चनाखो र लगनशील हुनुहोस्!
“जागा रहो, किनकि तिमीहरू त्यो दिन र त्यो बेला थाह पाउँदैनौ।”—मत्ती २५:१३.
१. प्रेरित यूहन्नाले कुन कुरा पर्खिरहेका थिए?
बाइबलको अन्तिम सम्वादमा येशूले यस्तो प्रतिज्ञा गर्नुभयो: “म चाँड़ै आउँछु।” उहाँका प्रेरित यूहन्नाले यस्तो जवाफ दिए: “आमिन, आउनुहोस्, हे प्रभु येशू।” येशू आउनुहुनेछ भन्ने कुरामा यूहन्नालाई शंका थिएन। येशूलाई यो प्रश्न सोध्ने प्रेरितहरूमध्ये तिनी पनि एक थिए: “हामीलाई भन्नुहोस्, यो कुरा कहिले हुनेछन्, र तपाईंको आगमन [युनानी, पारुसिया] र जगत्को अन्तको चिह्न के हुन्छ?” हो, यूहन्नालाई येशूको भावी आगमनबारे कुनै शंका थिएन।—प्रकाश २२:२०; मत्ती २४:३.
२. येशूको उपस्थितिबारे चर्चहरूमा कस्तो अवस्था छ?
२ अचेल यस्तो विश्वास विरलै पाइन्छ। येशूको ‘आगमनबारे’ थुप्रै चर्चहरूको औपचारिक सिद्धान्त छ तर ती चर्चहरूका केही सदस्यहरूले मात्र त्यसमाथि विश्वास गर्छन्। तिनीहरू येशूको आगमनै हुँदैन जस्तोगरी जीवन यापन गर्छन्। नयाँ नियममा पारुसिया (अंग्रेजी) नामक पुस्तक यसो भन्छ: “चर्चका सदस्यहरूको जीवन, सोचविचार र कामकुरामा पारुसिया आशाको त्यति अर्थपूर्ण प्रभाव देखिंदैन। . . . तिनीहरूले पश्चात्ताप गर्नुपर्ने अनि सुसमाचार उद्घोषणा गर्नुपर्ने टड्कारो आवश्यकतालाई पूर्णतया बेवास्ता गरेका छन् वा हल्कासित लिएका छन्।” तर सबैले त्यस्तो गरेका छैनन्!
३. (क) साँचो मसीहीहरू पारुसिया-बारे कस्तो विचार राख्छन्? (ख) अब विशेषगरि हामी कुन कुरा छलफल गर्नेछौं?
३ येशूका साँचो चेलाहरू वर्तमान दुष्ट रीतिरिवाजको अन्तको उत्कट प्रतिक्षा गर्छन्। यसरी प्रतिक्षा गर्दा हामीले येशूको उपस्थितिसित सम्बन्धित सबै पक्षहरूप्रति सही दृष्टिकोण राख्नुपर्छ अनि त्यसैअनुरूप कदम चाल्नुपर्छ। त्यसो गर्नाले हामी ‘अन्तसम्म स्थिर रहेर उद्धार पाउनसक्छौं।’ (मत्ती २४:१३) येशूले मत्ती अध्याय २४ र २५ मा उल्लिखित भविष्यवाणी गर्नुहुँदा बुद्धिमान सल्लाह दिनुभयो। त्यस सल्लाहलाई हामी आफ्नो चिरकालीन फाइदाको निम्ति प्रयोग गर्नसक्छौं। सायद तपाईंलाई थाहै होला, अध्याय २५ मा दस कन्याहरूको उखान (निर्बुद्धि र बुद्धिमती कन्याहरू) र तोडाको उखान छ। (मत्ती २५:१-३०) ती दृष्टान्तहरूबाट हामी कसरी लाभ उठाउनसक्छौं?
पाँच कन्याहरूजस्तै चनाखो हुनुहोस्!
४. कन्याहरूको उखानको सार के हो?
४ तपाईं मत्ती २५:१-१३ को कन्याहरूको उखान फेरि पढ्न चाहनुहुन्छ होला। यस उखानमा एउटा भव्य यहूदी विवाहबारे बताइएको छ। दुलहा दुलहीलाई आफ्नो (अथवा बुबाको) घरमा ल्याउन दुलहीको बुबाको घर जान्छन्। विवाहको जन्तीमा संगीतकार र गायकहरू पनि हुनसक्छन् अनि जन्ती आइपुग्ने ठीक समय थाह नहुनसक्थ्यो। यस उखानमा, दस कन्याहरूले राति दुलहाको प्रतिक्षा गर्छन्। तिनीहरूमध्ये पाँच कन्याहरू मूर्ख थिए र तिनीहरूले आफ्नो बत्तीमा थप्न प्रशस्त तेल आफूसँग लगेनन्। तसर्थ, तिनीहरू तेल किन्न पसल जानुपऱ्यो। अन्य पाँच कन्याहरू बुद्धिमती थिए। तिनीहरूले दुलहाको प्रतिक्षा गर्दा चाहिएको खण्डमा बत्तीमा तेल थप्नका लागि आफ्ना भाँडाहरूमा अतिरिक्त तेल लगे। दुलहा आउँदा यी पाँच कन्याहरूले मात्र बत्ती बालेर स्वागत गर्न सके। तसर्थ, तिनीहरू मात्र विवाह भोजमा बस्न पाए। पाँच मूर्ख कन्याहरू फर्केर आउँदा निकै अबेर भइसकेको हुनाले तिनीहरू विवाह भोजमा बस्न पाएनन्।
५. कुन शास्त्रपदहरूले कन्याहरूको उखानको लाक्षणिक अर्थ प्रकाश पार्छ?
५ यस उखानका थुप्रै पक्षहरू लाक्षणिक रूपमा बुझ्न सकिन्छ। उदाहरणका लागि, धर्मशास्त्रमा येशूलाई दुलहा भनिएको छ। (यूहन्ना ३:२८-३०) येशूले आफूलाई विवाह भोज तयार पार्ने राजाको छोराको रूपमा तुलना गर्नुभयो। (मत्ती २२:१-१४) अनि बाइबलले येशूलाई पतिसित तुलना गरेको छ। (एफिसी ५:२३) चाखलाग्दो कुरा के छ भने, बाइबलका अन्य ठाउँमा अभिषिक्त मसीहीहरूलाई ख्रीष्टको “दुलही” भनेर सम्बोधन गरिए तापनि यस उखानमा दुलहीबारे केही बताइएको छैन। (यूहन्ना ३:२९; प्रकाश १९:७; २१:२, ९) यद्यपि, उखानमा दस कन्याहरूबारे बताइएको छ अनि बाइबलका अन्य ठाउँमा अभिषिक्त जनलाई ख्रीष्टसित विवाह गर्न प्रतिज्ञा गरिएको कन्या भनी तुलना गरिएको छ।—२ कोरिन्थी ११:२.a
६. येशूले कन्याहरूको उखानको अन्तमा कस्तो प्रोत्साहन दिनुभयो?
६ यस उखानको लाक्षणिक अर्थ अनि भविष्यसूचक पूर्तिहरूको अलावा हामी यसबाट असल सिद्धान्तहरू सिक्नसक्छौं। उदाहरणका लागि, येशूले उखानको अन्तमा भन्नुभएका शब्दहरूलाई ध्यान दिनुहोस्: “जागा रहो, किनकि तिमीहरू त्यो दिन र त्यो बेला थाह पाउँदैनौ।” अतः यस उखानले हामी प्रत्येकलाई नजिकै आउँदै गरेको यस दुष्ट रीतिरिवाजको अन्तबारे चनाखो अनि सतर्क हुनु आवश्यक छ भनेर औंल्याउँछ। हामी यस दुष्ट रीतिरिवाजको अन्त हुने समय तोक्न सक्दैनौं तर त्यो अवश्य आउनेछ। यस सन्दर्भमा, कन्याहरूका दुई समूहले देखाएको मनोवृत्तिलाई ध्यान दिनुहोस्।
७. उखानका पाँच कन्याहरू कुन अर्थमा मूर्ख साबित भए?
७ येशूले भन्नुभयो: “तीमध्ये पाँच निर्बुद्धि” थिए। के दुलहा आउँदैछ भनेर विश्वास नगरेको कारण तिनीहरू निर्बुद्धि भएका हुन्? के तिनीहरू कतै रमझममा भुलिरहेका थिए? अथवा के तिनीहरू छकिएका थिए? अहँ, त्यस्तो केही भएको थिएन। येशूले भन्नुभयो, तिनीहरू “दुलहालाई भेट्न निस्के।” तिनीहरूलाई दुलहा आउँदैछ भनेर थाह थियो अनि तिनीहरू दुलहालाई स्वागत गर्नुका साथै “विवाह भोजमा” पनि सामेल हुन चाहन्थे। यद्यपि, के तिनीहरू यसको लागि राम्ररी तयार थिए? तिनीहरूले ‘आधा रातसम्म’ दुलहाको प्रतिक्षा गरे। तर दुलहा जुनसुकै समयमा अर्थात् तिनीहरूले सोचेभन्दा छिटो वा ढिलो आए पनि तिनलाई स्वागत गर्नसक्ने हिसाबले तिनीहरू तयार थिएनन्।
८. उखानका पाँच कन्याहरू कसरी बुद्धिमती साबित भए?
८ येशूले बुद्धिमती भन्नुभएका अन्य पाँच कन्याहरू पनि बत्ती बालेर दुलहालाई भेट्न निस्के। तिनीहरूले पनि दुलहालाई पर्खनु पऱ्यो तर तिनीहरू “बुद्धिमती” थिए। “बुद्धिमती” भनेर अनुवाद गरिएको युनानी शब्दले “दूरदर्शी, समझदार, व्यवहारिक बुद्धि” हुनु भन्ने अर्थ बुझाउँछ। यी पाँच कन्याहरूले चाहिएको खण्डमा बत्तीमा तेल थप्न आफ्नो भाँडाहरूमा तेल लगेका हुनाले तिनीहरू बुद्धिमती साबित भए। भनौं भने, तिनीहरू दुलहालाई भेट्न यति उत्सुक थिए कि आफूसँग भएको तेल अरूलाई दिएनन्। तिनीहरूको सतर्कता व्यर्थ भएन किनकि दुलहा आउँदा तिनीहरू पूर्णतया तयार थिए। तिनीहरू “तिनीसँग विवाहको भोजमा भित्र पसे, र ढोका बन्द भयो।”
९, १०. कन्याहरूको उखानको तात्पर्य के हो अनि हामीले आफूलाई कस्ता प्रश्नहरू सोध्नुपर्छ?
९ येशूले विवाहमा देखाउनुपर्ने उचित व्यवहारबारे सिकाइरहनुभएको थिएन नता आफूसँग भएको कुरा अरूसँग बाँडचुँड गर्नुपर्छ भन्ने सल्लाह नै दिइरहनुभएको थियो। उहाँले भन्न खोज्नुभएको कुरा यो थियो: “जागा रहो, किनकि तिमीहरू त्यो दिन र त्यो बेला थाह पाउँदैनौ।” तपाईं आफैलाई सोध्नुहोस्: ‘के म येशूको उपस्थितिबारे साँच्चै सतर्क छु?’ येशूले अहिले स्वर्गमा शासन गर्दै हुनुहुन्छ भनेर हामी विश्वास गर्छौं। तर ‘मानिसको पुत्र चाँडै आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासित आउनेछन्’ भन्ने कुरामा चाहिं हामी कत्तिको ध्यान केन्द्रित गर्छौं नि? (मत्ती २४:३०) दुलहालाई भेट्न कन्याहरू निस्केको समयमा भन्दा ‘आधा रातमा’ तिनी आउने समय पक्कै पनि नजिक आइसकेको थियो। त्यसैगरि मानिसको पुत्र वर्तमान दुष्ट रीतिरिवाज नाश गर्न आउनुहुने समय हामीले उहाँको प्रतिक्षा गर्न थालेको समयमा भन्दा नजिक आइसकेको छ। (रोमी १३:११-१४) के अन्त नजिक आएकोले झन् बढी चनाखो भएर हामीले सतर्कता अपनाएका छौं?
१० “जागा रहो” भन्ने आज्ञा पालन गर्न सधैं चनाखो हुनुपर्छ। पाँच कन्याहरूको तेल सिद्धियो र तिनीहरू तेल किन्न पसल गए। अहिले मसीही पनि त्यसैगरि अलमलिन सक्छ अनि अब चाँडै येशूको आगमन हुँदा तिनी पूर्णतया तयार नहुनसक्छ। प्रथम शताब्दीका केही मसीहीहरू त्यस्तै भएका थिए। आज कोही कोही त्यस्तै हुनसक्छन्। तसर्थ, हामी आफैलाई यस्तो प्रश्न गरौं, ‘के म पनि त्यस्तै भइरहेको छु?’—१ थिस्सलोनिकी ५:६-८; हिब्रू २:१; ३:१२; १२:३; प्रकाश १६:१५.
अन्त नजिकिंदै जाँदा चनाखो हुनुहोस्
११. येशूले अर्को कुन उखान भन्नुभयो अनि त्यो कुन कुरासँग मिल्छ?
११ येशूले अर्को उखानमा आफ्ना अनुयायीहरूलाई चनाखो हुनुपर्छ मात्र भन्नुभएन। बुद्धिमती र मूर्ख कन्याहरूबारे बताउनुभएपछि उहाँले तोडाको उखान भन्नुभयो। (मत्ती २५:१४-३० पढ्नुहोस्।) यो उखान थुप्रै पक्षमा उहाँले त्यसअघि भन्नुभएको असर्फीहरूको उखानसँग मिल्दोजुल्दो छ। थुप्रै मानिसहरूले “परमेश्वरको राज्य तुरुन्तै प्रकट हुनलागेको छ भन्ने सम्झेका” हुनाकारण उहाँले त्यो भन्नुभएको थियो।—लूका १९:११-२७.
१२. तोडाको उखानको सार के हो?
१२ तोडाको उखानमा, येशू एक जना मानिसबारे बताउनुहुन्छ। परदेश जानुअघि त्यस मानिसले तीन जना नोकरहरूलाई बोलाए। तिनले “आफ्ना आफ्ना खूबी अनुसार” एक जनालाई पाँच तोडा, अर्कोलाई दुई तोडा अनि तेस्रोलाई एक तोडा दिए। त्यो तोडा चाँदीको सिक्का हुनुपर्छ जसको मूल्य त्यतिखेर एक जना कामदारले १४ वर्षमा कमाउने पैसा बराबर हुन्थ्यो। त्यो निकै ठूलो रकम थियो! त्यस मानिसले “धेरै दिनपछि” परदेशबाट घर फर्केपछि ती नोकरहरूसँग हिसाब लिए। पहिलो दुई नोकरहरूले आफूलाई जति दिइएको थियो त्यसको दुई गुणा बढी कमाएका थिए। त्यस मानिसले तिनीहरूलाई “श्याबास” भने अनि दुवै जनालाई अझ बढी जिम्मेवारी दिने वचन दिंदै अन्तमा यसो भने: “तँ आफ्ना मालिकसँगै खुशी हो।” एक तोडा पाउने नोकरले मालिक अति कठोर छ भनेर तोडालाई कुनै फाइदा हुने काममा लगाएनन्। त्यसले त्यो पैसा भुइँमा लुकाइराखे, ब्याज पाउन सराफीहरूकहाँ पनि राखेनन्। आफ्नो मालिकको इच्छा विपरीत काम गरेको कारण मालिकले त्यसलाई “दुष्ट र अल्छी नोकर” भने। फलस्वरूप, त्यससँग भएको तोडा खोसियो अनि त्यसलाई बाहिर फालियो जहाँ त्यसको “रूवाबासी र दाह्रा किटाइ” हुनेथियो।
१३. येशू कसरी उखानको मालिकजस्तो साबित हुनुभयो?
