रीष्टका सिपाहीहरू हुन्‌ र तिनीहरूले “विश्‍वासको उत्तम लड़न्त ल[ड्‌ने]” निर्देशन पाएका छन्‌। (१ तिमोथी ६:१२; २ तिमोथी २:३) अतः मसीही सिपाही हुन अयोग्य अचारणमा लागिरहेको हुँदा ईश्‍वरीय अनुमोदन गुम्नु स्वाभाविक कुरा हो। प्रत्येकलाई छनौट गर्ने स्वतन्त्रता दिइएको हुँदा एक मसीही सिपाहीले आफ्नो इच्छाअनुसार छनौट गर्नसक्छ तर आफूले गरेको निर्णयको परिणाम पनि आफैले भोग्नुपर्छ। पावल यस्तो तर्क गर्छन्‌: “आफूलाई सिपाहीमा भर्ना गर्नेलाई खुशी तुल्याउन कुनै सिपाहीले सेवामा यस जीवनको टण्टासँग आफूलाई अल्मल्याउँदैन। खेलमा भाग लिने मानिसले पनि नियमबमोजिम नखेलिकन इनाम पाउँदैन।” (२ तिमोथी २:४, ५) परिचालक निकायलगायत सबै परिपक्व मसीहीहरू अनन्त जीवनको उपहार जित्न सकियोस्‌ भनेर “नियमहरू पालन गर्दै” पूर्णतया आफ्नो नेता येशू ख्रीष्टको अधीनमा रहन्छन्‌।—यूहन्‍ना १७:३; प्रकाश २:१०.

१९. मसीही समर्पणसित सम्बन्धित तथ्यहरूलाई जाँचिसकेपछि हामी कुन कुराबारे पक्का हुनसक्छौं?

१९ के यी तथ्यहरूले यहोवाका साक्षीहरू मानिसका होइनन्‌ तर परमेश्‍वरका दासहरू हुन्‌ भनेर प्रष्ट्याउँदैन र? मसीहीहरूको हैसियतमा ख्रीष्टले दिनुभएको स्वतन्त्रताको आनन्द उठाउँदै तिनीहरू परमेश्‍वरको मण्डलीमा आफ्ना भाइहरूसित एकतामा सेवा गर्छन्‌ र त्यसो गर्दा परमेश्‍वरको आत्मा र उहाँको वचनलाई आफ्नो जीवनमा प्रभुत्व जमाउन दिन्छन्‌। (भजन १३३:१) यसका प्रमाणहरूले तिनीहरूले कहाँबाट बल पाएका हुन्‌, त्यो शंका पनि हट्‌नुपर्ने हो। भजनरचयितासँगसँगै तिनीहरू यसरी गाउनसक्छन्‌: “परमप्रभु मेरो शक्‍ति र मेरो ढाल हुनुहुन्छ, मेरो हृदयले उहाँमा भरोसा राखेको हुनाले मैले सहायता पाएको छु। यसकारण मेरो हृदय ज्यादै रमाउँछ। र भजन गाएर म उहाँको प्रशंसा गर्नेछु।”—भजन २८:७.

[फुटनोट]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा १९९३ मा प्रकाशित।

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

◻ वाच टावर सोसाइटी र त्यस्तै अन्य कानुनी संस्थाहरूले यहोवाका साक्षीहरूलाई कसरी मदत गरेका छन्‌?

◻ यहोवाका साक्षीहरूको परिचालक निकायको भूमिकाबाट मसीहीहरूले कसरी फाइदा उठाउँछन्‌?

◻ यहोवाका जनहरू आफ्नो प्रचारकार्यको गतिविधिबारे किन रिपोर्ट गर्छन्‌?

◻ एक समर्पित मसीहीलाई कस्ता अवस्थाहरूमा बहिष्कार गर्नु उचित हुन्छ?

[पृष्ठ १९-मा भएको चित्र]

प्रथम शताब्दीको परिचालक निकायले सिकाएका शिक्षाहरूमा एकरूपता कायम गर्थे

[पृष्ठ २३-मा भएको चित्र]

विश्‍वभरि यहोवाका साक्षीहरू ख्रीष्टले दिनुभएको स्वतन्त्रताको आनन्द उठाउँछन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने