बाइबलको दृष्टिकोण
मसीहीहरूले मासप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?
भक्त क्याथोलिकहरू पोप जोन पल द्वितीयको कुरासित सहमत हुन्छन्। द न्यु योर्क टाइम्स-अनुसार तिनले केही समयअघि “कोही क्याथोलिक मासमा भेला भएन भने चर्चले त्यसलाई पाप ठान्नेछ भन्ने कुरालाई पुनः जोड दिएका थिए।” मास के हो? के चर्च र बाइबल यससित सहमत छ?
क्याथोलिकहरूलाई सोधिएका कुराहरू पुस्तकमा क्याथोलिक पादरी मार्टिन जे. स्कटले मासलाई यसरी व्याख्या गरे: “मास ख्रीष्टको शरीर र रगतको रक्तविहीन बलिदान हो। गलगथामा ख्रीष्टको बलिदान रगतसहित थियो। मास पनि क्रूसको बलिदान जस्तै हो। यो नमुना, संकेत वा बढाइचढाइ गरिएको कुरा होइन।” तिनी यसो पनि भन्छन्: “मासले परमेश्वरको पुत्रलाई परमेश्वरको निम्ति बलिदान चढाउन हाम्रा वेदीहरूमा ल्याउँछ भनी दाबी गर्छ।”
मास धर्मशास्त्रमा आधारित छ?
मास धर्मशास्त्रीय शिक्षामा आधारित छ भनी निष्कपट क्याथोलिकहरू विश्वास गर्छन्। प्रमाणस्वरूप, तिनीहरू येशूले अन्तिम भोजमा भन्नुभएका शब्दहरूलाई औंल्याउँछन्। उहाँले आफ्ना प्रेरितहरूलाई रोटी र दाखमद्य दिनुहुँदा रोटीलाई संकेत गर्दै यसो भन्नुभयो: “यो मेरो शरीर हो।” त्यस्तै दाखमद्यलाई संकेत गर्दै उहाँले भन्नुभयो: “यो . . . मेरो रगत हो।” (मत्ती २६:२६-२८) येशूले यी शब्दहरू भन्नुहुँदा रोटी र दाखमद्यलाई उहाँले साँच्चै आफ्नो वास्तविक शरीर तथा रगतमा परिणत गर्नुभयो भनी क्याथोलिकहरू विश्वास गर्छन्। तथापि, न्यु क्याथोलिक इन्साइक्लोपीडिया (१९६७) यस्तो चेताउनी दिन्छ: “हामीले ‘यो मेरो शरीर हो’ र ‘यो मेरो रगत हो’ भन्ने शब्दहरूलाई यत्तिविघ्न शाब्दिक अर्थमा लिनुहुँदैन। . . . किनभने ‘फसलको समय चाहिं जगत्को अन्त हो’ (मत्ती १३:३९) अथवा ‘साँचो दाखको बोट म हुँ’ (यूह १५:१) जस्ता वाक्यहरूमा [“हुनु” क्रियाको] अर्थ संकेत गर्नु वा प्रतिनिधित्व गर्नु मात्र हुन्छ।” तसर्थ, यो आधिकारिक इन्साइक्लोपीडियाले समेत मत्ती २६:२६-२८ का शब्दहरूले अन्तिम भोजमा रोटी र दाखमद्य येशूको वास्तविक शरीर र रगतमा परिवर्तन भयो भन्ने प्रमाणित गर्दैन भनी स्वीकारेको छ।
कसै कसैले येशूले एकपल्ट भन्नुभएका यी शब्दहरू सम्झनसक्छन्: “स्वर्गबाट ओर्लेको जीवित रोटी मनै हुँ . . . मेरो देह खाने र मेरो रगत पिउनेलाई अनन्त जीवन हुन्छ।” (यूहन्ना ६:५१, ५४) यो कुरा सुनिरहेका कसै कसैले येशूका यी शब्दहरूलाई शाब्दिक रूपमा लिए र तर्से। (यूहन्ना ६:६०) तर हामी सोध्नसक्छौं, के त्यस अवसरमा येशूले आफ्नो शरीरलाई रोटीमा परिणत गर्नुभयो? अवश्य गर्नुभएन! उहाँ लाक्षणिक अर्थमा कुरा गर्दै हुनुहुन्थ्यो। उहाँले आफूलाई रोटीसित तुलना गर्दै हुनुहुन्थ्यो किनभने आफ्नो बलिदानमार्फत उहाँले मानिसजातिलाई जीवन दिनुहुने थियो। येशू ख्रीष्टमा विश्वास प्रदर्शित गरेर यो खाने र पिउने गर्न सकिन्छ भनी यूहन्ना ६:३५, ४० ले स्पष्टसित देखाउँछ।
मास क्याथोलिक चर्चको सैद्धान्तिक रीति भएको हुनाले जो कोहीले पनि यसलाई धर्मशास्त्रले समर्थन गरोस् भनी आशा गर्नु गलत होइन। तर धर्मशास्त्रले समर्थन गरेको भने छैन। किन भन्ने सन्दर्भमा द क्याथोलिक इन्साइक्लोपीडिया (१९१३ संस्करण) यसरी व्याख्या गर्छ: “हाम्रो शिक्षाको प्रमुख स्रोत . . . रीतिथिति हो। यही रीतिथितिअनुसार पुरातन समयदेखि नै मासको बलिदान मनाउन आग्रह [सम्झौता] गरिएको छ।” हो, रोमन क्याथोलिक मास बाइबलमा होइन रीतिथितिहरूमा आधारित छ।
जतिसुकै निष्कपट भएर मनाइएको भए तापनि बाइबलसित मेल नखाने रीतिथितिहरूलाई परमेश्वरले स्वीकार्नु हुन्न। येशूले आफ्नो समयका धार्मिक नेताहरूलाई यसरी निन्दा गर्नुभयो: “तिमीहरूले आफ्नो रीतिले गर्दा परमेश्वरको वचनलाई बेकम्मा गराएका छौ।” (मत्ती १५:६) येशूले पनि परमेश्वरको वचनलाई मूल्यवान् ठान्नुभएकोले आउनुहोस्, माससम्बन्धी शिक्षालाई तपाईंहरू पनि पवित्र शास्त्रहरूको उज्यालोमा जाँचेर हेर्नुहोस्।
ख्रीष्टले बलिदान दिनुभयो—कति चोटि?