१३ यस उखानको विवरण पनि लाक्षणिक रूपमा बुझ्न सकिन्छ। उदाहरणका लागि, उखानमा परदेश जाने मानिसले चित्रित गरेको येशू आफ्ना चेलाहरूलाई छोडेर स्वर्ग जानुहुने थियो अनि राजकीय शक्ति नपाउञ्जेल धेरै दिनसम्म पर्खनुहुने थियो।b (भजन ११०:१-४; प्रेरित २:३४-३६; रोमी ८:३४; हिब्रू १०:१२, १३) यद्यपि, हामी यस उखानबाट पनि ठूलो पाठ वा सिद्धान्त सिक्नसक्छौं जसलाई हामी आफ्नो जीवनमा उतार्न चाहन्छौं। त्यो के हो?
१४. तोडाको उखानले कुन अत्यावश्यक कुरालाई जोड दिन्छ?
१४ हाम्रो आशा चाहे स्वर्गमा अमर जीवन होस् वा पार्थिव प्रमोदवनमा अनन्त जीवन, हामीले मसीही क्रियाकलापहरूमा परिश्रम गर्नुपर्छ भनेर येशूको उखानबाट स्पष्ट हुन्छ। भनौं भने, यस उखानको सन्देश एकै शब्दमा भन्न सकिन्छ: चनाखो हुनुपर्छ। प्रेरितहरूले सा.यु. ३३ पेन्तिकोसदेखि उदाहरण बसाले। हामी यसो पढ्छौं: “अरू धेरै कुराहरूबाट तिनले [पत्रुस] तिनीहरूलाई प्रमाण दिई यसो भनेर अर्ती दिए, ‘दुष्ट पुस्ताबाट बच।’ ” (प्रेरित २:४०-४२) अनि तिनले आफ्नो परिश्रमको साह्रै राम्रो फल प्राप्त गरे! अरूले प्रेरितहरूसँग प्रचारकार्यमा भाग लिन थालेपछि तिनीहरू पनि लगनशील भए अनि सुसमाचार ‘सारा संसारमा उन्नति हुँदै र बढ़दै’ गयो।—कलस्सी १:३-६, २३; १ कोरिन्थी ३:५-९.
१५. हामीले कुन विशेष तरिकामा तोडाको उखानको मुख्य कुरा व्यवहारमा उतार्नुपर्छ?
१५ यस उखानको प्रसंगलाई ध्यान दिनुहोस्। त्यो हो, येशू ख्रीष्टको उपस्थितिबारे भविष्यवाणी। येशूको पारुसिया अर्थात् उपस्थिति दिनप्रतिदिन नजिकिंदैछ अनि त्यो चाँडै चरमोत्कर्षमा पुग्नेछ भन्ने हामीसँग थुप्रै प्रमाणहरू छन्। येशूले “अन्त[लाई]” मसीहीहरूले गर्नुपर्ने कार्यसित जोड्नुभएको कुरा विचार गर्नुहोस्: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४) यसलाई ध्यानमा राख्दै हामी कस्तो प्रकारको नोकर हुनेछौं? तपाईं आफैलाई यस्ता प्रश्नहरू सोध्नुहोस्: ‘के म व्यक्तिगत कामकुराहरूमा मात्रै तल्लीन भएर आफूले पाएको तोडा भुइँमा लुकाउने नोकरजस्तै भएको छु? अथवा के म ती दुई असल र विश्वासी नोकरजस्तो छु? के म हरेक सुअवसरमा मालिकको सम्पत्ति बढाउने काम गर्न दृढ छु?’
उहाँको उपस्थितिको समयमा चनाखो र लगनशील हुनुहोस्
१६. हामीले छलफल गरेका दुई उखानहरूमा हाम्रोलागि कस्तो सन्देश छ?
१६ हो, ती दुई उखानहरूको लाक्षणिक र भविष्यसूचक अर्थ छन्। यसबाहेक, येशू ती उखानहरूद्वारा हामीलाई राम्रो प्रोत्साहन दिनुहुन्छ। उहाँको भनाइको तात्पर्य हो: ख्रीष्टको पारुसिया-का चिह्न देखा पर्दा चनाखो हुनुहोस्; लगनशील हुनुहोस्। त्यो समय अहिल्यै हो। त्यसोभए, के हामी साँच्चै चनाखो र लगनशील छौं त?
१७, १८. येशूको उपस्थितिबारे चेला याकूबले कस्तो सल्लाह दिए?
१७ येशूले जैतून डाँडामा भविष्यवाणी गर्नुहुँदा उहाँको सौतेनी भाइ याकूब त्यहाँ थिएनन्। तर पछि तिनले त्यसबारे थाह पाए अनि त्यसको अर्थ स्पष्टसित बुझे। तिनले लेखे: “हे भाइ हो, प्रभुको आगमन नहोउञ्जेल धैर्य धारण गर। हेर, पृथ्वीको बहुमूल्य फलको आशा राखेर किसानले अगिल्लो र पछिल्लो वर्षा नहोउञ्जेल धैर्य धारण गरेर पर्खी रहन्छ। तिमीहरूले पनि धैर्य धारण गर, आफ्नो हृदयलाई स्थिर गराओ, किनभने प्रभुको आगमन नजीकै छ।”—याकूब ५:७, ८.
१८ आफ्नो सम्पत्ति दुरुपयोग गर्नेहरूलाई परमेश्वरले कडा न्याय गर्नुहुन्छ भन्ने चेताउनी दिएपछि याकूबले मसीहीहरूलाई यहोवाले न्याय गर्न सुरु नगरुञ्जेल धीरजी भई पर्खन आग्रह गरे। अरूले गरेका गल्तीहरू आफैले सच्याउनुपर्छ जस्तोगरी अधीर मसीही क्रोधित हुनसक्छ। तथापि, त्यसरी क्रोधित हुनु हुँदैन किनकि न्यायको घडी अवश्य आउनेछ। याकूबले चलाएको किसानको उदाहरणले अवश्य न्याय हुनेछ भनेर बताउँछ।
१९. इस्राएली किसानले कस्तो धैर्य धारण गर्नसक्थे?
१९ बीउ छर्ने इस्राएली किसानले सर्वप्रथम बीउ अंकुराएको, त्यसपछि बोट बढेको अनि अन्तमा फसल तयार हुञ्जेल पर्खनुपर्थ्यो। (लूका ८:५-८; यूहन्ना ४:३५) ती महिनाहरूको दौडान कुनै बेला चिन्तित हुनुपर्ने कारण पनि हुनसक्थ्यो। सुरुमा प्रशस्तसँग पानी पर्ने हो कि होइन? पछिल्लो वर्षाले साथ देला कि नदेला? कीराफट्याङ्ग्रा वा हावापानीले पो बाली बिगार्ने हो कि? (योएल १:४; २:२३-२५ तुलना गर्नुहोस्।) तैपनि, इस्राएली किसानले यहोवा र उहाँले बनाउनुभएको प्राकृतिक चक्रमाथि भरोसा राख्नसक्थे। (व्यवस्था ११:१४; यर्मिया ५:२४) किसानले विश्वस्त भएर धैर्य धारण गर्नसक्थे। आफ्नो विश्वासले गर्दा आफूले प्रतिक्षा गरेको कुरा अवश्य पाइनेछ भनी तिनलाई थाह हुन्थ्यो। साँच्चै त्यस्तै हुन्थ्यो पनि!