हरेकपल्ट मास मनाउँदा येशूको बलिदान भए तापनि वास्तवमा उहाँ मर्नु हुन्न र त्यो रक्तविहीन हुन्छ भन्ने कुरा क्याथोलिक चर्चले सिकाउँछ। यस दृष्टिकोणसित बाइबलले सहमति जनाउँछ र? हिब्रू १०:१२, १४ कस्तो टिप्पणी गर्छ, याद गर्नुहोस्: “[येशूले] ता पापको निम्ति सदाको लागि एउटै बलिदान चढ़ाएर उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ बस्नुभयो। किनकि एउटै बलिदानले पवित्र भएकाहरूलाई उहाँले सधैंको निम्ति सिद्ध गराउनुभएको छ।”
तथापि, एक जना निष्कपट क्याथोलिकले यस्तो दृष्टिकोण प्रकट गर्नसक्छ: ‘येशूले अक्सर आफ्नो बलिदान गर्नुपर्दैन र? हामी थुप्रै चोटि पाप गर्छौं।’ यस विषयमा बाइबलको जवाफ हिब्रू ९:२५, २६ मा अभिलेख गरिएको छ: “[ख्रीष्टले] बारंबार आफैलाई अर्पण गरौं भनेर होइन . . . अब युगको अन्तमा आफ्नै बलिदानले पाप हटाउनालाई उहाँ एकैचोटि प्रकट हुनुभएको छ।” यस कुरालाई होसियार भई ध्यान दिनुहोस्: ख्रीष्टले “बारंबार आफैलाई अर्पण गर्न होइन।” किन होइन भन्नेबारे रोमी ५:१९ मा प्रेरित पावल यसरी व्याख्या गर्छन्: “जसरी एउटै मानिसको [आदमको] अनाज्ञाकारिताले धेरै जना पापी ठहरिए, त्यसैगरी एकै जनाको [येशूको] आज्ञाकारिताद्वारा धेरै जना धार्मिक ठहरिनेछन्।” आदमको एउटै मात्र अनाज्ञाकारिताले हामी सबैलाई मृत्युको अधीनमा पाऱ्यो भने येशूको एउटै मात्र छुटकारा दिने कार्यले त्यस बलिदानमा विश्वास गर्ने जति सबैले अहिले आफ्नो पापको क्षमा पाउने र भविष्यमा अनन्त जीवनको आनन्द उठाउने आधार पाए।
येशूलाई एक चोटि मात्र वा पटक पटक बलिको रूपमा चढाइए तापनि के फरक पर्छ र? यसमा येशूको बलिदानको महत्त्वप्रति मूल्यांकन व्यक्त गर्ने कुरा समावेश छ। त्यो अहिलेसम्म दिइएको उपहारहरूमध्ये सबैभन्दा महान् उपहार हो। यो उपहार अति बहुमूल्य अनि सिद्ध छ। त्यसैले त्यसलाई कहिल्यै पनि दोहऱ्याउनुपर्ने छैन।
येशूको बलिदान साँच्चै स्मरणीय छ। तर कुनै पनि घटनालाई सम्झनु र दोहऱ्याउनुमा भिन्नता छ। उदाहरणका लागि, एक दम्पत्तीले आफ्नो विवाहको वार्षिकोत्सव मनाएर त्यसको सम्झना गर्दछन्। त्यस उत्सवलाई जस्ताको तस्तै दोहऱ्याएर होइन। हरेक वर्ष, यहोवाका साक्षीहरू पनि येशूले आज्ञा गर्नुभएअनुसार उहाँको बलिदानमा होइन तर उहाँको मृत्युको “सम्झनामा” वार्षिकोत्सव मनाउँछन्। (लूका २२:१९) त्यति मात्र कहाँ हो र, यी मसीहीहरूले येशू ख्रीष्ट मार्फत् आफ्नो जीवन, कार्य र विश्वासलाई पवित्र धर्मशास्त्रहरू अनुसार ढालेर यहोवा परमेश्वरसित न्यानो सम्बन्ध खेती गर्ने प्रयास वर्षभरि नै गर्छन्।
प्रायः यसो गर्नु भनेको तिनीहरूको सोचाइमा परिवर्तन ल्याउनु हो। तर यी साक्षीहरू मानव रीतिथितिहरूको सट्टा परमेश्वरको वचनलाई वफादार भई समर्थन गरेको खण्डमा आशिषित् हुनेछन् भन्ने ज्ञानमा रमाउँछन्। अनि झन्डै दुई हजार वर्षअघि येशूले एकै चोटि सबैका लागि बगाउनुभएको रगतमा तिनीहरूले विश्वास गरेको खण्डमा सबै पापबाट मुक्त हुनेछन्।—१ यूहन्ना १:८, ९.
[पृष्ठ १८-मा भएको चित्र]
सेन्ट गाइल्सको मास (विस्तृत)
[स्रोत]
Erich Lessing/Art Resource, NY