२०. हामी याकूबको सल्लाहअनुरूप कसरी धीरज देखाउनसक्छौं?
२० किसानलाई फसल तयार हुने समयबारे केही ज्ञान भए तापनि प्रथम शताब्दीका मसीहीहरूलाई येशू उपस्थित हुनुहुने समय थाह थिएन। तथापि, उहाँको उपस्थिति अवश्य हुनेथियो। याकूबले लेखे: “प्रभुको आगमन [युनानी, पारुसिया] नजीकै छ।” याकूबले उक्त शब्दहरू लेख्दा ख्रीष्टको उपस्थितिको चिह्नहरू विस्तृत वा विश्वव्यापी रूपमा प्रमाणित भइसकेका थिएनन्। तर अहिले ती चिह्नहरू प्रमाणित भइसकेका छन्! अतः अहिले हामीले कस्तो महसुस गर्नुपर्ने हो? चिह्नहरू साँच्चै प्रत्यक्ष छन्। हामीले ती चिह्नहरू देखिरहेका छौं। हामी आश्वस्त भएर यसो भन्नसक्छौं, ‘मैले चिह्नहरू पूर्ति भएको देखेको छु।’ हामी विश्वस्त भएर यसो भन्नसक्छौं: ‘प्रभुको आगमन र त्यसको चरमोत्कर्ष नजिकै छ।’
२१. हामी के गर्न दृढ संकल्पित हुनुपर्छ?
२१ प्रभुको आगमन नजिकै भएको हुनाले हामीले छलफल गरेको येशूका दुई उखानका आधारभूत शिक्षाहरू हृदयंगम गर्ने अनि व्यवहारमा उतार्ने हामीसँग ठोस कारण छ। उहाँले यसो भन्नुभयो: “जागा रहो, किनकि तिमीहरू त्यो दिन र त्यो बेला थाह पाउँदैनौ।” (मत्ती २५:१३) निस्सन्देह, हामी मसीही क्रियाकलापमा जोसिलो हुनुपर्ने समय अहिल्यै हो। आउनुहोस्, येशूले भन्नुभएको कुरा हामीले बुझेका छौं भनेर आफ्नो दैनिक जीवनमा देखाऔं। हामी चनाखो अनि लगनशील होऔं!
[फुटनोटहरू]
a यस उखानको लाक्षणिक अर्थबारे वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित गड्स किंडम अफ अ थाउजन्ड यर्स ह्याज अप्रोच्ड, पृष्ठ १६९-२११ हेर्नुहोस्।
b गड्स किंडम अफ अ थाउजन्ड यर्स ह्याज अप्रोच्ड, पृष्ठ २१२-५६ हेर्नुहोस्।
के तपाईंलाई सम्झना छ?
◻ बुद्धिमती र मूर्ख कन्याहरूको उखानबाट तपाईंले कुन मुख्य कुरा सिक्नुभयो?
◻ येशूले तोडाको उखानद्वारा तपाईंलाई कुन आधारभूत सल्लाह दिनुहुन्छ?
◻ पारुसिया-सित सम्बन्धित तपाईंको धीरज कुन अर्थमा इस्राएली किसानको धीरज जस्तै छ?
◻ अहिले हामी बाँचिरहेको समय किन रोमाञ्चकारी र कठिन छ?
[पृष्ठ २३-मा भएका चित्रहरू]
कन्याहरूको र तोडाको उखानबाट तपाईंले के पाठ सिक्नुभयो?